सहिद भीमनारायण गोल्डकपमा तीन नयाँ अभ्यास
धनकुटा I आइतबार देखि धनकुटा सदरमुकामको तल्लो टुँडिखेलमा सुरु हुन गइरहेको सहिद भीमनारायण गोल्डकपको १६ औँ संस्करणमा आयोजकले तीन वटा नयाँ अभ्यास सुरु गर्ने भएको छ ।
आयोजक सहिद भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठानले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । सम्मेलनमा आयोजकले उक्त नयाँ अभ्यासका विषयमा जानकारी गराएको छ । अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप गर्दै आएको प्रतिष्ठानले यो पटकबाट अन्तर्राष्ट्रिय आमन्त्रण हटाएर गोल्ड कप मात्र राखेको छ ।
यसले नेपाल र स्थानीयस्तरका राम्रा क्लब र खेलाडीलाई प्रतियोगितामा सहभागी हुने प्रेरणा मिल्ने आयोजकको अपेक्षा छ । यसको अर्थ प्रतियोगितामा अन्तर्राष्ट्रिय टोलीलाई समावेश नगर्ने भन्ने नरहेको आयोजक समितिका संयोजक शम्भु प्रधानले स्पष्ट पार्नुभयो ।
“अन्तर्राष्ट्रिय भन्नेबित्तिकै यहाँका राम्रा क्लब र खेलाडी वञ्चित हुने जस्तो देखियो”, यहाँले भन्नुभयो, “प्रतियोगिता फ्लेक्जिबल बनाउन हामीले अन्तर्राष्ट्रिय आमन्त्रण हटाएका हौँ ।” त्यस्तै आफ्नो टिम मजबुत बनाउन आयोजक टोलीले यो पटकबाट टिममा आठ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी समावेश गर्ने भएको छ ।
खेललाई रोमाञ्चक र प्रतिस्पर्धात्मक बनाउन यसपटक खेलाडी समावेश गरिएको प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठले जानकारी दिनुभयो ।
दर्शकको गुनासो आएपछि १५औँ संस्करणसम्म सःशुल्क टिकटको व्यवस्था गरेको प्रतिष्ठानले यो पटकबाट निःशुल्क खेल हेर्ने व्यवस्था गरेको छ । धनकुटा नगरपालिकाको सहयोगमा निःशुल्क खेल हेर्ने व्यवस्था गरिएको प्रतिष्ठानकाका सचिव रोशन श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठले भन्नुभयो, “टिकट बेचेर प्याराफिट भरेरमात्र खेल सुरु गर्नुपर्ने हाम्रो बाध्यता र आमनागरिकको सुझावमा हामीले निःशुल्क खेल हेर्ने व्यवस्था गरेका हौँ ।” यस कार्यलाई आयोजकले नगर तथा जिल्लावासीको खेलप्रतिको धारणा बुझ्ने अवसरका रुपमा लिएको श्रेष्ठले बताउनुभयो ।
२९ गतेसम्म हुने प्रतियोगितामा एपिएफ क्लब काठमाडौँ, फोर स्टार क्लब मोरङ, त्रिभुवन आर्मी क्लब काठमाडौँ र विर्तामोड युनाइटेड क्लब झापा सहभागी हुनेछन् । यस्तै राष्ट्रिय जागृति क्लब सुनसरी, बुटवल लुम्बिनी क्लब आयोजक धनकुटा, सहलेस युथ क्लब सिराहा सहभागी हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताका विजेताले नगद रु पाँच लाख र उपविजेताले रु दुई लाख ५० हजारसहित ट्रफी मेडल, कप र प्रमाणपत्र प्राप्त गर्नेछन् । विसं २०५५ देखि सुरु प्रतियोगिता केही वर्षको स्थगनपछि २०६३ सालदेखि नियमित सञ्चालन हुँदै आएको छ ।
तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको आरोपमा भीमनारायण श्रेष्ठलाई २०३५ सालमा मृत्युदण्ड दिइएको थियो । सरकारले २०७४ सालमा सहिद घोषणा गरेको श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।
बिहीबार मन्त्रिपरिषद्ले गरेका निर्णयहरु सार्वजनिक गरिएको छ
काठमाडौँ I सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब रु १३ अर्ब ३३ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यही वैशाख २८ गते शुक्रबार दिउँसो २ बजे सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरिएको जानकारी दिइयो ।
