धरानका दुई युवकको बेकरीबाट मासिक दुई लाखसम्म आम्दानी गर्दै
धरान (सुनसरी) I ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि धरानका दुई पौरखी युवकले बेकरी उद्योग सञ्चालन त्यसलाई असत्य साबित गरेका छन् ।
आठ वर्षको वैदेशिक रोजगारीपछि फर्कनुभएका धरानका एनसी राई र वीरेन्द्र थापाले यहाँ लाखौँको लगनीमा बेकरी उद्योग सञ्चालन गर्नुभएको छ । उहाँहरूले रु १० लाख लगानीमा धरान उपमहानगरपालिका–१२ को अमान बजारमा बिस्कुट फ्याक्ट्री खोलेको उद्योग अहिले कोशी प्रदेशमा दोस्रो ‘लाइभ बेकरी’का रूपमा ब्रदर्श बेकरी स्थापित भएको उद्यमीहरू बताउँछन् ।
धरान उपमहानगरपालिका–९ गौतम पथ र धरान–१७ रेल्वे लाइनमा गरी दुई वटा शाखा सञ्चालन गरिरहनुभएको छ । उहाँहरुले केक, आइसक्रिम, चकलेट, पाउरोटीलगायत सबै किसिमका बेकरीको व्यापार गर्दै आउनुभएको छ । उद्योगमा आठजनालाई रोजगारी पनि दिनुभएको छ । कामदारलाई मासिक रु आठदेखि ३० हजारसम्म तलब दिँदै आउनुभएको छ । उहाँहरूले आफ्नो परिवारका लागि खर्चसमेत यसैबाट पुर्याउँदै आउनुभएको छ।
उद्यमी एनसीले आफ्नो पुख्र्यौली घर भोजपुरको हसनपुरबाट रोजगारीको सिलसिलामा विदेशमा लामो समय बिताएर स्वदेश फर्किएपछि व्यवसाय सुरु गर्नुभएको हो । उहाँ व्यवसायसँगै सामाजिक सङ्घसंस्थामा पनि आबद्ध भएर काम गरिरहनुभएको छ । हसनपुर– सुनसरी सम्पर्क मञ्च नेपालको सल्लाहकार, लायन्स क्लब धरानका क्यापेवल ट्रेजर, आशिष बचत तथा ऋण सहकारीको सञ्चालक समिति सदस्य, लड्स होम नेपालको बोर्ड समिति सदस्यसमेत हुनुहुन्छ भने भक्तपुरका वीरेन्द्र थापा धरानमा विगत २१ वर्षदेखि बेकरी सेफका रुपमा काम गर्दै आउनुभएको छ ।
एक समय पाउरोटी, बिस्कुट मोटरसाइकलमा लिएर सिँधुवासम्म पुग्नुपथ्र्यो तर अहिले धनकुटा, भोजपुर, पाँचथर, इटहरी, दमक, झापालगायत विदेशबाट पनि धरानेहरूले केक माग गरिरहेका राईले बताउनुभयो । धरानमा शाखा सञ्चालनमा आएपछि उद्योगको प्रारम्भमा केक काट्ने र उत्सव मनाउने माहोल नै बनेको व्यापारी एनसी राई सुनाउनुहुन्छ । अहिले धरानमा मात्र नभएर धरान बाहिरका बेकरीका ग्राहकका लागि पनि आकर्षक बनेको छ– ब्रदर्श बेकरी ।
दसैँ, तिहार र क्रिसमसमा ५० प्रतिशत छुट र ६० वर्षभन्दा माथिकालाई सित्तैमा केक वितरण गर्दै आएको राई बताउनुहुन्छ । उहाँहरूले ब्रदर्श बेकरीका तर्फबाट तालिम पनि दिँदै आउनुभएको वीरेन्द्र थापा बताउनुहुन्छ । उहाँहरूसँग तालिम लिएर गएका भोजपुर, चक्रघट्टी, इटहरीलगायत धेरै स्थानका युवाले आफैँ बेकरी सञ्चालन गरिरहेका थापा बताउनुहुन्छ ।
लामो समयको वैदेशिक रोजगारीबाट फर्केपछि बेकरीको सीप भएका वीरेन्द्रसँग भेट भएपछि काम थालेको राई बताउनुहुन्छ । अहिले आफ्नै ठाउँमा आठ–दश जनालाई रोजगारीको अवसर प्रदान गर्न पाएकामा उहाँहरू हुनुहुन्छ ।
धरानमा दुईवटा शाखा सञ्चालनमा छन् भने धरानभरि जम्मा १७ वटा एशोसिएट डिलरसमेत सञ्चालनमा छन् । उहाँहरूले सञ्चालन गर्दै आउनुभएको ब्रदर्स बेकरी उद्योगबाट आफ्नो सबै खर्च कटाएर मासिक रु दुईदेखि दुई लाख ५० हजारसम्म बचत हुने गरेको बताउनुभयो ।
