माओवादीले भन्यो : ‘कोशी सरकार सदनप्रति अनुदार भयो’
इटहरी । कोशी प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकार सदन र प्रतिपक्षीप्रति अनुदार भएको टिप्पणी गरेको छ ।
सोमवारको प्रदेश सभाको बैठकको विशेष समयमा संसदीय दलको तर्फबाट बोल्दै माओवादी सांसद गणेश उप्रेतीले सरकारले कुनै प्रश्नको जवाफ दिन नचाहेको टिप्पणी गरेका हुन् ।
‘मुख्यमन्त्रीज्यूले हामीले उठाएका प्रश्नको जवाफ दिनुभएको छैन र दिने धारणा बनाउनुभएको पनि छैन् । त्यस कारण कोशी सरकार सदनप्रति कति पनि जिम्मेवार बन्नुपर्छ भन्ने अवस्थामा छैन्,’उनले भने,‘सरकारको जवाफ नआए सदन चल्न सक्दैन ।’
उप्रेतीले पाथीभरामा केवलकार निर्माणका सन्दर्भमा भइरहेको घटनामा समेत सरकार गैह्र जिम्मेवार रहेको टिप्पणी गरे । ‘सरकार वार्ता गर्ने समयमा गोली हान्न अगाडि स¥यो,’उनले भने,‘अहिले बन्दकै कारण कतिपय माननीयहरू आउन सक्नुभएको छैन ।’
सबैभन्दा पहिले त्यहाँ रहेको फौज फिर्ताका साथ काम रोकेर वार्ता गर्न उप्रेतीले सरकारलाई सुझाव दिए । ‘विकास पनि शान्तिपूर्ण ढङ्गबाट मात्रै गर्नु पर्दछ,’उनले भने, ‘सरकारले काम रोकेर र सुरक्षा फिर्ता बोलाएर वार्ताको टेबुलमा बस्नुपर्दछ ।’
केवलकार विवाद, नो केवलकार पक्षसँग आज वार्तामा बस्दै
२१ माघ, धरान । मुकुम्लुङ केवलकार विवाद समाधानको लागि सरकारले वार्ता टोलि गठन गरेको छ । शुक्रवार माननीय अशोक कुमार राईले केवलकार विवाद समाधान गर्न नो केवलकार पक्षसँग वार्ता गर्न सदनमा गृहमन्त्रीको ध्यानाकर्षण समेत गराएका थिए ।
सोही विषयलाई ध्यानमा राखी सकारको तर्फबाट ४ सदस्यीय वार्ता टोली गठन गरेको हो । गृह मन्त्रालय, सङ्घीय मामिला मन्त्रालय,पर्यटन तथा संस्कृति मन्त्रालय,सहरी विकास मन्त्रालयको प्रतिनिधि सहित आज नो केवलकार र सेफ मुकुम्लुङ पक्षसँग वार्ताको लागि समिति खटाएको हो।
मुकुमलुङमा नो केवलकार पक्षले वार्ताका लागि निम्न पूर्व सर्तहरू अगाडी सारेको छ । केवलकार खारेज गर्नु पर्ने, सशस्त्र प्रहरी हटनु पर्ने,गिरफ्तार गरेकालाई रिहा गर्नु पर्ने, घाइतेहरूको निःशुल्क उपचार गर्नु पर्ने ,घटनबारे अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने,घाइते जीवन बृत्ती दिनु पर्ने, मुकुमलुङ क्षेत्र भित्रका ३ हजार घरधुरी विस्थापित नहुने गरी पाथीभरा विकास समिति गठन आदेश २०५४ संशोधन हुनु पर्ने रहेको छ ।
अमेरिकाविरुद्ध क्यानडा र मेक्सिको एकजुट, करको बदला करबाटै दिने घोषणा
काठमाडौं । क्यानडा र मेक्सिकोप्रति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा नीति लिएपछि तिक्तता बढ्दै गएको छ । दुई राष्ट्रप्रति अमेरिकाले २५ प्रतिशत भन्सार शुल्क (कर) लगाउने निर्णय गरेसँगै सम्बन्धमा तिक्तता देखिएको हो ।
