पूर्वमन्त्री प्रदीप नेपालको निधन
काठमाडौं । पार्किन्सन रोगबाट थलिएका पूर्वमन्त्री प्रदीप नेपालको ७१ बर्षको उमेरमा निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा नेपालको मंगलबार अपरान्ह निधन भएको हो ।
एमालेका नेता एवं पूर्वसंचार तथा सूचना प्रविधिमन्त्री नेपाल प्रगतिशील साहित्यकार पनि हुन् । उनी लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए।
स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई गोठाटार काँडाघारी निवासबाट नर्भिकस्थित आइसीयुमा उपचारका लागि ल्यााइएको थियो। पाँच दशकभन्दा बढि समय कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेका नेपाल वैचारिक नेता थिए ।
तराईका बजारमा विषादीयुक्त तरकारी छ्यापछ्याप्ती
धरान । मङ्गलवार धरान उपमहानगरपालिकामा २४ क्विन्टल भन्दा बढी तौलको काउली (फूलगोभी) नष्ट गरियो । जाँच गरिएको काउलीमा ९७.४ प्रतिशत विषादीरहेको थियो ।
धरान–१३ स्थित कृषि बजारमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले परीक्षण गर्दा विषादीको मात्रा अत्यधिक देखिएकाले तत्काल नष्ट गरिएको धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र विक्रम बेघाले बताए ।
नजिकै रहेको इटहरी उपमहानगरपालिको बजार अनुगमनका क्रममा पनि अखाद्य सामग्री प्रशस्तै भेटिने गरेको उपमहानगरपालिका स्रोत बताउँछ । स्रोतका अनुसार त्यस्ता सामग्रीलाई तत्काल नष्ट गर्ने गरिएको छ ।
यी लगायत तराइका बजारहरूमा विषादी मिसिएका तरकारीहरूको प्रयोग नगरिकले प्रत्येक दिनजसो प्रयोग गरिरहेका हुन्छन् । धरानमा परीक्षण गरिने प्रयोगशालाको पछिल्लो विवरणअनुसार नै अन्य तरकारीहरूमा धेरै मात्रामा विषादी भेटिएको छ ।
त्यहाँ गरिएको परीक्षणमा सादा सिमीमा ७.४४ प्रतिशत, गाँजरमा १०.११ प्रतिशत,प्रतिशत, गोलभेंडाः २५.२१ प्रतिशत, काउली(बन्दाकोबी) २९.६९ प्रतिशत, घिरौँलामा ३०.७८ प्रतिशतसम्म विषादी भेटाएको छ ।
यो तथ्यांकअनुसार पनि मानिसको भान्सामा कति विषादी पुग्छ भन्ने यकिन अवस्था छैन । जनस्वास्थ्यका जानकारहरूका अनुसार नागरिकको स्वास्थ्यमा गम्भीर खेलबाड गर्ने जो केहीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउँछन् ।
धरानको प्रयोगशालाले ३५ प्रतिशत भन्दा कम विषादी भएको तरकारीलाई उपभोग योग्य, ३५–४५ प्रतिशत सम्मकोलाई केही दिन राखेर खान मिल्ने, तर ४५ प्रतिशतभन्दा बढी भएमा पूर्ण रूपमा नष्ट गर्नुपर्ने मापदण्ड अनुसार परीक्षण गर्दै आएको प्रयोगशालाका नायब प्राविधिक सहायक रुपेश रिजालले जनाएका छन् ।
उनका अनुसार नेपालभरका थोक कृषि बजारमा कार्बामेट र अर्गानोफस्फेट समूहको विषादी मात्र परीक्षण हुँदै आएको छ । स्थानीहरुले भारतबाट आउने तराकारीहरुको समेत परीक्षण गरेर कडाइ गर्नुपर्ने बताएका छन् ।
एमाले धनुषा अधिवेशनमा मतदाता नामावलीको विवादले लियो उग्र मोड
जनकपुर । नेकपा (एमाले) धनुषाको जिल्ला अधिवेशन निर्वाचन प्रक्रियाको चरणमा पुगेपछि तीव्र विवाद उत्पन्न भएको छ ।
