अबको चुनावमा सहि ब्यक्ती र नेतृत्व चुन्न मन्त्री घिसिङको आग्रह
रौतहट । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले अबको तीन महिनाभित्र हुने चुनावमा सहि ब्यक्तीलाई चुन्न आग्रह गरेका छन् । निर्वाचनबाट आएका सहि ब्यक्तीबाट चुनिएको नेतृत्व पनि सहि हुने उनको भनाइ छ ।
रौतहटको चन्द्रपुर नगरपालिका–९ स्थित जन्मोत्सव पार्कमा शुक्रबार तराई विकास तथा सञ्चार केन्द्रले गरेको कार्यक्रममा बोल्दै उनले देश परिवर्तनका लागि सहि ब्यक्ती र नेतृत्वको आवश्यकता रहेको बताए । पूराना ब्यक्ती भन्दा पनि सहि ब्यक्ती राजनीतिमा आउन आवश्यक रहेको उनले औँल्याए ।
अबको तीन महिना भित्रमा चुनाव हुने दाबी गर्दै जेनजी आन्दोलनको परिवर्तनबाट नै अन्तरिम सरकार बनेको उल्लेख गरे । ‘आगामी दिनमा चुनावमा जानुपर्ने छ, उनले भने; ‘अबको चुनावमा सहि ब्यक्ती र नेतृत्व आउँनुपर्छ ।’
कर्मचारी भएर काम गर्दा ऊर्जा क्षेत्रमा उल्लेखनीय प्रगति गर्न सफल भएको दाबी गर्दै उनले मुलुक अँध्यारोबाट उज्यालोतर्फ अघि बढेको बताए ।
कर्मचारी भएर काम गरिसकेकाले देशमा परिवर्तन गर्नका लागि नै आफू राजनीतिमा होमिएको मन्त्री घिसिङले बताए ।
उनले आगामी निर्वाचनमा आफूहरूलाई विजयी गराए देशमा परिवर्तन आउने बताए । बारा, पर्सा र रौतहटको पूर्वाधार क्षेत्रमा भएको कामको अनुगमन समेत मन्त्री घिसिङले गरेका थिए ।
विविध समस्याका कारण पुल–सडकजस्ता महत्वपूर्ण पूर्वाधारहरू अधुरो रहने र जनताले सास्ती भोग्नुपरेको उल्लेख गर्दै उनले निर्माण व्यवसायीहरूले पनि समयमै काम नसकाएको आरोप लगाए । वर्तमान सरकार, शासन सुधार, सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त प्रणाली निर्माणका लागि प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।
ध्यान र योगलाई व्यवहारिक बनाउन पाठ्यक्रममा समावेश गर्नुपर्छ : मन्त्री पुन
काठमाडौं । शिक्षामन्त्री महावीर पुनले ध्यान र योग मनाउने मात्र नभई व्यहारिक बनाउन पाठ्यक्रममा नै समावेश गर्ने तयारी गरिरहेको बताएका छन् । मंगलबार बसेको दोस्रो विश्व ध्यान दिवस तथा ११ औँ राष्ट्रिय योग दिवस २०८२ मूल समारोह समितिको बैठकमा बोल्दै उनले ध्यान र योगलाई पाठ्यक्रममा समावेश गर्न छलफल गरिरहेको जानकारी दिएका हुन् ।
उनले भने, ‘ध्यान र योग गर्ने कुरालाई कसरी व्यहारिक बनाउने भन्ने कुरा हो । पाठ्यक्रममा कसरी समावेश गर्ने भन्ने कुराहरुमा दुई÷तीन चरणका छलफल भएका पनि छन् । त्यसका साथै कक्षामा पाठ पढाएर मात्र यो हुने होइन् । ध्यान, र योगलाई व्यहारिकरुपमा लागु गर्न शुक्रबार हुने अतिरिक्त क्रियाकलापको सूचीमा राख्ने र सिकाउनु पर्छ ।’
