एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित
ताप्लेजुङ I नेपाल कम्युनिष्ट पार्टी (एमाले) ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे निर्वाचित हुनुभएको छ । मङ्गलबार सम्पन्न पार्टीको १२औँ जिल्ला अधिवेशनले उहाँलाई निर्वाचित गरेको हो । निर्वाचन समितिका अनुसार तुम्बाहाम्फेले आफ्ना प्रतिस्पर्धी बलबहादुर साम्सोहाङ भन्दा २६ मत बढी पाउनुभएको थियो । पार्टी उपाध्यक्षमा दीपेन्द्र पोमू, सचिवमा सन्तोष चाम्लिङ, उपसचिव खुलामा गोपाल न्यौपाने र उपसचिव महिलामा भीमादेवी ओझा निर्वाचित हुनुभएको छ ।
जिल्लाभरबाट तीन सय ६७ प्रतिनिधि अधिविशेनमा सहभागी भएका थिए । अधिवेशनको एमाले महासचिव शङ्कर पोखरेलले उद्घाटन गर्नुभएको थियो ।
आज श्रद्धापूर्वक मातातीर्थ औँसी मनाइँदै
काठमाडौँ I आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ ।
वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । आमा नभएकाहरु भने आमाको श्राद्ध गरी उहाँको स्मरण गर्दछन् । यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ ।
धर्मशास्त्रमा आमाको स्थान परमात्मा भन्दा उच्च मानिएको छ । आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिएको छ । पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ ।
खजुरे ब्रोको प्रीमियर शो धरानमा हुदै
धरान । हास्य बिधामा निर्मित खजुरे ब्रोको प्रिमियर शो बुधबार धरानको फ्रेन्ड्ससिनेमा हुने भएको छ ।
सोमबार धरानमा पत्रकार सम्मेलन गर्दै कलाकार टोलीले जानकारी दिएको छ । खजुरे ब्रो धरानवासी हुन् । उनको वास्तविक नाम भने अनिल सिंह हो ।
कलाकार दीपचन्द्र राई कान्छीका अनुसार धरानका व्यक्तित्व खजुरेको विषयमा आधाारित रहेर फिल्म निर्माण गरिएको हो । फिल्मलाई सुरज सुनुवारले निर्देशन गरेका हुन् ।
करिब २ करोडको लगानीमा निर्माण गरिएको हो । फिल्ममा धरान कलाकार प्रेम सुब्बा, रमेश राई, सतिस राई, पवन लिम्बू, बवित गुरुङ, पबी राई, सुजता राई लगायत कलाकार छन् ।
वैशाख २८ गतेदेखि देशभर रिलिज हुँदै छ । फिल्ममा मुख्य कलाकार भने नीती साह, रियल राई, नवीन मानन्धर, महेस त्रिपाठी, प्रकाश भुजेल, बिनिता थापा मगर, सुस्मा निरौला,पुष्पा कार्की, शान तामाङ, मनिष राउत रहेका छन्।
चितवन राष्ट्रिय निकुञ्जमा बाघ र गैँडा मृत फेला
चितवन I चितवन राष्ट्रिय निकुञ्जमा आज बाघ र गैँडा मृत फेला परेका छन् । निकुञ्जको भित्र भिमपुर क्षेत्रमा बाघ तथा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा गैँडा मृत अवस्थामा भेटिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नेपाली सेनाको सुरक्षा पोष्ट अमृतेबाट खटिएको टोलीले मृत बाघ फेला पारेको हो । अहिले घटना स्थलमा सेना र निकुञ्जको टोली पुगेको छ । घटनास्थल सौराहा नजिक पर्दछ । बाघको मृत्युको कारण खुल्न सकेको छैन ।
यस्तै नवलपरासीको कावासोती नगरपालिका–१५ स्थित गुन्द्रइढाका मध्यवर्ती सामुदायीक वन क्षेत्रमा एक भाले गैंडा मृत फेला परेको छ । गैंडा प्राकृतिक कारणले मरेको निकुञ्जका सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । गैँडाको खाग र खुर सुरक्षित छ ।
रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छुः प्रधानमन्त्री
काठमाडौँ I प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीलाई स्वदेश फिर्ता ल्याउन आफूले उच्चस्तरमा कूटनीतिक पहल गर्नेे बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानका सदस्यहरुले गरेको भेटमा प्रधानमन्त्री दाहालले रुसी सेनामा कार्यरत नेपालीको उद्धारका लागि सरकारले उच्चस्तरको पहल गर्ने बताउनुभयो ।
