ओलीलाई चुनावी तालमेल गर्न र घोषणा पत्र बनाउने जिम्मा, ‘बादल’लाई निर्वाचन परिचालन कमिटीको जिम्मेवारी
काठमाडौं । नेकपा(एमाले)को मंगलबार बसेको सचिवालय बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले प्रदेश र निर्वाचनको संयोजक तोक्नुका साथै राष्ट्रियसभा निर्वाचनमा चुनावी तालमेल गर्नेबारे अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारी दिएको छ ।
एमाले उपमहासचिव लेखराज भट्टका अनुसार निर्वाचन परिचालन कमिटी गठन गरेको र त्यसको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई संयोजक तोकेको छ । जसमा विष्णु रिमाल, छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल र भीष्म अधिकारी सदस्य रहेका छन् ।
त्यस्तै, कांग्रेस र नेकपाबीच छलफल गर्ने र हरेक प्रदेशमा एकजना पर्ने गरी सात सीट माग गरेको उपमहासचिव भट्टले जानकारी दिए । कांग्रेससँग छलफल गर्ने र उम्मेदवारको टुंगो लगाउने जिम्मा पनि बैठकले अध्यक्षलाई नै दिएको उनले जानकारी दिए ।
बैठकले अध्यक्ष ओलीकै नेतृत्वमा घोषणा पत्र समिति समेत गठन गरेको छ। समितिमा उपाध्यक्ष रामबहादुर थापा बादल, विष्णु पौडेल, महामसचिव शंकर पोखरेल तथा केन्द्रीय सदस्य प्रदीप ज्ञवाली र पूर्वउपमहासचिव विष्णु रिमाल सदस्य छन् ।
जेनजी आन्दोलनपछिको तीन महिना मेरो लागि तीन दशक बराबर : रक्षा बम
काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले पछिल्ला तीन महिना आफ्नो जीवनका लागि तीन दशक बराबरको अनुभव जस्तै भएको बताएकी छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै संयोजक बमले जेनजी आन्दोलनपछि जानी–नजानी आफूहरू राजनीतिक परिवेशमा प्रवेश गर्नुपरेको उल्लेख गरिन् ।
उनले विभिन्न राजनीतिक घटनाक्रममा आफ्नो सहभागिता देखिएको भन्दै ती अनुभवबाट धेरै कुरा सिक्न पाएको अनुभूति व्यक्त गरिन् ।
उनले भनिन्, ‘मलाई यो तीन महिना तीन दशक जस्तो महशुस भएको छ । जानी नजानी आन्दोलनले गर्दाखेरी हामी एउटा राजनीतिक परिवेशमा आउनु परेको छ । राजनीतिक धेरै घटनाक्रममा हाम्रो सहभागिता रहेको देखिएको छ । त्यसैले यो तीन महिना मेरो लागि तीन दशक हो । सिक्नुपर्ने कुराहरु सिके जस्तो मलाई महशुस हुन्छ । जिन्दगी भनेको साझा धरातलहरु खोज्ने र त्यसैलाई सन्तुलन गर्दै जाने रहेछ ।’
कार्यक्रममा उनले देशमा शान्ति, समृद्धि र सुखी नेपालीको चाहना सबैको साझा आकांक्षा भएको बताइन् । देश भ्रष्टाचारमुक्त हुनुपर्ने, भ्रष्टाचार निषेध हुनुपर्ने र सुशासन स्थापित हुनुपर्ने आवश्यकता औंल्याउँदै उनले यो चाहना देशका सबै सरोकारवालाको भएको उल्लेख गरिन् ।
तर यति हुँदाहुँदै पनि देशमा भ्रष्टाचार र कुशासन व्याप्त रहेको भन्दै उनले यसको कारणबारे गम्भीर आत्ममूल्यांकन आवश्यक रहेको बताइन् ।
