लिभरपुल र पोर्चुगलका फरवार्ड डिआगो जोटाको कार दुर्घटनामा मृत्यु
काठमाडौं । लिभरपुल र पोर्चुगलका फरवार्ड डिआगो जोटाको २८ वर्षको उमेरमा कार दुर्घटनामा मृत्यु भएको छ । जोटा र उनका दाजु आन्द्रे सिल्भा सवार ल्याम्बोर्गिनी कार स्पेनको जामोरा प्रान्तमा दुर्घटनाग्रस्त हुँदा उनको मृत्यु भएको हो ।
प्रि–सिजन प्रशिक्षणका लागि जोटा लिभरपुल फर्कँदै थिए । यसअघि जोटाको एउटा सानो शल्यक्रिया गराएका कारण डाक्टरको सल्लाहमा हवाई यात्रा नगरी कारमार्फत यात्रा गरिरहेका थिए ।
जोटाले दुर्घटनाको ११ दिनअघि मात्रै आफ्नी प्रेमिका रुटे कार्डोसोसँग विवाह गरेका थिए । उनीहरूका तीन सन्तान छन् ।
लिभरपुल क्लबले जोटाको मृत्युलाई क्लबको सीमाभन्दा परको एक त्रासदी भनेको छ । समर्थकहरूले एन्फिल्ड रंगशालाबाहिर उनलाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।
प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै
काठमाडौं । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन् । अपराह्न ३ः४५ बजे प्रधानमन्त्री ओली त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा पुग्ने जनाइएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही असार १४ गते शनिबार स्पेन प्रस्थान गरेका थिए ।
स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता भएको थियो । यस्तै, स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच पनि दुईपक्षीय भेटवार्ता भएको थियो ।
यस्तै, स्टोनियाका राष्ट्रपति अलार कारिस इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँगको पनि भेटवार्ता भएको थियो ।
प्रधानमन्त्री ओलीले विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरे । अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता गरे । यस्तै, विभिन्न छलफल सत्रमा प्रधानमन्त्री ओलीको सक्रिय सहभागिता रहेको थियो ।
बिहीबार मात्र उनले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशाला भ्रमण गरेका थिए ।
रास्वपा निर्णय : गृहमन्त्री राजीनामा र उच्चस्तरीय आयोगको अडान यथावत्
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय बैठकले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्ने र छानबिनका लागि सहजीकरणका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने विषयमा अडान कायम राख्ने निर्णय गरेको छ ।
बिहीबार पार्टी कार्यालयमा बसेको बैठकले गृहमन्त्रीले राजीनामा दिनुपर्ने विषयमा अडान र संसदमा यस विषयमा भइरहेको प्रतिरोध कायम राख्ने निर्णय गरेको हो ।
यसको साथै, बैठकले संघीय निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडको व्यवस्थामा भएको बदमासीपूर्ण हेरफेर संविधानले व्यवस्था गरेको संसदको सार्वभौमिकतामाथि प्रहार भएको भन्दै यस्तो गतिविधिलाई अनदेखा नगरी, यस कार्यमा संलग्नहरूलाई छानबिन गरी दोषीमाथि कारबाही गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने माग पनि गरेको छ ।
बैठकले आगामी कार्तिक २७ गते हुने रूपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट योग्य उम्मेदवार छनोट गर्नका लागि आजको पार्टी सचिवालय बैठकमा पेश भएको उम्मेदवार छनौट विधिमा व्यापक छलफल भएको र बैठकमा प्राप्त सुझावहरू समेतलाई समेटेर आगामी आइतवार हुने सचिवालय बैठकमा उम्मेदवार छनौट कार्यविधि अनुमोदनको लागि प्रस्तुत गर्ने निर्णय गरेको छ ।
