खोलाले बगाउँदा विद्यार्थीको मृत्यु
किमाथाङ्का (सङ्खुवासभा), २४ जेठ I सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्याक्सिलागोलामा खोलाले बगाउँदा एक विद्यार्थीको मृत्यु भएको छ ।
वाङ खोलाले बगाउँदा भोटखोला–२ च्याम्ताङका चार वर्षीय बुद्धसियन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो । उनी कृष्ण माध्यमिक विद्यालय स्याक्सिलागोलामा कक्षा १ मा अध्ययरत थिए ।
लामा बुधबार दिउँसो साथीहरुसँगै विद्यालय नजिकैको वाङ खोलामा खेल्न गएका थिए । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । घटनास्थल सदरमुकाम खाँदबारीबाट दुई दिनको पैदल दुरीमा पर्छ ।
इँटाभट्टामा काम गर्ने बालबालिकाको पढाइ प्रभावित
टीकापुर (कैलाली), २४ जेठ I कैलालीको टीकापुरस्थित शक्तिदेवी आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत रविका चौधरी बुवाआमासँगै इँटाभट्टामा जानुहुन्छ । आठ वर्षीया रविकाले बुवाआमाले इँटाभट्टामा काम गरिरहँदा दुई वर्षीय भाइ स्याहार्नुहुन्छ । उहाँले गत वर्ष सात महिना इँट्टाभट्टामा बसेकाले परीक्षा नै दिन पाउनुभएन ।
अहिले पनि रविका कक्षा २ मा अध्ययन गरिरहनुभएको छ । उहाँले अब तीन महिनामात्र विद्यालयमा पढ्न पाउनुहुन्छ । “इँट्टाभट्टामा काम गर्ने अभिभावकका बालबालिका जेठमा विद्यालय आउँछन् । त्यसपछि केही दिन बर्खे बिदा हुन्छ”, अभिभावक मीना चौधरीले भन्नुभयो, “त्यसपछि दसैँ बिदा हुन्छ । दसैँ मनाएर अभिभावकसँगै बालबालिका इँट्टाभट्टामा जान्छन् । त्यहाँ पढ्ने वातावरण नै हुँदैन ।” इँट्टाभट्टामा काम गर्नु अभिभावकको बाध्यता रहेको उहाँको भनाइ छ ।
बालबालिकाको जीविकोपार्जन गर्न टीकापुरका सयौँ अभिभावकले इँट्टाभट्टामा काम गर्छन् । बुबाआमा दुवै इँट्टाभट्टामा गएपछि बालबालिका पनि सँगै जान्छन् । टीकापुरको विजयनगर बस्तीकी हिमानी थारूका दम्पती लामो सयमदेखि इँट्टाभट्टामा काम गर्दै आउनुभएको छ । हरेक वर्ष सात महिना इँट्टाभट्टामा बस्ने उहाँहरूको बाध्यता हो । काम गर्दा दुई बालबालिका पनि सँगै लैजानुहुन्छ । घरमा बच्चा स्याहार्ने मानिस नभएकाले बालबालिकासँगै लैजानुपर्ने बाध्यता रहेको हिमानीको भनाइ छ ।
इँट्टाभट्टामा लैजाँदा बच्चाको पढाइ बिग्रन थालेको उहाँले बताउनुभयो । “बच्चा पढाउने मन त छ तर के गर्नु बाध्यताले मिल्दैन”, उहाँले भन्नुभयो, “बच्चाको भविष्य बिग्रेको थाहा हुँदाहुँदै पनि गरिबीले केही गर्न सकिएको छैन ।”
शक्तिदेवी आधारभूत विद्यालयका शिक्षक कल्पना खड्काले विद्यालयमा ३० देखि ४० जना बालबालिका अभिभावकसँगै इँट्टाभट्टामा जाने गरेकाले पढाइ प्रभावित हुँदै गएको बताउनुभयो । “आमाबुबाले आफूसँगै बच्चा लैजान्छन्, यसरी गएका बालबालिका कोही पछि परीक्षा दिन आउँछन्, कोही आउँदैनन्”, उहाँले भन्नुभयो, “असोजदेखि जेठसम्म बालबालिका दुई–तीन महिनामात्रै पढेको कुरा बिर्सन्छन् । अनि वर्षौँसम्म एउटै कक्षामा दोहोरिएर पढ्ने गरेका छन् ।”
टीकापुरको मुक्तकमैया आधारभूत विद्यालयका प्रधानाध्यापक राजाराम ढकालले विद्यालयका ४० जनाभन्दा बढी बालबालिका बुबाआमासँग काममा जाँदा पढाइमा असर पर्ने गरेको बताउनुभयो । “बालबालिका आमाबुबासँगै जाने, ठूला बच्चाले साना बच्चा स्याहार्ने वा बुबाआमाको काममा सघाउने गर्छन्”, उहाँले भन्नुभयो, “बालबालिकाको पढाइ प्रभावित भएकाले सिकाइ सुधार गर्न थप कक्षा सञ्चालनको पहल थालेका छौँ । एउटा संस्थासँग सहकार्य गरेर थप कक्षा सञ्चालन गर्ने तयारी भइरहेको छ । यस्ता बालबालिकाको शिक्षामा पालिकाले पनि ध्यान दिनुपर्छ ।”
एक सय ५१ विद्यार्थी रहेको मुक्तकमैया विद्यालयमा ४० भन्दा बढी बालबालिकाको पढाइ अनियमित हुने गरेको ढकालको भनाइ छ । “बालबालिकाले पढ्न पाउनु उनीहरुको नैसर्गिक अधिकार भए पनि गरिबीका कारण अभिभावकले पढाइमा ध्यान दिन सकिरहेका छैनन्”, उहाँले भन्नुभयो ।
टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले टीकापुरमा यस्तो समस्या देखिएकाले केही वर्षदेखि यसलाई रोक्ने प्रयास भइरहेको बताउनुभयो । “अभिभावकलाई सचेत गर्ने र बालबालिकालाई विद्यालय पठाउँदा बालश्रम रोकिन्छ भनेर जानकारी दिने काम गरिरहेका छौँ । दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने अभिभावकका लागि अभिभावक शिक्षा, आयआर्जनका क्रियाकलाप सञ्चालन गर्ने तयारी भइरहेका छन्”, उहाँले भन्नुभयो, “बालबालिकाले इँट्टाभट्टामा काम गर्न वा अभिभावकसँगै जानु नपरोस् भनी प्रयास गरिरहेका छौँ, हालसम्म रोक्न भने सकिएको छैन ।”
आलेखः भक्तपुर अस्पताल बन्यो देशभरकै उत्कृष्ट
- रमेश गिरी
भक्तपुर, २४ जेठ I सेतो लामो एकतले भवन । जस्ताको छानो भए पनि राणाकालीन शैलीझैँ देखिने उक्त भवनमा आजभन्दा एक सय २० वर्ष अगाडि ‘श्री चन्द्रलोक डिस्पेन्सरी’को नामबाट स्वास्थ्य सेवा सुरु गरेको नेपालकै दोस्रो पुरानो अस्पताल हो ‘भक्तपुर अस्पताल’ ।
स्थापनाको सय वर्ष पार गरिसक्दा पनि सेवा विस्तारदेखि स्तरोन्नतिमा पछाडि पर्दै आएको यस अस्पताल मेडिकल माफियाका चुङ्गुलमा पर्दा वर्षौँसम्म ‘रिफर सेन्टर’का रूपमा परिणत भएको थियो । भ्रष्टाचारसम्बन्धी विवाद आइरह्यो, जनताको विश्वास गुम्दा बिरामीले भक्तपुर अस्पताल रोज्न छाडे । भक्तपुर अस्पताल आफँै बिरामी भनेर कयौँपटक समाचार आए पनि ।
