बिहिबार, २१ साउन २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01KFZHY7RKE5EWHX54CWW7YGPQ.jpg

अरु पार्टी उज्यालो नेपाल पार्टीमा मिसिन आउन सक्छन्, तर यो पार्टी कसैसँग मिसिन जाने छैन : कुलमान

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टी कुनै पनि हालतमा अन्य दलसँग विलय नहुने स्पष्ट पारेका छन् ।

उज्यालो नेपाल पार्टीको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले पार्टी गठन भएको तीन महिना पनि पूरा नहुँदै विभिन्न चुनौती सामना गर्नुपरेको बताए । उनले पार्टी १२ दिनसम्म ‘कोमा’मा पुगेको जस्तो अवस्था आएको उल्लेख गर्दै त्यसबाट पार्टीलाई क्षति पुगे पनि अहिले तन्दुरुस्त भएर अघि बढेको दाबी गरे ।

उनले भने, ‘उज्यालो नेपाल पार्टी गठन भएको तीन महिना पनि पूरा भएको छैन । तीन महिना पूरा हुँदै गर्दा हामी १२ दिन कोमामा पुग्यौं । त्यसले धेरै घाटा भयो, तर अहिले हामी त्यही कोमाबाट तन्दुरुस्त भएर आएका छौं । अब उज्यालो नेपाल पार्टी यो देशको नेतृत्व गर्न अगाडि बढ्छ ।’

अध्यक्ष घिसिङले पार्टीको चुनाव चिन्ह ‘बलिरहेको चिम’ रहेको उल्लेख गर्दै उक्त चिन्ह निरन्तर र अनन्तकालसम्म बलिरहने दाबी गरे । कार्यक्रममा उनले पार्टीको पहिचान र अस्तित्व जोगाउने विषयमा दृढ अडान व्यक्त गर्दै भने, ‘कुनै पनि सर्तमा उज्यालो नेपाल पार्टी कुनै पनि पार्टीसँग मिसिँदैन । पार्टीको नाम र चिन्ह कुनै पनि हालतमा विलय हुन दिइने छैन । अरु पार्टी उज्यालो नेपाल पार्टीमा मिसिन आउन सक्छन्, तर यो पार्टी कसैसँग मिसिन जाने छैन ।’

उनले उज्यालो नेपाल पार्टी देशको समग्र क्षेत्रलाई उज्यालो बनाउने उद्देश्यका साथ निरन्तर रूपमा अगाडि बढ्ने बताए । उज्यालो नेपाल पार्टी यसअघि १२ दिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित भई पछि अलग भएको थियो ।

प्रकाशित मितिः मङ्गलबार, १३ माघ २०८२
https://jawaaf.com/storage/01KFWY8P9FF60V21J03RH9M0ZJ.jpeg

सर्लाही पुगेका गगन थापाको भब्य स्वागत, बारादेखि सर्लाहीसम्म कार्यकर्ताको उत्साह

काठमाडौं । भावी प्रधानमन्त्रीका उम्मेदवार बनेका गगनकुमार थापा चुनावी अभियानका लागि सर्लाही पुगेका छन् । सोमबार बुद्ध एयरको जहाजमार्फत सिमरा पुगेका उनलाई स्वागत तथा सम्मानमा ठूलो भीड लागेको थियो । सर्लाही–४ बाट मनोनयन दर्ता गराएका उनी केही दिन कार्यकर्ता भेटघाट र चुनावी अभियान संचालन गर्नेछन् ।

कांग्रेस सभापति बनेपछि गगनले कांग्रेसको बदलेको र अब देश बदल्ने घोषणा गरेका छन् । पार्टीले थापालाई नै भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा होमिने निर्णय गरेको छ । सर्लाही जानुअघि थापाले आफू देश जोड्नका लागि मधेश जान लागेको प्रतिक्रिया दिएका छन् । एक भिडिओ सन्देश जारी गर्दै उनले भनेका छन्, ‘म मधेश जाँदै छु, किनकी म देश जोड्न चाहन्छु ।’

यसपटक सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बनेका उनले आफू एक क्षेत्रको मात्रै नभएर सिंगो नेपालको हुन्छ भन्ने विश्वास रहेको उनले बताए । यसअघि काठमाडौं क्षेत्र नम्बर ४ बाट ३ पटक चुनाव जितेका नेता थापाले सो क्षेत्रलाई पनि मनमुटुमा राख्ने बताएका छन् ।

सभापति थापाको स्वागतका लागि बारा, रौतहट , पर्सा र सर्लाही लगायत मधेसका विभिन्न जिल्लाबाट ठूलो संख्यामा कांग्रेसका कार्यकर्ताहरू बिहानैदेखि सिमरा विमानस्थल पुगेका थिए । विमानस्थल ओर्लने क्रममा थापालाई फूलमाला, अबिर र नाराबाजीसहित स्वागत गरिएको थियो। कार्यकर्ताहरूको उत्साहजनक उपस्थितिले मधेस प्रदेशमा कांग्रेसको बढ्दो प्रभाव र थापाप्रतिको आकर्षणलाई प्रष्ट पारेको देखिन्थ्यो ।

सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गरे पनि कार्यव्यस्तताका कारण उनी मनोनयनका दिन उपस्थित हुन सकेका थिएनन् । वारेसमार्फत मनोनयन दर्ता गराएका थापा आज पहिलोपटक प्रत्यक्ष रूपमा आफ्नो निर्वाचन क्षेत्रका मतदाता र कार्यकर्तासँग भेटघाट गर्न त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सिमराबाट उनी सडकमार्ग हुँदै सर्लाही पुग्ने कार्यक्रम रहेको छ । नेपाली कांग्रेसको नेतृत्व सम्हालेपछि थापाले मधेस केन्द्रित राजनीतिलाई प्राथमिकतामा राखेको पाइन्छ ।

