शान्ति प्रक्रिया टुंगोमा पुर्याउन पार्टी फुटाउन पनि तयार छु : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिआरसीमा पीडितहरुलाई सम्बोधन गर्ने कुरा उच्च प्राथमिकतामा राख्नुपर्छ भन्ने कुरामा राजनीतिक नेतृत्व तहमा कहिले विवाद नभएको बताएका छन् ।
विहीबार काठमाडौंमा आयोजित संक्रमणकालीन न्याय सम्बन्धी राष्ट्रिय सम्मेलनमा उनले सबै विवाद र विमतीको बीचमा पनि शान्ति प्रक्रिया टुङ्गाउनुपर्छ भन्ने कुरामा सैद्धान्तिक रुपमा कहिले विवाद नभएको भन्दै त्यही भएर राजनीतिक द्वन्द्व जस्तो समयमा पनि विधेयक संशोधनको कुरा टुङ्गाउन सफल भएको बताए ।
उनले भने, ‘टिआरसीमा पीडितहरुलाई सम्बोधन गर्ने कुरा उच्च प्राथमिकतामा राख्न पर्छ भन्ने कुरामा राजनीतिक नेतृत्व तहमा कहिले पनि विवाद भएन । मानिसलाई कहिलेकाहीं लाग्छ यस्तो होइन होला भनेर तर राजनीतिक नेतृत्वहरु मूलत पीडितहरुलाई न्याय दिने कुरालाई प्राथमिकता दिएर मात्र शान्ति प्रक्रियालाई दिगो बनाउन सकिन्छ भन्ने कुरामा पनि हामी कहिले पनि अन्यौलमा परेनौ । अहिले पनि राजनीतिक दलहरुको बीचमा विवादहरु छन् । प्रमुख दलहरु नै कोही सत्ता पक्षमा छौ कोही प्रतिपक्षमा छौ, विवाद चलिरहेको छ । सदनमा बहस भइरहेको छ, यी सबै विवाद र विमतीको बीचमा पनि शान्ति प्रक्रिया टुङ्गाउनुपर्छ भन्ने कुरामा सैद्धान्तिक रुपमा कहिले पनि विवादमा भएनौ । ढिला त भयो र विवादले गर्दा भएको होइन त्यो भन्न मिल्दैँन् ।’
यसको साथै, उनले शान्ति प्रक्रियालाई सफलतापूर्वक अगाडि बढाउनको लागि आफ्नो पार्टी विभाजन गर्न पनि तयार भएको कुरा पनि सुनाए ।
उनले भने, ‘शान्ति प्रक्रियालाई सफलतापूर्वक अगाडि बढाउनको लागि आफ्नो पार्टी विभाजन गर्नुपर्छ भने पनि ठिक छ । तर शान्ति प्रक्रिया दुर्घटनामा नजाओस भनेर धेरै जोखिम उठाएर हामीले सेना समायोजनसँग सम्बन्धित विषय वा संविधान निर्माण प्रक्रियासँग सम्बन्धित विषयमा राजनीतिक तहमा समझदारी गर्ने प्रयास गरिराख्यौं ।’
आफू शान्ति सम्झौताको हस्ताक्षरकर्ता र हिजो विद्रोहको नेतृत्व गरेको नाताले पनि शान्ति प्रक्रियाका अत्यन्तै जटिल र संवेशनशिल विषयहरुलाई टुङ्गोमा पु¥याउन आफ्नो ठाँउबाट धेरै जोखिम उठाएको पनि उनको भनाई छ ।
अमेरिकी वृद्धा अपहरण गरेको आरोपमा एक महिला पक्राउ
पोखरा । नेपालस्थित अमेरिकी राजदूतावासले पोखराको होटलबाट आफ्नो देशकी वृद्धा अपहरणमा परेको खबर दिएको दुई दिनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुरबाट अपहरणमुक्त गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार , काठमाडौंस्थित अमेरिकी राजदूतावासले अमेरिकन राहदानी वाहक ७० वर्षीया वृद्धालाई गत सोमबार पोखरा महानगरपालिका वडा नं.६ लेकसाईड स्थित एक होटलबाट अपहरणमा परेको खबर प्राप्त गरेको थियो ।
अपहरणकारीले फिरौती बापत तीन लाख युरो मागिएको पनि कास्की प्रहरीलाई जानकारी गराइएको थियो । अनुसन्धान गर्दै प्रहरीले ती वृद्धालाई अपहरण गरेको आरोपमा एक जना महिलालाई पनि पक्राउ गरेको छ । अपहरण गरेको आरोपमा नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं.४ बस्ने वर्ष ३७ की सरिता लामालाई प्रहरीले पक्राउ गरेको हो ।
आफ्नो साथीहरुसंग मुक्तिनाथ मन्दिर भ्रमणको लागि नेपाल आएकी ती अमेरिकी वृद्धा अपहरणमा परेको सूचना पाउना साथ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले ती अपहरणमा परेकी अमेरिकी वृद्धालाई मकवानपुरको हेटांैडा उपमहानगरपालिका वडा नं.१९ नेवारपानीबाट अपहरणमुक्त गरेको प्रहरीले जनाएको छ ।
