बिहिबार, २८ साउन २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01HZW31TQ7PB4MMBGW6JCK65PY.jpg

राष्ट्रिय फुटबल खेलाडी प्रिती सम्मानित

धरान (सुनसरी), जेठ २६ I धरान उपमहानगरपालिका–१७ साकेला उद्यान (पार्क)मा आज सम्पन्न भएको उभौली साकेलाका अवसरमा राष्ट्रिय महिला फुटबल खेलाडी प्रिती राईलाई नगदसहित सम्मान गरिएको छ ।   
  
किरात राई यायोक्खा सुनसरीले आयोजना गरेको उभौली साकेलाका अवसरमा रु एक लाख पाँच हजार ८४ र सम्मानपत्रसहित उहाँलाई सम्मान गरिएको हो । यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राई, धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ, पूर्वप्रमुख तिलक राईले दोसल्ला ओढाएर नगदसहित राईलाई सम्मान गर्नुभएको थियो ।   
  
खेलाडी प्रितीले १६ वर्षको उमेरमै पहिलोपटक नेपाली राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएकी खेलाडी हुन् । विसं २०६१ मा जन्मिएका प्रिती राष्ट्रिय महिला फुटबल टिमकी उदयीमान र कान्छी खेलाडी भनेर पनि चिनिन्छ । उहाँ नेपाल यु–१५ र यु–१६ टोलीको कप्तानसमेत रहेकी प्रिती दोस्रो अवसरमा राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएकी थिइन् ।   
  
उभौली साकेलाको अवसरमा राष्ट्रिय एथलेटिक्स प्रशिक्षक पार्वती राई, महेन्द्र बहुमुखी क्याम्पस धरानका क्याम्पस प्रमुख चन्द्रकुमार राई, इन्जिनियर पारसमणि राई र एमबिई सुवास राईलाई समेत यायोक्खा सुनसरीले दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।  

प्रकाशित मितिः शनिबार, २६ जेठ २०८१
https://jawaaf.com/storage/01HZVY2G8JGQ1B3TEPYDP66ASZ.jpg

‘राजनीतिक नेतृत्वले राष्ट्रियताको भावनालाई एकताको सूत्रमा बाँध्न सक्नुपर्छ’

काठमाडौँ, २६ जेठ  I प्रतिनिधिसभा सांसद एवं पूर्वमन्त्री सुदन किरातीले राष्ट्रियताको भावनालाई एकताको सूत्रमा बाँध्न राजनीतिक नेतृत्व जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।   
  
किरात राई यायोक्खा काठमाडौँद्वारा आज टुँडिखेलमा आयोजित उभौली साकेला सिली नाच प्रदर्शनमा किरातीले सरकार र राजनीतिक नेतृत्वले राष्ट्रियताको सुदृढीकरणका लागि सांस्कृतिक अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा समेत जोड दिनुभयो । “उभौलीमा किरातीहरूले नयाँ कृषि कर्मको थालनी गर्छन् । आजको युगमा हामीले नयाँ सोच र सिर्जनाको पनि थालनी गर्नुपर्छ”, उहाँले भन्नुभयो, “नेपालको संविधानमा लेखिएका मौलिक हकहरू व्यवहारमा लागू भएको देख्न पाउने दिनमा मात्र नागरिकहरू खुसी हुनेछन्, नागरिक खुसी भए देश बचाउनका निम्ति राष्ट्रभाव बलियो हुन्छ ।” सांसद किरातीले संविधानअनुसार आवश्यक ऐन, कानुन र नियमावली बनाएर तत्काल कार्यान्वयनको आवश्यकता औँल्याउनुभयो ।   
  
किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राईले उभौलीको शुभकामना व्यक्त गर्दै सांस्कृतिक पहिचानको अभियानलाई सशक्त बनाउन आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालको संविधानमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता उल्लेख गरिएको छ तर अहिले राजनीतिकर्मीहरूले नै यसलाई साम्प्रदायिक र जातीय कुरा हो, यसले विध्वंश निम्त्याउने छजस्ता भाष्य निर्माण गरिरहेका छन्, यो राम्रो होइन ।”   
  