साथै पार्टीले रूपन्देही ३ मा त्यहाँको आम नागरिक, पार्टी शुभेच्छुकहरू समेतको चाहना अनुसार छनोट विधिमार्फत योग्य, सक्षम उम्मेदवार प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
यस्ता छन् बाँकी निर्णयहरू ः
पार्टीका सबै केन्द्रीय विभागहरूलाई चलाएमान बनाउने, विभागहरूको रिक्त पदपूर्तिको लागि विभाग प्रमुखले पहल लिनु पर्ने, २०८२ असार मसान्त सम्मको कार्यसम्पादन प्रतिवेदन २०८२ श्रावण ७ गते भित्र पेश गर्न निर्देशन दिने, प्रदेशमा गठन गर्नु पर्ने विभागहरू असार मसान्त सम्म गठन गर्न केन्द्रीय विभाग प्रमुखले पहल लिनु पर्ने निर्णय भएको छ,
केन्द्रीय संगठन विभागको प्रस्तावमा हालसम्म ७० प्रतिशत वडा अधिवेशन सम्पन्न भएको पालिकामा मात्र पालिका अधिवेशन हुनसक्ने व्यवस्था रहेकोमा उक्त व्यवस्थालाई संशोधन गरी ५० प्रतिशत वडा अधिवेशन भएको र ३० प्रतिशत वडा अधिवेशन भएको पालिकाहरूको समेत अधिवेशन गर्न सक्ने निर्णय भएको छ,
कुन पालिकामा कति प्रतिशत वडा अधिवेशन भएको भन्ने विवरणले संगठनको अवस्था चित्रण गर्ने भएकोले सो कुरा ख्याल गरेर सकभर धेरै वडा अधिवेशन सकेर पालिका अधिवेशन गर्न निर्देशन दिने निर्णय भएको छ,
केन्द्रीय संगठन विभागको सदस्यका लागि प्राप्त आवेदकहरूमध्ये छनौट कार्यदलबाट सिफारिस भएको चितवनका प्रमिला भुसाल, मानकुमार लामा र दाङका सुशील अधिकारी सदस्यहरूलाई केन्द्रीय संगठन विभागको सदस्यमा मनोनीत गर्ने निर्णय गरिएको छ ।
दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश
काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न अदालतले आदेश जारी गरेको छ । समाचार सम्प्रेषण गरेकै आधारमा साइबर अपराधको मुद्दा खेपेका पत्रकार पाठक विहीबार जिल्ला अदालत, काठमाडौंमा उपस्थित भएका थिए ।
प्रहरीको साइबर ब्युरोले तीन दिनअघि उनलाई फरार प्रतिवादी बनाएर साइबर अपराध मुद्दा चलाएको थियो । विहीबार न्यायाधीश खेमराज भट्टले २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला अदालत परिसरबाट पत्रकार नारायण अर्यालले जानकारी दिए ।
रुस–युक्रेन युद्ध : गोलावारुद जारी
एजेन्सी । रुस–युक्रेनबीचको तनाव जारी छ । बुधबार रुसले आफ्नो सेनाले युक्रेनको सैन्य औद्योगिक क्षेत्रहरुमा आक्रमण गरेको दाबी गरेको छ । युक्रेनले पनि रुसी जासुसी टोलीहरूलाई पराजित गरेको प्रतिवेदन दिएको छ ।
रुसी रक्षा मन्त्रालयले बुधबार आफ्नो दैनिक ब्रिफिङमा वितेको एक दिनमा रुसी सेनाले युक्रेनको सैन्य औद्योगिक क्षेत्र, ड्रोन एसेम्बली कार्यशालाहरू, गोदामहरू, हतियार र गोलाबारुद डिपोहरूमा आक्रमण गरेको उल्लेख गरेको छ ।
रुसी वायु रक्षा बलहरूले सात अमेरिकी निर्मित जेडिएम स्मार्ट बमहरू रोकेको दाबी गरेको छ । र १३१ युक्रेनी मानवरहित हवाई सवारी साधनहरू खसालेको जनाएको छ ।
उक्त दिन युक्रेनी सशस्त्र बलका जनरल स्टाफले जनाए अनुसार रूसी सेनाले निप्रोपेट्रोभस्क ओब्लास्टको डाच्ने गाउँमा प्रवेश गर्ने प्रयास विफल पारेको छ । (सीसीटीभी)
जगदम्बा स्टिल उद्योगको भट्टी विस्फोट, एक घाइते
बारा । बारामा रहेको जगदम्बा स्टिल उद्योगको फलाम पगाल्ने भट्टी विस्फोट हुँदा एक जना घाइते भएका छन ।
भारतको सितामढी निवासी ३५ वर्षीय क्रेन चालक अशोक बैठा विस्फोटमा परी घाइते भएका हुन ।
