तोलामा रु दुई हजार तीन सयले बढ्यो सुनको मूल्य
काठमाडौँ I स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु दुई हजार तीन सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला रु एक लाख ३५ हजार छ सयमा कारोबार भएको थियो । आजका लागि भने छापावाला सुन तोलामा रु एक लाख ३७ हजार नौ सय बराबरको मूल्य निर्धारण भएको छ ।
त्यस्तै, तेजाबी सुन बिहीबार प्रतितोला रु एक लाख ३४ हजार नौ सय ५० मा कारोबार भएको थियो । आजका लागि भने तेजाबी सुन रु एक लाख ३७ हजार दुई सय ५० निर्धारण भएको छ । यसैगरी, चाँदी भने तोलामा रु ५० ले बृद्धि भएको छ । बिहिबार प्रतितोला रु एक हजार छ सय ८५ मा कारोबार भएकामा आजका लागि भने एक हजार सात सय ३५ निर्धारण भएको जनाइएको छ ।
स्रोत नखुलेको रु ९८ लाखसहित दुई जना पक्राउ
काठमाडौँ I काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत नखुलेको रु ९८ लाख रकमसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा रुपन्देही सियारी गाउँपालिका–७ बस्ने २८ वर्षीय समिर सुनार तथा सोही ठाउँका २९ वर्षीय मिलन बिक रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “दरबारमार्गस्थित जय नेपाल हल नजिक गाडीमा रकम लिएर हिँडेको अवस्थामा बिहीबार उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेकाहरु हुन्डी एवं सुन कारोबारमा पनि संलग्न रहेको हाम्रो प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।”
प्रहरीले उनीहरुको साथबाट नगद रु ९८ लाख तथा बा १३ च ४८५८ नम्बरको फोर्ड कम्पनीको इको स्पोर्ट गाडी समेत बरामद गरेको जानकारी दिइयो ।
पक्राउ परेका २९ वर्षीय मिलन बिक यसअघि २०८० असोज १० गतेमा दोलखामा साढे ११ केजी अबैध सुन पैठारी तथा संलग्नमा पक्राउ पुर्जी जारी भई फरार भएको र निजको सम्पत्ति शुद्धीकरणमा समेत मुद्धा अनुसन्धानमा रहेको खुल्न आएको प्रमुख भट्टराईले बताउनुभयो ।
पक्राउ परेकाहरु विगत दुई वर्षयता आपराधिक गतिविधिमा संलग्न रहँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरुलाई हुण्डिसम्बन्धी कारोबार गर्न नहुने कसुरमा थप अनुसन्धानका लागि आजै जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइने जनाइएको छ ।
नेपालमा युरोपेली लगानी भित्र्याउन सङ्घले सघाउने
काठमाडौँ I नेपालमा युरोपेली लगानी भित्र्याउन युरोपेली सङ्घले सघाउने बताएको छ । नेपालका लागि सङ्घका राजदूत भेरोनिक लोरेञ्जोले युरोपेली लगानी ल्याउन आगामी साता काठमाडौँमा ‘इयू–नेपाल व्यापार मञ्च’को बैठक हुन लागेको बताउनुभयो ।
नेपाल र युरोपेली सङ्घबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव तथा युरोप दिवसका अवसरमा बिहीबार यहाँ आयोजित स्वागत समारोहमा राजदूत लोरेञ्जोले नेपालको वैदेशिक लगानी अभाव परिपूति गर्ने उद्देश्यले आगामी जेठ २ र ३ गते काठमाडौँमा मञ्चको दोस्रो बैठक आयोजना गरिने जानकारी दिनुभयो ।
बैठकमा नेपालका लगानीका सम्भावित क्षेत्रमा छलफल गर्न युरोपेली सङ्घमा आबद्ध मुलुकका कम्पनीले भाग लिने उहाँले बताउनुभयो । राजदूत लोरेञ्जोले सन् २०२६ मा नेपाल अतिकमविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुनुपर्ने लक्ष्यका साथ अघि बढेकाले त्यस निम्ति आर्थिक विकास र रोजगारीका अवसर सिर्जना गर्न आवश्यक भएको बताउँदै सङ्घमा आबद्ध सदस्य देश र विकासका लागि युरोपेली वित्तीय संस्थाबाट नेपाललाई प्रदान गरिने सहायता ‘ग्लोबल गेट वे’मार्फत प्रवाह हुने जानकारी दिनुभयो ।
राजदूत लोरेञ्जेले शान्तिप्रिय नेपालीलाई रुस–युक्रेन द्वन्द्व र इजरायलमा भएको आतङ्कवादी हमलाबाट चोट पुगेको चर्चा गर्दै उहाँले बन्दी बनाइएका विपिन जोशी र उहाँको परिवार प्रति ऐक्यबद्धता व्यक्त गर्नुभयो । उहाँले विश्वव्यापी रूपमा सङ्घ शान्ति, विधिको शासन, मानवअधिकार, बहुपक्षीयता, मानवीय सहायता तथा साझेदारीलगायत साझा मूल्यमान्यता प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
