बुधबार, १० भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01HWZC4W8AAR248W05DEJ5WV89.jpg

राजनीतिक नेतृत्वले काम गर्न खोज्दा कर्मचारीले सहयोग गर्नुपर्छः मन्त्री चौधरी

काठमाडौँ I  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले राजनीतिक नेतृत्वले काम गर्न खोज्दा कर्मचारीले सहयोग गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रियसभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले आज अयोाजना गरेको ‘लैङ्गिक उत्तरदायी बजेट तथा यौन तथा तथा प्रजनन स्वास्थ्य अधिकारको प्रवर्द्धनका लागि सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रम’ मा मन्त्री चौधरी त्यस्तो बताउनुभएको हो । 

लैङ्गिक उत्तरदायी बजेट निर्माण प्रक्रियाका सन्दर्भमा राजनीतिक नेताले केही काम गर्न खोजे पनि कर्मचारीतन्त्रबाट त्यति सहयोगप्राप्त नभएको उहाँको भनाइ छ । “हामी राजनीतिक नेताहरूले नेतृत्वमा हुँदा आशा जगाउने र नतिजा दिनेगरी काम गर्नुपर्छ भनेर योजना अगाडि बढाउँछौँ । पार्टी नेतृत्वले पनि सोहीअनुसार निर्देशित गर्नुहुन्छ तर कर्मचारीले भने नियम कानुन तेयाएर हुँदैन भन्नुहुन्छ र यसले समस्या भइरहेको छ”, मन्त्री चौधरीले भन्नुभयो । 

  त्यसैगरी उहाँले न्यून बजेट भएका कार्यक्रम कार्यान्वयन गर्नुको सट्टा अफ्ठ्यारोमा पार्ने काम भइरहेका भन्दै कर्मचारी र राजनीतिक नेतृत्वबीच तालमेलको अवस्था बनाउन जरूरी रहेको धारणा राख्नुभयो । “राज्यको स्थायी सरकार भनेको कर्मचारी प्रशासन नै हो । राजनीतिक नेतृत्व त आउने जाने भइरहन्छ । त्यसैले कर्मचारीबीच मिलेर काम गर्नुको विकल्प छैन”, मन्त्री चौधरीको भनाइ थियो

प्रकाशित मितिः शुक्रबार, २१ वैशाख २०८१
https://jawaaf.com/storage/01HWZB95GHEJB207BF5WF5MAAR.png

अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण

काठमाडौँ I नेपाल दूरसञ्चार प्राधिकरणले अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गर्ने सेवा प्रदायकलाई कारबाही गरिने जनाएको छ । प्राधिकणले आज एक विज्ञप्ति जारी गर्दै हिजो बिहीबार केही इन्टरनेट सेवा प्रदायकहरुको इन्टरनेट सेवा अवरुद्ध भएको सम्बन्धमा प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको र विद्यमान कानुनको उल्लङ्घन हुनेगरी अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरेमा कारबाही गरिने जनाएको हो ।

प्राधिकरणबाट गरिएको अनुगमन तथा निरीक्षणबाट केही सेवा प्रदायकको सेवा अवरुद्ध भएको पुष्टि भएको र तत्काल प्राधिकरणबाट लिइएको पहलकदमी तथा सरोकारवालाहरुबाट भएको सहयोग एवं समन्वयले केही समय भित्र नै इन्टरनेट सेवा पुनः सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ ।

     विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले ग्रामीण दूरसञ्चार विकास कोषको बक्यौता रकम नबुझाएका कारण सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र दूरसञ्चार प्राधिकरणले उनीहरुलाई विदेशी मुद्रा सहटी तथा भुक्तानी सिफारिस रोक्दै आएका छन् । यस्तो मुद्रा सहटी तथा भुक्तानी सुविधा नपाएका कारण ब्याण्डविथको शुल्क तिर्न नसकेको सेवा प्रदायकहरुको गुनासो छ । तर प्राधिकरणले भने ग्रामीण दूरसञ्चार विकास कोषको बक्यौता नतिरेसम्म मुद्रा सटही सुविधा दिन नमिल्ने स्पष्ट पारेको छ ।