हाल जिल्ला प्रहरी कार्यालय हिरासतमा रहेकी सरिता लामाविरुद्ध कास्की जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक कसूरमा सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
माथिल्लो तामाकोशीले घुँडा टेकेपछि बढ्ने भयो जिल्लावासी कर्मचारीको तलब, यस्तो भयो सहमति
दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले कम्पनीमा कार्यरत सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने भएको छ ।
विगत चार दिनदेखि आन्दोलतरत दोलखा जिल्लावासी करार कर्मचारीहरूसँग बुधबार सहमति गर्दै कम्पनीले सबै कर्मचारीको सेवा सुविधामा एकरूपता ल्याउने प्रतिबद्धता जनाएको हो ।
कम्पनीको प्रतिबद्धता अनुसार अब बाहिर जिल्लाबाट आएका र दोलखा जिल्लावासी करार कर्मचारीको तलब तथा अतिरिक्त सुविधाहरू समान हुने छन् ।
सहमति अनुसार एकरूपता कायम गरिएको सेवा सुविधा गएको फागुन महिनादेखिनै लागू हुने छ । दुई पक्षबीच आज भएको सहमतिमा लेखिएको छ, ‘आयोजना सञ्चालक समितिको आगामी बस्ने पहिलो बैठकमा मिति २०८१ फागुन महिनादेखि कार्यान्वयन हुनेगरी २०८१ चैत महिनाको तलबमा समावेश गराउन सहमति भयो ।’
यसअघि कम्पनीले जिल्लाबाहिरकालाई ७५ र दोलखाकालाई ५० प्रतिशत सुविधा दिँदै आएको थियो । यो सहमति कार्यान्वयन भएपछि उक्त सेवामा एकरूपता आउने भएको छ । त्यसबाट जिल्लावासी कर्मचारीहरूको तलब समेत बढ्ने निश्चित भएको छ ।
कर्मचारीहरूले गत असोज ६ गते नै आयोजना व्यवस्थापनसँग सहमति गरी गत माघ मसान्तसम्म यस्तो सुविधामा एकरूपता गर्ने सहमति गरेका थिए ।
तर आयोजनाले सहमति कार्यान्वयनमा ढिलाइ गरेपछि चैत १० गतेदेखि उनीहरू आन्दोलित बनेका थिए । आज भएको वार्ता तथा छलफलमा यसअघिको सहमति समयमै कार्यान्वयन गर्न नसकिएकोमा आयोजनाले माफी मागेको छ ।
सहमति पत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोहन प्रसाद गौतम, आयोजना प्रमुख मनोज ताम्राकार, केन्द्र प्रमुख पूर्णगोपाल रञ्जित, अर्थ महाशाखा प्रमुख सुरेश राज खकुरेल, प्रशासन महाशाखा प्रमुख अनिता बजगाईं र उप–निर्देशक (प्रशासन) मित्रमणि पोखरेलले हस्ताक्षर गरेका छन् ।
यसैगरी, दोलखा जिल्लावासी करार कर्मचारी संघर्ष समितिको तर्फबाट संयोजक रामबहादुर खड्का तथा सदस्यद्वय नवराज खड्का र सुनतारा तामाङले हस्ताक्षर गरेका छन् । यस्तै तिलक तामाङ, शेषनारायण श्रेष्ठ, विजय पाठक र राजकुमार श्रेष्ठले आमन्त्रित सदस्यका रूपमा सहमतिमा हस्ताक्षर गरेका छन् ।
सहमतिसँगै कर्मचारीहरूले संघर्षका सबै कार्यक्रम फिर्ता लिएका छन् भने भोलिदेखि नियमित काममा फर्किने भएका छन् ।
यसैबीच माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रमा हप्ताको चार दिन दैनिक ज्यालादारीमा कार्यरत चार जना कर्मचारीलाई महिनाको ३० दिनसम्म अनिवार्य काममा लगाउने व्यवस्था मिलाउने, हाल जलविद्युत् केन्द्रमा दुई जना प्रशासन सेवाका कर्मचारीहरूलाई प्राविधिक सेवा, इलेक्ट्रिकल समूहमा, एक जना सिभिल समूहको कर्मचारीलाई इलेक्ट्रिकल समूहमा, एक जना सिभिल समूहको प्राविधिक सेवाका कर्मचारीलाई इलेक्ट्रिकल समूहको प्राविधिक सेवामा निजहरूको तालिम, योग्यता अनुसार पद समायोजन गर्ने तथा २०८० माघ १५ गतेदेखि कम्पनीमा करार सेवामा नियुक्त भएका कर्मचारीहरूको करारनामा भएको व्यवस्थाका लागि आवश्यक छलफल गरी कम्पनी व्यवस्थापनले उपयुक्त निर्णय लिने सहमति भएको पनि संघर्ष समितिका संयोजक रामबहादुर खड्काले जानकारी दिए ।
इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो, दिनभर के के भयो ?
