मलाई थुने, दुःख दिए भनेर चित्त दुखाउनुको अर्थ छैन, सिंगो देश र पुस्तालाई दिएको दुःखको हिसाब मिलाउनु छ : रवि लामिछाने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनको चौबीसकोटीमा आयोजित सभालाई सम्बोधन गर्दै आफू एक चुनावका लागि मात्र नभई एक पुस्ताको भविष्यका लागि राजनीतिमा आएको बताएका छन् ।
हिजोमात्रै भैरहवा कारागारबाट रिहा भएका लामिछानेले चितवनबासीले अन्यायका विरुद्ध निरन्तर आवाज उठाउँदै आएको भन्दै आभार व्यक्त गरे । उनले चितवनले आफूलाई मात्र होइन, देशलाई नै न्याय गर्ने विश्वास व्यक्त गरे ।
सभालाई सम्बोधन गर्दै उनले भने, ‘आज पर्यन्त अन्यायका विरुद्ध चितवनबासीले यहीँबाट आवाज उठ्दै आएको छ । यो गुन तपाईंहरूले मलाई मात्रै होइन, देशकै लागि लगाउनुभएको हो । म यही गुनको संवाहक बनेर देशलाई तिर्नेछु ।’
आफूमाथि भएको अन्यायको प्रसंग उठाउँदै लामिछानेले व्यक्तिगत पीडाभन्दा देश र पुस्तालाई दिइएको पीडा ठूलो भएको बताए । ‘मलाई डस्ने सर्प मरे कि मरेनन् थाहा भएन, तर उनीहरूले दिएको विष बोकेर म आज पनि बाँचिरहेको छु । मलाई थुने, दुःख दिए भनेर चित्त दुखाउनुको अर्थ छैन । सिंगो देश र पुस्तालाई दिएको दुःखको हिसाब मिलाउनुपर्छ,’ उनले भने ।
उनले युवापुस्ताप्रति प्रतिबद्धता जनाउँदै जेन–जी पुस्ताको संघर्ष खेर जान नदिने स्पष्ट पारे । साथै, बदला लिने राजनीतिमा आफू नलाग्ने पनि बताए।
लामिछानेले चितवनको चौबीसकोटी ऐतिहासिक स्थल भएको उल्लेख गर्दै यहाँबाट देशका लागि न्यायको अभियान अघि बढ्ने विश्वास व्यक्त गरे ।
‘म एउटा चुनाव जित्नका लागि राजनीतिमा आएको होइन । एउटा पुस्ताको भविष्यका लागि आएको हुँ । त्याग गर्नुपर्ने भए पहिलो सूचीमा मेरो नाम हुन्छ । तर यदि कुरा केवल एउटा चुनावको मात्र हो भने, म त्यसका लागि तयार छैन,’ उनले भने । सभामा सहभागी समर्थकहरूले लामिछानेप्रति समर्थन जनाउँदै उनको भनाइलाई स्वागत गरेका थिए ।
फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन नै देश स्थिरताको एकमात्र मार्ग : प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ गते भएका दुखद घटनापछि देश पुनः शान्तिको बाटोमा फर्किएको बताएकी छन्।
शनिबार सरकार गठनको १०० दिन पूरा भएको अवसरमा एक एक भिडियो सन्देश जारी गर्दै उनले ती घटनामा ज्यान गुमाउने योद्धाहरूलाई सहिद घोषणा गरिएको र घाइतेहरूको उपचार र जीविकोपार्जन सुनिश्चित गर्ने प्रक्रिया अघि बढाइएको बताइन् ।
उनले भनिन्, ‘भदौ २३ र २४ गते दुखद घटनापछि देश फेरी शान्तीको बाटोमा फर्किएको छ । ती घटनामा ज्यान गुमाउने योद्धाहरुलाई सहिद घोषणा गरेका छौ । घाइते योद्धाको उपचारका साथै जिवितका जिविका सुनिश्चत गर्ने प्रकृया अघि बढाएका छौ ।’
प्रधानमन्त्री कार्कीका अनुसार आन्दोलन क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोषमार्फत काम सुरु भइसकेको छ । उनले अब विगतका पीडादायी क्षणहरू बिर्सिएर सुन्दर र स्थिर भविष्य निर्माणतर्फ सबै नेपालीले हातेमालो गर्नुपर्नेमा जोड दिइन्।