प्रकृति पुजारी किरात समुदायको चाड उभौैली देशभर हर्षोल्लासका साथ मनाइँदैछ । यस चाडमा किरातीहरूले एकापसमा भेला भई सङ्गठितरूपमा चाड मनाउने र शुभकामना आदनप्रदान गर्ने गर्छन् । किरातहरूको धार्मिक पुस्तक ‘मुन्धुम’अनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली । खेती किसानीका आधारमा यी दुई समय बाँडिएको किरात समुदायको बुझाइ छ । खेती किसानी गर्नका लागि मनाइने चाड उभौली हो ।  

प्रकाशित मितिः शनिबार, २६ जेठ २०८१
https://jawaaf.com/storage/01HZVPX7A92BDE24E50TBRDNJE.jpg

चेपाङ समुदायको कथामा वृतचित्र ‘पचेडा’ तयार

काठमाडौँ, २६ जेठ I मनहरी गाउँपालिका–४ स्थित नयाँबस्तीमा बसोबास गर्ने चेपाङ समुदायको कथामा वृतचित्र ‘पचेडा’ तयार गरिएको छ । साङ्गीतिक श्रव्यदृश्य (म्युजिक भिडियो) निर्देशनमा सक्रिय रहनुभएका दीपेन्द्र केसीले सो बस्तीमा बसोबास गर्ने सन्तलाल चेपाङको जीवनीमा आधारित रहेर उक्त वृतचित्रमा तयार गर्नुभएको हो ।   
  
वृतचित्रको श्रव्यदृश्य सार्वजनिक गर्दै निर्देशक केसीले एक परिवारको भोगाइ र जीविकोपार्जनका लागि गरिएको सङ्घर्षलाई प्रस्तुत गरिएको बताउनुभयो । “हामीले नजरअन्दाज गरेको कथालाई वृतचित्रको माध्यमबाट आममानिससम्म ल्याउँदैछु”, उहाँले भन्नुभयो, “चेपाङका बारेमा कमै कथाहरू भेटेपछि यसमै वृतचित्र बनाउने निर्णय लिएर काम सुरु गरेँ ।”   
  
“वृतचित्र तयार गर्दा उक्त परिवारको जीवनीसँग साक्षात्कार गर्ने मौका पनि पाएँ । उनीहरूको पीडालाई नजिकबाट बुझ्न पाएँ । मेरो उद्देश्य नै उनीहरूको जीवन र समुदायका कथा र पीडा आममानिस माझ ल्याउनु हो”, निर्देशक केसीले भन्नुभयो ।   
  
निर्देशक केसीले वृतचित्रमा ‘चेपाङ जङ्गलमै किन बसिरहेका छन् ?’, ‘उनीहरू किन अवसरका लागि सहर पस्दैनन् ?’ भन्ने प्रश्नको जवाफ खोजिएको बताउनुभयो । उक्त वृतचित्रलाई सोही चेपाङ बस्तीसँगै विदेशमा प्रदर्शनी गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।  

प्रकाशित मितिः शनिबार, २६ जेठ २०८१
https://jawaaf.com/storage/01HZVG3DWJ8BGQT8DQXZ0FXRZD.jpg

जीर्ण भवनमा पढ्न बाध्य छन् विद्यार्थी

लमजुङ, २६ जेठ I पानी पर्दा कक्षाकोठा भित्रै पानी छिर्ने जीर्ण विद्यालय भवनमा विद्यार्थी पढ्न बाध्य हुँदै आएका छन् । सदरमुकाम रहेको बेँसीसहर नगरपालिका–१ सानो धिमिरेस्थित बालविकास प्राथमिक विद्यालयका विद्यार्थी जीर्ण भवन र पानी पर्दा कक्षाकोठा भित्रै पस्ने विद्यालय भवनमा केही वर्षदेखि पढ्न बाध्य हुँदै आएका हुन् ।   
  
विद्यालयका प्रधानाध्यापक सिमा लोहनीले पुरानो भवन जीर्ण र पानी चुहिने भएको र नयाँ भवनमा पानी परेका बेलामा कक्षाकोठा भित्रै ठूलो पानी छिर्ने गर्दा पानी परेका बेलामा पठनपाठन प्रभावित हुँदै आएको बताउनुभयो ।   
  
