बिहिबार, २८ साउन २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01HZC6MJFRJAFBWDRFZBYY3ZCE.jpg

मुढेघारमा मौरीपालन गर्न बाध्य भोजपुरका किसान

भोजपुर, २० जेठ I प्रशस्तमात्रामा वनक्षेत्र भएकाले भोजपुरको माथिल्लो भेगलाई मौरीपालनका लागि निकै उपयुक्त मानिन्छ । यहाँका वन क्षेत्र आसपासमा रहेका बस्तीका स्थानीयले परम्परागत (मुढेघार) मौरीपालन गरिरहेका छन् । आधुनिक मौरीपालनका बारेमा जानकारी नहुँदा किसान परम्परागतरुपमा मौरीपालन गर्न बाध्य भएका हुन् ।     
      

जिल्लाको टेम्केमैयुङ–५ मझौलेका स्थानीयवासी दिपक विष्टले विगत २४ वर्षदेखि परम्परागतरुपमा मौरीपालन गर्दै आउनुभएको छ । मुढेघारमा उहाँका २० घारमौरी छन् । आधुनिक प्रविधिका विषयमा जानकारी नहुँदा बाउबाजेबाट सिकेको सीपलाई अवलम्बन गरेर मौरीपालन गरिरहेको उहाँले बताउनुभयो । आवश्यक तालिम तथा आधुनिक सीपको अभाव हुँदामा परम्परागत मौरीपालनमा समस्या हुने गरेको उहाँको भनाइ छ ।     
      
“विगत २४ वर्षदेखि मौरीपालन गरिरहेको छु । स्वदेशमा स्वरोजगार बन्ने लक्ष्यले यो व्यवसायमा लागेको हुँ । लामो समयदेखि यस व्यवसायमा जोडिए पनि राज्यकोतर्फबाट हालसम्म सहयोग पाएको छैन”, विष्टले भन्नुभयो, “आधुनिक प्रविधिबाट पालन गर्नसके अझ राम्रो हुन्थ्यो । राज्यको कुनै पनि निकायबाट यस्तो सीप लिने अवसर पाएको छैन ।” मौसमअनुसार एक वर्षमा दुईदेखि तीन पटकसम्म मह निकाल्न सकिने उहाँले जानकारी दिनुभयो ।     
      
सिजनमा एकपटकमा ८० देखि ९० केजीसम्म मह निकाल्न सकिने व्यवसायी विष्टले बताउनुभयो । मह स्थानीय बजारमा प्रतिकेजी रु एक हजार पाँचमा बिक्री हुने गरेको उहाँको भनाइ छ । उत्पादित महको बजारीकरण नहुँदा सोचेअनुसारको आम्दानी लिन समस्या भएको उहाँले बताउनुभयो ।     
      
“लेकाली भेगको जडीबुटीको मह भएकाले औषधिजन्य गुण बढी हुन्छ”, उहाँले भन्नुभयो, “उत्पादित महलाई स्थानीय बजारमा बिक्रीवितरण गरिरहेको छु । बजारीकरण राम्रो हुने हो भने यसबाट राम्रो आम्दानी लिन सकिन्छ ।”     
      
राज्यकोतर्फबाट आवश्यक सहयोग, तामिलसँगै प्राविधिक ज्ञान पाएमा थप सहज हुने उहाँको भनाइ छ । आधुनिक घारमा मौरीपालन गर्ने सोच भए पनि राज्यको निकायबाट कुनै पनि सहयोग पाउन नसकेको उहाँको दुखेसो छ । राज्यबाट आउने अनुदान तथा अन्य सहयोग बास्तविक किसानसम्म पुग्न नसकेको उहाँको भनाइ छ ।     
      
 टेम्केमैयुङ–४ लुङ्गिनका कृषक रामकुमार राईले २५ वर्षदेखि परम्परागतरुपमा मौरीपालन गर्दै आउनुभएको छ । उहाँले २८ वटा मुढेघारमा व्यावसायिकरुपमा मौरीपालन गरिरहेको बताउनुभयो । एक सिजनमा सबै घारको मह झिक्दा एक सय केजीसम्म मह सङ्कलन हुने उहाँको भनाइ छ ।     
      