प्रकाशित मितिः सोमबार, १२ माघ २०८२
https://jawaaf.com/storage/01KFR3N0M85F92ZP21AKMTWQAW.jpeg

नयाँ पार्टीहरुको कुनै गन्तब्य छैन, कहाँ पुग्ने हो थाहा छैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले कुनै गन्तव्यबिनाको यात्रा गर्ने पार्टी नभएको स्पष्ट पारेका छन् ।
शेयर लगानीकर्ता दीपेन्द्र अग्रवालसहित विभिन्न व्यक्तिहरूको नेकपा एमाले प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमाले स्पष्ट उद्देश्य र गन्तव्य बोकेको पार्टी भएको बताए ।

उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकांक्षालाई एमालेले आफ्नो मुख्य गन्तव्य बनाएको उल्लेख गर्दै भने, ‘नेपाल समृद्ध हुनुपर्दछ र नेपाली जनता सुखी हुनुपर्दछ भन्ने राष्ट्रिय आकांक्षाको विरोध जसले गरे पनि यो हाम्रो साझा लक्ष्य हो । त्यसैले हामीले आफ्नो गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाएका छौं ।’

अध्यक्ष ओलीले देशको रक्षा, जनताको सफल भविष्य र सन्ततिका उज्वल भविष्यका लागि धेरै नागरिक एमालेमा प्रवेश गरेको उल्लेख गरे ।
उनले एमाले अन्य पार्टीजस्तो उद्देश्यहीन नभएको दाबी गर्दै भने, ‘नेकपा एमाले ट्रेडमिलमा यात्रा गरेजस्तो गर्ने पार्टी होइन । गन्तव्यमा पुग्नका लागि यात्रा गर्ने पार्टी हो ।’

अन्य केही राजनीतिक दलतर्फ संकेत गर्दै ओलीले गन्तव्यविहीन राजनीति भइरहेको टिप्पणी गरे । उनले नयाँ पार्टीहरुलाई नारायण गोपालको गीत ‘भोली उठी कहाँ जाने केही थाहा छैन, फर्की आउने हो की होइन केही थाहा छैन ।’ भन्दै व्यङ्ग गरे ।

उनले भने, ‘अहिले नयाँका नाममा आएका धेरै पार्टीहरूको गन्तव्य छैन । कहाँ पुग्ने भन्ने थाहा छैन । केका लागि कुदिएको हो, केका लागि काम गरिएको हो भन्ने पनि स्पष्ट छैन । नारायण गोपालले होला गाएको भोलि उठी कहाँ जाने केही थाहा छैन, फर्की आउने हो की होइन केही थाहा छैन। उहाँहरुको यात्रा त्यस्तै हो भोलि उठी कहाँ जाने त्यो पनि थाहा छैन, के को लागि अरुको चरित्र हत्या गरेको त्यो पनि थाहा छैन । के का लागि काम गर्दैछु त्यो पनि थाहा छैन । त्यस्तो पार्टी होइन नेकपा एमाले ।’

अध्यक्ष ओलीले एमाले समृद्ध नेपाल र सुखी नेपाली निर्माणका लागि निरन्तर र अथक संघर्षमा लागेको पार्टी भएको दाबी गरे । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरू नेकपा एमालेमा प्रवेश गरेका थिए ।

प्रकाशित मितिः शनिबार, १० माघ २०८२
https://jawaaf.com/storage/01KFQJZJZY3CEP7G1N4VKRJJDS.jpg

शेख हसिनाको पहिलो सावर्जनिक सम्बोधनः ‘युनुस शासनले बंगलादेशलाई आतंकको युगमा धकेल्यो’

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नो पहिलो सावर्जनिक सम्बोधनमा बंगलादेश आतंकको युगमा धकेलिएको बताएकी छन् । अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसमाथि कडा प्रहार गर्दै उनले बंगलादेश “आतंकको युगमा प्रवेश गरेको” दाबी गरेकी हुन् । नयाँदिल्लीमा आयोजित एक कार्यक्रममा पूर्वरेकर्ड गरिएको अडियो सन्देशमार्फत बोल्दै हसिनाले युनुस नेतृत्वको अन्तरिम सरकारलाई “अवैध, हिंस्रक र फासिवादी शासन” को संज्ञा दिँदै जनतालाई उक्त शासनविरुद्ध उभिन आह्वान गरिन् ।

उनले देशको भूमि र प्राकृतिक स्रोत विदेशी स्वार्थका लागि साट्ने षड्यन्त्र भइरहेको समेत आरोप लगाएकी छन् ।
गत वर्ष अगस्ट २०२४ मा हिंसात्मक आन्दोलनपछि भारत आएकी हसिनाको यो भारतमा पहिलो सार्वजनिक सम्बोधन हो । उनले भनिन,“आज बंगलादेश खाडलको छेउमा उभिएको छ । मुक्ति संग्रामबाट प्राप्त हाम्रो मातृभूमि चरमपन्थी साम्प्रदायिक शक्तिहरू र विदेशी हस्तक्षेपका कारण रक्तरञ्जित बनेको छ ।”