ब्रदर्स बेकरी अहिले सीप सिक्न चाहनेका लागि उपयुक्त थलो बनेको छ । उद्यमी राई भन्नुहुन्छ, “मेहनत आवश्यक छ, देशमा अवसर छैन भन्न मिल्दैन । विदेश पलायन हुनुभन्दा आफ्नै ठाउँमा मेहनत गर्दा प्रतिफल प्राप्त हुन्छ ।”
केही प्रदेशमा पानीपर्ने पूर्वानुमान
काठमाडौँ I हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भागमा आंशिक बदली रही बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको तथा बाँकी भूभागमा आंशिक बदली रहेको बताएको छ ।
विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली हुनेछ ।कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशको केही स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
यसैगरी आज राती देशभर आंशिक बदली हुनेछ । कोशी, मधेस बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाका साथै बाँकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका केही भागमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
कोशी प्रदेश सरकारद्वारा पाँच पत्रकार पुरस्कृत
मोरङ I कोशी प्रदेश सरकारले आज यहाँ पाँच जना पत्रकारलाई सम्मान गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा अनवरत २५ वर्षभन्दा बढी पत्रकारिता गर्नुभएका विभिन्न जिल्लाका पाँच जना पत्रकारलाई नगद रु एक लाखसहित सम्मान एवं पुरस्कृत गरेको हो ।
पुरस्कृत हुनुहुनेमा अनन्तराज न्यौपाने (मोरङ), भीमलाल नेम्वाङ (झापा), रमेशचन्द्र अधिकारी (धनकुटा), महेश्वर चाम्लिङ राई (उदयपुर) र प्रेमबहादुर दिलायी (सुनसरी) हुनुहुन्छ ।
प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पत्रकारलाई पुरस्कृत र सम्मान गर्नुहुँदै समाजलाई निरन्तर चेतना छर्ने, सरकारलाई खबरदारी गर्ने र जनतालाई परिवर्तनको बाटो देखाउने काम पत्रकारले गर्ने भएकाले पत्रकारितालाई राज्यको चौथो अङ्ग भनिएको बताउनुभयो । उहाँले पत्रकारलाई सम्मान गर्न पाउँदा समग्र पत्रकारिता क्षेत्रलाई सम्मान गरेको अनुभूति भएको बताउनुभयो । पत्रकारहरुको सुरक्षाको जिम्मेवारी सरकारले लिने बताउनुहुँदै उहाँले आगामी प्रदेशसभा अधिवेशनमा सञ्चार विधेयक ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले केही महिना अगाडि गोताखोर तालिम समापनमा सप्तकोशी नदीमा डुङ्गा दुर्घटनामा परी घाइते हुनुभएका पत्रकार र अन्यलाई उपचार खर्चको साथै क्षतिपूर्ति दिने सम्बन्धमा सकारात्मक रहेको बताउनुभयो ।
स्वास्थ्यमन्त्री प्रदीपकुमार सुनवारले समाजका विकृति हटाउन, मुलुकमा सुशासन र समृद्धि ल्याउन पत्रकारले कलम चलाउन आग्रह गर्नुभयो । आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले सूचनाको हकप्रति सरकार सम्वेदनशील रहेकाले कुनै सूचना नलुकाइ पारदर्शी ढङ्गले काम गरिरहेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घ कोशीका कार्यवाहक अध्यक्ष लवदेव ढुङगाना, महासचिव विवेक गौतम, मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल, सहसचिव कमल थापालगायतले कार्यक्रममा मन्तव्य राख्नुभएको थियो ।
