४७.५५ अंकले बढ्यो नेप्से, साढे ५ अर्बको कारोबार
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक भारि अंकले वृद्धि भएर बन्द भएको छ । यसअघिका अन्तिम दुई कारोबार दिन सामान्य सुधार देखिएको बजार यस दिन भने उच्च अंकको वृद्धिसहित बन्द भएको हो ।
आइतबार नेप्से परिसूचक ४७.५५ अंकले बढेर २६३३.४२ विन्दुमा पुगेको छ । यससँगै सेन्सेटिभ इण्डेक्स ८.२५ अंक, फ्लोट इण्डेक्स ३.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८७ अंकले बढेको छ ।
नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । अघिल्लो कारोबार दिन बुधबार ३ अर्ब २२ करोड रुपैयाँको शेयर कारोबार भएको बजारमा यस दिन ३२८ स्टकको ८९ हजार २५१ पटकको कारोबारमार्फत ५ अर्ब ५३ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ३४ लाख ६८ हजार कित्ता शेयर खरिद–बिक्री भएको छ ।
आज मिड सोलु हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.४९ प्रतिशतले बढेको छ । त्यस्तै, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य करिब ७ प्रतिशत र अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढीले बढेको छ । यद्यपि, कारोबारमा आएको विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने यस दिन सर्वाधिक १० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावर यस दिन शीर्ष स्थानमा रह्यो । सो कम्पनीको २७ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, मञ्जुश्री फाइनान्सको करिब २४ करोड ५० लाख रुपैयाँ र सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको २२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।
आज १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये वित्त उपसमूह सर्वाधिक २.७० प्रतिशतले बढेको छ । विकास बैंक र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढ्दा बैंकिङ, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
चिया निर्यात कार्यविधिविरुद्ध चिया उद्योगी चिन्तित : हजारौँ किसान र मजदुर जोखिममा
काठमाडौं । सरकारले नेपाली चियाको निर्यात प्रवद्र्धनका लागि दिँदै आएको निर्यात नगद प्रोत्साहन कार्यक्रमलाई रोक्ने भएपछि चिया उत्पादक तथा व्यवसायीहरु चिन्तित भएका छन् । त्यसकारण व्यवसायीहरुले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपुर्र्ति मन्त्रालय र श्रम रोजगार तथा आपुर्ति मन्त्रालयलाई ध्यानाकर्षण पत्र लेखेका छन् ।
उनीहरुले नेपाल सरकारलाई पठाएको ध्यानाकर्षण पत्रमा आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा निर्यात अनुदान रकम प्राप्त भए पनि पछिल्ला आर्थिक वर्षहरूमा सो सुविधा निरन्तर नहुँदा चिया उद्योग प्रभावित भएको उल्लेख छ ।
इलामको सूर्योदय अर्थोडक्स चिया उत्पादक संघ नेपालले मन्त्रालयलाई बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख भएअनुसार नेपाली चिया मुख्यतः भारतसहित तेस्रो मुलुकमा निर्यात हुँदै आएको छ । निर्यात अनुदानले चिया उद्योगको विकास, विस्तार तथा किसान र व्यवसायीहरूको जीविकोपार्जनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको संघको भनाइ छ । तर हाल निर्यात नगद प्रोत्साहन नपाउँदा उत्पादन, निर्यात र राष्ट्रिय उत्पादनमा नकारात्मक असर पर्न सक्ने संघले चेतावनी दिएको छ ।
संघले विशेषगरी तेस्रो मुलुकमा निर्यात हुने चियालाई लक्षित गरी आर्थिक वर्ष २०८१/८२ बाट निर्यात अनुदान कार्यक्रम पुनः सुचारु गरी निरन्तरता दिन माग गरेको छ । साथै, समान व्यवहारको सिद्धान्तअनुसार निर्यात वृद्धि गर्ने उद्देश्यले नीति निर्माण गर्न सरकारसँग आग्रह गरिएको छ ।
पत्रको बोधार्थ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव तथा राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशकलाई पनि पठाइएको छ ।
नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै सुर्योदय अर्थोडक्स टि प्रोड्यूसर्स एसोसिएसन नेपालका उपाध्यक्ष ज्ञानी लिम्बुले हाल प्रस्तावित निर्यातसम्बन्धी कार्यविधि जस्ताको तस्तै लागू भएमा नेपाली चिया उद्योगका ९५–९७ प्रतिशत उद्यमी प्रत्यक्ष रूपमा प्रभावित हुने बताए । ‘यो कार्यविधि आयो भने नेपालको चिया बाहिर बिक्री हुने अवस्था झनै कमजोर हुन्छ,’ उनले भने,‘अहिले नै २ प्रतिशतभन्दा पनि कम चिया तेस्रो मुलुकमा निर्यात भइरहेको अवस्थामा यस्तो नीति आउनु भनेको उद्योगमै प्रहार हो ।’
चिया उद्योगमा बैंकिङ प्रणाली र राज्यका सेवा सुविधाले खासै राहत दिन नसकेको उपाध्यक्ष लिम्बुको भनाइ छ । पहिले किसानले पाउँदै आएको ब्याज छुटको कृषि अनुदानले चिया खेती विस्तारमा ठूलो सहयोग पुगेको स्मरण गर्दै उनले त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
उनले आफू पनि चिया क्षेत्रको हिस्सा हुँ भन्ने अनुभूति गर्न राज्यको भूमिका जरुरी रहेको बताए । कम्तीमा ब्याज छुटसहितको राहत प्याकेज अहिलेको अवस्थामा किसानलाई अत्यन्त आवश्यक भएको उनको भनाई छ ।
उनका अनुसार अहिले राज्यले चियालाई लक्षित गरेर प्रत्यक्ष अनुदान वा सहुलियत दिनु त परै जाओस पहिल्यै दिँदै आएको सुविधा समेत कटौती गर्दै लगिएको छ । “चिया क्षेत्रका लागि राज्यको उपस्थिति देखिँदैन,” उनले गुनासो गरे ।
नेपाली चियाको गुणस्तर भने विश्वस्तरमै प्रतिस्पर्धी रहेको लिम्बु बताउँछन् । अमेरिका, चीनलगायतका अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली चियाले गोल्ड र सिल्भर मेडल जितेर नाम कमाइरहेको तथ्य प्रस्तुत गर्दै उनले भने, ‘हाम्रो चिया गुणस्तरमा कमजोर छैन, कमजोरी हाम्रो प्रचार–प्रसार र राज्यको समर्थनमा हो ।’
भारत निर्भरताको प्रभाव
हाल नेपाली चियाको करिब ९५ प्रतिशत बजार भारत नै हो । तर यही निर्भरता उद्योगका लागि सबैभन्दा ठूलो जोखिम बनेको लिम्बुको विश्लेषण छ । ‘भारतले बेला–बेला नाकामा अवरोध गर्छ, भन्सारमा रोक्छ, विभिन्न बाहनाबाजी गर्छ,’ उनले भने ।
दार्जिलिङ र इलामको चिया खेती एउटै हावापानीमा भएको उल्लेख गर्दै उनले नेपाली चिया झनै राम्रो भएकाले गुणस्तरमा प्रतिस्पर्धी रहेको बताए । तर भारतीय पक्षले उत्पादनको मुख्य सिजनमा गैर–प्राविधिक कारण देखाएर चिया रोक्ने प्रवृत्ति देखाएको उनको आरोप छ ।
‘सेन्ट्रल फुड ल्याब्रोटरी बाट खान योग्य भनेर प्रमाणित भइसकेपछि पनि भारतले ‘चिया खराब छ’ भनेर रोक्ने गरेको छ,’ उनले भने, “पछि प्रधानमन्त्री कार्यालयसम्म धाएर समस्या समाधान गर्नुपर्छ । यो त केटाकेटी खेलजस्तै भयो ।’
तेस्रो मुलुकमा सम्भावना
सरकारले नेपाली चियालाई तेस्रो मुलुक निर्यात गर्ने कुरालाई प्रोत्साहन गर्ने नीति लिएको भए पनि सबै चिया तुरुन्तै तेस्रो मुलुकमा जान सक्ने अवस्था नभएको लिम्बु स्पष्ट पार्छन् ।
‘४०–५० लाख किलो अर्गानिक चिया एकैचोटि तेस्रो मुलुकले किन्छ भन्ने ग्यारेन्टी छैन,’ उनले भने, ‘सस्तो, मध्यम र प्रिमियम—तीनै खालका उपभोक्ता हुन्छन् । हामी कुन सेग्मेन्टमा जाने भन्ने स्पष्ट हुनुपर्छ ।’
हालै चीनको ग्वाङझाउ भ्रमण गरेको अनुभव सुनाउँदै उनले त्यहाँ सरकारकै नेतृत्वमा चिया क्षेत्रलाई प्रवद्र्धन गरिएको बताए । ‘हाम्रोमा चाहिँ सरकार कतै छुटेको जस्तो देखिन्छ,’ उनको टिप्पणी छ ।
तेस्रो मुलुक निर्यातका लागि अर्गानिक सर्टिफिकेसन अनिवार्यजस्तै बनेको अवस्थामा यसको लागत किसान र साना उद्योगका लागि असह्य भएको लिम्बु बताउँछन् । ‘१०–१५ लाख रुपैयाँ खर्च गरेर अर्गानिक सर्टिफिकेट लिन सामान्य किसान सक्दैन,’ उनले भने, ‘यो ठाउँमा राज्यले सहयोग गर्नुपर्छ ।’
सूर्योदय नगरपालिकालाई सिक्किमझैँ अर्गानिक क्षेत्र घोषणा गरी किसान र उद्योगलाई प्रमाणीकरणमा सहयोग गर्नुपर्ने उनको प्रस्ताव छ । साथै, उत्पादनदेखि बजारसम्मको अनुगमन प्रणाली बलियो बनाउनुपर्ने आवश्यकता औंल्याए ।
यस्तो अवस्थामा नेपाली चियाको दीर्घकालीन समाधानका रूपमा लिम्बुले ‘अक्सन प्रणाली’ अनिवार्य गर्नुपर्ने धारणा राखेका छन् । ‘हाम्रो चिया यहीँबाट अक्सनमार्फत बिक्री हुने व्यवस्था भयो भने मूल्य पनि पारदर्शी हुन्छ,’ उनले भने, ‘यसमा व्यवसायीहरू कटिबद्ध छन् ।’
