प्रतिनिधिसभा : दुवै पक्षका सांसद उठेपछि बैठक स्थगित
काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सत्ता पक्ष र प्रतिपक्षी दलका सांसद उठेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।
सत्ता पक्षका सांसदहरूले सदन सञ्चालनको माग गर्दै उठेका हुन् भने प्रतिपक्षी दलका सांसद प्रधानमन्त्रीको जवाफको माग गर्दै उठेका हुन् ।
संसदमा अवरोध हटाउनका लागि सभामुख देवराज घिमिरेले बैठक राखेका थिए । उक्त बैठकमा उनले तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार भएको भन्दै संसदमा छलफलको वातावरण बनाउन आग्रह गरे ।
तर प्रतिपक्षी दलले प्रधानमन्त्रीले जवाफ नदिँदासम्म बैठक सञ्चालन गर्न नदिने अडान कायमै राखेको छ । यता चैत १८ मा प्रधानमन्त्रीले जवाफ दिने सूचना आइसकेकाले बैठक अवरोध गर्नु जायज नहुने भन्दै सदन सञ्चालनको मागसहित सत्तापक्षले पनि उठेर सभामुखको ध्यानाकर्षण गराएको थियो ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायतले कुलमान घिसिङ बर्खास्तीलगायतका विषयमा प्रधानमन्त्रीको जवाफको माग गर्दै संसदमा अवरोध गरिरहेका छन् ।
जरिबानाको पत्र लिएर निर्मल निवास पुगेको नगर प्रहरी टोली गेटबाटै फिर्ता
काठमाडौँ । शुक्रवारको प्रदर्शनपछि पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिबाना तोकेको पत्र लिएर निर्मल निवास पुगेको काठमाडौँ महानगर प्रहरीको टोली गेटबाटै फर्किएका छन् ।
शुक्रवार राजावादी आन्दोलनको क्रममा तीनकुने, कोटेश्वर, सिनामंगल, बालकुमारी क्षेत्रमा जथाभाबी फोहोर गरी वातावरण प्रदूषण गरेको, सार्वजनिक सम्पत्ति तोडफोड गरेको भन्दै महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सात लाख ९३ हजार जरिबाना तोकेको छ ।
उक्त पत्र लिएर आइतवार निर्मल निवास पुगेको महानगर प्रहरीको टोलीलाई त्यहाँका सुरक्षाकर्मी र कर्मचारीलाई गेटबाटै फर्काइदिएका हुन् । निर्मल निवासबाट टोली फिर्ता भएपनि हुलाकमार्फत जरिबानाको पत्र पठाइएको महानगर नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।
तीनकुने घटनामा ज्यान गुमाएकालाई शहीद घोषणा गर्न राप्रपाको माग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार तीनकुनेमा भएको घटनाको पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने बताएको छ ।
शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलनको कार्यक्रम भड्किनुमा सरकार आफैं दोषी रहेको जिकिर गरेका छन् ।
उनले भने, ‘बैठकले विशेष गरेर हिजो तीनकुने क्षेत्रमा भएको घटनाप्रति दुख व्यक्त गरेको छ । जसले जे उदेश्यका लागि गरेको भए पनि हिंसात्मक क्रियाकलापमा राप्रपा सधैं विपक्षमा छ । हिंसारहित कार्यक्रम हुनुपर्छ भन्ने पक्षमा राप्रपा छ । हिजो जे घटना भयो । त्यसमा सरकारको संलग्नता थियो,सरकार दमन गर्ने योजनाको साथ परिचालित भएको थियो,यो पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्छ । ’
साथै राप्रपाले शुक्रबार तीनकुनेमा राजावादीले गरेको प्रदर्शनका क्रममा भड्किएको हिंसाबारे छानबिन गर्न छुट्टाछुट्टै तीन आयोग गठन गर्न माग गरेको छ ।
घटनाबारे नागरिक छानबिन आयोग गठन गर्न, मानवअधिकारवादीलाई पनि छानबिन आयोग बनाउन र सरकारले पनि न्यायिक आयोग गठन गर्नुपर्ने बैठकले माग गरेको लिङ्देनले बताए ।