‘क्षतिग्रस्थ संरचना पूर्ननिर्माणका लागि भौतिक पुर्वाधार पुर्ननिर्माण कोष मार्फत काम थालिएको छ । अव हामीले नमिठा पलहरु बिर्सिएर एउटा सुन्दर र स्थिर भविश्य निर्माण तर्फ हातमा हात मिलाएर अघि बढ्नुपर्छ,’ उनले भनिन् ।
देश चुनावतर्फ अघि बढेको विषयमा देखिएको जिज्ञासा र भ्रमबारे स्पष्ट पार्दै प्रधानमन्त्री कार्कीले थप भनिन्, ‘अहिले कतिपयको मनमा एउटा जिज्ञासा र केही ठाउँमा भ्रम पनि छ, प्रश्न गर्नेहरुले भन्ने गर्नुभएको छ के देश साच्चै चुनावतिर बढेको हो ? तर के सरकारले शान्ति सुरक्षाको ग्यारेन्टी दिन सक्छ । आज म यही मन्चबाट देश र दुनियालाई प्रष्ट पार्न चाहान्छु २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन केवल एउटा कार्यतालिका मात्र रहेन यो हाम्रो देशलाई स्थिरता दिने र नयाँ युगको सुरुवात गर्ने एक मात्र निर्विकल्प मार्ग हो।’
कोशीका सहकारी रजिस्ट्रार भन्छन्-‘एलिट वर्ग’ हाबी हुँदा सहकारीमा समस्या आयो
विराटनगर । कोशी प्रदेश मातहत रहेका सहकारीहरूको नियमन गर्ने निकाय प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयका रजिस्ट्रार भुपेन्द्र खनालले सहकारीमा समाजका ‘एलिट वर्ग’ हाबी हुँदा समस्या उत्पन्न हुने गरेको बताएका छन् । कुराकानीका क्रममा उनले सहकारीको मूल मर्म गरिबी निवारणका लागि श्रमिक र मजदुरहरूले सञ्चालन गर्नु भए पनि व्यवहारमा प्रभावशाली वर्गले नियन्त्रण लिँदा सहकारी सिद्धान्तबाट विचलन भइरहेको उल्लेख गरे ।
‘सहकारीको वास्तविक मर्म गरिबी निवारणका लागि श्रमिक मजदुरहरूले चलाउने भन्ने हो । तर समाजका एलिट वर्गले चलाएको पाइरहेका छौँ । हामीले यसको सिद्धान्तअनुसार सञ्चालन हुने अवस्था बनाउन सक्नुपर्छ,’ रजिस्ट्रार खनालले भने ।
उनका अनुसार कोशी प्रदेशका सहकारीहरूलाई व्यवस्थित गर्न कार्यालय सक्रिय रूपमा लागेको छ । समस्या देखिएका सहकारीहरूको लेखा तथा गतिविधि छानबिन भइरहेको जनाउँदै प्रतिवेदनका आधारमा सङ्कटग्रस्त ठहर गर्न मिल्ने सहकारीलाई सङ्कटग्रस्त घोषणा गरिने उनले बताए । यसअघि सुनसरीको इटहरीस्थित अम्बे कोशी सहकारी सङ्कटग्रस्त घोषणा भइसकेको छ, जसको व्यवस्थापन प्रदेश सरकारले गठन गरेको समिति मार्फत भइरहेको छ ।
४४३ सहकारीको विवरण अद्यावधिक छैन
यसैबीच, कोशी प्रदेश मातहत रहेका १०७५ सहकारीमध्ये ४४३ सहकारीको विवरण हालसम्म अद्यावधिक नभएको पाइएको छ । कार्यालयले दोस्रो पटक सूचना जारी गर्दै २१ दिनभित्र विवरण बुझाउन निर्देशन दिएको छ । पहिलो पटक सूचना जारी गर्दा ४४ वटा सहकारी मात्रै सम्पर्कमा आएको र ठूलो सङ्ख्यामा विवरण नआएकाले पुनः सूचना जारी गरिएको रजिस्ट्रार खनालले जानकारी दिए ।
प्रदेश सहकारी ऐन, २०७६ को दफा ६०(१) अनुसार दुई वर्षसम्म अनिवार्य विवरण नबुझाएका सहकारी संघ–संस्थाहरूको सूची यसअघि २०८२ भदौ १७ गते सार्वजनिक गरिएको थियो । तर त्यसपछि पनि विवरण नबुझाएकाले पुनः नाम सार्वजनिक गरिएको कार्यालयले जनाएको छ ।
सहकारी संघ/संस्था सञ्चालन, अनुगमन तथा लेखा परीक्षणसम्बन्धी मापदण्ड, २०७८ को दफा २७(१) अनुसार निष्क्रिय ठहर गरिएका सहकारीहरूले २१ दिनभित्र आवश्यक कागजातसहित विवरण अद्यावधिक नगरे दर्ता खारेजीसम्मको कारबाही अघि बढाइने चेतावनी दिइएको छ ।
किन देखिन्छ सहकारीमा समस्या ?