तर कोरोना महामारीको सङ्कटमा भक्तपुर अस्पतालको नेतृत्व सम्हाल्न आइपुग्नुभएकी एक महिला प्रमुखको अथक मेहनत र प्रयासले अहिले यो अस्पताल लगातार दुईपटक देशका सात प्रदेशमध्येका उत्कृष्ट अस्पताल बन्न सफल भएको छ । यस वर्ष पनि देशभरमा अस्पतालमध्ये उत्कृष्ट अस्पताल बन्न सफल भयो ।
भ्रष्टाचार, कमिसन र माफियाको चुङ्गुलबाट अस्पताललाई जोगाउने र निश्चित नियम एवं मापदण्डको परिधिभित्र रहेर अस्पताल सञ्चालन गर्ने हो भने भौतिक पूर्वाधारदेखि स्वास्थ्य सेवामा समेत जनताको मन जित्ने गरी फड्को मार्न सकिन्छ भन्ने उदाहरण भक्तपुर अस्पतालमा तेस्रोपटक मेडिकल डाइरेक्टर भएर आउनुभएकी डा सुमित्रा गौतमले चरितार्थ गरेर देखाउनुभएको छ ।
सेवा विस्तार गर्न नसक्दा, आइसीयू नहुँदा, आकस्मिक कक्षमा आएका बिरामीलाई सामान्य जाँचपछि निजी अस्पतालमा पठाउने परम्पराले क्लिनिकको रूपमा बदनाम बन्दै आएको यस अस्पतालको नेतृत्वमा इच्छाशक्ति बलियो भएको प्रमुख आउँदा अस्पतालको स्वरुप परिवर्तन हुन्छ भन्ने भनाइलाई डा गौतमले चरितार्थ गरेको भक्तपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष नवराज गेलाल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “म दुई वर्ष भक्तपुर अस्पतालको अध्यक्ष भइरहँदा दुई जना मेसु फेरिए, मैले पटकपटक मन्त्रालय धाएर पाँच शय्याको आइसीयू सञ्चालनका लागि सबै सामान ल्याएँ तर तत्कालीन मेसुले आइसीयू सञ्चालन गर्न नै चाहनुभएन ।” अहिले कमिसन र भ्रष्टाचारको दलदलबाट अस्पताललाई जोगाउन सकिएको उहाँको भनाइ छ ।
अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष प्रेम खड्का भक्तपुर अस्पताललाई प्रदेश नभई सरकारले केन्द्रीय अस्पतालको रुपमा विकास गर्नुपर्ने बताउनुहुन्छ । आफू अध्यक्ष हुँदा त्यसको लागि निकै पहल गरेको भए पनि असफल भएको भन्दै केन्द्रीय सरकारको छायाँमा परेको र आफ्ना स्वार्थमात्रै हेर्ने प्रमुख आउँदा अस्पताल समस्यामा पर्ने गरेको बताउनुहुन्छ । अहिले अस्पतालको मुहार फेरिएको देख्दा आनन्द आउने बताउँदै उहाँले केही गर्छु भन्ने व्यक्तिलाई सम्बन्धित मन्त्रालयले अनावश्यक सरुवा गर्न नहुने बताउनुहुन्छ ।
अस्पताल विकास समितिको अध्यक्ष रमन कायस्थले अस्पताल एउटा जिल्लाको लागि मात्रै नभई पूर्वी जिल्लाका बिरामीका लागि भरोसाको केन्द्र बनिरहेको बताउनुभयो । बिरामीमा यस अस्पतालप्रति बढिरहेको बिश्वास र भरोसालाई टुट्न नदिन सरकारले मेडिकल माफियाको चुङ्््गुलमा परेर अस्पतालका निर्देशक छिटो फेर्ने प्रचलन बन्द गर्नु पर्ने उहाँ बताउनुहुन्छ ।
तत्कालीन श्री ३ प्रधानमन्त्री चन्द्रशमशेर राणाले १९६१ असार १७ गते आफ्नै नाम जोड्दै १५ शय्याको ‘श्री चन्द्रलोक डिस्पेन्सरी’ नामबाट स्थापना गर्नुभएको भक्तपुर अस्पताल अहिले नेपालकै दोस्रो जेठो अस्पतालको रुपमा परिचित छ । १९४७ साउन १२ गते श्री ३ वीरशमशेरले स्थापना गरेको नेपालकै पहिलो वीर अस्पतालपछि स्थापना भएको भक्तपुर अस्पताल जन्मिएको भवन यतिखेर भक्तपुर क्यान्सर अस्पतालले प्रयोग गरिरहेको छ ।
विसं २०५१ मा क्यान्सर केयर सेन्टरको नाममा नेपाल अबुर्द रोग निवारण संस्थाले भक्तपुर अस्पतालसँगको समन्वयमा उक्त भवन लिएर नेपालकै पहिलो क्यान्सर रोग विशेषज्ञ एवं शल्य चिकित्सक डा अञ्जनीकुमार शर्माको नेतृत्वमा क्यान्सर रोगको परीक्षण सुरु गरिएको थियो । २०५६ असोज २१ गते तत्कालीन राजा श्री ५ वीरेन्द्रले उद्घाटन गर्नुभएको उक्त क्यान्सर केयर सेन्टर अहिले नेपाल सरकारको सुविधासम्पन्न क्यान्सर अस्पताल बनिसक्दा पनि एक सय २० वर्ष पुरानो त्यो भवन अस्पतालकै रुपमा उपयोगमा आइरहेको छ ।
भक्तपुर नगरपालिका–१, दूधपाटीमा रहेको भक्तपुर अस्पताल ६७ वर्षपछि २०२८ सालमा ५० शैय्यामा विस्तार भई जिल्लास्तरीय अस्पतालको पहिचान बनाएको थियो । २०५८ जेठ १९ गते आकस्मिक (इमर्जेन्सी) सेवाको लागि अमेरिकी सैनिक सहयोगमा छुट्टै भवन निर्माण गरिदिएपछि आकस्मिक उपचार सेवा सुरु गरेको थियो । २०६१ भदौ २८ गते २५ शय्याको प्रसूति सेवा थप भई ७५ शय्यामा विस्तार हँुदै २०७६ चैत ३ गते अस्पताल व्यवस्थापन समितिले २५ शय्या थप गरी १०० शय्यामा विस्तार गरी सञ्चालनमा आएको थियो ।
कोरोना महामारीमा उपचार नपाउने अवस्थामा पहिलोपटक अस्पतालको जिम्मेवारी सम्हाल्न २०७६ मङ्सिर २० गते सिन्धुली अस्पतालबाट सरुवा भई आउनुभएकी डा सुमित्रा गौतमले अगाडि चौरमा तत्कालै अस्थायी कोरोना वार्ड स्थापना गरेर उपचार सुरु गर्नुभयो । कोरोना महामारीमा राख्ने शय्याको अभाव । न आइसीयू, न भेन्टिलेटर, न त जनशक्ति नै पर्याप्त थियो ।
उहाँको पहलमा अस्पताल स्थापना भएको एक सय १५ वर्षपछि पहिलोपटक कोभिडकालमा भक्तपुरमा आइसीयू सेवा सुरु भयो । बागमती प्रदेश सरकारले कोभिडका बिरामीहरुको उपचारका लागि भन्दै सुरुमा छ र पछि १० शय्या थप गरी १६ शय्याको सघन उपचार कक्ष (आइसीयू) सञ्चालन भयो । त्यसपछि आइसोलेसन वार्ड, नवजात तथा बालबालिकाको जटिल उपचारका लागि २० शय्याको पिआइसीयू र एनआइसीयूसहित एक सय ८८ शय्यामा सेवा विस्तार गर्दै सङ्कटकालमा पनि गुनासो नआउने गरी अस्पतालले सेवा सञ्चालन गर्यो ।
