खेल पर्यटन प्रवर्धन गर्न अन्तर्राष्ट्रिय ‘रक क्लाइमिङ’ प्रतियोगिता
काठमाडौँ I खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउनका लागि सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।
साहसिक खेल ‘रक क्लाइम्बिङ’ मार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न सोलुखुम्बुको महभिरमा आगामी असार ३ र ४ गते अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिता आयोजनाका लागि बुधबार काठमाडौँमा माप्य दूधकोशी गाउँपालिका र नेपाल आरोहण खेल सङ्घबीच सम्झौता भएको छ । सम्झौतापत्रमा गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई रसङ्घका अध्यक्ष हरि धरेलले हस्ताक्षर गर्नुभएको छ ।
पर्यटन विकासको प्रचुर सम्भावना भएको माप्य दूधकोशीले गाउँपालिकाभित्रको पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष राईले बताउनुभयो । उक्त प्रतियोगिताले माप्य दूधकोशीमात्र नभई सोलुखुम्बु जिल्लामा नै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उहाँले बताउनुभयो ।
नेपाल आरोहण खेल सङ्घका अध्यक्ष धरेलले खेल र पर्यटन विकासमा प्रतियोगिताबाट सहयोेग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगितामा छ देशका अन्तर्राष्ट्रियस्तरका ‘क्लाइम्बर’ले भाग लिने उहाँले बताउनुभयो । सङ्घले राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत रहेर खेलकुदमार्फत पर्यटन प्रवद्र्धन गर्दै आएको छ ।
त्रिभुवन विश्वविद्यालयलाई सङ्घीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने
काठमाडौँ I त्रिभुवन विश्वविद्यालयलाई सङ्घीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने भएको छ । विश्वविद्यालयका विगतका कार्ययोजना र उपकुलपति प्रा डा केशरजङ्ग बरालको सोचपत्र बमोजिम पुनःसंरचनाको गृहकार्य थालिएको हो ।
विश्वविद्यालयले क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयलाई थप जिम्मेवार बनाई परीक्षा प्रणालीमा विकेन्द्रीकरणको प्रक्रियालाई अझ सरलीकरण गर्ने निर्र्णय गरिसकेको छ । त्रिविका रजिष्ट्रार प्रा डा केदारप्रसाद रिजालले विश्वविद्यालयलाई प्रतिस्पर्धी, स्तरीय र विश्वकै महत्वपूर्ण शैक्षिक गन्तव्यको रुपमा विकसित गर्न तत्काल विश्वविद्यालयले भोगिरहेका शैक्षिक, प्रशासनिक, आर्थिक एवं व्यवस्थापकीय समस्याको दिगो र भरपर्दाे समाधानका लागि पहल थालिएको बताउनुभयो ।
विश्वविद्यालयको दृष्टिकोण २०३० र उपकुलपतिज्यूको सोचपत्रबीच तादात्म्य कायम गरी विश्वविद्यालयमा नीतिगत एकरुपता सुनिश्चित गर्न त्रिवि सेवा अयोगका पूर्वअध्यक्ष प्रा डा लालुप्रसाद पौडेलको संयोजकत्वमा सुझाव समिति पनि गठन गरिएको उहाँले जानकारी दिनुभयो ।
विश्वविद्यालयको उपकुलपतिमा गत फागुन १० मा प्रा डा बराल र चैत ३० गते शिक्षाध्यक्षमा प्रा डा खड्ग केसी र रजिष्ट्रारमा डा रिजाल नियुक्त हुनुभएको हो ।
खोटाङको जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना
खोटाङ I दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना भएको छ । अस्पताल स्थापनासँगै विशेषज्ञ डाक्टरबाट सेवा प्रवाह भएको छ ।
जनसेवा समाज नेपाल जालपाले सञ्चालन गर्दै आएको १५ शय्याको जनसेवा सामुदायिक अस्पताललाई नगर अस्पतालमा रुपान्तरण गरेर सेवा प्रवाह गरिएको वडा नं.–१२ का अध्यक्ष दानबहादुर राईले बताउनुभयो ।
