रुस–युक्रेन शान्ति वार्ता अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको शान्ति वार्ता अन्तिम चरणमा पुगेको बताएका छन् । आइतबार फ्लोरिडाको मार–ए–लागोमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता सुरु गर्दै ट्रम्पले अब युद्ध समाप्त हुने वा लामो समयसम्म जारी रहनेमध्ये एक अवस्था आउने स्पष्ट पारे ।
ट्रम्पका अनुसार यदि अहिले शान्ति सम्झौता हुन सकेन भने युद्ध लामो समयसम्म चल्न सक्ने र अझै लाखौँ मानिसको ज्यान जाने खतरा रहेको छ। “हामी अन्तिम चरणको वार्तामा छौँ । या त युद्ध समाप्त हुन्छ, नभए यो धेरै समयसम्म चल्छ, जुन कसैले चाहँदैन,” ट्रम्पले भने ।
बन्द कक्षमा हुने वार्ता सुरु हुनुअघि सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले यसपटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शान्तिप्रति गम्भीर रहेको विश्वास व्यक्त गरे । जेलेन्स्कीसँग भेटअघि ट्रम्पले पुटिनसँग करिब एक घण्टा १५ मिनेट लामो टेलिफोन वार्ता गरेका थिए, जसलाई उनले “धेरै फलदायी” भनेका छन् ।
“म विश्वास गर्छु कि पुटिन र जेलेन्स्की दुवै शान्ति सम्झौता चाहन्छन् । धेरै मानिसको ज्यान गइसकेको छ, र अब सम्झौता आवश्यक छ,” ट्रम्पले भने । ट्रम्पले सम्भावित शान्ति सम्झौताका खाका तयार भइसकेको दाबी गर्दै उक्त सम्झौता युक्रेनसहित सबै पक्षका लागि लाभदायक हुने बताए। “हामीसँग सम्झौताका आधारहरू छन् । यो युक्रेनका लागि राम्रो छ, सबैका लागि राम्रो छ । यो सबैभन्दा कठिन युद्ध समाधान हो, तर हामी यसलाई सफल बनाउनेछौँ,” उनले भने ।
यस वर्ष तेस्रो पटक अमेरिका भ्रमणमा आएका जेलेन्स्कीको प्रशंसा गर्दै ट्रम्पले उनलाई साहसी नेता र युक्रेनी जनतालाई बहादुर भने । “युक्रेनी जनताले भोगेको पीडा अत्यन्तै दुर्लभ छ,” ट्रम्पले टिप्पणी गरे । ट्रम्पले भेटपछि फेरि राष्ट्रपति पुटिनसँग सम्पर्क गरी वार्ता निरन्तरता दिने पनि बताए । यद्यपि उनले शान्ति सम्झौताका लागि कुनै समयसीमा तोकिएको छैन भने । “मेरो एउटै लक्ष्य छ, युद्ध अन्त्य गर्नु,” उनले स्पष्ट पारे ।
उनका अनुसार शान्ति प्रक्रियामा बलियो सुरक्षा सम्झौता हुनेछ र युरोपेली राष्ट्रहरू पनि सक्रिय रूपमा संलग्न हुनेछन् । यो भेट रुसले युक्रेनको राजधानी कीभमा गरेको ठूलो आक्रमणपछि भएको हो, जसमा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएका छन् ।
मार–ए–लागोमा आयोजित रात्रिभोजमा राष्ट्रपति ट्रम्पसँगै उनका विदेश दूत स्टिभ विटकोफ, विदेशमन्त्री मार्को रुबियो, रक्षा मन्त्री पिट हेगसेथ, संयुक्त सेनाका प्रमुख ड्यान केन, ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरू तथा ट्रम्पका ज्वाइँ जारेड कुशनरलगायत सहभागी थिए । (एएनआई)
बालेन लक्षित हर्क साम्पाङको टिप्पणीः सहकारी काण्डमा तानिएकासँग मिलेर देशलाई लिलाम गर्न खोजीदैछ
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौताको कडा शब्दमा आलोचना गरेका छन् । आइतबार रवि–बालेनबीचको सम्झौतापछि सामाजिक सञ्जालमा भिडियो राख्दै उनले बालेनलाई लक्षित गर्दै सहकारी काण्डमा तानिएका मान्छेहरुसँग मिलेर एउटा सत्ताको लागि र यो देशलाई लिलाम गर्नको लागि चुनावमा आउन लागेको भन्दै यस्तो व्यक्तिलाई सबै नेपालीले प्रश्न गर्नुपर्ने बताए ।
