आजदेखि बुङ्गल हाइड्रोको सेयरमा आवेदन खुला
काठमाडौं । बुङ्गल हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन खुला गरेको छ।
कम्पनीले ८३ करोड रुपैयाँको जारी पूँजीमध्ये ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्न लागेको हो । यसमध्ये स्थानिय बासिन्दाका लागि ८ लाख ३० हजार ८२४ कित्ता सेयर छुट्याइएको हो, जुन प्रतिकित्ता १०० रुपैयाँ दरमा प्रदान गरिनेछ।
स्थानीय बासिन्दाका लागि छुट्याइएको सेयरमा ६५ प्रतिशत हिस्सा बझाङ जिल्लाको बुङ्गल नगरपालिका वडा नम्बर ६ र ७ अन्तर्गत पर्ने साविक पिपलकोट र कफल्सेरी गाविसका अति प्रभावित क्षेत्रका बासिन्दालाई प्रदान गरिनेछ। बाँकी ३५ प्रतिशत सेयर भने बुङ्गल नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५, ८, ९, १० र ११ का सामान्य प्रभावित क्षेत्रका बासिन्दाहरूलाई बाँडफाँट गरिनेछ।
त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख ७ हजार ५०० कित्ता सेयर छुट्याइएको छ, जसको कुल मूल्य २ करोड ७ लाख ५० हजार रुपैयाँ बराबर हुन्छ। यसमा आवेदन दिन चाहने श्रमिकहरूले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएको प्रमाण पेश गर्नुपर्नेछ।
आवेदनको न्यूनतम सीमा १० कित्ता रहेको छ भने अधिकतममा २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। स्थानीय बासिन्दाहरूका लागि आवेदन अवधि अनिवार्य रूपमा साउन ११ गतेसम्म खुला हुनेछ। यदि तोकिएको समयभित्र पर्याप्त आवेदन प्राप्त नभएमा यो अवधि साउन २६ गतेसम्म बढ्न सक्छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने साउन ११ गते नै अन्तिम म्याद कायम गरिएको छ।
कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण
काठमाडौँ । नेपाल राष्ट्र बैँकका गभर्नर डा.विश्व पौडेलले आर्थिक वर्ष २०८२।०८३ को लागि विस्तृत मुद्रा प्रदायकको वृद्धिदर १३ प्रतिशत र निजीतर्फ जाने कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको बताएका छन् ।
शुक्रवार मौद्रिक नीति सार्वजनिक गर्दै उनले वर्ष २०८२।८३ को लागि मौद्रिक नीतिमा विस्तृत मुद्रा प्रदायकको वृद्धिदर १३ प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको बताएका हुन् ।
उनले भने, ‘आर्थिक वर्ष २०८२।०८३ को लागि विस्तृत मुद्रा प्रदायकको वृद्धिदर १३ प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको छ । नेपाली रुपियाँको भारतीय रुपैयाँसँगको स्थिर विनिमय दरलाई मौद्रिक नीतिको अंकुशको रूपमा लिइदै आएकोमा यसलाई अन्तरिम लक्ष्यको रूपमा यथावत् राखिएको छ ।’
उनले बैंक तथा वित्तीय संस्थाको भारित औसत अन्तर बैंक दरलाई मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रूपमा अथावत राख्दै स्वचालित र नियममा आधारित खुला बजार कारोबार सञ्चालनलाई निरन्तरता दिईने पनि बताए ।
मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रका व्यवहारिक आवश्यकतालाई बेवास्ता गरेको नाइमाको आरोप
काठमाडौं । समयमै प्रस्तुत गरेका सुझावहरू नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा समावेश नगरिएकोप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले गम्भीर दुख व्यक्त गरेको छ ।