यदि हाल प्रस्तावित कार्यविधि जस्ताको तस्तै लागू भए १५–२० हजार मजदुर प्रत्यक्ष प्रभावित हुने र एक–डेढ सय उद्योग धराशायी हुने खतरा रहेको उनको चेतावनी छ । ‘यो उद्योग मात्र होइन, समग्र चिया क्षेत्र नै संकटमा पर्छ,’ उनले अन्त्यमा जोड दिए ।
यस्तै, अर्का चिया उत्पादक तथा व्यवसायी सुजन ढुंगेलले पनि सरकारको नयाँ निर्यातसम्बन्धी कार्यविधिले दोस्रो मुलुकमा चिया निर्यात गर्ने उद्योगी र किसानलाई नसमेट्ने अवस्था सिर्जना भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । यही विषयमा सरकारको ध्यानाकर्षण गराउन सयौँ चिया उद्योगी र हजारौँ किसानको पीडा बोकेर आफूहरू काठमाडौँ आएको उनले बताए ।
ढुंगेलका अनुसार विगतमा पनि नेपाली चियासँग सम्बन्धित समस्या लिएर पटक–पटक सरकारसँग धाउनुपरेको छ । ‘अहिले निर्यातसँग सम्बन्धित नयाँ कार्यविधि बन्दै रहेछ, तर त्यसले हामीलाई समेट्दैन भन्ने संकेत देखिएपछि हामी तत्काल काठमाडौँ आएका हौँ,’ उनले भने । उनका अनुसार कार्यविधि बन्नुअघि नै काठमाडौँ आइपुगेकाले कृषि मन्त्री, उद्योग मन्त्री तथा सम्बन्धित सचिवहरूसँग भेटेर आफ्नो कुरा स्पष्ट रूपमा राखिएको छ ।
उनले आशा व्यक्त गर्दै भने,‘अब बन्ने कार्यविधिले दोस्रो मुलुक र तेस्रो मुलुक दुवैमा चिया निर्यात गर्ने सम्पूर्ण उद्योगीलाई समेट्नेछ भन्नेमा हामी विश्वस्त छौँ ।’ ढुंगेलले विगतमा निर्यातमा आधारित अनुदान दुवै—दोस्रो र तेस्रो मुलुकमा निर्यात गर्नेहरूले पाउँदै आएको बताए । तर पछिल्लो समय उद्योग विभागबाट आएको पत्र नबुझिएको कारण निर्यात अनुदान बीचमै रोकिएको उनको भनाइ छ । ‘हामीले ६.५ प्रतिशतसम्म निर्यात अनुदान पाइरहेका थियौँ, तर पछिल्लो केहि वर्षदेखि त्यो ग्याप भएको छ,’ उनले भने ।
कार्यविधिमा तेस्रो मुलुकमा निर्यात गर्नेलाई मात्र अनुदान दिने भाष्य निर्माण भएपछि चिया उद्योगीहरू थप अन्योलमा परेका छन् । यसले सयौँ उद्योगी, हजारौँ किसान र ठूलो संख्यामा रोजगारीमा असर पर्ने ढुंगेलको चेतावनी छ ।
भारतमा निर्यात गर्दा दोहोरिने अवरोध
नेपाली चियाको ठूलो बजार भारत भए पनि त्यहाँ निर्यात गर्दा पटक–पटक अवरोध झेल्नुपरेको ढुंगेलले बताए । विशेषतः इलाममा उत्पादन हुने अर्थोडक्स चिया र भारतको दार्जिलिङ चिया एउटै भूगोलमा उत्पादन हुने भएकाले प्रतिस्पर्धा तीव्र भएको उनको भनाइ छ ।
‘हावापानी, भूगोल र चियाको बोट उस्तै भएकाले उत्पादन पनि धेरै हदसम्म समान छ,’ उनले भने, ‘दार्जिलिङ चियाको लामो इतिहास र स्थापित बजार भएकाले नेपाली चिया गुणस्तरीय हुँदै जाँदा उनीहरूलाई आफ्नो ब्रान्ड रिप्लेस हुने डर देखिन थालेको छ ।’
यसै कारण गुणस्तरको बहानामा नेपाली चिया सीमामा रोकिने, नाकामा थुप्रिने समस्या वर्षौंदेखि दोहोरिँदै आएको उनले बताए । ‘यो समस्या पाँच–सात वर्षदेखि निरन्तर भइरहेको छ,’ ढुंगेलले भने,‘हरेक वर्ष चिया सिजन सुरु हुनुअघि यही समस्या आइपर्छ ।’
ढुंगेलले भारतीय अवरोधका पछाडि नेपाल सरकारको कमजोर व्यापार नीति र कूटनीतिक पहलको कमी पनि जिम्मेवार रहेको बताए । ‘दोस्रो र तेस्रो मुलुकसँग व्यापार गर्दा बलियो ट्रेड पोलिसी चाहिन्छ, तर हाम्रो नीति कमजोर देखिन्छ,’ उनले भने। यही कारण उद्योगीहरू कहिले सिंहदरबार त कहिले प्रधानमन्त्री कार्यालय धाउन बाध्य भएको उनको गुनासो छ ।
नेपाली चियाको दिगो भविष्यका लागि राज्यले अनुसन्धान तथा विकासमा ठूलो लगानी गर्नुपर्ने ढुंगेलको सुझाव छ । ‘हाम्रो करिब ९५ प्रतिशत अर्थोडक्स चिया बजार दोस्रो र तेस्रो मुलुकमा निर्भर छ,’ उनले भने, ‘त्यसैले बजार अनुसन्धान, गुणस्तर सुधार र ब्रान्डिङमा राज्यले लगानी बढाउनुपर्छ ।’
उनले वैदेशिक पलायनका कारण श्रमिक अभाव बढ्दै गएको उल्लेख गर्दै कृषि क्षेत्रमा आधुनिक मेसिन र औजारिकरणमा पनि ध्यान दिनुपर्ने बताए । ‘चिया मात्र होइन, समग्र कृषि क्षेत्रमा रिसर्च, मेकानाइजेसन र किसान–उद्योगीलाई प्रोत्साहन गर्ने नीति आवश्यक छ,’ उनले जोड दिए ।
नेप्सेमा सामान्य वृद्धि, कारोबार रकममा गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । यसअघि मंगलबारको बढ्दो क्रमलाई निरन्तरता दिँदै बुधबार नेप्से १.३७ अंकले बढेर २५८५.८७ विन्दुमा उक्लेको हो ।
