विश्वविद्यालयलाई दलहरुले आफ्नो ताण्डव प्रस्तुत गर्ने ठाँउ बनाएकाछन् : सांसद श्रेष्ठ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विश्वविद्यालयलाई दलहरुले आफ्नो ताण्डव प्रस्तुत गर्ने ठाँउ बनाईरहेको बताएकी छन् ।
बुधबार प्रतिनिधिसभाको बैठक पश्चात उनले विश्वविद्यालयलाई दलहरुले आफ्नो स्वार्थको लागि प्रयोग गरेको भन्दै यसलाई तत्काल रोक्नु पर्ने बताईन् ।
दलहरुले आफू सभापति, महामन्त्री बन्न विद्यार्थीहरुलाई सिडिको रुपमा प्रयोग मात्र गरिरहेको भन्दै यस्तो तरिकाले विश्वविद्यालय र विद्यालय क्षेत्र कहिले पनि अगाडि बढ्न नसक्ने पनि उनको भनाई छ ।
उनले भनिन्, ‘विश्वविद्यालयलाई दलहरुले आफ्नो ताण्डव प्रस्तुत गर्ने ठाँउ बनाईरहेका छन् । यसलाई तत्काल रोक्नु पर्छ । यसलाई रोक्नलाई जुन तरिकाले सदन सहज तरिकाले केही पनि नभएको जस्तो गरेर चलिरहेको छ । स्ववियूको निर्वाचनमा के भईरहेको हो, एकदमै झगडाको माहोल बनेको छ । धेरै जनालाई यो विद्यार्थीहरुले गरेको जस्तो लाग्छ तर मलाई लाग्छ यो दलहरुले आफू सभापति, महामन्त्री बन्न विद्यार्थीहरुलाई आफ्नो सिडिको रुपमा प्रयोग मात्र गरिरहेका छन् । यस्तो पाराले विश्वविद्यालय र विद्यालय क्षेत्र कहिले पनि अगाडि बढ्न सक्दैँन् ।’
यसको साथै, उनले सदनमा घृणाको राजनीति नगरौं भनेर भन्ने दलहरुले नै विद्यार्थीहरुलाई एकअर्कालाई कुट भनेर आदेश दिने गरेको भन्दै योभन्दा बढि घृणाको काम अरु केही हुन नसक्ने बताईन् ।
उनले भनिन्, ‘यही सदनमा छन् धेरै जना कमान्डरहरु, सदनमा राम्रो कुरा गर्छन् घृणाको राजनीति नगरौं भनेर तर बाहिर विद्यार्थीहरुलाई एकअर्कालाई कुट भनेर भन्ने योभन्दा बढि घृणाको काम अरु के हुन सक्छ । तर यस्तो काम दलहरुले गर्न लगाइ रहेको छ ।’
भारतले नेपाललाई हिन्दुराष्ट्र भएको देख्न चाहन्छ : कालीदास बाबा
काठमाडौं । भारतका प्रसिद्ध धर्मगुरु कालीदास बाबा (स्वामी १००८ कृष्णानन्द जी महाराज)ले भारतले नेपाल हिन्दुराष्ट्र भएको देख्न चाहेको बताएका छन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदी सँधै हिन्दुराष्ट्रका पक्षमा रहेको पनि औंल्याए ।
‘एक अभिभावकका रुपमा राजसंस्था चाहिन्छ । नेपालका नेताहरुले पनि वाध्य भएर गणतन्त्र रोज्नुभएको हो । उहाँहरुले म सँगको कुराकानीमा वाध्यताले राजसंस्था हटाउनुपरेको बताइरहनु भएको छ । हामीले पहिल्यैदेखि देवी देउता, देउराली, ढुंगा, आकाश–पाताल, पृथ्वी, कुल मान्दै आएका हौं । त्यसैले राजसंस्थाको अलग्गै महत्व छ,’ उनले भने,‘राजसंस्था र हिन्दुराष्ट्र परिपूरक पनि हुन् ।’
हालै काठमाडौंमा भएको राजावादीहरुको प्रदर्शनमा योगी आदित्यनाथको तस्विर सार्वजनिक भएको विषयमा बोल्दै उनले भने,‘ गोरक्षपीठाधीश्वर योगी आदित्यनाथ राजा ज्ञानेन्द्रलाई श्री ५ वडामहाराजधिराज भनेर सम्बोधन गर्नुहुन्छ । राजसंस्था कायम होस भन्ने चाहनुहुन्छ ।’
राजावादीको विरोधमा देशका उच्च पदको जिम्मेवारीमा बसेको नेताहरुले अपशब्द प्रयोग गरेर गाली गरेको भन्दै उनले आपत्ति पनि जनाए ।