“सेवा प्रदायकहरुले सेवा प्रदान गरे वापत दूरसञ्चार ऐन, २०५३ को दफा ३२ र दूरसञ्चार नियमावली, २०५४  को नियम २६ बमोजिम कूल वार्षिक आम्दानीमा चार प्रतिशत रोयल्टी र नेपाल दूरसञ्चार प्राधिकरण (ग्रामीण दूरसञ्चार विकास कोष) विनियमावली, २०६८ को विनियम ५(१) बमोजिम दुई प्रतिशत ग्रामीण दूरसञ्चार विकास कोष रकम बुझाउनुपर्ने व्यवस्था रहेकोमा धेरैजसो सेवा प्रदायकहरुले नियमानुसार तिर्नु बुझाउनुपर्ने रकम भुक्तान गरी निर्वाध रुपमा प्राधिकरणबाट विदेशी मुद्रा सिफारिस लगायतका सहजीकरणका सुविधा लिइरहेको अवस्था रहेको छ”, प्राधिकरणले भनेको छ, “तर सीमित सेवा प्रदायकहरुले वर्षौदेखि प्राधिकरणबाट बक्यौता भुक्तानीको लागि स्पष्ट गरी बारम्बार ताकेता गर्दा समेत नियमानुसार बुझाउनुपर्ने बाँकी बक्यौता रकम विभिन्न बहाना गरी हालसम्म भुक्तानी नभएको अवस्थामा दूरसञ्चार उपकरण आयात तथा विदेशी मुद्रा सटही सिफारिससम्बन्धी (कार्यविधि) विनियमावली, २०७६ को ४(घ) बमोजिम विदेशी मुद्रा सिफारिस गर्न मिल्ने देखिँदैन ।”

यो उक्त विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा दूरसञ्चार जस्तो अत्यावश्यक सेवा गैरजिम्मेवारीपूर्वक अवरुद्ध हुनुलाई स्वाभाविक रुपमा लिन सकिने पनि प्राधिकरणले स्पष्ट पारेको छ । साथै इन्टरनेट अत्यावश्यक सेवा भएकाले भरपर्दो एवं गुणस्तरीय सेवाको सुनिश्चितता गरी आम उपभोक्तालाई निर्वाध रुपमा सेवा उपलब्ध गराउन प्राधिकरणले सम्बन्धित सेवा प्रदायकलाई निर्देशन दिएको छ । यो निर्देशन पालना नभएमा दूरसञ्चार ऐन, २०५३ लगायत प्रचलित कानून बमोजिम हदैसम्मको कारबाही गरिने पनि प्राधिकरणले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, २१ वैशाख २०८१
https://jawaaf.com/storage/01HWYP3349F5X4RK5YVQ4JXJWW.jpg

पाकिस्तानमा बस दुर्घटना, २० को मृत्यु, २१ घाइते

गिलगिट (पाकिस्तान) I पाकिस्तान अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रु बस साँघुरो पहाडी सडकमा दुर्घटना भई खोलामा खस्दा कम्तीमा २० जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् । 

प्रहरीका अनुसार शुक्रबार बिहान ५ः३० बजे डायमरको काराकोरम राजमार्गको यशोखल क्षेत्रमा बस दुर्घटना भएको थियो ।  रावलपिन्डीबाट गिलगिटतर्फ गइरहेको बसमा  कम्तीमा ३८ जना  यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।  

दुर्घटनापछि दुर्घटनास्थलमा उद्धार टोली पठाइएको छ भने घाइते तथा शवलाई चिलासको अस्पतालमा लगिएको छ । स्वास्थ्य विभागका निर्देशकका अनुसार मृतकमा तीन जना महिला रहेको जियो न्युजले जनाएको छ ।