यस दिन सेन्सेटिभ इण्डेक्स ०.९४ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४६ अंकले बढेको छ । यसदिन नेप्सेमा सामान्य सुधार देखिए पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा गिरावट आएको छ ।
मंगलबार ३ अर्ब ४२ करोड रुपैयाँबराबरको कारोबार भएको बजारमा यसदिन भने ३३४ स्टकको ३ अर्ब २२ करोड ४६ लाख ६४ हजार रुपैयाँबराबरको ७२ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
यसदिन इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ५.३२ प्रतिशतले बढेको छ । त्यसैगरी, नेशनल हाइड्रोपावर कम्पनी र हिम स्टार उर्जा कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढीले उकालो लागेको छ । अधिकांश अन्य स्टकहरूको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ।
त्यस्तै, यसदिन ग्रामिण विकास लघुवित्त वित्तीय संस्था र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ । यसदिन यो कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ ।
आज कारोबारमा आएका कम्पनी मध्ये कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल पहिलो स्थानमा रहेको छ । सो कम्पनीको बुधबार १४ करोड ४९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यस्तै, मञ्जुश्री फाइनान्सको साढे १२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।
उपसमूहगत रुपमा हेर्दा १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ । बैंकिङ्ग, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य अंकले बढेका छन् ।
बाँकी उपसमूहमा भने गिरावट देखिएको छ । समग्रमा बजारमा सीमित सुधार देखिए पनि कारोबार रकम घटेकाले लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा रहेको संकेत मिल्छ ।
नेप्से ३.२७ अंकले बढ्यो, कारोबार रकम सामान्य घट्यो
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसुचक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन १३.८८ अंकले घटेको बजार यसदिन ३.२७ अंकले बढेर २५८४.४९ अंकमा उक्लीएर बन्द भएको छ ।
यसदिन सेन्सेटिभ इन्डेक्स १.५७ अंकले बढेको छ, फ्लोट इन्डेक्स ०.१२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३१ अंकले बढेको छ ।
आज कारोबारमा आएका स्कट मध्ये १३४ कम्पनीको स्टकको शेयर मूल्य बढेको छ भने ११७ अंकको शयर मूल्य घटेको छ । त्यसैगरी ८ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । नेप्से बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार ३ अर्ब ५१ करोड रुपैयाँको शेयर कारोबार भएको बजारमा यस दिन ३२८ स्टकको ९२ हजार ७४६ पटकको कारोबारमा ३ अर्ब ४२ करोड ९८ लाख ९३ हजार रुपैयाँबराबरको ७६ लाख ६८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
यस दिन एसवाई प्यानल नेपालको शेयरमूल्य सवैभन्दा बढी ७.०१ प्रतिशत बढेको छ । त्यसैगरी, यस दिन गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशत बढेको छ भने सयपत्री हाइड्रोपावर र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ । यस्तै, सिटिजन लाइफ इन्स्योरेन्सको शेयरमूल्य यस दिन सर्वाधिक ५.९७ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ३० करोड ९८ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । त्यस्तै, यस दिन सागर डिष्टिलरीको साढे ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
आज १३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक १.२८ प्रतिशत बढेको छ । बाँकी बढेका ६ उपसमूहहरुको वृद्धिदर सामान्य रहेको छ । यस दिन विकास बैंक, लगानी, जीवन बीमा, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको छ ।