राजदूत लोरेञ्जेले नेपालको विकास साझेदार सङ्घले २०७२ सालको भूकम्प होस् या कोरोना महामारी यहाँको विकास र विषम परिस्थितिमा सक्दो सहयोग गर्दै आएको बताउनुभयो ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपसभामुख इन्दिरा राना, सांसद, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारीका साथै नेपाल सरकारका अधिकारीहरूको उपस्थिति थियो ।
मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण
म्याग्दी I राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक अन्तर्गत मुस्ताङको लोमान्थाङ खण्डमा वैकल्पिक सडक निर्माण भएको छ ।
गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्वको सडक’ आयोजना कार्यक्रममार्फत लोमान्थाङ गाउँपालिकाको १, २ र ५ नम्बर वडालाई जोड्ने बेनी–जोमसोम–कोरला राष्ट्रिय राजमार्गको लोमान्थाङ–नेचुङ खण्डको वैकल्पिक सडक निर्माण भएको हो ।
गाउँपालिकाको केन्द्र लोमान्थाङबाट ढिङगर–चुमजुङ–न्याम्डो हुँदै छोसेरको नेचुङ भन्सार जोड्ने १० दशमलव पाँच किलोमिटर सडक विस्तार, नाली, पर्खाल निर्माण र ग्राभेल गरेर स्तरोन्नति गरिएको पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले बताउनुभयो ।
इमाटोल कन्ट्रक्सनले विसं २०७६ साउन ६ गते ठेक्का सम्झौता गरेको यो योजना विसं २०७७ फागुन ७ गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । पेस्कीबापत लगेको रु ९७ लाख फिर्ता गरेर जमानत जफत र कारबाही प्रक्रिया अघि बढाएपछि निर्माण व्यवसायीले गत जेठमा काममा फर्किएर पूर्णता दिएका हुन् । यो सडकको निर्माण अवधि कोरोना महामारी, भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण लम्बिएको निर्माण कम्पनीका प्रतिनिधि सुदीप खड्काले बताउनुभयो ।
प्रारम्भमा रु २१ करोड १७ लाखमा ठेक्का सम्झौता भएको सडकको ‘भेरियसन अर्डर’ गर्ने क्रममा लागत बढेर रु २४ करोड पुगेको छ । हालसम्म रु १८ करोड भुक्तानी भइसकेको छ । सडकको घुम्ती, ग्रेड सुधार र नाली निर्माणका साथै आठ मिटरका दरले ग्राभेल भएको पूर्वाधार विकास कार्यालय मुस्ताङका प्राविधिक सतिश पनेरुले बताउनुभयो ।
राष्ट्रिय राजमार्गको विकल्पको साथै धेरै बस्तीलाई छुने भएकाले यो सडकलाई रणनीतिक महत्वको मानिएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्वु गुरुङले बताउनुभयो । स्थानीयवासी, पर्यटक र व्यवसायीलाई गाउँपालिकाको केन्द्र र कोरलानाका आवतजावतका साथै ढुवानी र निकासीमा सहज भएको छ ।
स्तरोन्नतिको क्रममा रहेको चराङ–छोसेर खण्ड जीर्ण भएको र नदीमा मोटरेबल पुुल निर्माण नसकिएकाले कोरलानाका जानेआउने सवारीसाधनले प्रदेश सरकारले बनाएको सडक प्रयोग गरिरहेका छन् । लोमान्थाङबाट पुवा हुँदै चक्रपथको किमलिङ जोड्ने तीन दशमलव पाँच किलोमिटर सडक स्तरोन्नतिको तयारी भएको छ । यसैगरी न्यानोल–सम्जोङ–छोसेर–चेनुङ जोड्ने अर्को छ दशमव पाँच किलोमिटर सडक स्तरोन्नतिको तयारी भएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताउनुभयो ।
सङ्घीय संसद् अधिवेशन आजदेखि
काठमाडौँ I सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख २० गते संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो ।
नयाँवानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज अपराह्न २ बजेका लागि आह्वान भएको अधिवेशनमा उपस्थितिका लागि सबै सांसद सदस्यलाई सङ्घीय संसद् सचिवालयले यसअघि नै सार्वजनिक सूचना जारी गरेर अनुरोध गरिसकेको छ ।
आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण (बजेट) जेठ १५ मा संसद्मा पेस गर्नुपर्ने संवैधानिक प्रावधान छ । त्यसअघि सरकारको वार्षिक नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुनेछ ।