उनले देश नै उत्तेजित भएको अवस्थामा उच्च पदको जिम्मेवारीमा बसेको नेताहरुले अपशब्द प्रयोग गरेर गाली गरेर जलेको आगोमा पेट्रोल छर्ने काम गरेको बताए ।
उनले भने,‘देशमा ठूलो जिम्मेवारी र पदमा बसेकाहरुले अपशब्द गाली पनि गरिएका छन् । यसरी आज देश नै उत्तेजित भएको अवस्थामा जलेको आगोलाई पानी आलेर निभाउनुपर्नेमा आगोमा पेट्रोल हालेको अवस्था छ ।’
विदेशमा गएर पसिना बगाएका युवाहरुले पठाएको रेमिटेन्सबाट नेताहरुले आफ्नो स्वार्थसिद्धि गरेको उनले आरोप लगाए । उनले जलस्रोत, खनिज पदार्थ, जडिबुटीको धनी र स्वाभिमान नेपालीहरुका नेपाल आज धरधरी रोइराखेको बताए ।
उनले भने,‘हाम्रा युवायुवती विदेशमा गएर कष्ट गरेर एकएक पैसा कमाएर शरीरको रगत, पानी, पसिना बनाएर ल्याएको पैसा ट्याक्सका रुपमा लिएर नेताहरुले आफ्नो स्वार्थसिद्धि गरेका छन् । अब आउने भविष्य निकटमा जलश्रोत ,खनिज पदार्थ, जडिबुटीको धनी र स्वाभिमानी नेपालीहरु धर्तीमा आज धरधरी रोइराखेका छन् ।’
त्यस्तै उनले विगत केही समयदेखि नेपालमा हर तरहका संकटहरु आइराखेको बताए । मुलुक रहने हो या डुब्ने हो भन्ने अवस्थामा आज नेपाल पुगेको उनको भनाई छ ।
नेकपा एसद्वारा सरकारविरुद्ध आन्दोलनको घोषणा, राज्य नालायक बनेको आरोप
काठमाडौं । नेकपा एकीकृत समाजवादीले रोजगारी तथा सुशासनको लागि सरकारविरुद्धको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर पार्टीका महासचिव घनश्याम भुसालले आन्दोलनको कार्यतालिकासहित कार्यक्रम घोषणा गरेका हुन् ।
कार्यक्रम सार्वजनिक गर्दै उनले सत्ता केन्द्रित नाजायज गठबन्धनको राजनीतिले मुलुकको आर्थिक समस्या समाधान गर्न नसक्ने बताए । सत्ताधारीहरू नालायक र अनुत्तरदायी हुँदै गएको कारण सडक अराजक र पपुलिष्ट हुँदै गएको पनि उनको आरोप छ ।
उनले भने,‘सत्ता केन्द्रीत नाजायज गठबन्धनकोे राजनीतिले मुलुकको समस्या समाधान गर्न सक्दैन् । राज्य नालायक बन्दै जान्छ, राज्यको नालायकीले सामाजिक असन्तुष्टिलाई बढाउँछ, नालायक राज्यले शक्ति प्रयोग गर्न थाल्छ र अस्थिरताका शक्तिहरू, पुराना साम्प्रदायिक र पपुलिष्ट तत्त्वहरूले त्यस असन्तुष्टिलाई उत्तेजक बनाउँदै लै जान्छन् । आज मुलुकमा त्यही भइरहेको छ । सत्ताधारीहरू नालायक र अनुत्तरदायी हुँदै छन् । सडक अराजक र पपुलिष्ट हुँदै गएको छ ।’
उनले यस्तो अवस्थामा देशका जिम्मेवार राजनीतिक पार्टी र नागरिक समुदायले गम्भीर आत्मसमीक्षा गर्दै एउटा नयाँ पहलकदमीद्वारा हस्तक्षेप गर्नु आवश्यक भइसकेको बताए ।
आन्दोलनको पहिलो चरणमा चैत्र १ गते पत्रकार सम्मेलन, चैत्र २–६ सम्म मातहत कमिटीहरुमा छलफल,चैत्र ७–१५ सम्म केन्द्रीय तहमा विभिन्न क्षेत्रका संघ–सङ्गठन तथा व्यक्तिहरुसँग सम्वाद तथा सुझाव संकलन,चैत्र २० गते सरकारलाई ज्ञापनपत्र बुझाउने,चैत्र मसान्तसम्म प्रदेश र जिल्ला तहमा सार्वजनिक संवाद तथा सुझाव सङ्कलन,वैशाख ५ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश गर्ने,वैशाख १५ गतेसम्म पालिका र वडा तहमा सार्वजनिक संवाद तथा सुझाव संकलन,वैशाख १९ देखि २२ सम्म पालिका र वडा कार्यालयहरुमा ज्ञापन पत्र पेश गर्ने रहेको छ ।