“तपाईँहरूको माग सम्बोधन गर्न प्रधानमन्त्री कार्यालय प्रतिबद्ध छ,” प्रधानमन्त्री दाहालले भन्नुभयो, “सरकारले लगातार कूटनीतिक पहल गरिरहेको छ, कूटनीतिकमार्फत पहल लिइएको छ ।”
नेपाली नागरिकको जीवन रक्षाका लागि सरकार निरन्तर लागिपरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले रुसी सेनामा कार्यरत नेपालीहरूका परिवारको माग सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
“उच्चस्तरको कूटनीतिक पहल हुन्छ, म आफैले थप पहल गर्छु,” प्रधानमन्त्री दाहालले भन्नुभयो । युद्ध मैदानमा रहेका नेपालीसँग आफूले फोनमा कुरा भएको उल्लेख गर्दै प्रधानमन्त्रीले उनीहरूको अवस्थाबारे कूटनीतिक च्यानलबाट निरन्तर छलफल भइरहेको जानकारी दिनुभयो ।
रुसी सेनामा कार्यरत नेपालीका परिवारले युद्धमा रहेका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै काठमाडौँमा धर्ना दिएका थिए । प्रधानमन्त्री दाहालका जनसम्पर्क विज्ञ बुिद्ध जिसीले उहाँहरूका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेसँगै धर्ना स्थगित भएको थियो । सोही प्रतिबद्धताअनुसार आज प्रधानमन्त्री दाहालले ती परिवारका सदस्यलाई भेट उच्चस्तरीय पहल गरेर युद्धमा रहेका नेपाली स्वदेश फिर्ता ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
तातो हावा ‘लू’ ले जनजीवन प्रभावित बन्दै
खजुरा (बाँके) I अत्यधिक गर्मी र तातो हावा ‘लू’का कारण बाँकेको जनजीवन प्रभावित बन्दै गएको छ । दिउँसो १२ बजेपछि बेलुका ५ बजेसम्म अत्यधिक गर्मी र तातो हावा ‘लू’ चल्ने गरेको छ ।
जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालयका अनुसार नेपालगञ्जको अधिकतम तापक्रम बढेको हो । तातो हावाबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न विभिन्न उपाय अपनाउन महाशाखाले अनुरोध गरेको हो ।
तातो हावाबाट बच्न गर्मी समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, पानी तथा झोलिलो पदार्थ प्रशस्त मात्रामा सेवन गर्ने, स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न भेरी अस्पतालका फिजिसियन डा पारश श्रेष्ठले आग्रह गर्नुभयो ।
अत्यधिक गर्मीले नेपालगञ्जको तापक्रममा उतारचढाव हुने गरेको छ । दिउँसोको समयमा चल्ने सुक्खा तातो हावाका कारण जनजीवन प्रभावित बन्दै गएको छ । चर्को गर्मी र तातो हावाका कारण दैनिक ज्याला मजदुरी गरेर हातमुख जोड्ने वर्गलाई धेरै प्रभाव परेको छ । दैनिक रूपमा ठेला चलाउने, रिक्सा चलाउने तथा अन्य ज्यालादारी गर्ने मजदुरलाई समस्या परेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष नन्दलाल बैश्यले बताउनुभयो ।
चर्को गर्मी र तातो हावाका कारण सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि पातलिएको छ । अत्यावश्यक काम भएका सेवाग्राही मात्र कार्यालयमा आउने गरेका छन् । भेरी अस्पतालमा पनि बिरामीको चाप बढेको डा श्रेष्ठले बताउनुभयो ।
दिउँसोको समयमा सुनसान जस्तो देखिने नेपालगञ्जको बजार साँझको समयमा भने भीडभाड हुने गरेको छ । बजारका विभिन्न चोक तथा पसलमा काँक्रो, खरबुजा, लस्सी, आइसक्रिम, कुल्फी तथा चिसो पेयपदार्थ सेवन गर्ने सर्वसाधारणको सङ्ख्या उल्लेख्य देखिन्छ ।
ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु
गलकोट (बागलुङ) I ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । सोमबार राति परेको चट्याङले ढोरपाटन नगरपालिका–३ पुर्कोटका ५६ वर्षीय कुमबहादुर पुन गम्भीर घाइते हुनुभएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएका पुनको उद्धार गरी उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाँदा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
भारतमा आज लोकसभाका लागि ९३ स्थानका लागि मतदान सुरु
