अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
बागमती I बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिनुभयो । सो ऐनको दफा १३ को (५)लाई संशोधन गर्न अनुकूल देखिएकाले यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो ।
यस्तै मन्त्रिपरिषद्को बैठकले वनमा लागेको डढेलो नियन्त्रण गर्ने क्रममा ज्यान गुमाएका तीन जनाका परिवारलाई जनही रु एक लाखको दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । मृतकका परिवारलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपद् व्यवस्थापन कोषमार्फत सो रकम उपलब्ध गराउने निर्णय भएको मन्त्री श्रेष्ठले बताउनुभयो ।
केही दिनअघि बागमती प्रदेशको ललितपुर र रामेछाप जिल्लाको वनमा लागेको डढेलो नियन्त्रणमा लिने क्रममा जलेर तीन जनाको मृत्यु भएको थियो ।
जसपाका सात सांसदद्वारा आयोगमा निवेदन दर्ता
काठमाडौँ I जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनका सङ्घारमा पुगेको छ । सो पर्टीका सात सांसदले आज निर्वाचन आयोगमा पार्टीको आधिकारिता दाबी गर्दै निवेदन दिएका छन् ।
जसपाका नेता अशोक राईको नेतृत्वले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको जसपाका सांसद सुशीला श्रेष्ठले जानकारी दिनुभयो । “अहिले हामी सांसदहरु सातजना छौँ, अरू पनि थुप्रै आउनुहुन्छ । उहाँहरु सम्पर्कमै हुनुहुन्छ”, सांसद श्रेष्ठले भन्नुभयो ।
सांसद श्रेष्ठले आफ्ना मुद्दालाई जनतासमक्ष प्रभावकारी रुपमा लैजान र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन अहिलेको बाटो तय गरेको दाबी गर्नुभयो । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीसमेत रहेका जसपा अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका बेला अर्को समूहले निर्वाचन आयोगमा आधिकारिकता दाबी गरेको हो । निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयका अनुसार जसपाका सांसदहरुले निवेदन दर्ता गराएको र सोको अध्ययन भइरहेको छ ।
जसपाको सङ्घीय संसद्मा १२ सांसद हुनुहुन्छ । उहाँहरुमध्ये सात सांसदले निर्वाचन आयोगमा निवेदन दर्ता गराउनुभएको हो । निवेदनमा हस्ताक्षर गर्नेमा अशोक राई, नवलकिशोर साह सुडी, प्रदीप यादव, रञ्जु झा, वीरेन्द्र महतो, हसिना खान र सुशीला श्रेष्ठ रहनुभएको छ । त्यस्तै, केन्द्रीय कार्यकारिणी समितिका नौ र केन्द्रीय समितिका २७ जनाले राई समूहलाई साथ दिएको बताइएको छ ।
जापानी विदेशमन्त्री खामिखावाः वसन्तपुर क्षेत्रको अवलोकन
काठमाडौँ I आज नेपाल आउनुभएका जापानका विदेश मन्त्री खामिखावा योकोले आजै दिउँसो काठमाडौँको वसन्तपुर क्षेत्रको अवलोकन गर्नुभएको छ । उहाँ आज दिउँसो दुई बजे वसन्तपुर क्षेत्रमा पुग्नुभएको थियो । उहाँले कालभैरव, हनुमानढोका र त्यहाँ रहेका नेपाली सांस्कृतिक सम्पदा तथा वस्तुहरुको अवलोकन गर्दै करिब आधा घण्टा बिताउनुभयो । अवलोकनपछि उहाँले बुद्धको मूर्ति खरिद गर्नुभयो । उहाँका साथमा नेपालका लागि जापानी राजदूत किकुता युताकालगायत हुनुहुन्थ्यो ।
जापानको विदेशमन्त्री नियुक्त भएपछि उहाँको यो पहिलो नेपाल भ्रमण हो । भ्रमणका क्रममा उहाँले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशमन्त्री खामिखावाले आजै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठसँग मन्त्रालयमा भेटघाट र द्विपक्षीय वार्ता गर्नुहुनेछ ।
उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठले उहाँको सम्मानमा रात्रिभोजको आयोजना गर्नुहुनेछ । विदेशमन्त्री खामिखावा भ्रमण सम्पन्न गरी आजै राति नेपाल वायु सेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्नुहुने कार्यक्रम छ ।
नेप्से परिसूचक ओरालो यात्रामा