करका विषयमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र मेक्सिकन राष्ट्रपति क्लाउडिया साइनबमबीच आइतबार फोन संवाद पनि भइसकेको छ । उनीहरूले आफ्ना देशविरुद्ध लगाइएको करको जवाफ पनि करकै माध्यमबाट दिने चेतावनी दिएका छन् ।
साथै उनीहरुले साझा सरोकारमा मिलेर काम गर्न र द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउन सहमति पनि जनाएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानाडाका केही आयात र सबै मेक्सिकन आयातहरूमा २५ प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेको एक दिनपछि दुई नेताबीच फोन वार्ता भएको हो।
त्यसलगत्तै मंगलबारसम्ममा ३० अर्ब क्यानाडियन डलर (२१ बिलियन अमेरिकी डलर) मूल्यको अमेरिकी सामानमा २५ प्रतिशत शुल्क लगाउनेछ घोषणा गरिसकेका छन् । त्यसको २१ दिनपछि अर्को घोषणा गर्ने उनले जनाएका छन् । क्यानाडाले एक हजार बढी सामानहरुमा २५ प्रतिशत कर लगाउनेबारे सूची पनि सार्वजनिक गरिसकेको छ ।
मंगलबार देखि लागू हुने, पेय पदार्थ, सौन्दर्य प्रसाधन र कागज उत्पादनहरू सहित ३० बिलियन क्यानेडियन डलर बराबर मूल्यका अमेरिकी सामानहरूमा त्यस्तो कर लगाइने छ । दोस्रो चरणमा अर्को सूची घोषणा गर्ने क्यानाडाको तयारी छ ।(सीसीटीभी प्लस)
बिहान झनक्क रिस उठ्छ भने सरस्वतीको पाठ गर्दा राम्रो हुन्छ : ज्योतिषाचार्य चापागाईं
घनश्याम चापागाईं नेपाली धर्म, संस्कृति एवम् नेपालमा मनाइने पर्वहरूका विषयमा विशेष जानकारी राख्छन् । नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिको उपमहासचिव समेत रहेका उनी ज्योतिष परामर्श सेवामा पनि क्रियाशील छन् । सञ्चारकर्मी हुँदै ज्योतिष विज्ञानका क्षेत्रमा सक्रियता बढाएका उनीसँग वसन्त पञ्चमी एवम् सरस्वती पूजा, यसको महत्व, पूजा विधि र नेपालमा मनाइने तौर तरिकाका विषयमा गरिएको कुराकानीको सम्पादित भाग ।
वसन्त पञ्चमीको महत्व के छ ? तिथि र मितिका हिसाबले कहिले पर्छ ?
विशेषगरी वसन्त पञ्चमी वा सरस्वती पूजा एकै रूपमा बुझिन्छ । तिथि–मितिको हिसाबले भन्नुपर्दा २०८१ सालमा चाही माघको २१ गते सोमवारका दिन परेको छ । नेपाली समाजमा यो पर्वको विशेष महत्व छ । शिशिर ऋतुको गमन या बिदाई संँगसँगै वसन्त ऋतुको आगमन हुनेदिन भएकाले वसन्त पञ्चमीको विशेष महत्व छ । ६ वटा ऋतुहरू मध्ये सबैभन्दा लामो र सबैभन्दा महत्वपूर्ण ऋतु भनेर वसन्त ऋतुलाई लिइन्छ । धर्मशास्त्रका अनुसार पाँचवटा ऋतुहरूमध्ये वसन्त राजालाई बलवान् मानिएको छ । बलवान् भएकै कारणले आ–आफ्नो आयु र उमेरबाट दिनहरू हेर्दा लगभग सबै ऋतुहरू दुई महिनाका हुन्छन भने वसन्त ऋतु ४० दिन बढीको हुन्छ । यही वसन्त ऋतुबाट चाही नयाँ सिजन सुरु हुने विश्वास गरिन्छ ।
वसन्त पञ्चमी माता सरस्वतीको लागि किन महत्वपूर्ण र प्रिय छ ?