उनले विद्यालयमा हरेक शुक्रबार ध्यान र योगलाइ निरन्तर दिन शिक्षकहरुलाई पनि ज्ञान नभएको भन्दै शिक्षकका लागि तालिमको व्यवस्था गर्नुपर्ने बताए ।
‘कतिपय विद्यालयमा ध्यान कसरी गर्ने भन्नेबारे शिक्षकहरुलाई पनि थाहा छैन । शिक्षकहरुलाई पनि कक्षा सुरु गर्नुभन्दा अगाडि एक मिनेट ध्यान बस्ने र सिकाउने गर्नुपर्छ । त्यसका लागि यस क्षेत्रमा लागेका संस्थाहरुले शिक्षकका लागि तालिमको व्यवस्था गर्नुपर्छ । त्यसका शिक्षा मन्त्रालयले पनि सहयोग गर्छ,’ उनले भने ।
यस्तै उनले नैतिक शिक्षा पाठ्यक्रमा पढेर मात्र नहुने भन्दै व्यवहारमा लागु गर्नुपर्ने बताए ।
‘नैतिक शिक्षा भन्ने कुरा किताबमा पढेर मात्र नैतिकवान हुने होइन । यो त व्यवहारमा लागु गर्ने कुरा हो । यो सानो उमेरदेखि गर्नुपर्ने कुरा हो । नैतिक बाल कक्षादेखि कक्षा १,२,३,४,५ कक्षासम्ममा नैतिकवान बनाउन सकियो भने नैतिक बने तर ठूलो भएर ९, १० कक्षामा नैतिक शिक्षा पढाएर नैतिक हुँदैनन्,’ उनले भने ।
आर्थिक विपन्नताका कारण नेपालीले दुःख भोगिरहेका छन् : मन्त्री पुन
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आर्थिक विपन्नतालाई नेपालमा निरन्तर भइरहेका समस्याहरूको मुख्य कारणका रूपमा बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आर्थिक कमजोरीकै कारण रोजगारी सिर्जना, सडक निर्माण, अस्पताल–विद्यालयको निर्माण तथा सञ्चालनमा कठिनाइ आइरहेको बताए।
मन्त्री पुनले भने, “आर्थिक विपन्नताले गर्दा देश विकास हुन सकेको छैन। रोजगारी छैन, बाटो–घाटो राम्रो बन्दै छैन, अस्पताल–विद्यालयको अवस्था कमजोर छ। यसै आर्थिक अभावका कारण नेपालीले धेरै दुःख पाएका हुन् । आर्थिक विपन्नतालाई सम्पन्नतामा रूपान्तरण कसरी गर्न सकिन्छ भन्ने बुझ्न इतिहास पनि हेर्नुपर्छ ।”
उनका अनुसार, नेपालमा कुनै पनि काम अघि बढाउन खोज्दा ‘पैसा छैन’ भन्ने कुरा आफू मन्त्रालयमा प्रवेश गरेको पहिलो दिनदेखि नै देखिएको छ। यो समस्या आजको मात्र नभई धेरै पहिलेदेखि चल्दै आएको उनले स्पष्ट पारे ।
मन्त्री पुनले नेपालीहरूले भोगेको कठिनाइ केवल आर्थिक मात्र नभई समाजकै कार्यशैली र सोचसँग पनि जोडिएको बताए ।
उनले भने,“कुनै-कुनै नेपालीले सुख पाएका होलान्, तर अधिकांश नेपालीले दुःख पाएका छन्। त्यसमा हाम्रो आफ्नै भूमिका पनि छ। नेपालीको ढंग नपुगेर समस्या भएको हो । यो कुनै एक व्यक्तिको होइन, सम्पूर्ण समाजको ढंग सुध्रिनुपर्ने कुरा हो ।”
मन्त्री पुनले नेपालमा विज्ञान र प्रविधिको विकास पर्याप्त नहुँदा देशका प्रतिभाहरू विदेशीन बाध्य भएको बताए । उनका अनुसार, “अर्थतन्त्र प्रविधिसँग प्रत्यक्ष जोडिएको हुन्छ। प्रविधिको पर्याप्त विकास नहुँदा अर्थतन्त्र पनि अघि बढ्न सकेको छैन ।”