नेतृत्वको अप्रजातान्त्रिक शैलीका कारण पार्टी विभाजन गर्नुपर्योे: अध्यक्ष राई
काठमाडौँ I जनता समाजवादी पार्टी (जसपा) नेपालबाट छुट्टिएको नवगठित जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले जसपा अध्यक्षको अप्रजातान्त्रिक र स्वच्छाचारी चरित्रका कारण पार्टी विभाजन गर्नुपरेको बताउनुभएको छ ।
पार्टी विभाजन र नयाँ दल गठनका सम्बन्धमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उहाँले अध्यक्ष यादवबाट हुँदैआएको अपारदर्शी निर्णय र कार्यकर्ताबीच गर्ने विभेद्कारी शैलीले पार्टी विभाजनका लागि मलजल गरेको स्पष्ट गर्नुभयो । अध्यक्ष राईले भन्नुभयो,“पार्टीको सङ्गठनात्मक सिद्धान्तअनुरूप आन्तरिक लोकतन्त्रको अभ्यास नगर्ने र प्रदेशलाई आफ्नो अधिकार प्रयोग गर्न नदिनेतर्फ पार्टी नेतृत्व उद्दत हुनेजस्ता कारणले पार्टीमा गम्भीर वैचारिक र सैद्धान्तिक मतभेद् रह्यो । त्यसैकारण एकैठाउँमा रहन सकिएन ।” उहाँले सामूहिक नेतृत्व र समावेशी प्रतिनिधित्वको नीतिविपरीत हुनेगरी अध्यक्षात्मक प्रणालीमा जस्तो एकल निर्णय गर्ने तथा सिद्धान्तमा सङ्घीय ढाँचाको पार्टी भन्ने गरे पनि व्यवहारमा जिल्ला र पालिकालाई हस्तक्षेप गर्ने प्रवृत्तिले सङ्गठनात्मक समस्या समेत देखिएको बताउनुभयो ।
पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले तत्कालीन अध्यक्षले पार्टीका वरिष्ठ नेता नभएका बेला आफू अनुकूल निर्णयगरी विदेश भ्रमणमा निस्कनु तथा पार्टीको आधिकारिक निर्णयविपरीत मौखिकरूपमा कार्य जिम्मेवारी हेरफेर गर्ने कार्य गरेको आरोप लगाउनुभयो । “सरकारमा रहेका सम्बन्धित मन्त्रीलाई जानकारी नगराई मन्त्रालयका उच्च पदस्थ कमचारीलाई दबाबमूलक र आफू अनुकूल काम गर्न निर्देशन दिने कार्यशैलीले पनि दल विभाजन गर्न बाध्य बनाएको हो”, उहाँले भन्नुभयो । सामूहिक नेतृत्व, समावेशी प्रतिनिधित्वको आधारमा पार्टीको मागदर्शक सिद्धान्त सङ्घीय समाजवाद र सङ्गठनात्मक सिद्धान्त लोकतान्त्रिक विकेन्द्रीकरण हुने र सोहीअनुसार पार्टी सञ्चालन गरिने महासचिव राईले बताउनुभयो ।
नव गठित पार्टीले अब जनहितका पक्षमा सडक, सदन र सरकारका मोर्चाबाट एकैपटक खबरदारी र सशक्त भूमिका निर्वाह गर्ने सो पार्टीका नेताहरूको भनाइ छ । यस्तै देशमा विद्यमान सबैखाले समस्याको समाधान गर्न संवैधानिक र कानूनी व्यवस्थासमेत समयानुकूल सशोधन र परिवर्तन गर्दै जनताप्रति जिम्मेवार सामाजिक र उत्तरदायित्व बोकेको दलका रूपमा नयाँ दलले काम गर्ने त्यस अवसरमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पत्रकार सम्मेलनमा पार्टी नेता राजेन्द्र श्रेष्ठ, प्रदीप यादव, रेणु यादव, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, रञ्जु झालगायत उपस्थित हुनुहुन्थ्यो ।
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको सपथ
विराटगर I कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा ९५० बमोजिम आज मुख्यमन्त्रीमा नियुक्त उहाँले कोशी प्रदेश प्रमुख पुरशुराम खापुङ्ग समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ ।
त्यसैगरी आजै मन्त्रिपरिषद् समेत गठन गरिएको छ । मुख्यमन्त्री कार्कीको सिफारिसमा गणेशस्रसाद उप्रेती र रामबहादुर मगरलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरिएको छ । नवनियुक्त मन्त्रीहरूले समेत नेपालको संविधानको धारा १६८ को उपधारा ९९० बमोजिम प्रदेश प्रमुख खापुङ समक्ष पद तथा गोपनीयताको सपथ गराउनुभएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा कार्की नियुक्त
विराटनगर I कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ । कार्की नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त हुनु भएको हो ।