उनले भने, ‘जेनजी आन्दोलनको मागको सम्बोधन जसले गर्दैन्, चुनावको कुरा बाहेक अरु केही पनि गर्दैन् । त्यस्तो खालको व्यक्ति को होला र त्यो व्यक्ति फेरि चुनावमा आउने भन्ने कुरा पनि सुनिरहेको छु । सहकारी केश के केमा तानिएका मान्छेहरुसँग मिलेर एउटा सत्ताको लागि र यो देशलाई लिलाम गर्नको लागि एउटा मान्छे लुकेर बस्ने मान्छेलाई प्रत्यक नेपालीले प्रश्न गर्नुपर्छ ।’
यस्तै, उनले ७०, ८० जना मान्छेको मृत्यु हुदा, जेनजीले गरेको आन्दोलन उत्कर्षमा पुग्दा खरानी भएको देश टुलुटुलु भित्र बस्ने व्यक्ति अहिले बाहिर आउँन लागेको पनि उल्लेख गरेका छन् ।
उनले भने, ‘एउटा विदेशी दलाल जो भित्रभित्र लुकेर खेल खेल्छ, डर लाग्दो खेल खेल्छ । जेनजीलाई उस्काएर आन्दोलनमा लड्न पठाउछ, जब ७०, ८० जना मान्छेको मृत्यु हुन्छ, सयौं मान्छे घाइते हुन्छ । एउटा जेनजीले गरेको आन्दोलन उत्कर्षमा पुग्दा देश जलेर खरानी हुन्छ त्यो खरानी भएको देश टुलुटुलु भित्र बसेर हेरिरहन्छ, मुसुमुसु हासेर, बाहिर आउँदैन् । त्यति बेला सघाइदिनुपर्यो भनेर जेनजीले बोउदा आउने सहास गर्दैन् । तर भित्र बसेरविदेशी शक्तिको सेटिङमा फलाना यस्तो, उस्तो भनेर एउटा आफ्नै मातहतको सरकार बनाउछ ।’ उनले एमसीसी र सहकारीसँग जोडेर रवि लक्षित टिप्पणी पनि गरेका छन् ।
रास्वपा र बालेनबीच ‘बृहत् एकता’ सम्बन्धी सात बुँदे सहमति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सम्बन्धी विभिन्न विषयमा सात बुँदे सहमति भएको छ । आइतबार भएको सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने नै रहने छन् भने निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाह अघि सारिने भएको छ ।
रातभरको छलफलपछि उनीहरुबीच आज बिहान सहमति भएको हो । सहमतिमा सभापति लामिछाने र प्रमुख शाहले हस्ताक्षर गरेका छन् । रास्वपा र बालेन्द्र शाहबिच सहकार्य तथा एकताका विषयमा लामो समयदेखि संवाद र प्रयास हुँदै आएको थियो । विशेष गरी गत हप्ता सोमबारदेखि दुवै नेताबीच निरन्तर भेटघाट र छलफल सुरु भएको थियो ।
सहमति भएका सात बुँदा यसप्रकार छन् :
१. नवयुवाहरुले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाईते तथा शहिद परिवारका मागहरुको यथोचित सम्बोधन गर्ने प्रतिवद्धता जनाउने,
२. समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरुका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरु मार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने,
३. पहिलो पक्ष र दोश्रो पक्षबीच बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति दलको चुनाव चिन्ह ’घण्टी’ र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने,
४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने,
५. बृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,
६. यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने,
७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’ मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्धा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने ।