निर्वाचन समितिले मंगलबारको लागि निर्वाचन कार्यतालिका तय गरेर सम्पूर्ण तयारी पूरा गरिसकेको भए पनि मतदाता नामावली सार्वजनिक भएपछि एक पक्षले समितिमाथि पक्षपात र धाँधलीको आरोप लगाउँदै विरोध जनाएपछि स्थिति तनावपूर्ण बनेको हो ।
विवाद चर्किंदै जाँदा अधिवेशन स्थलमै कुर्सी हानाहानको स्थिति सिर्जना भयो । केही नेताकार्यकर्ताले निर्वाचन समितिमाथि आक्रोश व्यक्त गर्दै कुर्सी प्रहार गरेका थिए भने वर्तमान अध्यक्ष राजकिशोर यादवमाथि समेत कुर्सी प्रहार भएको आरोप लागेको छ ।
अध्यक्ष पदमा भोला यादव र लक्ष्मी नारायण यादवले उम्मेदवारी दिएका छन् । सोमबार राति मनोनयन दर्ता भइसकेको थियो तर अन्तिम नामावलीमा नाम थपघट भएको भन्दै असन्तुष्टि चुलिएको हो । उपाध्यक्ष, सचिव, उपसचिव र महिला उपसचिव पदमा पनि प्रतिस्पर्धा हुँदैछ । अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गरिनेछ ।
पार्टीभित्र महासेठ समूह र मण्डल–अरगरिया–झा समूहबीच गुटगत प्रतिस्पर्धा देखिएको छ। दुबै समूहले प्यानल बनाएर उम्मेदवारी दिएका छन् । क्रियाशील र योगदान गरेका युवाहरूलाई सदस्यताबाट बञ्चित गरिएको गुनासो एमालेभित्रै उठिरहेको छ, जसले नेतृत्व चयन प्रक्रिया र आन्तरिक लोकतन्त्रप्रति प्रश्न उठाएको छ ।
पाकिस्तान र भारतबीच तनाव बढ्दै, कश्मीरका बासिन्दा त्रसित
एजेन्सी । पाकिस्तान र भारतबीच तनाव बढ्दै गएपछि द्वन्द्व हुने डरले कश्मीरका बासिन्दाहरू खाद्यान्न र अत्यावश्यक वस्तुहरूको भण्डारण गर्न थालेका छन् ।
अप्रिलको अन्त्यतिरबाट दुई देशबीचको गतिरोध बढ्दै गएको हो । पाकिस्तानले सोमबार तीन दिनमा दोस्रो क्षेप्यास्त्र परीक्षण गरेको र भारतले धेरै राज्यहरूलाई सुरक्षा अभ्यास गर्न आदेश दिएको खबर बाहिरिएपछि दुई देशबीच तनाव बढेको हो ।
दुई दक्षिण एसियाली छिमेकीहरू बीच विवादित क्षेत्र कश्मीरलाई विभाजन गर्ने सीमा, नियन्त्रण रेखा नजिकका समुदायहरू सम्भावित द्वन्द्वका कारण त्रशित भएका छन् ।
सैन्य गतिविधि बढ्दै गएपछि आजाद कश्मीरका मानिसहरूले खाद्यान्न र आवश्यक वस्तुहरूको भण्डारण गर्न थालेका हुन् । स्थानीय सरकारले सबैभन्दा जोखिममा रहेका गाउँहरूमा आपूर्ति व्यवस्थापनमा काम गरिरहेको छ ।
‘हामीले ठूलो मात्रामा गहुँ, दाल, चिनी, चामल र तेल भण्डार गरेका छौं,’ एक किनमेल गर्ने शाहिद अलीले भने। ‘सरकारले कुनैपनि समयमा जे पनि हुन सक्छ, भनेको छ र मैले किन्न सक्ने सबै आवश्यक चीजहरू, केही गहुँ र थोरै तेल किन्न आएको हुँ,’ स्थानीय बासिन्दा मुहम्मद सलीमले भने ।
कश्मीरमा दुर्गम र हिउँले घेरिएका क्षेत्रहरूमा जाडोको लागि पीठो भण्डारण गर्ने गरिन्छ । तर सीमापार तनाव बढ्ने खतरा बढ्दै जाँदा, पाकिस्तानी सरकारले अब पहुँचयोग्य क्षेत्रहरूमा पनि भण्डारण विस्तार गर्दैछ, आपूर्ति केन्द्रहरूलाई स्थानान्तरण गर्ने तयारी गरेको छ ।
भारत नियन्त्रित कश्मीरको पहलगाम शहर नजिकैको प्रमुख पर्यटकीय स्थलमा अप्रिल २२ मा भएको आक्रमणबारे भारतले पाकिस्तानलाई दोष लगाउने गरेको छ । जसमा २६ जना सर्वसाधारणको मृत्यु भएको थियो । तर भारतीय पक्षको आरोपलाई पाकिस्तानले दृढतापूर्वक अस्वीकार गरिरहेको छ । (सीसीटीभीप्लस)