हसिनाले देशभर हिंसा, लुटपाट, जबर्जस्ती असुली, महिला तथा बालिकामाथि यौनहिंसा बढेको, प्रेस स्वतन्त्रता समाप्त भएको र धार्मिक अल्पसंख्यकमाथि अत्याचार भइरहेको आरोप लगाइन्। “सम्पूर्ण देश जेलखाना जस्तै बनेको छ, लोकतन्त्र निर्वासनमा गएको छ,” उनको भनाइ थियो । उनले अगस्ट ५, २०२४ मा आफूलाई योजनाबद्ध षड्यन्त्रमार्फत सत्ताबाट हटाइएको दाबी गर्दै त्यसपछि देश अराजकतामा फसेको बताइन् । उनका अनुसार शिक्षा संस्था अव्यवस्थित छन् र न्याय प्रणाली जनताका लागि भयावह बनेको छ । आवामी लिगकी नेतृ हसिनाले युनुस सरकारले बंगलादेशलाई बहुराष्ट्रिय द्वन्द्वतर्फ धकेलिरहेको आरोप पनि लगाइन् । उनले लोकतान्त्रिक, प्रगतिशील र धर्मनिरपेक्ष शक्तिहरूलाई एकजुट हुन आह्वान गरिन् ।

हसिनाले देश पुनर्निर्माणका लागि पाँच बुँदे योजना प्रस्तुत गर्दै सबैभन्दा पहिले “अवैध युनुस प्रशासन हटाएर लोकतन्त्र पुनःस्थापना गर्नुपर्ने” बताइन् । साथै, हिंसा अन्त्य, धार्मिक अल्पसंख्यक तथा महिला–बालिकाको सुरक्षा, राजनीतिक प्रतिशोधका मुद्दा अन्त्य र न्यायपालिकाको निष्पक्षता पुनःस्थापना गर्नुपर्नेमा जोड दिइन् ।

उनले संयुक्त राष्ट्रसंघलाई पछिल्लो एक वर्षका घटनाबारे निष्पक्ष अनुसन्धान गर्न आग्रह गर्दै भनिन, “सत्यको शुद्धीकरण बिना मेलमिलाप र भविष्य सम्भव छैन ।” बंगलादेशमा फेब्रुअरी १२ मा राष्ट्रिय निर्वाचन तय भएको छ भने शेख हसिनाको दल आवामी लिगका गतिविधि प्रतिबन्धित गरिएको छ र दलको दर्ता निलम्बनमा छ । (एएनआई)

प्रकाशित मितिः शनिबार, १० माघ २०८२
https://jawaaf.com/storage/01KFQGWN5NWT90ARYF567RAY71.jpg

हरिबोल गजुरेलसहित सात जना नेता–कार्यकर्तालाई नेकपाबाट निस्कासित

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले पार्टीको निर्णय र निर्देशनविपरीत उम्मेदवारी दिएको आरोपमा सात जना नेता तथा कार्यकर्तालाई पार्टीबाट निस्कासन गरेको छ ।

आगामी फागुन २१ गते हुने आम निर्वाचनका लागि पार्टीका आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा पार्टीको निर्णयविपरीत उम्मेदवार बनेका तथा त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक र प्रचारकको भूमिकामा रहेका व्यक्तिलाई पार्टी विधानको दफा १०६ अनुसार अनुशासनात्मक कारबाही गर्दै निस्कासन गरिएको पार्टीले जनाएको छ ।

पार्टीबाट निस्कासनमा पर्नेहरूमा सिन्धुलीका हरिबोल गजुरेल, महेश्वर दाहाल, दाङ क्षेत्र नं. ४ का कुलप्रसाद केसी, उदयपुरका मेजर राई, सिरहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह रहेका छन् ।

पार्टी सह–संयोजक माधवकुमार नेपाल र संयोजक पुष्पकमल दाहाल प्रचण्डद्वारा जारी विज्ञप्तिमा पार्टीको निर्णय विपरीत गतिविधि स्वीकार्य नहुने उल्लेख गरिएको छ ।

प्रकाशित मितिः शनिबार, १० माघ २०८२
https://jawaaf.com/storage/01KFN010RP5ZCQM9NWGE1V9479.jpg

बाबुराम भट्टराईद्वारा उम्मेदवारी फिर्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा २ मा दिएको उम्मेदवारी फिर्ता लिएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका उनले सामाजिक सञ्जाल फेसबुक लाइभमा आएर आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् ।

उनले भने, ‘अब कुनै राजनीतिक दल विशेषमा मात्र टास्सेर बस्नुभन्दा पनि म ७० वर्ष नाघिसके अब नयाँ पुस्ताहरुलाई अगाडि ल्याउनुपर्छ भन्ने सोचकासाथ मैले हुर्काउदै ल्याएको पार्टीको नेतृत्व पनि नयाँ साथिलाई सुम्पिनुपर्छ भनेर म लागेको थिए । अहिले पनि सबै साथिहरुको आग्रह र सुझाव अनुसार संसद बाहिर रहेर नै सघाउने निर्णय गरेको छु । देशको अभिभावकको भूमिका निर्वाह गर्नु उपयुक्त हुन्छ भन्ने ठानेर उम्मेदवारी फिर्ता लिने निर्णय लिएको छु ।’

उनले अब संसद् बाहिर रहेर पनि जनताको आकांक्षा अनुसार काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रकाशित मितिः शुक्रबार, ०९ माघ २०८२
https://jawaaf.com/storage/01KF8J9DHVCBH1GJ5H7C7Y9838.jpg