नाइमाले अटोमोबाइल क्षेत्रको दीर्घकालीन सुधार र सन्तुलित विकासका लागि विशेषतः कर्जा अनुपात व्यवस्थालाई अन्तर्राष्ट्रिय मापदण्ड, सवारीको प्रकृति र बजारको माग अनुसार पुनरावलोकन गरिदिन अनुरोध गरेको थियो जसमा सबै प्रकारका सवारीका लागि ८०%, २०% कर्जा अनुपात कायम गरिनुपर्ने स्पष्ट रूपमा उल्लेख गरिएको थियो । तर, मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रका लागि यस्तो कुनै नीति समावेश नगरिनु अत्यन्त निराशाजनक विषय भएको नाइमाको भनाई छ ।
अन्य क्षेत्रहरू–जस्तै रियल स्टेट, शेयर बजार, र अन्य उद्योगहरूका लागि नीति स्पष्ट रूपमा समावेश गरिए पनि अटोमोबाइल क्षेत्रलाई उपेक्षा गरिएको भन्दै मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रका व्यवहारिक आवश्यकतालाई बेवास्ता गरेको पनि नाइमाको आरोप छ ।
नाइमाले समग्र मौद्रिक नीतिले कर्जा आपूर्तिमा वृद्धि गर्ने उद्देश्य लिएको हुँदा यसले अटो कर्जाको उपलब्धता र पहुँचमा सकारात्मक प्रभाव पार्ने पक्ष राम्रो भएपनि देशको आर्थिक विकासमा अटोमोबाइल क्षेत्रले खेलेको भूमिका र यसको सम्भावनालाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले उल्लिखित विषयहरूलाई प्राथमिकताका साथ पुनर्विचार गरी आवश्यक नीति समायोजन गर्नुपर्ने कुरा पनि उल्लेख गरेको छ ।
घरेलु मदिरा उत्पादन र नियमन गर्न विधेयक
बर्दिया । बर्दियाको राजापुर नगरपालिकाको आठौँ अधिवेशनले थारू मद तथा घरेलु मदिरा उत्पादन, नियमन तथा व्यवस्थापन ऐन पारित गरेका छ ।
थारू समुदायमा साँस्कृतिक रुपमा उत्पादन भइरहेको घरेलु मदिराको उत्पादनलाई नियमन र व्यवस्थापन गर्नका लागि ऐन ल्याएको हो ।
८२ प्रतिशत थारू जातिको बसोबास रहेको राजापुर नगरपालिकामा जन्मदेखि मृत्यु संस्कारसम्म स्थानीय मदिरा आवश्यक पर्ने भएकाले कानूनी रुपमा मान्यता दिने र नियमन गर्नेगरी विधेयक ल्याइएको राजापुर नगर प्रमुख दिपेश थारूले बताए ।
ऐन नभएपनि थारू समुदायमा घरेलु मदिरा उत्पादन र प्रयोग भइरहेको हुनाले सो कार्यलाई व्यवस्थापन गर्ने कार्य ऐनले गर्ने उनले बताए ।
ऐनमा थारू समुदायमा विभिन्न साँस्कृतिक र व्यक्तिगत प्रयोजनका लागि बार्षिक ६० लिटर भन्दा बढी घरेलु मदिरा उत्पादन गर्न रोक लगाएको छ । त्यसैगरी छोरा वा छोरीको वैवाहिक प्रयोजनका लागि एक सय लिटर भन्दा बढि मदिरा उत्पादन गर्न नपाउने ऐनमा व्यवस्था छ । त्यसैगरी ऐनमा कुनैपनि व्यक्तिले इजाजत पत्र नलिई घरेलु उत्पादन गर्न नपाउने, प्रशोधन, प्याकेजिङ्ग, लेबलिङ्ग नगरी बिक्री वितरण गर्न नपाउने व्यवस्था छ ।
ऐनले थारू समुदायमा साँस्कृतिक रुपमा निश्चित परिमाणमा घरेलु मदिरा घरमा उत्पादन गरेर प्रयोग गर्न बाटो खुल्ला गरेको छ । भने बैधानिक रुपमा उद्योग व्यवसाय दर्ता गरेर घरेलु मदिरा उत्पादन र प्रशोधन गरी बिक्री गर्न सकिने व्यवस्था गरिएको छ ।
राजापुर नगरपालिका विधायन समिति संयोजक राजेश थारूले थारू मद तथा घरेलु मदिराको उत्पादन, नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक नगरसभा समक्ष पेश गर्नु भएको थियो भने नगर सभाले सर्वसम्मतले विधेयक पास गरेको थियो । नगर सभामा पेश भएका थप चारवटा विधेयक समेत पास गरेको छ ।