जनता समाजवादी पार्टी सुनसरी पुनर्गठन सम्पन्न, मणि राईको नेतृत्वमा नयाँ समिति
बराहक्षेत्र (सुनसरी) । जनता समाजवादी पार्टी (जसपा) सुनसरी जिल्ला समितिको पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ । पौष ११ गते शुक्रबार बराहक्षेत्र नगरपालिका–६ स्थित पारालिगल भवनमा आयोजित कार्यक्रममा जिल्ला समिति सर्वसम्मत रूपमा चयन गरिएको हो ।
पुनर्गठित जिल्ला समितिको अध्यक्षमा मणि राई चयन भएका छन् । उपाध्यक्षमा हरि राई र अक्षलाल मण्डल, सचिवमा लक्ष्मी राई, सहसचिवमा दुखिलाल चौधरी र धनराज राई तथा कोषाध्यक्षमा दुर्गा गुरुङ चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा जीवन राई, सुरेन्द्र राजधामी, शरण पुमा, गणेश राई, डिल्ली बी.के., मुस्कान राई, कृष्णमाया राई र अनु माझी रहेका छन् ।
कार्यक्रमकै अवसरमा जनता समाजवादी पार्टी सम्बद्ध समाजवादी युवा संघको समिति पनि घोषणा गरिएको छ । मुस्कान राईको अध्यक्षतामा ११ सदस्यीय युवा समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा शुभास खड्का, सचिवमा भिम बस्नेत, सहसचिवमा रिया साह, कोषाध्यक्षमा लक्ष्मी राई तथा सदस्यहरूमा सुमन राजधामी, माया खड्का, जोसन थुलुङ, रमा कार्की, रामकुमार राई र सुम्तीमा राई चयन भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य भिम राई उपस्थित थिए । प्रमुख अतिथिको रूपमा बोल्दै नेता राईले संघीयता महँगो भयो भन्दै पछिल्लो समय भइरहेका टिकाटिप्पणीको कडा खण्डन गर्नुभयो । केही राजनीतिक दलहरूले तथ्याङ्कहीन आधारमा संघीयता विरुद्ध भ्रम फैलाएको उहाँको आरोप थियो ।
कार्यक्रममा बोल्दै राईले भन्नुभयो, "संघीयता महँगो भएको कुरा निराधार छ । यसले त नागरिकका दैनिक प्रशासनिक कार्यलाई घरदैलोमै पुर्याएर सहज बनाएको छ । संघीयताकै कारण स्थानीय तह र आम नागरिकहरू पहिलेभन्दा धेरै सशक्त भएका छन् ।"
उनले नेपाली समाजमा समय व्यवस्थापन कमजोर रहेको उल्लेख गर्दै युरोपेली मुलुकहरूले समयलाई आर्थिक उत्पादनसँग जोडेकाले उनीहरूको अर्थतन्त्र सबल भएको बताए । नेपालीहरू उत्पादनशील कामभन्दा सरकारी कामकाजका लाइनमै धेरै समय खर्चिन बाध्य भएकाले आर्थिक अवस्था कमजोर भएको उनले बताए ।
नेता राईले अहिलेको नयाँ पुस्ता (जेन–जी) ले उठाइरहेका भ्रष्टाचार, सुशासन तथा प्रत्यक्ष कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीजस्ता एजेण्डा पार्टीले स्थापना कालदेखि नै उठाउँदै आएको बताएका थिए । साथै उनले प्रदेशहरू पूर्ण कार्यकारी हुनुपर्ने र स्थानीय तहलाई प्रशासनिक इकाइ नभई विकास निर्माणका इकाइका रूपमा स्थापित गर्नुपर्ने पार्टीको धारणा स्पष्ट पारे । साथै स्थानीय तहको निर्वाचनमा राजनीतिक दलले भाग लिन नपाउने माग पनि पार्टीको स्थापनाकालदेखिकै एजेण्डा रहेको उनले बताए ।
विशेष अतिथिका रूपमा उपस्थित जसपा केन्द्रीय सदस्य तेज नारायण चौधरीले पार्टी पहिचान, संघीयताको स्थापना र सुशासन कायम गरी भ्रष्टाचार नियन्त्रणका लागि स्थापित भएको बताए । अन्य दलका नेताहरूले बोली र गराईमा फरक भएकाले देश समस्यामा परेको उल्लेख गर्दै जसपाको नेतृत्व इमानदार र नैतिक भएको दाबी गरे । उनले संगठित भएर अघि बढ्न कार्यकर्तालाई आग्रह गरे ।