सुनिताले दिइन बालेनलाई धन्यवाद

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि धन्यवाद ज्ञापन गरेकी छन् ।
आइतबार भएको ४६ औं नगर कार्यपालिकाको बैठकमा उनले बालेनलाई आगामी दिनमा सफलताको कामना गर्दै सबैको तर्फबाट धन्यवाद ज्ञापन गरेकी छन् ।
उनले भनिन्, ‘महानगर प्रमुखले आफ्नो कार्यावधीभर काठमाडौं महानगरपालिकाको विकास गर्न, सुशासन कायम गर्न र महानगरमा सम्पूर्ण रुपले खेल्नु भएको सकारात्मक भूमिकाको लागि धन्यवाद ज्ञापन गर्दछौ । आगामी दिनमा उहाँले चाल्नु भएको पाइला सफल होस भन्ने कामना दिन चाहन्छौ ।’
उनले बैठकमा नेपालको संविधान स्थानीय सरकार सञ्चालन ऐन २०७४ र काठमाडौं महानगरपालिकाको प्रचलित कानूनी व्यवस्था अनुसार २०८२ माघ ४ गते देखि लागू हुने गरि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले राजीनामा दिएको पनि जानकारी गराएकी छन् ।
उनले भनिन्, ‘आज मिति २०८२ माघ ४ गते नेपालको संविधान स्थानिय सरकार सञ्चालन ऐन २०७४ र काठमाडौं महानगरपालिकाको प्रचलित कानूनी व्यवस्था अनुसार आज कै दिन अर्थात २०८२ माघ ४ गते देखि लागू हुने गरि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दिनु भएको राजीनामा मलाई प्राप्त भएको सबैलाई जानकारी गराउन चाहन्छु ।’

प्रकाशित मितिः आइतबार, ०४ माघ २०८२
https://jawaaf.com/storage/01KF5EE4JS2W33WKVFG5XC1J3X.jpg

कांग्रेसमा जस्तै विद्रोही चेत नेपाली कम्युनिष्ट पार्टीभित्र पनि आवश्यक छ : लक्ष्मण लम्साल

लक्ष्मण लम्साल काभ्रेपलान्चोक निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा तत्कालीन नेकपा (एकीकृत समाजवादी) विजयी सांसद हुन् । बागमती प्रदेशमा श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेर अनुभव लिएका उनी हाल नेपाली कम्युनिष्ट पार्टीको प्रभावशाली नेताका रूपमा परिचित छ । पार्टी रूपान्तरण र पुस्तान्तरणका आवाज उठाइरहेका लम्सालसँग हामीले छोटो कुराकानी गरेको छौँ।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई कसरी हेरिरहनु भएको छ ?

पछिल्लो राजनीतिक घटनाक्रमलाई हेर्दा खासगरी फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनको हिसाबले देश अगाडि बढिरहेको छ । नेपाली कांग्रेसको विशेष महाधिवेशन र संस्थापन पक्ष बीचको विवादका माझ फागुन २१ गते निर्वाचनमा मुलुक अगाडि बढ्नुपर्छ । मुलुक निर्वाचनमा गएन भने जेनजी मुभमेन्टपछि बनेको सरकार र त्यसको म्यान्डेट भनेको प्रतिनिधि सभाको निर्वाचन नै हो । प्रतिनिधि सभाको निर्वाचन गर्न सक्यौँ भने मुलुक एउटा संवैधानिक कोर्समा अगाडि बढ्छ र नयाँ वातावरणमा जान सक्छौ ।
यदि संवैधानिक बाटोमा डिरेल हुने बित्तिकै मुलुक हालको व्यवस्था र अवस्थामा डिरेल हुनसक्छ । जसका कारणले नेपाली नागरिक वा नेपाली राजनीतिले धेरै दुःख ब्यहोर्नुपर्ने स्थिति निर्माण हुनसक्छ । त्यसकारण पछिल्लो राजनीतिक घटनाक्रम हेर्दा सकारात्मक हिसाबले निर्वाचनको बाटोमा जाँदा नै मुलुक ठिक ठाउँमा पुग्ने देखेको छु ।
अहिले केही दिनको घटना र परिघटनालाई हेर्ने हो भने निर्वाचन हुन्छ कि हुँदैन भन्ने संशय पैदा हुँदा पनि आयोग अन्तिम तयारीमा छ । कम्तीमा समानुपातिक सूची पेस भयो, राष्ट्रिय सभाको निर्वाचनको तयारी सम्पन्न भएको छ । प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको नोमिनेशन माघ ६ गते छ । यस हिसाबले हेर्दा सकारात्मक बाटोमा गएको छ । तर कांग्रेसका कारणले केही समस्या हुन्छ कि भन्ने छ तर त्यसको विकल्प निर्वाचन नै हो । एउटा दलको समस्यालाई निर्वाचन आयोगले समाधान गर्दै आएको हुनाले अरू विभिन्न बहाना देखाएर निर्वाचन रोकिनु हुँदैन भन्ने कुरा नै महत्वपूर्ण हो ।

कांग्रेस देशकै सबैभन्दा ठूलो दल पनि हो, देशकै सबैभन्दा ठूलो दल विभाजनतर्फ गइरहेको भनेर धेरैले चिन्ता पनि व्यक्त गर्नुभएको छ । हजुरले यसलाई कसरी हेरिरहनु भएको छ ?