यसैगरी राप्रपाले शुक्रबार तीनकुनेको घटनामा ज्यान गुमाएका दुई जनालाई शहीद घोषणा गर्न माग गरेको छ । ‘हिजोको घटनामा ज्यान गुमाएका दुवै जनालाई शहिद घोषणा गर्न सरकारसँग माग गरेका छौं,’ लिङ्देनले भने । शान्तिपूर्ण प्रदर्शनमा सहभागी रवीन्द्र मिश्र र धवलशमशेर राणालाई पक्राउ गरेर फसाउने काम भएको समेत राप्रपाको ठहर छ ।
शुक्रबार भएको राजावादी आन्दोलनको घटनामा कीर्तिपुर निवासी २९ वर्षीय सविन महर्जन र एभिन्युज टेलिभिजनका फोटोपत्रकार सुरेश रजकको मृत्यु भएको थियो ।
महानिरीक्षक थापाको निर्देशन : उच्च मनोबलका साथ परिचानल हुनुहोस्
काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापाले शान्ति सुव्यवस्था कायम राख्नु र जीउ धनको सुरक्षा गर्नु नेपाल प्रहरीको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै जस्तोसुकै विषम परिस्थितमा पनि उच्च मनोबलका साथ उपलब्ध संयन्त्रको अधिकतम उपयोग गरी प्रहरी परिचालन गर्नुपर्ने बताएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायतका विषयमा शनिबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक थापाले उक्त कुरा बताएका हुन् ।
प्रहरी महानिरीक्षक थापाले आ–आफ्नो क्षेत्रमा कुनैपनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनुपर्ने उल्लेख गर्दै आपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी आवश्यक सुरक्षा रणनीति एवम् प्रभावकारी प्रहरी परिचालनमा कटिबद्ध हुन निर्देशन दिए ।
आ–आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए ।
प्रहरी महानिरीक्षक थापाले सीमित स्रोतसाधनको अधिकतम् प्रयोग गरी धैर्यताका साथ थप संवेदनशील भएर प्रहरी कर्मचारीहरूले आफ्नो काम कारवाही गर्नुपर्ने उल्लेख गर्दै आम नागरिकको समस्यालाई समयमै सम्बोधन गर्ने गरी प्रहरी परिचालित हुनुपर्नेमा जोड दिए ।
अवैध हातहतियार ओसार पसार, विष्फोटक पदार्थ ओसार पसार, तस्करी एवम् गुण्डागर्दी लगायतका अराजक गतिविधि नियन्त्रणमा प्रहरी निर्मम ढंगले अगाडी बढ्नुपर्ने उनले बताए ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, सातवटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू एवम् जिल्ला प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।
काठमाडौं महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई सात लाख ९३ हजार जरिवाना तिराउने
काठमाडौं । काठमाडौं महानगरपालिकाले चैत्र १५ गते पूर्वराजाका समर्थकहरुले गरेको प्रदर्शनका क्रममा नोक्सानीको विवरणसहितको पत्र पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा पठाएको छ ।
शनिबार सबै घटनामा कुल नोक्सानी रकम सात लाख ९३ हजारसहितको पत्र महानगरले शाहलाई पठाएको हो । उक्त पत्र निर्मल निवासमा पठाइएको महानगरले जनाएको छ ।
उक्त पत्रहरुमा काठमाडौं महानगरपालिका वडा नं.–३२ तीनकुनेमा आयोजना गरिएको कार्यक्रमबाट कोटेश्वर क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरि वातावरण प्रदूषण गरेकाले फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु.एक लाख जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ ।