उनको हातमा सामान्य चोटपटक लागेको छ र परवानीपुरमा रहेको एलएस न्युरो एन्ड जनरल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय सिमराका डिएसपी वेदप्रकाश जोशीका अनुसार जितपुरसिमरा उपमहानगरपालिका–२ मा रहेको सो उद्योगको भट्टीमा बुधवार राति शक्तिशाली विस्फोट भएको हो । भट्टीमा अत्यधिक तापक्रम वृद्धि भएको वा कुनै प्रकारको रासायनिक रिसाव (लिकेज) का कारण विस्फोट भएको हुन सक्ने अनुमान गरिएको उनले जानकारी दिए ।
यद्यपि, विस्फोटको ठोस कारण पत्ता लगाउन थप अनुसन्धान भईरहेको उनले बताए । उद्योगमा भएको भौतिक क्षतिको विवरण सङ्कलन कार्य जारी रहेको जिल्ला प्रहरी कार्यलय बाराले जानकारी दिएको छ ।
विधेयक सच्याउन राष्ट्रिय सभालाई अनुरोध गर्ने राज्य व्यवस्था समितिको निर्णय
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा विधेयकको दफा ८२ को उपदफा ४ थप्दा ५ हटाउनुपर्नेमा कायमै रहेकाले त्यसलाई हटाउन राष्ट्रिय सभालाई अनुरोध गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको समितिको बैठकले विधेयकको दफा ८२ को उपदफा ५ हटाउनुपर्नेमा कायमै रहेकाले त्यो हटाउने व्यवस्था गर्न राष्ट्रिय सभामा अनुरोध गर्ने निर्णय गरेको समिति सभापति रामहरी खतिवडाले बताए ।
उनले भने, ‘मिति २०८२ असार १५ गते संङ्घीय संसद प्रतिनिधि सभामा प्रस्तुत भई सर्वसम्मत्तिले पारित गरेको सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० को दफा ८२ को उपदफा ९३० पछि उपदफा ९४० थपी कायम गरिएको उक्त उपदफा ९४० मा निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले २ वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन । भनी समितिको प्रतिवेदनमा व्यवस्था गरेको र पारित गरिएको यो विषय आजको आवश्यकता अनुसार पारित गरिएको विषय हो। उक्त उपदफा ९४० लाई निष्क्रिय गराउने गरी सोही विधेयको उपदफा ९४० पछि उपदफाक्रम मिलाउदा कायम हुने उपदफा ९५० राख्नु नपर्ने विधेयकको व्यवस्थालाई यथावत राखेको कारण यो विधेयक समितिको प्रतिवेदनको उपदफा ९४० ले गरेको व्यवस्था र भावनालाई कुठाराघात हुने गरी उपदफा थप गरी पारित भएको कारण राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले उक्त दफा ८२ को कुलिङ पिरियड सम्बन्धी व्यवस्थालाई समितिले पास गरेको भावना अनुसार प्रतिवेदनको बुँदा ४३ लाई आवश्यक संशोधन गर्ने व्यवस्था मिलाईदिनुहुन राष्ट्रिय सभालाई हार्दिक अनुरोध गर्ने निर्णय गरियो । संङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० को दफा ८२ मा ूनिजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजिनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले २ वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन । भन्ने विषयलाई समितिबाट विधेयकको प्रतिवेदन तयार गर्दा निष्क्रिय गर्ने गराउने गरी समितिको सचिवालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कानून मन्त्रालयका प्रतिनिधिले भाषा लेख्ने काम भएकोमा उक्त कार्य कानून निर्माणको हिसावले षड्यन्त्रपूर्ण र दुरासयपूर्ण देखिएको हुँदा उक्त कार्यमा को को व्यक्तिको के कति गल्ति वा अपराध भएको हो त्यसको उच्च स्तरिय संसदीय समितिबाट छानविन गर्ने व्यवस्था मिलाउन सङ्घीय संसदका सभामुखलाई अनुरोध गर्ने निर्णय गरियो ।’
समितिले विधेयकको प्रतिवेदन तयार गर्दा भएको गम्भिर त्रुटीपुर्ण कार्यमा संलग्न व्यक्तिमाथी आवश्यक छानविन गरेर कारवाही गर्नका लागि सभामुख देवराज घिमिरेलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
सरकारको आलेचना गर्नेले आफु सरकारमा बस्दा के गरियो भन्ने कुरा बिर्सिनु हुँदैनः प्रकाशमान सिंह