म एउटा कम्युनिस्ट पार्टीको कार्यकर्ता हिसाबले, लोकतन्त्र र गणतन्त्रमा विश्वास गर्ने एउटा कार्यकर्ताको हिसाबले कुनैपनि दलहरू फुट्नु आफैँमा राम्रो कुरा होइन । यसले लोकतन्त्रलाई बलियो बनाउँदैन । अरू पार्टीको बारेमा मैँले टिप्पणी वा आलोचना गर्नु त्यति ठिक त होइन तर कांग्रेस भित्र जे खालको विद्रोह भइराखेको छ जे त्यो हाम्रो पार्टीमा हामीले उठाउन सकेनौ। कुरा गर्यौँ, बहस गर्यौं, छलफल गर्यौं तर त्यो तहसम्म पुर्‍याउनु सकेनौँ ।
विभाजन हुनु आफैँमा बेठिक हो । तर पार्टीहरूमा एउटा ब्युरोक्रेटिकले कब्जा गर्नु दलहरु लोकतन्त्रमा प्रजातन्त्रमा विश्वास गर्ने पार्टीहरू दलहरू तिनका नेताहरू जब ब्युरोक्रेटिक संरचनालाई कब्जा गर्ने मनोविज्ञानबाट अगाडि बढ्छन् त्यो विद्रोह हुन्छ । कांग्रेसमा भएको विद्रोहको हिसाबले जुन ढंगले आफूलाई नयाँ युगमा बदल्न खोज्यो त्यो सकारात्मक पक्ष हो । त्यसलाई एउटा कानुनी र राजनीतिक हिसाबले सेटलमेन्ट हुनुपर्छ । तर लोकतन्त्रमा दलहरु फुट्नु आफैमा नराम्रो कुरा हो । चाहे त्यो नेपाली कम्युनिस्ट पार्टी होस् चाहे त्यो नेकपा एमाले होस् चाहे नेपाली कांग्रेस होस् वा अरू नयाँ कुनै पार्टीहरू हुन् फुट्नु आफैमा राम्रो कुरा होइन् ।
तर नेपाली कांग्रेसले जे एजेन्डा वा मुद्दा उठाइरहेको छ । एक हिसाबले त्यो ठिक हो भन्ने ठाउँमा छु । त्यसलाई राजनीतिक, कानुनी हिसाबले र पार्टीको एकता कायम गर्ने हिसाबले अघि बढ्नुपर्छ ।

वर्तमान सरकारको कार्यशैलीलाई कसरी हेरिरहुनभएको छ ? चुनावी वातावरण बनेको छ या छैन् ?

सरकार कुन हिसाबले, कुन पृष्ठभूमिबाट कसरी बन्यो त्यसबारे आ–आफ्ना टिप्पणीहरू मूल्यांकनहरू होलान् । त्यसका बारेमा चर्चा नगरौँ । तर निर्वाचन गराउने सर्तमा सरकारले अहिलेसम्म ठिकै गरेको मैले देख्छु । तर कसैको मुद्दा फिर्ता लिने र कसैलाई मुद्दा दर्ता गर्ने साथै एउटा अमुक मान्छे वा दलका मान्छेहरूलाई मुद्दा लगाउने र फिर्ता लिने काममा सरकार लाग्नु भनेको राम्रो होइन । कता–कता यो सरकार पनि अहिलेसम्म गरिरहेको ठीकै कामबाट पछाडि हट्न खोजेको हो की भन्ने म देख्छु । यद्यपि, त्यसैलाई अन्तिम मुद्दा बनाइनु हुँदैन् । निर्वाचनमा जानुपर्छ भन्नेमा दुइमत छैन । निर्वाचनको अरू तयारी गरेको ठिक छ । चुनावकै बाटोमा जानुपर्छ तर सरकार कतै न कतै निर्वाचनको विपक्षमा छ भन्ने उसका निर्णयहरूले देखाउने गरेको छ । जस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको मुद्दाको विषय निर्वाचनको मुखमा स्वाभाविक हो जस्तो लाग्दैन ।

तपाईहरूले यहीबिचमा बाम एकता पनि गर्नुभएको छ । जनताले पूराना राजनीतिक दलहरूलाई पत्याउलान ?

