एएफसी यू–२३ एसियन कप छनोट : पहिलो खेलमा नेपाल ताजकिस्तानसँग पराजित
काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल ताजकिस्तानसँग पराजित भएको छ । बुधबार राति ताजकिस्तानको दुसान्बेस्थित पामिर रङ्गशालामा भएको समूह ‘के’ को खेलमा नेपाल आयोजक टोली ताजकिस्तानसँग ४–० गोलअन्तरले पराजित भएको हो।
ताजकिस्तानका लागि अजिजबोएभ मुहम्मादालीले दुई गोल गरे भने रहमात्सोह रमात्जोदा र देलर सारिपोभले समान एक–एक गोल गरेका थिए । समूह ‘के’ को अर्को खेलमा सिरियाले फिलिपिन्सलाई २–१ गोलअन्तरले हराएको थियो। नेपालले अब आफ्नो दोस्रो खेल आगामी शनिबार सिरियासँग खेल्नेछ ।
एएफसी यू –२३ एसियन कप छनोट आजदेखि सुरु, नेपाल ताजाकिस्तानसँग खेल्दै
काठमाडौं । एएफसी यू –२३ एसियन कप छनोट आजदेखि सुरु भएको छ । बुधबार ताजकिस्तानको दुसान्बेस्थित पामीर स्टेडियममा नेपालले घरेलु टिम ताजाकिस्तानसँग पहिलो खेल खेल्दैछ ।
नेपाल र ताजकिस्तान बीचको खेल नेपाली समयअनुसार साँझ ८ः१५ बजे सुरु हुनेछ । समूह ‘के’ मा रहेको नेपालले ताजिकिस्तान, फिलिपिन्स र सिरियासँग खेल्नेछ । सेप्टेम्बर ६ मा सिरिया र सेप्टेम्बर ९ मा फिलिपिन्ससँग खेल्नेछ ।
टोलीका प्रमुख प्रशिक्षक नवीन न्यौपाने हुन् भने टोलीमा गोलकिपर क्रिसल मोक्तान, अमित टमाटा, विशाल केसी रहेका छन् । डिफेन्डरमा विवेक गुरुङ, विशाल नेपाली, लहान सुब्बा, निग्मा लामा, राम थापा, शंकर थारु, सीमान्त थापा छन् ।
मिडफिल्डरमा आयुष घलान(कप्तान), अभिषेक स्यान्तान,एरोन थापा, निरज कार्की, दिपेश गुरुङ, कृतिस रत्न छुन्जु, पुजन थापा, संजीव लामा, सन्तोष खत्री, सुजन मगर, सुमित श्रेष्ठ रहेका छन् । फर्वाड निराजन धामी र रोहन खड्की हुन् । एसटीएमको कप्तानी राष्ट्रिय टिमका सबै सदस्य रहिसकेका आयुष घलानले गर्नेछन् ।
असाम प्रदेशसँग जारी टी–२० सिरिजमा आज नेपाल ‘ए’ चौथो प्रतिस्पर्धा गर्दै
काठमाडौं । भारतको असाम प्रदेशसँग जारी टी–२० सिरिजमा आज नेपाल ‘ए’ टिमले चौथो प्रतिस्पर्धा गर्ने भएको छ ।
तीन खेल खेलिसकेको नेपालले एक खेलमा हार व्यहोर्दै लगातार दुई खेलमा विजयी भएको छ ।
आइतबार चौथो खेल साँझ ५ बजे खेल्दै छ । यो खेलको आसामसँगको पाँचौ अर्थात् अन्तिम भिडन्त सोमबार हुँदैछ।
क्यानले घोषणा गरेको टिममा कप्तान अनिलकुमार साहसँगै अदिल आलम, पवन सर्राफ, सन्दीप जोरा, शुभ कंशाकार, ईशान पाण्डे, देव खनाल, विवेककुमार यादव, कमलसिंह ऐरी, बसिर अहमद, आकाश चन्द, सागर ढकाल, अर्जुन घर्तीमगर, तृतराज दास, युवराज खत्री र शेर मल्ल छन्।
साफ यू–१७ महिला च्याम्पियनसिप अन्तर्गत आज नेपाल र बंगलादेश भिड्दैँ
काठमाडौं । भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपअन्तर्गत नेपालले आज बंगलादेशसँग तेस्रो खेल खेल्ने भएको छ ।
खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे चाङ्लिमिथाङ रंगशालामा सुरु हुनेछ ।
नेपाल र बंगलादेश दुवैले अहिलेसम्म २ खेलबाट १ जित र १ हार प्राप्त गरेका छन् । नेपाल भारतसँग ७–० ले पराजित भएपनि भुटानलाई २–१ ले हराएको थियो भने बंगलादेशले भुटानलाई ३–१ ले हराएर भारतसँग २–० ले हार हारेको थियो ।
प्रतियोगितामा भारत ६ अंकसहित शीर्ष स्थानमा छ भने बंगलादेश र नेपालको समान ३ अंक भए पनि गोलअन्तरका आधारमा बंगलादेश दोस्रो र नेपाल तेस्रो स्थानमा छन् । आजै भारत र भुटानबीच पनि प्रतिस्पर्धा हुनेछ ।
टप टी–२० सिरिजमा पाकिस्तानसँग भिड्दै नेपाल
काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा शुक्रबार नेपालले पाकिस्तानको सामना गर्दैछ । सिरिज अन्तर्गत समूह चरणको अन्तिम अर्थात् छैटौं खेलमा नेपालले पाकिस्तान शाहिन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । यो खेल नेपाली समयअनुसार शुक्रबार दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।