उनले भनिन्, ‘देशमा शान्ति, समृद्धि, सुखी नेपालीको चाहना सबैको साझा आकांक्षा हो । देश भ्रष्टाचार मुक्त हुनुपर्छ, भ्रष्टाचार निषेध हुनुपर्छ र सुशासन आउनुपर्छ भन्ने चाहना हो । देशका हरेक साझेदारहरुको चाहना यही हो । यो हुँदै गर्दा पनि देशमा भ्रष्टाचार व्याप्त छ, कुशासन किन छ भन्ने मुख्य प्रश्न हो । देशमा किन भ्रष्टाचार छ त यो आफैंलाई प्रश्न गर्नुपर्ने छ ।’
नेतृ तोसिमा कार्कीले समानुपातिक सूचीमा पारिवारिक आकांक्षा र पक्षपातको विरोध
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तोसिमा कार्कीले पार्टीको समानुपातिक उम्मेदवार सूचीप्रति आफ्नो असहमति सामाजिक सञ्जालमार्फत व्यक्त गरेकी छन्।
समानुपातिक प्रणालीले भौगोलिक विकटता, पहुँच र पावर नभएका योग्य व्यक्तिहरूलाई प्रतिनिधित्व दिने उद्देश्य राखेको भन्दै पार्टीको समानुपातिक उम्मेदवार सूचीप्रति आफ्नो असहमति जनाएकी हुन् ।
उनले लेखेकी छन्, ‘समानुपातिक को अवधारणा नै भौगोलिक विकटताले ठाउँ पाओस्, पहुँच र पावर नभएका तर सक्षमहरुले प्रतिनिधित्व पाउन् भनेर राखिएको हो। सुचिले विपन्नलाई पनि ठाउँ दिनुपर्छ। सुचिले कर्णाली बोल्नुपर्छ। सुदुर पश्चिम बोल्नुपर्छ।’
उनले पार्टी भित्रका पदाधिकारी र सचिवालय सदस्यका आफन्त वा नातेदारले अग्रपङ्तिमा नाम सुरक्षित गर्ने प्रवृत्तिले समानुपातिक प्रणालीको औचित्यमाथि प्रश्न उठाएको बताइन्।
उनले भनेकी छन्, ‘समानुपातिकले समावेश गराउनुपर्छ, निषेध होइन। पार्टीका भाईटल पोसिसनमा बस्ने साथीहरूले प्रत्यक्ष चुनाव लड्न हिम्मत गर्नुपर्छ। यदि सचिवालय सदस्य वा पदाधिकारी नै चुनाव लड्न डराउँछन् भने अरूले के गर्ने?’
कार्कीले आफन्तवाद र नातावादलाई पूर्णरूपले निषेध गर्नुपर्ने माग गर्दै समानुपातिक सूचीमा पारदर्शिता र न्याय सुनिश्चित गर्न पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराएकी छन्।
उनले उदाहरणिय नेतृत्व गर्नका लागि समानुपातिकको सुचीमा आफन्तवाद र नातावादलाई पूर्ण रुपले निषेध गरिनुपर्ने बताइन् ।
हामीले साच्चिकै उदाहरणिय नेतृत्व गर्ने हो भने सबै पदाधिकारी तथा सचिवालय सदस्यहरुले आ–आफ्नो नाम समानुपातिकको सूचीबाट हटाएर प्रतक्ष चुनाव लड्ने हिम्मत गर्नुपर्छ। साथै समानुपातिकको सूचीमा आफन्तवाद र नातावादलाई पूर्ण रुपले निषेध गरिनुपर्छ।’
बलियासँग लड्नका लागि दुब्लाले गर्ने भनेकै एकता हो : ओली
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले कुखुरा, बाख्रा र स्यालको मोर्चाले बाघको सिकार गर्न नसक्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एमालेको ११ औं महाधिवेशनका सन्देश र राजनीतिक निकास विषयक विचार गोष्ठीमा उनले बलियासँग लड्नको लागि दुब्लाले एकता नै गर्ने भन्दै विशाल एमाले देखेपछि कुखुरा, बाख्राको मोर्चा बनेको बताए ।
