यस्तो छ, मंगलबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा रहेको छ।
त्यस्तै,युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७३ रुपैयाँ ५५ र बिक्रीदर एक सय ७४ रुपैयाँ ३२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५३ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ९३ पैसा कायम गरिएको छ।
यस्तै,अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ८९ रुपैयाँ छ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९७ रुपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ १५ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ६० पैसा कायम गरिएको छ।
जापानी येन १० को खरिद दर आठ रुपैयाँ ७७ पैसा र बिक्रीदर आठ रुपैयाँ ८० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ तीन पैसा तोकिएको छ।
प्रथम नेपाल हव महिला टि–२० क्रिकेटको अन्तिम खेलमा पाहुना टोली राजविराज विजयी
विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजना तथा क्रिकेट विथ वाउण्ड्रीको सहयोगमा भएको प्रथम नेपाल हव महिला टि–२० क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा पाहुना टोली राजविराज विजयी भएको छ ।
अन्तिम खेलमा विजयीसँगै ३ खेलको टि–२० क्रिकेटमा राजविराज विराटनगरसँग २–१ ले सिरिज गुमाएको छ ।
सोमबार विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा भएको अन्तिम खेलमा राजविराजले घरेलु टोली विराटनगरलाई ८ विकेटले पराजित गरि ३ खेलको सिरिजमा २–१ ले सिरिज गुमाएको हो ।
टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाई ९९ रनमा सिमित भयो । विराटनगरका लागि रानु राजवंशीले २२ रन बनाउँदा काजल राजवंशीले १० रनको योगदान दिइन् । राजविराजकी सुस्मिता यादवले २ विकेट लिँदा अपेक्षा यादव, दिपा राम र साक्षी यादवले १–१ विकेट लिइन् ।
१ सय रनको विजयी लक्ष्य पछ्याएको राजविराजले १७ दशमलव १ बलमा २ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो ।
राजविराजकी प्लेयर अफ म्याच साक्षी यादवले ५४ बलमा १ छक्का र ६ चौका प्रहार गर्दै अविजित ५६ रन बनाउँदा बन्दना यादवले अविजित ८ रनको योगदान दिइन् । विराटनगरकी सानु राजवंशीले १ विकेट लिइन् ।
प्रतियोगिताको उत्कृष्ट ब्याटर राजविराजकी साक्षी यादव घोषित हुँदा उत्कृष्ट बलर राजविराजकी अपेक्षा यादव भइन् । विजयी तथा अन्य खेलाडीलाई कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डे र मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमद सादबावु कुरैसीले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे ।
फर्जी कर्मचारी खडा गरी ४० लाख तलब निकासा
काठमाडौँ । सिराहाको गोलबजार नगरपालिकामा हुँदै नभएका कर्मचारीको नाममा विगत ७ महिनामा ४० लाख रुपैयाँ तलब शीर्षकमा अनियमित रूपमा निकासा दिइएको रहस्य खुलेको छ ।
हाल सरुवा भएर श्रम विभाग काठमाडौँ पुगेका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीको कार्यकालमा फर्जी कर्मचारी खडा गरी तलब निकासा दिइएको र करिब ४० लाख रकम अपचलन भएको नाम उल्लेख नगर्ने सर्तमा एक कर्मचारीले बताए । उनले भने–करिब २२ जना फर्जी कर्मचारी खडा गरी तलब खुवाएको छ ।
सुत्रले जानकारी दिए अनुसार अधिकृत केसीका नातेदार धन बहादुर केसीको नाममा मासिक २२ हजारका दरले ७ महिना लगातार तलब पठाइएको छ । धन बहादुर दाङ्गमै बसेर गोलबजार नगरपालिकाबाट महीनैपिच्छे तलब बुझ्ने भाग्यमानी हुन् ।