जालपाका स्थानीयले २०६९ सालमा चन्दा सङ्कलन तथा श्रमदान गरेर स्थापना गरेको १५ शय्याको सामुदायिक अस्पतालको भौतिक संरचना तथा उपकरण नगरपालिकालाई हस्तान्तरण गरेर सोही ठाउँमा नगर अस्पताल सञ्चालन गरिएको हो ।
जनसेवा सामुदायिक अस्पतालको नाममा रहेको चार रोपनी एक आना दुई दाम जग्गामा निर्माण गरिएका भौतिक संरचना तथा उपकरण नगरपालिकालाई हस्तान्तरण गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ध्रुव श्रेष्ठले राससलाई जानकारी दिनुभयो । जालपामा सञ्चालित स्वास्थ्य चौकीको सेवासमेत सोही नगर अस्पतालबाट प्रवाह गर्नेगरी एकीकृत गरिएको जनाइएको छ ।
जनसेवा सामुदायिक अस्पताल व्यवस्थापन समितिले नगरपालिकालाई रु तीन करोड ५० लाख बढीको भौतिक संरचना तथा उपकरण नगरपालिकालाई हस्तान्तरण गरेपछि बुधबारदेखि सेवा प्रवाह प्रारम्भ भएको हो ।
निकट भविष्यमा १५ शय्यामा स्तरोन्नति गर्नेगरी स्थापना गरिएको नगर अस्पतालको उद्घाटन पूर्वसांसद टङ्क राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई र प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले संयुक्तरूपमा सेवा प्रारम्भ गर्नुभएको हो ।
यसैबीच, नगर अस्पताल स्थापनाका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जनसेवा सामुदायिक अस्पताल जालपाबीच भएको दुई पक्षीय सम्झौतापत्र आदानप्रदान भएको छ । सम्झौतापत्रमा नगर प्रमुख भट्टराई र सामुदायिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।
नगर अस्पतालमा सेवा प्रारम्भ भएको अवसरमा निःशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गरिएको थियो । नगरपालिका र करुणा फाउण्डेशन नेपालले संयुक्तरुपमा आयोजना गरेको शिविरमा एक सय २४ जनाले सेवा लिएका नगर स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले बताउनुभयो ।
प्रदेश प्रमुख खापुङद्वारा कोशीमा सरकार गठनको आह्वान
मोरङ I कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गर्नुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (५) अनुसार बुधबार राति उहाँले नयाँ सरकार गठनको आह्वान गर्नुभएको हो । प्रदेश प्रमुखको कार्यालयबाट बुधबार राति जारी विज्ञप्तिमा नयाँ सरकार गठनका लागि यही वैशाख २८ शुक्रबार अपराह्न ५ बजेसम्मको समय दिइएको छ ।
“संविधान बमोजिम कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्नका लागि कोशी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्र्न सक्ने कोशी प्रदेशसभाका कुनै सदस्यलाई मिति २०८१ साल वैशाख २८ गते शुक्रबार अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गर्नुभएको छ ।” प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ ।
म्यान्मामा विस्थापितहरूको सङ्ख्या ३० लाख : राष्ट्रसङ्घ
म्यान्मामा विस्थापित व्यक्तिहरूको सङ्ख्या तीस लाख पुगेको संयुक्त राष्ट्रसङ्घले बताएको छ । यीमध्ये अधिकांश सेनाको सन् २०२१ को विद्रोहबाट सुरु भएको द्वन्द्वका कारण आफ्नो घर छोड्न बाध्य भएका छन् ।
लोकतन्त्रको अल्पकालीन प्रयोगपछि आङ सान सु कीको सरकारलाई पतन गराउने विद्रोहपछि करिब २७ लाख पलायन भएका छन् ।
यो सैन्य विद्रोहले स्थापित जातीय सशस्त्र समूहहरूसँग नयाँ झडप सुरु ग¥यो र दर्जनौँ ‘पिपुल्स डिफेन्स फोर्सेस’ बललाई जन्मायो । तिनीहरूलाई दबाउन सेना असफल भएको छ ।
म्यान्मा सन् २०२४ मा गहिरो मानवीय सङ्कटको मुखमा छ”, राष्ट्रसङ्घीय आवासीय संयोजकले सोमबार जारी गरेको विज्ञप्तिमा बताउनुभएको छ ।