सहकारी क्षेत्रमा समस्या देखिनुको प्रमुख कारण स्वनियमनको अभाव रहेको सरोकारवालाहरू बताउँछन् । सहकारीको सिद्धान्त र उद्देश्यको कमजोर बुझाइ, गैर–सदस्यसँग कारोबार, कानुनको पालनामा कमजोरी, कार्यक्षेत्र बाहिरको कारोबार तथा अत्यधिक खराब कर्जाका कारण सहकारीमा समस्या आउने गरेको जानकारहरूको भनाइ छ । त्यसमा पनि प्रभावकारी नियमन नहुँदा समस्या झनै जटिल बन्दै गएको उनीहरूको ठहर छ ।
एमाले महाधिवेशनमा एकताको सन्देश, नेतृत्व र भविष्यप्रति प्रतिनिधिहरू आशावादी
काठमाडौं । नेकपा एमालेको महाधिवेशनको दोस्रो दिन बन्दसत्र भृकुटीमण्डपमा जारी रहँदा देशभरिबाट आएका प्रतिनिधि तथा कार्यकर्ताहरूले यस महाधिवेशनलाई ‘महाकुम्भ’को संज्ञा दिँदै पार्टीभित्र उत्साह, एकता र भविष्यप्रतिको आशा झल्किएको बताएका छन् ।
महाधिवेशनमा सहभागीहरूले नेतृत्व चयन स्वच्छ प्रतिस्पर्धा वा सर्वसम्मत रूपमा हुनुपर्ने धारणा राखेका छन् । उनीहरूका अनुसार महाधिवेशनले पार्टीलाई अझ एकताबद्ध र सशक्त बनाउने सन्देश दिएको छ ।
पूर्व प्रेस चौतारी अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि गणेश बस्नेतले नेपाली माटो र देशको हितविरुद्ध जाने व्यक्ति एमालेको नेतृत्वमा आउन नसक्ने स्पष्ट पारे । यस्तै, सहभागी माया कुवरले आफू प्रतिनिधि नभए पनि महाधिवेशनमा सहभागी भएको बताउँदै पार्टी अध्यक्षमा केपी शर्मा ओली नै दोहोरिनुपर्ने धारणा व्यक्त गरिन् ।
विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूको मत भने विविध देखिएको छ । कतिपयले वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन जनाएका छन् भने केहीले ईश्वर पोखरेललाई उपयुक्त नेता मानेका छन् । पत्रकार तथा महाधिवेशन सहभागी रमित विकले एमालेले सबै वर्गलाई एकै ठाउँमा ल्याउन सफल भएको उल्लेख गर्दै पार्टी अब युवा–मैत्री बन्दै जाने विश्वास व्यक्त गरे। उनले एमाले अझ बलियो ढंगले अघि बढ्ने बताए ।
महाधिवेशन प्रतिनिधि कल्पना श्रेष्ठले आफूले केन्द्रीय कमिटीमा आकांक्षा नराखे पनि आउने नेतृत्वलाई समर्थन गर्नुपर्ने धारणा राखिन्। प्रतिनिधिहरूले ४० वर्षमुनिका युवा, दलित, अल्पसंख्यक तथा विभिन्न वर्गलाई समेट्दै पार्टी अघि बढेकोमा खुशी व्यक्त गरेका छन् ।
भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनपछि पार्टी झनै बलियो बनेको उनीहरूको भनाइ छ । सुर्खेत अध्यक्ष प्रमोद हमालले एउटै व्यक्ति धेरै पटक अध्यक्ष भइसक्यो भन्दैमा नेतृत्व गर्न नपाउने भन्ने भाष्य गलत भएको दाबी गरे ।
उनले नेकपा एमालेको नेतृत्व गरेर पार्टीलाई राम्रो दिशामा लैजान सक्ने एकमात्र पात्र केपी शर्मा ओली भएको बताए । साथै, उनले भुगोलका आधारमा कर्णाली प्रदेशलाई सचिव पद दिन आग्रह गरे ।
