सुनको मूल्य बढ्दा चाँदी घट्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेर्कड ब्रेक बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेको छ ।
आज सुनको मूल्य एकैचोटी ४ सय रुपैयाँले बढेको छ । मंगलबार छापावाला सुन प्रतितोला २ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ८५ रुपैयाँले घटेर ३२ सय ४० रुपैयाँ कारोवार भैइरहेको छ । महासंघका अनुसार मंगलबार चाँदी तोलामा ३३ सय २५ रुपैयाँमा कारोवार भएको थियो ।
क्यासिनोले इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न पाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले अबदेखि क्यासिनो तथा त्यस्तै प्रकृतिका अन्य संस्थाहरूलाई इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न सक्ने व्यवस्था लागू गरेको छ ।
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभाग, बालुवाटारले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ अनुसार बैंकबाट इजाजतपत्र प्राप्त नगरी विदेशी मुद्राको कारोबार गर्न नपाइने स्पष्ट पारेको छ । सूचनामा भनिएको छ, ‘क्यासिनो लगायतका संस्थाहरूले यस बैंकबाट इजाजतपत्र लिएर मात्र विदेशी विनिमय (भारतीय मुद्रासमेत) को कारोबार गर्नु गराउनुपर्नेछ ।’
राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को परिच्छेद–४ अनुसार क्यासिनोलाई इजाजतपत्र प्रदान गर्ने व्यवस्था गरेको छ । यसअन्तर्गत विदेशी विनिमय कारोबार गर्न इच्छुक संस्थाले बैंकमा आवश्यक कागजात र विवरण पेश गरी अनुमति लिनुपर्नेछ ।
बैंकले ऐनको दफा १२ अन्तर्गत दिएको अधिकार प्रयोग गरी यो सूचना सार्वजनिक गरेको हो । राष्ट्र बैंकले यसमार्फत अनधिकृत रूपमा विदेशी मुद्राको कारोबार रोक्ने र आर्थिक अनुशासन कायम राख्ने उद्देश्य लिएको जनाएको छ ।
सुन आयातको कोटा बढाइयो, दैनिक २५ किलोसम्म आयात गर्न पाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक सुन आयात कोटा २० किलोबाट बढाएर २५ किलो पु¥याएको छ । बजारमा सुनको माग बढेसँगै र दिपावली नजिकिँदै जाँदा आयात सीमामा वृद्धि गरिएको हो । हाल वाणिज्य बैंकहरूले आयात गरेको सुन व्यवसायीमार्फत गहनाको रूपमा बिक्री हुँदै आएको छ ।
सुनको मूल्य निरन्तर बढ्दै गएको छ । शुक्रबार प्रतितोला मूल्य २ लाख ३५ हजार पुगेको छ । लगानीकर्ताहरूका लागि सुन सुरक्षित विकल्प बन्दै गएपछि माग थप बढेको बताइन्छ ।
साथै, राष्ट्र बैंकले फिर्ता नहुने रेमिट्यान्स (विप्रेषण) सीमा पनि २० लाख रुपैयाँबाट बढाएर २५ लाख रुपैयाँ पु¥याएको छ । अब नेपाली वा विदेशी नागरिक, तथा नेपालमा दर्ता भएका फर्म वा कम्पनीहरूले विभिन्न प्रयोजनका लागि दैनिक २५ लाखसम्म रकम विप्रेषण कम्पनीमार्फत ल्याउन सक्नेछन् ।
यस्तो रकम संकलन र भुक्तानी गर्दा ग्राहक पहिचानका कागजात लिनु पर्ने र प्रत्येक महिनाको अन्त्यमा सम्बन्धित विभागहरूमा विवरण बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।
मन्त्रिपरिषद् बैठक : भूमि आयोग खारेज, इलाम संकटग्रस्त जिल्ला घोषणा
काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग र सवै जिल्ला समितिहरु खारेज गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको भूमि आयोग र सवै जिल्ला समितिहरु खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिए ।
उनले भने,‘भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको भूमि आयोग र सवै जिल्ला समितिहरु खारेज गर्ने निर्णय भएको छ ।’ त्यस्तै उनको अनुसार इलाम जिल्लालाई तीन महिनाका लागि बिपद् संकटग्रस्त जिल्ला घोषणा गर्ने पनि सरकारले निर्णय गरेको छ ।
