बिहिबार, २१ साउन २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01K99ZMHCAE99VB9PZ43WXGGYW.jpg

जेनजी आन्दोलनमा गोली आदेशको सत्यता अनुसन्धानबाटै आउनुपर्छ : महान्यायाधिवक्ता

काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारीले विद्रोहपछिको राजनीतिक अवस्थालाई सरकारका लागि अवसर र चुनौती दुवैको रूपमा व्याख्या गरेकी छिन् । राष्ट्रिय एकताको लागि नागरिक पहलद्वारा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’ अन्तर्गत ‘विद्रोह पछिको बाटो ः चिन्ता र चुनौती ?’शीर्षकको तेस्रो प्यानल छलफलमा बोल्दै उनले हालको सरकार सुशासन र कानूनी प्रक्रियाको सन्तुलनमा उभिएको बताइन् ।

उनले भनिन्, ‘सरकार गठन हुँदा सुशासनका विषयमा ध्यान दिनुपर्छ भनेर भनिएको थियो । अभियोजन र सजायका कुरा आफ्ना ठाउँमा छन्, तर त्यससँगै विभिन्न आवाजहरू उठिरहेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकजस्ता व्यक्तिहरूलाई तत्काल पक्राउ गरियोस् भन्ने माग भइरहेका छन् । तर कसैलाई दोषी ठहर गर्न प्रमाण आवश्यक हुन्छ ।’

उनले तत्कालीन सरकारले आन्दोलनमा गोली चलाउने आदेश दिएको थियो वा थिएन भन्ने विषय अनुसन्धानबाटै स्पष्ट आउनुपर्ने बताइन् ।

भण्डारीले थपिन्, ‘जाँचबुझ आयोग गठन भइसकेको छ र त्यसले काम गरिरहेको छ । अनुसन्धानको निष्कर्ष नआउँदै कसैलाई दोषी ठहर गर्न मिल्दैन । तत्कालीन सरकारले आन्दोलनमा गोली चलाउने आदेश दिएको थियो वा थिएन भन्ने कुरा पनि अनुसन्धानबाटै स्पष्ट हुनुपर्छ । सरकार त्यस दिशामा प्रयासरत छ ।’

उनले प्रहरी प्रशासन अनुसन्धानमा सक्रिय रहेको र मिडियामा नदेखिए पनि आवश्यक कानूनी प्रक्रिया अघि बढिरहेको बताइन् ।

प्रकाशित मितिः बुधबार, १९ कात्तिक २०८२
https://jawaaf.com/storage/01K99YJQ97HM63HRA343F18M0C.jpg

मृतकको मलामीमा नदेखिने जेनजी नेताले क्रेडिट लिन खोजे : प्रवक्ता सुमन

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका प्रवक्ता मनिष कुमार सुमनले जेनजी आन्दोलनका लागि अनुमति लिने जेनजी अगुवाहरू आन्दोलन पछि मृत्युवरण गरेकाहरुको मलामी र घाइतेहरूलाई भेट्न अस्पतालहरूमा नपुगेको बताएका छन् । तर तिनै नेता तथा अगुवाहरूले क्रेडिट लिन खोजेको उनको आरोप छ ।

राष्ट्रिय एकताको लागि नागरिक पहलद्वारा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’ अन्तर्गत ‘बदलिँदो राजनीति : सच्चिँदै कि सक्किँदै दल ?’शीर्षकमा आयोजित दोस्रो प्यानलको छलफलमा बोल्दै उनले जेनजी आन्दोलन पछि जेनजी अगुवाहरू राज्य स्वघोषित गर्ने हानथाप गर्न लागेको बताए ।

उनले भने, ‘जो पुरुषोत्तम यादव जी तपाईले सिडियो कार्यालयबाट अनुमति लिन जानुभएको थियो उनलाई कुनै मलालीमा खासै देखिन त्यो ७६ जनाहरूको मलामीमा । अस्पतालमा पनि खासै भेटिन । उनलाई मात्र हैन त्यो आयोजक भन्ने पछिल्लो दिनमा भेप खाएर उदाएकाहरू अथवा सामाजिक सञ्जालमा आफ्ना विशिष्ट चरित्र प्रधान गर्ने मेयर सावहरू कोही पनि जो त्यो आन्दोलनको उपलब्धि लिन हानथाप गरिरहेका छन् तिनीहरूमध्ये कसैलाई मैले मृत्युवरण गरेरका वा अस्पतालमा छटपटाई रहेकाहरू सम्म गएको पनि देखिन ।’