महको बजारीकरणमा समस्या रहेको भन्दै उत्पादित महलाई बान्डिङ गरेर बाह्य बजारमा पठाउन सके मनग्ये आम्दानी लिन सकिने राईले बताउनुभयो । “विगत २५ वर्षदेखि मौरीपालन गर्दै आएको छु । सबै घारलाई काड्दा एकपटकमा एक सय केजीसम्म उत्पादन हुन्छ”, उहाँले भन्नुभयो, “बजारीकरणमा समस्या छ, यसलाई बान्डिङ गरेर बेच्न स्थानीय तह तथा सरोकार भएकाले पहल गर्नुपर्छ ।” पराम्परागत घारमा मौरीपालन गर्दा भाग्ने जोखिम बढी हुने उहाँको भनाइ छ ।     
      
 आधुनिक मौरीपालनको विषयमा ज्ञान नहुँदा बाध्य भएर पराम्परागतरुपमा पालन गरिरहेको राईले बताउनुभयो । “मुढेघारमा मौरीपालन गर्दा जोखिम बढी हुन्छ”, उहाँले भन्नुभयो, “घारमा लगाएको मौरी भाग्ने सम्भावना बढी हुन्छ । भागीहाल्यो भने परिश्रम त्यसै खेर जान्छ । आधुनिक रुपमा मौरीपालन गर्ने रहर भए पनि त्यसको विषयमा जानकारी छैन । राज्यले हामी जस्ता किसानलाई प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिदिए व्यवसायमा थप टेवा पुग्ने थियो ।”     
      
 मौरीपालनका लागि घमाइलो र नजिक वन जङ््गल भएको ठाउँ उपयोगी हुने किसान राईको भनाइ छ । आफूले पालेको मौरीले वन जङ्गलबाट मह सङ्लन गर्ने भएकाले चरणमा लगेर सङ्कलन गरेको महभन्दा बढी लाभदायक हुने उहाँले बताउनुभयो ।     
      
 “हाम्रो ठाउँको मौरीको चरण क्षेत्र नै जङ्गल हो । जङ्गलबाट विभिन्न बोट बिरुवासँगै जडीबुटीबाट मह सङ्कलन गर्ने भएकाले चरण लगेर सङ्कलन गरेको महभन्दा धेरै लाभदायक हुन्छ”, राईले भन्नुभयो, “कुनाकाप्चाको ठाउँ भएकाले हामीले यसको विषयमा सबैलाई बुझाउन सकेका छैनौँ । राज्यले यस्ता अर्गानिक उत्पादनको बजारीकरणमा ध्यान दिए सहज हुने थियो ।”     

प्रकाशित मितिः आइतबार, २० जेठ २०८१
https://jawaaf.com/storage/01HZC5DVENGBPRTZJTERZ5Z35X.jpg

कोशी प्रदेशको नीति तथा कार्यक्रम सोमबार

विराटनगर, २० जेठ I कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गर्ने भएको छ ।

कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सोमबार अपराह्न ४ बजे कोशी प्रदेश सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालले जानकारी दिनुभयो । प्रदेश प्रमुख खापुङले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम बैठकलाई सम्बोधन गर्नुहुनेछ ।

प्रकाशित मितिः आइतबार, २० जेठ २०८१
https://jawaaf.com/storage/01HZC0Z4Q516QCY7KTE7YB75R2.jpg

लुक्लामा पासाङल्हामु स्मृति ‘ग्यालरी’ स्थापना

सोलुखुम्बु, २० जेठ I राष्ट्रिय विभूति एवं पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाको स्मृति ‘ग्यालरी’ स्थापना गरिएको छ । उहाँको जीवनकालका काम र उपलब्धि स्मरण गराउने उद्देश्यले खुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लामा आज स्मृति ‘ग्यालरी’ स्थापना गरिएको हो ।     
      
पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानले निर्माण गरेको उक्त ‘ग्यालरी’को खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले लामाविधिबाट पूजापाठ गरी उद्घाटन गर्नुभयो । ‘ग्यालरी’मा शेर्पाको सन् १९६१ देखि सन् १९९३ सम्मको जीवनकालका गतिविधि र हिमाल आरोहणको इतिहास समेटिएको छ । शेर्पाले गर्नुभएको लैङ्गिक समानता र नेतृत्वको भावलाई सरकारले गरेको सम्मान र उपलब्धिहरु ग्यालरीमा समावेश गरिएको प्रतिष्ठानका महासचिव छेटु शेर्पाले जानकारी दिनुभयो ।     
      