अधिकृत केसीका सानीआमाका कान्छा छोरा र बुहारी – गोलबजार नगरपालिका वडा नं. ७ का ) दुवै जनालाई काम नगरी गोप्य रूपमा ७ महिनासम्म तलब प्रदान गरिएको छ ।अधिकृत केसीले गोलबजार नगरपालिका वडा नं. ३ मुसहर्नियाका ३ जना युवाहरूलाई अघोषित रूपमा आफ्नो सुरक्षामा खटाएर गोप्य रूपमा तलब उपलब्ध गराएको सुत्रहरूको दावी छ ।
त्यसैगरी नगर प्रमुख श्याम कुमार श्रेष्ठले आफ्ना स्वजातीय बन्धु बान्धव र एमालेका कार्यकर्ताहरू करिब ७ जना र शेषर यादव नाम गरेका अर्का एक कार्यकर्तालाई कामै नगरी तलब खुवाएका छन् । मेयरकै सिफारिसमा चुनावताका आफूलाई सहयोग गर्ने नेकपा माओवादी केन्द्रका नवीन लामालाई पनि कामै नगरी तलब दिइदै आएको छ । उप प्रमुख मान्ती साहका नातेदार अरुण साहलाई पनि कामै नगरी नियमित रूपमा तलब प्रदान गरिएको छ ।
बिना नियुक्ति फर्जी कर्मचारीको रूपमा तलब खानेहरूमा सन्तोष राय पनि छन् । सुत्रले जानकारी दिए अनुसार यिनी अधिकृत केसीको प्रियपात्र थिए । नगरपालिकामा कार्यरत इन्जिनियर जय किशोर साहले आफ्ना भाइ (काकाका छोरा) लाई विगत ७ महिनादेखि तलब खुवाएका छन् । जवकी उनले एक दिन पनि नगरपालिकामा काम गरेका छैनन् ।
नगरपालिकामा कार्यरत लेखा प्रमुख गंगा मण्डलले पनि आफ्ना नातेदार राजकुमार शर्मालाई विगत एक वर्षदेखि कामै नगरी तलब निकासा दिलाएका छन् । प्राप्त जानकारी अनुसार गोलबजारको एक निजी अस्पतालमा कार्यरत अनिल कुमार ठाकुर र वडा नं. १२ बलकवाको उप स्वास्थ्य चौकीमा कार्यरत तेज नारायण यादवकी पत्नी मन्दिरा देवी यादवको नाममा गत असोज २९ गते ४–४ महिनाको तलब निकासा दिइएको छ ।
मन्दिरा यादव गोलबजार स्थित जय गोविन्द साह पोली टेक्निकल इन्स्टिच्युटमा डी फर्मा अध्ययन गर्दै गरेकी छात्रा हुन् ।
कार्यपालिका सदस्य फुलेस्वर नायक भन्छन् नगरपालिका भित्र मनमौजी छ । नियम कानूनको कुनै पर्वाह छैन । कार्यपालिकाको निर्णय नै भएको छैन । दरबन्दी सिर्जना गरिएकै छैन । तर पनि नियम मिचेर करार र ज्यालादारीमा सम्झौता गराएर कामै नगरी दर्जनौ व्यक्तिहरूलाई तलब निकासा दिइन्छ । यो सरासर भ्रष्टाचार हो ।
माओवादी केन्द्रका स्थानीय नेता रामचन्द्र सिंह भन्छन् मेयर आफैले आफ्ना आसेपासेलाई पाल्न गैर कानुनी रूपमा तलब खुवाएपछि हाकिम, इन्जिनियर , उप प्रमुख र लेखाले किन छाड्थे र ! सबैले तलब खाने सूचीमा आ–आफ्नालाई घुसाएका छन् । घोर अनर्थ र सरासर अपचलन गरिएको छ ।
जनमत पार्टीका स्थानीय नेता रामप्रगेस महतो भन्छन् आउँदो बुधवार हामी नगरपालिकामा जाँदैछौँ । कथित कर्मचारी खडा गरी तलब खुवाएको देखिए नगरपालिकामा तालाबन्दी गर्छौ र दोषीहरूलाई निलम्वन गरेर कारबाही प्रकृया आरम्भ नगरेसम्म कार्यालय सञ्चालन हुन दिंदैनौ ।
प्रधानमन्त्रीबाट विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६५७ विद्यार्थी दीक्षित
धरान । प्रधानमन्त्री केपी शर्मा ओलीबाट विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३ औं दीक्षान्त समारोहमा आज ६५७ विद्यार्थी दीक्षित भएका छन् ।
प्रतिष्ठानका सन् २०१० देखि २०१७ ब्याचका एमबिबिएस, बिडिएस, एमडी, एमएस, एमडिएस, डिएम, एमसिएच बिएससी नर्सिङ र २०१२ देखि २०१८ सम्मका एएससी नर्सिङ, बिएमएलटी, बिएमआइटी, एपिएस र पिएडी उपाधी हासिल गरिसकेका विद्यार्थीहरूलाई कुलपति ओलीबाट दीक्षित गरिएको हो ।
भारतका शिक्षाविद् प्रा. डा. ज्योतिर्मय पलँ प्रमुख अतिथि रहेको कार्यक्रममा सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेललगायत सहभागी थिए ।
कार्यक्रममा प्रतिष्ठानले प्रदान गदैँ आएको विभिन्न पुरस्कार उत्कृष्ट विद्यार्थीहरूलाई वितरण गरिएको थियो ।
अमेरिकाका राष्ट्रपति ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग गरे टेलिफोन वार्ता
