कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन
काठमाडौं I प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले अवरोध गरेपछि राष्ट्रियसभाको आजको दोस्रो बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगन गरिएको छ ।
सभाको पहिलो बैठकमा वर्षे अधिवेशन आरम्भ भएका अवसरमा दलीय आधारमा सांसदहरूले बोल्नेक्रम सकिएपछि प्रतिपक्षीले विरोध गर्ने चेतावनी दिएपछि अध्यक्ष नारायण दाहालले १५ मिटेनका लागि बैठक स्थगन गर्नुभएको थियो ।
दोस्रो बैठक आरम्भ हुनासाथ कांग्रेसका सांसदहरु आफ्नो स्थानबाट उठेपछि अध्यक्ष दाहालले सो दलका सांसद कृष्णबहादुर रोकायलाई बोल्न समय दिनुभयो । सांसद रोकायले विपक्षीले उठाउँदै आएको सहकारी अनियमितताका विषयमा संसदीय छानबिन समिति गठन नगरेसम्म सदनका कार्यसूची अघि बढ्न नसक्ने स्पष्ट गर्नुभयो । विपक्षी सांसदको अवरोध कायमै रहेपछि अध्यक्ष दाहालले यही जेठ १ गते मङ्गलबार अपरान्ह ५ः३० बजेसम्मका लागि बैठक स्थगन गर्नुभयो ।
संसदीय छानबिन समिति नबनेसम्म सदन अगाडि बढ्दैनः महामन्त्री थापा
काठमाडौँ I प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय छानबिन समिति नबनेसम्म संसदको काम कारबाही अगाडि नबढ्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठक सुरु भए लगत्तै नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद उठेर विरोध जनाउनुभएको थियो । त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका महामन्त्री थापालाई भनाइ राख्न समय दिनुभयो ।
थापाले संसदीय छानबिन समिति नबनेसम्म सदनको कुनैपनि कारबाही अगाडि बढाउने कुरामा कांग्रेसको साथ नहरने स्पष्ट पार्नुभयो । “सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म सदनका कुनै पनि काम कारबाहीमा कांग्रेसको साथ रहदैन । यसको जिम्मेवार कांग्रेस होइन, सत्तापक्ष हो”, उहाँले भन्नुभयो । संसद्भित्र प्रमुख प्रतिपक्षी दलले गम्भीरतापूर्वक विषय उठाइसकेपछि सुनुवाइ हुनुपर्ने उहाँको भनाइ थियो ।
सांसद थापाले भनाइ राख्नु भएपछि सभामुखले बैठक सञ्चालन गर्दै राष्ट्रपतिको कार्यालयबाट प्राप्त विभिन्न पत्र पढेर सुनाउने क्रममा नेपाली कांग्रेसका सांसदहरु ‘रोष्ट्रम’ घेराउ गर्न पुग्नुभएको थियो । त्यसपछि सभामुख घिमिरेले आजको बैठक १५ मिनेटका लागि स्थगन गरेको घोषणा गर्नुभयो ।
प्रतिनिधिसभाको बैठक सुरु, विपक्षीको विरोध
काठमाडौँ I सङ्घीय संसद् वर्षे अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा एक घन्टा ढिलो सुरु भएको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत दलले सहकारी अनियमिताका विषयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको भन्दै संसदीय छानबिन समिति गठन नगरेसम्म चल्न नदिने अडान राखेपछि बैठक सुरु हुन विलम्ब भएको हो । उक्त विवादको झलक बैठकमा व्यक्त भएको छ ।