महादेवस्थान क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरि वातावरण प्रदूषण गरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ भन्दै महानगरले पत्र लेखेको हो ।
उक्त क्षेत्रको भवनमा आगजनी भएको खवर प्राप्त हुनासाथ काठमाडौं महानगरपालिकाको न्यूरोड बारुण यन्त्रको दमकलसहित अग्नि नियन्त्रकहरु खटिई गई आगो नियन्त्रण गर्ने क्रममा कार्यक्रममा आएका व्यक्तिहरुले दमकल र अग्नि नियन्त्रकहरुलाई ढड्डामुढा गरि दमकल फुटाएकाले क्षतिपूर्ति वापत रु. एक लाख तीस हजार दाखिला गर्नुहुन निर्देशानुसार अनुरोध गरिन्छ ।
‘कोटेश्वर क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरि वातावरण प्रदुषण गरेकोले तपाईलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु. १००,०००÷०० (अक्षरुपी एक लाख) जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ,’ पत्रमा भनिएको छ ।
सो क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरि वातावरण प्रदुषण गरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु.१००,०००÷०० ( अक्षरुपी एक लाख) जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिएको महानगरले जनाएको छ ।
उक्त कार्यक्रमबाट बालकुमारी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरि वातावरण प्रदुषण गरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु. १००,०००÷०० (अक्षरुपी एक लाख) जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध महानगरले गरेको छ ।
जडिवुटी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरि वातावरण प्रदुषण गरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु. १००,००० ०० (अक्षरुपी एक लाख जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गर्दै महानगरले अर्कोपनि पत्र काटेको छ ।
कार्यक्रमबाट सिनामंगल क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरि वातावरण प्रदुषण गरेकोले तपाईलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु. १००,०००÷०० (अक्षरुपी एक लाख) जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध पत्र महानगरले काटेको हो ।
कार्यक्रमबाट सो क्षेत्रमा रहेको रुख, विरुवा, रेलिङ्ग तोडफोड गरेवापत रु.४०,०००÷०० र तिनकुने आईल्याण्डमा तोडफोड गरेवापत रु.२३,०००÷०० गरि जम्मा रु. ६३,०००÷०० अक्षरुपी (त्रिसठ्ठी हजार) मात्र जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध महानगरले गरेको छ ।
पत्रकार हत्याको विरोधमा पत्रकार महासंघद्वारा आन्दोलनको घोषणा
काठमाडौँ । नेपाल पत्रकार महासंघले पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेको छ । कार्यस्थलमा खटिएका पत्रकार रजकको प्रदर्शनकारीहरूले षड्यन्त्रपूर्वक आगलागीमा पारी हत्या गरेको भन्दै महासंघले उक्त घटनाको सत्यतथ्य छानविन गर्न, दोषीलाई कारबाही गर्न तथा पीडित परिवारलाई राहत उपलब्ध गराउन आन्दोलनको घोषणा गरेको हो।
महासंघको शनिबार बिहान बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले सुनियोजितरुपमा भएको पत्रकार हत्या, आक्रमण र मिडियामाथिको आक्रमणको विरोधमा आइतबारदेखि थप तीन दिनका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