‘बैठकले इलाम जिल्लालाई तीन महिनाका लागि बिपद् संकटग्रस्त जिल्ला घोषणा गर्ने निर्णय पनि गरेको छ ।’उनले भने त्यसैगरी बैठकले डीआईजीहरू सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिए । सरकारले जलविद्युत् आयोजना निर्माणका लागि स्रोत व्यवस्थापन गर्न २० अर्ब रुपैयाँ बराबरको ऊर्जा बन्ड चरणबद्ध रूपमा निष्कासन गर्न स्वीकृति प्रदान पनि गरेको छ ।
नेप्सेमा सकारात्मक सर्किट लागेसँगै २० मिनेटका लागि बजार बन्द
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सकारात्मक सकारात्मक सर्किट लागेसँगै शेयर बजार २० मिनेटका लागि बन्द भएको छ । अब बजार ११ बजेर २३ मिनेटमा फेरी खुल्नेछ ।
कारोबार सुरु भएको २ मिनेटमै बजार ४ प्रतिशतले बढेसँगै बजारमा सकारात्मक सर्किट लागेको हो ।नेप्सेृ परिसूचक ४ प्रतिशत अर्थात १०२.४१ अंकले बढेर २ हजार ६६२ विन्दुमा हल्ट भएको हो । उक्त अवधिमा २ अर्ब ७५ करोड बढीको शेयर कारोबार भइसकेको छ ।
नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण
काठमाडौं । विश्व बैंकले सार्वजनिक गरेको ताजा प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८२÷८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ । ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ नामक प्रतिवेदनमा विश्व बैंकले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको अशान्ति र त्यसपछि बढेको राजनीतिक तथा आर्थिक अनिश्चितताका कारण नेपालको वृद्धिदरमा व्यापक गिरावट आउने अनुमान गरेको हो ।
गत आर्थिक वर्ष २०८१÷८२ मा नेपालको आर्थिक वृद्धि दर ४.६१ प्रतिशत रहेकोमा यस वर्ष त्यसको आधा भन्दा कम रहने देखिएको छ । प्रतिवेदनले नेपालको सम्भावित आर्थिक वृद्धि दायरा १.५ देखि २.६ प्रतिशतसम्म सीमित रहने उल्लेख गरेको छ । विश्व बैंकका अनुसार हालको अस्थिर राजनीतिक वातावरण, लगानीकर्ताको घट्दो विश्वास, पर्यटन क्षेत्रमा आएको गिरावट र बीमा उद्योगमा देखिएको दबाबले समग्र अर्थतन्त्रमा नकारात्मक असर पार्नेछ ।
जेनजी आन्दोलनका क्रममा भएको अशान्तिका कारण अन्तर्राष्ट्रिय पर्यटक आगमनमा तीव्र गिरावट आउने र निजी तथा सावर्जनिक सम्पत्तिमा भएको क्षतिले बीमा तथा वित्तीय क्षेत्रमा थप दबाब सिर्जना गर्ने प्रतिवेदनमा उल्लेख छ ।
गत वर्ष नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) करिब ६१ खर्ब ७ अर्ब रुपैयाँ रहेको अनुमान गरिएको थियो । सो वर्ष मुद्रास्फीति दर ४.०६ प्रतिशतमा सीमित रहेको र वैदेशिक मुद्रा भण्डार २.६७७ खर्ब रुपैयाँ पुगेको विश्व बैंकले जनाएको छ । त्यस्तै, वैदेशिक रोजगारीबाट आउने प्रेषण रकममा १९.२ प्रतिशतले वृद्धि भई १.७२३ खर्ब रुपैयाँ पुगेको थियो । कृषि क्षेत्रको वृद्धि दर ३.२८ प्रतिशत र उद्योग तथा सेवा क्षेत्रले उल्लेखनीय योगदान दिएका थिए ।
तर यस वर्ष राजनीतिक अनिश्चितता र लगानीको वातावरणमा देखिएको कमजोर अवस्थाका कारण आर्थिक वृद्धि सुस्त हुने देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । दक्षिण एसियाली क्षेत्रमा यस वर्ष औसत आर्थिक वृद्धि दर ६.६ प्रतिशत हुने अनुमान भए पनि नेपालमा राजनीतिक अस्थिरताका कारण वृद्धि दर घट्ने विश्व बैंकको निष्कर्ष छ ।
समग्रमा, विश्व बैंकले नेपालले निकट भविष्यमा आर्थिक पुनरुत्थानका लागि राजनीतिक स्थायित्व, लगानीमैत्री नीति र पर्यावरणीय सन्तुलनका उपायहरूमा ध्यान केन्द्रित गर्नुपर्ने सुझाव दिएको छ ।