बैठकको सुरुमा सभामुख देवराज घिमिरेले सदन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयको पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । उहाँले आजका समस्या र समाधानका लागि जिम्मेवार भई जनताका मुद्धामा केन्द्रित भई प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सदनमा उठेका मुद्धाको समयमा सुनुवाइका लागि सरकारले दायित्व निर्वाह गर्नुपर्ने बताउनुभयो ।
सभामुख घिमिरेले उपनिर्वाचनबाट निर्वाचित सुहाङ नेम्वाङ र समानुपातिक तर्फका जनता समाजवादी पार्टीका सांसद हसिना खातुनलाई बैठकमा स्वागत गर्नुभयो ।
अमेरिका पठाइदिने भन्दै साढे पाँच करोड ठगी गर्ने गिरोह पक्राउ
काठमाडौँ I काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाइ विभिन्न व्यक्तिसँग रु पाँच करोड ५० लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-२ घर भइ हाल काठमाडौँ बुढानिलकण्ठ नगरपालिका-११ कपन बस्ने ४७ वर्षीय टासी शेर्पा, सिन्धुपाल्चोक साविक कर्थली गाविस–१ घर भई हाल काठमाडौँ गोकर्णेश्वर-५ जोरपाटी बस्ने ४२ वर्षीय ङिमबुटी शेर्पा तथा सन्धुपाल्चोक जुगल गाउँपालिका-१ घर भई हाल गोकर्णेश्वर-५ जोरपाटी बस्ने १९ वर्षीया निमा शेर्पा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ परेकाहरुले वैदेशिक रोजगारीका लागि अमेरिका तथा क्यानडा लगायतका देशहरुमा पठाइदिन्छौँ भनि विभिन्न तवरले विश्वास दिलाई विभिन्न व्यक्तिको राहदानी, फोटो, प्रहरी प्रतिवेदन, बैंक स्टेटमेन्ट, कोभिड क्युआर कोड, पहेंलो ज्वरो कार्ड समेतका कागजातहरु लिएर विभिन्न शीर्षकमा रकम ठगी गरेका थिए ।
ती व्यक्तिहरुले आफ्नो तथा अन्य व्यक्तिको बैंक खातामा पटक-पटक गरी नगद जम्मा गर्न लगाई तथा नगदै रकम समेत लिई दुबई हुँदै केन्यामा पुर्याएका थिए । पक्राउ परेकाहरुलाई मानव तस्करी गरी ठगी गरेको अपराधमा थप आवश्यक कारबाहीका लागि प्रहरी परिसर टेकु काठमाडौँ पठाइएको उहाँको भनाइ छ ।
भारतको सर्वोच्च अदालतद्वारा केजरीवाललाई जमानतमा रिहा
नयाँ दिल्ली(रासस/एएफपी) I भारतको सर्वोच्च अदालतले शुक्रबार कारागारमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीका प्रतिद्वन्द्वीलाई जमानतमा रिहा गर्न आदेश दिएको छ । यसबाट उहाँलाई विद्यमान राष्ट्रिय निर्वाचनमा प्रचार गर्न अनुमति प्राप्त भएको छ ।
राजधानी दिल्लीका मुख्यमन्त्री तथा निर्वाचनमा मेदीको सामना गर्नका लागि गठित विपक्षी गठबन्धनका नेता अरविन्द केजरीवाललाई लामो समय देखि चलिरहेको भ्रष्टाचारको अनुसन्धानको सिलसिलामा मार्चमा हिरासतमा लिइएको थियो ।
आपराधिक अनुसन्धानको दायरामा आउने समूहका धेरै नेतामध्ये उहाँ एक हुनुहुन्छ । उहाँका एक सहकर्मीले निर्वाचनभन्दा एक महिनाअघि उहाँको गिरफ्तारीलाई सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) द्वारा रचित ‘राजनीतिक षड्यन्त्र’ का रूपमा वर्णन गर्नुभएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सञ्जीव खन्ना र दीपाङ्कर दत्ताले केजरीवाल छ साताको निर्वाचनमा मतदानको अन्तिम दिन जुन १ सम्म हिरासतबाट बाहिर रहन सक्नुहुने बताउनुभएको छ ।
