यो दुई तिहाइको सरकारले मलाई जिउँदै छोडेको छ, यही नै मेरो जित हो : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान दुई तिहाइको सरकारले आफूलाई जिउँदै छोड्नु नै आफ्नो जित भएको बताएका छन् । सोमवार रास्वपाको केन्द्रीय समितिको विशेष बैठकमा सम्बोधन गर्दै उनले लोकतन्त्र, गणतन्त्रको आडमा लुटतन्त्र मच्चाईरहेको भन्दै त्यसको खबरदारी गर्न शरीरमा एक थोपो रगत भएसम्म पछि नहट्ने बताए ।
उनले भने, ‘सरकारले सक्ने जति जोड बल लगाएको छ । केही नभएको भए त्यत्रो धरौटी लिन्थ्यो अदालतले भन्छन । तीमिहरूको दुई तिहाइको सरकारले मलाई जिउँदै छोडेको छ यही नै मेरो जित हो । शरीरमा एक थोपो रगत भएसम्म यो लुटतन्त्रको विरोधमा उभिने छु । चाहे जतिसुकै मुद्दा लगाउनु छ लगाउ, ज्यान मार्नु छ मार, मैले व्यक्तिगत जीवनको लागि कहिल्यै केही मागेको छैन । म राजनीतिमा हुन्नथे भने यो दुख खेप्नुपर्ने पनि थिए । लोकतन्त्र, गणतन्त्रको आडमा लुटतन्त्र मच्चाई रहेकाहरूलाई खबरदारी गर्न रवि लामिछाने कहिल्यै पनि पछि हट्दैन ।’
त्यस्तै, उनले सरकारको आफूमाथिको षड्यन्त्रको सिलसिला अझै नसकिएको भन्दै कुनै दिन पनि हार नमानेको र मान्नेवाला पनि नरहेको जिकिर गरे । जतिसुकै आक्षेप लागेपनि जुनसुकै तराजुमा बसेर आफूलाई तौलन तयार भएर बसेको उनले बताए ।
उनले भने, ‘सरकारको षड्यन्त्रको यो सिलसिला अझै सकिएको छैन, तर कुनै दिनपनि हार मानेको थिइन, कहिल्यै हार मान्नेवाला पनि छैन् । जुनसुकै समस्याको पनि समाधान गर्छु भनेर राजनीतिको मैदानमा आएको मान्छे हुँ । जतिसुकै आक्षेप लागोस् । जुनसुकै तराजुमा बसेर आफूलाई तौलन म तयार भएर बसेको छु ।’
लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकल्प राजतन्त्र हुनै सक्दैन : रेखा शर्मा
काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकल्प राजतन्त्र हुनै नसक्ने बताएकी छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले राजतन्त्रतिर जाने कुरा विकल्प नभएर पश्चगमनमात्रै रहेको बताएकी हुन् । पश्चगमनको पक्षमा आफूहरु यसअघि कोहीपनि नरहेको र नहुने पनि बताइन् ।
उनले भनिन्, ‘गत चैत १५ गते देशको राजधानी काठमाडौंमा दुईवटा कार्याक्रम भए । समाजवादी मोर्चाको नाममा हाम्रो पार्टीसहित ५० औं हजारको उपस्थितीमा जनप्रदर्शन भयो । गणतन्त्रको पक्षमा, संविधानको पक्षम, परिवर्तिन परिवेशको पक्षमा आफ्नो दृढता व्यक्त गर्यौं । तीनकुनेको प्रदर्शनको प्रत्यक्ष कमाण्ड कथित कमाण्डर दुर्गा प्रसाईँले गरेका छन् । तर, हामी सबैले के बुझेका छौं भने यसको पर्दा पछाडि पूर्वराजा ज्ञानेन्द्र शाह छन् । उनको उक्साहटमा, उनले पटक–पटक गरेका आह्वानमा, अपिलमा युवाहरु समाहित भएका छन् । म सरकारसँग सभामुखमार्फत के माग गर्न चाहन्छु भने–राजतन्त्र अहिलेको व्यवस्था होइन । संविधान भन्दामाथि कोही छैन् । कानुनभन्दा माथि कोही छैन । त्यसकारण चाहे पूर्वराजा ज्ञानेन्द्र शाह हुन्, चाहे सामाजिक सञ्जालमा सक्रिय, अहिले लुकेर बसेका दुर्गा प्रसाईँ हुन् । सबैलाई कारबाही गरोस् ।’