इटहरी । इटहरीको व्यापारिक भवन (सेन्ट्रल प्लाजा)मा बिहान ९ बजेपछि आगलागी सुरु भयो । प्लाजाको पाँचौँ तलामा लागेको आगो पूर्णरुपमा नियन्त्रणमा आउन ६ घण्टा लागेको थियो ।
जुन तलाको संरचना आगोका कारण पूर्णरूपमा क्षतिग्रस्त हुनुका साथै आगलागीका कारण भवन भित्रका अन्य संरचनाहरूमा समेत असर गरेको छ ।
इलाका प्रहरी कार्यालय भन्दा २५० मिटर पश्चिममा लागेको आगो नियन्त्रणको लागी इलाका प्रहरी कार्यालयबाट डिएसपी लक्ष्मी भण्डारीको नेतृत्वमा २५ जनाको प्रहरी टोली तत्काल खटिएको थियो ।
आगलागी भए लगतै २०० मिटरको दुरीमा रहेको इटहरी उपमहानगरपालिकाको २ वटा दमकल र एउटा रोड वासर समेतको साहयताले आगो निभाउने प्रयास गर्याे । तर, नियन्त्रणका लागि सम्भव भएन ।
आगो दन्किँदै गएपछि भवन बाहिरपट्टिको सिसा फुट्न थाल्यो दमकलले सिसा फुटेको स्थानहरूबाट पानी त हाल्यो तर पानी मुनिबाट माथितर्फ हालिएकोले गर्दा प्रभावकारी रूपमा भित्र सम्म पुग्न सकेन ।
इटहरी उपमहानगरपालिकाको २ वटै दमकलले पानी हालिसक्दा पनि आगो निभाउन सकिएन । त्यस पश्चात् सुनसरी र मोरङका विभिन्न पालिकाहरूका दमकल आउन थाले ।
अग्लो तलामा आगो लागेकाले तलबाट फोर्स सहित हालेको पानीले आगो निभाउन सकेन । विभिन्न पालिकाका करिब आधा दर्जन दमकलले इटहरी उपमहानगरपालिका परिसरको मेची काली पोखरीबाट पानी भर्दै आगोमा पानी हाल्दै गए तर आगो नियन्त्रणमा आउनुको साटो दन्किरह्यो ।
आगलागीको एक घण्टा बितिसक्दा समेत दमकलको पानीले नियन्त्रणमा नआएपछि थप मद्दत गर्न कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहाल, जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाको नेतृत्वमा ७० जना प्रहरी खटिएका थिए ।
त्यसैगरी, सशस्त्र प्रहरी ४ नं. हेडक्वार्टरबाट प्रहरी उपरीक्षक निर्मल कुमार थापाको कमान्डमा ७७ जना, नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीबाट प्रहरी उपरीक्षक विनोद घिमिरेको कमान्डमा ७५ जना, नेपाली सेनाको भगवती दल इटहरीबाट सेनानी शुभसम्शेर जबरा नेतृत्वमा ५० जना र नेपाल प्रहरी विशेष सुरक्षा गण, दुहबीबाट प्रहरी निरीक्षक गजेन्द्र कटवाल नेतृत्वमा ५० जना थप सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
इटहरीमै रहेको पूर्वी पृतना र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू आएपछि आगलागी भएका माथिल्ला तलाहरूमा फसेका व्यक्तिहरूको उद्धारको लागी प्रयास थालियो । दिनभरको प्रयासबाट ११ जनाको उद्धार समेत भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।
उद्धारका लागी काठमाडौँबाट हेलिकप्टर समेत आएको थियो । भवनको सबैभन्दा माथिको भागमा मानिसहरू रहेको हुनसक्ने आशङ्का गर्दै नेपाली सेनाको हेलिकप्टर झिकाइएको थियो ।
आगो निभाउन इटहरी, दुहबी, रामधुनी, धरान, बेलबारी, इनरुवा, वराहक्षेत्र, विराटनगर लगायतका १२ वटा दमकलको प्रयोग गरिएको थियो ।
अन्ततः करिब ६ घण्टापछि १२ वटा दमकल र ३४७ जना सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।
कोशी प्रदेशकै मुटुमा रहेको इटहरीको व्यापारिक भवनमा लागेको आगो नियन्त्रणमा लिन ६ घण्टासम्म लाग्नुले विपद् नियन्त्रणमा सरकारको क्षमता नरहेको इटहरीका स्थानीयले गुनासो गरेका छन् ।