उनले आफ्नो सिफारिसमा मन्त्री, प्रधानमन्त्री बन्नुपर्ने भन्दै आफै हानथाप गरिरहेको भन्दै जेनजीका अगुवाहरूसँग गुनासो पोखे ।

‘उहाँहरू बरु मेरो सिफारिसमा प्रधानमन्त्री बनाइदेयौँ । राज्य म हुँ राज्यले गर्नुपर्ने काम म गर्छु बाकी तपाईहरू विपतको व्यवस्थापन गर्ने कामहरू गर्नुस् भनेर आफै राज्य स्वघोषित गर्ने हानथाप थियो,’उनले भने ।

उनले जेनजी आन्दोलनपछि जनयुद्ध गरेर आएको पार्टी फुटेको भन्दै जनता समाजवाद नेपाल पार्टी फुट्दै अनि जुट्दै बलियो बनेको समेत बताए ।

‘फुट्दै फुट्दै जादा जनता समाजवाद पार्टी नेपाल फुट्दै भन्दा पनि जुट्दै जुट्दै गएको हो । एकदिन बाबुराम भट्टराई हाम्रै पार्टीको नेता हुनुन्थ्यो । अशोक राई हाम्रौ पार्टीमा हुनुहुन्थ्यो,’उनले थप भने, ‘पछिल्लो दिन फुटेकोमा हाम्रो पार्टीलाई मात्र किन खिसीटिउरी गर्नुहुन्छ । जनयुद्ध गरेर आएको पार्टी पनि फुटेर आएको देखेको छु । आफै फुटेर ओली ठिक छैनन् भनेर फुटेर हिडेकाहरू पनि फुटेको देख्दैछु ।’

प्रवक्ता सुमनले राजनीतिक दलहरू सचिनै पर्ने बाध्यता रहेको भन्दै जेनजी आन्दोलनले ०८४ मा हुने चुनाव ०८२ हुनु बाहेक केही फाइदा नरहेको बताए ।

प्रकाशित मितिः बुधबार, १९ कात्तिक २०८२
https://jawaaf.com/storage/01K99XBMV2CZYQVEASKPNA0A02.jpeg

नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले गर्यो ९ बुँदे प्रस्ताव पारित

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले ९ बुँदे प्रस्ताव पारित गरेको छ । काठमाडौंमा जारी सम्मेलनले पार्टीको नाम, चुनाव चिह्नलगायतका विभिन्न ९ बुँदे प्रस्ताव पारित गरेको हो ।

सम्मेलनमा एकता प्रक्रियामा सहभागी पार्टीहरूले पार्टी एकता गरेर ‘नेपाली कम्युनिष्ट पार्टी’ निर्माण गर्ने निर्णय गरेको छ भने चुनाव चिह्न ‘पाँच कुने तारा’ राख्ने निर्णय गरिएको छ ।  दश पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल (प्रचण्ड) र सहसंयोजकमा माधव नेपाल चयन भएका छन् ।

यस्ता छन्, ९ बुँदे प्रस्तावहरू :

१. एकता प्रक्रियामा सहभागी पार्टीहरूले पार्टी एकता गरेर ‘नेपाली कम्युनिष्ट पार्टी’ निर्माण गर्ने निर्णय गरिएको छ ।

२. चुनाव चिह्न ‘पाँच कुने तारा’ राख्ने निर्णय गरिएको छ ।

३. एकतामा सहभागी सबै सदस्यहरू अबदेखि नेपाली कम्युनिष्ट पार्टीका सदस्य हुने निर्णय गरिएको छ ।