चीनबाट पहिलोपटक उद्धार गरेर सरकारले खरिपाटीस्थित आइसोलेसन सेन्टरमा नेपाली विद्यार्थी ल्यायो । सर्वत्र त्रास फैलिएको बेलामा आइसोलेसनमा जाने चिकित्सक टोली तयार भएनन् । त्यो सङ्कटमा प्रदेश सरकारको आग्रहलाई स्वीकार्दै तत्कालीन मेसु डा गौतमको नेतृत्वमा भक्तपुर अस्पताल, क्यान्सर अस्पताल र मानव अङ्गका स्वास्थ्य टोली तयार पारेर चिकित्सकसहितको टोली आइसोलेसन सेन्टरमा खटियो ।
विसं २०७७ साउन २५ गते सङ्घीय मन्त्रालयको निर्णयअनुसार एक सय नौ शय्या थप गरी यो अस्पताल दुई सय नौ शय्या सञ्चालनका लागि स्वीकृति प्राप्त भई कोभिड–१९ को महामारीकै समयमा कोरोनाको उपचार, अक्सिजन प्लान्ट सञ्चालनदेखि आइसीयूमा रहेका बिरामी कुरुवा घरसमेत निर्माण भयो । कुरुवा घर, सुन्दर बगैँचा, बिरामी र आफन्त बस्ने विश्रामस्थललगायतका संरचना निर्माण हुँदा अस्पतालप्रति बिरामीको र कुरुवाले ठूलै राहत महसुस गरे । निजी अस्पतालको भर परेका बिरामीसमेत यहाँ आउन थालेपछि बहिरङ्गतर्फ दैनिक तीन सय बिरामी आउने अस्पतालमा दैनिक आठ सय बिरामीको चाप पुगेको छ ।
‘रिफरल सेन्टर’का रूपमा परिचित भक्तपुर अस्पताल गुणस्तरीय सेवाका कारण सरकारको मूल्याङ्कनमा पहिलोपटक बागमती प्रदेशको उत्कृष्ट अस्पताल घोषणा हुन सफल भयो । अहिले बागमती प्रदेश सरकारले यस अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गर्ने निर्णय गरी एक हजार छ सय ६९ जना (प्राविधिकसहित) कर्मचारीको सङ्गठन संरचना स्वीकृत गर्दै अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले यसै आर्थिक वर्षमा खरिद गर्ने गरी करिब रु आठ करोड मूल्यको सिटी स्क्यान मेसिन खरिद गर्ने भएको छ ।
अस्पतालकी निर्देशक डा गौतम अस्पताल आएका कुनै पनि बिरामी उपचार नपाइ फर्किनु नपरोस् भनेर अस्पतालले २४सै घण्टा आकस्मिक सेवा, स्त्रीरोग, प्रसूति सेवा, आमा सुरक्षा कार्यक्रम सञ्चालन गरेको बताउनुहुन्छ । अहिले अस्पतालमा दूरबिन प्रविधिबाट शल्यक्रिया, अल्जाइमर्स, सर्जरी, बालरोग, दन्तरोग, छाला रोग, मानसिक रोग, फिजियोथेरापी, आँखा तथा चश्मा जाँच, स्वास्थ्य बीमा सेवा, अल्ट्रासाउण्ड सेवा, पाठेघरको निःशुल्क शल्यक्रिया तथा निःशुल्क प्रसूति सेवालगायत विभिन्न सेवा विस्तार भएको छ । अस्पतालले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएर औषधि खरिदमा १० प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।
त्यसैगरी लैङ्गिक हिंसामा परेका महिला तथा पुरुषका लागि अस्पतालमा सञ्चालित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएर कुनै पनि हिंसामा परेकालाई स्वास्थ्य सेवा, सुरक्षा एवं कानुनी सेवासमेत दिने व्यवस्था गरेको निर्देशक डा गौतम बताउनुहुन्छ । अस्पतालले पेइङ क्लिनिक सेवा पनि सञ्चालनमा ल्याएको छ । अस्पतालको ओपिडी सेवा सकिएपछि दिउँसो ३ बजेदेखि र बिहान ९ बजे अगाडि पेइङ सेवा सञ्चालनमा ल्याएको हो । साथै विभिन्न जटिल शल्यक्रिया, खुट्टा, छाती, पेटलगायत विशेष अङ्गहरूको भिडियो एक्सरे सेवा र प्रत्येक दिन बुधबार ३ बजेपछि अपाङ्ग बच्चा नजन्मियोस् भनेर गरिने भिडियो एक्सरे अर्थात् एनोमली स्क्यान र दूरबिन प्रविधिबाट शल्यक्रिया सेवासमेत सञ्चालनमा ल्याएको छ ।
दुई वर्षमा अस्पतालको मुहार फेरेपछि दैनिक दुई सय ५० देखि तीन सय बिरामीको उपचारमा आउने यस अस्पतालमा अहिले दैनिक आठ सयभन्दा बढी बिरामी आउने गरेका छन् । अस्पतालको सेवा खस्किएको भन्दै चौतर्फी आलोचना भएपछि पुनः २०७९ भदौ २९ गते भक्तपुर अस्पतालमा मेडिकल सुपरिटेण्डेन्टमा काज सरुवा भएर आफू आएपछि बन्द भएका बच्चाको आइसीयू, एनआइसीयूलगायत बिभिन्न सेवाहरु सञ्चालन गरी प्रसूति सेवालाई समेत गुणस्तरीय बनाएपछि सरकारको मूल्याङ्कनमा पुन ९८ दशमलव सात प्रतिशत अङ्क ल्याएर सातै प्रदेशका प्रदेशस्तरीय अस्पतालमध्ये उत्कृष्ट अस्पतालको पहिचान बनाउन सफल भएको बताउनुभयो । \
अस्पतालकी निर्देशक डा गौतमले आफ्नो योजना, विकास समिति, सबै डाक्टर, नर्स, कर्मचारीको अथक प्रयास र सेवा सुधारले आफ्नै कार्यकालमा पहिलोपटक २०७७ मा ७४ अङ्क, २०७८ मा ८४ अङ्क ल्याउन सफल हँुदै पहिलो अस्पताल र २०८० को मूल्याङ्कनमा ९७ अङ्क र यस वर्ष ९८ अङ्क आएर देशकै उत्कृष्ट अस्पताल बनेकामा आफूलाई खुसी लागेको बताउनुहुन्छ । अस्पतालको निर्देशक डा गौतमको लगनशीलता, सेवामा गुणस्तरीयता र कर्मचारीको भरपर्दो साथले यस वर्ष पनि उत्कृष्ट अस्पताल घोषणा भएको भन्दै अध्यक्ष कायस्थले छिटोछिटो अस्पतालको नेतृत्व फेरबदल गरिनु नहुने धारणा राख्नुहुन्छ ।
विश्वकप छनोट : नेपाल र युएई भिड्दै
काठमाडौँ २४ जेठ I फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेल आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीच हुँदैछ । साउदी अरबको दमामस्थित प्रिन्स मोहमद विन फहद रङ्गशालामा नेपाली समयअनुसार राति ९ः४५ बजे खेल हुनेछ ।
यसअघि नेपाल र युएईबीच युएईको घरेलु मैदानमा भएको खेलमा नेपाल ४–० ले पराजित भएको थियो । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले युएईविरुद्धको खेलमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभएको । फिफा वरीयतामा युएई ६७औँ स्थानमा छ भने नेपाल एक सय ७८औँ स्थानमा छ ।