इटहरीमा लामो समय देखी व्यापार गर्दै आएका एक व्यवसायी आगलागी नियन्त्रणको लागी तलबाट पनि हाल्दा ननिभेपछि क्रेन बोलाएको बताउँछन् ।
४ घण्टा पछि मात्र क्रेन आउँदा आगो निभाउन समस्या भएको र आगो नियन्त्रणका लागि स्थानीय तथा कोशी प्रदेश सरकारसँग पर्याप्त स्रोत साधन नहुँदा धेरै क्षति भएको गुनासो उनले गरे ।
प्रहरीले भने आगलागी नियन्त्रणमा आएपछि क्षतिको विवरण सङ्कलन गरिरहेको जनाएको छ ।
‘देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजे युवा सङ्घले बाघले झम्टिए झैँ झम्टन्छ’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा सङ्घले बाघले झम्टिए झैँ झम्टने बताएका छन् । बुधबार राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित राष्ट्रिय स्वयंसेवक भेला, २०८१ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवा सङ्घसँग कति तागत छ भन्ने कुरा मान्छेहरूले आँकलन नै नगरेको भन्दै देश र जनताको लागि परिआएमा यसले प्रतिगामी शक्तिसँग जस्तोसुकै मुकाबिला गरेर पनि सक्षमता देखाउने बताएका हुन् ।
उनले भने, ‘हामीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैको छैन । यो कुरा अझ राम्रोसँग युवाहरूले बताउन सक्छ । देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा सङ्घले बाघले झम्टिए झैँ झम्टन्छ ।’ प्रधानमन्त्री ओलीले थप भने,‘स्वयंसेवाको यो क्रियाकलाप राम्रो थालनी हो । यस शक्तिलाई व्यवस्थित र मर्यादित रूपमा परिचालन गर्नुस् । पहिलाको यूथ फोर्स जस्तै । यो एउटा निसस्त्र स्थायी टोली होस्, कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकास विरोधीहरूले हाम्रा काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गरोस् ।’
प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाती पिटिपिटी रोएको टिप्पणी गर्दै प्रधानमन्त्रीले जवाफ दिइरहन नपर्ने बताए ।
‘प्रधानमन्त्रीले जवाफ दिइसक्यो । एउटा हटाइयो, अर्काे नियुक्ति गर्यो । सक्कियो । त्यही हो जवाफ । उहाँहरूलाई सहयोग हुने उहाँहरूले जे भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम होइन ।’ उनले भने ।
प्रधानमन्त्री ओलीले यही चैत १८ गतेभित्र अध्यादेशहरूलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थामा त्यसलाई रोक्न विपक्षीले सदन अवरोधको काम थालेकोमा चिन्ता व्यक्त गरे ।
उनले विपक्षीलाई आग्रह गर्दै भने, ‘यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईँहरू । प्रधानमन्त्रीका सवालमा जथाभाबी नबोल्नुस् । आखिर तपाईँहरू चिसै पानीले नुहाउनुपर्छ । हामी न मात्तिछौँ । न आत्तिन्छौँ । धैर्यपूर्वक अगाडि बढ्छौँ ।’
कार्यक्रममा एमालेका महासचिव शङ्कर पोखरेल, जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, पोलिटब्युरो सदस्य महेश बस्नेत, सङ्घका अध्यक्ष क्षितिज थेबेलगायतले राष्ट्रिय स्वयंसेवक अभियानको आवश्यकताबारे मन्तव्य दिएका छन्
भेरी–बबई डाइभर्सन आयोजनाको ८४ प्रतिशत प्रगति