नेप्सेको ओरालो यात्रा कायमै,०.१४ अंकले घट्यो सुचक
काठमाडौं । पछिल्लो ६ कारोबार दिनदेखि बढिरहेको नेप्से परिसुचक साताको दोस्रो र तेस्रो कारोबार दिन लगातार घटेको छ । सोमबार २२.३५ अंक घटेर २६८४.०१ विन्दुमा रोकिएको नेप्से आज तेस्रो कारोबार दिन ०.१४ अंकले घटेर २६८३.८६ बिन्दुमा अन्तिम कारोबार भएको छ ।
सोमबार कुल ७१ हजार ३१३ पटकको कारोबारमा ८ अर्ब ३७ करोड ७३ लाख २७ हजार रुपैयाँबराबरको १ करोड ९४ लाख १५ हजार कित्ता शेयर खरिदबिक्री भएकोमा यस दिन कुल ३०४ स्टकको ६ अर्ब ५७ करोड ४१ लाख ६६ हजार ८१४ रुपैयाँ बराबरको १ करोड ५० लाख २७ हजार ३७२ कित्ता शेयर कारोबार भएको छ ।
यस दिन सेन्सेटिभ इण्डेकस ०.०४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०१ अंक घटेको छ । त्यसैगरी, सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.०५ अंक बढेको छ ।
यस दिन बुटवल पावर कमपनी, पिपुल्स हाइड्रो पावर, रिभरफल्स पार लिमिटेडले सर्वाधिक कमाएका छन् । यस दिन बुटवल पावरको शेयर मूल्य ८.२१ प्रतिशत बढेको छ । त्यसैगरी पिपुल्स हाइड्रो पावर ५.९६ प्रतिशत र रिभरफल्स पावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ४.६९ प्रतिशतले बढेको छ ।
यस दिन रसुवागढी हाइड्रो पावर र भुगोल इनर्जीको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ । नेपाल रिइन्स्योरेन्स, बुटवल पार कमपनी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सर्बाधिक कारोबार भएको छ ।
हिम स्टार उर्जाको आईपीओ आज देखि निष्कासनमा
काठमाडौँ । हिम स्टार उर्जा कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि जारीपूँजीको २५ प्रतिशत अर्थात ९ लाख ३२ हजार ५ सय कित्ता शेयर जारी गरेको हो । कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने आईपीओ जारी गरिसकेको छ ।
गत जेठ ९ गते प्रति शेयर १०० रुपैयाँ अंकित दरका ११ लाख १९ हजार कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनले तोकेका शाखा कार्यालयहरूबाट न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन्
यसका साथै लगानीकर्ताले मेरो शेयरबाट समेत आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्कासन बन्द छिटोमा असार २७ गते र ढिलोमा साउन ६ गते हुनेछ ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ
धरानमा 'माया धराने बेसार उद्योग' को उद्घाटन असार २७ गते, उत्पादन सुरु
धरान, असार २३ । धरान उपमहानगरपालिकाको आर्थिक स्वावलम्बन र दिगो विकासको लक्ष्यमा महत्त्वपूर्ण कोसेढुङ्गाका रूपमा स्थापित 'माया धराने बेसार उद्योग' को औपचारिक उद्घाटन यही असार २७ गते हुने भएको छ। धरान-२०, भन्ज्याङस्थित कोकाहा खोला नजिकै निर्माण सम्पन्न भएको यस उद्योगको उद्घाटन नगर प्रमुख हर्क साम्पाङले गर्ने कार्यक्रम तय भएको छ।उद्योगको भौतिक संरचना निर्माण कार्य सम्पन्न भईसकेको छ भने निर्धारित लक्ष्य अनुसार बेसार उत्पादन पनि सुरु भइसकेको छ।