नेप्से १३.८८ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसुचक १३.८८ प्रतिशतले घटेर २५८१.२१ अंकमा झरेको छ । यसदिन सेन्सेटिभ इन्डेक्स २.२५ अंकले घटेको छ, फ्लोट इन्डेक्स ०.९७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७४ अंकले घटेको छ । आज कारोबारमा आएका स्कट मध्ये २०० कम्पनीको स्टकको शेयर मूल्य घटेको छन भने ५४ स्टकको शेयर मूल्य बढेको छ । त्यसैगरी, ५ ओटा कम्पनीको स्टकको शेयर मूल्य स्थीर रहेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार ४ अर्ब ५२ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा आज कुल ३३२ स्टकको ३ अर्ब ५१ करोड ५९ लाख ३० हजार रुपैयाँको ९१ लाख ६७ हजार ३५९ कित्ता शेयर करोबार भएको छ । यो करोबार ६५ हजार ३१२ पटकमा भएको हो ।
यसदिन एसवाई प्यानलको आएईपीओ सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन उक्त कम्पनीको शेयरमूल्य ६८ रुपैयाँ ४० पैसा बढेर ७५३ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, यस दिन १०.२५ प्रतिशत सिटिजन्स बैंक डिबेञ्चर २०८६ को मूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ भने १०.२५ प्रतिशत केबिएल डिबेञ्चर २०८६ को मूल्य करिब ६ प्रतिशत बढेको छ ।
यस्तै, आज कारोबारमा आएका मध्ये मानुषी लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै प्रतिकित्ता ६.८४ रुपैयाँले घटेर १४९९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, लक्ष्मी लघुवित्तको शेयर मूल्य पनि प्रतिकित्ता ५.५८ प्रतिशतले घटेर ९३७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
कारोबार रकमका आधारमा यस दिन लुम्बीनी विकास बैंक, सन नेपाल लाईफ इन्स्योरेन्स, मञ्जुश्री फाइनान्स र हिमालयन पावर पार्टनरको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।
१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । यस दिन व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो । कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.२६ प्रतिशत घटेको छ । त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।
धेरै दौंतरी विदेशिए, महाँचन्द्र तरकारी खेतीबाटै मासिक डेढ लाख कमाउँदैछन्
बाजुरा । कुनै समय कामको लागि भारत पुगेर जिविका चलाउँदै आएका बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर ७ का महाँचन्द्र पाध्याय यतिवेला तरकारी खेतीमा रमाइरहेका छन् ।
उमेरले करिब पचास कटेका पाध्यायको जोश, जाँगर र तरकारी खेतीप्रतिको हुटहुटी लोभलाग्दो छ । सामान्य परिवारमा जन्मेका पाध्यायको जीवन संघर्षको कथा कठिन यात्राबिच चलेको छ । अनेकौं कठिनाई र भोगाई भोग्दै पाध्यायले अहिले गाउँमै व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका छन् । तरकारी खेतीबाटै स्वरोजगार बनेका उनले सानो रुपमा उत्कृष्ट व्यवसाय गर्दै आएका छन्।
उनको मेहेनत, लगाव र कर्मशीलता कारण विभिन्न कार्यक्रममा सम्मानित समेत भएका छन् । फर्म दर्ता गरेर पाध्याय तरकारी खेतीमा होमिएका छन्। पाध्यायले ०७७ बाट व्यवसायिक रुपमा तरकारी व्यवसायको थालनी गरेका हुन् । त्यो भन्दा पहिले फाट्टफुट्ट रुपमा तरकारी लगाउँदै आएका थिए । जसबाट थोरथारै कमाई समेत हुने गरेको थियो ।
०७८ मा उनले कृषि ज्ञान केन्द्र बाजुराको ५० प्रतिशत अनुदान र आफ्नो ५० प्रतिशत लगानी गरेर करिब एक लाख बराबरको प्लास्टिक टनेल निर्माण गरि व्यवसायीक तरकारी खेती सुरु गरेका हुन् । उनले अहिले त्यहि प्लाष्टिक टनेलबाट तरकारी खेती गरेर यतिबेला जिल्लाकै सफल किसानका रुपमा परिचित छन् ।
उनले करिव २० रोपनी जग्गामा तरकारी खेती गरिरहेका छन् । उनकै उमेरका अधिकांश दौंतरीहरु पैसा कमाउन विदेश पलायन भएपनि पाध्याय भने तरकारी खेतीमै सक्रिय छन् ।
खेतीबाट नाम र दाम दुवै कमाउन थालेपछि उनले अहिले ज्यालादारी र कामको लागि भारत जाने योजना कहिल्यै नबनाएको उनले सुनाए । उनले भने, ‘तरकारी खेतीबाट घरखर्च चलाउन पुगेको छ । बजार लगेर बिक्री गर्न पनि भ्याइएको छ । गाउँमै कर्म गर्ने हुटहुटीले बाहिर जाने योजना कहिल्यै आएन् ।’ व्यवसायीक रुपमा तरकारी खेतीतर्फ लागेको चार पाँच बर्षभित्र राम्रो आम्दानी हुनुका साथै पेशा, व्यवसायबाट आफू निकै सन्तुष्ट रहेको पाध्यायले बताए ।