सन् २०२१ मा मदिराको बिक्रीलाई उदार बनाउने र यस क्षेत्रमा आकर्षक सरकारी हिस्सेदारी छाड्ने नीति लागु गर्दा केजरीवालको सरकारमाथि भ्रष्टाचारको आरोप लगाइएको थियो । उक्त नीतिलाई अर्को वर्ष फिर्ता लिइयो तर लाइसेन्सको कथित भ्रष्ट विनियोजनमा नतिजाको अनुसन्धानले केजरीवालका दुई शीर्ष सहयोगीहरूलाई कारागार पुर्यायो ।
बारम्बार गलत कामलाई अस्वीकार गर्दै आउनुभएका केजरीवालको समर्थनमा उहाँको गिरफ्तारीपछि भारतभरका अन्य धेरै ठूला सहरमा जुलुस निकालिएको थियो ।
करिब एक दशकसम्म मुख्यमन्त्री रहनुभएका ५५ वर्षीय केजरीवाल पहिलोपटक कट्टर भ्रष्टाचारविरोधी योद्धाका रूपमा कार्यालय आउनुभएको थियो । उहाँले अनुसन्धानको हिस्साका रूपमा सोधपुछका लागि भारतको वित्तीय अपराध एजेन्सी प्रवर्तन निर्देशनालयको बोलावट आदेशको विरोध गर्नुभएको थियो ।
मोदीका राजनीतिक विरोधीहरू र अन्तर्राष्ट्रिय अधिकार समूहहरूले लामो समयदेखि भारतको सङ्कुचित लोकतान्त्रिक स्थानप्रति चिन्ता व्यक्त गर्दै आएका छन् ।
विपक्षी कांग्रेस पार्टीका सबैभन्दा प्रमुख सदस्य तथा दशर्कौसम्म भारतीय राजनीतिमा वर्चश्व कायम गर्ने वंशका राहुल गान्धीलाई गत वर्ष मोदीको पार्टीका एक सदस्यको उजुरीपछि आपराधिक मानहानिमा दोषी ठहराइएको थियो । उक्त फैसलालाई उच्च अदालतले निलम्बन नगरेसम्म उहाँको दुई वर्षको कारागार सजायले उहाँलाई केही समयका लागि संसद्बाट अयोग्य घोषित गरेको थियो ।
केजरीवाल र गान्धी दुवै दुई दर्जन भन्दा धेरै पार्टीबाट बनेको विपक्षी गठबन्धनको सदस्य हुनुहुन्छ र उक्त गठबन्धनले संयुक्तरूपमा भारतको निर्वाचनमा प्रतिस्पर्धा गरिरहेको छ ।
जेलेन्स्कीलाई मार्ने षड्यन्त्र रचेको अभियोगमा स्टेट गार्डका प्रमुख बर्खास्त
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको हत्याको षड्यन्त्रमा दुई जना सदस्य संलग्न भएको आरोप लागेपछि राज्य गार्डका प्रमुखलाई बर्खास्त गरिएको अल जजिराले जनाएको छ ।
जेलेन्स्कीले बिहीबार राज्य गार्डका पूर्वनेता सेरही रुडलाई बर्खास्त गर्नुभएको अल जजिराले रिपोर्ट गरेको छ । राज्य सुरक्षा सेवा (एसबियु) ले यस हप्ताको सुरुमा जेलेन्स्की र अन्य अधिकारीहरू विरुद्धको हत्याको षड्यन्त्र पत्ता लगाएको बताएपछि यो निर्णय आएको हो ।
यद्यपि रिपोर्टका अनुसार उत्तराधिकारीका बारेमा अहिले सम्म कुनै आधिकारिक तथ्य आएको छैन ।
एसबियुका अनुसार स्टेट गार्डका दुई जना कर्नेलले जेलेन्स्कीलाई बन्धक बनाई हत्या गर्ने योजना बनाएका थिए । एसबियु प्रमुख भासिल मालियुक र सैन्य गुप्तचर एजेन्सीका प्रमुख किरिलो बुदानोभलगायतका अधिकारीहरू पनि असफल षड्यन्त्रको लक्ष्य रहेको बताइएको छ ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीको हत्याको योजना बनाएको आरोपमा दुई युक्रेनी सुरक्षा अधिकारी पक्राउ परेको राज्य सुरक्षा सेवालाई उद्धृत गर्दै सिएनएनले रिपोर्ट गरेको छ ।