उनले भने, ‘यसो हेर्दा विशाल एमाले देखेपछि तिमी र म मिलौं भन्या छ, उसँग पनि मिलौं भन्या छ । विशाल एमालेसँग भीड्नु छ अनि मिलौं भनिएको छ । कुखुरा र बाख्राले मोर्चा गरेर, स्यालले मोर्चा गरेर बाघ र सिंहको शिकार हुन्छ र ? प्रतिस्पर्धा हुन्छ ? दुब्लाको काम नै मोर्चा गर्ने हो । बलियासँग लड्नको लागि दुब्लाले गर्ने नै एकता हो, आज पनि एउटा एकता हुन्छ राति सम्ममा, भोलि पनि हुन्छ ।’
यस्तै, उनले चुनाव आउनु अगाडि नै प्रधानमन्त्री बनाइसकेको टिप्पणी गर्दै यसको जवाफ दिने प्रतिक्षाका साथ तयारी पनि गरिरहेको बताए ।
उनले भने, ‘महाधिवेशनले अर्को एउटा अवसरमा जवाफ दिने प्रतिक्षाका साथ तयारी पनि गरेको छ । त्यो भनेको देशमा को लोकप्रिय छ भन्ने अलिकति चर्चा निर्वाचनसम्म नै रहन्छ । प्रधानमन्त्री बनाइसके मान्छेले, हामी चुनाव पर्खिरहेका छौं । कहिले होला ? फागुन २१ मा होला वा बैशाखमा होला वा अर्को मंसिरमा होला हामी पर्खिरहेका छौं ।’
महाधिवेशले जसरी धेरै कुराहरुको जवाफ दिएको थियो त्यस्तै निर्वाचनबाट राष्ट्रिय फैसला पनि दिने भन्दै त्यसका लागि तयार छौ भन्ने कुराको सन्देश पनि महाधिवेशले दिएको उनको भनाई छ ।
निर्वाचनको वातावरण बन्दैछ, सबैको सुझबुझ जरुरी छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सांस्कृतिक विविधता नेपालको गौरव र ठूलो शक्ति भएको बताएकी छन् । मंगलबार काठमाडौंमा आयोजित तमु ल्होसार महोत्सव २०८२ मा उनले सांस्कृतिक विविधता नेपालको गौरव भएको भन्दै तमु ल्होसारजस्ता पर्वहरूले मौलिक पहिचान जोगाउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अझ बलियो बनाउन प्रेरित गरेको बताइन् ।
उनले भनिन्, ‘सांस्कृतिक विविधता नेपालको गौरव हो । यही विविधता नै हाम्रो ठूलो शक्ति पनि हो । तमु ल्होसारजस्ता पर्वहरूले हामीलाई आफ्नो मौलिक पहिचान जोगाउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अझ बलियो बनाउन प्रेरित गर्छन् । यस्ता पर्वहरूले समाजमा मेलमिलापको सन्देश फैलाउँछन् र प्रकृतिसँग सहअस्तित्वको पाठ सिकाउँछन् ।’
यस्तै, उनले सरकार पछिल्ला दिनहरूमा देखिएका परिस्थितिबाट पाठ सिक्दै शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक बाटोमार्फत युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा अग्रसर भएको पनि जानकारी दिएकी छन् ।
उनले भनिन्, ‘पछिल्ला दिनहरूमा देखिएका परिस्थितिबाट पाठ सिक्दै आज हामी शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक बाटोमार्फत युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा अग्रसर भएका छौँ । त्यसको मुख्य आधार भनेको स्वच्छ र निष्पक्ष निर्वाचन नै हो । आगामी फागुन २१ गते हुन लागेको निर्वाचनको वातावरण देशभरि बन्दै गएको छ । राजनीतिक दलहरुका तर्फबाट उत्साहका साथ समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस भएका छन् ।’