सुर्खेत । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको प्रगति झण्डै ८४ प्रतिशत सकिएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका–११ स्थित चिप्लेस्थित भेरी नदीमा बाँध बाँधेर १२.२ किलोमिटर सुरुङमार्फत भेरीको पानी सुर्खेत र बर्दियाको सिमानास्थित बबई नदीमा खसाल्न लागिएको योजनाको चालु आर्थिक बर्षको दोस्रो त्रैमासिकसम्म भौतिक प्रगति ८३ दशमलव ७ प्रतिशत र वित्तीय प्रगति ११६ दशमलव ९३ प्रतिशत रहेको छ ।
आयोजनाका लागि चालु आर्थिक वर्षका लागि एक अर्ब ७७ करोड छुट्याइएकोमा हालसम्म ४६ करोड रुपैयाँ खर्च भएको आयोजनाका प्रमुख रणबहादुर बमले बताए । चालु आर्थिक बर्षको लक्ष्य अनुसार आयोजनामा ६६ प्रतिशत भौतिक प्रगति भएको छ ।
४८ मेगावाट विद्युत उत्पादनसहित बाँके र बर्दियाको करिब ५१ हजार जमिनमा सिँचाइ सुविधा पु¥याइने उक्त आयोजना ३३ अर्ब १९ करोड ६६ लाख लागत अनुमान गरिएको छ । आयोजनामा हालसम्म १६ अर्ब ९६ करोड रुपैयाँ खर्च भएको छ । बाँधस्थल चिप्लेमा बाँधका ६ वटा ‘वे’ मध्ये २ वटाको ढलान, ग्राभल ट्रिप, फारवे, लिफ्ट वाल लगायतका संरचनाहरुको निर्माण सकिएको आयोजनाका सूचना अधिकारी पवन अधिकारीले जानकारी दिए ।
सर्ज साफ्ट निर्माण स्थलमा स्लोभ स्टभविलाइजेसन गर्ने कार्य सम्पन्न भई साफ्ट खन्न ग्रान्टी क्रेन राखेर कलर बिम ढलान भई साफ्ट खन्न सुुरु भएको उनले बताए । ‘पावर हाउस निर्माणस्थलमा उल्खलनको काम करिब ९५ प्रतिशत सम्पन्न भएको छ,’ उनले भने, ‘कोफर्डम निर्माण गरी बाटो डाइभर्सन गरिएको छ ।’
इलेक्ट्रोमेकानिकल सम्बन्धि ट्रान्सफर्मर–३, ट्रवाइन रनर र तीन वटा ड्राफ्ट ट्युव आयोजनास्थलमा ल्याइसकिएको उनले बताए ।
आयोजनालाई चाहिने ३३ हेक्टर जग्गामध्ये गत आर्थिक वर्षमा १०.५९ हेक्टर जग्गा प्राप्तिका लागि सूचना प्रकाशन भई जग्गाको स्वामित्व एकिन गर्ने कामसमेत सम्पन्न भएको छ । ६.५३ हेक्टर जग्गाको मुआब्जा रकम भुक्तानी भएको र बाँकी प्रक्रियामा छ । स्थानीयहरुले पटक–पटक स्थानीयस्तरमा सिर्जना हुने अवरोधका कारण आयोजनाले गति लिन नसकेको आयोजनाले जनाएको छ ।
छुट भएका ऐलानी जग्गा तथा उक्त जग्गामा निर्मित संरचनाको क्षतिपुर्तिका सम्बन्धमा स्थानीयहरुबाट आयोजनामा निवेदन पेश भई प्रक्रिया अघि बढेको छ । ऐलानी जग्गा प्राप्तिका सन्दर्भमा स्पष्ट नीति तथा कार्यविधिको अभाव रहनुको साथै ऐलानी जग्गाको स्वामित्व परिवर्तनले प्रक्रियागत जटिलता थपिने गरेको छ ।
पावर हाउस निर्माण हुने बबईको बायाँ किनारा बस्तीबाट निर्माणस्थलमा भएको अवरोध फुकाउन केही भूभागमा हाल कायम सिभिल निर्माण कार्यको ठेक्काबाट तथा अन्य भूभागमा नयाँ ठेक्काबाट निर्माण कार्य अगाडी बढाइ स्थानीयवासीहरुको माग सम्बोधन गरिएको छ । निर्माण व्यवसायीलाई आवश्यक दक्ष जनशक्ती, यन्त्र उपकरण तथा निर्माण सामाग्रीहरु लगायतको उचित व्यवस्थापनमा जोड एवं निर्देशनका साथै आवश्यक समन्वय गरिएको उनको भनाई छ ।
नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिन (टिवीएम) प्रयोग गरिएको भेरी–बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माणको काम निर्धारित समयमै सम्पन्न भएको नेपालकै नमूना आयोजना हो । १० फेव्रवरी, २०१५ बाट सुरु भएको उक्त आयोजनाको २८ मार्च, २०२० सम्म सुरुङ सम्पन्न गर्ने लक्ष्य थियो । लक्ष्यको झण्डै एक बर्ष अगाडि नै सुरुङ खन्ने काम सकिएको थियो ।