झापाबाट आएका प्रतिनिधि सूर्य उप्रेतीले महाधिवेशन सान्दर्भिक र सफल रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरे। यस्तै, कोशी प्रदेशका सामाजिक विकास मन्त्री पीके पाँचकर्ण राईले विषम परिस्थितिका बाबजुद महाधिवेशन भव्य रूपमा सम्पन्न भइरहेको र यसको माहोल अत्यन्त उत्साहजनक रहेको बताए ।
महाधिवेशनले पार्टीभित्र एकता, समावेशिता र सुदृढ नेतृत्वप्रतिको भरोसा अझ बलियो बनाएको सहभागीहरू बताउ छन् ।
रामकुमारी झाँक्रीले भनिन् : एक पटक ओलीलाई नै विश्वास गरौं
काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले एमालेको ११ औं महाधिवेशनलाई पार्टी मात्र नभई नेपालको लोकतान्त्रिक शक्ति र जनताको उत्सव भएको बताएकी छन् ।उनले यो महाधिवेशनबाट केपी शर्मा ओलीलाई नै विश्वास गरेर नेतृत्वमा पुर्याउनुपर्ने बताइन् ।
झाँक्रीले महाधिवेशनले युवाहरूलाई नेतृत्वतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गर्दै भनिन्, ‘यो महाधिवेशनले बहुसंख्यक युवाहरुलाई पार्टीमा नेतृत्वतर्फ ल्याउने पहल विधिबाट हुनेछ । वर्तमान नेपाली समाजमा नेतृत्वको हिसाबले आशा र विश्वास दिने नेताको रूपमा नेकपा एमालेको नेतृत्वमा कमरेड केपी शर्मा ओली नै छन् । उहाँलाई एकपटक विश्वास गरौँ ।’
उनले नेपाली समाजमा भर्खरै भएका घटनालाई नयाँ ढंगले पार्टीले जनताको विश्वास उठाउँदै अघि बढिरहेको बताइन् । ‘यो महाधिवेशनले सबैमा आशा, उत्साह र जीवनको सम्पूर्ण विश्वासलाई पुनर्जीवित गरेको छ । नेपाली समाजमा भर्खरै भएका घटनालाई नयाँ ढंगले पार्टीले जनताको विश्वास उठाउँदै अघि बढाइरहेको छ । यसै कारण महाधिवेशन राष्ट्रिय महोत्सव हो ।’
एमाले निर्णायक राष्ट्रिय शक्ति बन्छ, स्टन्टबाजीमा विश्वास गर्दैनौं : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले जस्तो देशभक्त र नेपाली जनताको हितमा समर्पित पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने दृढ संकल्पका साथ पार्टी अघि बढिरहेको बताएका छन् ।
शनिबार महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने दृढ संकल्पका साथ पार्टी अघि बढिरहेको बताएका हुन् ।
उनले भने, ‘नेकपा एमाले जस्तो देशभक्त नेपाली जनताको हितमा समर्पित पार्टीलाई अब निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्ने दृढ संकल्पका साथ हामी अघि बढिरहेका छौ । यस काममा मार्गदर्शन गर्न जनताको बहुदलिय जनवाद छ । त्यस मार्गदर्शनमा समृद्ध नेपाल र सुखी नेपालीको गन्तव्य तय गरेर अघि बढिरहेका छौ ।’
उनले उक्त संकल्प कुनै राजनीतिक स्टन्टबाजीका लागि नभई व्यवहारमा साकार पार्ने उद्देश्यसहित गरिएको स्पष्ट पारे।
‘देशभक्त नेपाली जनताको हितमा समर्पित पार्टीलाई अब निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्ने दृढ संकल्पका पोल्टिकल स्टनबाजीको लागि होइन । यो साकार पार्नका लागि गरिएको संकल्प हो । यसलाई नेकपा एमालेले साकार पारिछाड्ने छ,’ उनले भने ।
उनका अनुसार यस यात्रामा पार्टीलाई मार्गदर्शन गर्ने सिद्धान्त जनताको बहुदलीय जनवाद हो । सोही मार्गदर्शनअनुसार ‘समृद्ध नेपाल, सुखी नेपाली’को गन्तव्य तय गरी अघि बढिरहेको उनले बताए।