मन्त्री पुनले आर्थिक विपन्नता समाधान गर्न शिक्षा, विज्ञान, प्रविधि र व्यवस्थापनमा सुधार अनिवार्य रहेको पनि बताए ।
भिडियो लिङ्क :
<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/rtjjSXgdqpY?si=RoAEILwbaxCEN-E_" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>
स्वर सम्राट नारायण गोपालको गीतले आज पनि उपस्थित महसुस हुन्छ : उपप्रमुख डंगोल
काठमाडौं । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कलाकारप्रति सम्मान र उनीहरूले पु¥याएको योगदानको पुस्तान्तरण आवश्यक रहेको बताएकी छन् ।
स्वर सम्राट नारायण गोपालको ३५ औँ पुण्यस्मृतिको अवसरमा आयोजित गीत–गंगा भवन उद्घाटन सम्मान तथा सांगीतिक कार्यक्रम–२०८२ कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले कलाकारको मूल्य र सिर्जनालाई जोगाइराख्न राज्य तथा समाज दुवै जिम्मेवार हुनुपर्ने बताएकी हुन् ।
‘हामीले सधैं कलाकारहरूलाई सम्मान गर्नुपर्छ । कलाकारहरूले पुर्याउनु भएको योगदानलाई सम्मान गर्दै जाँदा ती कलाहरू पनि पुस्तान्तरण हुँदै जानुपर्छ ।’
उनले स्वर सम्राट नारायण गोपाल केवल गायक मात्र नभई जनमानसका गहिरा भावनाहरू गीतमार्फत अभिव्यक्त गर्ने असाधारण कलाकार रहेको उल्लेख गरिन् ।
‘उहाँले पीडा मात्र होइन, हाम्रो जीवनका विभिन्न भावनाहरू उजागर गर्नुभयो । कलाकारिताले जनमानसको मन छुने क्षमता हुनुपर्छ भनिन्छ, उहाँ त्यही मनलाई छुन सक्ने कलाकार हुनुहुन्थ्यो,’डंगोलले भनिन् ।
उपप्रमुख डंगोलले नारायण गोपालको गीतले आज पनि उनलाई उपस्थित महसुस गराउँछ भन्दै कलाकारको कृतित्व कहिल्यै मर्न नजाने बताइन् ।
‘उहाँको गीतको आभासले उहाँ हामीसँगै हुनुहुन्छ जस्तो लाग्छ । मानिसले त छोडेर जानै पर्दछ, तर महान कलाकारहरू संसार छोडे पनि उनीहरूको कलाकारिता सदैव जीवित रहन्छ,’उनले भनिन् ।
माङमालुङ चिया बगानका पीडित अदालत जाने, संचालकले करोडौँ भ्रष्टाचार गरेको आरोप
काठमाडौं । माङमालुङ चिया बगानका संचालकले करोडौँको हिनामिना गरेपछि पीडितहरु न्यायको लागि आदालत जाने तयारी गरेका छन् । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै गिरिबन्धु टि स्टेटमा जस्तै नीतिगतरुपमै चिया बगान सकाएर भ्रष्टाचार गरेको आरोपसमेत लगाएका छन् ।
माङमालुङ चिया बगान बचाउ अभियानका उपत्यका संयोजक हिमाल राईले अरु शेयर धनीहरुलाई जानकारी नदिइ र विधिसम्मत प्रक्रिया नपुर्याइ केन्द्र प्रसाईको योजनामा बगानको ८० रोपनी जग्गा विक्री गर्नु गैर कानुनी भएको बताए ।
उनले भने,‘बगानका अध्यक्ष किरण राई, कार्यकारी निर्देशक केदार लामिछाने, सदस्यहरु केन्द्र प्रसाई, मनिकुमार भण्डारीसमेतले हामी सयौँ सेयरधनीको लगानी कुम्ल्याउने षड्यन्त्र गरेका छन् ।’