उहाँका अनुसार विसंं २०४८ मा स्थापना भएको यस विद्यालयमा चारकोठे पुरानो भवन र विसंं २०७४ मा निर्माण गरिएको दुईकोठे भवन रहेको छ । पुरानो भवनको गाह्रो चिराचिरा परेर खस्ने अवस्थामा रहेकाले कुनै पनि बेला खस्छ कि भनेर पठनपाठनमा समस्या भइरहेको उहाँले बताउनुभयो ।   
  
उहाँले विद्यालयमा जस्तापाताको छानो रहेको र छानोका लागि राखिएका काठ कुहिन थालेको तथा नयाँ भवनको छानो मिलाएर नहालेकाले गर्दा पनि पानी परेको बेलामा कक्षाकोठा भित्रै पानी छिर्ने गरेको बताउनुभयो ।   
  
“पानी परेपछि सबै विद्यार्थीलाई दुईकोठे नयाँ भवनमा रहेको शिक्षकको कार्यालयमै ल्याएर राख्ने गरेका छौँ, नयाँ भवनका कोठामा पनि पानी छिर्ने गरे पनि अन्य कोठाको तुलनामा कम पानी आउने गरेकाले शिक्षक विद्यार्थी एकै ठाउँमा बस्ने गरेका छौँ”, उहाँले भन्नुभयो ।   
  
पुरानो भवनको निर्माण र नयाँ भवनको छानो फेर्नका लागि वडा कार्यालय, पालिकाको शिक्षा शाखादेखि प्रदेश सरकारसँग केही वर्षअघिदेखि नै माग गरे पनि हालसम्म सुनुवाइ नहुँदा विद्यार्थीले यस्तो समस्याको सामना विगत तीन वर्षदेखि गर्न बाध्य हुँदै आएको गुनासो विद्यालय प्रधानाध्यापक लोहनीले गर्नुभयो ।   
  
विद्यालयमा गत वर्ष २२ जना रहे पनि यस वर्ष १५ मात्र विद्यार्थी रहेका छन् । नर्सरीदेखि कक्षा ३ सम्म पढाइ हुने यस विद्यालयमा पानी आएपछि विद्यार्थी कापीकलम झोलामा राखेर झोला लिएर ओत खोज्न जानुपर्ने बाध्यता छ । ठूलो पानी परेका बेलामा आफूहरु पानीले रुझे पनि झोला जोगाउने कोसिस गर्दा पनि कुनैबेला झोला भिजेर किताब नै भिज्ने गरेको विद्यार्थीको भनाइ छ । नयाँ भवनमा ३ कक्षाको पढाइ हुने गरेको छ भने पुरानो भवनमा नर्सरीदेखि २ कक्षासम्मका विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।   
  
नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव किसानराज चिलुवालले उक्त विद्यालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत माग गरे पनि उक्त कार्यक्रमका लागि बजेट नै नआएकाले सहयोग गर्न नसकिएको र विद्यालय मर्मत तथा निर्माणका लागि शिक्षा शाखासँग बजेट नहुने बताउनुभयो ।   
  
वडाध्यक्ष दुर्गाबहादुर बुढाथोकीले विद्यालयमा पानी चुहिने र जीर्ण भवनमा पठनपाठन गर्न जोखिम रहेको भए पनि तत्काललाई आर्थिक अभावले सो समस्या हटाउन नसकिने बताउनुभयो । विद्यालयबाट उक्त जानकारी केही दिनअघि मात्र वडालाई आएको र सोअघि कुनै जानकारी नआएकाले अहिले आर्थिक वर्षको अन्तिम बेलामा बजेट नहुने उहाँको भनाइ छ ।   
  
उक्त खबर पाउनासाथ वडाबाट प्राविधिक पठाएर हाललाई नयाँ भवनको एक कोठाका लागि छानो छाउनका लागि लागत अनुमान तयार गरेर र सम्झौता गरेर केही दिनमा काम अघि बढ्ने वडाध्यक्ष बुढाथोकीको भनाइ छ । उहाँले पुरानो जीर्ण भवन भने तत्काल केही गर्न नसकिने र आगामी दिनमा विद्यालय भत्काउने तथा कसरी अघि बढ्ने भनेर छलफल गरेर अघि बढ्ने बताउनुभयो ।  