उनले तीनकुनेको हिंसात्मक प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्र शाह र कथित जनकमाण्डर दुर्गा प्रसाईँलाई तत्काल कारबाहीको दायरामा ल्याउनसमेत सरकारसँग माग गरिन् । उनले अहिलेको राजतन्त्र कि गणतन्त्र भन्ने प्रश्न नै बेकाम रहेको बताइन् ।
उनले माओवादीले गरेको १० वर्ष सशस्त्र संघर्षको जगमा २०६२÷०६३ सालको जनआन्दोलन भएको र आफूहरु राजतन्त्र फाल्नकै लागि १० वर्ष जनयुद्ध लडेको बताउँदै उनले व्यवस्थालाई चुनौति दिने कुरा स्वीकार्य नरहेको बताइन् ।
उनले भनिन्, ‘अहिले गणतन्त्र कि राजतन्त्र ? यो बहस गर्ने ठाउँमै अहिले छैनौं । किनभने संघीय लोकतान्त्रिक गणतन्त्र हामीले निरङ्कुश राजतन्त्रको विरुद्धमा लडेर ल्याएका हौं । लडेर ल्याएको व्यवस्थामा सबैको अपनत्व छ । २०६२÷०६३ को आन्दोलन १० वर्षे जनयुद्धको जगमा भएको थियो । त्यो आन्दोलन बगेको हजारौं जनताको रगतको प्रतिफल स्वरुप यो गणतन्त्र प्राप्त भएको हो ।’
जनताले चाहे गणतन्त्र क्षणभरमै जान्छ : राजेन्द्र लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले चाहेको खण्डमा गणतन्त्र एकछिन पनि नटिक्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेस, एमाले माओवादीलगायतका दललाई ‘तपाईँहरु मान्छे नमारी, तोफोड नगरी आएको हो ?’ भन्दै प्रश्न गरेका हुन् ।
उनले भने, ‘जनताले चाहेको खण्डमा गणतन्त्र एकछिन पनि टिक्न सक्दैन । गणतन्त्र जान्छ । त्यसकारण जनताको, युवाको शक्तिलाई होच्याउने काम नगर्नुस् । चैत १५ गते आन्दोलनकारीले मात्रै ज्यादती गरेको हो ? नियन्त्रण गर्ने जिम्मा सरकारको होइन ? तपाईं कांग्रेस, एमाले भन्नेहरु आज यो सत्तामा भजन–किर्तन मादल बजाउँदै आइपुगेको हो ? तपाईंहरु तोडफोड नगरी आएको हो ? मान्छे नमारी आएको हो ? त्यसकारणले सविन महर्जन हिँडिरहेको बेला गोली किन हानियो, छतमाथि बसेर अश्रुग्यास किन प्रयोग गरियो ? त्यसको जवाफ चाहिन्छ ।’
साथै उनले गणतन्त्रवादी नेताहरुले व्यवस्थाको नाममा लुट मच्चाइरहेको आरोप लगाएका छन् । उनले किर्ते कुराले अबको युवा पुस्ता नमान्ने बताए ।
उनले भने,‘कथाले, शब्द जालले अबको पुस्ता मान्नेवाला छैनन् । तपाईँको मिथ्याङ्कले, मिथ्या इतिहासले अबको पुस्ता मान्नेवाला छैनन् । अहिलेको डिजिटल युवा, अहिलेको सूचना प्रविधिका युवा यसबाट राम्रो परिचित छ । तपाईँले राजा किन हटाउन खोज्नु भएको रहेछ, राजा हटाएपछि नारायणहिटीमा तुरुन्तै व्यापार गर्न कसले खोज्यो ? के–को लागि तपाईँले राजा हटाउनु भएको रहेछ, युवा पुस्ताले हेरिरहेको छ । राजा हटाएर देशमा लोकतन्त्र र गणतन्त्रको नाममा कुन प्रकारको लुटतन्त्र मच्चाइरनु भएको छ ? जनताले हेरिरहेका छन् । तपाईँको किर्ते कुराले अबको युवा पुस्ता मान्दैनन् ।’