उहाँको जन्मस्थल खुम्बु पासाङल्हामु गाउँपालिकामा भविष्यमा पासाङल्हामु सङ्ग्रहालय स्थापना गर्ने लक्ष्यसहित उक्त कार्यको सुरुआतस्वरुप ‘ग्यालरी’ स्थापना गरिएको प्रतिष्ठानले जनाएको छ । उद्घाटनकै दिन स्वदेशी तथा विदेशी गरी पाँच सय बढी पर्यटकले ‘ग्यालरी’ अवलोकन गरेका छन् । प्रतिष्ठानले लुक्लासँगै पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा पनि पासाङल्हामु ‘ग्यालरी’ स्थापना गर्ने तयारी गरेको छ ।     
      
“पासाङल्हामुले सन् १९९३ अप्रिल २२ का दिन पहिलोपटक सगरमाथाको आरोहण गर्नुभएको थियो । उहाँको सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला हुनुहुन्थ्यो”, प्रतिष्ठानका महासचिव शेर्पाले भन्नुभयो, “ग्यालरीमा राष्ट्रिय विभूति शेर्पाको सम्पूर्ण जानकारीसँगै सगरमाथा आरोही नेपाली महिलाहरु र प्रख्यात महिला आरोहीहरुको जानकारी समावेश गरिएको छ ।”     
      
हालसम्म ६१ जना नेपाली महिलाले सगरमाथा आरोहण गरिसकेका छन् । पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानले नेपालमै पहिलोपटक ‘इन्डोर वाल क्लाइम्बिङ सेन्टर’ स्थापना गरी पर्वतारोहणको प्रवद्र्धन र लुक्लामा पासाङल्हामु निकोल निकी अस्पताल सञ्चालन गर्दै आएको छ ।     
 

प्रकाशित मितिः आइतबार, २० जेठ २०८१
https://jawaaf.com/storage/01HZBWC8THQNYTW0VEPEX98T5N.jpg

डेङ्गीबाट बच्न सचेत रहन कामपाको आग्रह

काठमाडौँ, २० जेठ I गर्मीयामसँगै पानी पर्न थालेकाले डेङ्गी सङ्क्रमणबाट जोगिन काठमाडौँ महानगरपालिकाले आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले कामपाले डेङ्गी सङ्क्रमण पनि बढ्न सक्ने भन्दै नागरिकलाई सचेत रहन आग्रह गरेको हो ।

‘एडिज’ जातिका पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गीको सङ्क्रमण हुन सक्ने भन्दै अहिलेसम्म सङ्क्रमित नभेटिए पनि आगामी दिनका लागि थप सचेत रहन आग्रह गरिएको कामपा स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनले बताउनुभयो । “डेङ्गी बढ्न सक्ने भएकाले महानगर तयारी अवस्थामा छ”, उहाँले भन्नुभयो, “प्रत्येक वडामा नियमित रुपमा सरसफाइको काम भइरहेको छ ।”

डेङ्गीबाट कोही सङ्क्रमित भएमा वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत सिटामोल र जीवनजललगायत औषधि सहज उपलब्ध गराउन कामपाले सम्पूर्ण तयारी गरिसकेको महर्जनले बताउनुभयो । सरसफाइ गर्ने कर्मचारी र स्वास्थ्य स्वयंसेविकामार्फत नियन्त्रणका लागि निगरानी बढाइरहेको उहाँको भनाइ छ ।

स्वास्थ्य विभागका निमित्त प्रमुख महर्जनका अनुसार सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र क्लिनिकमा कार्यरत स्वास्थयकर्मी, स्वास्थ्य स्वयंसेविका, सरसफाइमा काम गर्ने सरसफाइकर्मीले आ˗आफ्नो टोलटोलमा गई पानी जमेको स्थानमा कुचो वा अन्य साधनको प्रयोग गरी पानी हटाउन, वर्कशप तथा टायर लगायतमा पानी जम्न नदिनका लागि सचेत गराउनुका साथै सरसफाइसमेत गरिरहेका छन् ।