साथै वैशाख २५ गते दोश्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने उनले जानकारी दिए ।
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन् : गृहमन्त्री
डोटी । गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् ।
भूकम्पीय पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना कार्यान्वयन एकाइ कार्यालयको उदघाटन गर्न अछाम जाने क्रममा नेपाल प्रेस युनियन डोटीले आज(शनिवार) आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले यस्तो दाबी गरेका हुन् ।
उनले भने, ‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, लोकतन्त्रको विकल्प कुनै निरङ्कुशता हुन सक्दैन ।’ लोकतन्त्र जस्तो असल व्यवस्था अन्य कुनै हुन नसक्ने गृहमन्त्री लेखकले बताए ।
उनले थपे, ‘आन्दोलनबाट क्रान्तिबाट राजा फालिसकेपछि त्यसै देशमा राजा बसेको उदाहरण संसारमा कमै छन् । नागरिकका सबै अधिकार उपभोग गर्ने, राज्यले सुरक्षा प्रदान गर्ने र लोकतन्त्रका सबै अधिकार उपभोग गरेर बस्ने उदाहरण कम देखिन्छन् तर हाम्रो लोकतन्त्र यति सुन्दर, यति उन्नत, यति संयमित र आदर्श लोकतन्त्र हामी कहाँ छ ।’
लोकतन्त्रका विरुद्धमा अहिले भइरहेका गतिविधि गर्न लोकतन्त्रले नै छुट दिएको उनले बताए । समाज विकासको विज्ञानले समाज पछि फर्कँदैन भनेकाले पनि राजतन्त्रको कुनै सम्भावना नरहेको उनको दाबी छ । उनले पूर्व राजालाई शासन गर्न मन भएर चुनावमा होमिएर खुला राजनीति गर्न चुनौती समेत दिए ।
अर्को प्रसङ्गमा गृहमन्त्री लेखकले संविधान संशोधनको विषयमा गृहकार्य भइरहेको बताए । सरकार गठन पूर्व नेपाली काँग्रेस नेकपा एमाले बिच भएको समझदारी अनुसार संविधान संशोधनका लागि कार्यदल बनाउने सहमति भई गृहकार्य अघि बढेको र सबैको सहमतिमा संविधान संशोधन हुने गृहमन्त्री लेखकले बताए ।
पूर्व राजालाई पाटी खोल्न प्रचण्डको सुझाव
रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्व राजालाई राजनिति गर्न मन लागेको भए पाटी खोल्न सुझाव दिएका छन ।
जनताको उदारतालाई कमजोरी सम्झेर पूर्व राजा ज्ञानेन्द्र शाहले राजनिति गर्न खोजेको भए पाटी खोलेर चुनाव लडन आए हुने उनको तर्क छ ।
नेकपा माओवादी केन्द्रले सुरु गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियान अन्तर्गत रौतहटमा आइपुगेका अध्यक्ष प्रचण्डले पाटी खोल्न र चुनाव लडने अधिकार संविधानले दिएकोले चुनाव जितेर आउन सकिने बताए ।
यदपि जवरर्जस्ती गर्न खोजीयो भने जनतालाइ सैह्य नहुने उनले धारण राखे । यस अघि पनि ज्ञानेन्द्रले मुर्खता गरेको उल्लेख गर्दै उनले अब फेरि अर्को मुर्खता गरेर गल्ती नगर्न उनले चेतावनी दिए ।
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले सरकार उल्टो उल्टो गर्दै हिड्को टिप्पणी गरेका छन । देशको लागि राम्रो नभएको उनको भनाइ छ । एक फरक प्रसङमा अध्यक्ष प्रचण्डले गरुडामा रहेको श्री राम सुगर मिल संचालनमा ल्याउनु पर्ने र यसका लागि आफू र आफ्न्नो पाटी तयार रहेको बताए ।