नेपाली टोलीमा गोलरक्षक कप्तान किरण चेम्जोङ (कप्तान) सहित विशाल सुनार र अभिषेक बराल छन् । त्यस्तै डिफेन्डरमा विमल पाण्डे, अभिषेक लिम्बू, अनन्त तामाङ, विशाल बस्नेत, छिरिङ लामा, सौभाग्य राई र रोहित चन्द छन् । यसैगरी मिडफिल्डरमा भरत खवास, लाकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, सुमन श्रेष्ठ, वसन्त जिम्बा र आशिष राई छन् । फरवार्डमा जिलेस्पीजङ्ग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, आयुष घलान र आशिक बाबु चौधरी छन् ।
चुहिने छानामुनि पढ्न बाध्य छन् कुँडेढोरका विद्यार्थी
गलकोट (बागलुङ), २३ जेठ I उप्किएका भित्ता, जीर्ण झ्यालढोका, मक्किएका काठले छाएको छानो । घामपानी र हावाहुरी नछेक्ने टहरो । हेर्दै जीर्ण भवनमा ओत लागेर पढ्छन्, निसेलढोरका बालबालिका ।
निसीखोला गाउँपालिका-६ निसेलढोरस्थित कुँडेढोर प्राथमिक विद्यालयका विद्यार्थीहरु यस्तै जीर्ण भवनमा पढ्न बाध्य छन् । विंसं २०६४ मा स्थापना भएको विद्यालयको हालसम्म भरपर्दो भवन बनेको छैन । ५२ जना विद्यार्थी अध्ययनरत विद्यालयमा शैक्षिक सामग्रीदेखि आधारभूत पूर्वाधारको अभाव छ ।
तीन वटा विद्यालय भवनमध्ये दुई वटा भवन कच्ची छन् । हावाहुरी र पानी पर्दा कक्षाकोठामा बस्नै मिल्दैन । यो विद्यालय जिल्लाको सबैभन्दा विकटमा पर्छ । बर्खा लागेपछि घुम्ती बसाइमार्फत २५ जना विद्यार्थी थपिन्छन् । पढाउनेक्रममै छानोको फलेक कुहिएर झर्ने गरेको र बर्खामा पानी चुहिने गरेको विद्यालयका निमित्त प्रधानाध्यापक रुद्र विकले जानकारी दिनुभयो ।
“विकटमा राज्यको नजर कम पर्दोरहेछ, बालविकास र कक्षा ४ सम्मका विद्यार्थीलाई कक्षाकोठा ठिकै छ तर, कक्षा ५ का विद्यार्थीलाई कक्षाकोठाको अभाव छ”, विकले भन्नुभयो, “गाउँपालिकामा भवन निर्माणका लागि बजेट माग गरिरहेका छौँ, यसपटक बजेट प्राप्त होला ।”
कक्षाकोठा उपयुक्त नहुँदा पठनपाठनमा असहज हुने गरेको कक्षा ५ मा अध्ययनरत छात्रा सृष्टी मगरले बताउनुभयो । “कक्षामा पानी पर्दा चुहिन्छ, हिउँ पर्दा पग्लेर कक्षा कोठा भरिन्छ”, मगरले भन्नुभयो । पाँच कक्षासम्म मात्रै पढाइ हुने यहाँका बालबालिका कक्षा छ देखि माथी पढ्न गाउँभन्दा बाहिर जानुपर्ने बाध्यता छ ।
निसेलढोरमा अस्थायी र स्थायी गरी दुई थरी बस्ती छन् । निसीखोला गाउँपालिकाको विभिन्न स्थानबाट धेरैजसो गर्मीको समयमा यहाँ खेतीपातीका आउँछन् र हिउँदमा बेंसी झर्छन् । ५० घरधुरी भने स्थायीरुपमा निसेलढोरमै बस्छन् ।
निसीखोला-५ निसीको ज्ञानेन्द्र माध्यामिक विद्यालयलाई २०६४ सालअघिसम्म घुम्ती विद्यालयका रुपमा निसेलढोरमा सञ्चालन गरिएको थियो । विसं २०६४ सालमा सोही विद्यालयको पूर्वाधारमा कुँडेढोर प्राथमिक विद्यालय स्थापना गरिएको हो । निसीखोला-५ निसीबाट सोही वडाको निसेलढोर आउन पाँच घण्टा पैदल हिँड्नुपर्छ ।
अष्ट्रेलियाली आर्थिक वृद्धिदर १.१ प्रतिशत
अष्ट्रेलियाको अर्थतन्त्र सन् २०२४ को पहिलो तीन महिनामा ०.१ प्रतिशतले वृद्धि भएको छ । अस्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस) ले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार जनवरीको सुरुदेखि मार्चको अन्त्यसम्म अस्ट्रेलियाको कुल गार्हस्थ उत्पादन (जीडीपी) ०.१ प्रतिशत र मार्चको अन्त्यसम्म १२ महिनामा १.१ प्रतिशतले बढेको छ ।
यो डिसेम्बर २०२० मा समाप्त १२ महिनाको अवधिपछि वार्षिक वृद्धिको सबैभन्दा सुस्त दर हो । तुलनात्मक रूपमा, अष्ट्रेलियाको कुल गार्हस्थ उत्पादनको अन्तिम तीन महिनामा ०.२ प्रतिशत र डिसेम्बर २०२३ मा १.५ प्रतिशतले बढेको छ ।
विवरणबारे कोषाध्यक्ष जिम चाल्मर्सले बजारको मध्यम वृद्धिको अपेक्षाभन्दा कम भएको जनाउनुभएको छ । कमजोर वृद्धिको प्राथमिक कारण उच्च ब्याज दर, मध्यम तर निरन्तर मुद्रास्फीति र चलिरहेको विश्वव्यापी अनिश्चितता लगायत भएको उहाँले बताउनुभयो । यद्दपी उहाँले घरेलु र विश्वव्यापी परिस्थितिका वृद्धि स्वागतयोग्य भएको जनाउनुभएको छ ।
एबीएसका अनुसार प्रतिव्यक्ति आधारमा आर्थिक गतिविधिको मापन गर्ने प्रतिव्यक्ति आयमा सन् २०२४ को पहिलो त्रैमासिकको सुरूसम्मको लगातार पाँचौँ त्रैमासिकसम्म गिरावट आएको छ । यो गत बर्षको सुरूदेखि यो बर्षको सुरूसम्मको अवधिमा लगातार १.३ प्रतिशतले घटेको छ ।
मातृभाषा पत्रकारिता प्रवर्द्धनका लागि आठ बुँदे घोषणापत्र
काठमाडौँ I दक्षिण एसियाली पत्रकारबीच साझा ऐक्यबद्धता र सहकार्य गर्न आठ बुँदे घोषणापत्र पारित गर्दै पहिलो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न भएको छ ।
यही जेठ १९ गते ललितपुर र २० गते भक्तपुरमा भएको दुई दिने सम्मेलनबाट काठमाडौँ (थिमी) घोषणापत्र जारी गरिएको हो । घोषणापत्रमा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का केन्द्रीय अध्यक्ष गजुरधन राई, सार्क जर्नालिष्ट फोरमका केन्द्रीय अध्यक्ष राजु लामा, सार्क जर्नालिष्ट फोरमका महासचिव एमडी अब्दुल रहेमान, फोरमको भारत च्याप्टरका अध्यक्ष सुधांशु अनिरुद्ध र भुटान पत्रकार सङ्घका किन्ले डिमले हस्ताक्षर गर्नुभएको छ ।
विसं १९८२ (नेपाल संवत् १०४५) मा पाटन निवासी धर्मादित्य धर्माचार्य (जगतमान वैद्य) ले भारतको कलकत्ताबाट बुद्ध धर्म र नेपाल भाषाको गरी पाँच वर्षसम्म निरन्तर पत्रिका प्रकाशन गर्नुभएको थियो । सो पत्रिका १९ अङ्कसम्म प्रकाशित भएपछि बन्द भएको थियो । नेपाल भाषाको पत्रकारिताको इतिहास सय वर्ष पुगेको सन्दर्भमा मातृभाषा पत्रकारिता शताब्दी वर्षअन्तर्गत सो सम्मेलन आयोजना गरिएको हो ।
