तराईका धेरै स्थानहरूमा अत्याधिक गर्मीको सम्भावना
काठमाडौं । हाल देशमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था छ । साथै देशभर मौसम मूख्यतया सफा रहेको छ ।
आज दिउँसो, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ भने एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राती, कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ ।
मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा अत्याधिक गर्मीको सम्भावना देखिएकोले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन महाशाखाले अनुरोध गरेको छ।
साथै कोशी, गण्डकी र कर्णाली प्रदेश को पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गको पनि सम्भावना रहेकोले त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन महाशाखाले अनुरोध गरेको छ।
रौतहटको गरुडा स्थित चाँदी खोलामा बालकको शव फेला, हत्याको आशंका
रौतहट । रौतहटको गरुडा नगरपालिका–८ स्थित चाँदी खोलामा १४ वर्षीय बालकको शव फेला परेको छ । वृन्दावन नगरपालिका–७ बस्ने १४ वर्षीय कृष्ण प्रसाद यादवको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
बालकको शवको प्रकृति हेर्दा हत्या गरेर फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीका अनुसार बालकको शव शुक्रबार बिहान
पानीमा घोप्टो परेको अवस्थामा फेला परेको हो । घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका आधारमा शवको पेट र कन्चटमा गहिरो चोट देखिएको र धारिलो हतियार प्रयोग भएको हुन सक्ने आशंका गरिएको उनको भनाइ छ । घटनासम्बन्धी थप अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
आजको मौसम : तराईका भू–भागमा अत्याधिक गर्मीको सम्भावना
काठमाडौं । हाल नेपालमा मूख्यतया स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । जसका कारण देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ ।
यस्तै, कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
आज भने राती, कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ ।
मधेश प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा अत्याधिक गर्मीको सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
आज कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
रास्वपा संसदीय दलको बैठक आज बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ । बैठक दलको कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बस्नेछ ।
बैठकमा शुक्रवारबाट सुरु हुने अधिवेशनको तयारी तथा पार्टीको भावी रणनीतिलगायत विषयका छलफल हुने बताइएको छ ।
यस्तै, यही वैशाख ४ गते बसेको केन्द्रीय समिति बैठकले दिएको निर्देशनका विषयमा पछि छलफल हुने रास्वपाले जनाएको छ ।
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै
काठमाडौं । आज (बिहीबार) देशभर १९ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै यो दिवस मनाइँदैछ ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ साल जेठ ८ गते विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको २०६३ साल वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइने गरिएको छ ।
२०६२–६३ को आन्दोलनपछि तत्कालीन राजाको प्रत्यक्ष र निरङ्कुश शासनको अन्त्य भएको दिनको सम्झनामा २०६५ सालदेखि वैशाख ११ गते लोकतन्त्र दिवस मनाउन थालिएको हो ।
सिंहदरबारमा अब बोतल र जारको पानी बन्द गरिने छ : मन्त्री यादव