रास्वपा सभापतिमा फर्किए रवि, पार्टीको केन्द्रीय समितिको आजको बैठकमा सहभागी हुने
काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किएका छन् ।रवि सोमबार हुने केन्द्रीय समिति बैठकमा सहभागी हुने कार्यसूची तय भएको छ ।बैठक आज पार्टी कार्यालयमा दिउँसो ३ बजे बस्दैछ ।
‘पहिलो बैठकमा कार्यवाह सभापतिज्यूबाट धन्यवाद ज्ञापन र पार्टी सभापतिज्यूको सभापतित्वमा दोस्रो बैठक बस्ने गरी पहिलो बैठकको समापन हुनेछ,’ प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लगत्तै दोस्रो बैठक पार्टी सभापतिज्यूको सभापतित्वमा हुनेछ ।’
लामिछानेसहितको बैठकमा पार्टी र सदनको गतिविधिबारे तथा सदस्यहरूबाट संक्षिप्त रिपोर्टिङ हुनेछ । त्यस्तै लिडरसिप एकेडेमीको फ्लोचार्ट, जनयात्रा कार्यक्रम बारे, देशव्यापी जागरण र बहस, अधिवेशन÷महाधिवेशन कार्यतालिकामा पनि छलफलको एजेण्डामा छ ।
पुस ८ मा बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपाध्यक्ष डोलप्रसाद अर्याललाई दिएको थियो । सहकारीको रकम अपचलनको मुद्दामा लामिछानेलाई २ कात्तिकमा प्रहरीले पक्राउ गरेको थियो ।
४ सहकारीको रकम अपचलनको मुद्दामा अदालतले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो । रिहा भएपछि लामिछाने पार्टी क्रियाकलापमा सक्रिय थिएनन् ।
गणतन्त्रविरुद्ध ढुंगा हान्नेहरूसँग कुम जोडेर माओवादीले सदन चल्न दिएन : महेश बर्तौला
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले लगातार सदन अवरुद्ध गर्ने काम प्रमुख प्रतिपक्षीले गरिरहेको बताएका छन् । आइतबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले बाहिर गणतन्त्रको पक्षमा नाराबाजी गर्ने र सदनभित्र गणतन्त्रका विरुद्ध ढुंगा हान्नेहरूसँग कुम जोडेर सदन चल्न नदिने कुराले माओवादीको राजनीतिक दृष्टिकोणप्रति नै प्रश्न खडा भएको बताएका हुन् ।
उनले भने, ‘प्रमुख प्रतिपक्षले लगातार चार दिनदेखि संसद बैठक अवरुद्ध गरिरहेको छन् । प्रमुख प्रतिपक्षले लाज मान्नुपर्ने हो । प्रमुख प्रतिपक्षी दलहरुको राजनीतिक दृष्टिकोणमाथि नै अब प्रश्न चिन्ह् खडा भइसकेको छ । बाहिर गणतन्त्रका पक्षमा नाराबाजी लाउने, संसदमा गणतन्त्रका विरुद्धमा ढुंगा हान्नेहरुसँग कुम जोडेर संविधान बमोजिम यो हाउस चल्न नदिने ? ।’
साथै उनले मुलुकमा प्रकट भएका गम्भीर विषयहरूलाई सदनमा गम्भीर रूपमा छलफल गरेर पूर्वराजालाई कारवाहीको दायरामा ल्याउनका लागि साझा मत बनाउनुपर्नेमा माओवादीका कारण अवरोध सिर्जना भएको उनको जिकिर छ ।