प्रचण्ड सहितका माओवादी नेताले गरुडा नगरपालिकामा शनिबार मर्निङवाकसँगै आजको अभियान सुरु गरेका हन्।मर्निङवाकपछि प्रचण्डले क्याम्पस रोड मेथुरमा स्थानीयसँग छलफल तथा अन्तरक्रिया गरेका छन् । फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको अभियान झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही हुँदै शुक्रबार साँझ रौतहट प्रवेश गरेको हो ।
यो अभियानका टोली गएराति गरूडामा नै बास बसेको नेकपा माओवादी केन्द्र रौतहटले जनाएको छ ।
चुच्चे नक्सा नागको फोटो टाँसे सरह मात्र भयो : झलनाथ खनाल
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अहिले मुलुकमा अध्यादेशमार्फत कानुन ल्याउनुपर्ने कुनै आवश्यक्ता नभएको बताएका छन् ।
मंगलवार जनकपुरधाममा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता खनालले अध्यादेश ल्याउनुको कुनै तुक नरहेको भन्दै अध्यादेशलाई आफ्नो पार्टीले कुनैपनि हालतमा स्वीकार नगर्ने दावी गरे ।
उनले भने, ‘अध्यादेश ल्याउन के जरुरी छ, जवकि संविधान अन्तर्गतका कुनैपनि ऐनहरु सामान्यरुपमा बनाउन सकिन्छ । त्यसलाई कसैले अवरोध गरेको छैन । अवरोध नभएको वेलामा अध्यादेश ल्याउन आवश्यक छैन । हाम्रो पार्टी र संसदीय दलले यो अध्यादेशलाई समर्थन गरेको छैन् ।’
उनले अहिलेको पुँजीवादी व्यवस्थामा पार्टी फुट्नुलाई अस्वभाविक मान्न नहुने जिकिर गरेका छन् । उनले सरकारले कुनै पार्टीलाई लक्ष्य गरेर विभाजन सम्वन्धी विधेयक ल्याउछन् भने त्यो गलत रहेको आरोप पनि लगाए ।
सरकारको दल विभाजन सम्बन्धि विधेयकले आफनो पार्टी नफुटने दावी समेत गरेका छन् ।
खनालले बामपन्थी एकता आजको आवश्यकता रहेको बताउँदै एकता व्यक्ति प्रधानभन्दा नीतिप्रधान हुनुपर्नेमा जोड दिए । उनले नीति प्रधान भएको खण्डमा बामपन्थी एकता टिकाउ र बलियो हुने धारणा व्यक्त गरे ।
उनले सरकारले संसदबाट पारित गरेको चुच्चे नक्साको फोटो आफ्नो घरमा नागपंचमीको दिन नागको फोटो टाँसेसरह भएको टिप्पणी गर्दै त्यसको कार्यान्वयनमा सरकार असफल भएको दावी गरे ।
ठूला योजना मात्र होइन वडामै तालिमका नाममा भ्रष्टाचार भइरहेको छ : डा.कार्की
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा.तोसिमा कार्कीले अन्तर्राष्ट्रिय महिला दिवस, दिवसमा मात्र सिमित हुन नहुने बताएकी छन् । मंगलवार ललितपुरमा आयोजित स्तन क्यान्सर तथा आर्थिक तथा व्यवसायिक छलफल कार्यक्रममा उनले आफ्नो निर्वाचन क्षेत्रमा महिलासँग सम्बन्धित विषयहरु कानूनी साक्षरता, स्तन क्यान्सरको विषयमा जनचेतनामुलक कार्यक्रम साथै वडामार्फत महिलाहरुको लागि विभिन्न तालिमका विषयमा छलफल गरेकी छन् ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला सप्ताह कार्यक्रमको पहिलो दिन उनले महिला दिवस दिवसमा नै सिमित नभई ३६५ दिनै महिला शक्तिकरणका अभियानहरु चलाउनुपर्ने बताइन् ।
उनले भनिन्, ‘अन्तर्राष्ट्रिय महिला दिवस भनेर दिवसमा मात्र सिमित हुनुहुँदैन । ३६५ दिनै महिला शक्तिकरणका अभियानहरु चलाउनुपर्छ । भ्रष्टाचार भनेर ठुला ठुला काण्डहरुमा मात्र सिमित हुने होइन वडामा पनि तालिमहरुको लागि आएको बजेटमा पनि भ्रष्टाचार भइरहेको हुन्छ । त्यहाँ नीतिगत भ्रष्टाचार भइरहेको हुन्छ । कहिलेकाही एउटा महिलाले १० वटा तालिम लिएपनि व्यवसायसँग जोड्न सकिरहेको हँुदैन । कुनैले व्यवसाय गर्न खोजेको हुन्छ तालिम पाएको हँुदैन ।’