त्यसैगरी प्रदेश नं. १ का मुख्य सचिव नगेन्द्र पारघरी लिम्बुले सुनसरी निर्वाचन क्षेत्र नं. १ मा पार्टीको पहलमा विभिन्न मन्त्रालयबाट विनियोजित विकास बजेटबारे विवरणसहित जानकारी गराए ।
जनता समाजवादी पार्टी सुनसरी जिल्ला पुनर्गठन आयोजक समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा प्रदेश समिति सदस्य दुर्गा राई, पूर्व सदस्य मनोज प्रधान, किरात राष्ट्रिय समितिका मुख्य सचिव राष्ट लोहोरुङ, देवराज राई, बराहक्षेत्रका जसपा संस्थापक नगर अध्यक्ष संजय राई, निर्वाचित वडासदस्यहरू, जसपा सम्बद्ध विद्यार्थी तथा युवा नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
युक्रेन–रुस शान्ति सम्झौताका केही कागजात पूर्ण रूपमा तयार : राष्ट्रपति जेलेन्स्की
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेन–रुसबीचको शान्ति सम्झौतासम्बन्धी केही कागजातहरू ‘पूर्ण रूपमा तयार’भइसकेको बताएका छन् । उनले अमेरिकी विशेष दूतहरू स्टिभ विटकोफ र जारेड कुश्नरसँग भएको छलफलपछि संवेदनशील विषयहरूमा सहमति जुटाउन अझंै काम गर्नुपर्ने उल्लेख गरेका छन् ।
सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेको भिडियो सन्देशमा राष्ट्रपति जेलेन्स्कीले भने,‘आज राष्ट्रपति ट्रम्पका दूतहरूसँग छलफल गरेका विषयहरूलाई व्यवस्थित गर्न सफल भयौँ भने यो निकै महत्वपूर्ण हुनेछ । मेरो बुझाइमा केही कागजातहरू लगभग तयार छन् र केही त पूर्ण रूपमा तयार भइसकेका छन् । यद्यपि, संवेदनशील विषयहरूमा अझै काम बाँकी छ । तर अमेरिकी टोलीसँग मिलेर हामी यसलाई कसरी अघि बढाउने भन्नेमा स्पष्ट छौँ । आउँदा हप्ताहरू गहन हुन सक्छन् ।’
उनले शान्ति प्रक्रियालाई अगाडि बढाउन अमेरिकी सहयोगप्रति आभार व्यक्त गर्दै ‘धन्यवाद, अमेरिका,’ भनेका छन् । यसअघि बिहीबार नै राष्ट्रपति जेलेन्स्कीले युक्रेनी प्रतिनिधिमण्डलसहित अमेरिकी विशेष दूत स्टिभ विटकोफ र जारेड कुश्नरसँग भेटवार्ता गरेका थिए ।
भेटपछि उनले दिगो शान्तिका लागि ‘राम्रा विचारहरू’ अघि आएको बताएका छन् । एक्समा लेख्दै उनले रचनात्मक दृष्टिकोण, निरन्तर प्रयास र युक्रेनी जनताप्रति व्यक्त गरिएको सद्भावनाका लागि अमेरिकी दूतहरूलाई धन्यवाद दिए ।
‘हामी युक्रेनविरुद्धको यो क्रूर रुसी युद्धको अन्त्य नजिक ल्याउन दिन–रात काम गरिरहेका छौँ,’ जेलेन्स्कीले लेखेका छन । ‘तयार पारिने सबै कागजात र चालिने कदमहरू व्यवहारिक, प्रभावकारी र विश्वसनीय हुनुपर्छ भन्नेमा हामी प्रतिबद्ध छौँ ।’
उनका अनुसार छलफलमा शान्ति प्रक्रियासँग जोडिएका महत्वपूर्ण विवरणहरूमा समेत कुराकानी भएको थियो । ‘वास्तविक सुरक्षा, पुनर्निर्माण र शान्ति हामी सबैका आवश्यकता हुन—युक्रेन, अमेरिका, युरोप र सहयोग गर्ने सबै साझेदारहरूको,’ उनले उल्लेख गरे ।
यसैबीच, क्रिसमसको अवसरमा युक्रेनी जनतालाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले शान्तिको कामना गरेका छन् । तर उनले पर्वको पूर्वसन्ध्यामा रुसले व्यापक आक्रमण गरेको भन्दै आलोचना पनि गरे । ‘हामी क्रिसमसको संगीत सुन्दा खुशी हुन्छौँ,’ उनले भने, ‘तर आकाशमा ड्रोन र मिसाइलको आवाज नसुन्दा झनै खुशी हुन्छौँ ।’ एएनआई
