छिमेकी राष्ट्र भारतको लोकसभा निर्वाचनमा नेपाल–भारत सीमानाआठ दिन बन्द गरिने
सिरहा I छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल–भारत सीमानाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ ।
जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार निर्वाचनको ७२ घण्टा पहिले सीमानाका बन्द गर्नुपर्ने भएकाले पहिलो चरणको निर्वाचनका लागि शनिबार मध्यराति देखि २५ वैशाख सम्म सीमानाका बन्द रहने छ । त्यसै गरी दोस्रो चरणको निर्वाचनका लागि ४ जेठ मध्यराति देखि ७ जेठ मध्यरात सम्म बन्द हुने छ ।
करिब दुई महिना अघि विहारको मधुवनीमा सम्पन्न नेपाल–भारतका सुरक्षा अधिकारीहरूको बैठकको निर्णयानुसार भारतसँग सीमा जोडिएका सिरहाको ठाढी, बरियारपट्टी र माडरनाका बन्द गरिने सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले बताउनुभयो ।
जङ्गलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ
काभ्रेपलाञ्चोक I जङ्गलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताउनुभयो ।
पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जङ्गलमा आगो झोसेको अभियोगमा मण्डनदेउपुर नगरपालिका–११ का ३१ वर्षीय मैते तामाङ, २५ वर्षीय विकास भुजेल र सविन सुनार, नमोबुद्ध नपा–१ को कासकोट सामुदायिक जङ्गलमा आगो लगाएको अभियोगमा ८० वर्षीय आइतीमाया तामाङ र चौँरीदेउराली गाउँपालिका–६ को आरुबोट सामुदायिक जङ्गलमा आगो लगाएको आशङ्कामा सोही वडाका ४९ वर्षीय लालकुमार सेन ठकुरीलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका पाँचमध्ये नमोबुद्ध–१ का तामाङलाई हिरासतमुक्त गरिएको र अन्यलाई मुद्दा चलाइएको उहाँले बताउनुभयो । डढेलो मानवबस्तीमा पस्दा रोशी, महाभारत र खानीखोला गाउँपालिकाका विभिन्न ठाउँमा धनमालको क्षति भएको छ । रोशी गाउँपालिका–४ सानोपोटा गाउँका १५ घर नष्ट हुँदा रु दुई करोड २६ लाख ३० हजार बराबरको क्षति भएको थियो ।
हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने
खोटाङ I कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताउनुभएको छ । त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास गरेपछि उहाँले प्रदेशका तीन धार्मिकस्थललाई जोड्ने योजनालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।
मुख्यमन्त्री कार्कीले हलेसी, सुनसरीको बराहक्षेत्र र ताप्लेजुङको पाथीभरालाई जोड्नुपर्ने बताउँदै केबुलकार र जल यातायातका माध्यमबाट त्यसो गर्न सकिन्छ भन्नुभयो । उहाँले पर्यटन पूर्वाधार निर्माणका आधारभूत संरचना निर्माण गर्न वडा र पालिका अग्रसर हुनुपर्ने बताउनुभयो ।
कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ मा विनियोजन गरेको रु एक करोड ४४ लाख ८४ हजार चार सय ९० लगानीमा हलेसीमा हवन कुण्ड बन्दैछ । आगामी असार १६ गतेसम्ममा सम्पन्न गर्नेगरी काम सुरु भएको हो ।
शिलान्यासपछि खोटाङ प्रदेशसभा (१)का सदस्य पाँचकर्ण राईले हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको बताउनुभयो ।
हलेसी आउने दर्शनार्थीको सुविधाका निम्ति मन्दिर परिसरमा नेपाल आयल निगम र हलेसी तुवाचुङ नगरपालिकाको लगानीमा अतिथिगृह निर्माणाधीन छ । निगमबाट रु दुई करोड प्राप्त भएपछि नगरपालिकाले आव २०७९/८० मा रु दुई करोड ९६ लाख बजेट विनियोजन गरिएको थियो ।
कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु
महेन्द्रनगर (कञ्चनपुर) I कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिनुभयो ।
शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट घाइते भएका छन् । घाइतेमध्ये एक जनाको धनगढी र अर्काको बेलौरी स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । दुवै शव परीक्षणका लागि बेलौरी स्वास्थ्य केन्द्रमा राखेको जनाएको छ ।
आज केही उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने
काठमाडौँ I हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ ।
विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा मौसम सफा रहने छ । कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हुरीबतासको सम्भावना छ ।
त्यसैगरी आज राति देशको पहाडी भागमा आंशिक देखि साधारणतया बदलीसम्म हुने तथा बाँकी भूभागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षा हुने सम्भावना छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ । मधेश
प्रदेश लगायत कोशी प्रदेशका तराईका केही स्थानमा हुरीबतासको सम्भावना छ ।
आगामी २४ घण्टामा कोशी प्रदेशका केही स्थानमा तथा बाँकी पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावनाका साथै मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हुरीको सम्भावना पनि रहेका जनाउँदै विभागले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
आज जापानका परराष्ट्रमन्त्री आउँदै
काठमाडौँ I जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै हुनुहुन्छ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा आउन लाग्नुभएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । आफ्ना नेपाली समकक्षी श्रेष्ठसँग उहाँले द्विपक्षीय हित र चासोका विविध विषयमाा विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
जापानको परराष्ट्रमन्त्री नियुक्त भएपछि उहाँको यो पहिलो नेपाल भ्रमण हो । जापान नेपालको समृद्धिका लागि निरन्तर सहयोग गर्ने मुलुकको सूचीमा अग्रस्थानमा छ । नेपाल र जापानबीचको सम्बन्ध सरकारी तहमा मात्र नभई जनस्तरमा पनि सुमधुर छ । हाल जापानमा एक लाख ६३ हजार नेपाली नागरिक अध्ययन, रोजगारी र व्यापार–व्यवसायको सिलसिलामा रहेका बताइएको छ ।
नेपाल–जापान सम्बन्ध
नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध सन् १९५६ सेप्टेम्बर १ मा स्थापना भएको हो । दुई देशबीचको सांस्कृतिक, सामाजिक, धार्मिक र जनस्तरको सम्बन्ध भने एक सय २५ वर्ष पुरानो हो । सन् १८९९ मै जापानका बौद्धभिक्षु इकाइ कावागुची बौद्ध ग्रन्थ र धर्मको अनुसन्धान गर्ने सिलसिलामा नेपाल आउनुभएको थियो ।
नेपालबाट सन् १९०२ मा आठ जना नेपाली विद्यार्थी उच्च शिक्षाका लागि जापान गएका थिए । जापान –नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको नौ वर्षपछि सन् १९६५ मा नेपालले टोकियोमा राजदूतावास स्थापना गरेर कूटनीतिक माध्यमबाट आपसी सम्बन्धलाई अझ घनीभूत बनायो । त्यसको तीन वर्षपछि जापानले नेपालमा राजदूतावास खोलेको हो । नेपालको शिक्षा, स्वास्थ्य, सञ्चार, कृषि, पूर्वाधार, ऊर्जा, नागरिक उड्डयनलगायत क्षेत्रमा सहयोग गर्दै आएको छ । सिन्धुली–बर्दिवास सडकदेखि नागढुङगा–सिस्नेखोला सुरुङमार्गमा पनि जापानले सहयोग गरेको छ । जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी भन्नुहुन्छ “नेपालको कुनै त्यस्तो क्षेत्र छैन, जहाँ जापानी सहयोगले नछोएको होस् । नेपालको आर्थिक –समाजिक विकासमा केन्द्रित भएर जापानले सहयोग गरिरहेको छ ।”