अध्यक्ष ओलीले आंशिक वा सीमित जनतालाई मात्र नभई सम्पूर्ण नेपाली जनतालाई समृद्ध बनाउने लक्ष्य एमालेको रहेको उल्लेख गरे । ‘हाम्रो उद्देश्य सिंगो देशलाई समृद्ध बनाउने हो,’ उनले भने ।
ओलीले यो संकल्प नेकपा एमालेले अवश्य साकार पार्ने विश्वास व्यक्त गर्दै पार्टीका कार्यकर्ता पंक्तिदेखि सुशासन, विकास, समृद्धि र सुख चाहने सम्पूर्ण देशप्रेमी नेपालीको साथ र सहयोग रहने अपेक्षा व्यक्त गरे ।
जेन-जी आन्दोलनलाई सन्तुलित रूपमा विश्लेषण गर्नुपर्छ : जसपा अध्यक्ष अशोक राई
धरान । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय अध्यक्ष अशोक राईले जेन–जी आन्दोलनलाई विभिन्न दलहरूले आ–आफ्नै ढङ्गले व्याख्या गरिरहेको अवस्थामा यसलाई सन्तुलित र निष्पक्ष रूपमा विश्लेषण गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । केही दलहरूले जेन-जी आन्दोलनलाई प्रतिगामी गतिविधि भने पनि त्यसलाई एकोहोरो रूपमा मूल्याङ्कन गर्न नमिल्ने उनको भनाइ छ ।
शुक्रवार सुनसरीको धरान–१५ स्थित छथहरे समाजको सामुदायिक भवनमा आयोजित जनता समाजवादी पार्टी प्रदेश नं. १ तथा किरात राष्ट्रिय समितिको पुनर्गठन कार्यक्रममा बोल्दै अध्यक्ष राईले लामो समयसम्म सत्ता सञ्चालन गरेका दलहरू र तिनका प्रशासनहरूले भ्रष्टाचार, कुशासन र विलासी जीवनशैलीका कारण समाजमा असन्तोषको ‘बारुद’ जम्मा गरेको बताए ।
“कोठाभरि बारुद जम्मा गरेर राख्ने पनि दोषी हुन् । त्यसमा आगो लाग्दा आगो लगाउनेलाई मात्र दोष दिन मिल्लदैन,” उनले भने ।
उनले भदौ २३ र २४ गते उक्त असन्तोष विस्फोट हुँदा कतिपय नहुनु पर्ने विध्वंस भएको र त्यस्ता गतिविधिलाई प्रगतिशील भन्न नसकिने स्पष्ट पारे । तर भ्रष्टाचारविरुद्धको जनआक्रोश, सुशासनको अभाव, नेताहरूको विलासी जीवनशैली र अस्थिर राजनीतिक अवस्थाविरुद्ध जेन-जी युवाहरूले सडकमा आवाज उठाउनु सही र जायज भएको उनको धारणा थियो ।
“भ्रष्टाचार मुर्दावाद, स्थिर सरकार चाहिन्छ, अस्थिर सरकार हट्नुपर्छ भन्ने मागसहित युवाहरूले दिएको अभिव्यक्ति सही थियो । त्यसकारण जेन-जी आन्दोलनलाई केवल प्रतिगामी मात्र भन्न मिल्लदैन,” उनले भने ।
पार्टीभित्रका केही केन्द्रीय नेता तथा प्रदेश अध्यक्षले पार्टी परित्याग गरेको सन्दर्भमा अध्यक्ष राईले भने जिल्लास्तरका नेतृत्वहरू पार्टीको विचारमा दृढ रहे पनि प्रदेश नेतृत्व सम्हाल्ने व्यक्तिहरू अस्थिर बनेको टिप्पणी गरे ।
“पार्टीको विचारभन्दा कतै दायाँबायाँ नहटेका जिल्ला अध्यक्षहरू बलिया छन् तर प्रदेश नेतृत्व गर्नुपर्ने व्यक्ति बतासले पत्कर उडाएजस्तै कहाँ पुगे,” उनले आलोचना गरे ।
अर्को पार्टीमा प्रवेशलाई केही नेताहरूले वामपन्थी एकीकरण र ध्रुवीकरणले पहिचान प्राप्तिको रूपमा व्याख्या गरेकोप्रति टिप्पणी गर्दै अध्यक्ष राईले पहिचानको पक्षमा दृढ उभिएको पार्टी छोड्नु आत्मपहिचान बिर्सिनु सरह भएको बताए ।