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारको आलोचना गर्ने पार्टीका नेताहरुले आफू सरकारमा बस्दाखेरी के गरियो भन्ने कुरा बिर्सिन नहुने बताएका छन् ।
बु्धबार कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन समुद्घाटन कार्यक्रममा बोल्दै उनले आलोचना गर्नु ठिक हुने तर सरकारमा आफू हुँदा गरेका काम जनताले हेरिरहेको बताएका हुन् ।
उनले भने, ‘आलोचना गर्नु ठिकै छ गर्नुस् । सरकारले यो गरेन, त्यो गरेन भन्ने आफ्नो ठाउँमा छ तर आलोचना गर्ने पार्टीका नेताहरुले आफु सरकारमा बस्दाखेरी के गरे त त्यो पनि बिर्सिनुभएन । आफू सरकारमा हुँदा के गर्यौ त्यो जनताले हेरिरहेका छन् । हामी विधिको शासन हुनुपर्छ भनेर लडेका मान्छे हौं ।’
उनले मौका पाउँदा के दिन सकियो सबैले मनन् गर्नुपर्ने भन्दै २०१७ सालमा गुमेका अधिकार प्राप्त गर्न ३० वर्षभन्दा बढि संघर्ष गर्नु परेको पनि बताए ।
‘दुई पटक संविधान सभाको चुनाव भयो, ठुला कुरा गर्नुभन्दा मौका पाउँदा केही दिन सकियो कि सकिएन भन्ने हो । संविधान जारी गर्ने कठिन परिस्थिती हामीले बिसिर्यौ अनि अहिले कस्तो बनाएको भन्ने ?१७ सालमा गुमेको अधिकार पूर्न वहाली गर्नका लागि हामीले ३० वर्षभन्दा बढि संघर्ष गर्नु परेको कुरा बिर्सिनु भएन,’उनले भने ।
उनले कठिन संघर्ष गरी प्राप्त गरिसकेको अधिकारलाई सुरक्षित, संस्थागत अगाडि बढाउने काममा हाम्रो कमिकमजोर देखा परेको बताए ।
आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा मधेश प्रदेशका केही स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा÷ हिमपातको सम्भावना रहेको छ।
यस्तै, आज राती कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा÷ हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङसहित वर्षा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भने भारी वर्षा पनि भइरहेको छ ।
रास्वपा कार्यवाहक सभापति अर्यालविरुद्ध भिजिट भिसा र मानव तस्करीको विषयमा छानबिनको माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) विरुद्ध भिजिट भिसा दुरुपयोग र मानव तस्करी विषयमा छानबिनको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी दर्ता भएको छ ।
उजुरी सामाजिक अभियन्ताका रुपमा आँफुलाई चिनाउँदै आएका युवराज सफलले गरेका हुन् । सफलले प्रतिनिधिसभाको गत असार १५ गतेको बैठकमा सांसद अर्यालले आफू सुमिरे टुर्स एण्ड ट्राभल्स प्रा।ली। को सञ्चालक रहेको र वर्षौँदेखि जापानमा भिजिट भिसामा नेपाली नागरिक पठाउँदै आएको स्विकारे लगत्तै कार्यवाहक सभापति अर्यालविरुद्ध उजुरी दर्ता गरेका हुन् ।
कार्यवाहक सभापति अर्यालले सदनमा जवाफ दिँदै बोलेका तथ्यलाई आधार बनाएर सफलले उनको कम्पनीमार्फत विदेश पठाइएका नागरिकहरूको प्रक्रिया, कागजात र वैधानिकता विषयमा गहिरो छानबिन आवश्यक रहेको तर्क गरेका छन् ।
उनले दर्ता गराएको निवेदनमार्फत भनेका छन्, ‘भिजिट भिसाको नाममा ‘सेटिङ’ गरेर त्रिभुवन विमानस्थल हुँदै नागरिक विदेश पठाइएको प्रमाणहरू सार्वजनिक भइसकेका छन् । यस्तोमा अर्यालको कम्पनीले कागजात पूरा गरेर नागरिक पठाएको स्विकार्न सकिन्न ।’
उक्त उजुरीमा सांसद डिपी अर्यालसहित कम्पनीका अन्य सञ्चालकलाई कानुनी दायरामा ल्याई दोषी ठहरिए हदसम्मको कारबाही गर्न माग गरिएको छ । प्रधानमन्त्री कार्यालयले भने हालसम्म यस विषयमा कुनै धारणा सार्वजनिक गरेको छैन ।