उनले शुक्रबारको घटनाको मुख्य दोषी पूर्वराजा ज्ञानेन्द्र शाह नै भएकाले कानूनबमोजिम कारवाही गर्नुपर्ने, पूर्वराजालाई दिएको सबै सेवा सुविधा फिर्ता गर्नुपर्ने बताए ।
रविन्द्र मिश्र र धवल शमशेरसहित ४१ जनालाई म्याद थप्न अदालत लगियो
काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणासहित पक्राउ परेकाहरूलाई प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेस गरेको छ । तीनकुनेमा शुक्रबार भएको हिंसात्मक घटनापछि पक्राउ परेकाहरूलाई म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराइएको हो ।
त्यसअघि उनीहरूलाई जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएको थियो । म्याद थपको प्रक्रिया पु¥याएपछि जिल्ला अदालतमा उपस्थित गराइएको हो । धवलशम्शेर राणाबाहेक सबैलाई हत्कडी लगाइएको थियो । रवीन्द्र मिश्रलाई पक्राउ परेका अर्का एकजनासँग साझेदारीमा हत्कडीले बाँधिएको थियो ।
उनीहरूलाई राज्यविरुद्धको कसुरमा मिश्र र महामन्त्री धवल शमशेर राणासहित ११ विरुद्ध मुद्दा दर्ता गरेर म्याद थप हुँदैछ । त्यस्तै, आपराधिक उपद्रव र संगठित अपराधमा ४१ जनालाई म्याद थप गर्ने तयारी प्रहरीको छ । शुक्रबार राजावादीहरुको आन्दोलनका नाममा अराजकता मच्चाएको र आगजनी तथा लुटपाट गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् ।
दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा फेरि अर्को उजुरी
काठमाडौं । मेडिकल व्यवसायी तथा राजसंस्था पुर्नस्थापनाका पक्षधर दुर्गा प्रसाईं विरुद्ध साइबर ब्युरोमा फेरि अर्को उजुरी परेको छ । प्रसाईले झूटा, भ्रामक, र जनमानसमा गलत धारणा फैलाउने अभिव्यक्ति दिएको भन्दै अधिकारकर्मी टिकाराम भुसालले काठमाडौंको साइबर ब्युरोमा उजुरी दिएका हुन् ।
प्रसाईले नेपालमा समलिङ्गी विवाह युएसएडको वित्तीय सहयोगमा लागू गरिएको भन्ने झूटा, भ्रामक अभिव्यक्ति दिएको भिडियो टिकटकमार्फत बाहिरिएपछि भुसालले झुटा सूचना प्रवाह र अदालतको मानहानीसम्बन्धी उजुरी दिएका छन् ।
उनको निवेदनमा लेखिएको छ ‘टिकटकमार्फत नेपालमा समलिङ्गी विवाह युएसएडको वित्तीय सहयोगमा लागू गरिएको भन्ने पूर्ण रूपमा झूटा, भ्रामक, र जनमानसमा गलत धारणा फैलाउने अभिव्यक्ति दिएका छन्। यस किसिमको गलत सूचना सार्वजनिक रूपमा प्रसारण गर्नु पुर्णरुपमा कानुन विपरित र सम्मानित सर्वोच्च अदालतले मिति २०८० आषाढ १२ गते यौनिक तथा लैङ्गिक अल्पसंख्यक ब्यक्तीहरुको विवाह दर्ता गरिदिनु भनि सरकारको नाममा दिएको आदेशलाई लिएर अदालतको अपमान/अवहेलना समेत हो ।’
उनले अदालतको आदेशप्रति अपमानजनक अभिव्यक्ति दिएका भन्दै निवेदनमा विभिन्न माग समेत राखेका छन् ।