उनले निर्वाचन सम्पन्न गर्ने दिशामा नयाँ कोशेढुंगा पार गरेको भन्दै यसका लागि राजनीतिक दलको नेतृत्व तथा युवाहरुले देखाएको सुझबुझका लागि आभार व्यक्त पनि गरेकी छन् ।
सरकारले शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी नराखेको पनि उनको भनाई छ ।
उनले भनिन्, ‘सरकारले शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी राखेको छैन । यस कार्यमा सबै राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूको साथ, सहयोग र सक्रिय सहभागिता अत्यन्तै आवश्यक छ । मुलुकले अब थप अस्थिरता होइन, स्थायित्व र विश्वास चाहेको छ । हामी सबै मिलेर शान्ति, एकता र समृद्धिको मार्गमा अघि बढ्नुको विकल्प छैन ।’
असन्तुष्टिहरुलाई ढुंगामुढाले प्रस्तुती गर्ने अभ्यास सुधार गर्न जरुरी
काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नागरिकको भावना अनुसारको काम गर्ने अभ्यासमा विकास गर्न सबैलाई निर्देशन दिएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित कोटेश्वर प्रहरी प्रभाग तथा ट्राफिक प्रहरी प्रभाग पुनःनिर्मित भवन हस्तान्तरण एवं सम्मान कार्यक्रममा उनले नागरिकको भावनाको उच्च कदर गर्दै, भावना अनुसारको काम गर्ने अभ्यासमा विकास विकास गर्न निर्देशन दिएका हुन् ।
उनले भने, ‘नागरिकको भावनाको उच्च कदर गर्दै सकल दर्जाका प्रहरी कर्मचारीहरुले नागरिकको भावना अनुसारको काम गर्ने आफ्नो अभ्यासमा पनि विकास गर्नुहोस भन्ने निर्देशन दिन चाहन्छु । आफ्नो अभ्यासमा पनि विकास गर्न निर्देशन दिन चाहन्छु ।’
यस्तै, उनले कतिपय अवस्थाका आफ्ना असन्तुष्टिहरुलाई ढुंगा मुढाले प्रस्तुती गर्ने अभ्यास सुधार गर्न जरुरी रहेको पनि बताए ।
आफ्नै इतिहास मेट्ने मुलुकको नागरिकको रुपमा होइन्, शान्तिप्रेमी, विकासपे्रमी र कानूनी शासन चहाने नागरिकका रुपमा सबैतिर चित्रित हुन जरुरी रहेको पनि उनको भनाई छ ।
उनले भने, ‘कतिपय अवस्थाका आफ्ना असन्तुष्टिहरुलाई ढुंगामुढाले प्रस्तुती गर्ने हाम्रो अभ्यास सुधार गर्न जरुरी छ । आफ्नै घर जलाउने, इतिहास मेट्ने मुलुकको नागरिकको रुपमा होईन्, शान्तिप्रेमी, विकासप्रमी, उन्नतीप्रेमी, कानून कार्यान्वयन गर्ने र कानूनी शासन चहाने नागरिकका रुपमा हामी सबैतिर चित्रित हुन सकौं भन्ने कामना छ ।’
अन्य पार्टीहरुसँग पनि चुनावी तालमेल हुन सक्छ :राजेन्द्र महतो
काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी एउटै चुनाव चिह्न लिएर निर्वाचनमा जाने भएका छन् ।
तीनै दलले नागरिक उन्मुक्ति पार्टीको जाँतो निर्वाचन चिह्नबाट लड्ने गरी निर्वाचन आयोगमा बन्दसूची पेश गरेका हुन् ।