आवश्यक परे महानगरले डेङ्गी नियन्त्रण गर्न ‘बायो लार्भिसाइड’ छर्कने तयारी गरेको छ । “बायो लार्भिसाइड प्रयोग गरेपछि पानीमा रहेका लामखुट्टेका लार्भा नष्ट हुन्छन् भने अन्य जीवाणुलाई असर गर्दैनन्”, उहाँले भन्नुभयो ।

डेङ्गीको मुख्य लक्षण

डेङ्गी सङ्क्रमण भएपछि बिरामीलाई ज्वरो आउने, आँखा रातो हुने र टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता लक्षणहरू देखा पर्दछ । टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेसीहरू दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्नेलगायत लक्षण रहेका स्वास्थ्य विभागका निमित्त प्रमुख महर्जनले जानकारी दिनुभयो । एडिज जातको लामखुट्टेले बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकाले सो समयमा थप सचेत हुनुपर्ने उहाँको भनाइ छ ।

डेङ्गीबाट बच्न घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरी छोपेर राख्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, बिहान, दिउँसो, राति जुनसुकै बेला झूल लगाएर मात्र सुत्ने, पूरै शरीर ढाक्ने लुगा लगाउने , काम नलाग्ने र पानी भरिन सक्ने सामानहरू जस्तै बोतल, टायर, प्लास्टिकका वस्तुहरू पानी जम्न नमिल्ने गरी विसर्जन गर्ने, पानी ट्याङ्की, फूलदानी, गमलामा राखिएको प्लेटहरु राम्ररी सफा गर्नेलगायत उपाय अपनाउनुपर्ने कामपाको भनाइ छ ।

प्रकाशित मितिः आइतबार, २० जेठ २०८१
https://jawaaf.com/storage/01HZBCHN5ZVC9YY1AYF9MBWA9J.jpg

अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान

काठमाडौ, २० जेठ I गोपीकृष्ण कामख्या मिडिया कम्पनीले अभिनेता नीर शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान गरेको छ । शनिबार यहाँ आयोजित एक कार्यक्रममा उहाँलाई नगद रु ५१ हजारसहित उक्त सम्मान प्रदान गरिएको हो ।   
यसैगरी रु २१ हजार राशिको ‘पुष्कर सर्वोत्कृष्ट पत्रकारिता’ पुरस्कार पत्रकार श्याम स्मृतले पाउनुभएको छ ।   
  
अभिनेता शाहले सम्मानित भएपछि भन्नुभयो, “नेपाली चलचित्रका प्रारम्भिक दिनमा ‘प्रिन्ट’ बोकेर चलचित्र भवनमा पुर्याएर उद्धव पौडेलले गर्नुभएको योगदानसँग म परिचित छु । मलाई अझै काम गर्ने प्रेरणा मिलेको छ ।”   
  
यसैगरी ‘नारायण’ सर्वोत्कृष्ट निर्माण नियन्त्रक पुरस्कार अरुण रेग्मी (महानगर), ‘शुभ’ सर्वोत्कृष्ट पाश्र्वसङ्गीत पुरस्कार किरण तुलाधर (बुलाकी), ‘प्रदीप’ सर्वोत्कृष्ट पुनः ध्वनि मुद्रण (मिक्सिङ) पुरस्कार मुकेश शाह (नाङ्गो गाउँ), ‘भुटानी’ सर्वोत्कृष्ट द्वन्द्व निर्देशक पुरस्कार हिमाल केसी (एक भगवत एक गीता), ‘वसन्त’ सर्वोत्कृष्ट नृत्य निर्देशक पुरस्कार कविराज गहतराज (एक भगवत एक गीता)ले प्राप्त गर्यो ।   
  