केही दिनअघि सोही अभिव्यक्तिप्रति आपत्ति जनाउँदै मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले प्रसाईंविरुद्ध उजुरी दिएका हुन् । प्रसाईंले यौनिक तथा अल्पसंख्यक समुदायलक्षित घृणा फैलाउने अभिव्यक्ति दिएको उजुरीमा उल्लेख छ ।
मागहरु :
१. श्री दुर्गा प्रसाईविरुद्ध कानुनी अनुसन्धान गरी आवश्यक कारबाही अगाडि बढाइयोस्।
२. भ्रामक अभिव्यक्ति हटाउन तथा सार्वजनिक रूपमा माफि माग्न लगाइयोस्।
३. भविष्यमा यस्ता गलत सूचना प्रवाह नगर्न सचेत गराइयोस्।
शुक्रबारको घट्नाप्रति नेकपा एसको आपत्ति, पत्रकार हत्यारालाई कारवाहीको माग
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पत्रकार सुरेश रजकको विभत्स हत्या भएको भन्दै हत्यारालाई कडाभन्दा कडा कारबाहीको माग गरेको छ । आइतबार पार्टी कार्यालय आलोकनगरमा पत्रकार सम्मेलनको आयोजनागरी नेकपा एसले एभिन्यूज टेलिभिजनका फोटो पत्रकार रजकलाई रिपोर्टिङकै क्रममा राजावादीहरुले घरभित्र थुनेर आगो लगाइ विभत्स हत्या गरेको भन्दै कारबाहीको माग गरेको हो ।
विज्ञप्तिमा लेखिएको छ,‘तथाकथित प्रदर्शनका नाममा दरबारिया, राजावादी वितण्डावादीहरूले मान्छेलाई जिउँदै जलाउने, निजी र सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गर्ने, सञ्चार गृहमा आक्रमण, लुटपाट गर्ने अत्यन्त आततायी, अराजक र हिंस्रक कामहरू गरेका छन् । एभिन्यूज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकलाई रिपोर्टिङकै क्रममा घरभित्र थुनेर आगो लगाइ विभत्स हत्या गरिएको छ । सुरक्षाकर्मीको हतियार खोस्ने, त्यसको फोटो खिच्ने पत्रकारको खुट्टा भाँच्ने घृणित काम गरेका छन् । हाम्रो पार्टी पत्रकार रजकका हत्यारालाई कडाभन्दा कडा कारबाहीको माग गर्दछ ।’
त्यस्तै पार्टीले नीजि घर,पसल र गाडीहरूमा आगजनी गर्ने, राजनीतिक दलका नेताहरूको घरमा ढुंगामुढा गर्ने काम गरेको भन्दै यस्तो अराजक र अपराधिक दृष्य सभ्य समाजका लागि स्विकार्य नहुने जनाएको छ ।
‘त्यसैगरी अत्यावश्यक औषधि उत्पादन गर्ने जडिबुटी कारखानामा आगजनी गरेर करोडौंको क्षति पुग्याइएको छ । हजारों लिटर फ्युल रहेको सिनामंगल स्थित आयल निगमको हवाई डिपोमा आगजनी गर्ने दुष्प्रयत्न गरिएको छ । भाटभटेनी सुपर स्टोरमा प्रवेश गरी लुटपाट र तोडफोड गरेर करोडौंको क्षति गरिएको छ । व्यक्तिका नीजि घर र पसलहरूमा आगजनी गरिएको छ । सरकारी र निजी सवारी साधनहरू जलाउने काम भएको छ । राजनीतिक दलका नेताहरूको घरमा ढुंगा मुढा गर्ने काम गरिएको छ । यस्तो अराजक र अपराधिक दृष्य सभ्य समाजका लागि स्विकार्य हुँदैनन् ।’
यस्तो हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरुलाई हत्या, हिंसा, आगजनी, तोडफोड र लुटपाटमा संलग्न अपराधिहरूलाई कानुनअनुसार कडाभन्दा कडा कार्बाही गर्न र सार्वजनिक, नीजी, व्यवसायिक क्षतिको उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि सरकारसँग पार्टीले माग गरेको छ ।