भेरी बबई भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना बर्दिया र बाँकेको ५१ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउने र बाह्रै महिना ४८ मेगावाट विद्युत उत्पादन गर्ने सरकारको बहुउद्देश्यीय राष्ट्रिय गौरवको आयोजना हो । भेरी नदीमा बाँध बाँधेर १२ किलोमिटर २ सय मिटर लामो सुरुङबाट ४० क्युबिक मिटर प्रतिसेकेन्ड पानी बबई नदीमा लगेर खसालिनेछ ।
बबई सिँचाइ आयोजनाबाट उक्त पानी बर्दिया र बाँकेको खेतीयोग्य जग्गामा सिँचाइ सुविधा पुग्ने छ । चिप्लेमा ड्याम बाँधेर भेरीको पानी सुरुङबाट लगेर बबईमा खसाली हात्तीखालमा विद्युत गृह निर्माण गरी विद्युत् उत्पादन गरिनेछ । उक्त आयोजनाले वर्षभरि नै एउटै क्षमतामा ४८ मेगावाट विद्युत उत्पादन गर्नेछ ।
कुलमानका नाममा प्रचण्ड प्रमिथस बन्न खोजे : ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बर्षौँ लगाएर जे काम गरिएको हुन्छ, त्यसलाई चमत्कार र जादुको रूपमा व्याख्या गर्न खोजेको बताएका छन् ।
मंगलबार सुजाता कोइरालाको ‘म र मेरो सानोबुबा’ लोकार्पण समारोहमा उनले अध्यक्ष प्रचण्डले लोडसेडिङ आफूले हटाएको दावी गरेको भन्दै प्रमिथस बन्न खोजेको आरोप लगाए ।
उनले भने, ‘उबेला पृथ्वीमा अन्धकार थियो, स्वर्ग उज्यालो थियो, चिसो थियो । पृथ्वीका मान्छेहरूलाई पनि उज्यालो चाहिन्छ भनेर देवताका भाइहरूमध्ये सबैभन्दा कान्छा प्रमिथसले आगो चोरेर पृथ्वीमा ल्याए । त्यसबापत उनलाई हजार वर्ष ढुङ्गाको चेपमा कैद गरेर राखिएको थियो । ती मित्रले त्यस्तै गरेर व्याख्या गर्नुभएछ । उहाँले प्रमिथसले जस्तै उज्यालो ल्याउनुभो । अघिल्लो चार वर्षको कार्यकाल पूरै उहाँले त्यहीँ काम गरेर पूरा गर्नुभएको थियो । त्यसबेला ल्याउनुभएको थियो कि । उहाँले नियुक्ति गर्नेवित्तिकै आगो बोकेर, बिजुली बोकेर, चिम बोकेर आउनुभयो कि ? बर्षौँ लगाएर जे काम गरिएको हुन्छ, त्यसलाई चमत्कारको रूपमा, जादुको रूपमा व्याख्या गर्ने ? कोही पनि साथीहरूलाई यस्ता कुराको भ्रममा नपर्न आग्रह गर्न चाहन्छु ।’
त्यस्तै उनले बाहिरबाट खोजेर नल्याई त्यहीँबाट अवकाशप्राप्त भइसकेको मान्छेलाई नियुक्ति गरेको भन्दै प्रचण्डले निष्काशन गरेर वा सरुवा भनेर अर्को ठाउँमा निकम्मा बनाएर राखिदिएको बताए ।
उनले भने, ‘एकजना मित्रको स्टटास देख्या थिएँ । त्यहाँबाट अवकाशप्राप्त भइसक्या मान्छेलाई, त्यहीँबाट हुर्किएर आएको त्यहीँको मान्छेलाई वा क्याडरलाई नियुक्ति दिएको हो । बाहिरबाट खोजेर ल्याएको होइन् । त्यस्तो मान्छे उहाँले निष्काशन गर्नुभयो वा सरुवा भनेर अर्को ठाउँमा निकम्मा बनाएर राखिदिनुभयो जहाँ उसको कार्यक्षेत्र होइन । अनि रिटायर्ड मान्छेलाई फेरि ल्याएर राखिदिनुभयो ।’
कुलमानको बर्खास्त विरुद्ध प्रदर्शन, सरकार फाल्ने उद्घोष
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णयप्रति उनका समर्थकहरूले काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।
सोमवार बसेको मन्त्रीपरिषद्को बैठकबाट उक्त निर्णय भएपछि आज (मंगलबार) विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरूले ‘लोडसेडिङ चाइँदैन, कुलमान हटाउन पाइँदैन्’,‘मन्त्रीपरिषद्को निरङ्कुश र भ्रष्ट निर्णय खारेज गर’ भन्दै विरोध प्रदर्शन गरेका छन् ।
