न्याय प्रणालीमा विश्वास गर्ने ठाउँ भएको रविको भनाइ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले न्यायालय प्रति विशेष आभार व्यक्त गरेका छन । न्याय प्रणालीमा विश्वास गर्ने ठाउँ भएको उनले उल्लेख गरेका छन । अझै धेरै लडाइँ बाकी भएकाले पछि बोल्ने समय आए नबोल भने पनि बोल्ने उनले बताए ।
रविसहित सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादीलाई बिहीबार कास्की जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो । न्यायाधीश नीतिज राईको एकल इजलासले आदेश दिए लगत्तै रविले बैंक ग्यारेन्टी मार्फत ६५ लाख धरौटी बुझाएर अदालतबाट निस्किएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ता खुसी हुदै नारा बाजि गरेका थिए । काठमाडौँ जिल्ला अदालतमा आफैँ उपस्थिति हुने सर्तमा प्रहरीले रविलाई परिवारको जिम्मा लगाएको हो ।
रविसहित छविलाल जोशी, रामबहादुर खनाल, लिला पछाईं, कृष्णबहादुर गुरुङ, मीना गुरुङ र आरती गुरुङले बिहीबार नै धरौटी बुझाएर रिहा भएका हुन् ।
रवि लामिछाने र छविलाल जोशीलाई रिहा गर्न आदेश
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए ।
त्यस्तै सहकारी ठगीसम्बन्धी मुद्दाकै आरोपित पूर्वडीआइजी छविलाल जोशीलाई पनि अदालतले ८८ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ ।
बेसाहारा मुसहर बस्ती : पुल मुनिको बास, चिसो रात र भोको पेट
सिरहा । शुभनारायण सदा र सुमित्रा सदाको बसेरा ‘ओडार युगको घर’ जस्तै छ । बैशाखको टन्टलापुर घामले पिठ्युँ डढाउँछ, वर्खेझरीमा घरभित्रै निथ्रुक्क रुझ्नु, मैनबत्ती खोलाको भेलले बगाउने त्रासमा रातभरी जाग्राम बस्नु र शीतलहरमा कठ्याङ्गिनु उनको जीवनभरको भोगाइ हो । त्यसकारण मैनबत्ती नदीको पुलमुनि विगत एक दशकदेखि आश्रय लिएर बसिरहेका छन् ।
पुष महिना तराईको कठ्याङ्ग्रीने शीतलहर छ । सदा दम्पतीले खर बटुलेर, पराल मागेर, वनमाराको स्याउला काटेर पुलको पिलर मुनि आश्रय स्थल बनाएका छन् । पुराना जडाउरी मागेर आङ्ग ढाकेका छन् । न ओढ्ने छ, न ओछ्याउने । घरमा अन्नको गेडो पनि छैन् । शीतलहर चलेकाले कतै मजदुरी पनि पाइदैन । चिसो रातमा भोको पेट । पुल मुनिको बास छ । कसरी बाँचेको हुनुहुन्छ ? भन्ने प्रश्नमा सुमित्रा भन्छिन्,‘आगोको साहारा छ । भोक लागे पनि आगो ताप्छौँ जाडो भएपनि आगो ताप्छौँ । शुभनारायण भन्छन्,‘बाँचेका छैनौँ, मृत्यु पर्खेर बसेका छौँ । मरेपछि यहाँबाट पल्टाइ दिन्छन् । नदीमै छौँ । चार चपरी माटो हालेर पुरिदिन्छन् । सकियो मुसहरको जीवन ।’
‘नेपाल राज्यमा हामीले बाँचुन्जेल लमतन्न भएर सुत्न एउटा खट राख्ने जमिन पनि पाएनौँ । ठूला जातिका धनीमानीहरूले हामीलाई बस्तीबाट उठिबास लगाएर खेदे,’शुभनारायणले दुखेसो पोखे ।
मानव गोलबजार नगरपालिका–११ बलकवा बजार पुग्नुअघि मैनबत्ती नदीको पुल पार गर्नु पर्छ । यो पुल मुनि मैनबत्तीको वगरमा झण्डै ४० घर मुसहर परिवार बस्दछन् । पूरै बस्तीमा अहिले अनिकाल छ । प्रायः सबै घरमा चुल्हो बाल्न हम्मेहम्मे छ । ओढ्ने ओछ्याउनेको कमी छ । काठपात र कसमल समेतको अभावले आगो बाल्न पनि मुस्किल छ । तिर झैं शरीर घोच्ने पश्चिमी सिरेटोले अधिकांश केटाकेटी बिरामी परेका छन् । भोकभोकै रात बित्छ ।