यस्तै पार्टीले सोही दिन भएको समाजवादी मोर्चाको जनसभा भव्यता, शालीनता, शान्तिपूर्ण र उत्साहजनक रूपमा सफल भएको पनि जानकारी गराएको छ ।
यसैबीच नेकपा एसले हिजो शनिबार बसेको पार्टी स्थायी कमिटीको बैठक निर्णय र प्रस्तावहरू पनि सार्वजनिक गरेको छ ।
यस्ता छन् बैठकमा निर्णय र पारित भएका प्रस्तावहरु
१.राजावादी अराजक जत्थाद्वारा गरिएको हत्या, हिंसा, निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाटलगायतका उदण्ड, विध्वंसकारी र जनविरोधी क्रियाकलापको घोर निन्दा एवं भत्सर्ना गर्दै यस्ता क्रियाकलापको देशब्यापी रूपमा भण्डाफोर गर्ने।
२. हाम्रो पार्टी नेकपा (एकिकृत समाजवादी) को काठमाडौं आलोकनगर स्थित केन्द्रीय कार्यालय र काठमाण्डौँ जिल्ला कार्यालय तथा पार्टी अध्यक्ष कमरेड माधवकुमार नेपालको निवासलगायतका स्थानमा भएको ढुंगामुडा, तोडफोड र आगजनी विरूद्ध यही चैत्र २५ गतेभित्र सबै प्रदेश, जिल्ला, स्थानीय कमिटी र जनसंगठनहरुले सम्बन्धित तहमा देशैव्यापी विरोध प्रदर्शन गर्ने।
३.तथाकथित राजावादी प्रदर्शनका नाममा भएको हत्या, हिंसा, आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूलाई तत्काल कडाभन्दा कडा कानुनी कारबाही माग गर्ने।
४.अराजकतावादीहरूको प्रदर्शनमा उचित समयमा उचित ढंगले सुरक्षाकर्मी परिचालन गरेर हत्या, हिंसा, आगजनी, तोडफोड, लुटपाट नियन्त्रण गर्न र शान्ति सुरक्षा कायम गर्न नसक्नु सरकारको असक्षमता र कमजोरी हो। सरकारको यो कमजोरी र गैरजिम्मेवार व्यवहारको विरोध गर्ने।
५.राजावादी आततायीहरूद्वारा हत्या गरिएका एभीन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकलगायत मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समबेदना व्यक्त गर्दै मृतकका परिवारलाई उचित क्षतिपुर्ति उपलब्ध गराउन सरकारसँग माग गर्ने ।
दुर्गा प्रसाईंको भिडियो सन्देश : ‘प्रधानमन्त्रीबाट गोली हान्ने आदेश छ’
काठमाडौं । मेडिकल व्यवसायी तथा संयुक्त जनआन्दोलन समितिका कमान्डर व्यवसायी दुर्गा प्रसाईंले आफू फरार नभएको भन्दै प्रधानमन्त्रीबाटै आफूलाई गोली हान्ने आदेश छ भन्ने सुनेपछि सुरक्षित मात्र बसेको बताएका छन् ।
आइतवार सामाजिक सञ्जालमा भिडियो सार्वजनिकमार्फत उनले आफूलाई ‘गोञ्जालो’ बनाएर यो आन्दोलन दबाउन खोजिएको समेत आरोप लगाएका छन् ।