युक्रेनको सरकारी सुरक्षा एकाइका दुई कर्नेल माथि ‘आर्थिक क्षतिपूर्तिको बदलामा युक्रेन विरुद्धका गतिविधि गरेको आरोपमा राजद्रोहको आरोप लगाइएको थियो । तीमध्ये एकलाई आतङ्कवादी कार्यको तयारी गरेको आरोप पनि लगाइएको युक्रेनको अभियोजक जनरलको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार एक संदिग्धले रुसको राज्य सुरक्षा सेवा (एफएसबी) बाट दुई ड्रोन र गोला बारुद प्राप्त गरी अर्को सहयोगीलाई विस्फोटको लागि हस्तान्तरण गर्न चाहन्थे ।
एसबियुले जेलेन्स्की र एसबियुका प्रमुख भासिल मालियुक तथा युक्रेनको डिफेन्स इन्टेलिजेन्सका प्रमुख किरिलो बुडानोभलगायत अन्य वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्या गर्ने ‘सक्रियरूपमा विकास भइरहेको योजना’ लाई ‘विफल’ पारेको बताएको छ ।
दुई अङ्गरक्षकले सङ्घीय सुरक्षा सेवामा संवेदनशील जानकारी सार्वजनिक गरेको आरोप लगाउने एसबियुको आरोपमाथि रुसले आधिकारिक प्रतिक्रिया भने दिएको छैन ।
पछिल्लो समयमा रुससँगको युक्रेनी द्वन्द्वमा प्रगति अवरुद्ध भएकाले जेलेन्स्कीको प्रशासनले धेरै कठिनाइको सामना गर्नुपरेको छ । साथै अधिकारीहरूले भ्रष्टाचारको आरोपको सामना गरिरहेका छन् ।
यसअघि फेब्रअरीमा जेलेन्स्कीले जनरल भ्यालेरी जालुज्नीलाई पदबाट बर्खास्त गरेपछि अलेक्जेन्डर सिरस्कीलाई नयाँ सेनाप्रमुखका रूपमा नियुक्त गर्नुभएको थियो ।
संसदीय छानबिन समिति गठन कांग्रेसको ‘बटमलाइन
काठमाडाैँ I सहकारीको रकम अपचलनसम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको समेत संलग्नताको आरोप लगाउँदै आएको नेपाली कांग्रेसले यसबारे निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग पुनः दोहोर्याएको छ ।
कांग्रेस संसदीय दलको आज बसेको बैठकले सहकारीमा उहाँको संलग्नताको प्रमाण रहेको जिकिर गर्दै सो सम्बन्धमा स्वतन्त्र र निष्पक्ष छानबिन होस् भन्ने सुनिश्चितताका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।
सो बैठकले यो मुद्दा अब कांग्रेसको मात्र नभएर सम्पूर्ण जनताको चिन्ता, चासो र सरोकारको विषय भइसकेको भन्दै संसदको प्रमुख प्रतिपक्षी दल समेत रहेको कांग्रेसले यसअघि यसै विषयमा आफ्नो मागको सम्बोधन नभई संसद अन्त्य भएकाले आजदेखि सुरु हुने संसदको बैठकमा पनि सोही माग राख्ने प्रमुख सचेतक लेखकले बताउनुभयो ।
सो बैठकमा आजदेखि सुरु हुने सङ्घीय संसद अधिवेशनमा पार्टीको तयारीका सम्बन्धमा पनि छलफल भएको थियो । तत्काल संसदीय छानविन समिति गठन नभएमा यसबाट प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठकहरु नै प्रभावित हुनसक्ने पनि कांग्रेसले जनाएको छ ।
यसगरी कांग्रेसले केही दिनदेखि देशका विभिन्न ठाउँमा भएका आगजनी तथा डढेलोबाट धनजनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । आगजनी तथा डढेलो नियन्त्रणका साथै विपदको यस घडीमा क्षति पुगेका घरपरिवारलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । साथै अगजनीमा परी मृत्यु भएका प्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