प्रकाशित मितिः शनिबार, २६ जेठ २०८१
https://jawaaf.com/storage/01HZTWGYNGZWRC1XFZ1BNM8M6M.jpg

कोशी, वाग्मती र गण्डकी प्रदेशमा वर्षा हुने

काठमाडौँ, २६ जेठ I कोशी, वाग्मती र गण्डकी प्रदेशमा आज वर्षा हुने सम्भावना रहेको छ । हाल नेपालमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेकाले ती प्रदेशमा वर्षाको सम्भावना रहेको हो । 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा आज  बिहानसम्म हल्का वर्षा भएको छ । अहिले कोशी प्रदेशलगायत देशको  पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा मौसम आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको केही स्थानमा आज राति पनि मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

प्रकाशित मितिः शनिबार, २६ जेठ २०८१
https://jawaaf.com/storage/01HZS47RWQSET0BPFN4JQHPCVE.jpg

केराखेतीबाट रु तीन करोड आम्दानी

म्याग्दी (बेनी), २५ जेठ I बेनी नगरपालिका–२ खबराका तेजेन्द्र कार्कीले धान रोप्ने खेतमा केराखेती विस्तार गर्नुभएको छ । विगत छ वर्षदेखि व्यावसायिक केराखेती सुरु गर्नुभएका कार्कीले करिब २० रोपनी खेतबारीमा खेती विस्तार गर्नुभएको छ ।     
      

यस वर्ष बगरफाँटमा रहेको खेतमा पनि केराखेती विस्तार गर्ने योजना रहेको कार्कीले बताउनुभयो । खेती गर्न सजिलो, लगानी धेरै नहुने र उत्पादन भएको केराको सहज बजारीकरण हुने भएकाले परम्परागत अन्नबाली छाडेर नगदेबालीको रुपमा केराखेती विस्तार गरेको उहाँको भनाइ छ । कार्कीले अहिले वार्षिक रु छ लाख बढी आम्दानी हुने गरेको जानकारी दिनुभयो ।     
      
कार्की जस्तै स्थानीय चन्द्रबहादुर घिमिरेले पनि १० रोपनी बारीमा केराखेती गर्नुभएको छ । धानखेती गर्दा धेरै खेताला चाहिने र लगानी अनुसारको उत्पादन नहुने भएपछि केराखेतीमा लागेको उहाँले बताउनुभयो । “केरा लगाएको दुई वर्षमा फल दिन सुरु हुन्छ । एउटा बोट लगाएपछि आफैँ घारीको रुपमा विस्तार हुन्छ । यो वर्ष थप तीन रोपनी खेतमा केरा लगाउन सुरु गरेको छु, अहिले मासिक रुपमा रु १५ देखि २० हजारको केरा बिक्री हुँदै आएको छ”, उहाँले भन्नुभयो ।     
      
खबरा क्षेत्रमा चन्द्रबहादुर कार्की, सोवित शर्मा, प्रेमबहादुर कुँवर, राजीप घिमिरे, डोलेन्द्र सापकोटा, गणेश जिसी, रामकृष्ण खड्का, ध्रुव सापकोटा, मानबहादुर थापालगायतले प्रत्येकले १० रोपनी बढीमा केरा खेती गर्दै आउनुभएको छ ।     
      
बेनी नगरपालिका–२ को सानो खबरा, ठूलो खबरा, अम्बोट, रोटेपानी, बगरफाँटलगायत बस्ती केराखेतीको पकेट क्षेत्र मानिन्छ । यो क्षेत्रका करिब दुई सय ५० किसानले छ सय ५० रोपनीभन्दा बढी क्षेत्रफलमा व्यावसायिक रुपमा केराखेती गर्दै आएका खबरा केरा पकेट विस्तार कार्यक्रमका संयोजक सोवित शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार सिङ्गो गाउँ नै केराखेतीमा लागेपछि यहाँका स्थानीयको आर्थिकस्तरम सुधार हुँदै गएको छ ।     
      