काठमाडौँ । अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरेका छन् ।
राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएपछि पहिलो पटक वार्ता भएको वाशिंगटन पोस्टले जनाएको छ । वार्तामा ट्रम्पले युक्रेन युद्धलाई थप नचर्काउन आग्रह गर्दै युरोपमा शान्ति स्थापना गर्ने विषयमा छलफल गरेका थिए ।
ट्रम्पले यो वार्तामा रुसले युक्रेनमा कब्जा गरेका भूभागको विषय पनि उठाएको जनाइएको छ ।
तर, यसबारे विस्तृत विवरण भने सार्वजनिक गरेका छैनन् । ट्रम्पले आफ्नो कार्यकालमा युद्धलाई थप बिग्रन नदिने इच्छा व्यक्त गरेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार युक्रेन सरकारलाई पनि ट्रम्प–पुटिनको यस वार्ताको जानकारी दिइएको छ ।
ट्रम्पले आफूले युक्रेन युद्धलाई छिट्टै समाधान गर्ने बताउँदै आए पनि कसरी शान्ति स्थापना गर्ने भन्ने ठोस योजना भने सार्वजनिक गरेका छैनन् ।
ट्रम्पले युक्रेनलाई सैन्य सहायता भने रोक्ने संकेत गरेका छन् । वर्तमान राष्ट्रपति जो बाइडेन प्रशासनले युक्रेनलाई अरबौं डलरको सैन्य सहायता दिएको छ । ट्रम्पका अभियान अधिकारी ब्रायन लान्जाले भने ‘शान्ति प्राप्त गर्न युक्रेनले केही भूभाग छोड्नुपर्ने हुन सक्छ ।’ तर, ट्रम्पका प्रवक्ताले भने यो कुरा ब्रायन लान्जाको व्यक्तिगत धारणा रहेको र ट्रम्पको आधिकारिक धारणा नभएको प्रस्ट पारेका छन् ।
रुसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभले ट्रम्पको शान्तिको प्रस्तावलाई सकारात्मक संकेतको रूपमा लिएको बताएका छन् । उनका अनुसार, ट्रम्पले सम्झौतामा विश्वास गर्ने र शान्तिको लागि पहल गर्न चाहने कुरा गरेका छन् ।
यस्तै, ट्रम्पले जर्मन चान्सलर ओलाफ स्कोल्जसँग पनि फोनमा वार्ता गरेका छन् । उक्त वार्तामा दुबै नेताहरूले युरोपमा शान्ति फर्काउन सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।
उपनिर्वाचनमा रास्वपाको उम्मेदवार आशा बिर बल
मकवानपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले हेटौँडा उपमहानगरपालिका वडा नम्बर– १२ को उपनिर्वाचनको उम्मेदवार टुङ्गाएको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर– १२ को वडा अध्यक्षका लागि मंसिर १६ मा उपनिर्वाचन हुनेछ । आइतवार वडा,नगर र जिल्ला कार्य समितिको सयुक्त बैठकले आशा बिर बललाई वडा अध्यक्षको उम्मेदवारमा रास्वपा मकवानपुरले अघि सारेको हो ।
‘हेटौँडा उपमहानगरपालिका वडा नम्बर– १२ मा विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आइरहेका बललाई रास्वापाले उम्मेदवार बनाएको छ, आशा बिर बल सक्षम उम्मेदवार हुनुहुन्छ’ नगर सभापति धुर्वबहादुर विष्टले भने ।
उक्त रिक्त रहेको पदमा रास्वपाले सर्वाधिक मत ल्याएर वडा अध्यक्ष पदमा निर्वाचित हुनेमा कुनै शंका नरहेको मकवानपुर क्षेत्र नम्बर १ सभापति टाकाराज थापाले दाबी गरे ।
‘हाम्रो उम्मेदवार पुराना दल भन्दा कुनैपनि कुराले कमजोर छैन ।’ रास्वपा मकवानपुरका सभापति भरत पराजुलीले भने । ‘यो पल्ट हेटौँडा– १२ नम्बर का जनता सचेत छन् । पक्कै पनि देशको राजनीति अवस्था अवलम्बन गरेर मतदान गर्नु हुनेछ भन्नेमा हामी ढुक्क छौँ ।’ उनले थपे ।
यसैगरि अन्य उम्मेदवारमा रास्वपा बाट आशाबिर बल ,एकीकृत समाजवादी बाट बलराम बल ,राप्रपा प्रेम लामा ब्लोन ,कांग्रेस बाट सम्भावित अर्जुन तिवारी ,एमाले बाट सम्भावित राजेश नगरकोटी र माओवादी बाट सम्भावित रबिन प्रधान रहेका छन् ।
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र आर्सनलले अंक बाँडे
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र आर्सनलले एक एक अंक बाँडेका छन् । चेल्सीको मैदान स्टामाफोर्ड ब्रिजमा आइतबार राति भएको खेलमा दुवै टिमले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