४. एकतामा सहभागी सबै पार्टीका नेताहरूसँग आवश्यक परामर्श गरेर पार्टीका केन्द्रीय संरचनाहरूलाई पूर्णता दिने र सङ्गठनात्मक समायोजन सम्बन्धी काम गर्ने तथा यसअघि सबै घटकका केन्द्रीय समितिलाई समायोजन गरी केन्द्रीय समिति निर्माण गर्ने निर्णय गरिएको छ ।

५. केन्द्रीय संरचनाहरूलाई पूर्णता दिने र संगठनात्मक समायोजनसम्बन्धी काम गर्ने अख्तियारी पार्टीका संयोजक र सहसंयोजकलाई दिने प्रस्ताव गरिएको छ ।

६. विगतका प्रतिनिधिसभा, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा माओवादी समाजवादीको चुनाव चिह्नबाट निर्वाचित जनप्रतिनिधिहरू अबदेखि नेपाली कम्युनिष्ट पार्टीका जनप्रतिनिधि हुनेछन् ।

७. पार्टी एकतामा सामेल सबै पार्टीहरूको चल–अचल, बैंक मौज्दातलगायतका सम्पत्तिको स्वामित्व र दायित्व अबदेखि नेपाली कम्युनिष्ट पार्टीको स्वामित्वमा रहनेछ ।

८. नेपाली कम्युनिष्ट पार्टीको घोषणापत्र पारित गरिएको छ ।

९. नेपाली कम्युनिष्ट पार्टीको विधान छलफल र आवश्यक सुझावसहित पारित गरिएको छ ।

प्रकाशित मितिः बुधबार, १९ कात्तिक २०८२
https://jawaaf.com/storage/01K99FB6BAZFTHE9QDZ7G8GGTE.jpg

घनश्याम भूसालको भनाइः “ओरालो लागेकाहरूको एकताले निकास दिन सक्दैन”

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले कमजोर र ओरालो लागेकाहरूको एकताबाट देश र वाम आन्दोलनले निकास पाउन नसक्ने बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ‘उकालो लाग्ने’ भन्ने भाष्य सिर्जना गर्न कमजोरहरूको एकता अघि सारिएको भए पनि त्यसले वास्तविक समाधान नदिने बताए । भूसालले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको तयारीप्रति आपत्ति जनाउँदै समाजवादको जिम्मेवारी लिएर एमाले विभाजन गरी बनेको एकीकृत समाजवादी अहिले त्यो उद्देश्यबाट विचलित भएको टिप्पणी गरे ।

उनले भने, “संकट मोचन गर्ने फर्मुला तयार भएको छ । तर कमजोरहरू, ओरालो लागेकाहरूको एकताले उकालो लागिन्छ भन्ने भाष्य बनाइँदैन । जो आफैं ओरालो हिँड्दैछन्, त्यसले निकास दिन सक्दैन ।”

भूसालले तथाकथित ‘एकताको भ्रम’ मा नपर्न आग्रह गर्दै पार्टीका सम्पूर्ण कमिटी, जनसंगठन, विभाग र आयोगका सदस्यहरूलाई आ–आफ्नो हैसियतमा धैर्यताका साथ रहँदै क्रान्तिकारी विकल्प निर्माणबारे छलफलमा जुट्न आह्वान गरे।

उनका अनुसार, मङ्सिर पहिलो हप्तामा आयोजना हुने राष्ट्रिय भेलाबाट आगामी कार्यभार र कार्ययोजना तय गरिनेछ । उनले सो भेलालाई क्रान्तिकारी पुनर्गठनको दिशामा उठाइएको महत्वपूर्ण कदम भन्दै देशभित्र र बाहिर रहेका देशभक्त, लोकतन्त्रवादी, प्रगतिशील, वामपन्थी तथा कम्युनिष्टहरूलाई सुझाव र सल्लाह दिन अनुरोध गरे  ।

प्रकाशित मितिः बुधबार, १९ कात्तिक २०८२
https://jawaaf.com/storage/01K99AJAK4A34G9VVQ0XBAZG7D.jpg