“विचारभन्दा स्वार्थ हाबी भयो भने मान्छे आफैँ विलाएर जान्छ,” उनले भने । इतिहासमा पुष्पलाल र बी.पी. कोइरालालाई समेत धेरै नेताहरूले छोडेको उदाहरण दिँदै अन्तत उहाँहरूको विचारले नै विभिन्न आन्दोलनको नेतृत्व गरेको उनले स्मरण गराए ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष राईले नेता-कार्यकर्तालाई इतिहास निर्माण गम्भीर जिम्मेवारी भएको उल्लेख गर्दै विचार, आस्था र निष्ठामा दृढ रहन आग्रह गरे ।
“हामी हिँडिरहेको बाटो भावी पुस्ताले पनि हिँड्ने बाटो हो । यही बाटोले नेपाललाई एकजुट बनाउँछ,” उनले भने ।
नेताहरूले बिचौलियाहरूलाई टाउकोमा राख्दा नागरिकहरूले दुःख पाए : मन्त्री इङनाम
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमारसिंह इङनामले नेताहरूले बिचौलियाहरूलाई टाउकोमा राख्दा नागरिकहरूले दुःख पाएको बताएका छन् । शुक्रवार पदभार ग्रहण गर्दै उनले नेताहरूले कमीशन खानको लागि बिचौलियाहरूलाई टाउको वा गोजीमा राखेर हिँड्ने गरेकाले नागरिकहरूले दुःख पाएको बताए ।
उनले भने, ‘नेपाल पहिलादेखि नै कृषिकर्म गर्दै आएको देश हो । कृषि सहजताका साथ गर्न सक्ने अवस्थामा पनि छौँ । तर यसको उपयोग हुन सकेन । यसमा केही दोषहरू छन् । उत्पादन भएको सामानलाई बजारीकरण गर्न सकेनौ । दोस्रो कुरा हामीले बिचौलियाहरूलाई धेरै प्राथमिकता दियौँ, नेताहरू पनि आफै लागे बिचौलियाहरूलाई टाउकोमा राख्न, गोजीमा राखेर हिडे । कमीशन खानको लागि नेताहरूले बाटो बिराए । यसले गर्दा नागरिकहरूले दुःख पाएका हुन् ।’
यस्तै, उनले कुनै नेतामाथि व्यक्तिगत रूपमा आरोप नलगाएको भन्दै नेताको काम नेतृत्व दिने, जनताको हितको लागि काम गर्ने भएपनि त्यस्तो केही पनि नभएको बताए । उनले भने, ‘अर्को कुरा देशमा रोजगारीको राम्रो अवसर नभएको हुनाले युवाहरू विदेश गएको र त्यसकारणले पनि जमिनहरू बाझो हुदैँ गएको छ । यसमा सबै दोष नेताको छ । मैले कुनै नेतामाथि व्यक्तिगत रूपमा आरोप लगाएको होइन् । नेताको काम नेतृत्व दिने हो जनताको हित कसरी हुन्छ भनेर सोच्ने हो । तर यस्तो कामहरू केही पनि गरेको देखिएन् ।’
अबको चुनावमा सहि ब्यक्ती र नेतृत्व चुन्न मन्त्री घिसिङको आग्रह
रौतहट । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले अबको तीन महिनाभित्र हुने चुनावमा सहि ब्यक्तीलाई चुन्न आग्रह गरेका छन् । निर्वाचनबाट आएका सहि ब्यक्तीबाट चुनिएको नेतृत्व पनि सहि हुने उनको भनाइ छ ।
रौतहटको चन्द्रपुर नगरपालिका–९ स्थित जन्मोत्सव पार्कमा शुक्रबार तराई विकास तथा सञ्चार केन्द्रले गरेको कार्यक्रममा बोल्दै उनले देश परिवर्तनका लागि सहि ब्यक्ती र नेतृत्वको आवश्यकता रहेको बताए । पूराना ब्यक्ती भन्दा पनि सहि ब्यक्ती राजनीतिमा आउन आवश्यक रहेको उनले औँल्याए ।