सोही क्रममा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले तीन पार्टीको गठबन्धन भईसकेको भन्दै त्यो बाहेक अन्य पार्टीसँग चुनावी तालमेल हुन सक्ने बताए । उनले भने, ‘हामीले तीन पार्टी मिलेर एकल चुनाव चिह्न लिएर निर्वाचनमा जाने भनेर पहिला नै एकता भएको हो । तीन पार्टीको गठबन्धन भईसकेको छ, अब त्यो बाहेक अन्य पार्टीसँग चुनावी तालमेल हुन सक्छ ।’
उनले तीन पार्टीको ११० जनाको एउटै बन्दसूची रहेको पनि जानकारी गराएका छन् ।
व्रिटिस कलेजका विद्यार्थी भन्छन् : थोरै पीडित हुँ तर निराधार आरोप लाग्यो, अतिरन्जित गरियो
काठमाडौं । काठमाडौंको थापाथलीस्थित द ब्रिटिस कलेजमार्फत दुबइमा सञ्चालन गरिएको इन्टर्नसिप कार्यक्रम यतिबेला विवादको घेरामा परेको छ । इन्टर्नसिपका क्रममा काम नपाएको, व्यवस्थापन कमजोर भएको र विद्यार्थीमाथि अन्याय भएको आरोप लागेपछि विवादको विषय शिक्षा मन्त्रालयसम्म पुगेको छ ।
मन्त्रालयले छानबिन समिति गठन गरी अध्ययन गरिरहेको छ भने केहि विद्यार्थी संगठनहरूले आन्दोलन समेत गरेका छन् । सामाजिक सञ्जालमा कलेजविरुद्ध नकारात्मक टिप्पणीहरू बढिरहेका छन् । तर सोही इन्टर्नसिप कार्यक्रममा सहभागी विद्यार्थी निर्जल रन्जितले कलेज प्रशासन र विद्यार्थी दुवै पक्षमा कमजोरी रहेको बताएका छन् ।
कुराकानीमा उनले इन्टर्नसिपका क्रममा समस्या आएको स्वीकार गरेपनि ती समस्यालाई लिएर तथ्यहीन आरोप लगाउनु उपयुक्त नभएको धारणा राखे । रन्जितका अनुसार उनले फाउन्डेसन कोर्स पूरा गरेपछि दुबइस्थित टीडब्ल्यूआईमा इन्टर्नसिपका लागि गएका थिए । सुरुआती चरणमा सिभी सम्बन्धी केही समस्या देखिएको उनले बताए ।
तर समस्या देखिएलगत्तै कलेजका विभागीय प्रमुखसँग कुरा गर्दा कलेजले सक्रिय रुपमा सहयोग गरेको उनको भनाइ छ । ‘इमिरेट्स कार्ड नआएसम्म काम गर्न नमिल्ने अवस्थामा कलेजले प्रोफेसनल सिभी सेसन राख्यो, शिक्षकहरूले व्यक्तिगत रूपमा सिभी बनाइदिने र कक्षा बाहिर समय दिएर पनि सहयोग गर्नुभयो,’ उनले भने ।
उनका अनुसार इन्टर्नसिपमा काम पाउने विषय पहिलेदेखि नै ‘क्षमतामा आधारित’ हुने कुरा अभिभावक र विद्यार्थीलाई स्पष्ट गरिएको थियो । ‘काम कन्फर्म हुन्छ भनेर कसैले पनि भनेको थिएन, विद्यार्थीको क्यापाबिलिटी अनुसार अवसर पाइन्छ भनिएको थियो,’ उनले स्पष्ट पारे ।
कुराकानीमा रन्जितले इन्टर्नसिपका क्रममा सबैभन्दा ठूलो असर नेपालमा भएको आन्दोलन र विरोध प्रदर्शनले पारेको दाबी गरेका छन् । ‘प्रोटेस्ट भएपछि नेपाली विद्यार्थीहरूको इमेज नै डाउन भयो । सिभी एक्सेप्ट भएपनि पासपोर्ट नम्बरका कारण सरकारी नियमअनुसार हामीलाई तत्काल काम दिन नसकिएको अवस्था आयो,’ उनले भने । अहिले भने समस्या समाधान भइसकेपछि विभिन्न ठाउँबाट कामका लागि सन्देश र अनुरोध आउन थालेको उनको भनाइ छ ।