खेलको अन्तिम क्षणमा आर्सनलले महत्वपूर्ण गोल गर्ने मौका गुमाउँदा स्पष्ट ३ अंक लिन असफल भयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
६० औं मिनेटमा आर्सनलका गेब्रियल मार्टिनेलीले गोल गर्दै अग्रता दिलाएका थिए । यसैखेलमा कप्तान मार्टिन ओडोगार्डले कमब्इयाक गरेका थिए । चोटपछि पहिलो पटक मैदान उत्रिएका उनैले दिएको पासमा मार्टिनेलीले गोल गरेका थिए ।
तर, खेलको ७० औं मिनेटमा चेल्सीका पेड्रो नेटोले बललाई २५ यार्ड टाढाबाट गोल गर्दै खेललाई बराबरीमा पु¥याए । त्यसपछि थप गोल नहुँदा दुवै टिमले अंक बाँडे ।
चेल्सी र आर्सनलको बराबरीले बराबरीले लिभरपुल शीर्ष स्थानमा मजबुत रहेको छ भने आर्सनललाई लिभरपुलसँगको दूरी कम गर्न चुनौती थपिएको छ । आर्सनलले पछिल्लो चार खेलमा जित निकाल्न नसक्दा लिग तालिकामा चौथो स्थानमा छ भने चेल्सी तेस्रो स्थानमा छ ।
दुवै टिमले समान ११ खेलबाट १९ अंक बनाएका छन् । म्यानचेस्टर सिटी २३ अंकका साथ दोस्रो स्थानमा रहँदा लिभरपुल भने २८ अंकका साथ शीर्ष स्थानमा छ ।
सोमवारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैँकले सोमवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैँकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ३९ पैसा र बिक्री दर एक सय ४५ रुपैयाँ ३ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ९ र बिक्री दर एक सय ७४ रुपैयाँ ८६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५३ रुपैयाँ ८५ पैसा र बिक्री दर एक सय ५४ रुपैयाँ ५३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ६८ पैसा र बिक्री दर ८९ रुपैयाँ ७ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ८५ पैसा र बिक्री दर ९७ रुपैयाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ५७ पैसा र बिक्रीदर एक सय २ रुपैयाँ २ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिद दर आठ रुपैयाँ ८३ पैसा र बिक्रीदर आठ रुपैयाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७६ पैसा र बिक्री दर १८ रुपैयाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ८७ पैसा र बिक्री दर ३६ रुपैयाँ ३ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा कायम भएको छ ।
पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले कोशी प्रदेशका तत्कालीन मन्त्री लिलाबल्लब अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न २ दिनको म्याद थप गरेको छ ।
मानव तस्करीमा मुछिएको आरोपमा आइतवार विराटनगरबाट पक्राउ परेका अधिकारीलाई अदालतले आइतवार दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक बोम्जनमाथि गोली प्रहार
हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–३ हातिसुडेमा रहेको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक बागमती गाउँपालिका–१ का प्रेम बहादुर बोम्जनमाथि गोली प्रहार भएको छ ।
मकवानपुरको बागमतीबाट प्रदेश २–००३–००६ प ८४५४ नम्बरको मोटरसाइकलमा सिन्धुलीतर्फ जाँदै गरेका बोम्जनमाथि सिन्धुलीको हरिहरपुरगढी–६ मा बोम्जनमाथी गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार तीन जनाको समूहमा आएका व्यक्तिले मोटरसाइकलमा सवार रहेका बोम्जनमाथी गोली प्रहार गरेको हुन । उनलाई सर्लाहीमा प्राथमिक उपचारपछि थप उपचारका लागि विरगंज लगिएको बताइएको छ । गोली प्रहार गर्ने ब्यक्तिहरूको खोजी कार्य भैइरहेको प्रहरीले जनाएको छ ।



















