यही वैशाख २५ गते भातरको नयाँ दिल्लीमा आयोजना हुने ‘रिजनल मिटिङ फर दी लन्च अफ दी रिजनल प्रोग्राम फर साउथ एसिया’ विषयक कार्यक्रममा महान्यायाधिवक्ताको कार्यालयका महान्यायाधिवक्ता डा दिनमणि पोखरेल र नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीलाई सहभागिताका लागि समेत स्वीकृति दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिम्बुवा खोला जलविद्युत् आयोजनाका लागि करिब १२.३६२ हेक्टर जग्गा प्राप्त गर्ने सम्बन्धी कारबाही चलाउने अधिकारी तोक्ने र भारतमा सञ्चालन भइरहेको आम निर्वाचनको अवलोकनका लागि यही वैशाख २२ देखि २७ गतेसम्म प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भारत भ्रमण स्वीकृत गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
सरकारले हाल चलनचल्तीमा रहेको रु एक सयका दरको बैङ्क नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नेपालको नयाँ नक्सा राखी रु एक सय दरको बैङ्क नोटको डिजाइन परिमार्जन गर्न स्वीकृति प्रदान गर्ने समेत मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । सरकारका प्रवक्ता शर्माले नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबीच न्यायिक सहयोगको क्षेत्रमा सम्पन्न हुने समझदारीपत्र स्वीकृत गर्ने र उक्त समझदारीपत्रमा हस्ताक्षर गर्न सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार वा रजिष्ट्रारलाई स्वीकृति दिने तथा नेपाल र स्पेनका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने सम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने तथा समकक्षीलाई हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
सरकारले समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समितिको अध्यक्ष पदमा उच्च अदालतका पूर्वन्यायाधीश श्रमणकुमार गौतमलाई नियुक्त गर्ने निर्णय गरेको छ । मालपोत कार्यालय, गौशाला र नापी कार्यालय गौशालाको कार्यक्षेत्रमा रहेको महोत्तरीको रामगोपालपुर नरपालिकालाई उक्त कार्यालको कार्यक्षेत्रबाट हटाई भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर महोत्तरी र नापी कार्यालय, जलेश्वर महोत्तरीको कार्यक्षेत्रमा कायम गर्न स्वीकृति दिने पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।
त्यसैगरी, सरकारले राष्ट्रिय सूचना प्रविधि विकास समिति (गठन) आदेश, २०५८ खारेज गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले लोक सेवा आयोग तथा बढुवा समितिको सिफारिसबमोजिम विभिन्न सेवा, समूह र उपसमूहका राजपत्राङ्कित द्वितीय श्रेणीका २१ अधिकृतलाई सम्बन्धित सेवा, समूह र उपसमूहको राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहको सहसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टलाई सो अदालतको कामकाज समेत गर्नेगरी काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन, २०४५ बमोजिमको पुनरावेदन समितिको अध्यक्ष तोक्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।