पुरस्कृत पत्रकार रामेशचन्द्र अधिकारीले सम्मानले आगामी दिनमा थप ऊर्जाशील भइ काम गर्न प्रेरित गरेको बताउनुभयो ।
जसपालाई नयाँ दलको मान्यता दिने निर्वाचन आयोगको निर्णय
धरान । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिने निर्णय गरेको छ। केन्द्रीय सदस्य वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत भए हुने नियमावली अनुसार नयाँ दल दर्ता भएको जनाउँदै आयोगले अशोक राई नेतृत्वको जसपालाई मान्यता दिने निर्णय गरेको हो। आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले आज बसेको आयोगको बैठकले अशोक राई नेतृत्वको जसपालाई नयाँ दलको मान्यता दिने निर्णय गरेको जानकारी दिए। आइतबार सांसद अशोक राईको नेतृत्वमा सात सांसद सहित ३० केन्द्रीय सदस्यले मूल पार्टीबाट अलग भएको जनाउँदै नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए।
नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटी बैठक वैशाख ३१ देखि
काठमाडौँ I नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटी बैठक यही वैशाख ३१ गतेदेखि काठमाडौँमा बस्ने भएको छ । यसअघि वैशाख २८ गतेदेखि बैठक बस्ने भनिएको थियो ।
पार्टी महासचिव घनश्याम भुसालले आन्तरिक तयारी नपुगेकाले बैठक सारिएको जानकारी दिनुभयो । वैशाख ३१ देखि दुई दिनसम्म चल्ने बैठकमा आसन्न महाधिवेशनमा प्रस्तुत हुने पार्टीको वैचारिक दृष्टिकोण, जनवर्गीय सङ्गठनका कार्यप्रगति, समसामयीक राजनीतिक अवस्था, नवीकरण गरिएका सङ्गठित सदस्यको अनुमोदनलगायत विषयमा छलफल केन्द्रित रहने महासचिव भुसालले बताउनुभयो।
सोही बैठकबाट देशभर पार्टी सङ्गठनको अवस्था, आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे छलफलका साथै प्रदेश, क्षेत्र र भुगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी बाँडफाँड गरिने पनि जनाइएको छ ।
यस्तै, बैठकमा आगामी असारमा हुने राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौटका मापदण्ड तय गर्ने र सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गरिने छ । बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले प्रस्तुत गर्ने साङ्गठनिक प्रतिवेदनमा समेत छलफल हुनेछ । सो पार्टीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्न लागेको छ ।
सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गनुहोसः प्रधानमन्त्री
काठमाडौँ I प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरूसँग छलफल गर्नुभएको छ ।
आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था, विभागको प्रणालीमा देखिएका समस्या, जनस्तरमा उठेका विषय र विभागले निर्वाह गर्नुपर्ने भूमिकालगायतका विषयमा केन्द्रित रहेर विभागका अधिकारीहरूसँग छलफल गर्नुभएको हो ।