विज्ञप्ति अनुसार विस्थापितमध्ये एक तिहाई बालबालिका रहेको अनुमान गरिएको छ । गत वर्षको अन्त्यदेखि जातीय सशस्त्र समूहहरूको गठबन्धनले उत्तरी शान राज्यमा आक्रमण सुरु गरेपछि तीस लाखमध्ये करिब आधा विस्थापित भएको विज्ञप्तिमा उल्लेख छ ।
आक्रामक कारवाहीले र चीन सीमामा धेरै क्षेत्र र लाभदायक व्यापार क्रसिङलाई कब्जा गरेको छ । यसले सत्ता कब्जा गरेपछि जुन्ताका लागि सबैभन्दा ठूलो खतरा सिर्जना गरेको छ ।
म्यान्माको सीमावर्ती क्षेत्रमा जातीय सशस्त्र समूहहरूको बाहुल्य छ । तीमध्ये धेरैले सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि स्वायत्तता र आकर्षक स्रोतहरूको नियन्त्रणलाई लिएर सेनासँग लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घले विशेषगरी मे–जुन चक्रवातको मौसमअघि राहत कार्यमा गम्भीर आर्थिक अभावले बाधा पु¥याइरहेको बताएको छ । गत वर्ष चक्रवात मोचाले पश्चिमी म्यान्माको रखाइन राज्यमा प्रहार गरेको र कम्तीमा एक सय ४८ जनाको ज्यान गएको थियो ।
अराकान आर्मी र सेनाबीचको द्वन्द्वका कारण नोभेम्बरदेखि चर्चामा आएको पश्चिमी रखाइन राज्यमा हाल तीन लाख ५५ हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
मेची भन्सारद्वारा ११ अर्ब ३२ करोड राजश्व संकलन
भद्रपुर (झापा) I मेची भन्सार कार्यालय काकरभिट्टाले चालु आर्थिक वर्षको हालसम्म ११ अर्ब ३२ करोड ४४ लाख ९३ हजारभन्दा बढी राजश्व संकलन गरेको छ । भन्सार अधिकृत रामप्रसाद ढु्ङ्गानाले चालु आव २०८०-०८१ को चैत मसान्तसम्ममा रु ३२ अर्ब २६ करोड ५८ लाख ४७ हजार बराबरको समान आयात हुँदा रु १८ अर्ब ५९ करोड एक लाख ७२ हजार बराबरको मालसमान निर्यात भएको जानकारी दिनुभयो । उहाँले अघिल्लो आ.व. २०७९-०८० को सोही अवधिको तुलनामा आयात आठ दशमलव ४५ प्रतिशतले क्रणात्मक हुँदा निर्यात भने १५ दशमलव ९६ प्रतिशतले बढेको बताउनुभयो ।
काकरभिट्टा नाकाबाट आयात हुने मुख्य वस्तुहरुमा पेट्रोल, डिजेल, जुट र जुटबाट बनेका सामान, एलपी ग्यास, तरकारीहरु, जिप्सम, कपडा, फलफूल (जुस समेत)लगायत छन् । यस्तै, निर्यात हुने मुख्य वस्तुहरूमा अलैची, फलामको पाता, प्लाइउड, चिया, कुकुर वा विरालोको खाना, छुर्पी, अम्रिसो, अदुवा, सुठो, धातुका अन्य अवशेष, भेनियस सिट, क्लिङ्करलगायतका रहेका भन्सार कार्यालय काकरभिट्टाले जनाएको छ ।
मुस्ताङको चराङ–छोसेर सडक आयोजना अधुरो
म्याग्दी I राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको चराङ–छोसेर खण्डमा सडक निर्माण अधुरो रहेको छ । पाँच वर्षअघि सकिनुपर्ने २५ किलोमिटर दूरीको उक्त खण्डको काम अधुरो हुँदा स्थानीयवासी, पर्यटक र व्यवसायीलाई सास्ती भएको छ ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले सडक निर्माणमा भएको ढिलाइका कारण यातायात सञ्चालनमा समस्या, दुर्घटनाको जोखिम, खाल्डाखुल्डी, धुलो र हिलोले हैरान बनाएको बताउनुभयो । “विसं २०७३ मा सुरु भएको निर्माणले अझै पूर्णता पाएको छैन”, उहाँले भन्नुभयो, “पछिल्लो डेढ वर्षयता निर्माण कार्य झनै सुस्त बनेको छ ।”
लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङबाट लोमान्थाङ गाउँपालिका–१ छोसेरको नेचुङ जोड्ने २५ किलोमिटर सडक स्तरोन्नति गर्न विसं २०७२ मा तामाङ–गौरी–पार्वती–कोशी एन्ड न्यौपाने जेभीले रु २६ करोडमा ठेक्का लिएको थियो ।