उद्योग सञ्चालनका लागि प्रसाद राईको अध्यक्षतामा १५ सदस्यीय 'माया धराने बेसार उद्योग सञ्चालन समिति' गठन गरिएको छ। समितिका सदस्य समीर तामाङका अनुसार उद्योगले हाल दैनिक ३०० देखि ४०० किलो बेसार उत्पादन गरिरहेको छ।
यो उद्योगले किसानहरूबाट उच्च गुणस्तरको कच्चा बेसार खरिद गरी अत्याधुनिक मेसिनको प्रयोगबाट शतप्रतिशत शुद्ध बेसार उत्पादन गर्ने लक्ष्य लिएको समीर तामाङले बताए। यसबाट स्थानीय किसानहरूले आफ्नो उत्पादनका लागि उचित बजार र प्रतिस्पर्धी मूल्य पाउने सुनिश्चितता भएको छ, जसले उनीहरूको आयस्तरमा प्रत्यक्ष सुधार ल्याउने अपेक्षा गरिएको छ साथै स्थानीय स्तरमा रोजगारीका अवसरहरू सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
बेसार उद्योगको उद्घाटनपछि धरानमा साबुन उद्योग सञ्चालन गर्ने प्रक्रिया पनि अघि बढाइने जानकारी प्राप्त भएको छ। 'माया धराने बेसार उद्योग' को सफल सञ्चालनले भविष्यमा अन्य स्थानीय स्रोतमा आधारित उद्योगहरूको स्थापनाका लागि पनि उत्साह प्रदान गर्नेछ, जसबाट धरानको आर्थिक आत्मनिर्भरताको मार्ग थप प्रशस्त हुनेछ। सञ्चालक समिति सदस्य समीर तामाङ भन्छन्, “मेयर साम्पाङको दूरदृष्टिले मूर्तरूप लिन थालेको छ।श्रमदानबाट अपार जनमानसको समर्थन पाएका मेयर साम्पाङको यो पहलले स्थानीय अर्थतन्त्रमा नयाँ आयाम थप्नेछ।”
लगातार ६ दिन बढेको नेप्से करेक्सन पछि घट्यो
काठमाडौं । पछिल्लो ६ कारोबार दिनदेखि बढिरहेको नेप्से परिसुचक आज दोस्रो कारोबार दिन करेक्सन भएपछि घटेको छ । पछिल्लो ६ दिनमा नेप्से परिसूचक ११०.५९ अंक बढेको थियो । तर यस दिनभने लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा करेक्सन देखिएको हो । आईतबार २७०६.३६ बिन्दुमा रोकिएको नेप्से परिसुचक आज २२.३५ अंक घटेर २६८४.०१ विन्दुमा झरेको छ ।
अघिल्लो कारोबार दिन अर्थात आइतबार साढे ९ ९ अर्ब ५० करोड ३ हजार २६८ रुपैयाँ बराबरको २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता शेयर खरिद विक्री भएकोमा आज ३११ स्टकको ७१ हजार ३१३ पटकको कारोबारमा ८ अर्ब ३७ करोड ७३ लाख २७ हजार रुपैयाँबराबरको १ करोड ९४ लाख १५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
यस दिन सेन्सेटिभ इण्डेकस ४.१३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३९ अंक घटेको छ ।
यस दिन माथिल्लो मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ६.५६ प्रतिशत बढेको छ । त्यसैगरी, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ भने भगवती हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशत बढेको छ। कारोबारमा आएको राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ८० करोड ७० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको साढे ४१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम २४ करोड नाघेको छ ।
बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड
काठमाडौँ । बुद्ध एयरले छ महिनामै ७ अर्ब ४१ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । नेपालको आन्तरिक उड्डयन क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको कम्पनीले सन् २०२५ को ६ महिनामै उक्त नाफा कमाएको हो ।