छलफलमा प्रधानमन्त्रीले लाइसेन्सका सम्बन्धमा जनस्तरमा असन्तुष्टि र आक्रोश देखिएको बताउँदै त्यसलाई तत्काल सम्बोधन गर्न निर्देशन दिनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “सवारी चालक अनुमतिपत्रबारे बाहिर गम्भीर प्रश्नहरू उठेका छन् । यसमा जनताको गम्भीर आलोचना, असन्तुष्टि, आक्रोश देखिन्छ । खासगरी युवाहरूले समयमै सेवा नपाएको लगायतका गुनासो राख्ने गरेका छन् । लाइसेन्स जसरी वितरण हुनुपथ्र्यो, त्यस्तो भएको छैन । नक्कली लाइसेन्स बितरणको कुरा पनि मैले सुनेको छु । यो समस्यालाई मैले गम्भीरतापूर्वक लिएको छु । यो समस्या तत्काल समाधान गर्नुहोस् ।” छलफलमा उहाँले लाइसेन्सको डिजिटल प्रणालीलाई व्यवस्थित गर्नसमेत निर्देशन दिनुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो, “यो नीतिगत समस्या हो कि संरचनागत हो वा हाम्रो नियतमा समस्या हो ? यसको गम्भीरता हेरी सोहीअनुरूप निरूपण गर्नुपर्छ । तसर्थ, जनस्तरमा उठेका जिज्ञासा र प्रश्नको गम्भीरतापूर्वक समाधान गर्नुस् । भइरहेको प्रणालीलाई अद्यावधिक र स्तरोन्नति गर्दै नयाँ प्रणालीमा अगाडि जाने तयारी गर्नुस् ।”
सो क्रममा प्रधानमन्त्रीले यो नीति तथा कार्यक्रम र बजेटको समय भएकाले कस्तो नीति र उपायहरू अपनाउँदा यस क्षेत्रको समस्या समाधान हुन्छ, सोबारे ठोस सुझाव प्रस्तुत गर्नसमेत निर्देशन दिनुभयो । छलफलमा मुख्यसचिव डा बैकुण्ठ अर्याल, यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजाललगायतका अधिकारीको उपस्थिति थियो ।
नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु
काठमाडौँ I राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट सेवा सुरु गरेको छ । आज यहाँ आयोजित शुभारम्भमा इन्ड्राइभ नेपालका निर्देशक रीता पोखरेलले आजबाट औपचारिक रुपमा सेवा सुरु भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हामीले केही वर्ष परीक्षणका लागि सेवा सुरु गरेका थियौँ, केही कानूनी प्रक्रिया पूरा गरी आजदेखि औपचारिकरुपमा सेवा सुरु गरेका छौँ”, उहाँले भन्नुभयो । उहाँले केही समयपछि चालक र यात्रुको बीमा पनि गरिने बताउनुभयो । उहाँले राइडरहरुले सेवा उपयोग गरे वापत कम्पनीलाई १० प्रतिशत सेवा शुल्क बुझाउनुपर्ने समेत जानकारी दिनुभयो ।
कम्पनीले आजै भुक्तानी सेवा प्रदायक आईएमई पेसँग सहकार्य गर्ने घोषणा गरेको छ । इन्ड्राइभले हाल यो सेवा काठमाडौँ, पोखरा, भरतपुर उपलब्ध हुने र आगामी दिनमा अन्य सहरमा पनि सेवा बिस्तार गर्दै जाने कम्पनीको भनाइ छ । कम्पनीले राइड सेयरिङ बाहेक, कुरियर, कार्गो सेवा पनि उपलब्ध गराउने निर्देशक पोखरेलको भनाइ छ ।
इन्ड्राइभ एसिया प्यासिफिक कम्युनिकेसन्स लिड पवित नन्दा आनन्दले इन्ड्राइभको सेवा आधिकारिक रुपमा नेपालमा सुरु गर्न पाउँदा हर्षित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो लागि नेपाली बजार अत्यन्तै महत्वपूर्ण छ र हाम्रा सेवाहरूले रोजगारी प्रदान गर्नेमा हामी विश्वस्त छौँ ।”