सञ्चालक केन्द्र प्रसाईं योजनामा ‘माई होम माई गार्डेन’ शीर्षकमा सयौँ व्यक्तिहरूबाट रकम असुलउपर गरि त्यसको कुनै लगतसम्म नराखिएको सेयरधनी आङकाजी शेर्पा र गोम्बा शेर्पाले बताए ।
संस्थापक शेयर धनी बुद्धिबहादुर राई(बीबी राई)ले सञ्चालक समितिले लामो समयदेखि आर्थिक अपारदर्शीता देखाएपछि त्यसको छानबिनका लागि ‘व्यवस्थापकीय सुझाव समिति–२०८० असार २३’ गठन गरेको जनाए ।
राईले आफ्नै संयोजकत्वमा जीवराज भट्टराई, कृष्ण राज थापा, अरुण कुमार अधिकारी र छत्र राई गरेर ५ सदस्यीय समितिले छानबिन गरेको बताए ।
२०८० असारमा सुरु गरेर ०८० असोज १० गते छानविन सकी सञ्चालक समितिलाई प्रतिवेदन बुझाएको बताउँदै राईले भने,‘किरण राई अध्यक्ष र कार्यकारी निर्देशक केदार लामिछाने नेतृत्वको सञ्चालक समितिले आब २०७२–७३ देखि आब २०७८–७९सम्म ९ करोड २१ लाख ६० हजार ३ सय ७५ बराबरको आयव्यय अपारदर्शी भएको देखिएको छ ।’
शेयरधनी नवल खड्काले बारम्बार आफूहरूले सञ्चालक समितिलाई पारदर्शी बन्न आग्रह गर्दा पनि उनीहरूले आफ्नो गलत कार्यलाई सच्याउनुको सट्टा बढाउँदै गएको बताए ।
४ सय ९३ जना शेयर सदस्यहरुको पसिनाको लगानीमा सञ्चालकले ठूलो मात्रामा आर्थिक अनियमितता गरेको बताउँदै खड्काले भने ‘आजको मितिसम्म त १५ करोड बढी नीतिगतरुपमै अपचलन गरि भ्रष्टाचार गरिसकेको देखिन्छ ।’ ‘हामीले पटक-पटक सच्चिन आग्रह गर्दा पनि हाम्रो भनाईलाई बेवास्ता मात्रै गरेनन, बरु उल्टै धाक र रवाफ देखाउने कार्यले पत्रकार सम्मेलनदेखि न्यायालयको ढोका ढकढकाउन बाध्य बनाए’ खड्काले थपे ।
सेयरधनी बसन्त कुमार राईले सञ्चालक समिति र व्यवस्थापन पक्षले कम्पनीको आर्थिक कारोबार बैङ्किङ प्रणालीबाट नगर्नुदेखि विभिन्न अवैध कार्यले कम्पनीलाई धराशायी बनाउन लागेको बताए ।
उनले यस्ता विभिन्न कार्यले आक्रोशित बनाएको बताउँदै भने,‘विल र भर्पाई विना नै लेखा परीक्षण गराउनु, व्यक्तिगत ऋण लेनदेन गर्दा कुनै पनि प्रक्रिया विधि पूरा नगरिनु, जग्गा विक्री गर्दा पनि विधि मिच्नु, करोडौँ रुपैयाँ मजदुरका ज्यालाका नाममा भुक्तानी दिदा कुनैपनि भर्पाई नहुनु, एउटै व्यक्तिको नाममा पटकपटक चेक जारी गर्नु, लेखा समितिले दिएको सुझावलाई बेवास्ता गर्नु, कम्पनी सचिवको व्यवस्था नगरिनु, कार्यकारी निदेर्शकको काम कर्तव्य र अधिकारको व्यवस्था नगरिनु, कर्मचारीका नियमावली नहुनु लगायतका कार्यहरूले प्रष्टरुपमा आर्थिक र नीतिगत भ्रष्टाचार गरेको ठहरिन्छ ।’
सेयरधनी हरिविक्रम राईले २०५१–५२ सालदेखि माङमालुङ चिया बगानबाट उत्पादित प्राकृतिक अर्थाेडक्स चियालाई विश्वव्यापीकरण गर्दै देशको अर्थतन्त्रलाई मजबुत बनाउने स्वच्छ भावना र उद्देश्यका साथ करोडौँ लगानी गरेको बताए ।
