कोशी प्रदेशमा लगानी सम्मेलनको तयारी पुरा, प्रधानमन्त्रीले उद्घाटन गर्दै
इटहरी । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिलोपटक आयोजना हुन लागेको कोशी लगानी सम्मेलनको भोलि (बिहिवार) प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् ।
सम्मेलनको पूर्वसन्ध्यामा बुधवार पत्रकार सम्मेलन गर्दै प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा.सरोज कोइरालाले सम्मेलनको विस्तृत विवरण प्रस्तुत गर्दै ७१ वटा ठूला परियोजनाहरू सार्वजनिक गरिने जानकारी दिए ।
वैशाख १८ र १९ गते दुई दिनसम्म चल्ने सम्मेलनमा पर्यटन, कृषि, ऊर्जा, पूर्वाधार, उद्योग र सूचना प्रविधि लगायतका विभिन्न क्षेत्रका परियोजनाहरूको सोकेसिङ गरिनेछ । प्रस्तुत गरिने परियोजनाहरूको कुल अनुमानित लागत १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ रहेको छ ।
चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारतसहितका विभिन्न देशका लगानीकर्ता, गैरआवासीय नेपाली तथा देशका प्रतिष्ठित उद्योगपतिहरूको उपस्थिति रहने सम्मेलनमा ६ वटा विषयगत सत्रहरू सञ्चालन हुनेछन् । यी सत्रहरूमा कृषि तथा पर्यटन, औद्योगिक उत्पादन र बजारीकरण, पूर्वाधार विकास, ऊर्जा, स्वास्थ्य सेवा, र मेडिकल शिक्षामा लगानीका सम्भावनामाथि गहन छलफल गरिनेछ ।
डा. कोइरालाका अनुसार सम्मेलनबाट कम्तीमा दुई दर्जन परियोजनामा प्रारम्भिक सम्झौता भई तिनीहरूको कार्यान्वयन प्रक्रिया सुरु हुने अपेक्षा गरिएको छ । सम्मेलनलाई थप सार्थक र नतिजामुखी बनाउने उद्देश्यले प्री मिट र सम्मेलनपछिका फलोअप मिटिङहरूको समेत व्यवस्था गरिएको छ, जसबाट परियोजनाकारहरूलाई आवश्यक मार्गदर्शन र सहजीकरण प्रदान गरिनेछ ।
सम्मेलनलाई प्रभावकारी बनाउन कानुनी सुधार सम्मेलन सफल बनाउन कोशी प्रदेश सरकारले हालै ८ वटा कानुन अध्यादेशमार्फत संशोधन गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकको निर्णयअनुसार ल्याइएको अध्यादेशलाई प्रदेश प्रमुख पर्शुराम खापुङले स्वीकृत गरी राजपत्रमा प्रकाशित गरिएको हो ।
सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीका अनुसार संशोधन गरिएका ऐनहरूमा सार्वजनिक निजी साझेदारी ऐन २०७६, प्रदेश सहकारी ऐन २०७६, सवारी तथा यातायात व्यवस्था ऐन २०७६, भवन ऐन २०७६, औद्योगिक व्यवसाय ऐन २०७७, पर्यटन विकास ऐन २०७६, कोशी प्रदेश निजी तथा साझेदारी फर्म रजिस्ट्रेसन ऐन २०७७ र वन ऐन २०७७ रहेका छन् ।
कानुन मन्त्री भण्डारीले संशोधनपछि लगानी प्रक्रियामा देखिने कानुनी जटिलता अन्त्य भई लगानीमैत्री वातावरण सृजना हुने विश्वास व्यक्त गरे । साथै, संघीय र प्रदेश सरकारबिचको समन्वयमार्फत कानुनी, नीतिगत र प्रशासनिक सहजीकरण गर्दै कोशी प्रदेशलाई लगानीको प्रमुख गन्तव्य बनाउने लक्ष्य लिइएको बताइएको छ
पहिचानवादी शक्तिहरू एक ठाउँमा नआओस् भन्नको लागि रेशम चौधरीलाई पक्राउ गरेको हो : प्रवक्ता यादव
काठमाडौँ । जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले पहिचानवादी शक्तिहरू एक ठाउँमा नआओस् भन्नको लागि नाउपा संरक्षक रेशम चौधरीलाई पक्राउ गरेको बताएका छन् ।
उनले प्रज्ञा भवन कमलादीबाट आज हुने भनिएको पार्टी एकता सभा रोकिएको जानकारी गराउदै एकीकरण हुन नदिनलाई यो कार्य गरिएको बताएका हुन् ।