आदिवासी मुसहरमा धन सञ्चय गर्ने मोह जाग्दै
महोत्तरी I ‘न राख्ने अन्न, न सञ्चय गर्ने धन’ मधेशका आदिवासी मुसहरसँग जोडेर भन्ने गरिएको आहान हो यो । त्यसैगरी मुसहरको सम्पत्तिसँग जोडेर ‘पेरवा धन, मुसहर जन’ भन्ने पनि गरिन्छ । यसको अर्थ मुसहर समुदायमा घरमा रहेका सदस्य र काम गर्ने हातपाखुराबाहेक सञ्चय गर्न अरू सम्पत्ति नहुने गरेको भन्ने गरिन्थ्यो । अहिले भने त्यो मान्यता र भनाइलाई चिर्दै महोत्तरीको बर्दिबास नगर क्षेत्रका मुसहरहरूमा अवसरको खोजी र धन सञ्चय गर्ने बानीको विकास हुन थालेको छ ।
आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिक अवसरबाट टाढा रहेका मुसहरमा पछिल्लो समय बढ्दैगएको चेतनाका कारण क्रमशः आर्थिक गतिविधिमा सरिक हुने र भविष्यका लागि जोहो गर्ने मोह जाग्दै गएको छ । यस कार्यमा बर्दिबास नगरपालिकाले सञ्चालन गरेको तीन वर्षे लघु जीवन बीमा कार्यक्रम निकै सहयोगी भएको छ ।
मुसहर आमरूपमा आज खाने तर भरे, भोलिको चिन्ता गरेर सञ्चय नगर्ने समुदाय भनेर चिनिँदैआएका छन् । एकाबिहानै गिरहत (काम दिने व्यक्ति) कहाँ काम गर्ने र त्यसबापत पाएको बनी (पारिश्रमिक) को आधा रकमले चामल र आधाले मरमसला किन्ने, दिउँसो घोङी र माछा मार्नजाने, साँझ परिवारका सबै सदस्य एकसाथ बसेर खाने मुसहरको आम चलन नै हो । काममा सबैसँगै, खान पनि सबैसँगै भन्ने नीति यो समुदायको विशिष्ट परम्परा हो ।
महोत्तरीको एकडारा गाउँपालिकास्थित भटौलिया बस्तीका सामाजिक अगुवा विजय कर्ण मधेशका अन्य जाति समुदायमा नदेखिने यो चलन मुसहरको विशिष्ट संस्कृतिका रूपमा रहेको बताउनुहुन्छ । “कृषिकार्यमा पोख्त मानिने मुसहर एकाबिहानै काम गरेर पाएको बनीले त्यो दिनको गर्जो टर्ने भएपछि दिउँसो कसैकहाँ कामगर्न जान मन गर्दैनन् । ‘कमाइ ल्यायो, भुटी खायो’ आहान पनि प्रयोग हुने यो समुदायलाई यसै कारण ‘न राख्ने अन्न, न सञ्चय गर्ने धन’ भन्ने कहावत (आहान) सँग जोडिन्छ”, कर्णले भन्नुभयो । सामान्यतया घरआँगनको खोपमा पालिने परेवा भोलिपल्टै अर्कैको खोपमा पुग्छ, त्यसैले यो धनस्थिर मानिदैन भनेझैँ मुसहरले पनि भोली कहाँ र के काम गर्ने भन्ने टुङ्गो हुँदैन । यसैले यो समुदायसँग जोडेर मधेशमा ‘पेरवा धन, मुसहर जन’ भन्ने गरिएको कर्णको भनाइ छ ।
नगरप्रमुख प्रहलादकुमार क्षत्रीले पुस्तौदेखि यस्तै गर्दैआइरहेका मुसहर समुदायको बानीव्यहोरा बदल्न र सञ्चय गर्ने संस्कार बसाल्न अहिले नगरपालिकाले सामूहिक बीमा कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । सञ्चिति अभियानका लागि हाल वडा नम्बर १०, १२ र १४ का गरी २३५ परिवारका ३५३ जनालाई ‘सामूहिक म्यादी जीवन बीमा’ कार्यक्रममा आबद्ध गराएको उहाँले जानकारी दिनुभयो । जीवन बीमामा जोडिएका मुसहरमा अब क्रमशः कमाएको रकम सञ्चय गर्ने बानी विकास हुँदै गएको क्षत्रीको भनाइ छ । “चरम गरिबी, अशिक्षा र सामाजिक चेतनाको कमीले कष्टकर जीवन बिताइरहेका मुसहर समुदायलाई क्रमशः अर्थोपार्जनका लागि अवसरमा जोड्दै सञ्चय अभियान सुरूगरेका छौँ । यसको प्रारम्भ भने बीमाबाट गरेका छौँ”, नगरप्रमुख क्षत्रीले भन्नुभयो,“यसकार्यले उहाँहरूमा अर्थोपार्जनका अवसरमा रूची बढाउँदै नानीबाबुहरूलाई विद्यालय पठाउन र कमाएको केही अंश बचत गर्ने बानी बस्दैछ ।”