उनले विवाद समाधानका लागि शान्त र मर्यादित तरिकाबाट प्रश्न उठाउनुपर्नेमा जोड दिए । ‘समस्या आएको हो, तर डिसेन्ट वेमा गएको भए राम्रो हुन्थ्यो,’ उनले भने । सामाजिक सञ्जालमा आफूमाथि घुस लिएको जस्ता निराधार आरोप लगाइएको भन्दै उनले त्यसको प्रमाण देखाउन चुनौती समेत दिएका छन् ।
रन्जितले आफू पनि केही हदसम्म पीडित भएको उल्लेख गर्दै इन्टर्नसिपको सुरुआती दिनमा आवास र सुविधामा समस्या भोग्नुपरेको बताए । ‘समय अनसर्टेन भएको कारण म पहिलो दिन ग्राउन्डमा म्याट्रेस राखेर सुत्नुपरेको थियो । त्यो बेला निकै मानसिक तनाव भयो, घरमा फोन गरेर रोएँ पनि,’ उनले भने । यद्यपि, अन्य विद्यार्थीहरू भने बेडमै सुतिरहेको अवस्थामा रहेको र यसलाई एकपक्षीय रूपमा मात्र हेर्न नहुने उनको भनाइ छ । तर, यस्ता समस्याहरु व्यवस्थापनको सामान्य कमजोरीका कारण भएको र पछि सुधार भएको उनको भनाइ छ ।
उनका अनुसार विदेशी मुलुकमा काम गर्न जाने विद्यार्थीले आफ्नो अनुशासन, प्रस्तुति र व्यावसायिक मापदण्डमा पनि ध्यान दिन आवश्यक हुन्छ । विदेशमा नेपालजस्तो सजिलै काम नपाइने भएकाले स्ट्यान्डर्ड मेन्टेन गर्नुपर्ने उनको भनाई छ । रन्जितले इन्टर्नसिप विवादलाई एकपक्षीय रूपमा मात्र हेर्नु उपयुक्त नहुने र कलेज, विद्यार्थी तथा परिस्थितिजन्य कारणहरू सबैलाई समेटेर निष्पक्ष छानबिन हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।
समस्या देखिँदा विरोध गर्नु गलत होइन तर विरोध गर्ने शैली शालिन र संयमित हुनुपर्ने उनको तर्क छ । ‘प्रोटेस्ट गर्नु राम्रो हो, तर डिसेन्ट वेमा गएको भए राम्रो हुन्थ्यो,’ उनले भने। दुबइमै पनि केही विद्यार्थीहरूले असन्तुलित व्यवहार गर्दा समस्या झन् जटिल बनेको उनले दाबी गरे । ‘म आफैं प्रत्यक्षदर्शी हुँ, उता पनि हंगामा भयो,’ रन्जितले बताए ।
इन्टर्नसिपका क्रममा काम नपाएको विषयमा उनले स्पष्ट पार्दै इन्टर्नसिप मुख्यतः अध्ययनसँगै प्राक्टिकल अनुभवका लागि भएको बताए । ‘हामी पढ्न गएका हौँ, इन्टर्न प्राक्टिकल नलेजका लागि हो,’ उनले भने । कक्षाको संख्या कम भएको भन्ने आरोपबारे पनि उनले कलेजले हस्पिटालिटी विद्यार्थीका लागि प्राक्टिकललाई प्राथमिकतामा राखेर एक दिन कक्षा र बाँकी समय इन्टर्नका लागि व्यवस्था गरिएको स्पष्ट पारे ।
आर्थिक विषयमा फैलाइएका आरोपप्रति पनि रन्जितले आपत्ति जनाएका छन् । उनले ६० लाख रुपैयाँ खर्च भएको दाबीलाई गलत ठहर गर्दै कलेजको आधिकारिक ब्रोसरमै शुल्क स्पष्ट उल्लेख भएको बताए । ‘लेभल फोर र फाइभको शुल्क ७ लाख ५० हजार रुपैयाँ हो, १५ लाख वा ६० लाख भन्ने कुरा पूर्ण रूपमा गलत हो,’ उनले भने । आफूले हालसम्म करिब ११ लाख रुपैयाँ मात्रै लगानी गरेको र बाँकी तह पूरा गर्दा पनि कुल खर्च २७–२८ लाख रुपैयाँभन्दा बढी नहुने उनको दाबी छ ।