काठमाडौँ I धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २४ दशमलव ५८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७४ दशमलव ३७ मा सीमित भएको छ । कूल ९७ लाख ६२ हजार आठ सय तीन कित्ता शेयर रु तीन अर्ब ७९ करोड ५७ लाख ४८ हजार दुई सय ९६ मूल्यमा कारोबार भयो ।
स्टकका अनुसार कारोबारका आधारमा नेपाल फाइनान्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु १२ करोड ६४ लाख ९९ हजार सात सय ५३ बराबरको कारोबार भयो । यस्तै, डोल्टी पावर नौ दशमलव ५६, साधना लघुवित्त आठ दशमलव ७२, समता घरेलु लघुवित्त आठ दशमलव ७२, कुमारी बैंकको ऋणपत्र चार दशमलव शून्य तीन र नबील ब्यालेन्स फण्ड तेस्रोका लगानीकर्ताले तीन दशमलव ८९ प्रतिशतले कमाएका नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
पिपल्स पावर नौ दशमलव ९२, सिँगटी हाइड्रोपावर इनर्जी सात दशमलव ५५, हिमालयन डिस्टिलरी छ दशमलव ३३, जानकी फाइनान्स पाँच दशमलव ६९ र बोटलर्स नेपाल तराईका लगानीकर्ताले भने पाँच दशमलव २३ प्रतिशत घाटा बेहोर्नुपरेको छ ।
कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन घाइते
काठमाडौँ I काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।
कीर्तिपुर-रत्नपार्क चल्ने बा ३ ख २०२७ नम्बरको यात्रुबाहक बस अचानक कीर्तिपुर आयुर्वेदिक अस्पताल अगाडि दुर्घटना हुँदा वर्ष ४२ का ठेगाना नखुलेका डा गोविन्द रिजालको मृत्यु भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, वरिष्ठ प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज २ः४५ बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका रिजालको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा अपराह्न मृत्यु भएको हो । अन्य तीन घाइतेको उपचार भइरहेको छ । घाइते हुनेहरुमा बैतडी घर भई कीर्तिपुर बस्ने वर्ष २४ का डम्बर पन्त, वर्ष २४ की बिमला श्रेष्ठ र बसका चालक वर्ष २७ का रमेश लामा छन् । लामालाई थप उपचारका लागि ट्रमा सेन्टर ल्याइएको छ ।
भोजपुरका विद्यालयमा ‘इ-लर्निङ सेन्टर’
टक्सार (भोजपुर)I सूचना प्रविधिमा अभ्यस्त बनाउँदै विद्यार्थीलाई पठनपाठन गराउने उद्देश्यले भोजपुरका विद्यालय तथा क्याम्पसमा ‘इ–लर्निङ सेन्टर स्थापना’ अभियान सञ्चालन भइरहेको छ ।
पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइराला नेतृत्वको ईश्वर मन्दिर काठमाडौँ नामक संस्थाको सहयोगमा जिल्लामा इ–लर्निङ सेन्टर स्थापना भइरहेका हुन् । अभियानको क्रममा आज जिल्लाको टेम्केमैयुङ गाउँपालिका—२ छिनामखुमा रहेकोे त्रिभुवन धर्मोदय माध्यामिक विद्यालयमा इ–लर्निङ सेन्टर स्थापना गरिएको छ ।
विसं २००५ सालमा स्थापना गरिएको विद्यालयमा सञ्चालन गरिएको सेन्टरको २० थान कम्प्युटर सेट र स्मार्ट टिभी लगायतका विद्युतीय सामानको व्यवस्था गरिएको सहयोगी संस्थाका अध्यक्ष प्रमेश केसीले बताउनुभयो । विद्यार्थीलाई सूचना प्रविधिसँग अभ्यस्त गर्दै सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले आफ्नो संस्थाले विद्यालयमा इ—लर्निङ सेन्टर स्थापना गर्दै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सूचना प्रविधिको वर्तमान युगमा विगतमा जस्तो अध्ययनले मात्र हुँदैन, विद्यार्थीलाई प्रविधिसँग जोड्न जरूरी छ । त्यसैले ग्रामीण क्षेत्रका विद्यालयमा पनि इ–लर्निङ सेन्टर स्थापनामा सहयोग गरिरहेका छौँ । यसले पठनपाठनमा सहज हुने विश्वास लिएका छौँ ।”
छिनामखुमा रहेकोे त्रिभुवन धर्मोदय माध्यामिक विद्यालयमा मात्रै होइन सो संस्थाले भोजपुर नगरपालिकामा रहेका भोजपुर बहुमुखी क्याम्पस, विद्योदय मावि, जनसेवा आधरभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय, आदर्श शिशु आधारभूत विद्यालय, हतुवागढी गाउँपालिकामा रहेको सगरमाथा मावि, षडानन्द नगरपालिकामा रहेको अरुण मावि, अरुण गाउँपालिकाको शारदा माविमा समेत सो संस्थाले कम्प्युटर लगायतका सामग्री सहयोग गरी इ—लर्निङ सेन्टर स्थापनामा योगदान गरिसकेको छ ।