जापानी नागरिक नेपाल आएर यहाँको धर्म, संस्कृति, कला, सङ्गीत र प्रकृतिको अध्ययन गरिरहेको छन् भने केही नेपाली पनि जापानका विभिन्न क्षेत्रमा महत्वपूर्ण ओहोदामा रहेर काम गरिरहेका छन् । राष्ट्रिय ध्वजा वाहक विमान नेपाल एयरलाइन्सले जापानमा नियमित उडान गरेर भौगोलिक दू्री कम गर्दै सम्पर्क विस्तारमा सेतुको काम गरेको छ । दुई देशबीचको सम्बन्ध विस्तारमा जापानमा रहेको नेपाली समाजले महत्वपूर्ण भूमिका निर्वाह गरेका राजदूत सुवेदी बताउनुहुन्छ । जापानका परराष्ट्रमन्त्रीको यो भ्रमणले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ तुल्याउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
नेवारी र तामाङ भाषालाई बागमतीमा सरकारी कामकाजमा प्रयोग गरिने
मकवानपुर I बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले प्रदेशमा अब सरकारी कामकाजमा नेवारी र तामाङ भाषा पनि प्रयोग गरिने बताउनुभएको छ । उहाँले यही वैशाख २४ गतेबाट व्यावहारिक रूपमा प्रयोगमा ल्याइने बताउनुभयो ।
मन्त्री बज्राचार्यले आज संक्षिप्त कुराकानी गर्नुहुँदै वैशाख २४ गते बिहान ९ बजे काठमाडौँको वसन्तपुरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त दुवै भाषा सबै सरकारी कार्यालयमा प्रयोगमा ल्याइने कार्यक्रमको समुद्घाटन गर्नुहुने भएको जानकारी दिनुभयो ।
उहाँले काठमाडौँका वसन्तपुरबाट सोही दिनको बिहान ७ बजे विभिन्न वेषभूषा र झाँकीसहित ¥यालीले काठमाडौँ नगरको परिक्रममा गर्ने पनि उल्लेख गर्नुभयो । बागमती प्रदेश सरकारले प्रदेशमा नेवाः (नेपाल)-तामाङ भाषा सरकारी कामकाजको भाषा प्रयोगमा ल्याइएको खुसीयालीमा सो दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनीमन्त्री गङ्गानारायण श्रेष्ठले राससलाई बताउनुभयो ।
उक्त भाषा प्रयोगमा ल्याइएको खुसीयालीमा हुने कार्यक्रम भव्य रूपमा सम्पन्न गर्न संस्कृतिमन्त्री बज्राचार्यको अध्यक्षतामा तीन सय पाँच सदस्यीय आयोजक समिति निर्माण गरिएको छ ।
बागमती प्रदेशसभाको केही महिनाअघि बसेको बैठकले प्रदेशमा सरकारी कामकाजको भाषाको रूपमा नेवारी र तामाङ भाषाको विधेयक पारित गरिएको प्रदेश सभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।
नेकपा(एस)बाट महाधिवेशनबारे छ सय विदेशी सङ्गठनलाई पत्राचार
काठमाडौँ I नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले दलको आगामी दसौँ महाधिवेशनबारे विभिन्न देशका कम्युनिस्ट–सोसलिस्ट–लेबर पार्टीलगायत गरी करिब छ सय पार्टी निकट दल र सङ्गठनलाई जानकारी गराएको छ ।
पार्टी विदेश विभागको आज बजेको नवौँ बैठकमा बङ्गलादेश, इरान, कजाकस्तान रुस, फ्रान्स, रोमानिया, अस्ट्रेलिया आदि गरी २२ देशबाट प्रारम्भिक प्रतिक्रिया प्राप्त भइसकेको विवरण दिइयो ।
दलका सम्मानित नेता तथा विभाग प्रमुख झलनाथ खनालका अध्यक्षतामा आज दलको कार्यालय, आलोकनगरमा बसेको बैठकमा महाधिवेशनमा विदेशका साम्यवादी दल, वामपन्थी दल तथा प्रगतिशील सङ्गठनहरूलाई निमन्त्रणा गरिनेबारे पनि छलफल भएको जनाइएको छ । त्यस्तै महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनमा विश्व परिस्थितिको समग्र विश्लेषण, नेपालको परराष्ट्र नीति र त्यसमा जलवायु परिवर्तन तथा वातावरण सुरक्षाका विषय जस्ता नयाँ आयाम पनि समावेश गरिनेबारे छलफल भएको विभागका सचिव डा शङ्कर खतिवडाले जानकारी दिनुभयो ।
बैठकमा पूर्वप्रधानमन्त्री खनालले महाधिवेशनमा समाजवादी क्रान्ति र पूर्ण रूपान्तरणको कार्यक्रमसहित चार दस्तावेज आउने र सकेसम्म केन्द्रीय समितिको एकै प्रतिवेदन बन्ने बताउनुभयो ।