‘समयले पार्टी विसर्जन गरायो’ - झाँक्रीको मूल्यांकन

काठमाडौं । नेकपा एकीकृत समाजवादीकीे नेतृ राम कुमारी झाँक्रीले समाजवादी पार्टीसँगको यात्रा टुंगिदै गर्दा खासै दुखेसो नलागेको  बताएकी छन् । 

बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेतृ झाँक्रीले आज पार्टीसँगको यात्रा टुंगिदा एक हिसाबले खुसी नै भएको बताइन् । उनले समाजवादी पार्टी सँगको यात्रा गलत हो भन्ने थाहा हुँदाहुँदै पनि सुधार गर्नका लागि केही जिम्मेवारी भएकाले छोड्न नसकेको भन्दै अहिले यो यात्रा टुगिंएको जानकारी दिइन् ।  

‘यो यात्रा अवरुद्ध छ भन्ने कुरा हामीले धेरै पहिला थाहा पाएका थियौँ, यो गलत बाटो हो भन्ने पनि थाहा थियो तर त्यसलाई सुधार गर्नका लागि हामी सँग केही जिम्मेवारीहरू थिए । त्यही कारणले गर्दा त्यो यात्रा बिचैमा टुंग्याउन सकेका थिएनौँ तर आज यो यात्रा टुंगिएको छ । तर यात्रा टुंगिदै गर्दा हामी एक हिसाबले खुसी नै छाँै,’उनले भनिन् ।

उनले नेकपा एकीकृत समाजवादी पार्टी निमार्णका क्रममा एउटा अभियानमा चल्छ भन्ने विश्वासका साथमा लागेको भन्दै  आजबाट त्यो विश्वास पनि  सकिएको बताइन् । उनले समाजवादी पार्टी सँगको यात्रा नयाँ पार्टी विघटन सँगसँगै सकिएको दाबी गरिन् । 

‘नेकपा एकीकृत समाजवादी पार्टी निमार्णका क्रममा एउटा अभियानमा चल्छ भन्ने विश्वासका साथमा  हामी लागेका थियौँ तर त्यो आजबाट सकिएको छ । समाजवादी पार्टी सँगको यात्रा त्यो पार्टी विघटन सँगसँगै टुंगियो । त्यो पार्टी सँगको यात्रा टुंगिसके पछाडि हाम्रो रोकिएको अवस्था हो । हामी भित्रपनि धेरै आइडियाहरू छ । हामी सँग पनि थुप्रै साथिहरू छन्, तर यो गर्नुको कारण यसको १ बजेपछि हाम्रो पार्टीको औपचारिक घोषणा हुँदैछ,’उनले भनिन् । 

नेतृ झाँक्रीले समाजवादी पार्टी, दल भित्रका आन्तरिक लोकतन्त्रहरू  खुम्चिएको  बेला निमार्ण भएको भन्दै जनतामा भरोसा रहेकै कारण भरोसालाई डोर्याउँदै पार्टी निमार्ण गरेको तर समयले पार्टी विसर्जन गर्ने बनाएको पनि बताइन् । 

‘समाजवादी पार्टी यस्तो बेला निमार्ण भएको थियो जुनबेला दल भित्रका आन्तरिक लोकतन्त्रहरू पनि खुम्चिएको थियो, जनतामा भरोसा थियो तर त्यो भरोसालाई डोर्‍याउनु सक्छौँ होला भन्ने विश्वासले पार्टी निमार्ण गरेको थियौँ । तर समयले पार्टी विसर्जन गर्ने बनायो,’उनले भनिन् ।

प्रकाशित मितिः बुधबार, १९ कात्तिक २०८२
https://jawaaf.com/storage/01K979E8VC54P2PNR9G3J7NFR1.avif

राष्ट्रको शान्तिका लागि मतभेदहरू समाधान गरेर अघि बढ्नु राम्रो हो : विद्यादेवी भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नागरिकताको प्रतिलिपि लिएकी छन् । मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित भएर प्रतिलिपि लिएकी हुन् ।