यस्तै नेपाल न्याय सेवा, राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिव उदयराज सापकोटालाई सत्यनिरुपण तथा मेलमिलाप आयोगको सचिव पदमा र सत्यनिरुपण तथा मेलमिलाप आयोगका सचिव फणिन्द्र गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव पदमा सरुवा गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ । बैठकले न्याय सेवातर्फका १२ सहसचिवको न्याय सेवा आयोगको सिफारिसबमोजिम विभिन्न निकायमा सरुवा गर्ने पनि निर्णय गरेको छ ।
बागलुङमा हरेक वर्ष सुन्तलाखेती प्रतिको आकर्षण बढ्दै
ढोरपाटन (बागलुङ) I पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ । हरेक वर्ष सुन्तलाखेती गर्ने क्षेत्रफल बढ्नुका साथै खेती गर्न सहज हुने भएकाले कृषकको आकर्षण बढ्दै गएको जिल्ला स्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।
बसाइँसराइले गाउँ रित्तिँदै गएपछि पहिले कोदो, मकै, गहुँलगायत अन्नबाली फल्ने बारीमा अहिले सुन्तलाखेती गर्न थालिएको छ । कम मेहनतमा राम्रो उत्पादन गर्न सकिने भएकाले कृषक सुन्तलाखेतीप्रति आकर्षित भएका केन्द्रका सूचना अधिकारी कुमार पुनले बताउनुभयो ।
कृषि ज्ञान केन्द्रका अनुसार विसं २०७६ मा पाँच सय ८५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भएकामा हालसम्म आउँदा उक्त क्षेक्रफल बढेर छ सय १८ हेक्टर पुगेको छ । चार वर्षको अवधिमा ३३ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती बिस्तार भएको छ ।
बागलुङमा सुन्तला उत्पादन राम्रो हुने र बजार पनि सहजरुपमा पाउने भएकाले खेती बिस्तार हुँदै गएको पुनको भनाइ छ । जिल्लामा काठेखोला गाउँपालिकाको बिहुँ, बागलुङ नगरपालिकाको सिगाना, तित्याङ, भकुण्डे, जैमिनी नगरपालिकाको बिनामारे र दमेकमा बढी सुन्तला उत्पादन हुने उहाँले जानकारी दिनुभयो ।
भौगोलिक बनावट र हावापानीअनुसार १० वटै पालिकामा धेरै वा थोरै सुन्तला उत्पादन हुने गरेको सूचना अधिकारी पुनले बताउनुभयो । अघिल्लो वर्षको तुलनामा यस वर्ष ४५ मेट्रिकटन सुन्तला उत्पादन कम भएको उहाँले जानकारी दिनुभयो ।
सूचना अधिकारी पुनका अनुसार अघिल्लो वर्ष जिल्लामा तीन हजार नौ ८५ मेट्रिक टन उत्पादन भएकामा यस वर्ष तीन हजार नौ ४० मेट्रिकटन मात्रै उत्पादन भएको छ । गत वर्ष रु २० करोड बढीको सुन्तला बिक्री भएकामा यस वर्ष रु १८ करोडको मात्रै उत्पादन भएको छ ।
बागलुङमा सुन्तला व्यवस्थापनमा किसानले ध्यान नदिँदा उत्पादनमा ह्रास आएको पुनले बताउनुभयो । कृषि ज्ञान केन्द्रले सुन्तला खेती गर्ने किसानलाई आवश्यक अनुदान सँगै बगैँचा व्यवस्थापन र प्राविधिक सहयोग गर्दै आएको उहाँको भनाइ छ । मल, जल र बगैँचा व्यवस्थापनम कृषकले ध्यान दिए बागलुङमा धेरै मात्रामा सुन्तला उत्पादन गर्न सकिने सूचना अधिकारी पुनले बताउनुभयो ।
“बागलुङमा सुन्तला उत्पादन राम्रो हुन्छ । यहाँका धेरै किसानले मेहनत पनि गर्नुभएको छ, तर यस वर्ष बगैँचा व्यवस्थापन सही तरिकाले नहुँदा उत्पादन घटेको छ । खेती बिस्तार भने तीव्ररुपमा भइरहेको छ”, उहाँले भन्नुभयो, “केन्द्रबाट कृषकलाई प्राविधिक सहयोग सहित अनुदान र तालिम प्रदान गर्दै आएका छौँ । पहिले खाद्यबाली खेती हुने बारीमा अहिले सुन्तला लगाउन थालेका छन् ।”
