अन्तर्राष्ट्रिय टी–२० : नेपालले मलेसियामाथि जित
काठमाडौं । अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपालले मलेसियामाथि जित हासिल गरेको छ ।
शनिबार मलेसियाको बायुमास ओभलमा सुरुमा ब्याटिङ गरेको घरेलु टिम मलेसियामाथि नेपालले ६ विकेटको जित निकालेको हो ।
पाँच खेलको अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपाल विजयी भएसँगै सिरिजमा १–१ को बराबरी भएको छ ।
मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा चार विकेटको क्षतिमा ९३ रन बनाउँदै पूरा गरेको थियो । नेपालको जितमा पूजा महतोले ३९ बलको सामना गर्दै ३९ रन जोड्न सफल भइन् । कप्तान इन्दु बर्माले २१ बलमा २७ रन जोडिन्। ओपनर आइना हमिजाले अविजित अर्शतक बनाइन् । ६३ बलको सामना गर्दै उनले ५० रन बनाएन सफल भइन् ।
नेपालको जितका लागि समु विष्टले दुई विकेट हात पार्दा कविता कुँवरले एक विकेट लिइन् ।
बिहीबार भएको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो । पहिलो खेलमा १०५ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा पाँच विकेट गुमाउँदै १०१ रनमा समेटिँदा तीन रनले पराजित भएको हो ।
टी–२० विश्वकप छनोट : सन्दिप लामिछानेसहितको टोली घोषणा
काठमाडौं । ओमानमा हुने टी–२० विश्वकप छनोटका लागि नेपाली क्रिकेटको अन्तिम टोली घोषणा गरिएको छ। धेरैको चासोमा रहेका सन्दिप लामिछाने पनि टीममा समावेश भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो। टोलीका मुख्य प्रशिक्षक स्टुआर्ट लले यसअघि वेस्ट इन्डिजसँगको सिरिजमा रहेका साहब आलमलाई बाहिर राख्दै १५ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन्।
यूएईमा भएको वेस्ट इन्डिजसँगको तीन खेलको टी(२० सिरिजमा अनुशासनको कारबाही भोगेका सन्दीप लामिछाने पनि अन्तिम टोलीमा समेटिएका छन्।
छनोट खेल्न नेपाली टोली ओमान पुगिसकेको छ भने छनोट अक्टोबर ८ मा सुरु हुँदैछ।
टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, आशिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, कुशल मल्ल, नन्दन यादव, मोहम्मद आदिल आलम, सन्दीप जोरा, आरिफ शेख, ललित राजवंशी, गुल्सन झा र लोकेश बम छन् ।
वेस्ट इण्डिजविरुद्धको सिरिजमा नेपाल च्याम्पियन
काठमाडौं । दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँगको टी–२० सिरिज नेपालले जितेको छ । तीन खेलको सिरिज नेपालले २–१ ले जितेको हो ।
सुरुका दुई खेलमा लगातार विजयी भएर सिरिज कब्जा गरेको नेपाल फाइनलमा भने वेस्ट इन्डिजसँग १० विकेटले पराजित भयो ।
पसयुक्त अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट मैदानमा भएको फाइनलको सुरुमा ब्याटिङ गरेको नेपालले १९ ओभर ५ बलमा सबै विकेट गुमाएर १२२ रन जोडेको थियो । उक्त लक्ष्य वेस्ट इन्डिजले बिना कुनै विकेटको क्षतिमा १२ ओभरमै लक्ष्य भेट्टाएको हो । तीन खेलको उक्त सिरिजमा वेस्ट इण्डिजको यो पहिलो जित हो ।
नेपालले पहिलो खेलमा वेष्ट इण्डिजलाई १९ रन र दोस्रो खेलमा ९० रनले पराजित गरेको थियो ।
वेस्ट इन्डिज र नेपालबीचको अन्तिम खेल आज हुँदै
काठमाडौं । दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिज र नेपालबीचको टी– २० सिरिज युनिटी कपअन्तर्गत अन्तिम खेल आज हुँदैछ । खेल आज राति सवा ८ बजे यूएईस्थित शाहजाह क्रिकेट स्टेडियममा हुनेछ ।