त्यसैगरी ‘किरण’ सर्वोत्कृष्ट गीतकार पुरस्कार सुष्मा सिग्देल (नाङ्गो गाउँ), ‘उदित’ सर्वोत्कृष्ट पाश्र्व गायन पुरस्कार एसडी योगी र अञ्जु पन्त (नाङ्गो गाउँ), ‘शम्भुजीत’ सर्वोत्कृष्ट सङ्गीतकार पुरस्कार आशिष अविरल (एचो पैचो), ‘तुलसी’ सर्वोत्कृष्ट सम्पादक पुरस्कार वनिश शाह (पशुपति प्रसाद २ः भष्मे डन), ‘मञ्जु’ सर्वोत्कृष्ट छायाकार पुरस्कार शिव ढकाल (बुलाकी), ‘लक्ष्मीनाथ’ सर्वोत्कृष्ट कथा र संवाद पुरस्कार उपेन्द्र सुब्बा (जारी), ‘चेतन’ सर्वोत्कृष्ट पटकथा लेखन पुरस्कार प्रदीप भट्टराई (महाजात्रा), ‘कुसुमे रुमाल’ सर्वोत्कृष्ट व्यावसायिक चलचित्र पुरस्कार जारी, ‘मह’ जुरी गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार द रेड सुट्सेकलाई प्रदान गरियो ।   
  
कार्यक्रममा ‘गोपालराज’ सर्वोत्कृष्ट हास्य कलाकार पुरस्कार रवीन्द्र झा (महाजात्रा), ‘चैत्य’ सर्वोत्कृष्ट नवअभिनेत्री पुरस्कार परीक्षा लिम्बू (जारी), ‘विश्व’ सर्वोत्कृष्ट नवअभिनेता पुरस्कार प्रकाश सपूत (परदेशी २), ‘वसुन्धरा’ सर्वोत्कृष्ट सहअभिनेत्री पुरस्कार वर्षा शिवाकोटी (पशुपति प्रसाद २ः भष्मे डन), ‘नीर’ सर्वोत्कृष्ट सहअभिनेता पुरस्कार अर्पण थापा (दिमाग खराब), ‘भुवन’ सर्वोत्कृष्ट अभिनेत्री पुरस्कार स्वस्तिमा खड्का (दिमाग खराब) र मिरुना मगर (जारी), ‘शिव’ सर्वोत्कृष्ट अभिनेता पुरस्कार विपिन कार्की (महाजात्रा), ‘हिरा’ सर्वोत्कृष्ट चलचित्र पुरस्कार महाजात्रा र ‘प्रकाश’ सर्वोत्कृष्ट निर्देशक पुरस्कार प्रदीप भट्टराई (महाजात्रा)लाई प्रदान गरिएको थियो ।   
  
कार्यक्रममा प्रथम अभिनेत्री भुवन चन्द, चैत्य देवी, वसुन्धरा भुसाल, अभिनेता रमेश उप्रेती, निर्देशक ज्ञानेन्द्र देउजा, दीपेन्द्र लामा, सङ्गीतकार शम्भुजित बाँस्कोटा, अभिनेता रमेश उप्रेतीलगायत कलाकार उपस्थित हुनुहुन्थ्यो ।  

प्रकाशित मितिः आइतबार, २० जेठ २०८१
https://jawaaf.com/storage/01HZBAPPAEYZZC4V270B0SNK3Y.jpg

प्राविधिक जनशक्ति उत्पादन गर्न पालिकाको छात्रवृत्ति

फुङ्लिङ (ताप्लेजुङ), २० जेठ I ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको छ । दक्ष प्राविधिक जनशक्ति उत्पादनमा सघाउने उद्देश्यले गाउँपालिकाले छात्रवृत्तिको व्यवस्था गरेको  हो ।

गाउँपालिकाले विगत तीन वर्षदेखि विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको पाथीभरा याङवरक गाउँपालिकाका शिक्षा शाखाप्रमुख लाप्साङ तामाङले बताउनुभयो । गाउँपालिकाले चालु आर्थिक वर्षमा  छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।  गाउँपालिकाभित्र विज्ञान विषय पठनपाठन हुँदैन ।

विज्ञान विषय पढ्न गाउँपालिका बाहिर जानुपर्ने अवस्था छ । विद्यार्थीले प्राप्त गरेको अङ्कको आधारमा एक शैक्षिक सत्रमा रु २० हजारदेखि रु ६० हजारसम्म छात्रवृत्ति प्रदान गरिने शिक्षा शाखाले जनाएको छ । चालु आर्थिक वर्षका लागि गाउँपालिकाले रु पाँच लाख विनियोजन गरेको शाखाप्रमुख तामाङले  बताउनुभयो । 