वसन्त ऋतुमा अर्थात् वसन्त पञ्चमीकै दिन भगवती सरस्वतीको जन्मदिनको रूप भनेर मानिन्छ । सरस्वतीलाई विद्याकी देवी भनेर पूजन समेत गरिने नेपाली परम्परा छ । महिलाहरू जम्मा तीन चरित्रका हुन्छन् भनेर व्याख्या गरिन्छ । ति देवीहरूको भक्ति गर्ने भनेको उहाँहरूको गुण अनुसरण गर्नु हो । प्रतिनिधित्व गर्नु वा नक्कल गर्नु भनेको दैविय अवतारहरूमा प्रवेश गर्यौँ भन्ने अर्थ लाग्दछ । महिला तीन चरित्रका भन्नाले एउटी सरस्वती स्वरूप हुन् । ति महिला भनेका महान ज्ञानी अर्थात् अत्यन्तै ज्ञानी भन्ने अर्थमा बुझिन्छ । अर्को लक्ष्मी स्वरूप भनेको महान धनी महिला भनिएको हो । अर्को भनेको महान बलवानी र पराक्रमी महिला जसलाई चाही हामी नवरात्रमा भगवती महाकाली महाशक्तिको रूपमा पूजा गर्दछौँ अर्थात् दुर्गा भवानीलाई पूजा गर्दछौँ। यी तीन देवीका आफ्नै महत्व छन् । तथापि महिलाले यी तीनवटा गुण आफूमा अनुकरण गर्न सक्नु भनेको सशक्त महिला हुनु हो । जो मान्छे धनी छ, त्यो मूर्ख हुन्छ । जो मान्छे विद्वान् छ त्यो मान्छे गरिब हुन्छ । धन र विद्या एउटै मान्छेमा प्रशस्त भएको भए त्यो मान्छेले संसार हल्लाउनसक्छ । त्यस्ता नारी र पुरुषहरू संसारमा यदाकदा मात्र छन् । तसर्थ विद्याकी देवी भनेर मानिने वसन्त पञ्चमीको दिन सरस्वती मातालाई सेतो वस्त्र धारण गरेर हाँसमाथि बसेकी, वीणा बजाउने गरेकी, हातमा कलम–पुस्तक लिएकी स्वरूपमा व्याख्या गर्छौँ । त्यही नै चिजको विकास हुने दिन र त्यहाँबाट अक्षर आरम्भ गर्ने गरिन्छ । साना बालबालिकाहरूलाई क,ख सिकाउने गरिन्छ । हरेक कुराको आरम्भ गर्दा शुभ दिन सरस्वती पूजालाई मानिन्छ । सँगीतकी देवी पनि मानिन्छ ।
बालबालिकालाई शिक्षारम्भ साथसाथै नाक–कान छेडी दिने चलन छ । खास किन यो दिन पवित्र मानिन्छ ?
स्कुलमा भर्ना गर्न बाँकी छ भने त्यो दिन अक्षर आरम्भ गरियो भने जिब्रोमा माता सरस्वतीको बास हुन्छ भन्ने विश्वास छ । घरमा लक्ष्मीको बास होस, आकाशका ३३ कोटी देवता सधैँ दाहिना भइदिउन भनेर गुरुहरूले आर्जिवाद दिने गर्छन् । वसन्त पञ्चमीमा अक्षर आरम्भ गराइयो भने बच्चा अत्यन्तै नै सक्रिय हुन्छ भन्ने विश्वास छ । हरेक कुराको साइत हुन्छ । बिना साइत केही काम हुँदैन । वसन्त पञ्चमीको दिन पवित्र दिन भएकाले नाक–कान छेड्दा केही साइत हेर्नु पर्दैन भन्ने विश्वास लिइन्छ । हरेक व्यक्तिले बेलुका सुत्नेबेलामा दिनभरीका थकानहरू भएपनि साँझ खुसी भएर सुत्दा बिहान झनक्क रिस उठ्छ भने सरस्वतीको पाठ गर्दा राम्रो हुन्छ । यति मात्र होइन विद्यार्थीहरूलाई विद्या आर्जन गराउनका लागि पनि पाँचवटा लक्षण हुनुपर्छ । ति पाँचवटा लक्षणहरू माता सरस्वतीको जुन वसन्त पञ्चमीका दिन आराधना गरेर पूजाअर्चना गरेर काम गरियो भने पाँचवटा लक्षणहरू प्राप्त हुन्छ ।
खासमा माता सरस्वती को हुन् ? हजुरले कसरी व्याख्या गर्नुहुन्छ ?
माता सरस्वतीलाई हामीले ब्रह्मा पत्नीका रूपमा चिन्छौँ तर उहाँ बम्हाकी बहिनी हुनुहुन्छ । हामी ब्रह्मा, विष्णु र रुद्रेस्वरप्रति गहिरो विश्वास राख्छौँ । ब्रह्माकी पत्नी भनेर सावित्रीलाई चिनिन्छ । कतिपय मान्छेहरूले सरस्वतीलाई ब्रम्हणी पत्नी भनेर व्याख्या गर्छन् । ब्रह्माकी बहिनीको रूपमा सरस्वती माता चिनिनुहुन्छ । अर्थात् विद्याकी देवी भनेर पनि उहाँलाई चिन्नुपर्छ ।
सरस्वती पूजा गर्ने प्रचलन कहिले र कसरी सुरु भयो ?