बैठकले तराई मधेसका विभिन्न स्थानहरु भूमिगत पानीको स्तर तल झर्न गइ र पहाडमा डढेलोको कारण विभिन्न स्थानमा खानेपानीका पाइपलाइन जली नष्ट भई खानेपानीको गम्भीर समस्या हुन गएकाले उक्त समस्याको समाधान तत्काल गन सरकारसँग माग गरेको छ ।
नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण
लुम्बिनी (मर्चवार) I ‘कुस्ती’को जन्म छ, तर व्यवस्थापन छैन, पहलवान जोगेन्द्र यादव भन्नुहुन्छ, “परम्परागत रूपमा जरा गाडेको यो खेलले आफ्नो एतिहासिक तथा सांस्कृतिक महत्वलाई खतरामा पार्ने चुनौतीसँग जुधिरहेको छ ।”
सम्मरीमाई–४ रुपन्देहीका पहलवान रामचन्द्र यादवले दशकअघिका अखडा देखिन छोडेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आजका युवामा खेलको सौख छ, तर सरोकारवालासँग संरक्षणको चाहना छैन ।” पहलवान घनश्याम मिश्रले कुस्तीको जीवन्त विगत सम्झिँदै सार्वजनिक चासोमा आएको ह्रासप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “कुस्तीको सारअनुसार संस्कृतिको ह्रास रोकिनुपर्छ ।” मिश्रका अनुसार यसले स्वास्थ्य, शक्ति र स्फुर्तिलाई बढावा दिन्छ, आत्म नियन्त्रण र व्यक्तित्व विकासमा लाभ पु-याउँछ ।
कुस्ती एक अनुशासनको खेल हो । यो मानिस-मानिसबिचमा लडाइँको कला हो । कुस्ती प्रतियोगिता गोलाकार खाडलमा हुन्छन्, प्रायः माटोले भरिएको हुन्छ, जसलाई ‘अखाडा’ भनिन्छ । “अखाडाले खेलाडीका लागि प्राकृतिक सतह मात्र प्रदान गर्दैन यसले माटो र खेलको सम्बन्धलाई प्रतीकात्मक महत्व राख्छ”, पहलवान राम किसुन यादवले भन्नुभयो, “यसले आध्यात्मिक र दार्शनिक आयामसँग शारीरिक पराक्रमको मिश्रण गर्दछ ।”
कुस्ती खेलाडीलाई पहलवान र यसका प्रशिक्षकलाई ‘उस्ताद’ भनिन्छ । उस्तादले आफ्ना प्रशिक्षार्थी पहलवानलाई निर्देश गर्दछन् । यो प्रतियोगितामा समानस्तरका खेलाडीबीच निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित गर्दै, पहलवानलाई विभिन्न तौल वर्गमा वर्गीकृत गरिन्छ । अखाडामा देखिने यो अभ्यासले खेलकुदमा नयाँ रणनीति, निष्पक्षताको तत्व थप्नुका साथै अनुशासन र आचारसंहिताको पालनालाई समेट्छ ।
“कुस्तीले खेलाडीमा शारीरिक र मानसिक सहनशीलताको माग गर्दछ । असाधारण सहनशक्ति भएका व्यक्तिलाई आकार दिन्छ । शारीरिक बलको खेती गर्छ । यसको सहभागीको समग्र फिटनेसमा योगदान पु¥याउँछ”, मायादेवी गाउँपालिका रुपन्देहीका पहलवान नजाबुद्दीन मुसलमान भन्नुहुन्छ, “आफ्नै समृद्ध इतिहास र विविध रूपहरू भएको कुस्ती, खेलको कला, शारीरिक र मानसिक विकास खोज्ने व्यक्तिका लागि प्रेरणाको स्रोत हो ।”