‘तत्कालीन अवस्थामा हामीलाई एकीकरण हुन नदिनलाई यो कार्य गरिएको भन्ने हामीले बुझेका छौ । यो देशमा पहिचानवादी शक्तिहरू एक ठाउँमा नआओस् भन्ने ठुलो सन्देश गएको छ । हामी यसको भत्सर्ना पनि गर्छौ र अब के गर्ने भन्ने कुरा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका शीर्ष नेताहरू बसेर अगाडिको छलफल बढाउछौ ।’ उनले भने ।
उनले अर्का पार्टीको संरक्षक नै पक्राउ परेपछि एकता प्रक्रियालाई अगाडि बढाउनलाई उपयुक्त नदेखिएको भन्दै कार्यक्रम स्थगित भएको जानकारी गराए । उनले सरकारले थारू मधेशी एक हुन नदिन आजको घटना घटाएको भन्दै एकता प्रक्रिया नरोकिने पनि बताए ।
उनले भने, ‘राज्यले पहिचानवादीहरू, थारु, मधेशीहरु, सीमान्तकृत वर्गहरू एक ठाउँ नआउन् भन्ने धारणाले यो नै घटना भएको हो । एकता प्रक्रिया रोकिदैन तत्कालको लागि स्थगित भएको मात्र हो । भईरहेको समस्या बुझेर यसलाई अगाडि कसरी लाने छलफल गरी यो एकता गरी छाड्छौ । आज ढिलो हुने कारण प्राविधिक थियो त्यसमा अरू कारण केही थिएन् ।’
विराटनगरमा नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ
विराटनगर । मोरङको विराटनगर महानगरपालिका १३ स्थित एक किराना पसलमा नक्कली भारतीय नोट प्रयोग गर्न खोज्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकी व्यक्ति भारत बिहार राज्यको अररिया जिल्लाकी १९ वर्षीय सिम्पी बैसन्ति रहेको प्रहरीले जनाएको छ।
वैशाख १६ गते सामान किन्ने क्रममा सिम्पीले भारतीय ५ सय रुपैयाँको नोट पसलेलाई दिएकी थिइन् । सो नोट नक्कली भएको शंका लागेपछि पसलधनीले तत्काल प्रहरीलाई जानकारी गराएका थिए।
सूचनापछि इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सिम्पीको साथमा जाँच गर्दा भारतीय ५ सय दरका ७ थान नक्कली नोट र नेपाली ३ हजार १ सय रुपैयाँ फेला परेको थियो।
प्रहरीका अनुसार उनलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही अगाडि बढाइएको छ। साथै, नक्कली नोटको स्रोत र संलग्न अन्य व्यक्तिबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । बुधवार जनमत पार्टीसँगको एकता कार्यक्रमबाट उनलाई पक्राउ गरेर डिल्लीबजार कारागार लगेको हो । एकता कार्यक्रम सुरु हुनु अघि नै उनलाई पक्राउ गरिएको हो ।
उनी एकता कार्यक्रममा सहभागी हुन प्रज्ञा भवन पुगेका थिए । उनलाई सादा पोसाकका प्रहरीहरूले पक्राउ गरेर हो ।
सत्तारुढ दलहरूको बैठक बस्दै
काठमाडौं । सत्तारूढ राजनीतिक दलहरूको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा काठमाडौंमा भइरहेका शिक्षक आन्दोलन, चिकित्सक आन्दोलन, सहकारी तथा निजामती कर्मचारीहरूको आन्दोलनलगायत विषयमा छलफल हुने बताइएको छ ।
यस्तै, बैठकमा समसामयिक राजनीति, मुलुकमा देखिएका विभिन्न किसिमका गतिविधिका विषयमा छलफल हुनेछ ।
कोशी प्रदेश सरकारले ल्यायो आठ अध्यादेश
इटहरी । कोशी प्रदेश सरकारले लगानी सम्मेलनको पूर्वसन्ध्यामा विभिन्न आठ अध्यादेश ल्याउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले केही ऐन संशोधन गर्नका लागि अध्यादेश ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीले जानकारी दिए ।
उनका अनुसार सार्वजनिक निजि साझेदारी ऐन २०७६, प्रदेश सहकारी ऐन २०७६, प्रदेश सवारी एवं यातायात व्यवस्था ऐन २०७६, प्रदेश भवन ऐन २०७६, प्रदेश औधोगिक व्यवसाय ऐन २०७७, प्रदेश पर्यटन विकास ऐन २०७६, कोशी प्रदेश निजी तथा सार्वजनिक साझेदारी फर्म रजिस्ट्रेसन ऐन २०७७ र प्रदेश वन ऐन २०७७ संशोधन गर्न अध्यादेश ल्याइएको हो ।