नयाँदिल्ली I भारतमा आज लोकसभाको ९३ स्थानका लागि मतदान सुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार देशका १२ राज्य र केन्द्रशासित प्रदेशमा बिहान ७ बजेदेखि मतदान सुरु भइसकेको छ ।
तेस्रो चरणमा आसामका ४, बिहारका ५, छत्तीसगढका ७, गोवाका २, गुजरातका २५, कर्नाटकका १४, महाराष्ट्रका ११, मध्यप्रदेशका ८, उत्तर प्रदेशका १०, पश्चिम बंगाल राज्यका ४ र केन्द्रशासित नगर हवेली एवं दामनका २ स्थानमा चुनाव हुँदैछ ।
यस चरणमा १२० जना महिला सहित एक हजार ३०० उम्मेदवार चुनावी मैदानमा छन् । करिब १७ करोड मतदाता आजको निर्वाचनमा सहभागी हुँदैछन् जसका लागि १ लाख ८५ हजार मतदान स्थल रहेको आयोगको भनाई छ ।
आजका लागि तय भएको जम्मु काश्मिरको अनन्तनाग–रजौरीको निर्वाचन स्थगित गरिएको र उक्त निर्वाचन आगामी मे २५ का लागि तय भएको निर्वाचन आयोगले जनाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातको अहमदाबादस्थित निशान माध्यमिक विद्यालयको मतदान स्थलमा आज मतदान गर्नुभयो । यसअघि प्रधानमन्त्री मोदीले आमजनतालाई तेस्रो चरणको मतदानमा सक्रिय र व्यापक रुपमा सहभागी हुन आह्वान गर्नु भएको छ ।
तेस्रो चरणको यस निर्वाचनमा केन्द्रीय गृहमन्त्री अमित शाह, मध्यप्रदेशका पूर्व मुख्यमन्त्री शिवराज सिंह चौहान र दिग्बिजय सिंह, मन्त्रीहरु ज्योतिरादित्य सिन्दिया, मनसुख मान्डविय, समाजवादी पार्टीकी नेतृ डिम्पल यादव, भारतीय कम्युनिष्ट पार्टीका नेता सुप्रिया सुले समेतका नेताहरु चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
यसअघि सन् २०१९ को चुनावमा आज भइरहेका ९३ स्थानमध्ये भारतीय जनता पार्टीले ७२ स्थानमा जित हासिल गरेको थियो ।
आजको तेस्रो चरणको निर्वाचनपछि भारतीय लोकसभाको कूल सिट ५४० मध्ये आधामा मतदान सम्पन्न हुनेछ ।
सात चरणमा भइरहेको भारतको लोकसभाको निर्वाचन गत अप्रिल १९ तारिखबाट सुरु भएर आगामी जुन १ तारिखमा सम्पन्न हुँदैछ ।
यस चुनावमा प्रधानमन्त्री मोदीको नेतृत्वको भारतीय जनता पार्टीले लगातार तेस्रो पटक विजय हासिल गर्नेगरी प्रचार गरिरहेको छ । (रासस/ एएनआई)
हलेसी तुवाचुङ नगरपालिका सल्लेका अग्निपीडितलाई सहयोग
खोटाङ I हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई सहयोगस्वरुप रु एक लाख ७६ हजार प्रदान गरिएको छ । यही वैशाख १४ गते जङ्गलमा लागेको डढेलो गाउँमा फैलदा घर जलेर विस्थापित भएका सात परिवारलाई जिल्लाका एक सय ५२ शिक्षकसहित एक सय ६७ जनाबाट चन्दा सङ्कलन गरेर उक्त रकम प्रदान गरिएको हो ।
पीडितलाई क्षतिको मूल्याङ्कन गरेर रु १२ देखि ४५ हजारसम्म प्रदान गरिएको सहयोग सङ्कलन अभियानका संयोजक एवं कालिका आधारभूत विद्यालय नवलपुरका शिक्षक दिलीप वाम्बुलेले जानकारी दिनुभयो । आगलागीमा घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएका लाई रु ४५ हजार उपलब्ध गराइएको छ । सङ्कलित रकम सल्लेका वडाध्यक्ष काशीराज राईको उपस्थितिमा प्रदान गरिएको हो । आगलागीबाट रु एक करोड ३३ लाख बराबरको धनमाल नष्ट भएको स्थानीय प्रशासनले जनाएको छ । जिल्लामा गत साउनदेखि हालसम्म ९९ वटा घर जलेका प्रहरीले बताएको छ ।
रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल
काठमाडौँ I राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको छ । पार्टी सचेतक निशा डाँगीले बैठकमा आगामी बजेट अधिवेशन र पार्टीका संसदीय गतिविधिका सम्बन्धमा छलफल जारी रहेको बताउनुभयो ।
उहाँले इलाम निर्वाचन क्षेत्र नं २ को सम्पन्न उपनिर्वाचनका सम्बन्धमा छलफलसँगै समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको भावी रणनीतिका सम्बन्धमा पनि छलफल जारी रहेको जानकारी दिनुभयो ।