जियो न्यूजसँग कुरा गर्दै डायमरका उपायुक्त फयाज अहमदले कम्तीमा पाँच जना घाइते यात्रुको अवस्था गम्भीर रहेको र दुई जनालाई गिलगिट सहरमा सारिएको बताउनु भयो । अहमदले दुर्घटनाका पीडित परिवारसँग नियमित सम्पर्कमा रहेको जानकारी दिनु भएको छ । 
तिव्र गतिका कारण मोड लिने क्रममा बस दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । 

गिलगिट–बाल्टिस्तानका मुख्यमन्त्री हाजी गुलबर खानले घटनालाई लिएर शोक व्यक्त गर्नु भएको छ । उहाँले प्रशासन र उद्धारकर्ताहरूलाई घाइतेलाई तत्काल चिकित्सा सहायता प्रदान गर्न आदेश दिनु भएको छ । यसै गरी  गिलगिट–बाल्टिस्तान सरकारका प्रवक्ताले चिलास अस्पतालमा आपतकाल लागु गरिएको घोषणा समेत गर्नु भएको छ ।(रासस/एएनआई) 

प्रकाशित मितिः शुक्रबार, २१ वैशाख २०८१
https://jawaaf.com/storage/01HWYNN2PXWEVQN34TP6P233YG.jpg

अत्यधिक गर्मी बढेपछि हलेसी तुवाचुङ नगरपालिकाका विद्यालयमा बिहानी कक्षा सञ्चालन

खोटाङ I अत्यधिक गर्मी बढेपछि हलेसी तुवाचुङ नगरपालिकाका नौ वटा सामुदायिक विद्यालयमा बिहानी कक्षा सञ्चालन गरिनेभएको छ । दिउँसोको गर्मीका कारण विद्यार्थीलाई समस्या भएपछि नगर कार्यपालिकाको बैठकले कोशी किनारमा सञ्चालित नौवटा सामुदायिक विद्यालयमा बिहान ६ बजेदेखि ११ बजेसम्म पठनपाठन गर्ने-गराउने निर्णय गरेको हो ।

दूधकोशी र सुनकोशी किनारमा पर्ने वडा नं. १, २, ४, ५, ८, ९ र १० को एक-एकवटा तथा वडा नं ११ का दुईवटा विद्यालयको पठनपाठन समय परिवर्तन गरिएको नगरप्रमुख विमला राईले जानकारी दिनुभएको छ । 

“नौवटा विद्यालय कोशी किनारमा पर्छ । लामो समयको खडेरीका कारण गर्मी बढेसँगै ती विद्यालयहरुमा पठनपाठन प्रभावित भएको थियो”, उहाँले भन्नुभयो, “गर्मीका कारण पठनपाठनमा समस्या भएको खण्डमा अन्य विद्यालयको समय पनि क्रमशः परिवर्तन गरिनेछ । गर्मी प्रभावित क्षेत्रका अन्य विद्यालयको समय परिवर्तन गर्ने अधिकार सम्बन्धित विद्यालयको विद्यालय व्यवस्थापन समितिलाई दिने बिहीबार बसेको नगर कार्यपालिका बैठकबाटै निर्णय गरेका छौँ ।”

नगर कार्यपालिकाको आकस्मिक बैठकले गरेको निर्णय अनुसार कोशी किनारका नौँवटा सामुदायिक विद्यालयमा आइतबार देखि बिहानको समयमा कक्षा सञ्चालन गर्ने तयारी गरिएको विद्यालय प्रशासनले जनाएको छ । 

एघार वडा रहेको हलेसी तुवाचुङ नगरपालिकामा ९० वटा समुदायिक र चारवटा संस्थागत विद्यालय सञ्चालनमा छन् । सामुदायिक र संस्थागत गरी ९४ वटा विद्यालय सञ्चालनमा रहेको हलेसी तुवाचुङ नगरपालिकामा छ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । 