प्रतिलिपि लिँदै सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राजनीतिक दलहरू सुसङ्गठित भएर अघि बढ्नुपर्ने बताएकी छन् । उनले पार्टीभित्रका मतभेदहरू भए अन्तर संघर्ष बाटै समाधान गरेर अघि बढ्नुपर्ने र राष्ट्रको शान्तिका लागि पनि राजनीतिक दलहरू एक हुनुपर्ने बताइन् । 

उनले भनिन्, ‘मैले नागरिकताको प्रतिलिपि निकालेको हो । २४ भदौमा सबै जले ।यो दोस्रो पटक निकालेको प्रतिलिपि हो । तर चुनावी वातावरण बनाउन सरकार लाग्नुपर्छ । पार्टीहरू टुट्नु फुट्नु राम्रो कुरा होइन, पार्टीहरू सुसङ्गठित भएर पार्टीभित्र केही मतभेद छ भने अन्तरसंघर्ष गरेर अघि बढ्नुपर्छ । राष्ट्रको शान्तिका लागि पनि पार्टीहरू पनि सुदृढ हुने र अन्तरसंवाद गरेर अघि बढ्ने, मतभेदहरू पार्टीभित्रै समाधान गरेर अघि बढ्नु राम्रो हो ।’

जेनजी आन्दोलनको दोस्रो दिन २४ भदौमा निवासमा तोडफोड र आगजनी गरिँदा उनको नागरिकता जलेको थियो ।

प्रकाशित मितिः मङ्गलबार, १८ कात्तिक २०८२
https://jawaaf.com/storage/01K97906F6NM2DFDWB9KDFTGAK.jpeg

राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता

कतार (दोहा) । राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले शिष्टाचार भेटवार्ता गरेका छन् । 

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको राजधानी दोहामा मङ्गलबारदेखि शुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आएका राष्ट्रपति पौडेल र  संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसबीच आज शीष्टाचार भेटवार्ता भएको हो । 

सो अवसरमा राष्ट्रपति पौडेलले कोपनहेगन प्रतिबद्धताहरूलाई कार्यान्वयन गर्न र सामाजिक विकासलाई तीव्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवले खेल्दै आएको भूमिकाको प्रशंसा गरे । उनले शान्ति, सामाजिक न्याय र दिगो विकासका साझा लक्ष्य प्राप्तिका लागि राष्ट्र संघसँग निकट रही काम गर्न नेपाल तयार रहेको समेत बताए । 

‘गत सेप्टेम्बरमा भएको जेन–जी आन्दोलनपछि नेपालमा नयाँ सरकार गठन भएको छ, यस आन्दोलनले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन व्यवस्थाको माग गरेको छ, युवाहरूको आकांक्षा पूरा गर्न हामी प्रतिबद्ध छौं’, भेटमा राष्ट्रपति पौडेलको भनाई उदृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने । 

राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन भएर आगामी फागुन २१ मा आम निर्वाचनको घोषणा गरिएको तथा स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्न नेपाल क्रियाशील रहेको उल्लेख गर्दै यस निर्वाचनले नेपालमा राजनीतिक निकास दिनुका साथै सुशासन, विकास र समृद्धिको मात्रा सुनिश्चित गर्ने विश्वास लिएको बताए ।

‘हामीले जेनजी आन्दोलनबाट मुलुकलाई सुरक्षित अवतरण गराएका छांै, नेपालको संविधान र लोकतन्त्रको रक्षा गरेका छौं, राष्ट्रपति पौडेलले भने । 

कार्बन उत्सर्जन नगण्य रूपमा गरेपनि नेपालले जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरू असमानुपातिक र गम्भीर रूपमा भोगिरहेको बताउँदै राष्ट्रपति पौडेलले हामी जलवायु परिवर्तनका असरहरूको न्यूनीकरण र अनुकूलनका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोगको अपेक्षा गरेको बताए ।

‘सगरमाथा आधार शिविरको भ्रमणका क्रममा तपाईंले अवलोकन गर्नुभए जस्तै हाम्रा सेता हिमालहरू काला पहाडमा परिवर्तन भइरहेका छन्, यी हिमालहरू एसियाको पानीको स्रोत पनि हुन्, तर तीव्र गतिमा हिउ पग्लँदै जाँदा समग्र पारिस्थिति प्रणाली र तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरूको जीविकोपार्जनमा जोखिम सिर्जना भइरहेको छ’, उनले भने । 