दक्षिण एसियाली राष्ट्रमा कुस्तीको अभ्यास बढी छ । यो खेल प्रायः नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेश, भुटान, पाकिस्तान, अफगानिस्तानलगायतका राष्ट्रहरूमा बढी खेलिन्छ । कुस्तीले ती क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्छ जहाँ युद्ध र वीरताको महत्व बढी हुन्छ । प्राचीन सभ्यतादेखि खेलिँदै लोकप्रियता प्राप्त गरेको यसको महत्वबारे पुराण, महाभारत र रामायणलगायतका धार्मिक तथा, साहित्यिक ग्रन्थमा पनि उल्लेख छ ।
अनादिकालमा मानव विकाससँगै कुस्ती खेलको विकास भएको अन्तर्राष्ट्रिय ख्याति प्राप्त पहलवान केशव दासको बुझाइ छ । यो खेल देशको प्रतिष्ठासँग जोडिएको र मानिसको स्वास्थ्यसँग गाँसिएको विषय भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “युद्ध र वीरताको प्रयाय नेपालमा परम्परागत र सांस्कृतिक रूपमा मूल्यवान कुस्ती यहाँको गौरवपूर्ण साझा संस्कृति, आपसी सद्भाव, रणनीतिक सङ्घर्ष र राष्ट्रिय एकताको प्रतीक हो ।”
नवलपरासी घर भएका केशव दासले शारीरिक स्वास्थ्य, आत्माको निपुणता, र सामाजिक तथा सांस्कृतिक मूल्यमा योगदानको लागि कुस्तीको वकालत गर्नुहुन्छ । यसको व्यवस्थापन र जनचेतनाको भूमिकामा जोड दिँदै निर्णायक भूमिका खेल्नका लागि सरकारलाई उहाँको आग्रह छ । उहाँले कालाजङ्ग, धोबी पछाड़, मच्छीगोता, सांडीतोड, निकाल, टांगी, बगलडुव र गदालेट दांवलाई कुस्तीको प्रमुख कला बताउनुहुन्छ ।
कुस्तीलाई दयानन्द सरस्वती, स्वामी विवेकानन्द, र अन्य योगीले शारीरिक स्वास्थ्य, आत्माको प्रभुत्व, र सामाजिक तथा सांस्कृतिक मूल्यको एक हिस्सा भनेर व्याख्या गर्नुभएको छ । कुस्तीको शाब्दिक विवरण पुरातात्विक तथा पौराणिक शास्त्र, खासगरी ग्रिक तथा संस्कृत महाकाव्यबाट सुरु हुन्छ । रामायणमा रावण–सुग्रीव, महाभारतमा भीमसेन–जरासन्ध तथा विभिन्न वलशाली पहलवानबीचको मुठभेडको वर्णन गरिएको छ ।
कोटहीमाई–३, रुपन्देही घर भई लुम्बिनी प्रदेश ‘मुख्यमन्त्री स्वयम्सेवक कार्यक्रम’का कुस्ती प्रशिक्षक राजेन्द्र यादवले परम्परागत खेलको पुनःरुत्थानका लागि साझा प्रयासको आवश्यकतामा जोड दिनुभयो । ‘सिद्धार्थ भीम पुरस्कार २०५७’का विजेता, यादवले नेपालमा कुस्तीको प्रतीक मानिने सांस्कृतिक र राष्ट्रिय एकताको संरक्षणको महत्वलाई जोड दिनुहुँदै हाल १२ जना खेलाडीलाई आफ्नै गाउँ पर्सियामा प्रशिक्षण दिइरहनुभएको छ ।
पहलवान तथा प्रशिक्षक यादव भन्नुहुन्छ, “मानवको शक्ति प्रदर्शन गर्ने कुस्तीको खेल एक युगमा सुरु भएको हो, जब मानिसलाई हतियारको प्रयोगबारे थाहा थिएन । त्यस समयमा, यस प्रकारको युद्धमा क्रुर बल हावी थियो ।” उहाँका अनुसार, पशुलगायतका अन्य शक्तिलाई जित्न त्यस समयमा मानिसले विभिन्न प्रकारका युक्तिहरू प्रयोग गर्न सिकेको हुनुपर्छ र त्यसैबाट ‘कुस्ती’ वा ‘मल्लयुद्ध’ खेलको विकास भएको हो ।