उहाँ झापा निर्वाचन क्षेत्र ५ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचिन हुनुभएको हो । उहाँ नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का ५२ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । हस्ताक्षरको समयमा जनता समाजवादी पार्टीका निर्मला लिम्बुको पनि उपस्थिति थियो ।
नवनियुक्त मुख्यमन्त्री कार्कीले आजै सपथ लिनु हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
खेल पर्यटन प्रवर्द्धनार्थ ‘काँक्रेबिहार म्याराथन दौड प्रतियोगिता’
कर्णाली I कर्णालीको खेल पर्यटन प्रवर्द्धनका लागि ‘काक्रेबिहार म्याराथन दौड प्रतियोगिता’को दोस्रो संस्करण सञ्चालन हुने भएको छ । मिड वेस्टर्न फिटनेस सेन्टर सुर्खेतले आज वीरेन्द्रनगर सुर्खेतमा पत्रकार भेटघाट कार्यक्रम गर्दै ‘ओलम्पिक डे’को अवसर पारेर आगामी असार ७ गते हाफ म्याराथन दौड प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।
प्रतियोगिताबारे जानकारी दिँदै कर्णाली खेलकुद विकास परिषद्का उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक प्रमोदजङ्ग हमालले कर्णालीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने, खेल क्षेत्रको विकास र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिताको तयारी थालिएको बताउनुभयो ।
“कर्णाली खेल क्षेत्रको उर्वर भूमि हो । खेलको माध्यमबाट स्वस्थ नागरिक उत्पादन गर्नुपर्ने उद्देश्य राखेका छौँ”, हमालले भन्नुभयो, “खेलका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न र यहाँको आर्थिक समृद्धिमा यसले ठूलो सहयोग पुग्ने अपेक्षाका साथ म्याराथन दौड प्रतियोगिताको आयोजना गरिएको हो ।” प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीका साथै यहाँका सबै विद्यालयहरूको प्रतिनिधित्व हुनेगरी दुई हजार विद्यार्थी सहभागी गराइने उहाँले जानकारी दिनुभयोे ।
मिड वेस्टर्न फिटनेस सेन्टरका अध्यक्ष सञ्जीव हमालले प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो स्थान प्राप्त गर्ने खेलाडीलाई क्रमशः रु एक लाख, रु ५० हजार, रु ३० हजार र रु २५ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने जानकारी दिनुभयो । प्रतियोगताको पाँचौँ देखि दशौँ स्थानसम्म आउने खेलाडीलाई जनही रु २५ हजार नै प्रदान गरिने उहाँले बताउनुभयो ।
अध्यक्ष हमालका अनुसार प्रतियोगितामा सहभागी हुन आउने सुर्खेत बाहिरका सबै खेलाडीलाई आयोजकले नै खाना तथा आवासको व्यवस्था गर्नेछ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा सञ्चालन हुने प्रतियोगितामा प्रदेश सरकारको रु तीन लाख र बाँकी आयोजकले व्यवस्थापन गर्नेगरी रु १५ लाख बजेट खर्च हुने जनाइएको छ ।
एमालेका कार्कीद्वारा कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस
विराटनगर I नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेशसभा संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश सरकारको मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको छ । उहाँले आज ५२ जना प्रदेशसभा सदस्यको हस्ताक्षर सहित प्रदेश प्रमुखको कार्यालय समक्ष दाबी पेस गर्नुभएको हो ।
नेपालको संविधानको धारा १६८ (५) बमोजिम कोशी प्रदेश सरकार गठन प्रयोजनका लागि प्रदेशसभा सदस्य सङ्ख्याको बहुमत सदस्यहरुको समर्थन रहेको दाबी सहित सरकार गठन गर्ने सन्दर्भमा भएको आह्वान अनुसार सरकार गठनका लागि दाबी पेस गरिएको कार्कीले जानकारी दिनुभयो ।
कार्की झापा निर्वाचन क्षेत्र नं ५ (क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । यसअघि कोशी प्रदेशसभाले वर्तमान मुख्यमन्त्री केदार कार्कीको सरकार अल्पमतमा परेको भन्दै विश्वासको मत लिन निर्देशन दिएको थियो ।