सरस्वती पूजाको थालनी कसरी र कहिले सुरु भयो भनेर भन्न सकिदैन् । तर यतिबेला हाम्रा धर्म शास्त्रहरू उदय भए वा पुराणहरूमा आदिम कालदेखि नै सरस्वती माताको पूजा गर्न थालियो । त्यही बेलादेखि सरस्वती पूजा गर्न थालिएको हो । वसन्त पञ्चमी माता सरस्वतीको जन्म दिन भनेर उल्लेख गरिएको छ । लेखकहरूले कसैले एउटा मिति दिने र कसैले अर्को मिति दिने गरेको पाइन्छ तर वास्तविक यही नै मिति भन्ने छैन् । तर पनि यस ऋतुमा उहाँको आगमन हुन्छ र वसन्त ऋतुमा उहाँको जन्म हुन्छ भनिएकाले त्यहाँदेखि थालिएको हो ।
हिजोआज धर्मकर्म हराउँदै गयो, पूजाआजा मानिसहरूले गर्दैनन् । सरस्वती पूजा मानिसले गर्दैनन, धर्म संस्कृतिमा लाग्दैनन्, आधुनिक युगमा मानिसहरू नास्तिक बने भनिन्छ । जति मान्छे नास्तिक बन्छ एकदिन त्यसलाई ठक्कर लाग्छ, मानिसले आपत परेपछि समाधानको पाटा खोज्छ । तथापि हामीले विश्वास राख्यौ भने उत्तम फल प्राप्ति हुन्छ । वसन्त पञ्चमीका दिन हामीले प्रयोग गरेका सरसामानहरूमा पनि ख्याल गर्नुपर्छ । अहिले कम्प्युटरको जमाना छ, हात हातमा फोन छ । हाम्रा सामाग्रीहरू हरेक चीजहरूको पूजन गर्नु भनेको त्यो चिजप्रति समर्पित छु भनिएको हो । पूजन, भक्ति र भावले लक्ष्य चुम्न सहयोग गरोस भनेर नै ति चिजको पूजा गरिएको हो ।
हजुरले पूजा गर्दा सर–सामग्रीमा ध्यान दिनुपर्छ भन्नुभयो । सामाग्रीहरू के–के प्रयोग गर्नुपर्छ ,पूजाका विधिहरू केके हुन् ?
माता सरस्वतीको पूजा गर्दा विशेषगरी दियो, कलश, गणेशको पूजा अनिवार्य गर्नैपर्छ । आफ्नो अफिसहरू वा घरमा गर्दा पनि दियो, कलश राखेर गणेशको पूजा गर्नैपर्छ । दायाँ हातपट्टी आसन अथवा पूर्व फर्केर पूजा गर्न बस्नुपर्छ । कर्ताले र आफ्नो दायँपट्टी दियो बालिन्छ र बीचमा गणेश स्थापना गरिन्छ । त्यसभन्दा पछाडि कलशमा पानी फूल राखेर दीप, कलश र गणेशको पूजा गरिन्छ । लामा लामा मन्त्रहरू हुन्छन, तीनको उच्चारण गरिन्छ । त्यसपछि गणेशको भन्दा अगाडि सरस्वती माताको मूर्ति वा फोटो राख्नुपर्छ । तर मूर्ति र फोटोमा दुईवटा प्रभाव हुन्छन् । फोटो राख्नुहुन्छ भने त्यति आपत्ति रहेन । यदि मूर्ति राख्नुहुन्छ भने प्राण प्रतिष्ठित हुनुपर्छ । बिना प्राण प्रतिष्ठा गरेका मूर्तिहरू अर्थात् बजारबाट किनेर ल्याएर त्यही दिन राखेर पूजा गर्दा त्यसमा शक्ति विस्थापित हुँदैन् । त्यसलाई जगाउनुपर्छ । एउटा लामो मन्त्र हुन्छ त्यसले विज्ञ गुरुहरूबाट सरस्वतीको प्राण प्रतिष्ठा गर्नुपर्छ । गुरुहरूले जगाइदिनुहुन्छ र त्यो चलायमान भयो भन्ने विश्वास गरिन्छ र मूर्ति पूजा गर्दा विशेष लक्ष्मी प्राप्ति गर्ने र स्थिर सरस्वती प्राप्त गर्न उभिएका मूर्तिहरूभन्दा बसेका मूर्ति किन्दा राम्रो मानिन्छ । त्यसैले माता सरस्वतीको बसेको फोटो, मूर्तिलाई प्राण प्रतिष्ठा गरेर त्यसको