नगरपालिका क्षेत्रभित्र पर्ने कोशी किनारको तापक्रम दिउँसोको समयमा ४० डिग्री सेल्सियस भन्दा बढी हुने गरेको नगरपालिकाले जनाएको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकामा लामो समयको खडेरीका कारण अधिकांश क्षेत्रमा अहिले सम्म खेतीपाती समेत लगाइएको छैन । 

लेकाली क्षेत्रमा पर्ने अर्खौले, नवलपुर, राजापानीको माथिल्लो भागमा लगाइएको मकै, आलु लगायतका बाली समेत खडेरीले सुकेको पाइएको छ । 

लामो समयको खडेरीका कारण खेतीपाती गर्न नपाउँदा हलेसी तुवाचुङ नगरपालिकाका अधिकांश ठाउँमा बसोबास गर्दै आएका स्थानीय बासिन्दाहरु चिन्तित बनेका छन् । अकाशे पानीको भरमा खेतीपाती गर्दै आएका स्थानीय बासिन्दाहरु यस वर्ष समयमा पानी नपर्दा अर्को वर्ष भोकमरी हुनेमा चिन्तित बनेका हुन् । 

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने सुक्खाग्रस्त क्षेत्र हलेसीमा तीन वर्षअघि पनि खडेरीले समस्या भएको थियो । तत्कालीन समयमा नगर प्रमुख इवन राईको नेतृत्वमा सञ्चालित नगरपालिकाले नगरवासीलाई राहत समेत उपलब्ध गराएको थियो । 

सुक्खाग्रस्त क्षेत्र भएका कारण हिउँदको समयमा खेतीपातीको काम नहुँदा हलेसी नगरपालिकाका अधिकांश युवा ज्यालामजदुरी गर्न अन्यत्र जाने गरेका छन् । वर्षायाम शुरु भएपछि गाउँ फर्किएर खेतीपाती गर्दै आएका उनीहरु यस वर्ष अहिलेसम्म वर्षा नहुँदा आफ्नो गाउँ फर्किएका छैनन् ।

प्रकाशित मितिः शुक्रबार, २१ वैशाख २०८१
https://jawaaf.com/storage/01HWYGV326SANZTR3MBT9B4H11.webp

तोलामा रु एक हजार एकले घट्यो सुनको मूल्य

काठमाडौँ I स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार एक सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख ३६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३५ हजार चार सय निर्धारण भएको छ । 

यस्तै, तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ३५ हजार आठ सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३४ हजार सात सय ५० निर्धारण भएको छ । चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन । बिहीबार जस्तै आजका लागि भने चाँदीको मूल्य तोलामा रु एक हजार छ सय ४५ निर्धारण भएको छ ।

प्रकाशित मितिः शुक्रबार, २१ वैशाख २०८१
https://jawaaf.com/storage/01HWYARV94HY05W6HQAYR1EJB8.jpg

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

काठमाडौँ  I राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण पत्रकार सहित नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । 

निरङ्कुश शासनको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस जगत्ले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको तथ्य हामी सबैलाई विदित छ भन्दै राष्ट्रपतिले आज जारी गर्नुभएको शुभकामना सन्देशमा स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य शर्त भएको बताउनुभएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो भन्दै उहाँले नेपाली प्रेसले लोकतन्त्रका लागि भएका आन्दोलनहरूमा धेरै ठूलो योगदान गरेको बताउनुभएको छ । 

“प्रेस स्वतन्त्रता प्रेसको मात्र नभएर नागरिकहरूको सुसूचित हुन पाउने संवैधानिक हक कार्यान्वयन गर्न पनि उत्तिकै अनिवार्य हुन्छ । यसले शासन प्रणालीलाई पारदर्शी र उत्तरदायी बनाउन मद्दत पुग्नेछ भन्ने मलाई लाग्दछ । यो समग्र समाजको लोकतान्त्रीकरणको अभियानको एउटा महत्त्वपूर्ण पक्ष पनि हो भन्ने मलाई लाग्दछ”, राष्ट्रपति पौडेलले सन्देशमा भन्नुभएको छ । 