गरिबी निवारण, रोजगारी सिर्जना र सामाजिक समावेशिताको सुनिश्चितताजस्ता चुनौती सम्बोधन गर्नुपर्ने खाँचो रहेको भन्दै यो सम्मेलनले सामाजिक विकासप्रतिको विश्वव्यापी प्रतिबद्धतालाई पुनः दोहो¥याउने र दिगो विकास एजेन्डा २०३० को कार्यान्वयनलाई थप गति दिने उहाँले विश्वास व्यक्त गरे ।

राष्ट्रपति पौडेलले सामाजिक विकास, समावेशीकरण र गरिबी निवारण नेपालका प्रमुख प्राथमिकताहरू भएको भन्दै नेपालले गरिबी न्यूनीकरण, मानव विकास, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको पहुँचजस्ता क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको बताए ।

सो अवसरमा संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले जलवायु परिवर्तनको मार खेपिरहेका नेपालजस्ता मुलुकहरूका लागि जलवायु अनुकूलनका लागि विकसित देशहरूबाट सहयोग उपलब्ध गराउन राष्ट्र संघ लागिरहेको बताउँदै कार्वन उत्सर्जन घटाउनेतर्फ पनि आफू लागिरहेको जानकारी दिएको प्रेस सल्लाहकार पोखरेलले बताए । 

उनले नेपालले मानव अधिकारका पक्षमा राम्रो गरिरहेको पनि बताए । उनले नेपालको पछिल्लो घटनाका सन्दर्भमा नेपालले आफ्नो समस्या आफैं समाधान गर्न नेपालका संस्थाहरू सक्षम रहेकोमा राष्ट्र संघ पूर्ण विश्वस्त रहेको पनि बताए ।

प्रकाशित मितिः मङ्गलबार, १८ कात्तिक २०८२
https://jawaaf.com/storage/01K975WWQ33RJYACS4BG6RYKF3.jpg

माओवादी नेता शर्माको आत्मसमीक्षा : ‘हामीले पनि गल्ती गरेका छौँ, सुधार गर्नेछौँ’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले स्वार्थको राजनीतिमा सहभागी भई गल्ती गरेको भन्दै कमजोरीलाई स्वीकार गरि नयाँ अभियान मार्फत संकल्प पुरा गर्ने बताएका छन् ।

मंगलबार ललितपुरमा विशेष पत्रकार सम्मेल गर्दै उनले आम जनता, मतदाता, कार्यकर्ता र समर्थनहरूलाई दुरुपयोग गर्ने प्रवृतिमा सहयोग गरेको भन्दै आफ्ना कमजोरीलाई स्वीकार गर्दै अब इमान्दारीका साथ नयाँ अभियान मार्फत अघि बढ्ने बताएका हुन् । 

उनले भने, ‘आजसम्म आम जनता, मतदाता, कार्यकर्ता र समर्थनहरूलाई दुरुपयोग गरेर स्वार्थ केन्द्रित जो शासन गर्ने प्रकृति जन्मियो त्यसमा हाम्रो पनि कमि छ, हामीले पनि गल्ती गरेका छौँ , हामी पनि त्यसमा सहभागी छौँ , कुनै न कुनै रूपमा साथ सहयोग गर्दै आयौँ, त्यसप्रति क्षमा चाहान्छौँ । र ति आफ्ना कमजोरीलाई स्वीकार गर्दै अब इमान्दारीका साथ नयाँ अभियान मार्फत त्यसलाई पुरा गर्ने एउटा संकल्प गर्न चाहान्छौँ।’ 

उनले शहीद, बेपत्ताका सपनाहरूलाई पुरा गर्न र घाइते योद्धाहरूका अपेक्षाहरू पुरा गर्न तयार रहेको समेत बताए । 