बहरल्ली, भितरल्ली, तुतवा, इरानी, मुल्तानी, भालुकस, बांगुडु, चपरास, अन्टी, सखी, रामवाण, एकहरीपट, दोहरीपट, सन् दुई हजार, खेमे, भरन्दाज, रुम, गुड, महाउती, साल्तो, बैगसाल्तो गुठ्ठी, दाउँपेचबारे बताउनुहुँदै प्रशिक्षक यादवले छिडकी, तेजाब छिडकी, अकलकाटे पहाण र जुडो पहाण दाँव नेपालमा प्रचलित रहेको जानकारी दिनुभयो । यादवले नेपालमा कम्तीमा एक जिल्ला एक सुविधा सम्पन्न प्रशिक्षण केन्द्र हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालमा कुस्तीका लागि सरकारले खासै पहल गरेको नदेखिए पनि युवामा कुस्तीप्रतिको रुचि बढाउन धेरै पटक कुस्ती प्रतियोगिता आयोजना गरिएको छ । यसका लागि प्रशिक्षण केन्द्रहरू पनि छन्, जसले खेलाडीलाई विशेषज्ञता र प्रविधिमा तालिम दिने काम गरिन्छ ।” यादवका अनुसार विसं २०२८ पुुस १४ देखि २०५७ सम्म बर्षेनि सिद्धार्थनगर नगरपालिकाले ‘सिद्धार्थ भीम पुरस्कार’को आयोजना गर्ने गर्दथ्यो ।
तत्कालीन राजा वीरेन्द्रको जन्म दिवस पुस १४ गतेको अवसरमा आयोजना हुने राष्ट्रियस्तरको कुस्ती प्रतियोगितामा नेपाल र भारतलगायत देशका खेलाडीको सहभागिता हुने गर्दथ्यो । पुरस्कारका लागि पहलवानले लगातार तीन वर्ष दङ्गलमा प्रथम स्थान ल्याउनैपर्ने नियम थियो । पहलवान राजेन्द्र यादवले २०५५, २०५६ र २०५७ मा लगातार प्रथम स्थान ल्याइ ‘सिद्धार्थ भीम पुरस्कार २०५७’ प्राप्त गर्नुभएको थियो ।
राजेन्द्रले पुरस्कार पाउनु पहिले उहाँका उस्ताद प्रहलाद यादव २०५२, ०५३ र ०५४ मा लगातार विजयी हुनुभएको थियो । २०४९, ०५० र ०५१ मा नवलपरासीका पहलवान रामकिसुन यादवले प्रतियोगिता जित्नुभएको थियो । विसं २०५८ जेठ १९ गते दरबार हत्याकाण्डपछि रुपन्देहीमा सरकारीस्तरबाट कुस्ती प्रतियोगिता नभएको सिद्धार्थनगर नगरपालिकाका सूचना अधिकारी देव ज्ञवालीले बताउनुभयो ।
हुन त तराई–मधेसका विभिन्न स्थानमा कुस्ती प्रतियोगिता अझै प्रचलनमा छन् । नहान मेलाको अवसरमा रुपन्देहीको सतियामाइ स्थान र जोगियाबारी मेलामा कुस्ती दङ्गलको आयोजना हुने गरेको देखिन्छ । प्रतियोगिता स्थानीयस्तरको भए पनि नेपाल र भारतका खेलाडीलाई सहभागी गराइन्छ । तर पारिश्रमिक, पुरस्कार र खानपानको व्यवस्थापनमा कमजोर हुँदा युवामा यो खेलप्रतिको रुचि घटेको देखिन्छ ।
“शारीरिक स्फुर्तिका कारण पहिला कुस्ती र पहलवानको सामाजिक प्रतिष्ठा धेरै थियो, जसले निजी सुरक्षाकर्मी आवश्यक पर्दा पहलवानलाई उपयुक्त मानिन्थ्यो”, लुम्बिनी प्रदेशका पूर्वशिक्षा तथा खेलकुद विकासमन्त्री वसीउद्दीन खाँले भन्नुभयो, “समयसँगै यो खेल र पहलवानको सङ्ख्या घट्यो । मेलाको बेला आयोजकले दिने पुरस्कारको सीमित रकम र दर्शकबाट प्राप्त हुने बक्सिसबाहेक आम्दानीको स्रोत छैन ।”
लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताका अनुसार, पारम्परिक खेलहरू मनोरञ्जनका माध्यम मात्र नभई सामुदायिक संवादको मञ्च पनि थिए । यी खेलभित्र हाम्रो समाजको सांस्कृतिक समभाव पनि भएकाले कुस्ती ब्युँताउनु जरुरी छ । उहाँले भन्नुभयो, “कुस्तीप्रति युवाको आकर्षण बढाउन प्रदेश सरकारले काम गर्न लगेको छ । राष्ट्रिय वा अन्तर्राष्ट्रिय प्रतियोगिताका निम्ति खेलाडी उत्पादन हुनसक्छ भन्ने विश्वास छ ।”