नेपालले सिरिजको उपाधि जितिसकेको छ । लगातार दुई खेलमा शान्दार जित दर्ता गर्दै उपाधि जितिसकेको नेपाललाई आज सिरिज ‘क्लिन स्विप’ गर्ने मौका रहेको छ ।
टी– २० विश्वकप छनोटको तयारीमा रहेको नेपालले पहिलोपटक टेस्ट राष्ट्रसँग सिरिज खेलको हो ।
नेपालले जित्यो ऐतिहासिक सिरिजको उपाधि
काठमाडौं । लगातार दुई खेल जित्दै नेपालले टेस्ट राष्ट्र वेस्ट इण्डिजसँगको युनिटी कप सिरिजको उपाधि हासिल गरेको छ । तीन खेल सम्मिलिन टी२० आई सिरिजको उपाधि नेपालले एक खेलअगावै जितेको हो ।
सोमबार यूएईको शारजाहमा भएको दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनको विशाल अन्तरले पारजित ग¥यो । त्यसअघि शनिबार भएको खेलमा पनि नेपाल १९ रनले विजयी भएको थियो ।
सोमबार टस जितेर नेपालले पहिलो ब्याटिङ गरेको थियो । नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७३ रन जोडेको थियो । नेपालका लागि ओपनर आशिफ शेखले अर्धशतकीय अविजित पारी खेले । ४७ बलको सामना गरेका उनले ८ चौका र २ छक्काको मद्दतमा ६८ रन बनाए ।
त्यसैगरी, सन्दिप जोराले पनि उत्कृष्ट ब्याटिङ गरे । ३९ बलको सामना गरेका उनले ३ चौका र ५ छक्का प्रहार गर्दै ६३ रन बनाए । त्यसबाहेक मोहम्मद आदिल आलमले ११ रन जोडेपनि अरु ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
धारिलो नेपाली बलिङसामु १७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले पूरै २० ओभर पनि खेल्न सकेन । उसले १७ ओभर १ बलमा सबै विकेट गुमाउँदा केबल ८३ रन मात्र बनाउन सक्यो ।
त्यस्तै, ब्याटिङमा चल्न नसकेका आपनर कुशल भुर्तेलले पनि तीन विकेट लिए । केबल २.१ ओभर बलिङ गरेका उनले १६ रन खर्चिए ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी, करण केसी र ललीत राजवंशीले समान एक विकेट लिए । अब नेपालले मंगलबार सिरिजको तेस्रो तथा अन्तिम खेल शारजहामै खेल्नेछ ।
नेपालले आज वेस्ट इन्डिजसँगको दोस्रो भिडन्त गर्दै
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज विश्व विजेता वेस्ट इन्डिजसँग दोस्रो खेल खेल्दैछ ।
नेपाली समय अनुसार राति ८ः१५ मा सुरु हुने यो भिडन्त यूएईको दुवइस्थित सारजहा क्रिकेट मैदानमा हुनेछ ।
टी–२० सिरिज अन्तर्गत शनिबार भएको पहिलो खेलमा १९ रनको ऐतिहासिक जित निकालेको नेपाल आज उत्साहका साथ मैदानमा हुनेछ ।
नेपाल र वेस्ट इन्डिजविरुद्धको सिरिजको फाइनल खेल मंगलबार हुँदैछ ।
वेस्ट इन्डिजविरुद्ध खेल्ने नेपाली खेलाडी रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम छन् ।
भारतले उचाल्यो एसिया कपको उपाधि
काठमाडौं । एसिया कपको उपाधि भारतले उचालेको छ । गएराति यूएईमा भएको फाइनल भिडन्तमा भारतले पाँच विकेटको जित निकाल्दै उपाधि उचालेको हो ।
टस जितेर सुरुमा फिल्डिङ गरेको भारतलाई पाकिस्तानले १४७ रनको लक्ष्य दिएको थियो । भारतले १९ ओभर चार बलमा पाँच विकेटको क्षतिमा १५० रन बनाउँदै उक्त लक्ष्य पूरा गरेको हो ।
आक्रामक सुरुवात गरेको पाकिस्तानको पछिल्लोक्रम सम्हालिएर खेल्न नसक्दा उपाधि गुमाएको हो । पाकिस्ताने १९ ओभर एक बलमा सबै विकेट गुमाएर १४६ रन बनाएको थियो ।
१४७ रनको लक्ष्य पछ्याएको भारतका लागि तिलक बर्माले अर्धशतकीय इनिङ खेले । ५३ बलको सामना गरेका उनले नटआउट ६९ रन बनाएका हुन् ।
वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक जित
काठमाडौं । नेपालले वेस्ट इन्डिजसँगको पहिलो टी–२० आई खेलमा ऐतिहासिक जित हासिल गरेको छ । शनिबार राति भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराउँदै ऐतिहासिक जित हासिल सफल भएको हो ।
नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो । नविन विदायसीले सर्वाधिक २२ रन बनाएका थिए भने अमिर जाङ्गो र किएसी कार्टीले समान १९ रन जोडेका दिए ।
नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा १७ रन दिएर २ विकेट लिए। त्यस्तै कप्तान रोहित पौडेल, करण केसी, दिपेन्द्रसिंह ऐरी र नन्दन यादवले एक÷एक विकेट लिए ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १४८ रन बनाएको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ३५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बनाए । कुशल मल्लले २१ बलमा २ चौका र २ छक्कासहित ३० रन बनाए । गुल्शन झाले २२ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए ।
ऐतिहासिक टी–२० सिरिजको पहिलो खेलमा नेपाल र वेस्ट इन्डिज भिड्दै
काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीचको आज ऐतिहासिक टी–२० सिरिजको पहिलो खेल हुँदैछ । शनिबार हुन लागेको खेल नेपाली राष्ट्रिय क्रिकेट टिम र विश्व विजेता वेस्ट इन्डिजबीचको खेल यूएईको दुवइस्थित सारजहा क्रिकेट मैदानमा साँझ ८ः१५ बजे सुरु हुने तय भएको छ ।
वेस्ट इन्डिजविरुद्धको यो सिरिज खेल्ने नेपाली टिममा साहब आलम र सन्दीप जोरासमेत समेटिएका छन् । नेपाल र वेस्ट इन्डिजको सिरिजका अन्य दुई खेल असोज १३ र १४ गते हुनेछन् ।
वेस्ट इन्डिजसँग तीन खेल खेलिसकेपछि नेपाली टोली उतैबाट ओमान प्रस्थान गर्ने क्यानले जनाएको छ । ओमानमा अर्को सातादेखि आईसीसी टी–२० एसिया कप क्षेत्रीय छनोट हुँदैछ ।
वेस्ट इन्डिजविरुद्ध खेल्ने नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम रहेका छन् ।
बंगलादेशलाई हराउँदै पाकिस्तान एसिया कपको फाइनलमा, भारतसँग तेस्रो भिडन्त
काठमाडौं । पाकिस्तान एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको सुपर फोर चरणको खेलमा बंगलादेशलाई ११ रनले पराजित गर्दै पाकिस्तानले फाइनलमा भारतसँगको तेस्रो भिडन्त पक्का गरेको हो ।
पहिले ब्याटिङ गर्दै पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३५ रन बनायो । जवाफमा बंगलादेशले २० ओभरमा ९ विकेट गुमाउँदै १२४ रन मात्र बनाउन सक्यो ल।
पाकिस्तानका लागि मोहम्मद हारिसले सर्वाधिक ३१ रन बनाए भने मोहम्मद नवाजले २५ रन जोडे । सलमान आघा र शाहीन अफ्रिदीले समान १९–१९ रन बनाएका थिए । फहीम अशरफ १४ रनमा अविजित रहे भने फखर जमानले १३ रन बनाए ।
बलिङतर्फ बंगलादेशका तास्किन अहमदले सर्वाधिक ३ विकेट लिए । मेहदी हसन र रिशाद होसेनले २–२ विकेट लिँदा मुस्तफिजुर रहमानले १ विकेट लिए ।
लक्ष्य पछ्याउन उत्रिएको बंगलादेशको सुरुवात राम्रो भएन । शमिम होसेनले सर्वाधिक ३० रन बनाए । सेफ हसनले १८, नुरुल हसन सोहन र रिशाद होसेनले समान १६–१६ रन बनाए । अन्य ब्याटर उल्लेखनीय प्रदर्शन गर्न असफल रहे ।
अब पाकिस्तान फाइनलमा भारतसँग तेस्रो पटक भिड्नेछ । यसअघि भएका दुवै खेलमा भारत विजयी भएको थियो । तेस्रो भेटमा पाकिस्तानसँग उपाधि जित्दै बदला लिने अवसर रहेको छ ।