नेवाः पत्रकार राष्ट्रिय दबूले सार्क जर्नालिष्ट फोरम तथा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सँग सहकार्य गरी सम्मेलन आयोजना गरेको हो । सम्मेलनको पहिलो दिन नेपालमा मातृभाषाको पत्रकारिताको प्रवृत्तिको अबको बाटो, विश्वमा मातृभाषाको पत्रकारिताको अवस्था, दोस्रो दिन मातृभाषा पत्रकारिताको विकासको लागि सरकारले के गर्नुपर्दछ भन्ने विषयमा सहभागी दक्षिण एसियाका पत्रकारबीच प्यानल छलफल भएको थियो ।
सम्मेलनमा वरिष्ठ पत्रकार पुष्करभक्त माथेमा, सुरजवीर बज्राचार्य, सहयोग रञ्जित र श्रीजना नेवाले, नेपालभाषाको पत्रकारिता, धर्मादित्य धर्माचार्य र मातृभाषाको पत्रकारिताबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी भारतमा सामुदायिक रेडियो, भारत मातृभाषा पत्रकारिताको विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो । उद्घाटनसत्र र समापनसत्रमा उठेका विषयमा भएका छलफलसमेतलाई समेटेर घोषणापत्र तयार गरिएको पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले जानकारी दिनुभयो ।
घोषणापत्रमा नेपालका प्रथम मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्यको जन्मजयन्ती (हरेक वर्ष बुद्धजयन्तीको अघिल्लो दिन) मनाउँदै आएको मातृभाषा पत्रकारिता दिवसलाई अझ व्यापक गर्ने उल्लेख गरिएको छ । विविध भाषाभाषीले पुस्तौँदेखि सङ्ग्रह गरिराखेको ज्ञान, सीप र प्रविधि विश्वव्यापी रुपमा हराउने क्रममा रहेकाले त्यसको संरक्षणको लागि मातृभाषा पत्रकारिताको माध्यमलाई प्रभावकारी र शक्तिशाली माध्यम बनाउने घोषणापत्रमा उल्लेख छ ।
विविध भाषाभाषी, बहुल जातजाति र समुदायलाई सम्बन्धित मातृभाषाको माध्यमबाट सुसूचित हुने र अभिव्यक्ति स्वतन्त्रताको हकप्रति ऐक्यबद्धता प्रकट गर्दै घोषणापत्रमा दक्षिण एसियाली राष्ट्र, जनताबीच सुमधुर बनाउन मातृभाषाको पत्रकारिता माध्यमबाट बढावा दिने भनिएको छ । घोषणापत्रमा मातृभाषा जोगाउन तथा त्यसका लागि मातृभाषाका पत्रकार र सञ्चारमाध्यमलाई विशेष सहुलियत, अनुदान तथा पत्रकारलाई सीप विकासको लागि सहायता प्रदान गर्ने र मातृभाषा पत्रकारिता सम्मेलन नियमितरुपमा विभिन्न राष्ट्रमा आयोजना गर्ने प्रतिबद्धता जनाइएको छ ।
घोषणापत्रले मातृभाषा पत्रकारिताको विशेषता, त्यसको महत्व तथा एजेण्डाका विषयमा दक्षिण एसियाली पत्रकारबीच ऐक्यबद्धता र सहकार्यको लागि आधार भूमि तयार गरेको घोषणापत्र मस्यौदा समितिका संयोजक एवं पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष सुनिल महर्जनले जानकारी दिनुभयो ।
बाबुछोराको सम्बन्धमा ‘गाउँ आएको बाटो’
काठमाडौँ, २२ जेठ I नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय मञ्चमा पु-याउने श्रेय निर्देशक नवीन सुब्बालाई जान्छ । उहाँले निर्देशन गर्नुभएको पहिलो चलचित्र ‘खाङग्री’ ट्रेन्टो अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सवमा पुगेको थियो । शेर्पा भाषामा तयार भएको उक्त चलचित्रमा हिमाली संस्कृति र कथा देखाइएको थियो । पहिलो पटक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुग्ने निजी लगानीको चलचित्र ‘खाङग्री’ नै हो ।
निर्देशक सुब्बाको दोस्रो चलचित्र ‘नुमाफुङ’ फुकुओका, गोटेवर्ग, सन्फ्रान्सिस्कोलगायतका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भयो । ग्रामीण कथालाई बुझ्न सक्ने र अन्तर्राष्ट्रिय मञ्चसम्म पु-याउने निर्देशक सुब्बाले निर्देशन गर्नु भएको पछिल्लो चलचित्र हो, ‘गाउँ आएको बाटो’ । यसमा राई जातिको सामाजिक पृष्ठभूमिमा पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट डोकोडालो बनाएर जीविकोपार्जन गरिरहेको एक परिवारको कथा प्रस्तुत गरिएको छ । विशेषत गाउँमा मोटरबाटो भित्रिएसँगै आएको आधुनिक परिवर्तनले उक्त परिवारमा ल्याउने उतारचढावलाई प्रस्तुत गरिएको छ ।
“यो बुबाछोराको सम्बन्धलाई नियाल्ने प्रयास हो । यो कथा पढेपछि मैले मेरो बाल्यकाल र बुबासँगको सामिप्यतालाई महसुस गरेको थिएँ । कहिलेकाही गाउँमा बाटो पुगेपछि गाउँलाई सहरसँग जोड्छ वा सहरमा तान्छ । बसाइसराइ, आधुनिकतासँगै गाउँ नै रित्तो पनि बनाउने गरेको छ । हामीले यस्तै विषयलाई एउटा परिवारको आँखा वा भोगाइबाट व्यक्त गरेका छौँ । यो हाम्रो ग्रामीण भेगको कथा हो”, निर्देशक सुब्बाले भन्नुभयो ।
उहाँले बाँसको चोयाबाट विभिन्न वस्तु विभिन्न तयार गर्ने बुबा र आफ्नो सपना बोकिरहेको छोराको सम्बन्धलाई चलचित्रमा प्रस्तुत गर्नुभएको छ । गाउँमा बाटो र गाडी आएपछि भित्रिने आधुनिकताले एउटा मध्यमवर्गीय परिवारमा पार्ने असर नै चलचित्रको कथासार हो । “आधुनिकताले हाम्रो मौलिकतालाई गरिरहेको असर पनि बसाइँसराइको एक कारण हो । ठूला सपना र रहरले गाउँबाट सहर र विदेशसम्म पुग्न बाध्य बनाएको छ । यसलाई मैले राई समुदायको पृष्ठभूमिमा तयार गरेको छु । यसले हामीलाई उक्त समुदायको संस्कृतिसँग पनि जोड्छ”, निर्देशक सुब्बाले भन्नुभयो ।
चलचित्रको मूल कथा अभिनेता दयाहाङ राई, अभिनेत्री पशुपति राई, बालकलाकार प्रसन राईमा केन्द्रित छ । चलचित्रको विषय दश वर्ष अघि नै आफूले थाहा पाएको अभिनेता दयाहाङ राईले बताउनुभयो । तर, उहाँलाई यस चलचित्रमा आफूले अभिनय गर्छु भन्ने लागेको थिएन । “त्यो बेला नै फरक लागेको थियो । तर, उमेरका कारण आफू पात्रमा उपयुक्त हुन्न् भन्नेमा निर्धक्क थिएँ । चलचित्रको निर्माण ढिलो भएपछि म जोडिएँ । यसमा बुबा, छोरा र आमा तीनै पात्रको आँखाबाट कथा प्रस्तुत गरिएको छ”, अभिनेता राईले भन्नुभयो ।