अबको तीन महिना भित्रमा चुनाव हुने दाबी गर्दै जेनजी आन्दोलनको परिवर्तनबाट नै अन्तरिम सरकार बनेको उल्लेख गरे । ‘आगामी दिनमा चुनावमा जानुपर्ने छ, उनले भने; ‘अबको चुनावमा सहि ब्यक्ती र नेतृत्व आउँनुपर्छ ।’
कर्मचारी भएर काम गर्दा ऊर्जा क्षेत्रमा उल्लेखनीय प्रगति गर्न सफल भएको दाबी गर्दै उनले मुलुक अँध्यारोबाट उज्यालोतर्फ अघि बढेको बताए ।
कर्मचारी भएर काम गरिसकेकाले देशमा परिवर्तन गर्नका लागि नै आफू राजनीतिमा होमिएको मन्त्री घिसिङले बताए ।
उनले आगामी निर्वाचनमा आफूहरूलाई विजयी गराए देशमा परिवर्तन आउने बताए । बारा, पर्सा र रौतहटको पूर्वाधार क्षेत्रमा भएको कामको अनुगमन समेत मन्त्री घिसिङले गरेका थिए ।
विविध समस्याका कारण पुल–सडकजस्ता महत्वपूर्ण पूर्वाधारहरू अधुरो रहने र जनताले सास्ती भोग्नुपरेको उल्लेख गर्दै उनले निर्माण व्यवसायीहरूले पनि समयमै काम नसकाएको आरोप लगाए । वर्तमान सरकार, शासन सुधार, सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त प्रणाली निर्माणका लागि प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।
ध्यान र योगलाई व्यवहारिक बनाउन पाठ्यक्रममा समावेश गर्नुपर्छ : मन्त्री पुन
काठमाडौं । शिक्षामन्त्री महावीर पुनले ध्यान र योग मनाउने मात्र नभई व्यहारिक बनाउन पाठ्यक्रममा नै समावेश गर्ने तयारी गरिरहेको बताएका छन् । मंगलबार बसेको दोस्रो विश्व ध्यान दिवस तथा ११ औँ राष्ट्रिय योग दिवस २०८२ मूल समारोह समितिको बैठकमा बोल्दै उनले ध्यान र योगलाई पाठ्यक्रममा समावेश गर्न छलफल गरिरहेको जानकारी दिएका हुन् ।
उनले भने, ‘ध्यान र योग गर्ने कुरालाई कसरी व्यहारिक बनाउने भन्ने कुरा हो । पाठ्यक्रममा कसरी समावेश गर्ने भन्ने कुराहरुमा दुई÷तीन चरणका छलफल भएका पनि छन् । त्यसका साथै कक्षामा पाठ पढाएर मात्र यो हुने होइन् । ध्यान, र योगलाई व्यहारिकरुपमा लागु गर्न शुक्रबार हुने अतिरिक्त क्रियाकलापको सूचीमा राख्ने र सिकाउनु पर्छ ।’
उनले विद्यालयमा हरेक शुक्रबार ध्यान र योगलाइ निरन्तर दिन शिक्षकहरुलाई पनि ज्ञान नभएको भन्दै शिक्षकका लागि तालिमको व्यवस्था गर्नुपर्ने बताए ।
‘कतिपय विद्यालयमा ध्यान कसरी गर्ने भन्नेबारे शिक्षकहरुलाई पनि थाहा छैन । शिक्षकहरुलाई पनि कक्षा सुरु गर्नुभन्दा अगाडि एक मिनेट ध्यान बस्ने र सिकाउने गर्नुपर्छ । त्यसका लागि यस क्षेत्रमा लागेका संस्थाहरुले शिक्षकका लागि तालिमको व्यवस्था गर्नुपर्छ । त्यसका शिक्षा मन्त्रालयले पनि सहयोग गर्छ,’ उनले भने ।
यस्तै उनले नैतिक शिक्षा पाठ्यक्रमा पढेर मात्र नहुने भन्दै व्यवहारमा लागु गर्नुपर्ने बताए ।
‘नैतिक शिक्षा भन्ने कुरा किताबमा पढेर मात्र नैतिकवान हुने होइन । यो त व्यवहारमा लागु गर्ने कुरा हो । यो सानो उमेरदेखि गर्नुपर्ने कुरा हो । नैतिक बाल कक्षादेखि कक्षा १,२,३,४,५ कक्षासम्ममा नैतिकवान बनाउन सकियो भने नैतिक बने तर ठूलो भएर ९, १० कक्षामा नैतिक शिक्षा पढाएर नैतिक हुँदैनन्,’ उनले भने ।