गत वर्षमा केरा बिक्री गरेर गाउँमा रु तीन करोड भित्रिएको संयोजक शर्माले जानकारी दिनुभयो । “गाउँमा केराखेतीको लहर चलेको छ, उपयुक्त उर्भर भूमि भएकाले पनि केराखेतीमा लागेकाहरु उत्साहित बनेका छन्”, उहाँले भन्नुभयो, “उत्पादन भएको केरा खरिद गर्न बेनी र बागलुङ बजारबाट व्यापारी गाउँसम्म आइपुग्छन् ।”     
      
यस क्षेत्रमा चिनीचम्पा, हजारिया, धुर्से, मुरेलगायत प्रजातिका केरा उत्पादन हुने गरेको संयोजक शर्माले बताउनुभयो । उहाँका अनुसार खबरा क्षेत्रमा परम्परागत रुपमा घरायसी प्रयोजनका लागि केराखेती हुँदै आएकामा एक दशक अघिबाट केराको व्यावसायिक खेती सुरु भएको हो ।     
      
गाउँका अधिकांश किसानले धान, गहुँ, मकै लगायतका परम्परागत खाद्यबाली लगाउन कम गरिसकेका छन् । खेतीयोग्य जमिन अधिकांशमा केराखेती विस्तारको अभियान चलेको छ । केरामा अत्यधिक सम्भावना देखिएपछि बेनी नगरपालिकाले यस क्षेत्रमा केरा पकेट विकास कार्यक्रम सञ्चालन गरेर व्यावसायिकता र क्षेत्र विस्तारमा सहयोग गर्दै आएको छ ।     
      
गत वर्षदेखि सुरु भएको केरा पकेट कार्यक्रमअन्तर्गत नगरपालिकाले क्षेत्र विस्तार, थोपा सिँचाइ, तालिम, औँजार उपकरण, मल, बिरुवालगायत क्षेत्रमा अनुदान सहयोग गर्न थालेको छ । गतवर्ष नगरपालिकाको रु ११ लाख र किसानको रु ११ लाख साझेदारीमा एक सय रोपनी बढीमा केराखेतीको क्षेत्र विस्तारसँगै मल, बिरुवा र आँैजार उपकरणमा सहयोग गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख आकृति ढुङ्गानाले जानकारी दिनुभयो ।     
      
उहाँका अनुसार, चालु आर्थिक वर्षमासमेत नगरपालिकाले रु छ लाख र समुदायको रु छ लाख साझेदारीमा केराका बिरुवा वितरणसँगै थोपा सिँचाइ विस्तार र केराको बहुआयामिक उपयोगिताको सन्दर्भमा तालिम सञ्चालन गरिएको छ । गतवर्ष छ हजार दुई सय बोट केरा विस्तार गरिएकामा चालु आर्थिक वर्षमा थप तीन हजार पाँच बिरुवा लगाएर खेती विस्तार गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।     
      
केराको व्यावसायिक खेतीगर्दै आएका यहाँका किसानले फल र बोट दुवैबाट आयआर्जन गर्न थालिसकेका छन् । केराको थामबाट रेशा निकालेर फाइबर, धागो, कपडा र सेनेटरी प्याड बनाउने र खेर गएको थामको थुलोबाट कम्पोष्ट मल बनाउने तालिम लिएपछि केराखेतीमा लागेका किसानले बोट र फल दुवैबाट आयआर्जन गर्न थालेका कृषि शाखा प्रमुख ढुङ्गानाले बताउनुभयो ।     
      
गर्मीयाममा केराको बजार अभाव नहुने भए पनि चिसो मौसममा बजार अभाव हुने भएकाले स्थानीयले केराबाट पाउडर, चिप्स, बिस्कुट बनाउने प्रविधिको खोजी गर्न थालेका उहाँको भनाइ छ ।     

प्रकाशित मितिः शुक्रबार, २५ जेठ २०८१
https://jawaaf.com/storage/01HZRZE27HBGT0BW9B00BZ47H2.jpg