विभागका उपप्रमुख प्रमेश हमालले माक्र्सवादी–लेनिनवादी सिद्धान्तअनुरूप समाजवादी क्रान्ति र रूपान्तरणका दिशामा अगाडि बढ्ने पार्टीको कार्यक्रम रहेको स्पष्ट गर्नुभयो । उपमहासचिव डा विजयकुमार पौडेलले रुसी सेनामा भर्ना भएका नेपालीलाई फिर्ता गराउने, मृत्यु भएका परिवारलाई क्षतिपूर्ति दिनेलगायत माग राखी पीडितका तर्फबाट भइरहेको अनशनमा पार्टीको ध्यान पुग्नुपर्ने र छिट्टै सरकारसँग सहमति गराउन भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
दलको अधिवेशन आगामी असार १६ देखि २० गतेसम्म नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने छ । यसैबीच पार्टी स्थायी कमिटी बैठक यही वैशाख २६, पोलिटब्युरो बैठक यही वैशाख २७ र केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते बस्दै छ ।
तुम्लिङटार विमानस्थलमा बाह्र दिनदेखि उडान ठप्प
किमाथाङ्का (सङ्खुवासभा) Iसङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ । विमानस्थल तुवाँलोले ढाकेपछि १२ दिनदेखि उडान ठप्प भएको हो । वैशाख १० गतेपछि बाक्लो तुवाँलोले विमानस्थल वरपरको डाँडा ढाकेपछि हवाई सेवा अवरुद्ध भएको हो । मौसम प्रतिकूल भएपछि निजी कम्पनीका विमानले तुम्लिङटारमा उडान भर्न नसकेको बुद्ध एयरका राजीव पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार जनवरी यता ४४ पटक उडान रद्द भएको छ । तुम्लिङटार विमानस्थलमा उडान नभएपछि दैनिक ६५ भन्दा बढी यात्रु अलपत्र पर्ने गरेका छन् । उडान अवरुद्ध भएपछि सङ्खुवासभा, भोजपुर, धनकुटाका यात्रु प्रभावित भएका छन् । तुम्लिङटार विमानस्थल पहाडी तथा हिमाली जिल्लाको बढी यात्रु हुने विमानस्थलमध्ये एक हो ।
उडानका लागि कम्तीमा पाँच किलोमिटर भिजिबिलिटी आवश्यक पर्नेमा अहिले एक किलोमिटर मात्र भिजिबिलिटी रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । तुम्लिङटार विमानस्थलमा बुद्धको एटिआर–७२ ले दैनिक उडान भर्दै आएको थियो । धावनमार्गको स्तरोन्नति भएसँगै गत वर्षदेखि बुद्ध एयरको एटिआर ७२ सिटको जहाजले दैनिक उडान गर्न थालेको थियो । विश्वकै पाँचाँै अग्लो हिमाल मकालु, अरुण तेस्रो जलविद्युत् आयोजना, पर्यटकका लागि छोटो दूरीको उडानका कारण यहाँ यात्रुको भीडभाड हुने गर्छ ।
आँबुखैरेनीमा ‘नमुना युवा संसद्’ अभ्यास सुरु
दमौली (तनहुँ) I तनहुँको आँबुखैरेनी गाउँपालिकामा नमुना युवा संसद अभ्यास तथा नमूना गाउँ सभा प्रशिक्षण सुरु भएको छ । ‘समृद्ध नेपालका लागि स्वस्थ कर्मठ र उद्यमी युवा’ भन्ने मूल नाराका साथ युवाको हकहितको संरक्षण र सम्बर्द्धन गरी समुन्नत मुलुक निर्माण गर्ने उद्देश्यका साथ प्रशिक्षण सञ्चालन गरिएको हो ।
शुक्रबारदेखि सुरु भएको प्रशिक्षण चार दिनसम्म सञ्चालन हुने गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । उहाँले आँबुखैरेनीको विकासका लागि युवालाई सबल, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउँदै सार्थक सहभागिता सुनिश्चित गरी गाउँपालिकालाई आधुनिक, न्यायपूर्ण र समृद्ध बनाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले परिषद्को सशर्ततर्फको कार्यक्रमअन्तर्गत गाउँपालिकामा नमुना अभ्यास गराइएको बताउनुभयो । युवामा उद्यमशीलता र नेतृत्व विकास गरी देशको नेतृत्व लिन सक्ने जनशक्ति उत्पादनमा कार्यक्रमले सहयोग पुग्ने उहाँको भनाइ छ ।
प्रशिक्षणमा शिक्षा विकास तथा समन्वय इकाइका निमित्त इकाइ प्रमुख विश्वप्रकाश रेग्मी, राष्ट्रिय युवा परिषद्का पूर्वप्रमुख प्रशासकीय अधिकृत रमाकान्त शर्मा र अनुप घिमिरेले सहजीकरण गर्नुहुनेछ ।