बालेन शाहलाई झापाबाट जमानत जफद गरिदिन्छौं : नेता पाठक
बिर्तामोड । नेकपा एमालेका केन्द्रीय सदस्य चिन्तन पाठकले झापाली जनताले बालेन शाहको जमानतजफत गरिदिने बताएका छन् । झापा –५ बाट निर्वाचन लड्ने बालेन शाहको सपनालाई जमानत जफत गरेर देखाइदिने चेतावनी दिए ।
सरकारविरुद्ध नेकपा एमाले झापाले आयोजना गरेको खवरदारी कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य पाठकले बालेन शाहका लागि झापा अत्यन्तै दुखद र अशुभ हुने बताए । उनले असंवैधानिक सुशीला कार्की नेतृत्वको सरकारलाई घुँडा टेकाएर छाड्ने गरी एमाले सडकमा आएको बताएका छन् । विदेशी शक्तिहरुको इसारामा देशलाई सिध्याउने खेल स्वीकार्य छैन, उनले भने, ‘एमालेले संविधान र लोकतन्त्रलाई ट्रयाकमा ल्याएर छाड्नेछ ।’
नेता पाठकले संसद् पुनस्र्थापना नभएसम्म मुलुकले निकास नपाउने धारणा व्यक्त गर्दै पुनःस्र्थापना नभएसम्म सडक नछाड्ने चेतावनी दिए । उनले देशको रक्षाका लागि आम जनतालाई समेत सडकमा आउने आव्हान गरेका छन् । यस्तै, पार्टीका झापा जिल्ला अध्यक्ष प्रेम गिरीले विदेशीको इसारामा देश चलाउनेहरुलाई तह लगाउन एमाले टाउकोमा काक्रो बाँनेर सडकमा निस्किएको बताए ।
उनले संविधान मिच्ने, विदेशीको गतिविधि टुलुटुलु हेरेर नसक्ने बताउँदै खवरदारी गरेका छन् । नेपाली जनतामाथि गिद्धे दृष्टि लगाए प्रतिकार गरेर देखाइदिने चेतावनी दिए । एमाले संविधान संशोधन गरेर भएपनि देशलाई निकास दिन तयार रहेको बताउँदै अध्यक्ष गिरीले संसद पुनःस्र्थापना अनिवार्य भएको बताए ।
एमाले चुनावबाट कहिल्यै भाग्दैन, उनले भने,‘एमाले जनताको सबैभन्दा लोकप्रिय पार्टी हो । अघिल्लो निर्वाचनमा एमालेविरुद्ध सबै एक हुँदा पनि सबैभन्दा लोकप्रिय मत ल्याएको हो ।’
कार्यक्रममा नेताहरुले यो सरकारले निर्वाचन गर्न नसक्ने दावी गरेका छन् । दमकको कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य देवेन्द्र दाहालले कानुन बनाउन र हरेक मुद्धाको फैसला गर्न जनताबाट निर्वाचित संसद पुर्नजिवित गर्नुपर्ने बताए ।
एमालेका लागि मात्र नभएर अन्य पार्टी र जनताका लागि संसद विघटन मान्य नभएको उनको भनाइ थियो । जेनजीले उठाएका माग पूरा गर्न र सर्वपक्षीय सरकार गठन गर्न पहिला संसदबाट संविधान संशोधन गरी सो कुरा संविधानमा व्यवस्था गर्नुपर्ने भएकोले संसद पुनःस्र्थापना आवश्यकता भएको बताए ।
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायत दलका नेताहरुलाई स्थानहद कायम गरेर चुनाव गराउछु भन्दै सरकारले नाटक मात्र गरेको उनको धारणा थियो ।
‘एमालेले खबरदारीको शुरुवात मात्र गरेको हो, उनले भने, ‘संविधानको कुनै धाराले प्रधानमन्त्री शुसीला कार्कीलाई चिन्दैन । त्यसैले तत्काल यो सरकारलाई हटाउनुपछै । ’ एमालेले झापाको बिर्तामोड र दमकमा एकैदिन सरकारविरुद्ध खवरदारी गरेको हो । बजार परिक्रमा गरेर कोणसभा गरिएको थियो ।
जनता समाजवादी पार्टी सुनसरी जिल्ला पुनर्गठन कार्यक्रमको तयारी पूरा