नेपाली कांग्रेसका नेता रामवृक्ष साह भन्छन्,‘शीतहलरका कारणले रोजगारी पनि पाइदैन र काम गर्नसक्ने मौसम पनि छैन् । मुसहर समुदायको बिजोग भएको छ,’साह भन्छन्,‘तत्कालै मुसहर बस्तीमा खाद्यान्न । ओढ्ने, ओछ्याउने, न्यानो कपडा र औषधी उपचारको खाँचो छ । राहत नदिने हो भने मुसहर बालबालिकाहरु चिसोले मर्न सक्छन् । पूरै मुसहर बस्ती संकटमा छ ।’
गोलबजार नगरपालिकाले अन्न र कपडा त परै जाओस् जाडोमा दाउरा समेत दलित मुसहर बस्तीमा पु¥याउन सकेको छैन । बजार क्षेत्रमा धनीमानी माझ दाउरा वितरण गरियो तर जहाँ गरिब, दलित मुसहर छन् त्यहाँ नगरपालिकाको आँखा परेन,’शुभनारायण सदाले आक्रोस पोख्दै भने,‘पाँच पटक लीला मालिक र श्याम मालिक दाजुभाइलाई (सांसद लीलानाथ श्रेष्ठ र मेयर श्याम कुमार श्रेष्ठ) भोट हाल्यौ तर हाम्रो अवस्था यस्तै छ । पुल मुनि छौं ।’
पुलमाथी बाट आउजाउ गर्नेहरूलाई पुल मुनिको मुसहर बस्ती कठाङ्ग्रिने शीतलहरमा भोको पेट सुतेको थाहा पाउँदैनन् । तर नगरपालिकालाई पनि दलित मुसहर समुदायको अवस्थाबारे बोध र चेत छैन्–मुसहर समुदायका अगुवा अरुण सदाले रोष प्रकट गरे ।
अगुवा अरुण सदा भन्छन्,‘यो पुलको आडैमा भवरी मेला (धार्मिक जात्रा) लाग्दछ । आउँदो माघ १ देखि ७ गतेसम्म यहाँ ठूलो मेला लाग्छ । मेलाका लागि पसल थाप्न जग्गा बाँडफाँट हुँदैछ । नगरपालिकाले जात्राका लागि लाखौँ रुपैयाँ सहयोग दिएको छ तर यो मुसहर बस्तीमा नगरपालिकाको नजर पुगेको छैन् । यसरी समाजवाद ल्याइदैछ नेपालमा ।’
संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रको वृहत्तर कार्ययोजना आवश्यक
काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले कार्यान्वयन गर्न योग्य कार्ययोजना यथाशीघ्र निर्माण गरी सोको जानकारी समितिलाई गराउन मन्त्रालयलाई निर्देशन दिएको छ ।
बिहीबार सिंहदरबारस्थित समिति सभाकक्षमा बसेको पर्यटन समितिको बैठकले संस्कृति पर्यटन र नागरिक उड्डयन तीनै क्षेत्रको वृहत्तर विकासको लागि मन्त्रालयको समग्र नीतिगत संरचनागत र व्यवस्थापकीय सुधार गर्न कार्यान्वयन गर्न योग्य कार्ययोजना यथाशीघ्र निर्माण गरी सो को जानकारी समितिलाई गराउने निर्णय गरेको सभापति राजकिशोर यादवले जानकारी दिए ।
उने भने,‘संस्कृति पर्यटन र नागरिक उड्डयन तीनै क्षेत्रको वृहत्तर विकासको लागि मन्त्रालयको समग्र नीतिगत संरचनागत र व्यवस्थापकीय सुधार गर्न, त्यसको कार्यान्वयन गर्न योग्य कार्ययोजना यथाशीघ्र निर्माण गरी सो को जानकारी समितिलाई गराउने निर्णय भएको छ ।’
यस्तै,उनले विभिद जाती भाषा धर्म र सांस्कृतिक सम्पदाहरूको संरक्षण गर्न नेपालमा जातीय र धार्मिक संग्रालयहरूको निर्माण कार्यलाई तीव्रता दिइ पर्यटन प्रवर्धनमा जोड दिने र मन्त्रालय अन्तर्गत सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालित विभिन्न आयोजना एवम् निकायहरूको उपलब्धि र प्रभावकारीताबारे अध्ययन गरी सो को जानकारी समितिलाई जानकारी गराउने निर्णय भएको पनि जानकारी दिए ।