सो अध्यादेशलाई आजै प्रदेश प्रमुखकोमा लगेर जारी गरिने भण्डारीले बताए ।
यस्तै बैठकले कोशी प्रदेशको लगानी सम्मेलनका लागि नीतिगत प्रतिबद्धताहरू सार्वजनिक गर्ने निर्णय गरेको छ ।
प्रदेशको लगानी सम्मेलन यही बैशाख १८ र १९ गते विराटनगरमा आयोजना हुँदै छ । जसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको छ ।
अत्याधिक मदिरा सेवनका कारण राउटे मुखियाको मृत्यु
सुर्खेत । जंगलमा फिरन्ते जीवन विताउँदै आएका राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको मृत्यु भएको छ । ४९ वर्षीय शाहीको गएराति बराहताल गाउँपालिका–८ सोतखोलामा रहेको बस्तीमा मृत्यु भएको हो । अत्यधिक मदिराका कारण मुखिया शाहीको मृत्यु भएको राउटे समुदायसँग काम गर्दै आएका सोसेक नेपालका जोडी शिक्षक लालबहादुर खत्रीले जानकारी दिए ।
‘नयाँ वर्षमा यो समुदायमा ठूलो चाड मनाउने प्रचलन हुन्छ । त्यहीँ बेलादेखि उहाँ विरामी हुनुहुन्थ्यो,’ खत्रीले भने, ‘पछिल्लो पाँच दिनयता विरामीले च्यापेपछि सुतिरहने तर नउठ्ने गरेपछि अस्पताल लैजान सम्झाउने गरेका थियौँ । तर उहाँको गएराति नै मृत्यु भयो ।’
राउटे समुदाय विरामी भएपछि उपचारका लागि अस्पताल जान मान्दैनन् । ‘मुखियाले अस्पताल गएका सबैको मृत्यु भएको छ म पनि जाँदैन भन्नुहुन्थ्यो,’ खत्री भन्छन्, ‘सोमवारसम्म अवस्था हेरौँ नभएर मंगलबार उपचारका लागि वीरेन्द्रनगर जाउला भन्नुभएको थियो । गएराति ९ बजेतिर उहाँको मृत्यु भइसक्यो ।’
तीन जना मुखिया रहेको राउटे समुदायका मुख्य मुखिया सूर्यनारायण हुन् । २०७२ जेठमा मुखिया चुनिएका उनी रास्कोटी गोत्रका हुन् । एक महिनाअघि मात्रै उनीहरू वीरेन्द्रनगर–१४ छेडामा भेट्नेगरी गिरीघाटबाट छुट्टिएको थिए ।
२१ घरधुरी वीरेन्द्रनगर–१३ करेखोला किनारामा बसिरहेका छन् । मुखिया शाहीको नेतृत्वमा बाँकी २१ घरधुरी बराहतालको सोतकोला किनाराहुँदै श्रीचौर नजिकै पुगेको हो ।
राउटे समुदायको चलनअनुसार तीन वर्षको फरकमा छुट्टाछुट्टै बाँडिने गरेका छन् । राउटे समुदाय दुई राउटे समुदायमा रास्कोटी, स्ववंशी र कल्याय गरी तीन गोत्र छन् । मुखियाको मृत्यु भएपछि यो समुदायको सङ्ख्या घटेर १३५ मा झरेको छ ।
रचनात्मक सोचको परिणाम, फोहोर फाल्ने ठाउँ बन्यो बालउद्यान
रामेछाप । काम गर्नको लागि धेरै रकम र ठुलो ठाउँ भन्दा पनि रचनात्मक सोच चाहिन्छ । रचनात्मक सोच भयो भने थोरै पैसा र सानो ठाउँमा पनि राम्रो काम गर्न सकिन्छ ।
त्यसको उदाहरण रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा देखिएको छ । मन्थली नगरपालिका–८ चिसापानीका वडाध्यक्ष गोपाल श्रेष्ठको रचनात्मक सोचले फोहोर फाल्ने ठाउँ अहिले बालउद्यान बनेको छ ।
वडा कार्यालय अगाडिको ठुलो पँधेरो छेउको खाली जग्गामा त्यतिकै फोहोर थुप्रिएको थियो । वडा कार्यालय अगाडिकै जमिनमा फोहोर थुप्रिएपछि त्यसलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा वडाध्यक्षले सोचे । सोच आयो बालउद्यान बनाउने ।
मन्थली नगरपालिका बालमैत्री शासन सञ्चालन भएको नगरपालिका बन्ने तयारी गरिरहेको बेला त्यसको लागि पनि सहयोग पुग्ने, फोहोर फालिएको जग्गा पनि सदुपयोग हुने । सोही सोचले मूर्तता पाएपछि ठुलो पँधेरो माथिको खाली जग्गामा बन्यो बालउद्यान ।