प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जाने तथा त्यसका लागि आवश्यक वातावरण निर्माण गर्नु हामी सबैको जिम्मेवारी भएको बताउँदै राष्ट्रपतिले नेपाली प्रेसको यही महत्त्वपूर्ण भूमिकाका कारण हाम्रो संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेको उल्लेख गर्नुभएको छ । 

सूचना सङ्कलनदेखि त्यसलाई प्रवाह गर्ने प्रक्रियासम्म निर्वाध रूपमा संलग्न हुन पाउनु नै सही अर्थमा प्रेस स्वतन्त्रता हो भन्दै उहाँले बहुलवादमा आधारित पत्रकारिताको अभ्यासले हरेक प्रकारका समाचारहरूमाथि सबै नागरिकको सहज पहुँच स्थापित गर्दछ र सञ्चारमाध्यमबाट सबै वर्ग–समुदायको आवाज मुखरित हुने बताउनुभएको छ । 

“समाजमा विभिन्न कालखण्डहरूमा अनेक खालका अफवाहहरू फैलन सक्छन् । यस्ता अफवाहले नागरिकलाई दिग्भ्रमित गर्ने र सही विचार निर्माण गर्नमा समस्यासमेत उत्पन्न गर्ने गर्दछन् । त्यस अवस्थामा स्वतन्त्र पत्रकारिताले सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गरी समाजमा सही र सत्य कुरा स्थापित गर्न अझ बढी मेहनत गर्नुपर्दछ भन्ने पनि म ठान्दछु”, सन्देशमा भनिएको छ । 

बढ्दो सामाजिक सञ्जालको प्रयोग र यसका माध्यमबाट प्रवाहित हुनसक्ने मिथ्या र भ्रामक सूचनाले नागरिकलाई दिग्भ्रमित पार्न सक्ने तथा व्यवस्थालाई कमजोर बनाउने चुनौती हाम्रोसामु रहेको वास्तविकता औँल्याउँदै राष्ट्रपति पौडेलले यस्ता चुनौती सामना गर्दै जनतालाई सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह गर्न आजको दिनले नेपाली प्रेस जगत्लाई थप ऊर्जा, हौसला र उत्प्रेरणा देओस् भन्ने कामना गर्नुभएको छ । 

“जनताको ठूलो त्याग, सङ्घर्ष र बलिदानबाट हामीले आज सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका छौँ । हाम्रो लामो राजनीतिक सङ्घर्ष पूरा भएर अब मुलुक आर्थिक रूपान्तरणमार्फत समृद्धिको बाटोमा अघि बढेको छ । मुलुकको यो आवश्यकतालाई ध्यानमा राखेर नेपाली प्रेस त्यसैतर्फ केन्द्रित हुँदै जानेछ भन्ने अपेक्षा गरेको छु”, सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ । 

युनेस्कोले तय गरेको ‘पृथ्वीका लागि प्रेसः वातावरणीय सङ्कटको युगमा पत्रकारिता’ नाराले वातावरणीय सङ्कट निवारणमा प्रेसको भूमिका अपेक्षा गरेको देखिन्छ भन्दै राष्ट्रपति पौडेलले जलवायु परिवर्तनले पारेको असरको समीक्षा गर्दै त्यसबाट नागरिकलाई सचेत बनाएर यो सङ्कट निवारणमा सबैको भूमिकाको खोजी गर्न यो नाराले प्रेरित गर्ने विश्वास सन्देशमा व्यक्त गर्नुभएको छ । 