बराहक्षेत्र (सुनसरी) । जनता समाजवादी पार्टी (जसपा) सुनसरी जिल्ला समितिको पुनर्गठन कार्यक्रम आगामी पौष ११ गते शुक्रबार आयोजना हुने भएको छ । उक्त कार्यक्रम बराहक्षेत्र नगरपालिका–६ स्थित चक्रघट्टीको पारालिगल भवनमा सम्पन्न हुनेछ । पुनर्गठन आयोजक समितिका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ।
पुनर्गठन आयोजक समितिका प्रचार-प्रसार संयोजक धनराज राईका अनुसार, पूर्व पुनर्गठित जिल्ला समितिका कार्यवाहक अध्यक्ष तथा सचिवले करिब डेढ वर्षभन्दा बढी समयसम्म जिम्मेवारी अनुसार राजनीतिक तथा सङ्गठनात्मक कार्य नगरेको कारण उक्त समिति निष्क्रिय बनेको थियो । सोही अवस्थाका कारण मणि कुमार राईको संयोजकत्वमा जनता समाजवादी पार्टी सुनसरी जिल्ला पुनर्गठन आयोजक समिति गठन गरिएको र सोही समितिको आयोजनामा जिल्ला पुनर्गठन कार्यक्रम हुन लागेको जानकारी उनले दिए ।
पार्टीको विधानअनुसार प्रत्येक स्थानीय तहबाट एक महिला सहित तीन जना प्रतिनिधि रहने व्यवस्था रहेको उल्लेख गर्दै प्रचार–प्रसार संयोजक राईले सुनसरी जिल्लाको नयाँ जिल्ला कार्य समिति ५७ सदस्यीय हुने जानकारी दिए। विधानअनुसार नै जिल्ला समिति निर्माण गरिने उनको भनाइ छ ।
उक्त पुनर्गठन कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य भीम राई प्रमुख अतिथि रहनेछन् भने केन्द्रीय सदस्य तेज नारायण चौधरी, बिना पुमा राई लगायतका नेताहरू विशेष अतिथिका रूपमा सहभागी हुने आयोजक समितिले जनाएको छ ।
फागुन २१ मा निर्वाचन हुन्छ, उज्यालो नेपाल पार्टीले बहुमत ल्याउँछ : कुलमान घिसिङ
रामेछाप । अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री एवं उज्यालो पार्टीका नेता कुलमान घिसिङले आगामी फागुन २१ गते हुने निर्वाचनबाट देशमा नयाँ दलहरूको सरकार बन्नुपर्ने बताएका छन् ।
गृह जिल्ला रामेछापको मन्थलीमा आयोजित उज्यालो नेपाल पार्टीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै मन्त्री घिसिङले देशको स्थिरताका लागि चुनाव अनिवार्य रहेको बताए ।
‘चुनाव हुनैपर्छ, देशको स्थिरताका लागि चुनाव अनिवार्य छ तर यो निर्वाचनबाट नयाँ नेतृत्व आउनु पर्छ, यदि यो निर्वाचनबाट पनि पुरानै दलहरू नेतृत्वमा आउने हो भने त्यसको के अर्थ हुन्छ ?’ उनले भने ।
आफूले मात्र चुनाव जित्नु ठुलो कुरा नभएको उल्लेख गर्दै उनले देशभरबाट उज्यालो नेपाल पार्टीका नेताहरूले बहुमत, दुई तिहाइसहित चुनाव जितेमा देशको विकास सम्भव हुने दाबी गरे ।
घिसिङले आगामी निर्वाचनबाट पनि नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी जस्ता पूराना दलका नेताहरू नै सरकारको नेतृत्वमा पुगेमा पछिल्लो समय ‘जेनजी विद्रोह’ले सिर्जना गरेको राजनीतिक अवस्थाको औचित्य समाप्त हुने उनले बताए । चुनावपछि बन्ने सरकार देशका लागि अत्यन्तै महत्त्वपूर्ण हुने उनको ठहर छ ।
उज्यालो नेपाल पार्टीलाई बहुमत दिलाउने गरी सक्रिय हुन निर्देशन दिँदै उनले देश निर्माणका लागि प्रधानमन्त्री सही र क्षमतावान् हुनुपर्नेमा जोड दिए । ‘हिजोका नेताहरूले लिडरसिप गरेनन्, राजनीति मात्रै गरे,’ उनले भने,‘हामी राजनीति गर्न होइन, देशको समृद्धिका लागि काम गर्न आएका हौँ ।’