एजेन्टमार्फत गरिएको लेनदेनमा समस्या आएर केही विद्यार्थीको पैसा ठगी भएको विषयमा उनले कलेजभन्दा एजेन्टको गल्ती प्रमुख रहेको बताए। ‘रिसिप्ट बिना पैसा दिनु आफैं जोखिम हो,’ उनले भने । यद्यपि, कलेजले आवास शुल्कसमेत बाँकी दिनअनुसार फिर्ता गरेको उदाहरण पनि उनले प्रस्तुत गरे । रन्जितले आफू कलेजको पक्षमा वा आन्दोलनरत विद्यार्थीको विपक्षमा नभएको स्पष्ट पारे । ‘म न कलेजको साइड लिन्छु, न स्टुडेन्टको, जे सत्य हो, त्यही बोल्छु ।’
उनका अनुसार समस्या समाधानका लागि संवाद, धैर्य र मर्यादित तरिका नै सही बाटो हो । सत्य बोल्दा तितो लाग्न सक्ने भन्दै उनले हंगामा गरेर होइन, समझदारीबाट समाधान खोज्नुपर्ने धारणा व्यक्त गरे ।
भिडियो लिङ्क :
<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/Fk5vlO9UWqU?si=uWoS7GwDDC3ET3-5" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>
रुस–युक्रेन शान्ति वार्ता अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको शान्ति वार्ता अन्तिम चरणमा पुगेको बताएका छन् । आइतबार फ्लोरिडाको मार–ए–लागोमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता सुरु गर्दै ट्रम्पले अब युद्ध समाप्त हुने वा लामो समयसम्म जारी रहनेमध्ये एक अवस्था आउने स्पष्ट पारे ।
ट्रम्पका अनुसार यदि अहिले शान्ति सम्झौता हुन सकेन भने युद्ध लामो समयसम्म चल्न सक्ने र अझै लाखौँ मानिसको ज्यान जाने खतरा रहेको छ। “हामी अन्तिम चरणको वार्तामा छौँ । या त युद्ध समाप्त हुन्छ, नभए यो धेरै समयसम्म चल्छ, जुन कसैले चाहँदैन,” ट्रम्पले भने ।
बन्द कक्षमा हुने वार्ता सुरु हुनुअघि सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले यसपटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शान्तिप्रति गम्भीर रहेको विश्वास व्यक्त गरे । जेलेन्स्कीसँग भेटअघि ट्रम्पले पुटिनसँग करिब एक घण्टा १५ मिनेट लामो टेलिफोन वार्ता गरेका थिए, जसलाई उनले “धेरै फलदायी” भनेका छन् ।
“म विश्वास गर्छु कि पुटिन र जेलेन्स्की दुवै शान्ति सम्झौता चाहन्छन् । धेरै मानिसको ज्यान गइसकेको छ, र अब सम्झौता आवश्यक छ,” ट्रम्पले भने । ट्रम्पले सम्भावित शान्ति सम्झौताका खाका तयार भइसकेको दाबी गर्दै उक्त सम्झौता युक्रेनसहित सबै पक्षका लागि लाभदायक हुने बताए। “हामीसँग सम्झौताका आधारहरू छन् । यो युक्रेनका लागि राम्रो छ, सबैका लागि राम्रो छ । यो सबैभन्दा कठिन युद्ध समाधान हो, तर हामी यसलाई सफल बनाउनेछौँ,” उनले भने ।