उक्त प्रदर्शनमा सहभागी रञ्जन खनालले भ्रष्टाचारमा मुछिएका मन्त्रीहरूलाई बचाउन र इमान्दार कर्मचारीलाई बर्खास्ती गर्ने सरकारको काम गलत भएको बताए ।
उनले भने, ‘पदमुक्त मन्त्रीलाई गर्नुपर्ने हो । कुलमानलाई बर्खास्त गर्दा लोडसेडिङ सुरु हुन्छ । उज्यालोका लागि लड्ने कुलमानले कहिले भ्रष्टाचार गरेका छन् र भष्ट्राचारमा मुछिएका मन्त्रीहरूका घट्नाहरू ढाकछोप गर्न कर्मचारीलाई बर्खास्ती गर्ने काम गलत हो । त्यसकारण यो सरकार फाल्नुपर्छ । देशभक्त नागरिकहरू यो सरकार फाल्नको लागि सडकमा आएका हुन् ।’
जुटको बोरामा बेरेर माटोमा गाडिएको अवस्थामा भेटियो गुलशनाको शव
सिरहा । गत फागुन २९ गते हराएकी १३ वर्षीया गुलशना खातुनको शव बोरामा बेरेर गाडिएको अवस्थामा फेला परेको छ ।
गोलबजार नगरपालिका–९ गोविन्दपुर गाउँकी बालिका गुलशना गत २९ गते फागुन बिहान ९ बजे घर बाहिर निस्केकी थिइन् । त्यसपछि उनी फर्किनन् ।
मंगलबार बिहान गोठालाहरु झाडी बुट्यान छेउछाउबाट गन्ध चलेको चर्चा भएपछि स्थानीयले इलाका प्रहरी कार्यालय मिर्चैयालाई खबर गरेका थिए ।
गोलबजार ९ का पूर्ववडाध्यक्ष रामपुकार कामतीले भने,‘एकातिर गाउँमा बालिका हराइरहेको खबर डढेलो झैं फैलिएको थियो । अर्कोतिर वनमारा झाडीभित्रबाट लास कुहिएको गन्ध आएपछि गाउँमा आशंका जाग्यो । दुर्भाग्यवश आशंका सत्यमा परिणत भयो । १३ वर्षीया गुलशना बोरामा बेरिएर खाडल भित्र मृत अवस्थामा फेला परिन् ।’
घटनास्थल पुगेका प्रहरीले घुर्मी खोला किनारमा तीन फिट खनेपछि जुटको बोरामा बेरिएको बालिकाको शब फेला परेको प्रहरी उपरीक्षक सन्त बहादुर बाखुले जानकारी दिएका छन् ।
उनले भने,‘लास पुरै कुहिएर चिन्न नसकिने अवस्थामा छ । कपडा र बाँकी रहेको शरीरको आकृतिबाट हराइरहेकी बालिका नै हुनुपर्छ भन्ने अनुमान लगाइएको छ । प्रहरीले बालिकाको शव पोष्टमार्टमका लागि सिरहा अस्पतालमा पठाउने तयारी गरेको छ । अपराधिले लास छिटो गलोस् भनेर खाडलमा नुन हालेर शव गाडेको फेला परेको छ ।
फागुन २९ गते हराएकी गुलशनाको खोजी गरिदिन उनकी आमा जाहेदा खातुनले इलाका प्रहरी कार्यालय मिर्चैयामा गत चैत १ गते निवेदन दिएकी थिइन् । सात दिन बितिसक्दा पनि छोरीको अत्तोपत्तो नलागेपछि अत्तालिएकी जाहेदाले पत्रकार बोलाएर लेखिदिन आग्रह गरेकी थिइन् । खातुनले प्रहरीले हराएकी छोरीको खोजी गर्न उदासिनता देखाएको आरोप लगाएकी थिइन् ।
गत चैत ६ गते इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक बाखुसँग गुलशनाको खोजीबारे जिज्ञासा राख्दा उनले भनेका थिए, ‘गुलशनालाई छिमेकी जिल्लामा पु¥याइएको सुरागी आएको छ । हामी निकै नजिक पुगिसकेका छौं । चाडै बालिकाको उद्धार गर्छौ ।’ तर दुर्भाग्यवश बालिकाको जीवित उद्धार गर्न प्रहरी असफल भएको छ ।
बालिका मृत भेटिएपछि नायव प्रहरी उपरीक्षकसँग सोधियो,‘चाडै उद्धार गर्छौ भन्नुभएको थियो । बालिकाको सडेगलेको शरीर फेला प¥यो त ?’ उनले उत्तर दिंदै भने,‘एक व्यक्तिले हामीलाई बालिका धनुषामा देखिएको सूचना दिएका थिए । पछि उनलाई बोलाएर बालिकाको तस्बिर पनि देखाएर सोध्दा,‘हो–मैले यही बालिकालाई एउटा केटासँग धनुषामा देखेको बताएका थिए ।’