४५ अंक घट्यो नेप्से, कारोबार रकममा भने वृद्धि
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४५.३६ अंकले घट्दै २५५९.५९ विन्दुमा पुगेको छ । आज सेन्सेटिभ इण्डेक्स ८.१५ अंक, फ्लोट इण्डेक्स ३.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०४ अंकले घटेका छन् ।
अघिल्लो कारोबार दिन मंगलवार ५८.५५ अंकले घटेको बजार २६०४.९६ विन्दुमा बन्द भएको थियो । यसदिन नेप्से घटेपनि कारोबार रकम भने बढेर ५ अर्ब ७६ करोड रुपैयाँ नाघेको छ । अघिल्लो दिन भने ४ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको थियो ।
मूल्य वृद्धिमा सांग्रिला डेभलपमेन्ट बैंकको डिबेञ्चर २०८७ (७.०९ प्रतिशत), एनआईएमबी डिबेञ्चर २०९० (६ प्रतिशत) र आत्मनिर्भर लघुवित्त (६ प्रतिशत) ले अगाडि छन् । त्यसैगरी, प्रभु इन्स्योरेन्सको शेयरमूल्य ६.१२ प्रतिशतले घट्दै सर्वाधिक गिरावटमा परेको छ ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो । यस कम्पनीको कुल कारोबार २६ करोड १६ लाख रुपैयाँ भएको छ । त्यसपछि यूनियन हाइड्रोपावर र सिनर्जी पावर डेभलपमेन्ट क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । १३ वटै उपसमूह घटेका छन्, जसमा वित्त (३.०९ प्रतिशत) र होटल–पर्यटन (३ प्रतिशत) उपसमूह सबैभन्दा बढी घटेका छन् ।
कोशी प्रदेश सरकारले सबै बाढीपीडितका घर पुनर्निर्माण गर्ने निर्णय
विराटनगर । कोशी प्रदेश सरकारले केही दिनअघि गएको बाढी पहिरोले भत्किएका र बगाएका सबै घर पुनर्निर्माण गरिदिने भएको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधवार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सबै घर बनाइदिने निर्णय गरेको हो ।
सबैभन्दा बढी क्षति भएको इलाम, झापा र मोरङका घरहरू तत्कालै बनाउन सुरु गर्ने कोशी प्रदेश सरकारले जानकारी दिएको छ ।
घरहरूको सम्पूर्ण विवरण सङ्कलन पनि गर्दै जाने र निर्माण कार्य पनि अगाडि बढाउँदै जाने आजको परिषद् बैठकले निर्णय गरेको छ । त्यस्तै परिषद् बैठकले इलाम जिल्लाका सातवटा पालिकालाई सङ्कटग्रस्त घोषणा गर्नको लागि सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।
प्रदेश सरकारले राहत र पुनर्स्थापनाका लागि इलाम जिल्लामा समन्वय गर्न आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना, भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीलाई जिम्मा दिएको छ । सो टोलीले सम्पूर्ण क्षेत्रको स्थलगत निरीक्षण गर्दै पुनर्निर्माणलाई फिल्डमै खटेर तीव्रता दिने छ ।
त्यस्तै सुनसरी जिल्लाको हकमा वन पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डल र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले समन्वय गरी काम गर्ने जनाइएको छ । झापा जिल्लाका लागि खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीलाई आवश्यक पुनर्निर्माण र सबै खालको समन्वय गर्ने जिम्मेवारी तोकिएको छ ।
आजको परिषद् बैठकले चालु बजेटका खर्च र योजनाहरू हेरेर कटौती गरी पुनर्निर्माणमा खर्च गर्नका लागि कोशी प्रदेश सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ । भौतिक पूर्वाधार मन्त्रालयले तत्कालै सबै खालका बाटोहरू खुलाउनका लागि आफ्ना सबै संयन्त्र परिचालन गर्नका लागि पनि आजको बैठकले निर्देशन गरेको छ ।
मुख्यमन्त्री कार्कीले पुनर्निर्माण र राहतमा कुनै कसर नराखी काम अगाडि बढाउनका लागि बैठक निर्देशन दिएका थिए । विपतमा सम्पूर्ण नागरिक, उद्योगी व्यवसायी, अधिकारकर्मी, राजनीतिक पार्टी, बैङ्क तथा वित्तीय संस्था र कर्मचारीहरूलाई सहयोग गर्नका लागि आह्वान गर्ने समेत निर्णय गरेको आन्तरिक मामला तथा कानुन मन्त्रालयका विपद् महाशाखा प्रमुख कमल थापाले जानकारी दिएका छन् ।