भाषण र गफले मात्र देश विकास नहुने बताउँदै घिसिङले पुराना शक्तिहरूलाई परास्त गर्न नयाँ शक्तिहरू एकताबद्ध भएर अगाडि बढ्नु पर्ने बताए । उज्यालो नेपाल पार्टी छोटो समयमै देशभर फैलिएको दाबी गर्दै उनले नयाँ नेतृत्वप्रति जनतामा आशा बढ्दै गएको बताए ।
यस्तो छ आयोगले तोकेको समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत
काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन (पहिलो संशोधन) निर्देशिका, २०८२ ले गरेको व्यवस्था बमोजिम राजनीतिक दलले उम्मेदवारको बन्द सूची पेस गर्दा नयाँ व्यवस्थाअनुसार गर्नुपर्ने आयोगले जनाएको छ ।
दलित, आदिवासी, जनजाती, खस आर्य, मधेसी, थारु र मुस्लिमको जनसंख्या प्रतिशतको आधारमा सूची पेस गर्नुपर्नेछ । पछिल्लो कानुनी प्रबन्धअनुसार, दलित १३.४४ प्रतिशत, आदिवासी जनजाति २८.७२ प्रतिशत, खस आर्य ३०.२८ प्रतिशत, मधेसी १६.१५ प्रतिशत, थारु ६.५२ प्रतिशत र मुस्लिम ४.८९ प्रतिशत हुने गरी उम्मेदवारको नाम समावेश गर्नुपर्नेछ ।
बन्दसूचीमा प्रत्येक समावेशी समूहबाट कम्तीमा ५० प्रतिशत महिलाको नाम समावेश गर्नुपर्नेछ । कूल ५० प्रतिशत सिट संख्या निर्धारण गर्दा नाम समावेश गर्नुपर्ने महिलाको संख्या दशमलवमा आएमा सोभन्दा माथिको पूर्ण संख्यामा नाम समावेश गर्नुपर्नेछ ।
बन्दसूची आयोगमा पेस गर्दा सम्बन्धित दलको केन्द्रीय समितिले स्वीकृत गरी सो निर्णयको प्रमाणित प्रतिलिपि पेस गर्नुपर्ने जनाइएको । सूचीमा रहेका प्रत्येक उमेदवारको नेपाली नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपि र मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि पेस गर्नुपर्नेछ ।
समानुपातिक निर्वाचन प्रणालीका लागि आवेदन दिएका दलले यही पुस १३ र १४ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने समय सीमा तोकिएको छ ।
धेरै दौंतरी विदेशिए, महाँचन्द्र तरकारी खेतीबाटै मासिक डेढ लाख कमाउँदैछन्
बाजुरा । कुनै समय कामको लागि भारत पुगेर जिविका चलाउँदै आएका बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर ७ का महाँचन्द्र पाध्याय यतिवेला तरकारी खेतीमा रमाइरहेका छन् ।
उमेरले करिब पचास कटेका पाध्यायको जोश, जाँगर र तरकारी खेतीप्रतिको हुटहुटी लोभलाग्दो छ । सामान्य परिवारमा जन्मेका पाध्यायको जीवन संघर्षको कथा कठिन यात्राबिच चलेको छ । अनेकौं कठिनाई र भोगाई भोग्दै पाध्यायले अहिले गाउँमै व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका छन् । तरकारी खेतीबाटै स्वरोजगार बनेका उनले सानो रुपमा उत्कृष्ट व्यवसाय गर्दै आएका छन्।
उनको मेहेनत, लगाव र कर्मशीलता कारण विभिन्न कार्यक्रममा सम्मानित समेत भएका छन् । फर्म दर्ता गरेर पाध्याय तरकारी खेतीमा होमिएका छन्। पाध्यायले ०७७ बाट व्यवसायिक रुपमा तरकारी व्यवसायको थालनी गरेका हुन् । त्यो भन्दा पहिले फाट्टफुट्ट रुपमा तरकारी लगाउँदै आएका थिए । जसबाट थोरथारै कमाई समेत हुने गरेको थियो ।
०७८ मा उनले कृषि ज्ञान केन्द्र बाजुराको ५० प्रतिशत अनुदान र आफ्नो ५० प्रतिशत लगानी गरेर करिब एक लाख बराबरको प्लास्टिक टनेल निर्माण गरि व्यवसायीक तरकारी खेती सुरु गरेका हुन् । उनले अहिले त्यहि प्लाष्टिक टनेलबाट तरकारी खेती गरेर यतिबेला जिल्लाकै सफल किसानका रुपमा परिचित छन् ।