जेनजी आन्दोलन पछाडि दलहरुमा जे प्रश्नहरु उठेको थियो त्यसबारे हाम्रो पार्टीमा लामो समयदेखि उठाउँदै आएका थियौं । अहिले पनि त्यो प्रश्नबाट पछाडि हटेका छैनौं । हाम्रो पार्टी भित्रकै कुरा गर्नुहुन्छ भने जेनजी आन्दोलन हुनुभन्दा अगाडी नै पुरानो नेतृत्वलाई बिदा गर्नुपर्छ र पार्टीहरू पुनर्गठित एवम् पुनर्रचना गरेर अगाडि जानुपर्छ । त्यसरी नै बाम एकता गरेर जानुपर्छ भन्ने भनाई थियो ।
तर हाल बहुमतले दुईवटा पार्टी मिल्ने वा निर्णय गरेर चुनावमा जाँदैमा सबै समाधान हुन्छ जस्तो लाग्दैन् । कार्यकर्ताको उत्साह र जनताले विश्वास गर्ने हिसाबले राजनीतिक मुद्दा र एजेन्डा मिलाउँछौँ भनेका छौं । तर कार्यकर्ता मिलाउने कुरा र नागरिकमा आश जगाउने कुरा नभएसम्म एकता पनि पुष्टि हुँदैन । एकताको सन्देश लिएर हामी निर्वाचनमा जाने हो । हामी मिलेर आएका छौं, हामीलाई भोट दिनुहोस, ठिकठाक गर्छौ भन्न सक्नुपर्छ । नेपाली कम्युनिस्ट पार्टी र तिनका नेताहरुले जेनजी मुभमेन्ट अगाडि उठाउदै आएको मुद्दा र पछाडिका सोसाइटीमा उठेका तमाम प्रश्नहरू सुशासन, डेलिभरीका प्रश्नहरू, नागरिक, नागरिकहरूले राखेको परिवर्तनको चाहनालाई हामी सम्बोधन गर्नसक्नेगरी हामी अगाडि बढ्नुपर्छ । नागरिकले पत्याउछन् कि पत्याउँदैनन् भन्ने कुरा मैदानमा गइसकेपछि थाहा हुन्छ ।
मुख्य कुरा त निर्वाचनमा जाने र आएको परिणामलाई स्वीकार गर्ने प्रमुख विषय हो । जनताले हामीलाई भोट दिन्छन् भनेर पूर्णरूपमा विश्वस्त हुनसक्ने अवस्था छैन । किनभने जेनजी मुभमेन्ट अगाडि नै सबै कुराको करेक्सन हुनुपर्छ भन्ने लागेको थियो । अहिले बनेको संरचना र एकताले मात्र सबैथोक हुँदैन । जनतामाझ स्वेतपत्र जारी गर्नुपर्छ । हामीले यी कमजोरी गर्यौं, यस्ता कुरामा सुधार गर्छौ भन्ने विषय समेटेर घोषणापत्र बनाउन, एजेन्डा बनाउन र लिडरसिपलाई पनि बदल्दै विश्वास दिलाउन सकियो भने एकताको अर्थ हुन्छ ।
होइन, हिजोकै नेतृत्वले माफी पनि नमाग्ने, कमजोरी नस्वीकार्ने गरियो भने जनताले पत्याउँछन् भन्नेमा ठान्दिन । नेतृत्व नबदलिकन जनताको बीचमा जान सक्दैनौँ भन्ने मत अहिले पनि पार्टी भित्र राखिरहेको छु । बदलिएर आउँछौँ भन्ने कुरा देखिनेगरी हुनुपर्छ । किनभने महाधिवेशन गरेर लिडरशिप नयाँ बनाएकै छैनौँ । चुनाव पछाडि महाधिवेशन गर्ने मुडमा छौं । अर्को कुरा हामीले श्वेतपत्र जारी गरेर बितेका ३० वर्षमा राम्रा या नराम्रा काम र भूमिकाका बारेमा श्वेतपत्र जारी गरेका छैनौं ।
अब घोषणापत्र लेख्दैछौँ भने विगतमा लेखेका घोषणापत्र कति पूरा गर्यौं, अबको घोषणापत्रले कहाँ पुर्याउँछौँ भन्ने कुरा ठिक ढंगले निर्णय अझै पनि गर्न सकेनौँ भने निर्वाचनमा जान त्यति सजिलो छ जस्तो लाग्दैन । हिजो विभाजित थियौं तर आज फरक फरक ठाउँबाट मिलेर आएका छौं । कमजोरी गर्दैनौं, मत दिनुहोस, हामी बदलिन्छौँ भन्ने आधारहरू स्पष्ट हुनुपर्छ । किनकी दुनियाँले पत्यायो, देशले पत्यायो भने चुनाव जित्ने हो नत्र मुस्किल छ ।

पार्टीभित्रै विमति रहेछ, अनि नेपाली कम्युनिष्ट पार्टीलाई जनताले के आधारमा विश्वास गर्ने त ?

हो, पार्टी भित्रै विमति छ । टिकट पाउने नपाउने वा चुनाव हुने नहुने विमति होइन । कांग्रेसले विशेष महाधिवेशन गर्यो र फुट्ने चरणमा गयो होला । तर उसले आफूलाई बदल्यो, बदल्ने कोसिस गर्यो । एमालेले महाधिवेशन गर्यो, ठिक गर्यो कि गरेन त्यो समीक्षाको विषय होला । तर नेपाली कम्युनिस्ट पार्टीले १९ वटा पार्टी मिलायो । चुनाव सकेपछि महाधिवेशन गर्ने भनियो । यहाँ मेरो मत के हो भने मिलेर आयौ भन्ने मात्र कुराले चुनाव जित्दैनौं । मिलेर आयौ भन्ने कुराले मात्र विश्वास कायम राख्दैन् । त्यसैले मत विभाजित छ ।

त्यसोभए, महाधिवेशन चुनाव भन्दा अगाडि नै हुनुपर्छ भन्ने हो ?

चुनाव अगाडि नै नेतृत्व परिवर्तनका सन्दर्भमा महाधिवेशन गरेर वा अर्को उपाय खोजेर पुनर्गठित र पुनर्संरचित बनाएर लानुपर्छ । लिडरसिपले पनि त्यो बाटो समाउला र सच्चिने ठाउँमा पुग्ला भन्ने लागेको छ ।

जेनजी आन्दोलनपछि धेरै नयाँ दलहरू दर्ता भएका छन्, एकताबद्ध हुँदै गएका छन् । पूराना दलहरूका लागि नयाँ चुनौति हुन कि होइनन् ?