तरकारी बिक्री गरेर सामान्य रुपमा बार्षिक डेढ लाखसम्म आम्दानी हुने गरेको उनको भनाई छ । आम्दानी भन्दा पनि आफूलाई ताजा तरकारी खान र व्यवसायिक बन्न सहज भइरहेको उनले थपे। तरकारी खेतीबाट नाम र सामान्य रुपमा दाम हुन थालेपछि आफूलाई पेशाप्रति थप हौसला थपिएको बताउँदै उनले तरकारी खेतीबाटै परिवारको खर्च, बालबच्चाको पालन पोषण भइरहेको बताए ।
आगामी दिनमा पेशा व्यवसायलाई थप बढवा दिने उनको भनाई छ।व्यक्ति कर्मशिल हुन जरुरी रहेको कुरामा पाध्यायले जोड दिए । उनले भने,‘व्यक्ति कर्मशिल र लगनशील भए हरेक चिज गाउँ सम्भव हुने रहेछ।हामी गाउँमा रोजगारीका अवसर छैनन् भन्छौँ । तर आफ्नै गाउँको माटोमा पशिना बगाए सुन समेत फलाउन सकिने रहेछ ।’ पाध्यायले टनेलमा मौसम अनुसारका तरकारी फलाउने गरेका छन् ।
टनेलभित्र टमाटर, काँक्रो, काउली, बन्दा, रायो, डल्ले खुर्सानी, गाँजरलगायत तरकारी उत्पादन गर्ने गरेका छन् । उनले बेमौसमी तरकारी तथा खुला जग्गामा मौसमी तरकारीखेती समेत गरिरहेका छन् । तरकारी मात्रै नभई पाध्यायले फलफूल समेत उत्पादन गर्ने गरेका छन् । तरकारी खेतीका साथसाथ उनले सुन्तला, किवी, मौसमीलगायतका फलफूलको खेती गरेका छन् ।
त्यस्तै दाँते ओखर, विभिन्न बोटविरुवा वृक्षरोपण गरि व्यवसायीक पेशा थालनी गरेका छन्।तरकारी तथा फलफूल व्यवसाय नै उनको जीवनको ढकढुकी बनेको छ।
पाध्यायको फार्ममा करेला,घिरौँला,लौका,फर्सी,बोडी, सिमी भेन्टा, धनियाँ समेत उत्पादन हुने गरेका छन्। बजारमा करेला र घिरौँला प्रतिकिलो रु १२०, लौका ७०, काँक्रा ५० मा धमाधम बिक्री हुने गरेको उनले बताए ।
‘तरकारी खेतीबाट राम्रो सफलता मिलेको छ, खेतभरि हरियाली फलेका तरकारी देख्दा मन आनन्दित हुन्छ, तरकारी बेचेर दाम बुझ्दा एकछिन खाली बस्नै मन लाग्दैन, आफ्नै माटोमा कृषिबाट राम्रै कमाउन सकिने रहेछ’, उनले भने,‘हिउँदे र बर्खेयाम अनुसारको तरकारी खेती गर्दै दिनहरु वितिरहेका छन् ।’
उनको देखासिकी गरी गाउँका अन्य व्यक्ति पनि तरकारी खेतीतर्फ आकर्षित भएका छन् । पछिल्लो समय आफ्नो पेशा व्यवसाय गाउँका अन्य व्यक्तिले सिको गरेको उनको भनाई छ।
आफ्नै गाउँको माटोमा कर्म गरेर व्यवसायिक बन्न उनले सुझाव दिएका छन्। परदेशमा अरुको दवाव सहेर काम गर्नु भन्दा स्वदेशमै बसेर आफ्नै गाउँमा कर्म गर्नु उचित रहेको उनको भनाइ छ ।
कोशीका सहकारी रजिस्ट्रार भन्छन्-‘एलिट वर्ग’ हाबी हुँदा सहकारीमा समस्या आयो
विराटनगर । कोशी प्रदेश मातहत रहेका सहकारीहरूको नियमन गर्ने निकाय प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयका रजिस्ट्रार भुपेन्द्र खनालले सहकारीमा समाजका ‘एलिट वर्ग’ हाबी हुँदा समस्या उत्पन्न हुने गरेको बताएका छन् । कुराकानीका क्रममा उनले सहकारीको मूल मर्म गरिबी निवारणका लागि श्रमिक र मजदुरहरूले सञ्चालन गर्नु भए पनि व्यवहारमा प्रभावशाली वर्गले नियन्त्रण लिँदा सहकारी सिद्धान्तबाट विचलन भइरहेको उल्लेख गरे ।
‘सहकारीको वास्तविक मर्म गरिबी निवारणका लागि श्रमिक मजदुरहरूले चलाउने भन्ने हो । तर समाजका एलिट वर्गले चलाएको पाइरहेका छौँ । हामीले यसको सिद्धान्तअनुसार सञ्चालन हुने अवस्था बनाउन सक्नुपर्छ,’ रजिस्ट्रार खनालले भने ।
उनका अनुसार कोशी प्रदेशका सहकारीहरूलाई व्यवस्थित गर्न कार्यालय सक्रिय रूपमा लागेको छ । समस्या देखिएका सहकारीहरूको लेखा तथा गतिविधि छानबिन भइरहेको जनाउँदै प्रतिवेदनका आधारमा सङ्कटग्रस्त ठहर गर्न मिल्ने सहकारीलाई सङ्कटग्रस्त घोषणा गरिने उनले बताए । यसअघि सुनसरीको इटहरीस्थित अम्बे कोशी सहकारी सङ्कटग्रस्त घोषणा भइसकेको छ, जसको व्यवस्थापन प्रदेश सरकारले गठन गरेको समिति मार्फत भइरहेको छ ।
४४३ सहकारीको विवरण अद्यावधिक छैन
यसैबीच, कोशी प्रदेश मातहत रहेका १०७५ सहकारीमध्ये ४४३ सहकारीको विवरण हालसम्म अद्यावधिक नभएको पाइएको छ । कार्यालयले दोस्रो पटक सूचना जारी गर्दै २१ दिनभित्र विवरण बुझाउन निर्देशन दिएको छ । पहिलो पटक सूचना जारी गर्दा ४४ वटा सहकारी मात्रै सम्पर्कमा आएको र ठूलो सङ्ख्यामा विवरण नआएकाले पुनः सूचना जारी गरिएको रजिस्ट्रार खनालले जानकारी दिए ।