बागलुङ नगरपालिका–८ सिगानाका किसान अनन्तबहादुर खड्काले यस वर्ष रु छ लाखको सुन्तला बिक्री गरेको बताउनुभयो । बारीमा दुई सय बोट सुन्तला रहेको भन्दै आधाभन्दा बढीले उत्पादन दिन थालेको उहाँले जानकारी दिनुभयो । गत वर्षको तुलनामा यस वर्ष दुई प्रतिशतले मात्र उत्पादन बढेको उहाँको भनाइ छ ।
सिगानामा यो वर्ष करिब रु साढे दुई करोड भित्रिएको भन्दै खड्काले गाउँमा मात्रै ४० हजार सुन्तलाका बोट रहेका बताउनुभयो । “अन्य खेतीलाई जस्तो धेरै झन्झट गर्न नपर्ने, बेलाबेला गोडमेल र सिँचाइ गरे हुन्छ । उत्पादन राम्रो भयो भने आम्दानी पनि राम्रो हुन्छ, सुन्तलाखेती गरेपछि पछुताउनु भने पर्दैन”, उहाँले भन्नुभयो, “कहिलेकाहीँ विभिन्न रोग र सङ्क्रमणले दुःख दिने भएकाले कृषि केन्द्रसँग समन्वय गरी काम गर्नुपर्छ । पहिले गाउँका थोरै किसानले सुन्तलाखेती गर्नेमा अहिले प्रत्येक परिवार यसमा आबद्ध हुँदै गएका छन् ।”
बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
काठमाडौँ I आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले लामो समयदेखि कर तिर्न आलटाल गरेपछि काठमाडौँ महानगरपालिकाले ३५ दिनभित्र बुझाइसक्न पत्राचार गरेको छ । आरबी कम्प्लेक्सले अहिलेसम्मकै बहाल र सम्पत्ति कर तिरेको छैन । ‘पिपुल्स प्लाजा’ ले विगत तीन वर्षदेखि बहाल र सम्पत्ति कर नतिरेको कामपाको राजस्व विभागले जनाएको छ ।
कामपा राजस्व विभागका प्रमुख धु्रव काफ्लेका अनुसार लामो समयसम्म कर नतिरेपनि कामपाले ३५ दिनभित्र सबै बक्यौता रकम चुक्ता गर्न पत्राचार गरेको हो । यस विषयमा कामपाले केही दिनअघि स्थलगत अनुगमन गरी विवरण मागेको थियो । यसपछि टोलीले, कम्प्लेक्स सञ्चालकलाई सात दिनभित्र विवरण पेस गर्न र ३५ दिनभित्र वडा कार्यालयमा गएर बक्यौता तिर्न पत्राचार गरिएको प्रमुख काफ्लेले बताउनुभयो ।
लामो समयसम्म बक्यौता रकम तिर्न आलटल गरेपछि कामपाले पछिल्लो समय रकम चुक्ता गर्न निर्देशन गरेको छ । कामपा राजस्व विभागको ‘अनुगमन टोली परिचालन कार्यक्रम २०८०’ मा तीन प्रकारका राजस्व अनुगमन टोलीको व्यवस्था गरिएको छ । एउटा वडास्तरीय टोली छ, जसमा जनप्रतिनिधि, कर्मचारी, राजस्व विभागका कर्मचारी रहने व्यवस्था छ । अर्को टोलीमा केन्द्रमा राजस्व विभागस्तरको टोली रहने छ । यी दुवै टोलीले गरेका कामको अनुगमन गर्न प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा तेस्रो टोलीको व्यवस्था गरिएको छ ।
घर बहालमा आर्जन हुने आयको १० प्रतिशत बहाल कर स्थानीय सरकारलाई बुझाउनु पर्ने कानुनी व्यवस्था छ । आरबी कम्प्लेक्समा तीन सय १५ व्यवसायी र पिपुल्स प्लाजामा एक सय ६० व्यवसायी छन् । “यी व्यवसायीले व्यवसाय कर तिर्नुपर्छ । बहाल अङ्कमा लाग्ने बहाल कर स्थानीय सरकारलाई तिर्ने हो, बहाल आयमा लाग्ने कर सङ्घीय सरकारलाई तिर्नेे हो”, काफ्लेले प्रष्ट पार्नुभयो ।
कामपाले बहाल करलाई व्यवस्थित गर्न तथा बहाल लिने र दिनेबीचका सर्त व्यवस्थापन गर्न ‘बहाल व्यवस्था कार्यविधि’ जारी गरेको छ । यसबमोजिम कम्प्लेक्स सञ्चालकले व्यवसायीसँग सम्झौता गरेर आपसमा एक÷एक प्रति लिनुदिनु पर्छ । एक प्रति वडामा बुझाउनुपर्छ । कामपाका अनुसार लामो समयदेखि रु तीन अर्ब १९ करोड बक्यौता रकम असुल गर्नुपर्ने छ । अब नियमित अनुगमन गरी सबै बक्यौता रकम असुल गर्ने कामपाको तयारी छ ।
वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने
काठमाडौँ I वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको पाँचौँ तथा अन्तिम खेलमा नेपालले टस हारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा वेस्ट इन्डिजका कप्तान रोस्टन चेजले टस जितेर पहिले ब्याटिङको निर्णय लिएका छन् । योसँगै नेपालले पहिला बलिङ गर्नेछ ।
उक्त शृङ्खलामा वेस्ट इन्डिज ३–१ ले अगाडि रहेको छ । यसअघि भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजमाथि चार विकेटको जित निकालेको थियो भने त्यसयता लगातार तीन खेलमा नेपाल पराजित भएको छ । वेष्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले, तेस्रो खेलमा ७६ रनले र चौथो खेलमा २८ रनले पराजित गरेको थियो ।
आजको खेलमा नेपालले वेस्ट इन्डिजसको ए टोलीलाई हराउँदै प्रतियोगिताको अन्त्य गर्न चाहन्छ । नेपालले टोलीमा आज दुई खेलाडीलाई परिवर्तन गरिएको छ । गुल्सन झा र ललितनारायाण राजवंशी बेन्चमा रहँदा अनिकुमार साह र सागर ढकालले मौका पाएका छन् ।
नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, ललितनारायण राजवंशी, प्रतिश जिसी, गुल्सन झा, अभिनाश बोहरा र सन्दीप जोरा छन् ।
अत्यधिक गर्मीका कारण अस्पतालमा बिरामीको चाप बढ्दो
चितवन I गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । गर्मीका कारण ज्वरो, टाइफाइड, डेङ्गु, मलेरिया, भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन् । यहाँको सरकारी भरतपुर अस्पतालमा विगतमा आइतबार देखि मङ्गलबारसम्म दुई हजार हाराहारी र बुधबार देखि शुक्रबारसम्म एक हजार छ सय हाराहारी हुने बिरामी अहिले दैनिक दुई हजार देखि दुई हजार दुई सयसम्म पुग्ने गरेका छन् ।
अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार विगत एक साता देखि बिरामीको चाप बढ्न थालेको हो । मौसममा आएको परिवर्तनसँगै बिरामीको चाप बढ्दै गएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालमा आउने बिरामीको चाप व्यवस्थापन गर्न कठिन हुने स्थित आउन थाल्यो ।” अन्य समयको तुलनामा यो समयमा बिरामीको चाप सामान्य बढ्ने भए पनि अहिले सङ्ख्यात्मकरुपमा केही बढी देखिन थालेको छ ।
लामो समयसम्म वर्षा नहुदा विभिन्न किसिमका बिरामीको चाप बढेको छ । अस्पताल आउने बिरामीको चापलाई मध्यनजर गर्दै अस्पतालले आइतबार देखि टिकट काउन्टर थप गर्न लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बिरामीको चाप व्यवस्थापन गर्न टिकट काउन्टर दुई वटा थप्ने योजनामा अस्पताल रहेको छ ।”
नियमित अस्पताल आउने बाहेक अहिले भाइरल ज्वरो, टाइफाइड, डेङ्गु, मलेरिया, झाडापखाला लगायतका बढीमात्रामा छन् । उनीहरुलाई लक्षित गर्दै अस्पतालले नियमित जाँचका लागि आउने बिरामीको टिकट काउन्टर थप गर्न लागेको हो । बहिरङ्ग सेवामा आउने बिरामीको सङ्ख्या बढ्दो क्रममा छ ।
गत माघ देखिको तथ्याङ्क हेर्ने हो भने अस्पतालको बहिरङ्ग सेवामा उपचारका लागि आउने बिरामीको चाप बढ्दो क्रममा रहेको छ । माघमा ३२ हजार, फागुनमा ३४ हजार पाँच सय, चैतमा ३६ हजार दुई सय र वैशाख २० गते सम्म २४ हजार आठ सय बिरामीले सेवा लिएका छन् ।