उनले करिव २० रोपनी जग्गामा तरकारी खेती गरिरहेका छन् । उनकै उमेरका अधिकांश दौंतरीहरु पैसा कमाउन विदेश पलायन भएपनि पाध्याय भने तरकारी खेतीमै सक्रिय छन् ।
खेतीबाट नाम र दाम दुवै कमाउन थालेपछि उनले अहिले ज्यालादारी र कामको लागि भारत जाने योजना कहिल्यै नबनाएको उनले सुनाए । उनले भने, ‘तरकारी खेतीबाट घरखर्च चलाउन पुगेको छ । बजार लगेर बिक्री गर्न पनि भ्याइएको छ । गाउँमै कर्म गर्ने हुटहुटीले बाहिर जाने योजना कहिल्यै आएन् ।’ व्यवसायीक रुपमा तरकारी खेतीतर्फ लागेको चार पाँच बर्षभित्र राम्रो आम्दानी हुनुका साथै पेशा, व्यवसायबाट आफू निकै सन्तुष्ट रहेको पाध्यायले बताए ।
तरकारी बिक्री गरेर सामान्य रुपमा बार्षिक डेढ लाखसम्म आम्दानी हुने गरेको उनको भनाई छ । आम्दानी भन्दा पनि आफूलाई ताजा तरकारी खान र व्यवसायिक बन्न सहज भइरहेको उनले थपे। तरकारी खेतीबाट नाम र सामान्य रुपमा दाम हुन थालेपछि आफूलाई पेशाप्रति थप हौसला थपिएको बताउँदै उनले तरकारी खेतीबाटै परिवारको खर्च, बालबच्चाको पालन पोषण भइरहेको बताए ।
आगामी दिनमा पेशा व्यवसायलाई थप बढवा दिने उनको भनाई छ।व्यक्ति कर्मशिल हुन जरुरी रहेको कुरामा पाध्यायले जोड दिए । उनले भने,‘व्यक्ति कर्मशिल र लगनशील भए हरेक चिज गाउँ सम्भव हुने रहेछ।हामी गाउँमा रोजगारीका अवसर छैनन् भन्छौँ । तर आफ्नै गाउँको माटोमा पशिना बगाए सुन समेत फलाउन सकिने रहेछ ।’ पाध्यायले टनेलमा मौसम अनुसारका तरकारी फलाउने गरेका छन् ।
टनेलभित्र टमाटर, काँक्रो, काउली, बन्दा, रायो, डल्ले खुर्सानी, गाँजरलगायत तरकारी उत्पादन गर्ने गरेका छन् । उनले बेमौसमी तरकारी तथा खुला जग्गामा मौसमी तरकारीखेती समेत गरिरहेका छन् । तरकारी मात्रै नभई पाध्यायले फलफूल समेत उत्पादन गर्ने गरेका छन् । तरकारी खेतीका साथसाथ उनले सुन्तला, किवी, मौसमीलगायतका फलफूलको खेती गरेका छन् ।
त्यस्तै दाँते ओखर, विभिन्न बोटविरुवा वृक्षरोपण गरि व्यवसायीक पेशा थालनी गरेका छन्।तरकारी तथा फलफूल व्यवसाय नै उनको जीवनको ढकढुकी बनेको छ।
पाध्यायको फार्ममा करेला,घिरौँला,लौका,फर्सी,बोडी, सिमी भेन्टा, धनियाँ समेत उत्पादन हुने गरेका छन्। बजारमा करेला र घिरौँला प्रतिकिलो रु १२०, लौका ७०, काँक्रा ५० मा धमाधम बिक्री हुने गरेको उनले बताए ।
‘तरकारी खेतीबाट राम्रो सफलता मिलेको छ, खेतभरि हरियाली फलेका तरकारी देख्दा मन आनन्दित हुन्छ, तरकारी बेचेर दाम बुझ्दा एकछिन खाली बस्नै मन लाग्दैन, आफ्नै माटोमा कृषिबाट राम्रै कमाउन सकिने रहेछ’, उनले भने,‘हिउँदे र बर्खेयाम अनुसारको तरकारी खेती गर्दै दिनहरु वितिरहेका छन् ।’
उनको देखासिकी गरी गाउँका अन्य व्यक्ति पनि तरकारी खेतीतर्फ आकर्षित भएका छन् । पछिल्लो समय आफ्नो पेशा व्यवसाय गाउँका अन्य व्यक्तिले सिको गरेको उनको भनाई छ।
आफ्नै गाउँको माटोमा कर्म गरेर व्यवसायिक बन्न उनले सुझाव दिएका छन्। परदेशमा अरुको दवाव सहेर काम गर्नु भन्दा स्वदेशमै बसेर आफ्नै गाउँमा कर्म गर्नु उचित रहेको उनको भनाइ छ ।