विधिवत् रूपमा चन्दन, अक्षता फूलपातीले मूर्तिको पूजन गरिन्छ । र पेशासँग सम्बन्धित सामग्रीहरूको पूजा गर्नपर्छ । वर्षभरी नै मेरो पेशा राम्रो होस् भन्दै कामना गर्दै आफ्नो पेशा अनुकूलको सामाग्रीको पूजा गर्ने र सकिन्छ भने सरस्वतीको जुन बन्धना स्तुति गाइन्छ, त्यो गाउनु राम्रो हो । माता सरस्वतीले हातमा लिएका विभिन्न साधनहरू छन् । ति मध्ये बुझ्नैपर्ने चाही चारवटा चिजहरू छन् । एउटा हातमा वीणा, अर्को हातमा स्फटिकको माला, अर्को हातमा पुस्तक र अर्को हातमा अभय मुद्रा बोक्नुहुन्छ । त्यसैले हामी माता सरस्वतीको भक्ति गर्ने हो भने यी चिजपनि ल्याएर पूजा गर्नुपर्छ ।
विद्यार्थी नभएपनि विद्या त जन्मदादेखि नै नमरेसम्म आर्जन गर्ने चिज हो । तसर्थ ज्ञान गुण दिने र लिने काम जीवन्त रूपमा चलिराखेको हुन्छ । ति चार चीजको पूजा एवम् माता सरस्वतीको पूजा गर्नु राम्रो हो । सकिन्छ भने त्रिकन्या, पञ्चकन्याहरूलाई माल्यार्पण गर्ने, टिकोटालो गरिदिने, मिठो फूल प्रसाद ग्रहण गराइदिने गर्नुपर्छ । र त्यो दिन माछा मासुहरू नखाने बेलुका माता सरस्वतीको स्तुति गान गर्ने गर्नुपर्छ ।
उहाँले चारवटा हातमा बोक्नुभएको भएको चार सामग्रीहरूको विशेषता पनि छुट्टै होला नि ?
वीणा माता सरस्वतीले बोकेकाले नाच्ने, गाउँने, बजाउने एवम् सँगीत साहित्यका सीपका धनीले पनि माता सरस्वतीको पूजा बढी गर्नुपर्छ भन्ने लाग्छ । उहाँको सहयोग प्राप्त भएन भने कलाकारहरू सप्रिदैनन् । कलाकारको प्रतिनिधित्व वीणाले गर्छ । अर्को हातमा भएको पुस्तक भनेको चाही शिक्षाको प्रतीक हो । विद्यार्थीहरूको स्मरणशक्ति तेज होस् भनेर पूजा गरिन्छ । अर्को स्फटिकको माला बोक्नुहुन्छ । स्फटिक भनेको पारदर्शीताको प्रतीक हो । सरस्वतीले सेतो वस्त्र धारण गर्नुहुन्छ र कमलमाथि बस्नुभएको र हाँसमा सवार गर्नुहुन्छ । त्यसैले त माता सरस्वतीको प्रतीक भनेको सेतो हो । सेतो रङ्ग भगवतीको हो, सेतो भनेको सफा हो । हरेक व्यक्तिको सोच पारदर्शी हुनुपर्यो । रिस उठ्यो भने त्यसलाई पैतालाले थिच्न सक्नुपर्यो अनि मात्र मनमा सङ्लो भाव सृजना हुन्छ । त्यसैले सेतो वस्त्रको प्रयोग गर्नुपर्छ भनेर स्फटिकको माला पूजा गरिन्छ । अर्को भनेको अभय मुद्रा हो, त्यो भनेको डरबिनाको मुद्रा हो । काम गर्दा हिम्मत वा आँट भएन भने परीक्षा पास गरिन्छ, त्यसैले यसको पूजा गर्नुनेको हो ।
पूजा गर्दा मन्त्रहरू चाही केके उच्चारण गर्नुपर्छ ?
माता भगवतीको स्तुति गर्ने मन्त्र धेरै लामा हुन्छन् । विशेषगरी स्तुति गान गर्नुपर्छ । व्रम्हाकी स्वरूप भएकी भगवती सरस्वतीको १२ वटै स्वरूपलाई एकै पटक नमन गरेर स्तुति गान गाउनुपर्छ ।
युवा पुस्ताहरूमा नास्तिकपन बढ्दो देखिन्छ । यसले धर्म संस्कृतिको संरक्षण र नयाँ पुस्तामा आस्था कसरी ल्याउन सकिएला ?