पँधेराको छेउमा खाली रहेको ठाउँमा अहिले बालबालिकाहरूलाई खेल्नको लागि पिङ राखिएको छ । पिङसँगै चिप्लेटी पनि राखिएको छ । जहाँ फुर्सदको बेलामा बालबालिकाहरू खेलेर रमाउने स्थानीय शान्ता श्रेष्ठ बताउँछिन् । ‘सानो ठाउँमा पनि खेल्ने ठाउँ बन्यो, ठाउँको सदुपयोग भयो, बच्चालाई पनि रमाइलो गर्ने ठाउँ भयो’, उनले भनिन् ।
बाल उद्यानको केही काम भएपनि अझै पँधेरा माथि फूल रोप्ने, क्यारी बनाउने लगायतका काम बाँकी रहेको वडाध्यक्ष गोपाल श्रेष्ठ बताउँछन् । त्यस्तै बालबालिकालाई बस्नको लागि केही बेन्चहरू पनि राखिने उनले जानकारी दिए ।
ठुलो पँधेरो विगतमा चिसापानीवासीले पानी खाने मुख्य पँधेरो हो । अहिले घर घरमा लिफ्ट खानेपानीको धारा पुगेपछि सो पँधेरोमा पानी लिन जानेको सङ्ख्या घटेको छ । विगतमा रात–दिन पानी भर्न जाने मानिसहरू जाने सो पँधेरोको छेउमा गाग्री बोकेको प्रतिमा राखिएको उनले बताए । ‘बालबालिकालाई रमाउने र आराम गर्ने ठाउँको लागि बालउद्यान बनाएका हौँ, विगतमा चिसापानीका मानिसहरू पानीको समस्याले रातभरि सुत्दैनथे, ठुलो पँधेरोमा पानी भर्ने पालो पर्खिएर बस्थे, त्यसैले विगतमा पुर्खाहरूले गरेको दुःख सम्झाउन र बालबालिकालाई धारा, पँधेराको महत्त्व दर्साउन सो प्रतिमा पनि राखेका हौँ’, उनले भने ।
मुद्दा फाँटका असई झा, जो पैसा नखाई कामै गर्दैनन्
सिरहा । सिरहाको मिर्चैयास्थित इलाका प्रहरी कार्यालयका एक जना प्रहरी कर्मचारीका कारण बदनाम बनेको छ । उनी हुन्, असई सौरभ झा । उनले सोमवार मात्रै एक सेवाग्राहीसँग दस हजार रुपैयाँ घुस मागेका थिए ।
तर, सञ्चारकर्मीले थाहा पाएपछि डरले उनले पैसा लिएनन् । ती सेवाग्राही एक उदाहरण पात्र हुन् । असई झाले मुद्दासँग सम्बन्धित सामान्य कामका लागि पनि सेवाग्राहीसँग अनधिकृत रूपमा रकम असुल्ने गरेका छन् ।
कुनै काम छिटो गरिदिने, सहज गरिदिने नाममा मात्रै होइन, प्रतिवादीहरूसँग उनले पैसा लिएर पक्राउ नै नगरी सरकारी वकिल र अदालतमा फाइल पेश गरिदिएको प्रशस्तै उदाहरण छन् । मिर्चैयाकै एक जनाले दर्ता गराएको बैंकिङ कसुरसम्बन्धी मुद्दामा उनले त्यस्तै गरे ।
मुद्दा दर्ता भए पनि प्रतिवादी खुलेआम घुमिरहे । तर, प्रहरीले उनलाई फरार देखाएर फाइल अदालत बुझाइयो । ’प्रहरीमा मुद्दा दर्ता हुँदा पनि मान्छे पक्राउ नै नपरेपछि मुद्दाको के अर्थ भयो,’ ती पीडितले भने, ’जबकि प्रतिवादीलाई कति चोटी मैले सौरभसँगै देखेको थिएँ ।’
झाले आफ्नो नाममा मात्रै होइन, हाकिमहरूको नाममा पनि पैसा लिन्छन् । मिर्चैया प्रहरी स्रोतका अनुसार, उनलाई केही समयअघि मात्रै यस्तै उजुरीपछि कारबाही स्वरूप नसिहत पनि दिइएको थियो । तर, फेरि पनि उनी मुद्दा फाँटमै काम गरिरहेका छन् ।
आजको मौसम : कोशी, मधेस, बागमती र गण्डकीमा वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको साथै बंगालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।
जसका, कारण हाल सुदूर पश्चिम प्रदेशमा आंशिक र बाँकी भू–भागमा सामान्य बदली रहेको छ भने कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानमा चट्याङसहित वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार, आज दिउसो भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा मौसम साधरणतया बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकीलगायत अन्य प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।
यस्तो खालको मौसम राति पनि जारी रहने महाशाखाले जानकारी दिएको छ ।