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा अब बोतल र जारको पानी बन्द गरिने बताएका छन् । बुधबार सिंहदरबार भित्रमा मेलम्चीको खानेपानी वितरणका लागि विभिन्न ठाउँ एवं धारा निर्माण गर्ने क्षेत्रको स्थलगत अनुगमन पश्चात् मन्त्री यादवले वर्षौदेखि सिंहदरबारमा प्रयोग गरिदै आएको जार र बोतलको पानी अब सदाका लागि अन्त्य हुने रिन बताए ।
उनले भने,‘सिंहदरबारमा वर्षौदेखि प्रयोग हुँदै आएका जार, बोतलको पानी विस्थापित गर्ने लक्ष अनुसार काम अगाडी बढी रहेको छ । यहाँ चाडै मेलम्चीको शुद्ध खानेपानी वितरण हुन्छ ।’
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय लगायत यहाँका मन्त्रालयहरूमा मेलम्चीको पानी वितरण गर्नका लागि मन्त्री यादव सहितको टोलीले आज अनुगमन गरेको थियो ।
यहीँ वैशाख अन्तिम साता सम्म सिंहदरबारमा मेलम्चीको सफा, शुद्ध पानी वितरण गरिने मन्त्री यादवले जिकिर गरे ।
उनले भने, ‘मेलम्चीको शुद्ध पानी उपलब्ध भएपछि सिंहदरबारमा हाल प्रयोग भइरहेको बोतल र जारको पानी क्रमशः विस्थापन गर्ने मेरो स्पष्ट योजना रहेको छ । शुद्ध पानी सबैको पहुँचमा पु¥याउन हामी एकजुट भई अघि बढ्नुपर्छ ।’
सिंहदरबार स्वच्छ, पारदर्शी र जनमुखी प्रशासनको प्रतीक भएको र यसलाई अझ सक्षम बनाउने आफुहरुको साझा प्रयासमा साथ दिनु भएको भन्दै उनले सम्पूर्णमा आभार प्रकट गरे ।
आजको उक्त अनुगमनमा मन्त्रालयका सचिव इन्जिनर प्रमिलादेबी शाक्य बज्राचार्य, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका (केयुकेएल) का प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेल लगायतका कर्मचारीहरूको सहभागिता रहेको थियो ।
निर्माण व्यवसायीले बेवास्ता गरेपछि स्थानीय आफैँ जुटे सडक जोगाउन
रामेछाप । निर्माण व्यवसायीले सडक संरक्षणमा बेवास्ता गरेपछि रामेछापको मन्थली नगरपालिका–८ चिसापानीका स्थानीय आफै सडक जोगाउने काममा जुटेका छन् ।
गएको वर्षा र केही दिन अघिको वर्षाले कटान र गेग्र्यान थुपारेर क्षति पुगेको मन्थली– चिसापानी सडक मर्मत र सफा गर्नको लागि सम्बन्धित कार्यालय र निर्माण कम्पनीलाई अनुरोध गर्दा पनि चासो नदिए पछि सडक संरक्षणको लागि स्थानीय नै जुटेका वडाध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए ।
सो सडकको जबदे क्षेत्रको सबैभन्दा बढी क्षति पुगेको भागमा गेग्र्यान पन्छाउने, नाला सफा गर्ने तथा कटान गरेको ठाउँलाई पुर्ने काम गरिएको श्रेष्ठले बताए । अन्य क्षेत्रमा पनि अब स्थानीय नै मिलेर सडक संरक्षणमा जुट्नु पर्ने अवस्था आएको उनको भनाइ छ ।
जिल्ला पूर्वाधार कार्यालय मार्फत भएको सो सडक निर्माणको जिम्मा कान्छाराम कन्ट्रक्सनले पाएको थियो । निर्माण कम्पनीले सडक जिम्मा नलगाइसकेको अवस्थामा सडक संरक्षणको जिम्मा निर्माण कम्पनीकै हुने भए पनि त्यसको संरक्षणमा दुवै निकायले ध्यान नदिएका श्रेष्ठले गुनासो गरे । ‘जिम्मा त उनीहरूको हो, क्षति हुँदा हाम्रो हुन्छ, सडक रोकिँदा हाम्रो रोकिन्छ, त्यसैले सडक जोगाउने काममा लागेका हौँ’, श्रेष्ठले भने ।
सडकको निर्माण र संरक्षणमा निर्माण कम्पनी र जिम्मेवार कार्यालयले निक्कै लापरबाही गरेका श्रेष्ठको गुनासो छ । ‘सडक मर्मतको लागि पटक पटक वडाको तर्फबाट ताकेता गर्दा पनि भएको छैन’, उनले भने ।
आज मूख्यतया मौसम सफा रहने
काठमाडौं । हाल देशमा मूख्यतया स्थानीय तथा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभरको मौसम सफा रहने छ । आज दिउँसो कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ ।
कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले आज राती कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मूख्यतया सफा रहने जनाएको छ । कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको हो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफूसँग असहमति नभई स्वास्थ्यका कारण राजीनामा दिएको स्पष्ट पारेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले मन्त्री भट्टराईको राजीनामालाई प्रधानमन्त्रीको असहयोग र उपेक्षाका कारण भनेर बाहिर चर्चा गरिएकोप्रति असन्तुष्टि जनाए ।
उनले भने, ‘उहाँ मैले बनाएको मन्त्री हो । मैले काम लगाइरहेको छु । सहयोग गरिरहेको छु । सिकाइराखेको छु । ठूलो मन्त्रालय छ, अहिले स्वास्थ्य ठिक भएन भनेर राजीनामा दिनुभएको हो । यसमा अन्य प्रचारबाजी गर्नुको कुनै अर्थ छैन ।’
साथै ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि बैँकक गएको सन्दर्भलाई पनि सरकार ढल्छ भन्ने खालका हल्लासँग जोड्न खोजिएको टिप्पणी गर्दै एमाले र काँग्रेससँगको सहमतिबमोजिम १५ महिनापछि आफूले सभापति देउवालाई प्रधानमन्त्री हस्तान्तरण गर्ने दोहोर्याए ।
मुस्लिम समुदायविरुद्ध आपत्तिजनक अभिव्यक्तिको विरोधमा सुनसरीबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र
इटहरी । नेपाल मुस्लिम इत्तेहाद संगठन सुनसरीले हिन्दू सम्राट सेना नेपालका केन्द्रीय उपाध्यक्ष कृष्ण कुमार यादवले मुस्लिम समुदायमाथि दिएको आपत्तिजनक अभिव्यक्तिको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार ज्ञापनपत्र बुझाएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत पेश गरिएको उक्त ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई हस्तान्तरण गरिएको हो ।
संगठनले धार्मिक सद्भाव बिथोल्ने, समाजमा डर र आतङ्क फैलाउने अभिव्यक्तिहरूप्रति आपत्ति जनाउँदै तत्काल कानुनी कारबाहीको माग गरेको छ ।
संगठनका अध्यक्ष तुफेल अहमदले समाजमा हिंसा र विद्वेष फैलाउने व्यक्ति, समूह वा संगठनलाई सरकारले समयमै नियन्त्रणमा नल्याउँदा गृह प्रशासनको कार्यप्रति गम्भीर प्रश्न उठाएका छन् ।
ज्ञापनपत्रमा वीरगञ्जमा हालै हनुमान जयन्तिको शोभायात्राका क्रममा उत्पन्न तनाव र त्यसपछि भएको साम्प्रदायिक हिंसालाई विशेष रूपमा उल्लेख गरिएको छ।
घटनामा हातहतियारसहितका युवाहरूले मुस्लिम बस्तीमा पसेर घर, पसलमा तोडफोड गर्नुका साथै स्थानीय मुस्लिम समुदायलाई धम्कीपूर्ण शैलीमा आतंकित बनाएको उल्लेख छ ।
सामाजिक सञ्जाल र मिडियामार्फत सार्वजनिक भएका यी घटनाहरूले सम्पूर्ण मुलुकमा चिन्ता उत्पन्न गरेको संगठनको भनाइ छ ।
ज्ञापनपत्रमा सम्राट सेना, करणी सेना लगायतका समूहहरूको गैरकानुनी गतिविधि तत्काल बन्द गरिनुपर्ने, मुस्लिम समुदायको सुरक्षा सुनिश्चित गरिनुपर्ने र यस्ता समूहहरूद्वारा योजनाबद्ध रूपमा मुस्लिम बहुल क्षेत्रबाट शोभायात्रा निकाल्ने कार्यप्रति गम्भीर ध्यान दिनुपर्ने माग गरिएको छ ।
विशेष रूपमा, कृष्ण सनातनी भनिने व्यक्तिले काठमाडौंको एक सार्वजनिक कार्यक्रममा ‘बर्मामा ५ लाख मुस्लिम मारेझैं, नेपालमा पनि त्यसैगरि सबै मुस्लिमहरूलाई मार्ने’ भन्ने अभिव्यक्ति दिएको दाबी गर्दै संगठनले यस्तो हिंसात्मक भाषणको कडा निन्दा गरेको छ ।
समाजमा शान्ति, सहिष्णुता र भाईचारा कायम राख्न साम्प्रदायिक द्वन्द्व फैलाउने जोसुकै व्यक्तिलाई कानुनी दायरामा ल्याई निष्पक्ष छानबिन र कडा कारबाही गर्नुपर्नेमा संगठनले जोड दिएको छ । ज्ञापनपत्रमार्फत दीर्घकालीन समाधानको माग गर्दै मुस्लिम समुदायमाथि बारम्बार भइरहेको आतङ्कको अन्त्य गरी समाजमा शान्ति सुव्यवस्था कायम गर्न सरकारलाई आह्वान गरिएको छ ।