उनले भने,‘विभेद जाति, भाषा, धर्म र सांस्कृतिक सम्पदाहरूको संरक्षण गर्न नेपालमा जातीय र धार्मिक संग्रालयहरूको निर्माण कार्यलाई तीव्रता दिई पर्यटन प्रवर्धनमा जोड दिने । मन्त्रालय अन्तर्गत सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालित विभिन्न आयोजना एवम् निकायहरूको उपलब्धि र प्रभावकारीताबारे अध्ययन गरी सो को जानकारी समितिलाई जानकारी गराउने पनि निर्णय भएको छ ।
त्यस्तै उनका अनुसार पुरातात्त्विक सम्पदा उत्खननको कामलाई नियमित परिणाममुखी बनाई कार्य सम्पादनमा जोड दिने पनि निर्णय भएको छ ।
इजरायली सैन्य कारबाहीमा परी ४५ हजार बढी प्यालेस्टाइनीको मृत्यु
एजेन्सी । गाजापट्टीमा जारी इजरायली सैन्य कारबाहीमा परी कम्तीमा ४५ हजार ९३६ बढी प्यालेस्टाइनीको ज्यान गएको छ । अक्टोबर २०२३ मा युद्ध सुरु भएयता १ लाख ९ हजार बढी घाइते भएका छन् ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टामा इजरायली आक्रमणका कारण ५१ जनाको मृत्यु भएको र ७८ जना घाइते भएको विज्ञप्तिमा उल्लेख छ ।
इजरायलले गाजा शहरमा धेरै हवाई आक्रमणहरू सञ्चालन गरेको साथै शहरको केन्द्र र वरपरका पश्चिमी क्षेत्रहरूलाई निशाना बनाएको विज्ञप्तिमा उल्लेख छ ।
हालै मध्य गाजा पट्टी, देइर अल बालाहको पश्चिममा भएको हवाई आक्रमणले एउटा घर ध्वस्त पारेको छ । त्यहाँ चार जनाको मृत्यु भएको छ र धेरै घाइते भएका छन्। त्यस्तै दक्षिणी गाजाको खान युनिसको पश्चिमी भागमा रहेको एक आवासीय भवनलाई लक्षित गरी हवाई आक्रमणमा चार जना घाइते भएका छन्। त्यस्तै इजरायली सेनाले मंगलबार राती र बुधवार वेस्ट बैंकका विभिन्न स्थानहरूमा कम्तिमा ४५ प्यालेस्टिनीहरूलाई हिरासतमा लिएको छ।(सीसीटीभी प्लस)
फिल्म ‘कार्साङ’ को काठमाडौँमा प्रिमियर
काठमाडौं । मल्टिस्टारर फिल्म ‘कार्साङ’लाई बुधबार बेलुका भव्य प्रिमियर गरिएको छ । कमलपोखरीस्थित बिग भूमिजमा प्रिमियर गरिएको हो । आयोजित समारोहमा कास्ट एण्ड क्रूसहित फिल्मकर्मी, मिडिया र शेर्पा समुदायको बाक्लो सहभागिता रहेको थियो ।
प्रिमियरमा जितु नेपाल, दीया मास्के, डेब्यु अभिनेत्री सिर्जना निङलेखु लगायतको उपस्थिति रहेको थियो । दीया र सिर्जनाले शेर्पा पोसाकमा सौन्दर्य छरेका थिए । शेर्पा समुदायको पोशाकमा समुदायका व्यक्तिहरू पनि त्यहाँ थिए । उनीहरूले उक्त समुदायको झाँकी र बाजा प्रस्तुत गर्दै समारोहलाई रोमाञ्चक तुल्याए ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो फिल्मका निर्माता छायांकार समेत रहेका पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।
हलहरूले फिल्मलाई सुखद् शो दिँदै अग्रिम टिकट बुकिङ खुलाइसकेका छन् । यो फिल्म शुक्रवारदेखि देशव्यापी १३० सोसहित प्रदर्शनको तयारीमा छ ।
बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ६६ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिदर एक सय ४१ रुपैयाँ १८ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ८० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६९ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ३५ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ सात पैसा र बिक्रीदर ८५ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ३० पैसा र बिक्रीदर ९५ रुपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय रुपैयाँ १२ पैसा र बिक्रीदर एक सय रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर खाठ रुपैयाँ ६५ पैसा र बिक्रीदर आठ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १८ रुपैयाँ ७८ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६० पैसा र बिक्रीदर ३७ रुपैयाँ ७७ पैसा , मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ४४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५७ पैसा कायम भएको छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरण : आजै थुनछेक सम्बन्धी आदेश आउने सम्भावना
पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज थुनछेक सम्बन्धी आदेश आउने सम्भावनाहरू देखिएका छन् । जाहेरवाला र प्रतिवादीहरूको तर्फबाट थुनछेक बहस सकिएको र सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ताको तर्फबाट प्रतिउत्तर दिन बाँकी रहेको अवस्थामा आज जिल्ला न्यायाधिवक्ताले प्रतिउत्तर दिएपछि आजै जिल्ला न्यायाधीश नितिज राइले थुनछेक सम्बन्धी आदेश जारी गर्न सक्ने सर्वत्र अपेक्षा गरिएको छ ।
बिहीबार सरकारी वकिलहरूले बहस गरेपछि साँझसम्म आदेश आउन सक्ने स्रेस्तेदार राजन खनालले जानकारी दिए । ‘सरकारी वकिलको जवाफी बहस सकिएपछि सम्भवतः भोलि नै आदेश आउन सक्छ । तर बहस कति लामो समय जान्छ यसै भन्न सकिएन,’ उनले भने, ‘बहसमा भर पर्ने कुरा भयो ।’ जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता सहित उच्च सरकारी वकिल कार्यालयबाट पनि बहस हुने बताइएको छ ।
बुधवार जाहेरवालाको तर्फबाट रमण कर्ण, राम घिमिरे र वेदबहादुर विष्टले जवाफी बहस गरेका छन् । पीडितहरूले न्याय पाउनका लागि सबैलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने दाबी वकिलहरूको छ ।
त्यसअघि प्रतिवादी रामबहादुर खनालको तर्फबाट वरिष्ठ अधिवक्ता विष्णुप्रसाद शर्मा र मोहनबहादुर थापाले बहस गरेका थिए । कृष्णबहादुर गुरुङको पक्षबाट अधिवक्ता हरि सुवेदी र गंगाप्रसाद सुवेदी तथा मीना गुरुङ र आरती गुरुङको पक्षबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर र अधिवक्ता मनोज घर्तिमगरले थुनछेक बहस गरेका थिए ।