‘हामी एउटा ऐतिहासिक मोडमा छौँ । एउटा जोखिम, एउटा चुनौती, एउटा सम्भावना बोकेर हामी उपस्थित भएका छौँ । हामी शहीद, बेपत्ताका सपनाहरूलाई पुरा गर्ने उहाँहरूका परिवारजनका आशा र विश्वासहरू घाइते योद्धाहरूका अपेक्षाहरू उनीहरूमा आकाङ्क्षा सहित तमाम प्रश्नहरूको जीवन्त जवाफ हामीले दिनुपर्ने छ । हामी त्यो दिनेछौँ । सम्रग त्यो जिम्मा लिन तयार छौँ,’उनले भने ।

उनले नेकपा बनाउँदा देशको राजनैतिक अस्थिरतालाई समाप्त पार्नका लागि वृहत् वामपन्थी एकता गरेको भन्दै त्यसमा आफूले हस्ताक्षर गरेको बताए ।

‘हामी भिन्न रूपमा राजनीति फोर्सलाई विक्षित्त गर्न चाहान्छौँ । भिन्न दृष्टिकोणबाट अगाडि बढाउन चाहान्छौँ । एउटा जवाफ मैले दिनुपर्ने छ, धेरै कुराहरू उठिरहेका छन्, के भनिँदैछ भने नेकपा बनाउँदा यसले हस्ताक्षर गरेको थियो अहिले विरोध गरिरहेको छ भन्ने छ त्यसको कुनै साइनो र तुक छैन । किन छैन भने त्यसबेला वृहत् वामपन्थी एकता गरेर यो देशको राजनैतिक अस्थिरतालाई समाप्त पार्नका लागि गरिएको थियो,’उनले भने ।

प्रकाशित मितिः मङ्गलबार, १८ कात्तिक २०८२
https://jawaaf.com/storage/01K94QERASENVGVDKXZRE4CZ08.jpg

पार्टीबाट अलग भएकाहरुका लागि एमालेको ढोका सँधै खुला छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेबाट अलग भएकाहरुका लागि एमालेको ढोका सधैँ खुला रहेको बताएका छन् । 

सोमबार नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन तथा समसामयिक राष्ट्रिय राजनीतिका सन्दर्भमा आयोजित संवाद कार्यक्रममा उनले घरबाट बाहिर गएका सन्तानलाई घर आउछु भन्दा अनुमति लिनु नपर्ने भन्दै एमालेबाट अलग भएकाहरुलाई आफ्नै घर फर्किनको लागि कुनै एकता गरि रहन नपर्ने बताए । 

उनले भने, ‘नेकपा एमालेबाट अलग भएका साथीहरुको सन्दर्भमा केन्द्रीय कमिटिको बैठकबाट नै निर्णय गरेका छौं । आफ्नै घर फर्किने हो, आफ्नै घर फर्किनको लागि कुनै एकता गरि रहनु पर्दैन् । घरका सन्तान बाहिर गएपछि घर आउछुभन्दा अनुमति लिनुपर्छ, पर्दैन् । आउँदा क्षमता अनुसार पार्टीले जिम्मेवारी दिन्छ ।’

यस्तै, उनले माओवादी केन्द्र, एकीकृत समाजवादी आदी पार्टीहरु एक हुन लागेको कुरामा आफू खुशी रहेको बताए । 

‘माओवादी, एकीकृत समाजवादी आदी पार्टीहरु एक हुन थाले भन्ने कुरा छ । खुसी नै छु । किनभने बलियो राजनीतिक दलमा विश्वास गर्ने मान्छे हुँ । तर उद्देश्य स्पष्ट नभएसम्म जति नै पार्टी मिलेपनि केही हुदैँन् । विचारमा एक रुपता हुन्छ भने अलग अलग बस्नु फाइदा छैन् । विचारमा एक रुपता नभएकाहरु एक ठाँउमा बस्नु भनेको आन्दोलन समाप्त पार्नु हो । के हुन्छ भन्ने भविष्यको कुरा हो ।’

साथै, उनले २७ गतेका दिन नेपालको इतिहासकै सर्वाधिक ठूलो जनसभा काठमाडौंमा आयोजना गर्ने भन्दै त्यो सभाबाट जनता कसको साथमा छ त्यो देखाउन चाहेको बताए । 