हामी विदेशी तामझामहरूलाई भित्राइरहेका छौ, आफ्ना पुरातन संस्कृतिहरूलाई बिर्सिदै गइरहेका छौ । जन्म दिन मनाउँदाको क्षणलाई नै हेरे पुग्छ । जन्मदिनको दिन त आफ्ना अष्ठ चिरन्जिवीहरूको पूजा गरेर, पाठ गराएर बर्षदिन भरीको समय शुभ रहोस भनेर कामना गर्नुपर्ने हो । ग्रहहरूको शान्ति गराउने हिजोको जमानामा आज विभिन्न बस्तुहरू मिक्स गरिएका केक ल्याएर रमाइलो गर्छौं । अनि त्यो केक काटेर खाने क्रममा सबैभन्दा पहिले बत्ति बाल्नुपर्ने हो तर जब केक काट्ने बेला भयो बत्तिलाई फुकेर निभाउँछौँ । बत्ति त ज्वलन्त हुनुपर्यो नि, निभ्नु भएन । बत्ति जलेर आफूलाई उज्यालो दिलाओस् भन्ने हो । हरेक व्यक्तिले आफ्नो ज्ञानको ज्योति छर्नु भनेको बत्ति बाल्नु हो । तर हाम्रो समाजमा पाश्चात्य संस्कृति बढ्न थालेको छ । नौ वटा ग्रहहरू घुम्दै जाने क्रममा सबै मान्छेलाई सुखैसुख हँुदैन् । एकदिन दुःख हुन्छ । दुःख भएपछि त्यो मान्छेलाई ठक्कर जब लाग्छ उ जति नास्तिक होस् उ कुनै पनि माध्यम अपनाएर आस्थाका देवी देवताकोमा ज्ञान लिन जान्छ । तुलनात्मकरुपमा धर्म संस्कृतिप्रति आस्था घटेकै हो । पाँच भाई छोरा जन्मिदा एक भाई आस्तिक र अरू नास्तिक हुँदा उसले अरू भाइलाई मोटिभेट गर्नसक्छ । आगोको झिल्का ठुलो चाइदैन सानो थोरै शक्ति भएपनि त्यसले जलाएर त्यो उज्यालोमा अरू मान्छेलाई ल्याउन सक्छ भन्ने विश्वास गर्न सकिन्छ । तर यसमा चाही राज्यले पनि नीति ल्याउनुपर्छ ।
धर्म संस्कृतिको संरक्षणको विषयलाई राज्यले कतिको प्राथमिकतामा राखेको छ जस्तो लाग्छ ?
राज्यले कानून निर्माणमा कमी गरेको छैन् होला । संविधानमा लेखिदाखेरी धर्म संरक्षणका खातीर बहुपार्टीको प्रतिनिधित्व भएको देखिन्छ । तर धर्म संस्कृति प्रतिको संरक्षणमा व्यवहारिक रूपमा सरकारी तवरबाट केही कमजोरी भएको छ । पाश्चात्य मुलुकहरूबाट प्रतिपादित भएका धर्म गुरुहरू, पादरीहरूसँगको साँठगाँठ भएको देखिन्छ । धर्म संस्कृतिको संरक्षणमा कागजी प्रकियामा जति उल्लेख गरिएको छ व्यवहारिक रूपमा केही कमजोरीपन देखिएकै छ । यसमा हामीले राज्यलाई घचघच्याउनुपर्छ । राज्यले गरेर भन्दा पनि राज्यप्रति उत्तरदायी हामी जनताहरूको आवाज त्यहाँ बुलन्द हुनैपर्छ ।
बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताबाट धरान बाहिरियो
धरान । २५ औँ संस्करणको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलबाटै धरान फुटबल क्लब बाहिरिएको छ ।
धरान रङ्गशालामा घरेलु दर्शकको साथ पाएको धरान फुटबल क्लब भारतको युकेएफसीसँग सडनडेथमा ७–६ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।
निर्धारित समयमा दुवै टिमले एक एक गोल गरेपछि सिधै पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा दुवै टिमले ५–५ गोल गरेका थिए ।
धरानका मनोज राइको प्रहार पोस्ट बाहिर गएपछि युके एफसीका हेमराज भुजेलले निर्णायक गोल प्रहार गरेर टिमलाई सेमिफाइनलमा प्रवेश गराए । पहिला सुरुमा दोर्जे तामाङ, विवेक राई, सुगम जिमी, कार्लोस साम, बाफोरले लगातार गोल गरेका थिए ।
युके एफसीका लागि विशाल क्षेत्री, सुदिश राई, सिर्जल राई, रुस्तम प्रधान र राज रोउथले गोल गरेपछि पेनाल्टी ५–५ मा पुगेको थियो ।
त्यसपछि सडनडेथमा धरानका प्रज्वल थापाले छैटौं गोल गरेका थिए । आकाश प्रधानले युेका लागि गोल गरेपछि सडन दुवै टिम बराबरी अवस्थामा रहेका थिए । गोलकिपरको कुनै पनि भूमिका नदेखिएको खेलमा धरानका मनोज राइको प्रहार बाहिर पुग्यो भने युके एफसीका हेमराज भुजेलले गोल गर्दै जित दिलाए ।