महासंघले शुक्रबार भएको पत्रकार हत्या, आक्रमण र मिडियामाथिको आक्रमणका विषयमा अध्ययन गर्न उपाध्यक्ष उमिद बाग्चन्दको संयोजकत्वमा ७ सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ। केन्द्रीय समितिका सचिवहरू रमेश खतिवडा, प्रकाश धौलाकोटी, सोनी शर्मा, अशोक तिवारी, वैकुण्ठ पराजुली र सविन प्रियासन कार्यदलमा सदस्य छन्।
त्यस्तै, घटनाको विरोधमा महासंघले आइतबार देशभरका पत्रकारहरूलाई कालोपट्टि बाँधेर काम गर्न आव्हान गरेको छ। त्यस्तै, सोमबार महासंघ केन्द्रले संघीय सरकारका गृहमन्त्रीलाई, प्रदेश समितिहरूले प्रदेशका गृहमन्त्री र जिल्ला शाखाहरूले प्रमुख जिल्ला अधिकारीमार्फत् एकैसाथ सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको महासचिव रामप्रसाद दाहालले जानकारी दिए।
त्यस्तै, मंगलबार घटनाका विषयमा सञ्चार गृहका सम्पादक र सरोकारवाला संघसंगठनका नेताहरूसँग छलफल गर्ने कार्यक्रम तय गरेको छ। महासंघले शनिबार आक्रमणमा परेका सञ्चारगृहमा गएर स्थलगत अवलोकन तथा निरीक्षक गर्ने, घटनाका पीडित, प्रत्यक्षदर्शी र पीडितका परिवारसँग छलफल गर्ने निर्णय गरेको छ। त्यस्तै, पत्रकार सुरेश रजक कार्यरत रहेको सञ्चार संस्थालाई समेत उनको परिवारलाई राहत तथा क्षतिपूर्ति, सेवा सुविधा भुक्तानी लगायतका विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
तीनकुने घटनामा न्यायिक छानबिन आयोग गठन गर्न रास्वपाको माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार तीनकुनेमा राजावादीहरूको प्रदर्शनका क्रममा भएको घटनामा उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।
शनिबार बसेको पार्टीको सचिवालय बैठकले काठमाडौँको तिनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा शुक्रबार घटेको घटनामा संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न उच्च न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने माग गरेको छ ।
साथै, रास्वपाले आगामी चैत १८ गते केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने गरी पार्टीको केन्द्रिय समिति बैठक समेत बोलाएको छ ।
शुक्रवारको प्रदर्शन राजनीतिक होइन, अपराधिक कदम हो : गृहमन्त्री
काठमाडौं । गृहमन्त्री रमेश लेखकले चैत्र १५ गते पूर्वराजावादी समर्थकहरुबाट आगजनी भएका भवनहरुको अनुगमन गरेका छन् । शनिबार उनले उक्त भवनहरुको स्थलगत अनुगमन गरेका हुन् ।
सोही क्रममा उनले यो कुनै राजनीतिक दर्शनभन्दा पनि अपराधिक काम भएको भन्दै यसको लागि सरकारले आवश्यक कारबाही गर्ने बताए । सञ्चार गृहलगायत सम्पूर्ण नागरिकको जीवन सुरक्षाका लागि पनि कुनै कसर बाँकी नराख्ने उनको भनाई छ ।
उनले भने, ‘तपाईहरुलाई दुःख र पीडा भयो यो एकदमै अपराधिक काम हो । यो कुनै राजनीतिक कुरा होइन, राजनीतिक दर्शन, चेतनाको कुरा होइन, नितान्त अपराधिक काम हो । यसको लागि सरकारले आवश्यक कारबाही गर्छ र सञ्चार गृह लगायत सम्पूर्ण नागरिकको जीवन सुरक्षाका लागि कुनै कसर बाँकी राख्दैनौ ।’
यस्तै, उनले सञ्चार एउटा महत्वपूर्ण अंग भएको हुदाँ यसलाई ध्वस्त गर्ने कोशिस लोकतन्त्र कै विरुद्धको गतिविधि भएको भन्दै यसलाई गम्भिरता पूर्वक लिने बताए ।
हिंसात्मक गतिविधिमा संलग्न पक्षहरूलाई कानुनको दायरामा ल्याउन मानव अधिकार एलाइन्सले आग्रह