चलचित्र विदेशी र स्वदेशी दुवै बजारका लागि सुहाउँदो हुनुपर्नेमा उहाँ स्पष्ट हुनुहुन्छ । विदेशी महोत्सवमा पुगेर वा स्वदेशमा व्यापारिक सफलतामात्र आर्जन गरेर चलचित्रको विकास नहुने उहाँको बुझाइ छ ।“अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नपुग्दासम्म हाम्रोबारेमा विदेशी चलचित्रकर्मीलाई धेरै ज्ञान हुँदैन । त्यहाँ हुने प्रदर्शनी, प्राप्त गर्ने पुरस्कारले हाम्रो निर्माण क्षमता र कथाबारे उनीहरूलाई अवगत गराउँछ । त्यस्तै, घरेलु बजारमा राम्रा चलचित्र बनाउने दबाब पनि बढ्छ”, अभिनेता राईले भन्नुभयो ।
‘गाउँ आएको बाटो’ जेठ २५ गतेदेखि प्रदर्शन हुँदैछ । महोत्सवमा सहभागी भएको चलचित्र भन्ने बित्तिकै मनोरञ्जन नदिने किसिमको हुन्छ भन्ने भाष्य सही नभएको निर्देशक सुब्बाको भनाइ छ । चलचित्रको विधा र प्रस्तुतीकरणअनुसार मनोरञ्जन, समवेदना र हाँस्यरस हुने उहाँले बताउनुभयो । “अन्तर्राष्ट्रिय महोत्सवमा पुगेका चलचित्र हेर्न बढी दिमाग प्रयोग गर्नुपर्छ भन्ने भाष्य गलत छ । किनकी कालोपोथी होस् वा ऐना झ्यालको पुतली निकै मनोरञ्जनात्मक छ तर यसको प्रस्तुतीकरण नियमितभन्दा फरक छ”, निर्देशक सुब्बाले भन्नुभयो ।
‘गाउँ आएको बाटो’ मा केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायतले पनि अभिनय गर्नुभएको छ । महेश राई र निर्देशक सुब्बाले लेख्नुभएको चलचित्रको छायाङ्कन जोस हेरम, सम्पादन क्वान पुन लिउङ र हेडी लीले सङ्गीत भर्नुभएको छ ।
आलेख : पानीको कहानी बोकेर चुरेवासी माइतीघरमा
प्रगति ढकाल
काठमाडौँ, २२ जेठ I ‘दुर दुर गेला पर भी पानी नही भेटैछ, आब कोना जीब ? ताहि लेल हम सब सरकारी घर (सिंहदरबार) मे विरोध करय लेल आयल छी ।’ अर्थात् टाढाटाढा गएर पनि पानी भेटिँदैन, हामी कसरी जिउने ? त्यसैले धर्ना दिन हामी सरकारी घर (सिंहदरबार) नजिक आएका हौँ ।
जनकपुर उपमहानगरपालिकाकी ५० वर्षीया शान्तिदेवी यादवले माइतीघरमा बसेर व्यक्त गर्नुभएको यो पानीको कहानीले जो कोही पनि मन भकानिन्छ । पच्चीस दिन पैदल हिँडेरै ‘चुरे बचाऊ ः हामीलाई पानी देऊ सरकार’ भन्दै उहाँ माइतीघरमा बसेर पानीका लागि गुहार माग्दै हुनुहुन्छ ।
दिनभरको चर्को घाम समेत नभनी पैदल आउँदा सुनिएका खुट्टा अझै निको भएका छैनन् । “कसलाई रहर थियो र ? यो घाममा जनकपुरदेखि हिँडेर आउन,” उहाँ भन्नुहुन्छ, “पानीको धेरै दुःख भयो सिंहदरबार नजिक आएपछि हाम्रो माग सुनुवाइ हुन्छ कि भन्ने लागेर माइतीघर आएका हौँ तर आजसम्म सुनुवाइ भएन ।” चुरे विनाशले चापाकल, पोखरी सुक्दा पानीका लागि टाढा गएर घण्टौँ लाइन बस्नुपर्ने कहानी सुनाहुन्छ यादव । “पानी नपाएसम्म हामी त नफर्किने हो, मर्न परे यही मर्छौं,” उहाँ भन्नुहुन्छ ।
सप्तरी राजविराजकी सुनिता साहको कहानी पनि उस्तै उदेयकलाग्दो छ । चुरेको बालुवा–ढुङ्गाको अत्यधिक दोहनका कारण चुरेको विनाश बढेको र खानेपानीको मुहान सुक्दा समस्या भोग्ने चुरेवासीमध्ये उहाँ पनि एक हुनुहुन्छ । “आधा घण्टा हिँडेर पानी लिनका लागि जानुपर्छ, त्यो पनि घण्टौँ लाइन बसिसकेपछि मात्रै पाइन्छ,” उहाँ भन्नुहुन्छ, “चुरे क्षेत्रका ८० प्रतिशत चापाकलको पानी सुकेर पानी नै आउँदैन, जारको पानी किनेर प्रयोग गर्न सक्ने क्षमता छैन ।”
सिराहाबाट माइतीघरमा पानीको माग गर्दै धर्नामा बस्नुभएकी अर्की सङ्गीता सदाले पनि खानेपानीको समस्याले जीवन नै समस्या भएको भन्दै चुरे संरक्षण हुनुपर्ने बताउनुहुन्छ । “खानेपानी त छैन, कृषि बालीमा कसरी पानी लगाउनु ? सुकेर गइसक्छ,” उहाँ भन्नुहुन्छ, “पहिलापहिला सस्तो पाउने तरकारीहरु सुक्खाका कारण महङ्गो भएको छ ।”
धनुषाकी फुलकुमारी मुखिया उमेरले ५० कटिसक्नुभयो । माइतीघरमा पानी खोइ ? भन्दै रित्ता भाँडाहरु राखिएका छन् । तिनै रित्तो भाँडो बोकेर पानी माग्न उहाँ पनि २५ दिनको पैदलयात्रा गरेर काठमाडौँ आउनुभयो । “हाम्रो ठाउँमा सरकार नपुगेपछि सरकारको ठाउँमा हामी आयौँ, यहाँ आउँदा पनि हाम्रो धर्नालाई कसैले पनि देखेनन्,” उहाँ भन्नुहुन्छ, “पानीको समस्या भोग्नेलाई मात्रै थाहा हुन्छ यसको पीडा कति हुन्छ ? भनेर ।”
धनुषाबाटै धर्नामा आउनुभएकी राधा चौधरीलाई भने सिंहदरबार आसपासमा आएर गरिएको माग ढिलै भए पनि सरकारले सुन्ला भन्ने विश्वास छ । चुरे तथा वनजङ्गल संरक्षण अभियान नेपालका संयोजक सुनिल यादवले चुरे दोहन र वन विनाशका कारण पानीको स्रोत सुक्दै गएको चुरेवासी पानीको सङ्कटबाट गुज्रिनुपरेको भन्दै चुरे संरक्षण र खानेपानीको उपलब्धताका माग गर्दै धर्ना दिइएको जानकारी दिनुभयो ।
नेपाल वन प्राविधिक सङ्घ (एनएफए) का अध्यक्ष राकेश कर्णले माइतीघरमा पानीको माग राख्दै धर्नामा बस्नुभएका चुरेवासीको मागप्रति ऐक्यबद्धता रहेको बताउनुभयो । “हाम्रो चुरे संरक्षणको साझा सबैको साझा मुद्दा बनाउन र चुरे संरक्षणमा जुट्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छौँ,” उहाँले भन्नुभयो ।