प्रकाशित मितिः आइतबार, २० जेठ २०८१
https://jawaaf.com/storage/01HZ9TETJSKZA2PMYFWMT0PSYA.jpg

अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी

भक्तपुर, १९ जेठ I महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले सरकारले छोराछोरीको कमाइको १० प्रतिशत रकम बाबुआमालाई दिनुपर्ने नीति ल्याउने तयारीमा रहेको बताउनुभएको छ ।

भक्तपुरमा आज सामुदायिक विकास तथा सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र गठ्ठाघरको २०औँ स्थापना दिवस एवं सामुदायिक दर्पण लोकार्पण कार्यक्रममा उहाँले ज्येष्ठ नागरिक ऐन, ज्येष्ठ नागरिक नियमावलीको संशोधन पारित भएसँगै यस्तो नीति कार्यान्वयनमा आउने उल्लेख गर्नुभयो । 

आफ्नो आमाबाबुको सुरक्षा र संरक्षण हरेक छोराछोरीको दायित्व भए पनि आमाबाबु आफ्नै घरबाट अपहेलितमा पर्न थालेपछि ऐन पारित भएसँगै सरकारले कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्ने व्यवस्था कार्यान्वयनमा आउने उहाँको भनाइ छ ।

मन्त्री चौधरीले भन्नुभयो, “आमाबाबु आफ्नै छोराछोरी वा हकवालाबाट अपहेलित भएर कोठामै बस्नुपर्ने अवस्था छ, त्यसैले अब छोराछोरी वा हकवालाले आफ्नो औपचारिक वा अनौपचारिक जुनसुकै क्षेत्रबाट हुने कमाइको १० प्रतिशत रकम आफ्नो बाबुआमलाई दिनैपर्ने व्यवस्था गर्न लागेका छौँ ।”

विधेयक पारित भएर ऐनले दिएको अधिकारलाई सात सय ५३ वटै पालिकामा पठाएर यसलाई कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको भन्दै उहाँले संविधानले दिएको हकलाई अब ज्येष्ठ नागरिकले उपभोग गर्न पाउने बताउनुभयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ज्येष्ठ नागरिकको अनुभव साट्ने थलोका रूपमा विकास गर्न सबै पालिकामा ज्येष्ठ नागरिक दिवा केन्द्र र ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गर्ने तयारी गरेको उहाँको भनाइ थियो ।

मन्त्री चौधरीले भन्नुभयो, “हामीले ज्येष्ठ नागरिकको जीवन सुखी बनाउन ज्येष्ठ नागरिक मिलन केन्द्र प्रत्येक पालिकामा सञ्चालन गर्न र संरक्षणविहीन ज्येष्ठ नागरिकलाई सुरक्षित राख्न सातै प्रदेशमा ज्येष्ठ नागरिक संरक्षण भवन बनाउन मन्त्रालयले बजेट माग गरेका थियौँ तर हाम्रो मन्त्रालयको रु २९ करोड बजेट काटियो तर पनि यो लक्ष्य पूरा गर्न विकास साझेदार संस्थासँग समन्वय गर्छौँ ।”

विभिन्न कारणले बेचिएका बालबालिका तथा महिलालाई फर्काएर देशमा ल्याएपछि त्यसको अभिभावकत्व ग्रहण गर्ने जिम्मेवारी राज्यले बहन गर्न नसकेको भन्दै मन्त्री चौधरीले भन्नुभयो, “कतिपय बेचिएका महिला तथा बालबालिकालाई फर्काएर ल्याएपछि फर्केर घर वा माइती जाने र उनीहरूले स्वीकार्ने अवथा नरहँदा उनीहरूलाई कहाँ लाने भन्ने अन्योल छ, राज्यले अभिभावकत्व ग्रहण नगर्दा बाध्य भएर निजी संस्थालाई गुहार्नुपर्छ, तर उनीहरूले बजेट नभएको गुनासो गर्छन्, त्यसैले यस्ता महिलालाई राख्न सातै प्रदेशमा कम्तीमा एक–एक सुरक्षित आवास निर्माण गर्नुपर्छ ।”