उनले महिलाहरुलाई स्वजागरण गराउने, आफ्नो लागि आएको बजेट कहाँ उपयोग भइरहेको छ त्यसको खोजी गर्न नसकिरहेको बताएकी छन् । डा.कार्कीले राज्यका निकायहरुले कार्यक्रम ल्याएपनि त्यो कार्यक्रम नागरिकहरुलाई थाहा नै नभएको पनि गुनासो गरिन् ।
महिलाको अर्थपूर्ण सहभागिता आजको अपरिहार्यता भन्ने नारासहित स्तन क्यान्सर तथा आर्थिक तथा व्यवसायीक छलफल कार्यक्रम भएको हो । ‘स्तन क्यान्सर रोकथामका लागि जागरूक बनौं, समयमै परीक्षण गरौं !’ भन्ने नारासहित कार्यक्रम भएको हो ।
सरकार जति टिक्छ, उति माओवादीलाई फाइदा हुन्छ : प्रचण्ड
नेपालगञ्ज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार जति टिक्छ, त्यति नै आफ्नो पार्टीलाई फाइदा पुग्ने बताएका छन् ।
कैलालीको टिकापुरमा हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न जाने क्रममा आज विहान नेपालगञ्ज विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले अहिलेको सरकार जति टिक्छ, त्यति नै आफ्नो पार्टीलाई फाइदा पुग्ने भएकाले आफूहरु सरकार बदल्ने कुनै खेलमा नरहेको स्पष्ट पारे ।
उनले भने,‘अहिलेको सरकार अपारदर्शी, असंवैधानिक र अलोकतान्त्रिक तरिकाले बनेको हो भन्ने हामीले सुरुदेखि नै भन्दै आएको हौं । सरकारले अहिलेसम्म जे जस्ता क्रियाकलाप गर्दै आएको छ, उसको उद्देश्य जनताले एकपछि अर्को गरी बुझ्दै गएका छन्, त्यसैले यो सरकार जटि टिक्छ, माओवादी केन्द्रलाई फाइदा हुन्छ । हामी जनताको बीचमा गइसकेका छौं, हामीलाई जनतातिरै ठिक छ ।’
उनले तथाकथित दुई तिहाईको राग अलाप्ने सरकारले अध्यादेश ल्याउनु अलोकतान्त्रिक अभ्यास भएको टिप्पणी गर्दै अध्यादेश पास हुने अवस्था नरहेको बताए । ‘केही अध्यादेश त पास नहुने दिशातिर गइ नै सके, बाँकी पनि पास हुन्छन् जस्तो लाग्दैन, भए पनि यसबाट जनतालाई केही फाइदा हुँदैन’उनले. भने ।
पार्टीलाई समाजका सबै वर्ग समुदायसँग जोड्ने, जनताले भोगिरहेका समस्याको पहिचान गर्ने, स्थानीय कला संस्कृतिमार्फत सम्बन्धित समुदायको पहिचानलाई थप सुदृढ गर्दै राष्ट्रिय एकताको नयाँ आधार तय गर्ने काम अभियानले गर्ने उनले स्पष्ट गरे ।
अध्यक्ष प्रचण्डले अभियानका क्रममा आउने जनताका गुनासा, अपेक्षा र आवश्यकतालाई केन्द्रित गरेर पार्टीले पहल लिनसक्ने ठाउँमा कार्यक्रम बनाएर अघि बढाउने, सरकारले गर्नुपर्ने कामका लागि ध्यानार्षण गराउने र राष्ट्रियस्तरमै सम्बोधन गर्नुपर्ने विषयमा संसदमा आवाज उठाउने बताए ।
नवनियुक्त फुटबल प्रशिक्षकको दाबी : विदेशिएका खेलाडी फर्किनेछन्, साफ जित्नेछौं
काठमाडौं । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रसले नेपाल छाडेर विदेशिएका खेलाडीहरुलाई स्वदेश फर्किएर आफ्नो देशको प्रतिनिधत्व गर्ने ढोका खोल्ने बताएका छन् ।