सञ्चालकहरूबाट भएका आर्थिक अनियमितता, व्यवस्थापकीय कमजोरी,विधि र प्रक्रिया उल्लङ्घन जस्ता कार्यहरूको प्रकोपबाट कम्पनी बचाउन आफूहरू लागि परेको उनले जनाए । त्यसका लागि सम्बन्धित निकायहरूदेखि न्यायालयसम्म जाने उद्घोष गरे ।
तोकिएको समयमा निर्वाचन गरेर युवाको हातमा सत्ता सुम्पिन्छौं : प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले युवा शक्तिको हातमा सत्ता सुम्पिनका लागि फागुन २१ गते आम निर्वाचन सम्पन्न गर्ने सम्पूर्ण तयारीमा जुटेको बताएकी छिन् । बिहीबार वसन्तपुरमा आयोजित २२औँ राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै उनले घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यकासाथ सरकार सम्पूर्ण रुपले तयारीमा जुटेको बताउँदै यस अभियानलाई सफल पार्न सबै नेपालीको सहयोगको अपेक्षा राखिन् ।
उनले भनिन्,‘सरकारले आउँदो फागुन २१ गते आम निर्वाचन गराई युवा शक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तिव्र विकासको मार्गमा अग्रसर गराउनुपर्ने हाम्रो दायित्व हो । तसर्थ घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यकासाथ सरकार सम्पूर्ण रुपले तयारीमा जुटेको छ । यस अभियानलाई सफल पार्न सबै नेपालीको सहयोगको अपेक्षा गर्दछु ।’
त्यस्तै उनले जेनजी आन्दोलनसँगै घटेका घट्नाहरुबाट पाठ सिक्दै मुलुकको युवा शक्तिको मागपूरा गर्न सबैले कटिबद्ध भएर लाग्न जरुरी रहेको बताइन् । ‘भदौं २३ र २४ गतेको जेनजी आन्दोलनसँगै घटेका घट्नाहरुबाट पाठ सिक्दै मुलुकको युवा शक्तिले भ्रष्टाचारको अन्त्य, सुशासनको पुर्नस्थापना, आम नागरिकलाई रोजगारीको माग गरेको छ । ति चाहना पूरा गर्न सबैले कटिबद्ध भएर आ–आफ्नो ठाउँबाट लाग्न जरुरी छ,’उनले भनिन् ।
काठमाडौंमा परम्परागत चाडपर्व तथा संस्कृति प्रवद्र्धन गर्न गुठी तथा स्थानीय तहको भूमिका विशेष रहेको उनले धारणा राखिन् ।
मुख्यमन्त्री सरोज कुमार यादवले दिए राजिनामा
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले राजीनामा दिएका छन्। बुधबार (आज) बसेको मधेश प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहे पनि उनले बैठकमै आफ्नो धारणा राख्दै राजीनामाको घोषणा गरेका हुन्।
विश्वासको मत पाउने सम्भावना कमजोर देखिएपछि मत प्रयोजन सुरु हुनुअघि नै उनले पदबाट हट्ने निर्णय गरेका हुन्। मुख्यमन्त्री यादवले धारणा राखिरहँदा ७ राजनीतिक दलका सांसदहरू बैठकबहिरिएका थिए।
यादवले आफ्नो राजनीतिक प्रतिवेदनमा ती ७ दलको गतिविधि प्रति कडा आलोचना गर्दै भनेका थिए कि, आफू मुख्यमन्त्री बनेको समयदेखि नै उनीहरूले गरेका क्रियाकलापहरू “असंविधानिक, अराजक र अशोभनीय” छन्।