केही कागजात अपूगभएका बाहेक १८ वर्षदेखि ६९ वर्षसम्मका नगर क्षेत्रका सबै मुसहर यस कार्यक्रममा समेटिएका छन् । नगरपालिकाले नै बीमा रकम एकमुष्ट जम्मा गरिदिएर यो कार्यक्रम सुरूगरेको हो । हाल बर्दिबास–१० खयरमाराका २५ परिवारका ४३ जना, वडा नम्बर १२ विजलपुराका एक सय ५० परिवारका दुई सय दुई र बर्दिबास–१४ नमुना मुसहर बस्तीका ६० परिवारका एक सय आठ जना यो अभियानमा जोडिएका नगरपालिकाले जनाएको छ । नगरपालिका र लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड बर्दिबास शाखाका प्रतिनिधिले टोलबस्तीमै पुगेर उहाँहरूलाई बीमामा जोड्नुभएको हो ।
मधेशका सीमान्तकृत जातिमा पर्ने मुसहरको भविष्य सुरक्षित गर्न, आफ्ना हितका विषयमा सजग गराउन र राज्यबाट प्रदानगरिने अवसरमा जोड्न प्रारम्भिकरूपमा बीमा कार्यक्रममा जोडिएको नगरप्रमुख क्षत्रीले बताउनुभयो । कठोर मेहनत गर्ने मुसहर अब भवितब्यमा परे वा गम्भीर बिरामी भए बीमाले निश्चित दायित्व पूरागर्ने बन्दोबस्त भएकाले सो समुदायका व्यक्तिहरू अहिले उत्साहित भएका छन् । तीन वर्षे अवधिको यो बीमामा क्रमशः उमेर पुग्दैगएका मुसहरलाई आबद्ध गराउँदै जाने नगरपालिकाको योजना छ ।
यसका साथै नगरपालिकाले मुसहर समुदायमा उमेरनपुग्दै विवाह गर्ने प्रचलनलाई निरूत्साहन गर्न नगद प्रोत्साहन रकम प्रदान गर्ने नीति लिएको छ । सानै उमेरमा विवाह गर्ने र सरकारले विवाहका लागि तोेकेको उमेर (२० वर्ष) सम्म दुई÷तीन सन्तान जन्माइसक्ने मुसहर महिलामा यसैकारण गम्भीर स्वास्थ्य समस्या देखिएपछि यस्तो अभियान सञ्चालन गर्नुपरेको नगरपालिकाले जनाएको छ ।
उमेर पुगेरमात्रै बिहे गर्न उत्प्रेरित गर्ने उद्देश्यसाथ नगरपालिकाले २० वर्ष पूरा भएपछि बिहे गर्ने नगरक्षेत्रका मुसहर दम्पतिलाई रु ५० हजार प्रोत्साहन दिइने घोषणा गरिसकेको छ । अहिलेसम्म यो मापदण्डअनुसार विवाह गर्ने बर्दिबास–१४ का मञ्जय सादामात्र हुनुहुन्छ । मञ्जय स्नातक तह उतिर्ण गर्ने बर्दिबासकै पहिलो मुसहर पनि हुनुहुन्छ । उहाँले यही वैशाख ६ गते आपूmजस्तै उमेर पुगेकी मुसहर महिला युवासँग विवाह गरेपछि नगरपालिकाले घोषणा गरेअनुसारको प्रोत्साहन रकम पाएको बताउनुभयो ।
महोत्तरी जिल्लाका सबै (१५ वटै) स्थानीयतहमा धेरथोर बसोबास रहेका मुसहर समुदायको जनसङ्ख्या विसं २०७८ सालको राष्ट्रिय जनगणनाअनुसार २७ हजार तीन सय ५२ छ । यो जिल्लाको कूल जनसङ्ख्याको तीन दशमलव ८७ प्रतिशत हो । यति जनसङ्ख्या भएका मुसहरमा माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरा गर्नेहरू औँलामा गन्ने सकिने अवस्थामा छन् ।