नेपालले सिरिजका पाँच खेल खेलिसकेको छ । जसमध्ये दुई खेलमा विजयी हुँदा तीन खेल गुमाएको छ । पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले हारेको नेपाल, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भयो।
चौथो र पाँचौं खेलमा भने नेपालले सानदार जित निकालेको छ । चौथो खेलमा मंगलबार होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हराएको नेपाले पाँचौं खेलमा मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गरेको छ ।
सिरिजमा सहभागी ११ टिममध्ये अंक तालिकाको सातौं स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ । चार अंकसहित तालिकाको सातौं स्थानको नेपालले पाकिस्तानलाई पराजित गरेमा सेमिफाइनल प्रवेश गर्ने गणितीय सम्भावना कायम रहने छ ।
टप एन्ड टी–२० सिरिजमा नेपाल र होबार्ट हरिकेन्स भिड्दै
काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा आज नेपाल र बिग ब्यास लिगको अनुभवी टोली होबार्ट हरिकेन्स एक आपसमा भिड्दै छन् ।
लगातार तीन हार बेहोरेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज पहिलो जितको खोजीमा चौथो खेल खेल्दैछ । डार्विनको पार्मस्र्टनस्थित काजालिस एरेनामा हुने खेल नेपाली समयअनुसार बिहान ११ ः १५ बजे सुरु हुनेछ । कप्तान रोहित पौडेलको नेतृत्वमा नेपाली टोली रहेको छ भने हरिकेन्सको कप्तानी बिग ब्यासका अनुभवी खेलाडी म्याकालिस्टर राइटले सम्हाल्नेछन् ।
जारी प्रतियोगितामा नेपालले यसअघिका तीनवटै खेलमा हार बेहोरेको छ । नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रन, दोस्रोमा बंगलादेश ‘ए’ सँग ३२ रन र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो ।
नेपालको प्रतिद्वन्द्वी होबार्टको प्रदर्शन पनि मिश्रित रहेको छ । ३ खेल खेलेको होबार्टले १ खेलमा जित निकालेको छ भने दुई खेलमा पराजित भएको छ । पहिलो खेलमा एसीटीलाई हराएको होबार्ट त्यसपछि मेलबर्न स्टार्स र एनटी स्ट्राइकसँग पराजित भएको थियो ।
११ टोली सहभागी यस सिरिजमा सबै टोलीले ६–६ लिग खेल खेलेपछि शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । हाल अंकविहीन रहँदै पुछारबाट दोस्रो स्थानमा रहेको नेपाललाई सेमिफाइनलको आशा जीवित राख्न पनि आजको खेल जित्नै पर्ने दबाब छ । यो खेलपछि नेपालले बुधबार मेलबर्न रेनेगेड्स र शुक्रबार पाकिस्तान शाहिन्ससँग खेल्ने तालिका रहेको छ ।
टप टी–२० सिरिजमा आज मेलवर्न स्टार्ससँग भिड्दै नेपाल
काठमाडौं । अस्ट्रेलियामा जारी टप इन्ड टि–ट्वान्टी सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज सोमबार घरेलु टोली मेलवर्न स्टार्स एकेडेमीविरुद्ध खेल्दैछ ।
नेपाली समयअनुसार आज बिहान ७ः१५ बजे डार्विनस्थित टीआईओ स्टेडियममा हुने खेलमा नेपालले अष्ट्रेलियन फ्रेन्चाइज टोली मेलबर्न स्टार्ससँग प्रतिस्पर्धा गर्ने लागेको हो ।
नेपाली टोलीको नेतृत्व कप्तान रोहित पौडेलले गरिरहेका छन् । नेपाली टोली सिरिजमा पहिलो जितको खोजीमा मैदान उत्रनेछ । सिरिजका अघिल्ला दुई खेलमा लगातार हार व्यहोरेको नेपाल पहिलो जितको स्वाद लिन चाहन्छ ।
लगातार दुई खेलमा हार भोगेको नेपाल अंकविहिन रुपमा तालिकाको १० औँ स्थानमा छ ।
धरानमा अन्तर संकाय फुटसल प्रतियोगिता सम्पन्न, बीआईटी विजेता
धरान । जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी विद्यार्थी युनियन केन्द्रीय प्रविधि क्याम्पस धरान समितिको आयोजनामा अन्तर संकाय पुरुष फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।