गणेश हिमालको आधार शिविरसम्म पदमार्गको खोजी

गोरखा, २५ जेठ I गोरखाको उत्तरी क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिकास्थित गणेश हिमाल आधार शिविरसम्म पुग्न पदमार्गको सम्भाव्यता अध्ययन गरिएको छ । धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष सानेबहादुर गुरुङले पर्यटन प्रवद्र्धनमा थप मद्दत पुग्ने अपेक्षासहित गणेश हिमालको आधार शिविरसम्म पदमार्गको पहिचानका लागि प्रारम्भिक अध्ययन गरिएको जानकारी दिनुभयो ।     
     
स्थानीय सरोकार भएकाहरू सहित इन्फ्रा डेभलपमेण्ट कन्सल्ट्यान्टको टोलीले करिब चार हजार आठ सय १० मिटर उचाइसम्म पुगेर पदमार्गको सम्भाव्यता अध्ययन गरेको उहाँले बताउनुभयो । सम्भावित पदमार्गको कतिपय ठाउँमा खानेपानीको समस्या देखिएकाले कहाँबाट पानी ल्याउन सकिन्छ भन्नेमा थप अध्ययन गर्न बाँकी रहेको उहाँले बताउनुभयो । ‘‘विसं २०७९ मा धार्चेसम्म गणेश हिमाल पदमार्ग सम्भाव्यता अध्ययन भइसकेको थियो, चुमनुब्रीतर्फ काम भएको थिएन, यसपटक प्रारम्भिक अध्ययनको काम सम्पन्न गरिएको छ’’, अध्यक्ष गुरुङले भन्नुभयो ।     
     
अध्ययनका क्रममा पदमार्गमा पर्यटक बस्नका लागि सुरक्षित क्याम्प रहने स्थान, जोखिमपूर्ण स्थानलगायतको पनि अध्ययन गरिएको थियो । धार्चे र चुमनुब्री गरी गणेश हिमाल पदमार्ग पूरा गर्न करिब एकहप्ता लाग्ने अनुमान गरिएको छ ।     
     
टोलीले सल्लेरी, पातीबाट देवल, दोङकरचेत, लङ्तखर्क, भीमाथाङखोला हुँदै गणेश हिमालको आधार शिविरसम्म पदमार्गको अध्ययन गरेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । ‘‘पदमार्गको ठाउँठाउँमा साइन बोर्ड राख्नुपर्ने र तीन ठाउँमा पुल हाल्नुपर्ने अध्ययनका क्रममा पाइएको छ”, उहाँले भन्नुभयो, “त्यति गर्नसके पदमार्गमा पर्यटक भित्र्याउन सकिन्छ ।’’   

प्रकाशित मितिः शुक्रबार, २५ जेठ २०८१
https://jawaaf.com/storage/01HZRQPGFYAZD1A57N1GHNXM1D.jpg

नौ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब

काठमाडौँ, २५ जेठ I  नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/ ८१ को नौ महिनामा रु ११ अर्ब छ करोड बराबरको नाफा कमाएको छ । प्राधिकरणको चालु आवको चैत महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कूल रु ९३ अर्ब ९४ करोड आम्दानी गरेको छ ।
 
प्राधिकरणले सूचनाको हकसम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम सार्वजनिक गरेको विवरणअनुसार विद्युत्् खरिद, प्रशासनिक, आयोजनामा लगानीलगायतमा जम्मा रु ८२ अर्ब ८८  करोड खर्च भएको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत् बिक्री र खरिद तथा आयोजनामा हुने गरेको छ ।
 
प्राधिकरणले यसअवधिमा रु ११ अर्ब छ करोड नाफा (करकट्टी गर्नुअघि अपरिष्कृत) आर्जन गरेको हो । गत आर्थिक वर्ष २०७९÷८० को सोही अवाधिमा प्राधिकरणको नाफा रु आठ अर्ब ८८ करोड थियो । गत आवको मुनाफा रु १३ अर्ब ३७ करोड थियो ।
 