नेपाली सञ्चारजगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ भन्ने पूर्ण विश्वासका साथ राज्यका तीनवटै अङ्गलाई सजग र सतर्कतापूर्वक कार्यसम्पादन गर्न र आमनागरिकलाई सत्य सूचना सम्प्रेषण गर्न प्रेस जगतलाई  सफलता प्राप्त होस् भन्ने शुभकामना राष्ट्रपतिले व्यक्त गर्नुभएको छ । 

प्रकाशित मितिः शुक्रबार, २१ वैशाख २०८१
https://jawaaf.com/storage/01HWY5JCB74XJ7XXPHQ4MQKZW1.jpg

नेकपा (एस) चितवनको अध्यक्षमा कन्दङ्गवा

चितवन I नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को १०औँ जिल्ला अधिवेशनले नरेन्द्रकुमार कन्दङ्गवाको अध्यक्षतामा ६१ सदस्यीय  नयाँ कार्यसमिति चयन गरेको छ । पार्टीको बुधबार देखि सुरु भएको अधिवेशनले बिहीबार राति नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा ईश्वरी लामिछाने र गङ्गालाल लामा, सचिवमा हेमन्त कँडेल निर्विरोध निर्वाचित हुनुभएको छ । अधिवेशनको बुधबार पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्नुभएको थियो ।

प्रकाशित मितिः शुक्रबार, २१ वैशाख २०८१
https://jawaaf.com/storage/01HWY4EZ15AMK0QGSQNXNGPJN3.jpg

नेपाल पठाइयो हराएका शताब्दीऔँ पुराना मूर्तिहरु

वासिङ्टन, डिसी I यहाँस्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल पठाएको छ । अमेरिकी नागरिक सुसन व्राडफोर्डले सङ्कलन गर्नुभएको ती सामग्री हालै हवाइ टापुमा हस्तान्तरण गरिएको थियो । 

दूतावासका कर्मचारीलाई हस्तान्तरण गरिएका ती सामग्री  पुरातत्व विभागसँगको समन्वयमा बिहीबार हवाइबाट नेपाल पठाइएको हो । तेह्रौ सत्रौँ र अठारौँ शताब्दीका  मूर्ति स्वदेश पठाइएको दूतावासले जनाएको छ । ती मूर्तिकला धातु, काठ, ढुङ्गा र हड्डीबाट बनेका हुन् ।

“हामीहरूले नेपालबाट हराएका धेरै धार्मिक, सांस्कृतिक महत्वका वस्तुहरूलाई खोजीनीति गरेर नेपाल फिर्ता पठाउन पहल गरिरहेका छौँ, यसपटक भने अमेरिकी नागरिक सुसनले आफैँ हामीहरूलाई सम्पर्क गरेर यो प्रक्रिया पूरा भएको छ”, दूतावासका द्वितीय सचिव उत्तम घिमिरेले रासससँग कुरा गर्दै भन्नुभयो । मूर्ति लिन उहाँलाई हवाइ पठाइएको थियो ।  पुग्नुभएको थियो । ती मूर्ति हराएका स्थानमा प्रतिस्थापन गरिने पुरातत्व विभागले तयारी गरेको उहाँले बताउनुभयो ।

नेपाल–अमेरिका समन्वयमा हवाइबाट पठाइएका मूर्तिहरूमा ढलोटको कालाकुवेर मूर्ति, विश्वरुपको मूर्ति, महिषासुरमर्दिनीको मूर्ति, मोक्षदा भनिएको महामञ्जुश्री शक्तिको मूर्ति, ढलोटको विघ्नान्तक भैरवको मूर्ति, तामाको प्रज्ञापारमिताको मूर्ति, ढलोटको किन्नरीको मूर्ति, काठको  बाराहीको मूर्ति र चमुण्डाको शिर, प्रस्तरको सरस्वतीको मूर्ति छन् ।  ।