पुराना राजनीतिक दलहरूले गम्भीर समीक्षा गरेर आफ्नो–आफ्नो ठाउँबाट आफूलाई पुनर्गठित वा पुनर्संरचित नगर्ने हो भने बितेका ३० वर्षमा हामीले गरेका कर्महरूका बारेमा गम्भीरतापूर्वक समीक्षा नगर्ने हो भने पुराना राजनीतिक दल भनेर मात्र मान्छेहरु बस्दैनन् । पुराना राजनीतिक दलहरुको समाप्त हुनुपर्छ, केही पनि काम लाग्दैनन् भन्ने भाष्य पनि ठीक होइन । नयाँ पार्टी दर्ता गर्दैमा वा बनाउँदैमा भरभराएर आउँछ भन्नेमा मान्यता राख्दिन । दलीय व्यवस्था लोकतन्त्रमा जरुरी पनि छ ।
पूराना भनिएका पार्टीहरूले आफूलाई समयसापेक्ष अपडेट गर्नुपर्छ । वैचारिक, सांगठनिक परिवर्तन र कार्यशैली परिवर्तन साथै रुपान्तरण हुनु जरुरी छ । यसमा ध्यान दिन सकिएन भने नयाँ पार्टीहरू विस्तार हुन सक्छन् । त्यो रोकेर रोक्न सकिदैन । छेकेर छेक्न सकिदैन । जनता वा कार्यकर्ता सँधै मेरा हुन्छन् भन्ने भ्रम गलत छ । तर सोसाइटीमा के बनाउन खोजीदै छ भने राजनीतिक दल अपडेट छैनन्, पुराना दल भनेका सबै उस्तै हुन् भन्ने भाष्य समाजमा निर्माण गर्न खोजिदैछ । यो नेपाली राजनीतिको ठूलो चुनौतीको विषय हो।
नयाँहरू पनि जिम्मेवार, भरपर्दो एवम वैचारिक, राजनीतिक, सांगठनिक र संकल्प दृष्टिकोण बोकेर आइरहेका छन् भन्ने कुरा पनि ग्यारेन्टी छैन । त्यसैले पुराना राजनीतिक दलहरू पनि बदलिनुपर्छ । कमी कमजोरीको समीक्षा गर्नु पर्छ र नयाँ युग सुहाउँदो अपडेट गर्दै जानुपर्छ ।

अहिले फरक क्षेत्रमा सक्रिय व्यक्तिहरू राजनीतिमा प्रवेश गर्ने लहर छ । यसलाई कसरी लिनुहुन्छ ?

अन्य क्षेत्रका मान्छे राजनीतिमा आउन पाइदैन भनेर भन्न मिल्दैन् । आउन पाइन्छ । कलाकारिता, सामाजिक साथै अन्य व्यावसायिक क्षेत्रबाट राजनीतिमा आउन पाइन्छ । तर राजनीति भन्ने त्यति सजिलो छैन् । दुई खालका मान्छेहरू सक्रिय भएको देखिन्छ । कोही नाम कमाउन, कोही नामका लागि नाम थप्न आएका छन् । सोसाइटीलाई योगदान गर्न आएका छन । त्यो त समयक्रमले पुष्टि गर्दै जाला । राजनीतिप्रति आकर्षण हुनु राम्रो कुरा हो, त्यसलाई नेगेटिभ भन्दिन । तर उसको भूमिका र योगदान प्रमुख विषय हो ।
गीत बजेको बेलामा बाजा बजेको बेलामा जसलाई नि नाच्न मन लाग्छ । तर नाच्न जान्नपर्छ, मन लागेर हँुदैन । कलाकारहरूले राजनीतिमा रुचि राखेका छन् । समाजले अलिकति चिनेका मान्छे राजनीतिमा आउन खोजेका छन् । यसको अर्थ राजनीतिमा आउनु हुँदैन भन्न मिल्दैन् । तर राजनीतिमा आएर सफा गर्न र बदल्न सक्नुपर्छ ।

निर्वाचनको मनोनयन दर्ताको मिति आइसकेको छ, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार चयनमा समावेशिता र युवा वर्गलाई कत्तिको ध्यान दिएको छ ?

अरू धेरै राजनीतिक दलहरु भन्दा हामीले समानुपातिक प्रणालीमा समावेशिता बनाएको देखिन्छ । तर समावेशिता भनेको पार्टीको उपल्लो नेतृत्वलाई राख्नेलाई समावेशी भनिदैन, त्यसमा सबै समावेशी हुनुपर्यो ।
कतिपय ठाउँमा पहिचानको हिसाबले भन्दा पहुँचका आधारमा ल्याइएको छ । पहुँच नभएका मान्छेलाई ल्याइएको छैन । त्यसो भएको हुनाले नेपाली कम्युनिस्ट पार्टीले अहिले अरु पार्टीको तुलनामा रुपमा समानुपातिक सूची प्रणाली ठिकै पेश गरेको छ ।
यसले सय प्रतिशत राम्रो गरेको छ भनेर म भन्दिन । किनभने यसले आफ्नै सिनियर नेताहरु वा पहुँच भएकै मान्छेलाई ल्याउने परिपाटी ठिक छैन् । समानुपातिक प्रणाली भनेको पछि परेको समुदायलाई माथि ल्याउने हो नि पहुँच नभएका मान्छेलाई पहुँचमा पुर्‍याउने हो । पहिचान नभएका मान्छेलाई पहिचान दिने हो । तर हामीले समावेशीताको मर्म माथि प्रहार गरिरहेका छौं ।

हजुरको तयारी चाहीं के छ ?

प्रदेश सभामा निर्वाचित भएर आएको तीन वर्ष मात्र हुँदैछ । केही साथीहरूले चुनाव लड्नुपर्छ त भनिरहनु भएको छ । तर पाँच वर्षको जिम्मेवारी लिएर आएपछि बीचैमा छाडेर जाँदा नागरिकले प्रश्न उठाउँछन् । अनि अवसर पाउने बित्तिकै कुदिहाल्ने खालको क्यारेक्टर पनि प्रस्तुत गर्नु राम्रो हुँदैन । त्यसैले प्रतिनिधि सभामा चुनाव लड्ने योजना बनाएको छैन।

<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/8IgSNeMXvPQ?si=zv6uAd4LMzDRr0yJ" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>

प्रकाशित मितिः शनिबार, ०३ माघ २०८२
https://jawaaf.com/storage/01KF32WMKMTHQ27CYHG59CB3RX.jpg