प्राधिकरणको सञ्जित मुनाफा रु ३३ अर्ब ६४ करोड पुगेको छ । आव २०७२÷७३ मा रु आठ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुबाट निरन्तर नाफामा छ । विद्युत्् चुहावट नियन्त्रण, आन्तरिकरुपमा तथा भारतर्फको विद्युत् निर्यात बढ्दा आम्दानीमा भएको वृद्धि, खर्च नियन्त्रणलगायतले गर्दा चालु आवको नौ महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताउनुभयो ।
 
प्राधिकरणले चालु आवको नौ महिनामा विद्युत् बिक्रीबाट रु ६८ अर्ब ८९ करोड खुद सङ्कलन गरेको छ । यस अवधिमा देशभित्रका निजी क्षेत्रका ऊर्जा उत्पादकबाट र आफ्ना सहायक तथा सम्बद्ध कम्पनीबाट विद्युत्् खरिदका रु ३८ अर्ब २० करोड भुक्तानी गरिएको छ ।
 
यसअवधिमा हिउँदयामको माग धान्न रु ११ अर्ब ५५ करोडको विद्युत्् भारतबाट आयात गरिएको छ । आन्तरिक रुपमा खपत गरी बढी भएको रु १३ अर्ब ४२ करोड बराबरको विद्युत्् भारततर्फ निर्यात गरिएको प्राधिकरणले जनाएको छ । 
 
आफ्नो स्रोतबाट झण्डै १८ अर्ब खर्च
 
प्राधिकरणले आफूले कमाएको नाफाबाट चालु आवको चैत महिनासम्ममा रु १७ अर्ब ८२ करोड विद्युत्् उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाको लगानी गरेको छ । यसअवधिमा सरकारले विभिन्न आयोजना र ग्रामीण विद्युतीकरणका लागि प्राधिकरणलाई रु एक अर्ब ६३ करोड ऋण दिएको छ ।
 
सरकारले दिएको ऋण र आफ्नो स्रोतबाट यस अवधिमा रु १९ अर्ब ४५ करोड विकास बजेट खर्च भएको छ । यसअवधिमा वैदेशिक सहायतातर्फबाट रु १४ अर्ब ४३ करोड खर्च भएको छ ।
 
सरकारको बजेट सीमितताका कारण सरकारबाट लगानीका लागि पर्याप्त रकम पाउन सकिरहेका छैनौँ, यस्तो जटिल अवस्थामा संस्थाले कमाएको नाफाबाट विद्युत्् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरण, विद्युतीकरणतर्फका आयोजनामा प्राधिकरणले हरेक वर्ष अर्बौं रुपैयाँ लगानी गरिरहेको छ I

प्रकाशित मितिः शुक्रबार, २५ जेठ २०८१
https://jawaaf.com/storage/01HZRM645CADF57VXEZPESD02H.jpg

विद्यालय हाताभित्र राजनीतिक कार्यक्रम गर्न निषेध

फिक्कल (इलाम), २५ जेठ I जिल्लाको चुलाचुली गाउँपालिकाले शिक्षकलाई राजनीतिमा पूर्ण प्रतिबन्ध लगाएको छ । गाउँ कार्यपालिका बिहीबारको बैठकले उक्त निर्णय गरेको हो गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङका अनुसार शिक्षकहरू आ–आफ्ना पेसागत सङ्घसङ्गठनमा आबद्ध भए तापनि कुनै राजनीतिक दलको सदस्यता लिन, त्यसका निम्ति भोट माग्न र प्रचारप्रसारमा प्रतिबन्ध लगाइएको छ ।     
      
शिक्षकहरूले निर्णय उल्लङ्घन गरेको पाइएमा सङ्घीय शिक्षा ऐन, २०२८ को दफा १६ (ङ)को उपदफा ५ (छ) बमोजिम कारबाही गर्ने निर्णय भएको अध्यक्ष केरुङले बताउनुभयो । “धेरैजसो शिक्षक कुनै न कुनै राजनीतिक पार्टीमा आबद्ध हुने र खुला राजनीति गर्ने क्रम बढेपछि त्यस्ता शिक्षकलाई स्थानीयस्तरबाटै राजनीति गर्न पूर्ण प्रतिबन्ध लगाउने कदम चालिएको हो”, अध्यक्ष केरुङले भन्नुभयो, “निर्णयलाई कडाइका साथ कार्यान्वयन गरिनेछ, कुनै शिक्षकले निर्णयको उल्लङ्घन गरेको पाइएमा शिक्षा ऐनबमोजिम कारबाही गरिनेछ ।”     
      