यसैगरी अरु मूर्तिहरूमा प्रस्तरको मञ्जुश्री शक्ति, प्रस्तर अगस्थमुनिको मूर्ति, हस्तलिखित ग्रन्थ, र कुवेरका मूर्तिहरू, तामाको कालियन्त्र, हाडको सीतापाती यन्त्र, काठको फुर्वा, फलामको ताल्चा, ढलोटको सिन्हमु, फलामको त्रिशूल छन् । दूतावासले एक वर्षको अवधिमा ६३ वटा विभिन्न मूर्तिकला तथा वास्तुकलाका सामग्री नेपाल पठाएको छ । 

प्रकाशित मितिः शुक्रबार, २१ वैशाख २०८१
https://jawaaf.com/storage/01HWXZYWEGJC1HB0DEH3Q4TYSX.jpg

विश्व प्रेस स्वतन्त्रता दिवस आज

काठमाडौँ I आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपाल सहित विश्वभर मनाइदै छ । 

स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाइने गरेको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरुको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो । 

जनताको सधैँ सबै प्रकारका सूचनामा पहुँच हुनुपर्छ र पत्रकारहरूलाई आफ्नो काम गर्न सुरक्षित वातावरण सुजनामा सरकारले सहयोग गर्नुपर्छ भन्ने बुझाउन पनि यो दिवस मनाउन थालिएको हो ।  यो दिवसले सत्य सम्प्रेषण गर्ने र प्रेस स्वतन्त्रताको सदैव सम्मानको सुनिश्चिततालाई केन्द्रमा राखेको छ ।  यसै अवसरमा युनेस्कोको आयोजनामा चिलीको राजधानी सान्टियागोमा सम्मेलन भइरहेको छ । 

प्रकाशित मितिः शुक्रबार, २१ वैशाख २०८१
https://jawaaf.com/storage/01HWWD170FQ9YMTSTG5WBFM1MC.jpg

विश्वासको मत नलिए नयाँ सरकार निर्माणको प्रक्रिया सुरु हुन्छः सचेतक भण्डारी

विराटनगर I कोसी प्रदेशसभा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले कोसी प्रदेशसभामा बहुमतले पारित सङ्कल्प प्रस्तावमा कोसी प्रदेशका मुख्य न्यायाधिवक्ताले गरेको टिप्पणी र पेस गरेको रायले प्रदेशसभाको विशेषाधिकारको हनन भएको बताउनुभएको छ ।

सङ्कल्प प्रस्तावप्रति मुख्य न्यायाधिवक्ताले मुख्यमन्त्री केदार कार्कीका तर्फबाट पेस गरेको राय नेपालको संविधानको धारा १८७ को उपधारा २ बमोजिमसभाको विशेषाधिकार हनन भएको उहाँको दाबी छ । 

कोसी प्रदेशसभा सचिवालयको सभाहलमा संसदीय पत्रकार मञ्चसँग आज भएको भेटघाटमा उहाँले भन्नुभयो, “गत चैत २६ गते नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले दलगत दिएको विश्वासको मत फिर्ता लिइसकेपछि वैशाख ३ गते कोसी प्रदेशसभामा दर्ता भएको सङ्कल्प प्रस्ताव वैशाख ७ गते बहुमतले पारित भएपछि उहाँले विश्वासको मत लिनुपर्ने नभए मार्ग प्रशस्त गर्नुपर्ने हाम्रो ठहर हो ।”

सभामुख अम्बरबहादुर विष्टले पनि ३० दिनभित्र विश्वासको मत लिन दिनुभएको निर्देशन नमान्नु पनि न्यायोचित नभएको उहाँको भनाइ छ । उहाँले मुख्यमन्त्री कार्कीले आगामी वैशाख २५ गतेभित्र विश्वासको मत नलिएमा नयाँ सरकार बन्ने प्रक्रिया सुरु हुने धारणा राख्नुभयो ।

प्रकाशित मितिः बिहिबार, २० वैशाख २०८१