प्रशिक्षकमा नियुक्त भएपछि सोमबार काठमाडौंमा आयोजित अन्तरक्रियामा उनले विदेश पलायन भएका खेलाडीहरूलाई आफ्नो देशलाई प्रतिनिधित्व गर्नको लागि ढोका खोल्ने बताए ।
उनले भने, ‘खेलाडीहरु जो नेपाल छोडेर बाहिर गएका छन् । उनीहरुको आफ्नो कारण वा बाध्यताले विदेशिएका छन् । उनीहरुका लागि ढोका खोल्न चाहन्छु । आफ्नो देशलाई प्रतिनिधित्व गर्नको बाटो खोल्ने प्रयासमा हुनेछु ।
यसका साथै, उनले खेलाडीहरुमा रहेको जोशलाई एकै ठाँउमा ल्याएर मैदानमा उतार्ने भन्दै यसपालीको साफ च्याम्पियनसिप जित्ने प्रयासमा लाग्ने बताए ।
उनले भने, ‘मेरो काम भनेको खेलाडीहरुमा रहेको जोशलाई एकै ठाँउमा ल्याएर मैदानमा उतार्नु हो । यसपालीको साफ च्याम्पियनसिप जित्न चाहन्छु । म टिमलाई एसियन कपको नजिकभन्दा नजिक लगेर एसियन कपमा छनोट हुने प्रयासमा लाग्ने छु । चुनौतीपूर्ण नै भएपनि कोच भएपछि चुनौतीहरु मनपर्ने नै हुन्छ ।’
नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको रुपमा नियुक्त हुन पाउँदा एकदमै खुसी लागेको भन्दै नेपाल एकदमै विशेष देश भएको उनको भनाई छ ।
उनले भने, ‘नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको रुपमा नियुक्त हुन पाउनु एकदमै सम्मानको कुरा हो । या एकदमै विशेष देशमा विशेष भूमिका हो । नेपाल एउटा एकदमै राम्रो देश हो यहाँको मानिस यहाँको खाना, सम्मान सबै एकदमै राम्रो छ तपाईहरु सबै नेपालमा नै भएको हुनाले सायद तपाईहरुसँग के छ भन्ने कुरा थाहा नभएको होला तर मैले धेरै देशहरुमा काम गरेको हुनाले नेपालमा भएको जोश अविष्मरणीय छ ।’
अखिल नेपाल फुटबल संघ (एन्फा) ले म्याट रसलाई एक वर्षका लागि प्रशिक्षक नियुक्त गरेको हो । एन्फाका तर्फबाट महासचिव किरण राईले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । एसियन कप छनोट सुरु हुनु खेल झन्डै तीन साताको समय बाँकी रहँदा एन्फाले मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
एमालेको जनसंगठनमा अब स्थायी कमिटीको अन्त्य
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेले जनसंगठनलाई व्यवस्थित गर्न कमिटीको आकार सानो बनाउने बताएका छन् । आइतवार बसेको एमाले सचिवालय बैठक सम्पन्न भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जनसंगठनमा केन्द्रीय कमिटी र सचिवालय मात्र रहने गरी नियमावलीको संशोधन गर्ने प्रस्ताव स्वीकृत भएको बताएका हुन् ।
उनले भने, ‘जनसंगठनमा केन्द्रीय कमिटी, सचिवालय,र स्थायी कमिटीको व्यवस्था थियो । अब स्थायी कमिटीको अन्त्य गरी केन्द्रीय समिति र सचिवालय मात्र राख्ने र कमिटीको आकार घटाउने साथै पदाधिकारीको सङ्ख्या कम गर्ने प्रस्ताव आजको बैठकले स्वीकृत गरेको छ ।’
यसको साथै, उनले विदेश भ्रमणको सन्दर्भमा विदेश भ्रमण जानु पूर्व पार्टीसँग अनुमति लिनुपर्ने र आइसकेपछि व्यवस्थित तरिकाले रिपोर्ट राख्नुपर्ने निर्णय भएको पनि बताए ।
बैठकमा ताप्लेजुङमा रहेको प्रसिद्ध पाथीभराको केवलकार विवादको सन्दर्भमा स्थानीय जनप्रतिनिधिहरू, स्थानीय प्रशासन र सरोकारवालाहरूसँग छलफलगरी केवलकार निमार्णको प्रक्रियालाई अगाडि बढाउन चासो राखेको पनि बताए ।