उनी आजै आफ्नाे राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाउने जानकारी दिएका छन्।
विवेकशील–साझा र रास्वपाबीच एकता, मङ्सिर १४ मा घोषणासभा
काठमाडौं । विवेकशील–साझा पार्टीसँग एकीकरण गर्ने प्रस्ताव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिले स्वीकृत गर्दै आगामी मङ्सिर १४ गते राष्ट्रिय सभागृहमा ‘एकता घोषणासभा’ आयोजना गर्ने निर्णय गरेको छ।
रास्वपाको शुक्रबार साँझ बसेको विशेष भर्चुअल बैठकले विवेकशील–साझा पार्टीसँग आइतबार राष्ट्रिय सभागृहमा ‘एकता घोषणासभा’ आयोजना गर्ने निर्णय गरेको हो।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार बैठकले असल शासन र समृद्धिसँग सम्बद्ध, सुसंस्कृत तथा परिवर्तनकामी सबै राजनीतिक शक्तिसँग मुद्दागत र सांगठनिक सहकार्यका पृथक विधि अवलम्बन गर्दै संवाद प्रक्रियालाई अझ सुदृढ बनाउने निर्णय छ। यसैअनुरूप केन्द्रीय समितिले राष्ट्रिय स्वतन्त्र पार्टीको ‘उच्च संवाद समिति’लाई दिएको निर्देशनका आधारमा पार्टी सचिवालयले गठन गरेको संयन्त्र ‘सङ्घीय नेतृत्व मञ्च’ लाई पनि अनुमोदन गरिएको उनले जानकारी दिए।
०८२ को मंसिर भित्रै महाधिवेशन गरौं भन्ने डा. शेखर कोइराला मात्रै हुन् : उपसभापति गुरुङ
विराटनगर । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीभित्र हाल उठिरहेको महाधिवेशनसम्बन्धी बहसबारे टिप्पणी गर्दै २०८२ मंसिरभित्रै महाधिवेशन हुनुपर्छ भन्ने स्पष्ट माग डा. शेखर कोइरालाले मात्र गरेको दाबी गरेका छन् ।
नेपाल वित्तीय संस्था कर्मचारी संघ, कृषि विकास बैंक केन्द्रीय समितिको आठौं परिषद् सभालाई विराटनगरमा सम्बोधन गर्दै उनले भदौ २२ गतेअघिसम्म केन्द्रीय समितिमा कसैले महाधिवेशन समयमै गर्नुपर्ने कुरा नउठाएको र पदावधि बढ्ला कि भन्ने आशामा सबै मौन बसेको बताए ।
जेनजी आन्दोलनपछि पार्टीभित्र अचानक बहस बढेको उल्लेख गर्दै उनले महाधिवेशन समयमै गर्ने कुरा अघि उठेको भए त्यो जायज मानिन सक्ने धारणा राखे । गुरुङले सिंहदरबारसहित संरचना जलाउने तत्त्वलाई जेनजी आन्दोलनसँग जोड्नु गलत भएको उल्लेख गर्दै देशमा अस्थिरता सिर्जना गर्ने समूह सक्रिय रहेको दाबी गरे । उनले २०६२ सालअघि ग्रामीण जीवनका कठिनाइ स्मरण गर्दै पछिल्ला वर्षमा सडक, टेलिफोन र पूर्वाधार विकास भए पनि नकारात्मकता मात्र फैलाउनेहरू सक्रिय रहेको बताए ।
वर्तमान निर्वाचन प्रणालीले देशलाई निकास नदिने भन्दै उनले संविधान संशोधन नगरी निर्वाचनमा जान नहुने तर्क प्रस्तुत गरे । जेनजी आन्दोलनपछि प्रहरीको मनोबल कमजोर भएको र यस्तो अवस्थामा निर्वाचन सम्भावना न्यून रहेको उल्लेख गर्दै उनले सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिए ।