यसैबिच धेरैले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने छुट्लन कि जेल जालान भनेर जिज्ञासा राखिरहेका छन् । तर राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरू भने पार्टी सभापति लामिछाने आज धरौटीमा छुट्ने कुरामा विश्वस्त जस्ता देखिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता उत्तम प्रसाद पौडेलले त बिहिवार साँझसम्म आफ्नो पार्टी सभापति हिरासत मुक्त हुने दाबी गरे । उनले आज साँझसम्म अदालतको आदेश बमोजिम पार्टी सभापति लामिछाने हिरासत मुक्त हुने र आम नेपाली जनताले खुल्ला आकाश मुनि स्वागत पाइने अपेक्षा प्रकट गरे ।
पोखराको इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत संगम पौडेल मृत फेला
पोखरा । पोखराको लामाचौरस्थित पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस (डब्लूआरसी) अध्ययनरत एक छात्र क्याम्पस नजिकै रहेको सेती नदीको बाँधमा मृत भेटिएका छन् ।
कैलालीको धनगढी स्थायी घर भई हाल पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस (डब्लूआरसी) लामाचौरमा अध्ययनरत २१ वर्षीय संगम पौडेल बुधवार साँझ क्याम्पस नजिकै रहेको सेती नदीको बाँधमा मृत भेटिएका हुन् ।
पोखरा महानगरपालिका–१६ दिपहाउजिङ नजिकै रहेको सेती नदीको बाँधबाट एक युवाको खसेको सूचना पाउनासाथ उद्धारका लागि सशस्त्र प्रहरीको कालिका गण कास्कीबाट खटिएको उद्धार टोलीले बुधवार साँझ करिब साढे सात बजे पौडेलको शव निकालेको गणका सूचना अधिकारी डीएसपी राजनलाल श्रेष्ठले जानकारी दिए ।
क्याम्पस नजिकै पोखरा–१९ लामाचौरमा डेरा गरी बस्दै आएका पौडेल बुधवार साँझ ७ बजेर २० मिनेटमा सेतीको बाँधमा खसेको सूचना आएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
उक्त सूचना पाउनासाथ सशस्त्र प्रहरीको चार जना गोताखोरसहित नौ जनाको विशेष विपद् व्यवस्थापन टोलीले उनको शव निकाली पोस्टमार्टमका लागि मनिपाल शिक्षण अस्पताल पठाइएको छ ।
मधेश प्रदेश सरकारले ल्यायो स्वास्थ्य बीमा कार्यक्रम
जनकपुर । मधेश प्रदेश सरकारले शहीद परिवारहरूको स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात गरेको छ । प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री राज कुमार लेखीले पुस ९ गतेबाट उक्त बीमा कार्यक्रम लागु भएको जानकारी बुधवार पत्रकार सम्मेलनमार्फत दिएका हुन् ।
मन्त्री लेखीले स्वास्थ्य बीमा कार्यक्रमले प्रदेशका शहीद परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने जानकारी दिए ।
उनले यस स्वास्थ्य बीमा कार्यक्रमले शहीद परिवारहरूलाई स्वास्थ्य समस्यामा सहयोग पुर्याउने विश्वास व्यक्त गरे । कार्यक्रमले शहीद परिवारलाई मेडिकल उपचारमा आर्थिक भारबाट मुक्त गर्ने लक्ष्य राखेको छ ।
मधेस प्रदेश सरकारले जम्मा १०८१ जना सहित परिवारका प्रत्येक परिवारका पाँचजना सदस्यको बीमा गर्न लागेको हो ।
पत्रकार सम्मेलनमा मन्त्री लेखीले गृहमन्त्रीको नेतृत्वमा स्थानीय सेवा र संरचनासम्बन्धी कानुनी संशोधनका लागि कार्यदल गठन गरिएको जानकारी पनि दिए । यस कार्यदलले स्थानीय तहहरूको संरचनामा सुधारका लागि मस्यौदा तयार पार्ने कार्यमा समर्पित हुनेछ । मन्त्री लेखीले भने, ‘भोलि बिहीबारसम्म कार्यदलले तयार पारेको मस्यौदा प्रदेश सरकारलाई बुझाइनेछ ।’

