‘दुर्गा प्रसाईं तपाईहरुबाट टाढा छैन । केही १२ भाइ मिडिया हात धोएर मेरोपछि लाग्या छन् । यो नागरिक विद्रोहलाई सफल पार्न सबैजना लागिदिनुहोस् । म भागेको छैन, म भाग्दिनँ । पुलिस र प्रशासनले मलाई खोज्नुपर्दैन । किनकी मलाई गोञ्जालो बनाएर यो आन्दोलन दबाउन खोजिएको छ । म सुरक्षितमात्रै बसेको हो । मलाई भेटेको ठाउँमा गोली हानिदिनु भन्ने प्रधानमन्त्रीबाटै आदेश छ भन्ने सुनेपछि म सुरक्षित मात्र बसेको हुँ । म नेपाल र नेपाली छोडेर म भाग्दिनँ । म भाग्न र झुक्न जन्मेको होईन् । बरु तपाईंहरुकै अगाडि मर्छु,’ उनले भनेका छन् ।
त्यस्तै उनले आन्दोलनका दिन बिहानैदेखि विभिन्न भेषभूषामा युवा संघका केही व्यक्ति, पुलिस प्रशासनका केही व्यक्ति सिभिल डे«समा हतियारसहित अर्काको घरमा चढेर बसेको समेत आरोप लगाए ।
आफूलाई गोली हान्न छतमा सार्प सुटर बसेर टार्गेट गरेको थाहा पाएर अरू उपाय नभएपछि ब्यारिकेड तोडेर अगाडि गएको दाबी गरेका छन् ।
‘चैत १५ गते बिहानैदेखि विभिन्न भेषभूषामा युवा संघका केही व्यक्ति, पुलिस प्रशासनका केही व्यक्ति सिभिल डे«समा हतियारसहित अर्काको घरमा चढेर बसेका रहेछन् । हामी डेढ बजे कार्यक्रमस्थल पुग्नुभन्दा १५ मिनेट अगाडिदेखि नै स्टेज पुग्न नदिइकन बाटोबाट गोली र टियरग्याँस हान्न थाले । मलाई गोली हान्न छतमा सार्प सुटर बसेर टार्गेट गरेका थिए । स्टेज छेउमा पुग्दा मेरो कानको छेउबाटै गोली गयो । अर्को कुरा मेरै गाडीमा टियरग्याँस खसेपछि मलाई मार्नेरहेछन् भन्ने बुझेर अरु उपाय नभएपछि ब्यारिकेड तोडेर अगाडि गएको हुँ,’उनले भने
जनकपुरधाममा प्रहरी र स्थानीयबीच झडप, दर्जनौं राउण्ड अश्रुग्यास प्रहार
जनकपुर । जनकपुरधाम उप–महानगरपालिका–२३ विन्धीमा प्रहरी र स्थानीयबीच झडप भएको छ ।
होलीको दिन छुरा प्रहार गरी हत्या भएका आंशु यादवको हत्यारालाई कारवाही गर्न माग गर्दै विहानदेखि सडक जाम गरेर आवत जावत ठप्प बनाएका विन्धीवासी र प्रहरीबीच झडप भएको हो ।
प्रहरीले सडक खोल्ने क्रममा बल प्रयोग गरेपछि स्थानीयहरु प्रतिरोधमा उत्रेका थिए । सो क्रममा अवस्था गम्भीर बनेपछि प्रहरीले दर्जनौं राउण्ड अश्रु ग्यास प्रहार गरेका छन् । स्थानीयले प्रहरीमाथी ढुंगामुढासमेत गरेका छन् ।
सो क्रममा दर्जनौं स्थानीय र प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले कति जना घाईते भएका छन् भन्ने यकिन हुन बाँकी रहेको जनाएको छ ।
अहिले घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ । गत चैत्र २ गत्ते शनिबार साँझ ५ बजेतिर होली खेल्ने क्रममा विवाद हुँदा स्थानीय लक्ष्मण महतोका छोरा २१ वर्षीय धर्मेन्द्र महतोले आँशुमाथि छुरा प्रहार गरेका थिए ।
छाती, ढाड र पेटमा छुरा प्रहारबाट गम्भीर घाइते आँशुको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा शनिबार साँझ करिब ६ बजे मृत्यु भएको थियो । प्रहरीले तत्कालै छुरासहित धर्मेन्द्रलाई पक्राउ गरेको थियो । तर आँशुको परिवारजनले अन्य व्यक्तिको संलग्ता रहेको भन्दै उनीहरुलाई पनि हिरासतमा लिन आवाज उठाइरहेका छन् ।