प्रदेश सहकारी ऐन, २०७६ को दफा ६०(१) अनुसार दुई वर्षसम्म अनिवार्य विवरण नबुझाएका सहकारी संघ–संस्थाहरूको सूची यसअघि २०८२ भदौ १७ गते सार्वजनिक गरिएको थियो । तर त्यसपछि पनि विवरण नबुझाएकाले पुनः नाम सार्वजनिक गरिएको कार्यालयले जनाएको छ ।
सहकारी संघ/संस्था सञ्चालन, अनुगमन तथा लेखा परीक्षणसम्बन्धी मापदण्ड, २०७८ को दफा २७(१) अनुसार निष्क्रिय ठहर गरिएका सहकारीहरूले २१ दिनभित्र आवश्यक कागजातसहित विवरण अद्यावधिक नगरे दर्ता खारेजीसम्मको कारबाही अघि बढाइने चेतावनी दिइएको छ ।
किन देखिन्छ सहकारीमा समस्या ?
सहकारी क्षेत्रमा समस्या देखिनुको प्रमुख कारण स्वनियमनको अभाव रहेको सरोकारवालाहरू बताउँछन् । सहकारीको सिद्धान्त र उद्देश्यको कमजोर बुझाइ, गैर–सदस्यसँग कारोबार, कानुनको पालनामा कमजोरी, कार्यक्षेत्र बाहिरको कारोबार तथा अत्यधिक खराब कर्जाका कारण सहकारीमा समस्या आउने गरेको जानकारहरूको भनाइ छ । त्यसमा पनि प्रभावकारी नियमन नहुँदा समस्या झनै जटिल बन्दै गएको उनीहरूको ठहर छ ।
यस्तो छ, शुक्रबार विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजानिक गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६९ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९२ रुपैयाँ ४० पैसा र बिक्रीदर १९३ रुपैयाँ २० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ २२ पैसा र बिक्रीदर १८१ रुपैयाँ ९८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ २१ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६० पैसा कायम गरिएको छ ।
राष्ट्र बैंकले क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११२ रुपैयाँ ०८ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ २५ पैसा र बिक्रीदर नौ रुपैयाँ २८ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ४६ पैसा र बिक्रीदर २० रुपैयाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५८ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७१ पैसा कायम गरेको छ ।
यसैगरी थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ २३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ २६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७६ पैसा र बिक्रीदर नौ रुपैयाँ ८० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४९ पैसा र बिक्रीदर १५ रुपैयाँ ५५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६१ पैसा र बिक्रीदर २२ रुपैयाँ ७१ पैसा तोकिएको छ ।
केन्द्रीय बैंकका अनुसार हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १८ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४६९ रुपैयाँ २० पैसा र बिक्रीदर ४७१ रुपैयाँ १५ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रुपैयाँ १७ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ७६ पैसा, ओमनी रियाल एकको खरिददर ३७४ रुपैयाँ २५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ८१ पैसा रहेको छ ।
यस्तै भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
१०.६६ अंकले घट्यो नेप्से, कारोबार रकममा सामान्य वृद्धि
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसुचक १०.६६ अंकले घटेर २६१५.०३ विन्दुमा रोकिएको छ । अघिल्लो बुधबार भने नेप्से २६२५.६९ अंकमा पुगेर रोकिएको थियो ।
यसदिन सेन्सेटिभ इण्डेक्स १.६३ अंक घटेकोछ भने फ्लोट इण्डेक्स ०.७० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंक घटेको छ ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ । यसदिन कुल ३२९ स्टकको ४ अर्ब ५७ करोड ७८ लाख २७ हजार रुपैयाँको १ करोड १२ लाख ९१ हजार ४०१ कित्ता शेयर किनबेच भएको छ । यो किनबेच ६४ हजार पटकको कारोबारमा भएको हो । यसअघि बुधबार ४ अर्ब ५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो ।