यस वर्ष तेस्रो पटक अमेरिका भ्रमणमा आएका जेलेन्स्कीको प्रशंसा गर्दै ट्रम्पले उनलाई साहसी नेता र युक्रेनी जनतालाई बहादुर भने । “युक्रेनी जनताले भोगेको पीडा अत्यन्तै दुर्लभ छ,” ट्रम्पले टिप्पणी गरे । ट्रम्पले भेटपछि फेरि राष्ट्रपति पुटिनसँग सम्पर्क गरी वार्ता निरन्तरता दिने पनि बताए । यद्यपि उनले शान्ति सम्झौताका लागि कुनै समयसीमा तोकिएको छैन भने । “मेरो एउटै लक्ष्य छ, युद्ध अन्त्य गर्नु,” उनले स्पष्ट पारे ।
उनका अनुसार शान्ति प्रक्रियामा बलियो सुरक्षा सम्झौता हुनेछ र युरोपेली राष्ट्रहरू पनि सक्रिय रूपमा संलग्न हुनेछन् । यो भेट रुसले युक्रेनको राजधानी कीभमा गरेको ठूलो आक्रमणपछि भएको हो, जसमा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएका छन् ।
मार–ए–लागोमा आयोजित रात्रिभोजमा राष्ट्रपति ट्रम्पसँगै उनका विदेश दूत स्टिभ विटकोफ, विदेशमन्त्री मार्को रुबियो, रक्षा मन्त्री पिट हेगसेथ, संयुक्त सेनाका प्रमुख ड्यान केन, ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरू तथा ट्रम्पका ज्वाइँ जारेड कुशनरलगायत सहभागी थिए । (एएनआई)
बालेन लक्षित हर्क साम्पाङको टिप्पणीः सहकारी काण्डमा तानिएकासँग मिलेर देशलाई लिलाम गर्न खोजीदैछ
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौताको कडा शब्दमा आलोचना गरेका छन् । आइतबार रवि–बालेनबीचको सम्झौतापछि सामाजिक सञ्जालमा भिडियो राख्दै उनले बालेनलाई लक्षित गर्दै सहकारी काण्डमा तानिएका मान्छेहरुसँग मिलेर एउटा सत्ताको लागि र यो देशलाई लिलाम गर्नको लागि चुनावमा आउन लागेको भन्दै यस्तो व्यक्तिलाई सबै नेपालीले प्रश्न गर्नुपर्ने बताए ।
उनले भने, ‘जेनजी आन्दोलनको मागको सम्बोधन जसले गर्दैन्, चुनावको कुरा बाहेक अरु केही पनि गर्दैन् । त्यस्तो खालको व्यक्ति को होला र त्यो व्यक्ति फेरि चुनावमा आउने भन्ने कुरा पनि सुनिरहेको छु । सहकारी केश के केमा तानिएका मान्छेहरुसँग मिलेर एउटा सत्ताको लागि र यो देशलाई लिलाम गर्नको लागि एउटा मान्छे लुकेर बस्ने मान्छेलाई प्रत्यक नेपालीले प्रश्न गर्नुपर्छ ।’
यस्तै, उनले ७०, ८० जना मान्छेको मृत्यु हुदा, जेनजीले गरेको आन्दोलन उत्कर्षमा पुग्दा खरानी भएको देश टुलुटुलु भित्र बस्ने व्यक्ति अहिले बाहिर आउँन लागेको पनि उल्लेख गरेका छन् ।
उनले भने, ‘एउटा विदेशी दलाल जो भित्रभित्र लुकेर खेल खेल्छ, डर लाग्दो खेल खेल्छ । जेनजीलाई उस्काएर आन्दोलनमा लड्न पठाउछ, जब ७०, ८० जना मान्छेको मृत्यु हुन्छ, सयौं मान्छे घाइते हुन्छ । एउटा जेनजीले गरेको आन्दोलन उत्कर्षमा पुग्दा देश जलेर खरानी हुन्छ त्यो खरानी भएको देश टुलुटुलु भित्र बसेर हेरिरहन्छ, मुसुमुसु हासेर, बाहिर आउँदैन् । त्यति बेला सघाइदिनुपर्यो भनेर जेनजीले बोउदा आउने सहास गर्दैन् । तर भित्र बसेरविदेशी शक्तिको सेटिङमा फलाना यस्तो, उस्तो भनेर एउटा आफ्नै मातहतको सरकार बनाउछ ।’ उनले एमसीसी र सहकारीसँग जोडेर रवि लक्षित टिप्पणी पनि गरेका छन् ।