अर्थमन्त्री विष्णु पौडेल र प्रचण्डबिच भेट
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट गरेका छन् ।
आज मंगलबार प्रचण्डको निवास खुमलटारमा उक्त भेटघाट भएको हो ।
भेटमा आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग विमर्श गरेका छन् ।
ओखलढुङ्गाको खिजिदेम्बामा करेन्ट लागेर एक मजदुरको ज्यान गयो
रामेछाप । ओखलढुङ्गामा करेन्ट लागेर हिजो एक मजदुरको ज्यान गएको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिका–८ रावाटोलमा ट्रान्सफर्मर चार्ज गर्ने क्रममा करेन्ट लागेर कैलालीको हसुलिया–४ का ३० वर्षका बिन्दु चौधरीको करेन्ट लागेर ज्यान गएको हो ।
चौधरी सिग्माकोण प्रालि काठमाडौंको ठेक्कामा रहेको विद्युत् विस्तार आयोजनाको मजदुर थिए । चौधरीको शव ट्रान्सफर्मरमा झुण्डिरहेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक मनिष लुइँटेलले जानकारी दिए ।
घटनास्थल जिल्ला सदरमुकामबाट सबैभन्दा टाढा र दुर्गम क्षेत्र रामेछाप जिल्लाको सिमानामा पर्दछ । अहिले ओखलढुङ्गाका ग्रामीण क्षेत्रमा केन्द्रीय विद्युत् लाइन विस्तारको काम भइरहेको छ ।
आजको मौसम : देशभर वर्षा र हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहनुको साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
जसका कारण, अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया मौसम बदली रहने छ । देशका पहाडी भागका केही स्थान तथा बाँकी भागका थोरै स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू–भागका केही स्थानमा भने हल्का वर्षा र हिमपातको सम्भावना छ ।
त्यसैगरी, आज राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा मौसम आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
धरानबाट भोजपुर जाँदै गरेको बस दुर्घटना, एक जनाको मृत्यु
धरान । धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस आज बिहान धनकुटामा दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
कोशी लोकमार्गअन्तर्गत धनकुटा नगरपालिका–६ गोठगाउँमा बिहान करिब १० बजेतिर को १ ख २१७७ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खस्दा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी ओमप्रकाश खनालका अनुसार घटनामा धनकुटा–६ की ७३ वर्षीय कृष्णकुमारी राईको ज्यान गएको छ । गम्भीर घाइते भएकी राईलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल धनकुटा पु¥याइएको थियो ।
तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । वसमा १४ जना सवार रहेका थिए । अन्य १३ जना घाइते रहेको र तीन जनाको अवस्था गम्भीर रहेको उनले बताए । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको डीएसपी खनालले जानकारी दिए ।
घाइतेहरुः
भोजपुरका ५८ वर्षिय लीलाबहादुर श्रेष्ठ । गम्भीर
भोजपुरकै ६० वर्षीय देवी विक । गम्भीर