निजामती सेवामा २८ प्रतिशत महिलाको प्रवेश हुनु खुसीको कुरा रहे पनि जनप्रतिनिधिमा नेतृत्व तीन प्रतिशत महिलामात्रै पुग्नु कमजोरी रहेको उहाँले औँल्याउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री डा राजेन्द्रमान श्रेष्ठले प्रदेश सरकारले कृषिका लागि आवश्यक बजेट विनियोजन गरेको चर्चा गर्दै रासायनिक मलको अभाव नहुने दाबी गर्नुभयो । उहाँले प्राङ्गारिक मलको उत्पादनमा किसानलाई प्रोत्साहन गरिने बताउँदै पर्याप्त दूध उत्पादन भएर बिक्री नभएपछि प्रदेशमा धुलो दूध उत्पादन भइरहेको बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य धनेश्वरी प्रजापति, नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक दीपक थापा, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, केन्द्रका महासचिव नारायणप्रसाद न्यौपाने, केन्द्रका अध्यक्ष खेमप्रसाद सुवेदीलगायतले सामुदायिक सेवाभावले संस्थाहरू अगाडि बढ्नसके समाजको विकासमा तीव्रता हुने बताउनुभयो । त्यसअवसरमा सामुदायिक दर्पण लोकार्पण एवं विभिन्न व्यक्ति एवं संस्थालाई सम्मान गरिएको थियो ।

प्रकाशित मितिः शनिबार, १९ जेठ २०८१
https://jawaaf.com/storage/01HZ9QSSTGEVGTRD647F5Z96RE.jpg

‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक‘

काठमाडौँ, १९ जेठ I लेखकद्वय त्रिभुवनचन्द्र वाग्ले र किरणचन्द्र वाग्लेद्वारा लिखित ‘राष्ट्रनिर्माणमा दलित’ नामक पुस्तक सार्वजनिक भएको छ ।  पुस्तकभित्र राष्ट्रनिर्माणमा विभिन्न समयमा योगदान पु¥याएका दलित समुदाय अग्रज व्यक्तित्वको जीवनीलाई जीवन्त रुपमा उतारिएको छ ।  ती समुदायका ईश्वर रिजाल, उमालाल विश्वकर्मा, ऋषिबावु परियार, ओमप्रकाश भिके, ओमप्रकाश रामदाम, कालु सार्की, कृष्ण दर्जी, किसन दुसाध, कृष्ण दर्जी, कृष्णसिंह परियार, खेम नेपाली, गणेशबहादुर परियार, गिरीबहादुर बस्याल, गोल्छे सार्की र घोइरे कामीलगायत १२१  व्यक्तित्वका जीवनीलाई पुस्तकभित्र समेटिएको छ ।   

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, पूर्वमन्त्री जीतु गौतम, संविधानसभा सदस्य कमला विश्वकर्मा, पूर्वराजदूत पदम सुन्दास र पूर्वसचिव डा मानबहादुर विकलगायतले यहाँ आज आयोजित कार्यक्रममा  सो पुस्तकको सार्वजनिक गर्नुभयो ।  सो अवसरमा आयोगका अध्यक्ष देवराजले दलित समुदायले अझै पनि भोग्दै आएको आर्थिक, सामाजिक र राजनीतिक समस्या समाधान नभएसम्म समृद्ध नेपाल निर्माणको सपना पूरा हुन सक्दैन भन्नुभयो । उहाँले भन्नुभयो, “जतिसुकै उच्च तहमा पुगे पनि दलित समुदायलाई हेर्ने दृष्टिकोण र व्यवहारमा परिर्वतन हुन सकेको छैन ।  जातीय भेद्भाव तथा छुवाछूतका व्यवहारमा परिवर्तन आएको छैन ।”

पूर्वमन्त्री जितुले पर्याप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकार सुनिश्चित र प्राप्तिको निम्ति दलितसहित सिमान्तकृत समुदाय एकजुट हुनुपर्छ भन्नुभयो । पूर्वराजदूत सुन्दासले दलित समुदायको सीप, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो । संविधानसभा सदस्य कमलाले दलित समुदायको अधिकारका लागि थप कानुन बनाएर कार्यान्वयन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । पुस्तकका लेखकद्वय त्रिभुवनचन्द्र र किरणचन्द्रले पुस्तकका बारेमा चर्चा गर्नुभएको थियो । 