जलेश्वर–४ निवासी शिक्षाविद् कृष्णचन्द्र झा मुसहर समुदायको आर्थिक, शैक्षिक र स्वास्थ्य अवस्था सुधारगरी विकासको मूलप्रवाहमा जोड्न आवश्यक रहेको बताउनुहुन्छ । बर्दिबास नगरपालिकाले थालेको अभियानजस्तै जिल्लाका अन्य स्थानीय तहले पनि मुसहर लक्षित कार्यक्रम सञ्चालन गर्नसके चाँडै सकारात्मक नतिजा आउने उहाँको भनाइ छ ।
तोलामा रु दुई सयले बढ्यो सुनको मूल्य
काठमाडौँ I स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु दुई सयले वृद्धि भई रु एक लाख ३५ हजार छ सय पुगेको छ । आइतबार छापवाला सुन तोलामा रु एक लाख ३५ हजार चार सयमा कारोबार भएको थियो । महासङ्घका अनुसार तेजावी सुन तोलामा रु एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको छ । आइतबार तेजाबी सुन तोलामा रु एक लाख ३४ हजार सात सय ५० मा कारोबार भएको थियो । चाँदी मूल्य तोलामा रु एक हजार छ सय ६० निर्धारण भएको छ । आइतबार चाँदी तोलामा रु एक लाख छ सय ४० मा कारोबार भएको थियो ।
ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
महेन्द्रनगर (कञ्चनपुर) I नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबिच अस्थिरताबाट मुलुक जोगाउन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सहमति, सहकार्य र संवाद आवश्यक रहने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आज महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख सचेतक लेखकले अहिलेको सरकार समीकरणमा नेकपा (एमाले) भित्र पनि असन्तुष्टि रहेको उल्लेख गर्दै सत्ता समीकरणबारे आफैँमा विरोधाभास र आशङ्का रहेको धारणा राख्नुभयो ।
“नेपाली कांग्रेस र एमालेभित्र ठूला दल मिलेर सरकार बनाउनुपर्छ भन्ने मत बलियो छ”, उहाँले भन्नुभयो, “जनता पनि ठूला दल मिलेर मुलुकलाई सही दिशामा लैजानुपर्छ भन्नेमा छन् ।” कांग्रेस र एमालेबीचको सत्ता सहकार्य गर्ने विषयमा ठोस कुरो नभएको प्रमुख सचेतक लेखकको भनाइ थियो ।
सरकार सञ्चालनका लागि नभए पनि मुलुकलाई अस्थिरतातर्फ जान नदिन, संविधानको रक्षा गर्न र लोकतन्त्रको सुदृढीकरणका लागि पनि ठूला दलहरुबीच सहकार्य र छलफल आवश्यक हुने प्रमुख सचेतक लेखकको भनाइ छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै सहकारी छानबिनको विषयमा समग्रमा छानबिनको विषयमा सकारात्मक धारणा आएको बताउँदै उहाँले त्यसका लागि कांग्रेस पनि सकरात्मक रहेको बताउनुभयो । उहाँले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नतामाथि छानबिन हुनुपर्नेमा कांग्रेसको अडान यथावत रहेको बताउनुभयो ।
“सहकारीको रकम अवचलन भएकोलगायतको विषय छानबिन गर्ने निकायको जिम्मेवारीमा रहेका पनि आरोपित छन्”, उहाँले भन्नुभयो, “हामीले राजीनामा होइन, छानबिनको माग गरेका हौँ ।” आगामी वैशाख २८ गते संसद् बैठक हुनुअघि उक्त विषय सम्बोधन हुनेमा आफू विश्वस्त रहेको उहाँको भनाइ थियो ।