स्वयम्भूको बुद्ध जयन्ती मेला काठमाडौँ महानगरले व्यवस्थित गर्ने
काठमाडौँ I बुद्ध जयन्तीको अवसरमा स्वयम्भूमा लाग्ने वैशाख पूर्णिमा मेलालाई यस वर्ष व्यवस्थित बनाइने भएको छ । काठमाडौँ महानगरपालिकाले स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिसँग समन्वय गरी आर्थिक सहयोग तथा भीड व्यवस्थापन गर्ने भएको हो ।
स्वयम्भू तथा त्यस आसपास क्षेत्रमा रहेका गुम्बामा दर्शनका लागि आउने भक्तजनको सुरक्षा, मेलामा भीड व्यवस्थापन, सरसफाइ, रङरोगन, सडकबत्ती व्यवस्थापन गर्न लागेको काठमाडौँ महानगरपालिका–१५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।
महासमितिका अध्यक्ष भिक्षु धर्ममूर्ति महास्थवीरको संयोजकत्वमा २५६८औँ बुद्धजयन्ती व्यवस्थापन मूल समारोह समिति गठन गरिएको छ । उक्त समितिले मन्दिर आसपासका अस्थायी पसल हटाउने, माग्न र दान गर्न निषेध गरेको छ । भीड व्यवस्थापनका लागि जथाभावी भोजन दान गर्न नपाइने र तोकिएको स्थानबाट मात्र दान गर्नुपर्ने नियम बनाइएको छ ।
थेरवाद, महायान र वज्रयान सम्प्रदायका अनुयायीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहबाट करिब दुई लाख धर्मावलम्बी आउने अपेक्षा गरिएको महासमितिका महासचिव अशोक बुद्धाचार्यले जानकारी दिनुभयो । आगामी जेठ १० गते वैशाख पूर्णिमा तथा बुद्ध जयन्ती परेको छ ।
स्वयम्भूस्थित महानगरीय प्रहरी वृत्त प्रमुख पूर्णिमा चन्दले उक्त मेलामा आउने भक्तजन तथा सर्वसाधारणको सुरक्षालाई दृष्टिगत गर्दै सुरक्षाकर्मी थप गरिएको बताउनुभयो । उहाँले सडकको ट्राफिक जाम व्यवस्थापन गर्न त्यस क्षेत्रमा सवारीसाधन निषेध गरी वैकल्पिक सडकको प्रबन्ध गरिने बताउनुभयो ।
यसवर्ष महायानी धर्मावलम्बीले साकादावा पर्व सोही दिन मनाउने भएकाले दर्शन गर्न आउने भक्तजनको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । महायानी परम्पराअनुसार साकादावा पर्वलाई पवित्र महिनाका रुपमा लिइन्छ ।
आज साँझ देखि कैलालीका सीमानाका बन्द हुने
अत्तरिया(कैलाली) I भारतसँग सीमा जोडिएका कैलालीका सीमानाका आज साँझ देखि बन्द हुने भएका छन् । भारतमा हुन लागेको लोकसभा सदस्यको निर्वाचनका लागि जिल्लास्थित सबै सीमानाका बन्द हुने भएका हुन् ।
भारतको उत्तर प्रदेशस्थित खिरी जिल्लामा हुन लागेको लोकसभा सामान्य निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।
“यही वैशाख ३१ गते खिरीमा लोकसभा सामान्य निर्वाचन हुँदैछ, मतदान समाप्त नहुँदासम्म नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा नाका बन्द रहने भनी भारतीय पक्षबाट पत्राचार भएको छ”, उहाँले भन्नुभयो, “उक्त निर्वाचनलाई मध्यनजर गर्दै आज (शुक्रबार) साँझ ६ बजे देखि वैशाख ३१ गते मतदान सम्पन्न नहुन्जेल सम्म सीमानाका बन्द हुने छन् ।”
सुरक्षा संवेदशीलताका कारण सो अवधिमा आवतजावत पूर्णरुपमा बन्द रहने उहाँले जानकारी दिनुभयो ।