प्रकाशित मितिः शनिबार, १९ जेठ २०८१
https://jawaaf.com/storage/01HZ9Q8R3BAHBVMNKJSDJNQ76X.jpg

एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान

काठमाडौँ, १९ जेठ I जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन भारतको उत्तरपूर्वी भूभाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किम सम्म आइपुगेको जनाएको छ ।   
  
विभागले आज मध्याह्न ‘मनसुन आगमन अनुगमन बुलेटिन’ प्रकाशन गर्दै “नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने देखिएको छ । नेपालको पूर्वी भू–भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ रहेको छ”, भनेको छ ।   
  
यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको तथा सोहीअनुसार नियमित रूपमा अद्यावधिक गरिने विभागको उक्त सूचनामा जनाइएको छ ।  

प्रकाशित मितिः शनिबार, १९ जेठ २०८१
https://jawaaf.com/storage/01HZ9D2DDM49GN043FTCC98T60.jpg

वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न

काठमाडौँ, १९ जेठ I अवैध सिकार तथा वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी शुक्रबार यहाँ सम्पन्न भएको छ । 

यहाँस्थित फ्रान्सेली राजदूतावास र फ्रान्सेली अन्तर्राष्ट्रिय सुरक्षा सहयोग निर्देशनालयको आयोजनामा भएको गोष्ठीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल,  वन तथा वातावरण मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालयलगायत वन्यजन्तु संरक्षण तथा बेचविखनविद्धकोक अभियानमा संलग्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो । 

अष्ट्रेलिया, बङ्गलादेश, भुटान, कम्बोडिया, भारत, इण्डोनेसिया, माल्दिभ्स, सिङ्गापुर, श्रीलङ्का, थाइल्याण्ड, संयुक्त राज्य अमेरिका, फ्रान्सको वातावरणीय र जनस्वास्थ्य अपराध समन्वय केन्द्रीय कार्यालय र फ्रान्सेली भन्सारका प्रतिनिधिको उपस्थितिमा भएको गोष्ठीमा यहाँस्थित फ्रान्सको दूतावासका कार्यवाहक राजदूत लीला देवरादजालोले गोष्ठीको औचित्यबारे चर्चा गर्दै यसमा १३ देशको सहभागिताले यसको आवश्यकता र महत्वलाई दर्शाका बताउनुभयो । उहाँले वन्यजन्तुमाथिको आक्रमणको भयावह हुने चेतावनी दिनुभएको दूतावासले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण निर्देशनालयका प्रमुख  सञ्जय देउजाले राष्ट्रिय निकुञ्जमा सिकारी नियन्त्रणमा नेपाली सेनाको प्रयासबारे जानकारी दिँदै “नेपाली सेना हाम्रो राष्ट्रको समृद्ध जैविक विविधता र प्राकृतिक सम्पदाको संरक्षणमा आफ्नो प्रतिबद्धतामा अडिग छ । हाम्रा समर्पित कर्मचारीहरू लोपोन्मुख प्रजातिहरूको संरक्षण, सिकार र वन्यजन्तुको अवैध ओसारपसारबाट जोगाउन अथक प्रयास गरिरहेका छन्,” उहाँले भन्नुभयो  । 

दूतावासका प्रहरी सहचारी फाब्रिस कोटेलले वन्यजन्तु संरक्षण तथा अवैध सिकार एवं ओसापसारविरुद्ध दुई वर्षदेखिको अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ गर्नुपर्नेमा जोड दिँदै कार्यशाला समापन गर्नुभएको थियो । 

 वन्यजन्तुको चोरी सिकारी तथा वनको वातावरण विनाश गर्नेविरुद्ध प्रभावकारी रूपमा लड्न फ्रान्सेली मन्त्रालयको लागि युरोप र विदेश मामिलाको सुरक्षा सहयोग निर्देशनालयले आर्थिक सहयोग गर्दै आएको छ ।

प्रकाशित मितिः शनिबार, १९ जेठ २०८१