सन् २०२४ मा कम्पनीले १३ अर्ब २२ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । त्यसअघि सन् २०२३ मा बुद्ध एयरले १२ अर्ब १६ करोड ९० लाख रुपैयाँ बराबरको आम्दानी गरेको थियो । सन् २०२३ को तुलनामा कम्पनीको आम्दानी सन् २०२४ मा ८.८६ प्रतिशत अर्थात् १ अर्ब ५ करोड ७० लाख रुपैयाँ बढेको क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालको मूल्याङ्कनले देखाएको छ ।
कम्पनीले कुल ३ अर्ब ८ करोड ९१ लाख रुपैयाँ र १८.७४ मिलियन अमेरिकी डलर कर्जाका लागि रेटिङ गराएको हो । यस अघि कोरोना महामारीको समयमा पनि बजारमा अन्य कम्पनीहरूको तुलनामा बलियो वित्तीय अवस्था कायम गर्न सफल बुद्ध एयर महामारीभन्दा अघिकै अवस्थामा फर्किएको देखिएको हो ।
बुद्ध एयरले सन् २०२२ मा १० अर्ब ९ करोड ८० लाख रुपैयाँ, सन् २०२१ मा ३ अर्ब ३३ करोड ६० लाख रुपैयाँ बराबरको आम्दानी गरेको थियो । यस्तै, सन् २०२० मा ४ अर्ब ९४ करोड २० लाख रुपैयाँ, सन् २०१९ मा ६ अर्ब ८० करोड ८० लाख रुपैयाँ, सन् २०१८ मा ६ अर्ब ८ करोड रुपैयाँको आम्दानी गरेको थियो ।
काठमाडौँ, पोखरा, विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढी, जनकपुर, भद्रपुरलगायत देशका प्रमुख सहरहरूमा दैनिक उडान गर्दै आइरहेको बुद्ध एयरले हाल १६ वटा एटीआर–७२ र २ वटा एटीआर–४२ विमानमार्फत सेवा दिइरहेको छ । विसं २०५३ मा स्थापना भएको बुद्ध एयरले भारतका कोलकाता र वाराणसीसम्म सीमित अन्तर्राष्ट्रिय उडान सेवा पनि दिँदै आएको छ ।
कम्पनीका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले बुद्ध एयरको नेतृत्व गर्दै आएका छन् । कम्पनीको पछिल्लो पाँच वर्षको वित्तीय विवरणका आधारमा यसले सञ्चालन आम्दानी, नाफा तथा कर्जासम्बन्धी सूचकहरूमा उल्लेखनीय सुधार गरेको देखिएको छ ।
आज अन्तर्राष्ट्रिय सहकारी दिवस विश्वभर मनाइदैँ
काठमाडौं । आज अन्तर्राष्ट्रिय सहकारी दिवस विश्वभर विभिन्न कार्यक्रमहरू गरि मनाइदैँ छ । हरेक वर्षको जुलाई महिनाको पहिलो शनिवारका दिन विश्वभरि सहकारी दिवस मनाइन्छ ।
‘सहकारी राम्रो संसारको लागि समावेशी र दिगो समाधानहरूको नेतृत्व’ भन्ने नाराका साथ यसवर्ष विश्व सहकारी दिवस मनाइदैँछ । यो नाराले सहकारी संस्थाहरूको भूमिका विशेष गरि असमानता हटाउन, गरिबी निर्मूल गर्न, रोजगारी सिर्जना गर्न अनि वातावरणको संरक्षण गर्न असाधै महत्वपूर्ण हुन्छ भन्ने कुरा जनाउँछ ।
अन्तर्राष्ट्रिय सहकारी महासङ्घले सन् १९२३ देखी अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन सुरु गरेको छ । सहकारी दिवस मनाउने क्रममा संयुक्त राष्ट्र सङ्घले समेत समुदायको सामाजिक आर्थिक तथा सांस्कृतिक विकासमा सहकारीको महत्त्वपूर्ण योगदानको कदर गर्दै यसै दिनलाई सन् १९९५ देखी संयुक्त राष्ट्र सङ्घ अन्तर्राष्ट्रिय सहकारी दिवसको रूपमा मनाउन थालेको हो ।
सहकारीलाई समान इच्छा, आकाङ्क्षा र अवस्था भएका व्यक्तिहरूबाट आपसी सहयोग तथा प्रजातान्त्रिक नियन्त्रण विधिद्वारा आर्थिक तथा सामाजिक उत्थानको निमित्त एकताबद्ध प्रयासको रूपमा पनि लिइने गरिन्छ ।