यसैबीच, कांग्रेस–सम्बद्ध एनटियुसीले कात्तिक २१–२२ को बैठकपछि १६ बुँदे धारणा सार्वजनिक गरेको र विराटनगरमा राष्ट्रिय भेला आयोजना गरेर ट्रेड युनियन अधिकार खोस्ने प्रयास भए एनटियुसी अग्रसर हुने चेतावनी महासचिव अजयकुमार राईले दिएका छन् । उनले विदेशमा रहेका श्रमिकले आफ्नो कार्यस्थलबाटै आगामी निर्वाचनमा मताधिकार पाउनुपर्ने मागसमेत राखे ।
गाउँमै उद्यम गर्ने एक दम्पतीको उदाहरणीय प्रयास
रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–४ प्रीतिका एक दम्पती आफ्नो सीप र श्रमबाट गाउँमा नै उद्यम सिर्जना गर्न निरन्तर लागेका छन् । प्रीतिका गुञ्जनबहादुर सार्की र उनकी पत्नी मिना सार्कीले आफ्नो पुर्खाले गर्दै आएको परम्परागत जुत्ता बनाउने पेसालाई आधुनिकीकरण गर्दै गाउँमा जुत्ता–चप्पल र ब्याग उद्योग सञ्चालन गर्दै आएका छन् ।
गाउँमा नै बसेर केही गरौँला भनेर लागेको यो जोडीले काठमाडौंका उद्योगबाट आउने भन्दा पनि गुणस्तरीय र राम्रो फिनिसिङ सहितको सामान उत्पादन गरिरहेको छ । उद्योग पनि विस्तार भएको छ ।
अहिले १० वटा मेसिन छन् । उत्पादित सामानको बजार भने समस्या छ । सामान बजारमा जाने हो भने ठुलै परिमाणमा उत्पादन गर्न सक्ने अवस्थामा आफूहरू पुगेको मिना बताउँछिन् । ‘सामान उत्पादन गर्न सकिन्छ, तर बजार खोज्न सकिएन, हामीलाई बजारकै समस्या भयो’, उनले भनिन् ।
अहिले उत्पादित जुत्ता र ब्याग स्थानीय स्तरमा मात्रै बिक्री हुने गरेको उनले बताइन् । सो कारखानामा छालाका पार्टी तथा स्कूल जुत्ताहरू, स्पोर्ट सुज, विभिन्न डिजाइनका लेडिज जुत्ता, चप्पलका साथै ब्याग समेत उत्पादन हुने गर्दछ । २०७५ सालदेखि कारखानाबाट नियमित रूपमा जुत्ता, चप्पल र ब्याग उत्पादन हुँदै आएको छ ।
अहिले कारखानामा परिवारका सदस्यहरूले नै काम गर्दै आएका छन् । गुञ्जसँगै पत्नी मिना पनि डिजाइन र सिलाइको सबै काम गर्छिन् । छोराछोरीले पनि भ्याएको बेलामा काममा सहयोग गर्दै आएका छन् ।
पर्याप्त बजार हुने हो भने ठूलो स्केलमा उत्पादन पनि गर्न सकिने र अन्यलाई पनि रोजगारी दिन सकिने मिना बताउँछिन् । ‘हामीले बजार नै व्यवस्थापन गर्न सकेनौँ, त्यस कामको लागि सहयोग चाहिएको छ, कम्तीमा रामेछापको सदरमुकाम मन्थली र दोलखाको चरिकोटकाका व्यापारीले मात्रै हाम्रो सामान लिइदिने हो भने भनि हामीलाई ठुलो सहयोग हुन्थ्यो, हामी काठमाडौंको भन्दा अझ कम मूल्यमा त्यहाँको भन्दा गुणस्तरीय सामान दिन सक्छौँ’, उनले भनिन् ।
एउटा परिवारको मात्र उद्योग बनेको कारखानाको उत्पादनलाई बजारीकरणमा सरोकारवालाले सहयोग र सहजीकरण गरिदिने हो भने उद्योग प्रवर्धनमा सहयोग भई बाहिर जाने पैसा गाउँमा पुग्ने र रोजगारी प्रवर्धनमा पनि सहयोग पुग्ने देखिन्छ ।