धुलोमा गाडी फस्ने, उकालो, साँघुरो ठाउँमा सवारी साधन वारपार गर्न समस्या हुँदै आएको स्थानीय बताउँछन् । चराङमा कुलो र ढलको काम बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ । अरू ठाउँमा कटिङ र फिनिसिङको काम हुन बाँकी रहेको आयोजना प्रमुख धु्रवकुमार झाले जानकारी दिनुभयो । सडक छेउमा अलपत्र छाडिएका निर्माण सामग्रीले आवतजावत गर्न समस्या बनाएको स्थानीयले गुनासो गरेका छन् ।
विसं २०७५ साउनमा सम्पन्न गर्ने लक्ष्य राखिएको सो खण्डको भौतिक प्रगति करिब ८० प्रतिशत रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । ११ मिटर फराकिलो बनाउने, नाली र पर्खाल निर्माण गरी ग्राभेल गर्ने लक्ष्यसहित आयोजना सञ्चालन भएको हो ।
आयोजना प्रमुख झाले निर्माण कम्पनीलाई काममा फर्काउन पत्राचार र मौखिक रुपमा ताकेता गरिएको बताउनुभयो । “ठेकेदारले मेसिन मर्मत गरेर केही दिनमै काम सुरु गर्ने प्रतिबद्धतासहित कार्यक्षेत्रमा आएको जानकारी गराएका छन्”, उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षभित्र नै काम सम्पन्न गराउन ताकेता गरिरहेका छौँ ।”
मुस्ताङको सदरमुकाम जोमसोमबाट चीनको सिमाना कोरला नाका जोड्ने एक सय १० किलोमिटर सडक दुई लेनको ग्राभेल बनाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाले विसं २०७३/७४ देखि सातवटा खण्डमा ठेक्का लगाएको थियो । जोमसोम–कोरला सडकको छवटा प्याकेजको ७५ किलोमिटर सडक विस्तार, पर्खाल, नाली निर्माण, घुम्ती र ग्रेड सुधार गरी ग्राभेल गर्ने काम सकिएको छ ।
उक्त सडक स्तरोन्नतिका लागि रु दुई अर्ब छ करोड बजेट विनियोजन भएको थियो । जोमसोम–ताङ्वे १८ किलोमिटर बज्रगुरु खड्गकृष्ण जेभी, ताङ्वेबाट चैलेसम्म ११ किलोमिटर दिवाडाँफे एपेक्स जेभी, चैलेबाट भेनासम्म ११ किलोमिटर कान्छाराम कोसी एण्ड न्यौपाने जेभी र भेनाबाट झैतेसम्म १२ किलोमिटर सडक कञ्चनजङ्घा लामा बिल्डर्स बिरुवा जेभीले ठेक्का लिएका छन् । झैते–चराङ १९ किलोमिटर कञ्चनजङ्घा–लामा–मोतिदान जेभी र छोसेर–कोरला १४ किलोमिटर सडक स्तरोन्नतिको जिम्मा रौताहा–एपेक्स जेभी कन्स्ट्रक्सनले लिएका थिए ।
प्रधानमन्त्रीद्वारा सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
कमलामाई (सिन्धुली) I सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा एक समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गर्नुभएको हो ।
प्रधानमन्त्री दाहालले टिबीएम स्विच थिचेपछि आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका–२ कुसुमटारबाट सुरुङ खन्न पसेको टिबीएम मेसिन सुनकोशी नदी किनार कानढुङ्ग्रीबाट बाहिर निस्किएको थियो । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनअन्तर्गत कमलामाई–२ कुसुमटारदेखि सुनकोशी–७ कानढुङ्ग्रीसम्म सुरुङ रहेको छ । यसको क्षेत्रफल १३ दशमलव ३ किलोमिटर छ ।
लक्ष्यभन्दा एक वर्षअघि नै सुरुङ ब्रेक थु्र गर्न सफल भएको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिनुभयो । खन्न सुरु भएको १९ महिनामा सुरुङ ब्रेक थु्र भएको छ । एकैदिन ७२ मिटरसम्म सुरुङ खनिएको आयोजनाले जनाएको छ । विसं २०७९ असोज २८ गतेदेखि सुरुङ खन्ने काम आरम्भ भएकामा यसबीचमा ६ पटक अवरोध भएको प्रमुख बरालले बताउनुभयो । सुरुङभित्र सुक्खा पहिरो खस्ने, लेदोसहित पाखो नै खस्ने हुँदा सुरुङ खन्ने टिबीएम मेसिन अगाडि बढ्न नसक्दा काम रोकिएको थियो ।