अहिले जिल्लाको तापक्रम ४० डिग्री हाराहारीमा रहेको छ । उहाँले आमसर्वसाधारणलाई नियमित झोलिलो पदार्थ सेवन गर्न समेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “अहिलेको समयमा पानी, झोलिलो पदार्थ नियमित सेवन गरौँ ।” सामान्य समस्या देखिए चिकित्सकको परामर्शमा आउन समेत उहाँले आग्रह गर्नुभयो ।
अहिले अस्पतालले तीन वर्ष मुनिका र ज्येष्ठ नागरिकका लागि छुट्टै काउन्टर स्थापना गरेको छ । यो सँगै नियमित औषधि सेवन गर्ने बिरामीका लागि अस्पतालमा परार्मश कक्षको स्थापना गरी चिकित्सकले परामर्श दिँदै आएको उहाँले बताउनुभयो ।
चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले पछिल्ला दिनमा बिरामीको सङ्ख्या बढ्दै गएको बताउनुभयो । उहाँले चैतमा भन्दा वैशाख लागे सँगै बिरामीको सङ्ख्या बढ्दै गएको बताउनुभयो । गर्मी बढ्दै जाँदा बिरामीको सङ्ख्या अझै बढ्नसक्ने भन्दै उहाँले सर्वसाधारणलाई सचेतता अपनाउन आग्रह गर्नुभयो ।
आगलागीबाट घर नष्ट भएका चिम्टीका अग्निपीडितलाई राहत सामग्री प्रदान
राजविराज (सप्तरी) I आगलागीबाट घर नष्ट भएका चिम्टीका अग्निपीडितलाई यहाँस्थित नेपाल मुस्लिम समाज सेवालगायत विभिन्न सङ्घसंस्थाले राहत सामग्री प्रदान गरेका छन् ।
नेपाल मुस्लिम समाज सेवा सप्तरीका उपाध्यक्ष अफरोज आलमका अनुसार सप्तरीले महादेवा गाउँपालिका–१ चिम्टी टोलका अग्निपीडित ६२ परिवारलाई भाँडावर्तन लगायत सामग्री प्रदान गरिएको हो । नेपाल–भारतमैत्री सङ्घले पीडितलाई १० किलो चामल, दुई किलो दाल र नुन, एक किलो चिनी लुङ्गी, साडी, तन्ना, झुल, प्रदान गरेको छ । सप्तरी युथ नेपाल र नुर वेलफेयर सोसाइटीले नियमितरूपमा पीडितलाई भोजनको व्यवस्था गरेको छ । गत मङ्गलबार महादेवा गाउँपालिका–१ चिम्टीमा आगलागी हुँदा त्यहाँका ६२ परिवारका एक सय १४ वटा घर जलेका थिए ।
राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड
काठमाडौँ I आम जनता पार्टी पार्टीले राजस्व छल्नेविरुद्ध नौ महिना देखि ‘राजस्व उठाउँ, देशलाई बुझाउँ’ अभियान सञ्चालन गर्दैआएको छ ।
उक्त पार्टीले राजस्वको दुरुपयोग तथा सीमा क्षेत्रका जनताले ल्याएका दैनिक उपभोग्य सामान जफत नगर्न भन्सार विभाग देखि प्रधानमन्त्री कार्यालयसम्मका कर्मचारीको ध्यानाकर्षण गराइरहेको छ ।
पार्टी अध्यक्ष एवं सांसद प्रभु साहले मुलुक सञ्चालनको प्रमुख आम्दानीको स्रोत भन्सार राजस्व देशको समृद्धिका लागि सदुपयोग होस् भनी पार्टीले निरन्तर खबरदारी गर्दैआएको बताउनुभयो । उहाँले भन्नुभयो, “देश विकासका लागि राजस्वको ठूलो योगदान छ । राजस्व सङ्कलनका स्रोतमध्ये भन्सार मुख्य हो । हामी चाहन्छाँै भन्सारबाट उठेको राजस्व रकम सदुपयोग होस् । ”
उहाँका अनुसार, अवैध ढङ्गबाट सामान ओसारपोसार गर्ने क्रममा कुनै वस्तु बरामद भएमा भन्सार कानुनमा सुराकीलाई १५ प्रतिशत र समान जफत गरेर बुझाउनेलाई ३० प्रतिशत रकम दिने अभ्यास छ । ती सामान जफत गर्ने सरकारी कर्मचारी हुन् । त्यो उनीहरुको काम हो । उनीहरुलाई राज्यले तलब र भत्ता दिएको छ । “सुराकीलाई पुरस्कृत गरे पनि काममा खटाएका कर्मचारीलाई किन कमिसन ?” भन्सारबाट उठेको सतप्रतिशत रकम राज्य कोषमा दाखिला हुनुपर्नेमा जोड दिँदै अध्यक्ष साह प्रश्न गर्नुहुन्छ ।