‘हामीले रौतहटसम्म घेराबन्दी गरेका थियौं । तर सूचना गलत निस्क्यो,’ उनले भने । प्रहरी नायव उपरीक्षक बाखुले अब अनुसन्धान कुनै कसर बाँकी नराख्ने र अपराधी पत्ता लगाएरै छोड्ने बताएका छन् ।
छोरीको लास फेला परेको खबरले आमा जाहेदा खातुन र उनका परिवार स्तब्ध छन् । आमा जहेदा इन्तु न चिन्तु भएकी छिन् । गोबिन्दपुर गाउँ नै शोकाकुल भएको छ ।
उनले प्रहरीले आफु र आफ्नो परिवारलाई गुम्राहमा राखेको आरोप लगाइन् । उनले भनिन्,‘बालिका भेटि सकिएको छ । चाडै घर ल्याइदिन्छौ भनेर आश्वासन दिएका थिए । तर अहिले सग्लो लास पनि दिन सकेनन् ।’ प्रहरीले बालिकाको खोजीमा मेहनत गरेको भए आफ्नी छोरी जीवितै भेटिन्थ्यो भन्दै उनले प्रहरीले वास्तै नगरेको आरोप लगाइन् ।
मृत गुलशना खातुन स्थानीय सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिइन् । त्यस अघि उनी स्थानीय मदर्सामा पढथिइन् ।
प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत निर्वाचित
विराटनगर । नेकपा एमालेनिकट पत्रकारको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् । सोमवार राति सम्पन्न अधिवेशनबाट पाण्डे सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका अर्का आकाङ्क्षी राजेश राईले पाण्डेलाई समर्थन गरेका थिए । राईले संगठनको हितको लागि आफूले अध्यक्ष पदको दाबी छाडेको बताएका थिए ।
अधिवेशनबाट उपाध्यक्षमा चेतन अधिकारी र कृपा भण्डारी सर्वसम्मत निर्वाचित भएका छन् । महासचिव हिरामान लामा दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका छन् ।
उपमहासचिवमा हरिबल्लभ नेपाल सर्वसम्मत हुँदा सचिवहरूमा विष्णु तारुके, प्रदीप आचार्य, विक्रम लुइँटेल र नरेश भण्डारी पनि सर्वसम्मत निर्वाचित भएका छन् ।
संगठनमा वरिष्ठ नेताको हैसियत हुने गरी विश्वमणि सुवेदीलाई निवर्तमान अध्यक्ष पछिको स्थानमा राख्ने निर्णय हलले पारित गरेको छ । नेकपा एकीकृत समाजवादी निकट प्रेस संगठन नेपालको अध्यक्ष बनेका सुवेदी सिङ्गो टिम सहित केही समय अघि प्रेस चौतारी नेपालमा नै फर्किएका थिए ।
केन्द्रीय समिति पदाधिकारी पछिको बरियतामा रहने गरी शिवशक्ति आचार्य र निरकराज जोशीलाई सचिवालय सदस्य तोकिएको छ । बाँकी ५ सदस्य सचिवालय भने चयन गरिने कार्यक्रममा अध्यक्ष मण्डलका सदस्य गणेश बस्नेतले जानकारी दिए ।
९९ सय सदस्यीय केन्द्रीय समितिका सबै प्रदेशका इन्चार्जको जिम्मेवारी पनि तोकिएको छ । जस अनुसार केन्द्रीय सदस्य नूतन श्रेष्ठलाई कोशी प्रदेश इन्चार्ज, अच्युत पौडेललाई मधेस प्रदेश प्रतिमा सिलवाललाई वाग्मती प्रदेश, गणेश पौडेललाई गण्डकी प्रदेश, टीकाबहादुर बस्नेतलाई लुम्बिनी प्रदेश, याम शर्मालाई कर्णाली प्रदेश, दिलबहादुर छन्त्याललाई सुदूरपश्चिम प्रदेश, हेमराज सिलवाललाई उपत्यका प्रदेश, एसिमा महतलाई प्रतिष्ठान प्रदेश र रघुनाथ सापकोटालाई एसोसिएट प्रदेश इन्चार्ज तोकिएको छ ।
महाधिवेशनले अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र नीति अनुसन्धान आयोगका पदाधिकारी र सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन गरेको छ ।
संगठनको हित र समायोजन भएर आएकालाई समेत व्यवस्थापन गर्नका लागि सर्वसम्मत नेतृत्व चयन गरिएको नेकपा एमाले जनसंगठन विभाग प्रमुख भानुभक्त ढकालले बताए । उनले संगठनलाइ थप मजबुत बनाएर लैजान पनि आग्रह गरे ।