संस्थाका महासचिव संकेत कोइरालाले पनि प्रविधि सहितका पुस्तकालय स्थापनाले पठनपाठनमा सहज भएको प्रतिक्रिया आफूहरूले पाएको बताउनुभयो । “आधुनिक प्रविधिको युगमा विद्यार्थीको हातमा कलम र कपी मात्र होइन, अहिलेका कम्प्युटर पनि हुन जरूरी छ, त्यसैले हामी त्यही अभियानअन्तर्गत अहिले भोजपुरका विद्यालयमा सहयोग गरिरहेका छौँ । यसलाई अन्य ठाउँमा पनि विस्तार गर्दै लैजाने हाम्रो लक्ष्य छ ।
त्रिभुवन धर्मोदय माध्यामिक विद्यालयका प्रधानाध्यापक राजन राईले ‘विद्यार्थी साथमा, कम्प्युटर हातमा’ भन्ने अभियानले विद्यालयको शैक्षिक सुधारमा निकै सहयोग पुगेको बताउनुभयो ।
टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले पनि विद्यालयमा स्थापना गरिएका इ—लर्निङ सेन्टरले शैक्षिक गुणस्तर सुधारका साथै विद्यार्थीलाई अध्ययनमा अभिप्रेरित गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
संस्थाका सल्लाकार पूर्वअर्थमन्त्री कोइरालाले आगामी दिनमा पनि विद्यालयलाई प्रविधिमैत्री बनाउन भोजपुरका अन्य विद्यालयमा पनि सहयोग अभियान सञ्चालन गरिने बताउनुभयो । “अब विद्यालयमा प्रविधि मैत्री इ–लर्निङ सेन्टर स्थापना हुनुपर्छ, त्यसका लागि हामीले सहयोग अभियान सुरूगरेका हौँ”, कोइरालाले भन्नुभयो ।
सांस्कृतिक कार्यक्रम ‘साराङहेयो’को आयोजना
काठमाडौँ I नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध भएको ५०औँ वर्षको स्वर्णजयन्तीका अवसरमा यहाँ सांस्कृतिक कार्यक्रम ‘साराङहेयो’को आयोजना गरियो । गणतन्त्र कोरियाली दूतावासद्वारा आयोजित सो कार्यक्रममा विश्वमा ख्याती कमाएका ३० जना कोरियाली कलाकारले विशेष प्रस्तुति दिएका थिए । साराङहेयोको नेपाली अर्थ ‘मायाँ गर्छु’ हो ।
सो अवसरमा कोरियाका कलाकारहरु के टाईगर्सको तेक्वान्दो नृत्य समाबेस भएको कला, ग्याम्बल्जक्र्युको बि बोई नृत्य तथा नेपाली कलाकार स्ट्रउक्पपको सङ्गीतबाट दर्शकहरुलाई भरपूर मनोरञ्जन पाएका थिए ।
कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ स्वर्णजयन्तीको सम्मान गर्दै विगत देखि कोरिया सरकाले नेपालप्रति देखाएको भाइचारा सम्बन्धलाई भविष्यमा पनि थप गतिशील बनाउने विश्वास व्यक्त गर्नुभयो ।
नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले दुई देशबीचको कूटनीतिक सम्बन्धको ५० वर्षमा विकसित सम्बन्धलाई आगामी दिनमा पनि अझ बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिँदै नेपाललाई माया गर्छु, कोरियालाई माया गर्छु र हामी साथै जाउँ भन्ने उद्घोष गर्नुभयो ।
कोरिया सरकारले विगतदेखि नै नेपालका विभिन्न क्षेत्रमा सहयोग तथा साझेदारी गर्दै आएको छ । सन् १९७४ मे १५ तारिखका दिन नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । स्वर्णजयन्तीका अवसरमा सांस्कृतिक, आर्थिक र विकासका क्षेत्रमा विभिन्न कार्यक्रमको आयोजना भइरहेको दूतावासले जनाएको छ ।
जापानी विदेशमन्त्री खामिखावा नेपालमा
काठमाडौँ I जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो यहाँ आइपुग्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गर्नुभएको थियो ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेश मन्त्री खामिखावा नेपाल भ्रमणमा आउनुभएको हो । जापानको विदेशमन्त्री नियुक्त भएपछि उहाँको यो पहिलो नेपाल भ्रमण हो ।
भ्रमणका क्रममा उहाँले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशमन्त्री खामिखावाले आजै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठसँग मन्त्रालयमा भेटघाट र द्विपक्षीय वार्ता गर्नुहुनेछ ।