यसदिन स्वस्तिक लघुवित्त र एसवाई प्यानलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यी दुई कम्पनीको शेयर १० प्रतिशतभन्दा धेरैले बढेको हो । यस्तै, सिन्धु विकास बैंकको शेयर मूल्य पनि साढे ९ प्रतिशतले बढेको छ ।
यसदिन बाराही हाइड्रो पब्लिक लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी घटेको छ । यस कम्पनीको शेयर आज प्रतिकित्ता ४.७६ प्रतिशतले घटेर ५३४ रुपैयाँमा अन्तिम कारोबार भएको हो ।
यस्तै, यसदिन कारोबार रकमका आधारमा बाराहि हाइड्रो पावर, राधि जलविद्युत कम्पनी र बुटवल पावर कम्पनीको शेयर सबैभन्दा बढी कारोबार भएको छ । १३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । यस दिन ब्यापार, निर्जीवन इन्स्योरेन्स र होटल उपसमूहको परिसूचक सामान्य बढेको छ । यस दिन वित्त र अन्य उपसमूहको सूचक १ प्रतिशत भन्दा धेरैले घटेको हो ।
कोशी पर्यटन वर्ष सफल बनाउन चलचित्रकर्मी प्रतिवद्ध, ‘लक्की’ प्रदेश भएको दाबी
काठमाडौं । कोशी पर्यटन वर्ष २०८२ सफल बनाउन कलाकार एवम चलचित्रकर्मीहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । मंगलबार कोशी प्रदेशको पर्यटन वर्षको सचिवालयले आयोजना गरेको अन्तरक्रियामा अधिकांश फिल्मकर्मी तथा कलाकारहरुले पर्यटन बर्ष सफल बनाउन सरकारले सुधारका धेरै काम गर्न बाँकी रहेको पनि औंल्याए ।
चलचित्र निर्देशक मिलन चाम्सले कोशी प्रदेश फिल्म सुटिङका लागि भाग्यमानी प्रदेश रहेको बताउँदै सरकारले धेरै कुरामा सुधार गर्न सुझाव दिए । उनले भने,‘पर्यटक पुग्ने पहिलो डेस्टिनेसन एयरपोर्टबाटै सुधार गरौं । मन्त्रीज्यूलाई पनि व्यक्तिगत समस्या लिएर जाने धेरैभए अब समाजको समस्या लिएर जानुपर्यो । प्रदेशमा सुटिङ गर्न पुग्ने चलचित्रकर्मीहरुका लागि विशेष सुविधा र सहुलीयत प्रदान गर्ने किसिमको प्याकेज तयार गर्नुपर्छ,’ उनले अगाडि भने,‘विगत एक बर्ष साँच्चै लक्की भएको छ । किनभने ‘उनको सुइटर, परान, अन्जिलालगायतका फिल्म कोशीमै सुटिङ भएको र सफल भएको छ ।’
कलाकार शिव श्रेष्ठले कोशी प्रदेशमा फिल्म सुटिङ गर्न जानुपूर्व चलचित्र विकास बोर्डले सहजीकरण गर्नुपर्ने र सहज रुपले काम गर्न पाउनुपर्ने बताए । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले फिल्मले पर्यटन स्थलको प्रवद्र्धनमा ठूलो भूमिका निर्वाह गर्ने भएकाले विश्वभरका सिनेकर्मीहरुलाई आकर्षित गर्नुपर्ने बताए ।
उनले भने,‘आज पर्यटकीय स्थलको ब्राडिङ गरियो भने आजै परिणाम नआउला तर कालान्तरमा यसले सफलता पाउँछ ।’ अध्यक्ष डिसीले सिनेमा हलका अगाडि गन्तब्य स्थलको प्रचार गर्ने हो भने विकास बोर्डले सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले कोशी पर्यटनका लागि अथाह संभावना भएको प्रदेश भएपनि प्रचार गर्न नसक्दा ओझेलमा परेको बताउँदै पर्यटन बर्षमार्फत प्रदेशको पर्यटनलाई माथि उठाउने बताए ।
बजेट १० करोड विनियोजन भएपनि कानुन बनाउँदा बनाउँदै धेरै समय व्यथित भएकाले अब द्रुत गतिले काम हुने बताए । ‘यतिबेला सबै तहका व्यक्तिहरुको अपनत्व अपनाइदिनुपर्यो । काठमाडौंलाई कोशी पनि छ भन्ने चिनाइदिनुहोला । हामी प्रचारका लागि सबसिटीका लागि बजेट छुट्याउन तयार छौं,’ उनले भने ।
कोशी पर्यटन वर्ष निर्देशक समितिका सह–संयोजक कृष्णकुमार साहले कोशी सरकारले गौरवको वर्षका रुपमा पर्यटन वर्ष मनाउने घोषणा गरेकाले सबैको सहयोग आवश्यक रहेको बताए ।
कार्यक्रममा अधिकांश चलचित्रकर्मीहरुले पर्यटन क्षेत्रमा प्रशस्त कमजोरीहरु रहेकाले सुधार गरेर अघि बढ्न सुझाव दिए ।
बर्ष ०८२ लाई प्रदेश सरकारले कोशी पर्यटन वर्षको रुपमा मनाउने घोषणा गरेपछि कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालय र कोशी प्रदेशको पर्यटन वर्ष २०८२ को सचिवालयले प्रचार प्रसारको कामलाई तिब्रता दिंदै कलाकारहरुसँग अन्तरक्रिया गरेको हो ।
सोमबार मात्र नेपाल पर्यटन बोर्ड र कोशी पर्यटन वर्ष २०८२ को सचिवालयबीच सहकार्य गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर समेत भएको थियो । प्रदेश सरकाले ‘८२ का लागि ८२ गन्तव्य’ सूचि सार्वजनिक गरी ती पर्यटकीय केन्द्रहरुको योजनावद्ध विकासका लागि काम समेत अघि बढाएको छ ।