राहत वितरण धमाधम
यसैबिच बाढी–पहिरोले इलाम, झापा र अन्य पहाडी जिल्लामा ठुलो मानवीय क्षति पु¥याएपछि कोशी प्रदेश सरकारले राहत र पुनर्निर्माण अभियानलाई तीव्रता दिएको जनाएको छ । मुख्यमन्त्री कार्कीको निर्देशनमा मन्त्रीदेखि स्थानीय संयन्त्रसम्म सबै सक्रिय बनेका हुन् ।
प्रदेश सरकारले मङ्गलवार हेलिकोप्टरमार्फत तत्काल आवश्यक खाद्यान्न र औषधि सामग्री पठाएपछि आज पुनः तीनभन्दा बढी ट्रक राहत सामग्री प्रभावित इलाका माईजोगमाई, माई नगरपालिकादेखि झापा गाउँपालिका सम्म पठाइएको आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीले जानकारी दिए ।
उनका अनुसार प्रदेश सरकारसँग रहेका सबै राहत सामग्री तत्काल प्रभावित परिवारसम्म पु¥याउने अभियान सञ्चालन गरिएको छ ।
मुख्यमन्त्री कार्कीले प्रदेशका सबै संयन्त्र र स्थानीय सरकारबिच सहकार्यमा राहत वितरण र पुनर्निर्माणका कार्यलाई तीव्र बनाउने बताएका छन् । उनका अनुसार मृतकका परिवारलाई तत्काल आर्थिक सहयोग, घाइतेका लागि उपचार व्यवस्था र भत्किएका सडक तथा आवास पुनर्निर्माणको तयारी सुरु भइसकेको छ ।
बाढीपहिरोबाट क्षति पुगेका सडकको पुनर्निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । असोज १८ देखि २० गते सम्म र त्यस अगाडिको बाढीपहिरोका कारण क्षति पुगेका सडक संरचनाको पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपद्बाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ । गत वर्षको विपद्बाट क्षति पुगेका संरचना पुनर्निर्माणका लागि १ अर्ब ७० करोड रुपैयाँ बाँकी रहेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बाढिपहिरोबाट क्षति पुगेर अवरुद्ध भएका सडक सञ्चालन उच्च प्राथमिकतामा राखी मातहतका निकायले काम गरिरहेको बताए । अवरुद्ध सडक सञ्चालन जतिसक्दो छिट्टो सञ्चालनका लागि उपकरण र जनशक्ति परिचालन गरिएको र कामको आफू एवम् मन्त्रालयकातर्फबाट निममित अनुगमन भइरहेको मन्त्री घिसिङले उल्लेख गरेका छन् ।
यस वर्षको मनसुनजन्य विपद्बाट सबैभन्दा बढी क्षति मेची राजमार्गमा पुगेको छ । मेची राजमार्गको पुनर्निर्माणका लागि डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । क्षति भएका कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, नारायणघाट—मुग्लिङलगायतका राजमार्गको पुनर्निर्माणका लागि झण्डै तीन अर्ब ७७ करोड रुपैयाँ लाग्ने अनुमान छ ।
त्यस्तै, क्षति पुगेका १७ वटा स्थायी पुल पुनर्निर्माणमा चार अर्ब ५२ करोड रुपैयाँ लाग्ने अनुमान छ । क्षति पुगेका र सडक सञ्चालनका लागि राख्नु पर्ने नयाँ पर्ने बेलिब्रिजका लागि ८० करोड रुपैयाँ लाग्ने अनुमान छ । बैकल्पिक सडक पुनर्निर्माणका लागि एक अर्ब ५९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
सुनचाँदीको मूल्य हालसम्मकै उच्च
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघलका अनुसार आज सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
अघिल्लो दिन २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्यले दिनकै नयाँ मूल्य कायम गरिरहेको छ । आज चाँदीको मूल्य भने घटेको छ । हिजो प्रतितोला २ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज २ हजार ९ सय ५५ सयमा कारोबार भईरहेको महासंघले जनाएको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।