धनकुटाका ६० वर्षीय हंशबहादुर राई । गम्भीर
धनकुटाका ३४ वर्षीय धनकुमार बिक ।
धनकुटाकै ६० वर्षीया दीर्घमाया राई ।
भोजपुरका २० वर्षीय सूर्यमणि तामाङ ।
भोजपुरकै अनमोल तामाङ ।
भोजपुरकी २४ वर्षीय सविना बराइली ।
भोजपुरका ८० वर्षीय गंगाप्रसाद सापकोटा ।
भोजपुरकी ५१ वर्षीय पूर्णमाया तामाङ ।
बस चालक सुनसरीका का ५१ वर्षीय रुद्र तामाङ ।
सुनसरीका ४८ वर्षीय कृष्ण राउत ।
सुनसरीका २७ वर्षीय आयुष राई ।
अघिल्लो दिनको तुलनामा सुनको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ५ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ सयले बढेर एक लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार सुन तोलाको एक लाख ८४ हजार १०० मा कारोबार भएको थियो ।
आज चाँदी भने तोलामा स्थिर रहेको छ । आइतबार १९१० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भइरहेको महासंघले जनाएको छ ।
हेटौंडामा जमिनमुनि बेपत्ता गाडी : भूगर्भविद्को सहयोगमा खोजी अघि बढ्ने
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ स्थित गैरीगाउँमा शुक्रवार जमिनमुनि हराएको गाडी तीन दिनसम्मको खोजी प्रयासपछि पनि फेला नपरेपछि अब भूगर्भविदको सहयोगमा खोजी अगाडि बढाइने भएको छ ।
गत शुक्रवार दिउँसो करिब १ बजेको समयमा गैरीगाउँको एक स्थानमा रोकिराखिएको ना ४ ख ४८३३ नम्बरको मिनी ट्रक अकस्मात् जमिन भासिएर माटोमुनि हराएको थियो ।
घटना लगत्तै प्रहरी, दमकल र अन्य प्राविधिक टोली परिचालन गरेर खोजी कार्य सुरु गरिए पनि आइतवार दिउँसोसम्म पनि गाडीको कुनै अत्तोपत्तो पत्ता लाग्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा डिएसपी श्यामु अर्यालका अनुसार प्रारम्भिक चरणमा आवश्यक खोजीका कामहरू गरिएको भए पनि गाडी फेला नपरेपछि जोखिमको मूल्याङ्कन गर्दै हाललाई स्थगित गरिएको छ ।
‘स्थलको वरिपरि पानी जमेको थियो, हामीले त्यो हटायौँ । जेसीबी प्रयोग गरेर खन्ने प्रयास पनि भयो, तर थप जमिन भासिने सम्भावना रहेकाले तत्कालका लागि खोजी कार्य रोकिएको छ, डिएसपी अर्यालले भने ।
भूगर्भ विज्ञ बोलाउने निर्णय
घटनाको गम्भीरता र स्थानको संवेदनशीलता मूल्याङ्कन गर्दै हेटौंडा उपमहानगरपालिकाले आइतवार एक आकस्मिक बैठक डाकेर भूगर्भविद्हरूको सहयोगमा वैज्ञानिक ढंगबाट खोजी कार्य अघि बढाउने निर्णय गरेको छ ।
उपमहानगर प्रमुख मिनाकुमारी लामाले सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालासँगको छलफलपछि भूगर्भ विभागसँग समन्वय गरेर औपचारिक पत्राचार गरिएको जानकारी दिइन् ।
‘हामीले यो घटनालाई सामान्य दुर्घटना भनेर हेर्न मिल्लदैन । स्थानको भौगोलिक बनावट, माटोको बनोट तथा जमिनको स्थायित्वबारे वैज्ञानिक परीक्षण आवश्यक छ भन्ने निष्कर्षमा पुगेका छौं,’ प्रमुख लामाले भनिन् ।
उपमहानगरपालिकाका अनुसार भूगर्भ विभागको टोली आवश्यक प्रविधि र उपकरणसहित अध्ययन गर्न सोमवारसम्म हेटौंडा पुग्ने अपेक्षा गरिएको छ । अध्ययनपछि खोजी प्रक्रिया पुनः सुरु गरिनेछ ।