शनिबार धरान–१० स्थित धरान फुटसलमा सम्पन्न प्रतियोगितामा सात टोलीको सहभागिता रहेको थियो। फाइनल खेलमा बीआईटीले बीएससी फिजिक्सलाई पराजित गर्दै उपाधि हात पार्यो ।
विजेता टोलीले नगद ५ हजार ५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता बनेको बीएससी फिजिक्सले नगद ३ हजार ५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
व्यक्तिगततर्फ हाई स्कोररको उपाधि निजल तामाङले प्राप्त गरे भने उत्कृष्ट गोलकिपर (बेस्ट किपर) टान्छोहाङ लिम्बु घोषित भए ।
समाजवादी विद्यार्थी युनियन प्रदेश–१ का अध्यक्ष चन्द्र किरातीको प्रमुख आतिथ्यमा उद्घाटन भएको कार्यक्रममा जसपा सुनसरीका सहसचिव तथा जिल्ला विद्यार्थी इन्चार्ज सुमन राई, जसपा धरान नगर अध्यक्ष नगेन्द्र पारघरी लिम्बु, सहसचिव रणजित राई, सदस्य कौसिला चोम्जोङ, विद्यार्थी युनियन प्रदेश–१ का उपाध्यक्ष मदन हाङ्खिम, मुख्य सचिव तथा महेन्द्र बहुमुखी क्याम्पस धरानका निवर्तमान सभापति युवराज राई ‘अलौकिक’, सोनाम तामाङ लगायतको उपस्थिति थियो।
त्यस्तै धरान–१४ का वडा सदस्य कमल भट्टराई, केन्द्रीय प्रविधि क्याम्पस स्ववियु कोषाध्यक्ष नाम्साङ राई, स्ववियु सदस्य राजकुमार कथेत र नेवि संघ इकाइ सभापति रितेश श्रेष्ठ पनि अतिथिका रूपमा सहभागी भएका थिए ।
कार्यक्रम समाजवादी विद्यार्थी युनियन केन्द्रीय प्रविधि क्याम्पस इकाई समिति अध्यक्ष संम्योगिता राईको संयोजकत्वमा सम्पन्न भएको हो । उद्घाटन कार्यक्रममा उपाध्यक्ष आभास थापाले शुभकामना मन्तव्य दिएका थिए भने सचिव अविनास ठाकुरले सञ्चालन गरेका थिए ।
टप एण्ड टी–२० क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल नर्दन टेरिटोरीसँग पराजित
काठमाडौं । अस्ट्रेलियामा जारी टप एण्ड टी–२० क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल नर्दन टेरिटोरीसँग पराजित भएको छ । शुक्रबार मरारा क्रिकेट मैदानमा भएको खेलमा नेपाल नर्दन टेरिटोरीसँग ४२ रनले पराजित भएको हो ।
नेपालले नर्दनले दिएको १७८ रनको लक्ष्य निर्धारित ओभरमा ८ विकेट गुमाएर १३५ रनमात्रै बनाउन सफल भयो । नेपालका लागि कुशल मल्लले ३५, गुल्शन झाले २६ ,रोहित पौडेलले २३ रन र दीपेन्द्र सिंह ऐरीले १९ रन बनाए ।
यसअघि पहिला ब्याटिङ गरेको नर्दनले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १७७ रनको योगफल तयार पारेको थियो । नेपालका लागि सन्दीप लामिछानेले ३, सहाब आलमले २ तथा दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र रुपेश सिंहले समान एक विकेट लिएका थिए । दोस्रो खेल नेपालले भोलि शनिबार बंगलादेश एसँग खेल्नेछ ।
एन्फा महिला लिग छनोट : उद्घाटन खेलमा छहारी फुटबल क्लब र एफसी रियल भिड्दै
काठमाडौं । आजदेखी एन्फा महिला लिग छनोट प्रतियोगिता सुरु हुने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा बिहीबारदेखी एन्फा महिला लिग छनोट .प्रतियोगिता सुरु हुन लागेको हो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा छहारी फुटबल क्लब र एफसी रियल भिड्ने भएका छन् । खेल दिउँसो १ बजे सुरु हुनेछ ।
यस्तै, दोस्रो खेलमा भने सङ्कटा क्लब र नेपाल खेलकुद क्लबबीच प्रतिस्पर्धा हुनेछ । यो खेल पनि आजै अपराह्न सवा ४ बजे सुरु हुनेछ ।
प्रतियोगितामा १४ टोलीको सहभागिता छन् भने सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरबी रिसोर्ट एन्ड बिच फुटबल तथा एफसी रियल छन् ।
यसैगरी समूह ‘बी’ मा न्युरोड टिम (एनआरटी), सङ्कटा एफसी, बुटवल लुम्बिनी एफसी, एन्बिएम पोखरा गल्र्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर तथा नेपाल खेलकुद क्लब छन् ।
प्रतियोगितामा सहभागी मध्येबाट उत्कृष्ट ५ टोली एन्फा महिला लिगमा छनोट हुने छन् ।