निर्धारित समयमा युके एफसीका हेमराज भुजेलले १८ औं मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । तर, ४४ औं मिनेटमा धरानका विनोद राईले गोल गर्दै बराबरीमा ल्याएका थिए ।
दुवै टिमले पाएका मौकाको सदुपयोग गर्न नसक्दा नतिजा निकाल्न भने पेनाल्टी हुँदै सडनडेथसम्म पुग्नु परेको हो । प्रतियोगिता अन्तर्गत सोमवार नवजनजागृति र भुटानको आरपीसी क्लबबीच प्रतिस्पर्धा हुने छ ।
सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रूपैयाँ ८८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ ९० पैसा र बिक्रीदर ८६ रूपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ १९ पैसा र बिक्रीदर ९५ रूपैयाँ ६० पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रूपैयाँ ७७ पैसा र बिक्रीदर एक सय दुई रूपैयाँ २१ पैसा कायम भएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४३ रूपैयाँ ३१ पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ ९३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रूपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ७२ रूपैयाँ ११ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रूपैयाँ ०३ पैसा र बिक्रीदर ४४९ रूपैयाँ ०३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रूपैयाँ ७९ पैसा र बिक्रीदर तीन सय ६८ रूपैयाँ ३८ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५९ रूपैयाँ ६४ पैसा र बिक्रीदर तीन सय ६१ रूपैयाँ २० पैसा रहेको छ ।
यसको साथै, जापानी येन १० को खरिददर आठ रूपैयाँ ९१ पैसा र बिक्रीदर आठ रूपैयाँ ९५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०७ पैसा र बिक्रीदर १९ रूपैयाँ १५ पैसा, थाई भाट एकको खरिददर चार रूपैयाँ ०९ पैसा र बिक्रीदर चार रूपैयाँ ११ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ४९ पैसा र बिक्रीदर नौ रूपैयाँ ५३ पैसा, हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ७४ पैसा र बिक्रीदर १७ रूपैयाँ ८२ पैसा रहेको छ ।
यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९३ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०९ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३१ रूपैयाँ १७ पैसा र स्वीडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ४६ पैसा र बिक्रीदर १२ रूपैयाँ ५२ पैसा तोकिएको छ ।
दमक दिनभर तनाब ग्रस्त, ८ जना बन्दकर्ता प्रहरीको नियन्त्रणमा
२० माघ, धरान । नो केवलकार समूहले गरेको बन्दले झापाको दमक दिनभर तनाव ग्रस्त बनेको छ । आज र भोलि आह्वान गरेको यातायात बन्दको क्रममा प्रहरी र बन्दकर्ता बिच झडप हुँदा दमक चौक तनावग्रस्त बनेको हो ।
झडपको क्रममा प्रहरीले हवाई फाइरिङ साथमा अश्रुग्यास समेत प्रयोग गरेको छ । आन्दोलनकारी द्वारा केही गाडी माथि तोडफोड ढुङ्गा प्रहार भएपछि केही आन्दोलनकारीलाई दमक प्रहरीले नियन्त्रणमा समेत लिएको इलाका प्रहरी कार्यालय दमकले जानकारी गराएको छ । पक्राउ पर्नेमा सुक बहादुर लिम्बू,धन कुमार योङ्हाङ्ग,पदम बेघा,आदित्य लिम्बू,नाम्साहाङ्ग लिम्बू,सन्देश लिम्बु,प्रकाश लिम्बू र मिन कुमार लिम्बू रहेका छन ।
बन्द भोलिसम्म निरन्तर रहने बन्दलाई सफल पार्न सबैले सहयोग गर्न बन्दकर्ताहरूले आग्रह गरेका छन ।
समाजवाद निर्माण गर्न नसकिए मलाई मृत्युदण्ड दिइयोस् : वामदेव गौतम
काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपालमा समाजवाद निर्माण गर्न नसकिए आफूलाई मृत्युदण्ड दिइयोस् भन्दै माग गरेका छन् । आइतवार राष्ट्रिय सभाको बैठकमा उनले समाजवाद र समाजवादको संरचना निर्माण गर्न सकिने भन्दै वर्ष तोकेर समाजवाद ल्याउन आफूलाई दाउमा राख्न तयार रहेको बताएका हुन् ।
उनले भने, ‘समाजवाद र समाजवादको संरचना निर्माण गर्न सकिन्छ । म आफूलाई दाउमा राख्न चाहन्छु । मलाई मृत्युदण्ड दिइयोस् । यदी समाजवाद निर्माण गर्न सकिएन भने । वर्ष तोकियोस् । यति वर्षमा तोकेर समाजवाद निर्माण गर्न सकिएन भने म मृत्युदण्डमा जान तयार छु ।’
पुँजीवादले समाजवाद जन्माउने भन्दै उनले समाजवाद निर्माण गर्न चाहने हो भने भर्खरै १४ सय खर्ब नेपाली रुपैयाँ निकालेर संरचना बनाउन सकिने बताए । त्यस्तै उनले १० वर्षभित्र नेपाललाई युरोपियन स्तरमा लैजान सकिने दाबी समेत गरे ।
एपिएफलाई हराउँदै आयोजक टोलीले जित्यो टाइगर कपको उपाधि
पोखरा । सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पोखरामा जारी एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि जितेको छ ।
पोखरा रङ्गशालामा भर्खरै सकिएको फाइनल खेलमा एपिएफलाई ३–२ को सेटमा पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक महिलातर्फको उपाधि जितेको हो ।
पहिलो सेट १७–२५ ले गुमाएको आयोजक टोलीले दोस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पारेको थियो । पुनः तेस्रो सेट २१–२५ ले एपिएफलाई सुम्पिएको आयोजक टोलीले चौथो सेट २५–१६ ले जित निकाल्दा खेल पाँचौँ सेट धकेलिएको थियो ।
पाँचौँ सेटमा आयोजक टोलीले उत्कृष्ट प्रदर्शन गर्दै १५–१३ को जित निकाल्दै उपाधि चुम्न सफल रह्यो । पहिलो पटक सहभागिता जनाएको आयोजक टोलीले पहिलो पटकमै उपाधि चुमेको हो ।
उपाधि जितेको टाइगर ग्रुपले ५ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त ग¥यो । फाइनलमा पराजित भएको एपिएफले २ लाख ८५ हजार ५५५ रुपैयाँमा चित्त बुझायो ।
अब पुरुषतर्फको उपाधिका लागि नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबिच प्रतिस्पर्धा हुनेछ ।
९ जिल्ला बन्दकर्ताको माग : ‘नो केवलकार’
विराटनगर। ताप्लेजुङको पाथीभरामा केवलकार बनाउने निर्णयविरुद्ध सडक बन्द गरेर आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले माग सम्बोधन नभए अनिश्चितकालिन हडताल गर्ने चेतावनी दिएका छन् ।
मुक्कुमलुङ संरक्षण र केवलकार खारेजी सङ्घर्षरत संघ संस्था एवम् राजनीतिक दलहरूको आह्वानमा जारी आन्दोलनका क्रममा भेटिएकी प्रदर्शनकारी सुमित्रा राईले आन्दोलनका क्रममा घाइतेको उपचार गर्नुपर्ने र केवलकार बनाउने योजना खारेज हुनुपर्ने माग राखिन । उनले भनिन्,‘हाम्रो माग भनेको नो केवल कार हो । माग पूरा नभए आम हडतालमा उत्रिन्छौँ ।’
अर्का प्रदर्शनकारी विक्रम लिम्बुले मुक्कुमलुङको पहिचान मेटाउनेगरी केवलकार बनाउने योजनालाई खारेज गर्न माग गर्दा बेवास्ता गरिएकाले बाध्य भएर सडकमा आउनुपरेको बताए । उनले आन्दोलनका क्रममा अत्यावश्यक सेवालाई प्रभाव नपारेको तर दुई दिनभित्र सरकारले सम्बोधन नगरे आन्दोलन चर्काउने चेतावनी दिए ।
आन्दोलनकारीले सुनसरीसहित पूर्वका नौ जिल्लामा आज र भोलि बन्दको आह्वान गरेका छन् । बन्दका कारण सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम र संखुवासभा प्रभावित छ । आन्दोलनकारीहरूले सडकमा निस्किएर ‘केवलकार चाहिँदैन’, मुकुम्लुङको संरक्षण गर, सरकारी दमन अन्त्य गर जस्ता नारा लगाइरहेका छन् ।