भ्रमणका क्रममा उहाँले काठमाडौँ दरबार क्षेत्र र जमलस्थित मण्डला बुक प्वाइन्टको समेत अवलोकन गर्नुहुने छ । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठले उहाँको सम्मानमा रात्रिभोजको आयोजना गर्नुहुनेछ । विदेशमन्त्री खामिखावा भ्रमण सम्पन्न गरी आजै राति नेपाल वायु सेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्नुहुनेछ ।
गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै
गण्डकी I गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिनुहुने भएको छ । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
गत चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका अधिकारीले संवैधानिक व्यवस्थाअनुसार आज विश्वासको मत लिन लाग्नुभएको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा उहाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
पाँचथरको हिलिहाङ गाउँपालिकामा खानेपानीको मुहान सुकेपछि ट्याङ्करबाट पानी
पाँचथर I सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का तीन सय बढी घरमा ट्याङ्करबाट पानीको प्रबन्ध भएको छ ।
हिलिहाङ–७ का चुक्फारा, माझीगाउँ, डाँडागाउँ र सिमखर्क बस्तीका तीन सयभन्दा बढी परिवारले उपयोग गर्दै आएको साँचेखोला खानेपानीको मुहान सुकेपछि ट्याङ्करबाट खानेपानीको व्यवस्था गरिएको हो ।
ट्याङ्करमा सोही वडाको हेवाखोला छेउमा रहेको मुहानमा पानी जम्मा गरी सल्लेरीमा रहेको पाइप लाइनबाट साँचेखोला खानेपानी आयोजनाको ट्याङ्कीमा सङ्कलन गरिएको छ । यहाँ निर्माण गरिएका २० र ६० हजार लिटर क्षमताका दुईवटा ट्याङ्कीमा जम्मा गरी खानेपानी वितरण गर्ने गरिएको साँचेखोला खानेपानी आयोजनाका अध्यक्ष तिलविक्रम इधिङ्गोले बताउनुभयो ।
“मुहान सुकेपछि उपभोक्ता मिलेर वडा कार्यालय, हिलिहाङ गाउँपालिकालगायत निकायमा जानकारी दियौँ”, खानेपानी वितरणको अगुवाइ गरिरहनुभएका अध्यक्ष इधिङ्गोले भन्नुभयो, “पानीको हाहाकार हुन थालेपछि स्थानीयवासीकै सक्रियतामा खानेपानी ल्याउन थालेका हौँ ।” यहाँ वैशाख १५ देखि ट्याङ्करको सहायताले निरन्तर खानेपानी वितरण भइरहेको इधिङ्गोले बताउनुभयो ।
तीन सयभन्दा बढी उपभोक्तामध्ये ४५ घरका उपभोक्ताले तीनधारे मुहानबाट दुई घण्टा पानी बोकेर लैजाने गरेका छन् । स्थानीय कौशिला बराइली पानीको जोहो गर्न दैनिक एक घण्टाभन्दा समय खर्चनु परेको बाध्याता सुनाउनुहुन्छ ।
स्थानीयवासीले ट्याङ्करबाट खानेपानीको प्रबन्ध गर्न थालेपछि फिदिम नगरपालिका, फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, हिलिहाङ–७ वडा कार्यालय, एपेक्स निर्माण कम्पनी, इन्द्र योक्पाङ्देन लगायत स्थानीयवासीलाई सहयोग गर्दै आएका छन् ।
खानेपानीको समस्या भोगिरहेका हिलिहाङ गाउँपालिकाका सातवटै वडाका लागि बृहत् सुभाङ खानेपानी आयोजना निर्माण भइरहेको छ । हिलिहाङ–७ को साविक भारपा गाविसका लागि उक्त बृहत् आयोजनाअन्तर्गत नै साँचेखोला ‘बी’ योजना निर्माण भइरहेको छ ।
हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीका अनुसार बृहत् आयोजनाको निर्माण कम्पनीले भुक्तानी नपाएका कारण काम रोकेको छ । साँचेखोला ‘बी’ उपयोजनाको मुहान भन्दा पाइप लाइनको केही भाग माथि बनेका कारण उक्त उपयोजना तत्कालै सञ्चालन हुन सक्ने अवस्थामा छैन ।
साविक भारपा गाविस वडा नं ६, ७, ८ र ९ का लागि २०५३ सालमा साँचेखोला खानेपानी योजना निर्माण थालिएको थियो । उक्त योजना सशस्त्र द्वन्द्वका कारण प्रभावित भई २०६९ देखि पानी वितरण सुरु भएको थियो ।
पुरानो साँचेखोला योजनाभन्दा करिव दुई सय ५० मिटर तलको मुहानमा बृहत् आयोजनाअन्तर्गत साँचेखोला ‘बी’ निर्माण भएको हो । यद्यपि प्राविधिक, निर्माण कम्पनी र तालुकदार निकायबीच समन्वय नहुँदा उक्त उपयोजनाको ट्रान्समिसन लाइनको केही भाग मुहानभन्दा माथि निर्माण भएपछि एक हजारभन्दा बढी उपभोक्ता पेयजल प्राप्तिको आधारभूत सुविधाबाट वञ्चित भएका छन् ।