काठमाडौँ । हिजो (चैत्र १५ गते) काठमाडौँमा राजावादीहरूको आन्दोलनमा भएको हिंसात्मक गतिविधिमा संलग्न पक्षहरूलाई कानुनको दायरामा ल्याउन मानव अधिकार एलाइन्सले आग्रह गरेको छ ।
प्रेस विज्ञप्ति जारी गर्दै मानव अधिकार एलाइन्सका अध्यक्ष विदुर सुवेदीले हिजो राजावादीहरूको अमानवीय र मानवता विरोधी गतिविधिहरू अत्यन्त निन्दनीय र खेदजनक कार्य भएको भन्दै हिंसात्मक गतिविधिमा संलग्न पक्षहरूलाई कानुनको दायरामा ल्याउन आग्रह गरेका हुन् ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘मानवअधिकार एलाइन्स नेपाल सरकारसमक्ष हिंसात्मक र विध्वंसात्मक गतिविधिमा संलग्न पक्षहरूलाई कानुनको दायरामा ल्याउन, घाइतेहरूको शीघ्र उपचार गर्न र मृतक परिवारलाई उचित क्षतिपूर्ति दिन आग्रह गर्दछ ।’
उनले विज्ञप्तिमा थप भनेका छन्, ‘नागरिकका नैसर्गिक अधिकारको उल्लङ्घन गर्ने, सञ्चार गृहहरूमाथि आक्रमण तथा आगजनी गर्ने, राजनीतिक दलका कार्यालयहरू तोडफोड गर्ने, निजी व्यवसायहरू लुटपाट गर्ने, सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड गर्ने, राष्ट्रिय मानवअधिकार संस्थाहरूप्रति आक्रमण गर्ने र आम नागरिकहरूमा त्रासदी सिर्जना गर्ने जस्ता अमानवीय र मानवता विरोधी गतिविधिहरू हुनु अत्यन्त निन्दनीय र खेदजनक कार्यहरू हुन् ।’
यस्तै उनले गतिविधिहरूले मानवअधिकारका आधारभूत सिद्धान्तहरू तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको सिद्धान्त र मर्मको ठाडो उल्लङ्घन गरेको बताए ।
मन्त्रिपरिषद्को आकस्मिक बैठक : शुक्रबारको घटनाको सत्यतथ्य छानविन गरिने, संलग्नलाई कारवाही हुने
काठमाडौं । सरकारले शुक्रबार काठमाडौंकाृ तीनकुनेमा राजावादीहरुको विरोध प्रदर्शनका क्रममा भएको जनधनको क्षतिको सत्यतथ्य छानविन गर्ने र दोषिउपर कारवाही गर्ने निर्णय गरेको छ ।
शुक्रबार राजावादीहरुको हिंसात्मक आन्दोलनका कारण काठमाडौं असान्त भएपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको थियो ।
‘आज मिति २०८१ साल चैत्र १५ गतेका दिन पूर्वराजाहरुका समर्थकहरुद्धारा काठमाडौंको तीनकुने र आसपासका क्षेत्रमा भएको अराजक प्रदर्शनका क्रममा नीजि, सार्वजनिक एवम सरकारी सम्पत्ति अस्पताल, सवारी साधन, राजनीतिक दलका कार्यालय साथै संंचार गृहहरुमा भएको तोडफोड, आक्रमण र तोडफोड गरी एवम अन्तार्राष्ट्रिय विमान स्थल जस्तो संवेदनशिल क्षेत्रमा हिंसात्मक गतिविधि गरी आतंक फैलाउने, घरभित्र मानिस भएको अवस्थामा ढुंगामुढा, आगजनी र मानिसको ज्यान लिनेजस्ता अमानवीय र गैरकानुनी कार्य भएकोप्रति नेपाल सरकार घोर भत्र्सना गर्दछ,’ सरकार प्रवक्ता पृथ्वी सुब्बा गुरुङले भने ।
उनले उक्त घटनाको सत्यतथ्य छानविन गरी दोषि उपर कारवाही गर्ने निर्णय भएको सुनाए । साथै प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको पनि उनले बताए । मन्त्रिपरिषदकै निर्णय सुनाउँदै मन्त्री गुरुङले म्यानमार र थाइल्याण्डमा भएको विनाषकारी भूकम्पका कारण भएको जनधनको क्षतिको दुःख व्यक्त गरेका छन् ।
शुक्रबार बेलुका बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक डाकेका हुन्।
काठमाडौंको तीनकुने, जडिबुटी, कोटेश्वर क्षेत्रमा राजावादी प्रदर्शन हिंसात्मक बनेपछि आकस्मिक बैठक बोलाइएको हो ।