भू–गर्भविद् डा सुवोध ढकालले चुरे मासिदा भूक्षय बढ्ने पहिरो जानेलगायत समस्याले त्यस क्षेत्र तथा तल्लोतटीय क्षेत्रको समेत पानीको स्रोत सुक्दै जानेलगायत समस्या उत्पन्न भएको बताउनुभयो । “खासमा तराईको जमिनको पानी रिचार्ज चुरेबाट हुन्छ, चुरेबाट जमिनमुनिबाट पानी छिरेर तराईसम्म पुग्ने हो जब चुरेमा भू–क्षय तथा पहिरो गयो भने जमिनमुनिको पानी सतहमाथि भएर खेर जाने र चुरेले जमिनमुनिको पानी रिचार्ज हुने काम कम भयो,” उहाँले भन्नुभयो, “समाधानका चुरेको पहिरो र भू–क्षय रोक्नुपर्छ र चुरेलाई बचाउन माथिल्लोतटीय क्षेत्र र तल्लोतटीय क्षेत्रबीच समन्वयकारी कार्यक्रमहरु लानुपर्ने हुन्छ ।”
उहाँले जमिनमुनिको पानीको स्रोत बचाउन वनजङ्गल फँडानी र अतिक्रमण रोक्नुपर्ने बताउनुभयो । ढकालका अनुसार विस्तृत रुपमा चुरे तथा तराई क्षेत्रका जमिनमुनिको पानीको सतह घटेको विषयमा अध्ययन– अनुसन्धान हुनुपर्ने र तत्कालीन र दीर्घकालीन समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ ।
खानेपानी मन्त्रालयका सिनिअर डिभिजनल इन्जिनियर मधु तिमिल्सिनाले खानेपानीको मन्त्रालयको बजेट विनियोजन घट्दै जाँदा खानेपानीको समस्या समाधान गर्नका लागि यथेष्ट कार्यक्रम राख्न नसकिएको बतानुभयो । उहाँले अन्तरसरकारी निकाय, तीनओटै तहको सरकारबीचको समन्वयका आधारमा खानेपानीको समस्या समाधानका लागि कार्यक्रम तय गर्न सम्भव हुने बताउनुभयो । “तराईमा खानेपानी सुधारका धेरै आयोजनाहरु बजेट अभावका कारण बन्न सकिरहेका छैनन्, डिपबोरिङ आयोजनाका लागि अर्थ मन्त्रालयसँग पहल गरेका छौँ सुनुवाई भइरहेको छैन,” उहाँले भन्नुभयो ।
तराईका करिब दुई सय ८० आयोजनाहरु पम्प बिग्रिएका र अलपत्र परेका आयोजनाहरु छन् । रु चार अर्ब छुट्याएमा अधुरा आयोजना अगाडि बढाउन सकिने उहाँको भनाइ छ । आगामी आर्थिक वर्षका लागि मधेस प्रदेशका स्थानीय तहमा केही टिप बोरिङको कार्यक्रम राखिएको छ । खानेपानी मन्त्रालयले समेत चुरे क्षेत्रको दोहन रोकेर चुरे संरक्षण गर्दै खानेपानीको स्रोत जोगाउनका लागि वन तथा वातावरण मन्त्रालयलाई ध्यानाकर्षण गराएको जनाएको छ ।
आगामी वर्षदेखि दिगो सुनकोसी–मरिन डाइभर्सन आयोजनाबाट तराईका केही जिल्लामा थोक वितरणबाट खानेपानी आपूर्ति गर्ने कि भन्ने विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो । चुरे दोहन बढ्दै जाँदा जमिनमुनिको पानी रिचार्ज हुन नसकेमा डिपबोरिङले पनि काम नगर्ने भन्दै दिगो समस्या समाधानका लागि चुरे जोगाउनुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।
वन तथा वातावरण मन्त्रालयका प्रवक्ता बद्रीराज ढुङ्गानाले चुरे क्षेत्रको समस्या बहुआयामिक रहेको र चुरे संरक्षण तथा व्यवस्थापन गर्न बनाइएको २० वर्षे गुरुयोजना कार्यान्वयनमा लगानीको चुनौती रहेको बताउनुभयो । “राष्ट्रिय गौरवको आयोजनालाई नै प्रयाप्त स्रोत नै छैन । अन्य सरोकारवाला निकायसँगको समन्वय पनि राम्रो हुन सकेको छ्रैन यसले चुरे क्षेत्रको सरक्षणमा बाधा पुगेको छ,” उहाँले भन्नुभयो, “तर चुरे संरक्षण नभएकै कारण चुरे तथा तराई क्षेत्रमा पानीको स्रोत सुक्यो भन्ने विषयमा कुनै अध्ययन अनुसन्धान नभएकाले यही नै कारण हो भन्ने आधार छैन ।” उहाँले चुरेको नदी उत्खनन्, वन विनास रोक्न र चुरे क्षेत्रको संरक्षण गर्न अन्तरसरकारी निकायबीचको समन्वय जरुरी रहेको जानकारी दिनुभयो ।
यसैगरी चुरेविद् विनोद भट्टले पनि चुरेको विनाश बढिरहँदा पहिरोे तथा भू–क्षय जाने र पानीको स्रोत सुक्दै जाने क्रम पनि बढिरहेको भन्दै समयमा नै सरोकारवाला निकायले सचेतना अपनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो, “राष्ट्रिय गौरवको चुरे आयोजना र चुरे संरक्षण विपरीतका अरु विकासका आयोजनाहरु रहेका छन्, सरकारकै दोहारो नीतिले चुरेको संरक्षण कसरी हुन सक्छ ?” चुरे क्षेत्रको बजेट कनिका छरे झैँ छरिएको तर प्रभावकारी कार्यक्रम नभएको भन्दै यस विषयमा सम्बन्धित निकायले गम्भीरताका साथ सोच्नुपर्नेमा उहाँको जोड रहेको छ ।
यसैगरी वनविज्ञ डा सोनी बराल गौलीले पनि चुरे संवेदनशील क्षेत्र रहेको र वन विनाशका कारण चुरेको माटो बगेर जाने तथा पानीको स्रोत संरक्षणमा समेत असर पुगेको बताउनुभयो । “चुरेलाई कान्छो पहाडका रुपमा लिइन्छ, यहाँ खुकुलो माटो हुने भएकाले भूक्षय हुन्छ । वनजङ्गल भएमा यसका जराले चुरेको माटो समातेर राख्छ,” उहाँले भन्नुभयो, “चुरेमा वनजङ्गल भयो भने जमिनको पानी रिचार्ज हुने र पानीको स्रोत संरक्षण हुन्छ ।”
संविधानको धारा ३५(४) मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइको हकको व्यवस्था गरिएको छ, तर नागरिकले उक्त मौलिक हकको प्रत्याभूति गर्न पाएका छैनन् । राष्ट्रिय जनगणना २०७८ को तथ्याङकअनुसार कूल ६६ लाख ६० हजार आठ सय ४१ परिवारमध्ये खानेपानीको मुख्य स्रोतका रुपमा धारा÷पाइप (घरपरिसर भित्र) प्रयोग गर्ने ३४ दशमलव छ प्रतिशत र धारा÷पाइप (घरपरिसर बाहिर) २२ दशमलव चार प्रतिशत, ट्युबवेल÷हातेपम्प २९ दशमलव आठ प्रतिशत, ढाकिएको इनार÷कुवा एक दशमलव पाँच प्रतिशतले प्रयोग गरेका छन् ।
दिगो विकासको लक्ष्यले सन् २०३० सम्ममा पानीको अभावलाई सम्बोधन गर्न तथा पानीको अभाव झेलिरहेको जनसङ्ख्यालाई उल्लेख्य रूपमा घटाउन सबै क्षेत्रमा पानी उपयोग कुशलता उल्लेख्य मात्रामा वृद्धि गर्ने र स्वच्छ पानीको दिगो निष्कासन तथा आपूर्ति गर्ने दिगो विकास लक्ष्य लिएको छ ।
घट्दै चुरेको बजेट