उनले भने, ‘मंसिर २७, २८ र २९ गते पार्टीको ११ औं राष्ट्रिय महाधिवेशनको आयोजना गर्दैछौ । अहिले नेपाली जनता प्रमुख पार्टीबाट टाढा भएका छन् भन्ने जुन भाष्य निर्माण गर्न खोजिएको छ त्यो गलत हो भन्ने हिसाबले २२ गते देशभर सबै वडाहरुमा एकसाथ वडास्तरीय जनभेलाहरु आयोजना गर्दैछौ । २५ गते पालिकाहरुमा जन¥यालीहरु आयोजना गर्दैछौ, २९ गते जिल्लाहरुमा जनसभा आयोजना गर्दैछौ । काठमाडौंको हकमा ६ गते उपत्यका स्तरीय ¥याली तथा सभाको आयोजना गर्दैछौ र २७ गतेका दिन नेपालको इतिहासकै सर्वाधिक ठूलो जनसभा काठमाडौंमा आयोजना गर्ने छौ । त्यो सभाबाट जनता कसको साथमा छ त्यो देखाउन चाहन्छौ ।’

प्रकाशित मितिः सोमबार, १७ कात्तिक २०८२
https://jawaaf.com/storage/01K9460BEE1CRFBK4NC1PMXTBA.jpg

प्रचण्ड र गोपाल किरातीबीच ऐतिहासिक एकता घोषणा

काठमाडौं । नेपाली राजनीतिमा देखा परिरहेको अस्थिरता र जोखिमपूर्ण परिस्थितिलाई सम्बोधन गर्ने उद्देश्यले नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किरातीबीच महत्वपूर्ण सहमति भएको छ । 

दुई नेताले संयुक्त रूपमा एक विज्ञप्ति जारी गर्दै क्रान्तिकारी शक्तिहरूबीचको एकता र ध्रुवीकरणलाई आजको प्राथमिक राजनीतिक कार्यका रूपमा अघि बढाउने निर्णय सार्वजनिक गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘जनयुद्धका बेला हरेक प्रतिकूलतालाई अनुकूलतामा बदल्ने नीति अन्तर्गत देशका कान्तिकारीहरूबीच एकता र ध्रुवीकरण प्राथमिक कर्तव्य बनेको छ ।’

सहमतिको प्रमुख बुँदाहरूमा विगतका वैचारिक, राजनीतिक र सांगठनिक कमजोरीहरूको वस्तुनिष्ठ समीक्षा गर्न कार्यटोली गठन गर्ने, गोपाल किरातीले प्रस्तुत गरेको देशभक्तिपूर्ण पहिचानसहितको समाजवादी लोकतन्त्रको अवधारणामा पार्टीभित्र विस्तृत छलफल गरी जनवादका आधारमा निर्णय गर्ने, र उक्त सहमति कार्यान्वयनका लागि माक्र्सवादी क्रान्तिकारीहरूलाई माओवादी केन्द्रभित्र ध्रुवीकृत गर्ने निर्णय समावेश छन् ।

विज्ञप्तिमा देशभक्त, मजदुर, किसान, सुकुम्बासी, आर्थिक शोषणपीडित, लिङ्ग, जातजाति, क्षेत्र र पहिचानका पक्षधर सबै वर्गहरूलाई समाजवादी ध्रुवीकरणमा सहभागी हुन आह्वान गरिएको छ ।

दुवै नेताले नेपालको राष्ट्रिय स्वाधीनता, अखण्डता र सार्वभौमसत्ताको संरक्षण गर्दै संविधानमा उल्लेखित समाजवाद उन्मुख राज्यव्यवस्था कार्यान्वयनका लागि प्रभावकारी पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

सहमतिको निष्कर्षमा दलाल र नोकरशाही पूँजीवादी भ्रष्ट शासनको अन्त्य गरी जनताको सार्वभौमसत्तामा आधारित समाजवादी व्यवस्था स्थापना गर्ने दृढ संकल्प व्यक्त गरिएको छ ।

प्रकाशित मितिः सोमबार, १७ कात्तिक २०८२