विशेष महाधिवेशन विधानविपरीत छ : खड्का

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र केही व्यक्तिले विशेष महाधिवेशनको नाममा अनुशासनबाहिरका गतिविधि गर्दै आएको आरोप लगाएका छन् ।
पार्टी विभाजनपछिको अवस्थाबारे नेपाली कांग्रेस (देउवापक्ष) ले आयोजना गरेको पत्रकार सम्मेलनमा धारणा राख्दै उनले विधानविपरीत विशेष महाधिवेशनका नाममा भेला आयोजना गरी निर्वाचन आयोगसम्म पुगेको विषय सञ्चारमाध्यमबाट जानकारी पाएको बताए । त्यसपछि पार्टीको सिंगो कार्यसमिति निर्वाचन आयोग पुगेर वैधानिकता र अधिकारको विषयमा आफ्नो धारणा राखेको उनले स्पष्ट गरे ।

‘कांग्रेसको विधानबारे निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएका छौँ,’ खड्काले भने, ‘हामीले नियमित महाधिवेशनको प्रक्रिया अघि बढाइसकेका छौँ । सर्वसम्मत निर्णयका आधारमा आगामी वैशाखमा महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेका छौँ ।’

उनले नेपाली जनताले कांग्रेसप्रति विश्वास र भरोसा गरेको बेला त्यो विश्वासमा ठेस पुग्ने अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले विशेष महाधिवेशनको भेला रोकिएको बताए । पार्टीमा एकताको भाव कायम गर्न विशेष महाधिवेशनको माग गर्ने नेताहरूसँग संवाद गरिएको भए पनि धेरै विषयमा भ्रम फैलाइएको उनको भनाइ थियो ।

खड्काले सभापति शेरबहादुर देउवाको भनाइ उद्धृत गर्दै भने, ‘टिकटको हस्ताक्षर मैले छाडेर कार्यवाहकको मात्रै होइन, गगनजी तपाईंले जसलाई भन्नुहुन्छ म उसैलाई दिन तयार छु भनेर सभापतिले भन्नुभएको थियो । पार्टीको विखण्डन रोक्नकै लागि यो तयारी गरिएको हो ।’

उनले गगन पक्षले सभापति र केन्द्रीय समितिलाई देखाएर झूटा कुराको प्रचार गरेको आरोप लगाए ।

प्रकाशित मितिः शुक्रबार, ०२ माघ २०८२
https://jawaaf.com/storage/01KF2R7VM2549RSYE1BVRMA1P1.jpg

कांग्रेसको कुनै अधिवेशन वा विशेष महाधिवेशन भएको छैन : मीन विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गगन थापा समूहले पार्टीको आधिकारिकता दाबी गर्दै भ्रम फैलाएको भन्दै त्यसबारे जानकारी गराउन आफूहरू निर्वाचन आयोग पुगेको बताएका छन् ।

शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै विश्वकर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित १३५ जना केन्द्रीय सदस्य निर्वाचन आयोग गएको जानकारी दिए । उनका अनुसार गगन थापा समूहको दाबी निरर्थक रहेको र पार्टीले कुनै विशेष महाधिवेशन आह्वान नगरेको स्पष्ट पारे ।

‘विशेष महाधिवेशन आह्वान गर्ने अधिकार सभापति र केन्द्रीय समितिलाई मात्र हुन्छ,’ विश्वकर्माले भने, ‘उहाँहरूले काठमाडौं जिल्ला सभापतिको अध्यक्षतामा भेला गर्नुभएको छ, त्यो काठमाडौं जिल्ला अधिवेशन हुनसक्छ, तर केन्द्रीय तहको विशेष महाधिवेशन होइन ।’

उनले पछिल्लो समय केही पूर्व नेताहरूले निर्वाचन आयोगमा आएर नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति परिवर्तन भएको, अद्यावधिक भएकोजस्ता दाबी गर्दै भ्रम सिर्जना गरेको र त्यसअनुसार सञ्चारमाध्यममा समाचार आएको थाहा पाएपछि पार्टी नेतृत्व गम्भीर भएको बताए ।

विश्वकर्माका अनुसार १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा, उपसभापति तथा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङलगायत १३५ भन्दा बढी केन्द्रीय सदस्यको सामूहिक उपस्थितिमा निर्वाचन आयोगमा पार्टीको आधिकारिक धारणा राखिएको हो ।

‘हाम्रो पार्टीको कुनै अधिवेशन वा विशेष महाधिवेशन हालसम्म भएको छैन,’ उनले भने, ‘केन्द्रीय कार्य समितिको सर्वसम्मत निर्णयअनुसार चैत २१ गते वडा अधिवेशन, वैशाख २८, २९ र ३० गते केन्द्रीय महाधिवेशन हुने कार्यतालिका तय भइसकेको छ ।’

उनले नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेको, राष्ट्रिय सभाका उम्मेदवार मनोनयन तथा दर्ता गरिसकेको र आयोगका सबै बैठकमा आधिकारिक रूपमा सहभागी हुँदै आएको पनि स्पष्ट पारे ।

‘बीचमा केही व्यक्तिहरू आफूलाई नेपाली कांग्रेस भन्दै कानुनी आधारबिनै दाबी गर्दै आएका छन्,’ विश्वकर्माले भने, ‘पार्टीको वैधानिकता र आधिकारिकता जोगाउन तथा भ्रम चिर्न प्रारम्भिक सिद्धान्तका आधारमा हामी निर्वाचन आयोगमा गएर जानकारी गराएका हौं ।’

प्रकाशित मितिः शुक्रबार, ०२ माघ २०८२