चुरेमा अब प्रदेश र स्थानीय तहले पनि लगानी बढाउन आवश्यक रहेको सरोकारवालाहरुले बताउँदै आउनुभएको छ । आगामी आव २०८०÷८१ का लागि रु एक अर्ब पाँच करोड बजेट विनियोजन गरिएको छ । चालु आव २०७९÷८० का लागि भने सरकारले चुरे संरक्षणको क्षेत्रमा रु दुई अर्ब १७ करोड बजेट विनियोजन गरेको थियो । तर विस्तारै चुरे क्षेत्रको बजेट घटिरहेको भन्दै यसले चुरेको गुरुयोजना कार्यन्वयनमा चुनौती हुने भन्दै सरोकारवालाले गुनासोे गर्नुभएको छ ।
चुरे क्षेत्रको २० वर्षे गुरुयोजनाले तोकिएको वार्षिक रुपमा रु नौ अर्ब बराबरको रकम आवश्यक पर्ने उल्लेख गरेको छ । चुरे क्षेत्रका लागि विनियोजन भएको सीमित बजेट तर चुरेका असीमित अपेक्षाका कारण पनि उक्त योजनाहरु कार्यन्वयनका लागि थप चुनौती उत्पन्न हुने देखिन्छ । चुरे संरक्षणका लागि गुरुयोजनाअनुसार आगामी २० वर्षसम्म करिब रु दुई खर्व ५० अर्ब लागत लाग्ने उल्लेख गरे पनि अनुमानित लागतअनुसारको अपर्याप्त बजेटका कारण गुरुयोजना कार्यन्वयनमा चुनौती देखिएको छ ।
चुरे क्षेत्रको मुख्य अख्तियारी पाएको राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले नै विनियोजित रकम कम भएको भन्दै गुनासो गरेको छ । समितिका अध्यक्ष डा किरण पौडेलले विनियोजित रकम भएको र अब प्रदेश तथा स्थानीय तहसँग समन्वय थालिने बताउनुभयो । “विनियोजित बजेट कम भएर आएको छ, यसकारण हाम्रा लक्षित कार्यक्रम कार्यान्वयनमा चुनौती थपिने छ,” उहाँले भन्नुभयोे, “अब चुरे क्षेत्र जोगाएनौँ भने चुरे तथा तराई र भित्री मधेस क्षेत्रमा खानेपानीको विकराल समस्या निम्तन सक्छ ।”
जमिनमुनिको पानी रिचार्ज प्रक्रिया बढाउन र पानीको स्रोत संरक्षण गर्न पोखरी निर्माण गर्नुपर्ने, वन जङ्गलको संरक्षण तथा चुरे दोहन रोक्नुपर्नेमा उहाँको जोड छ । “यसका लागि सबै सरकारी निकायबीच समन्वय हुनुपर्छ र राजनीतिक दलको समेत प्रतिबद्धता आउनुपर्छ,” उहाँले भन्नुभयो, “समितिले मात्रै केही गर्न सक्दैन, सबैको सहकार्य भएन भने चुरेको समस्या बल्झिरहने छ ।”
विश्वकप क्रिकेटमा नेपालले दश वर्षपछि पुनरागमन गर्दै
काठमाडौँ, २२ जेठ I आइसिसी टी–२० विश्वकप क्रिकेटमा १० वर्षपछि पुनरागमन गरेको नेपालले आज नेदरल्याण्डसँग खेल्दै प्रतियोगताको उद्घाटन गर्दैछ । नेपालले यसअघि सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको थियो । काठमाडौँमा गत कात्तिकमा मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेटमैदानमा भएको एसिया छनोट खेलमा नेपालले संयुक्त अरब इरिरेट्स (युएई)लाई सेमिफाइनलमा पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो ।
नेपालले दोस्रोपटक टी–२० विश्वकपमा सहभागिता जनाउँदा नेदरल्याण्ड भने पाँचौँपटक सहभागिता जनाउँदैछ । नेपाल र नेदरल्याण्ड दुवै चिरपरिचित प्रतिद्वन्द्वी हुन् । तीन महिनाअघि नेपालमा नै भएको त्रिदेशीय टी–२० शृङ्खलामा नेदरल्याण्डले दुई खेल जित्दा नेपालले एक खेलमा जित हासिल गरेको थियो ।
विश्वकपअन्र्गत अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी रङ्गशालामा आज राति हुने उक्त खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ मैदानमा उत्रँदैछ । त्यसो त नेदरल्यान्ड पनि आफ्नो पहिलो खेलमा जित हासिल गर्दै आगामी यात्रालाई सहज बनाउने कोसिसमा रहनेछ ।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले नेदरल्याण्डविरुद्धको खेलका लागि आफ्नो टोली तयारी अवस्थामा रहेकाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अमेरिकाको हावापानी र त्यहाँको अवस्थासँग भिज्ने राम्रो असवर पाएको जनाउँदै पहिलो खेलका लागि आफ्नो टोली तयारी अवस्थामा रहेको बताउनुभयो । नेपाली टोलीले करिब एक महिनासम्म अमेरिकामा अभ्यास गरेको थियो ।
त्यसैगरी यस विश्वकप क्रिकेट प्रतियोगितामा सवैभन्दा कम उमेरमा कप्तानीको भूमिका निर्वाह गरेका २१ वर्षीय नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले नेदरल्याण्डविरुद्धको खेलमा उत्कृष्ट क्रिकेट खेलेर देश र नेपाली फ्यानलाई गर्व गर्न सक्ने वातावरण तय गर्ने विश्वास व्यक्त गर्नुभयो ।
यसैगरी यसपटकको विश्वकपमा नेपालका अर्का खेलाडी गुलशन झा सबैभन्दा कम उमेरमा विश्वकप खेल्ने खेलाडीको कीर्तिमानी बनाउने भएका छन् । उनी १८ वर्ष भएका छन् ।
विश्वकप खेल्ने तयारी अवस्थामा रहेका नेपाली क्रिकेट टोलीलाई उच्च मनोबलका साथ खेलमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना समेत प्रदान गर्नुभएको छ ।
अमेरिका र वेस्टइन्डिजमा चालु टी–२० विश्वकप क्रिकेटका विजेता टोलीले २४ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाउँदा उपविजेताले १२ लाख २८ हजार डलर पाउनेछन् । त्यस्तै विश्वकपमा सेमिफाइनलमा पुग्ने दुई टोलीले जनही सात लाख ८७ हजार डलर पाउनेछन् भने प्रतियोगितामा सहभागी सबै टोलीले २ लाख २५ हजार अमेरिकी डलर पाउनेछन् ।
विश्वकपमा नेपाल र नेदरल्यान्ड समूह ‘डी’मा रहेका छन् । नेपालको समूहमा टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिका, श्रीलङ्का र बङ्गलादेश छन् । नेपाल र नेदरल्याण्डबीचको खेल नेपाली समयानुसार आज राति ९ः३० हुनेछ । त्यस्तै समूह ‘डी’मा नै रहेको दक्षिण अफ्रिकाले श्रीलङ्कालाई छ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरिसकेको छ ।