उच्च प्रविधिबाट ५.५ डायमिटरको सुरुङ मार्गमा गुणस्तरीय सेगमेन्ट प्रयोग भएको आयोजनामा कानढुङ्ग्रीस्थित सुनकोशी नदीमा ३० मिटर उचाइ र एक सय ५८ मिटर लम्बाइको बाँध निर्माण गरी सुरुङमार्फत पानी कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यहाँ ६६ मिटर उचाइबाट पानी झारेर ३१.०७ मेगावाट विद्युत् उत्पादन गरिनेछ ।
सुरुङ निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनीयरिङ (कोभेक) ले पाएको हो । यस कम्पनीले यसअघि भेरी बबई डाइभर्सनमा सुरुङ निर्माणको काम गरिसकेको छ । सुनकोशी मरिणमा सुरुङ खन्न मात्र कोभेकले रु १० अर्ब पाँच करोड ६८ लाखमा ठेक्का लिएको प्रमुख बरालले जानकारी दिनुभयो ।
नदीमा बाँध बाँधेर सुनकोशीको पानी मरिण खोलामा खसाली मधेसका पाँच जिल्लामा वर्षैभरि सिँचाइ तथा विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार काम सुरु भएको हो । आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य छ । आयोजनाको कुल लागत रु ४९ अर्ब ४२ करोड रहेको आयोजनाले जनाएको छ ।
सांसद नेम्वाङद्वारा शपथ
काठमाडौँ I प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य सुहाङ नेम्वाङले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष नेम्वाङले शपथ लिनुभएको हो ।
सभामुख घिमिरेले नेम्वाङलाई सांसदको प्रतिक चिन्ह प्रदान गर्नुभयो । सो अवसरमा सचिवालयका कर्मचारीहरुले सांसद नेम्वाङलाई नेपालको संविधान-ऐन-नियमका सामग्री प्रदान गरेका थिए । कार्यक्रममा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेय लगायत उपस्थित हुनुहुन्थ्यो ।
यही वैशाख १५ गते सम्पन्न इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार नेम्वाङ प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको थियो ।
सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस् : प्रधानमन्त्री
काठमाडौँ I प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
आज आयोजनास्थल अनुगमनका क्रममा सुनकोशी गाउँपालिकामा सम्बद्ध पक्षबाट आयोजनाबारे जानकारी लिएपछि प्रधानमन्त्री दाहालले आयोजनामा आउनसक्ने समस्याको पहिचान गरेर त्यसलाई समयमै समाधान गर्न निर्देशन दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
“बहुउद्देश्यीय आयोजना ठूलो कार्यक्षेत्र भएकाले विभिन्न समस्या आउन सक्छन्”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “समयमै समस्याको पहिचान गरी समाधान गर्दै जाने सोच, कार्ययोजना र पूर्वतयारीको व्यवस्था गर्नुहोला ।” उहाँले आयोजना समयमै सम्पन्न गरी लगानीको प्रतिफल पनि समयमै प्राप्त गर्नेगरी काम गर्न निर्देशन दिनुभयो ।
प्रधानमन्त्री दाहालले आयोजनामा राम्रो काम गर्ने कर्मचारीको अभिलेख व्यवस्थित गरी दण्ड र पुरस्कारको ठोस कार्ययोजना निर्माण गर्नसमेत आयोजना प्रमुखलाई निर्देशन दिनुभयो ।
सुरुङमार्ग बाहेक अन्य निर्माणकार्य ‘ब्यारेज, पावरहाउस, इलेक्ट्रोमेकानिकल, ट्रान्समिसन लाइन’ नदी नियन्त्रण र सामाजिक विकासको कार्यहरू पनि उच्च प्राथमिकताका साथ समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले कार्ययोजना एवं खरिद गुरुयोजनाले निर्दिष्ट गरेअनुरूपका सम्पूर्ण कार्यहरू निर्धारित समयभित्रै पूरा गर्नुहोला भन्नुभयो ।
मरिन डाइभर्सन राष्ट्रिय गौरवको रूपान्तरणकारी आयोजना भएकाले बजेट अभाव हुन नदिने विश्वास दिलाउँदै प्रधानमन्त्री दाहालले आयोजनाको निर्माणकार्यका निम्ति सरकारको तर्फबाट सम्पूर्ण रूपले सहजीकरण गर्ने जानकारी गराउनुभयो ।