कुराकानीको कममा उहाँले सरकारी खर्च पारदर्शी हुनुपर्ने, भन्सार छलीका सामान जफत गर्ने कर्मचारीको नाम सार्वजनिक गर्नुपर्ने, राजस्वबाट व्यक्ति मोटाउने र राज्य दुब्लाउने प्रवृत्ति बढेकामा चिन्ता व्यक्त गर्दै देश विकासका निम्ति त्यस्तो प्रवृत्ति अन्त्य हुनुपर्ने माग गर्नुभयो । उहाँले नेपाल–भारत खुला सिमानाका कारण हुनसक्ने अवैध ओपासपोसार रोक्न र भन्सार राजस्व वृद्धि गर्न अन्य स्थानमा पनि भन्सार कार्यालय खोल्न र भन्सार व्यवस्थापनलाई चुस्त तुल्याउनुपर्नेमा जोड दिनुभयो ।
“नेपाल–भारत सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकले देशको सीमा रक्षा गरिरहेका छन् । उनीहरुको मनोबल कमजोर तुल्याउन हुन्न । नेपाल र भारतबीच सदियौँदेखि रोटीबेटीको सम्बन्ध छ । भारतका बजारमा सुपथ मूल्यमा दैनिक उपभोग्य सामान पाइन्छन् । सीमा क्षेत्रका जनता किनमेल गर्न त्यहाँ जान्छन् । गरिबले किनेर ल्याएका सामान जफत गरी प्रहरी र कर्मचामरीबीच कमिसन बाँड्ने परिपाटी ठीक भएन । भारतबाट सामान ल्याउनेलाई कर तिर्न बाध्य बनाउनुपर्छ । राज्यले एउटा नागरिकको सम्पत्ति बिनाकारण खोस्ने र अर्कोलाई त्यसबापत कमिसन दिनु हुँदैन,”अध्यक्ष साह भन्नुहुन्छ ।
टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज
काठमाडौँ I नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको ट्वेन्टी–२० शृङ्खलाको अन्तिम खेल आज मध्याह्न कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुँदैछ । पाँच खेलको शृङ्खलामा एक खेल बाँकी हुँदा नै वेस्ट इण्डिजले शृङ्खलालाई आफ्नो पक्षमा पारिसकेको छ । नेपालसँगको चौथो खेलमा २८ रनको जित निकाल्दा वेस्ट इन्डिज ‘ए’ले शृङ्खला आफ्नो पक्षमा पारेको हो । चार खेल सकिँदा वेस्ट इण्डिजले तीन र नेपालले एक खेल जितेको छ । शृङ्खलाको पहिलो खेलमा नेपाल चार विकेटले विजयी हुँदा दोस्रो खेलमा १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो
गत बिहीबारको खेलमा वेस्ट इन्डिजले प्रस्तुत गरेको २१० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर खेले पनि १८१ रनमात्र बनाउन सकेको थियो । यो जितसँगै वेस्ट इन्डिजले ३–१ को अग्रतासहित शृङ्खला सुनिश्चित गरेको हो ।
सिम्रिक एयरले डढेलो निभाउन सघाउने प्रतिबद्धता
काठमाडौँ I निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका वनमा लागेको आगो निभागउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले आगो निभाउन सरकारले हेलिकप्टर माग गरेमा सहयोग गर्न कम्पनी तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “डढेलो नियन्त्रणका लागि हाम्रा हेलिकप्टर प्रयोग गर्न सकिन्छ ।”
आफ्नो कम्पनीका हेलिकप्टरमार्फत ‘बम्बी बकेट’ प्रणालीअनुसार जङ्गलमा लागेको आगो निभाउन सकिने बताउँदै उहाँले पाथिभरा, लुक्ला, तनहुँ, काठमाडौँको शिवपुरी, बालाजु औद्योगिक क्षेत्रलगायत स्थानमा आगलागी हुँदा सोही प्रणालीबाट आगो निभाइएको जानकारी दिनुभयो ।
कम्पनीले विगतमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत हेलिकप्टर प्रयोग गरी आगो निभाएको महाप्रबन्धक जोशीले बताउनुभयो । उहाँले देशका सबै पालिकालाई पानीको स्रोत व्यवस्थापन गर्न अुनरोध गर्नुभयो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार ५३ जिल्लाका चार सय ३६ वनमा डढेलो सल्केको थियो ।