विद्यालय हाताभित्र राजनीतिक कार्यक्रममा रोक     
      
यसैबीच चुलाचुली गाउँपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिविधि तथा कार्यक्रम पनि आयोजना गर्न नपाइनेगरी प्रतिबन्ध लगाएको छ । “गाउँपालिकाभित्रका कुनै पनि शैक्षिक संस्थामा राजनीतिक दल र भातृ संस्थाका कार्यक्रम गर्न नपाउने व्यवस्था गरिएको छ”, अध्यक्ष केरुङले भन्नुभयो, “यसलाई कडाइका साथ कार्यान्वयन गरिनेछ ।”     
      
चुलाचुलीमा आठवटा माध्यमिक विद्यालय, १३ आधारभूत विद्यालय, दुई सामुदायिक सिकाइ केन्द्र र १६ वटा बालविकास केन्द्र छन् । त्यहाँ पाँच हजार बढी विद्यार्थी अध्ययनरत छन् । चुलाचुलीले शैक्षिक गुणस्तर सुधारका लागि सबै सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा र अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्दै आएको छ । चुलाचुलीले अङ्ग्रेजी माध्यमका लागि २५ जना शिक्षक दरबन्दी खडा गरी अनुदान दिँदै आएको छ । तीन तहका विद्यार्थीलाई गाउँपालिकाले निःशुल्क पाठ्यपुस्तक र पाठ्यसामग्री उपलब्ध गराउँदै आएको छ ।     
      
स्थानीय भाषाको प्रवर्द्धनका लागि चुलाचुलीले ‘मातृभाषा शिक्षा’ समेत लागू गरेको छ । चुलाचुली–१ को जनता मावि, फाल्गुनन्द बहुभाषिक लफाङ पाठशाला, शिवज्योति आवि र चुलाचुली–४ किराँत चोलुङ आविमा ‘लिम्बू भाषा’ पठनपाठन गर्दै आएको छ । ‘मातृभाषा शिक्षा’का लागि गाउँपालिकाले एक–एक जना भाषा शिक्षक अनुदान उपलब्ध गराएको छ ।     
 

प्रकाशित मितिः शुक्रबार, २५ जेठ २०८१
https://jawaaf.com/storage/01HZPM4RJN0ENT8J4MJ7TAES4A.jpg

नेप्से परिसूचक ओरालो

काठमाडौँ, २४ जेठ I धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । लगातार ओरालो लागेको बजार आज पुनः थप ओरालो लागेको हो ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक एक दशमलव ९३ अङ्कले ओरालो लागेर दुई हजार ७७ दशमलव ७८ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २७ अङ्कले ओरालो लागेर तीन सय ७० दशमलव ३४ मा सीमित भएको छ । कूल ८८ लाख १३ हजार तीन सय ७४ कित्ता शेयर रु चार अर्ब ३८ करोड ८२ लाख ७८ हजार सात सय २० मूल्यमा खरिद बिक्री भए । 

नेप्सेका अनुसार, इमर्जिङ नेपाल,मिड सोलु हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । बुद्धभूमि नेपाल हाइड्रोपावर नौ दशमलव ८८,माण्डु हाइड्रोपावर आठ दशमलव ४३ र सुपर मादी हाइड्रो पावरका लगानीकर्ताले सात दशमलव ५८ कमाएका छन् ।  त्यस्तै,माई खोला हाइड्रोपावर छ दशमलव ४०,ज्योति विकास बैंकको ऋणपत्र पाँच दशमलव ३१, नारायणी डेभलपमेन्ट बैंक पाँच दशमलव ३१, पोखरा फाइनान्स पाँच १२ र स्वाभिमान लघुवित्तका लगानीकर्ताले चार दशमलव ५६ प्रतिशतले गुमाए ।

प्रकाशित मितिः बिहिबार, २४ जेठ २०८१