खाने तेलको ग्यालेनभित्र चरेश बरामद
रौतहट । पर्सा सशस्त्र प्रहरीले पोखरिया नगरपालिकाको मननपुरबाट २४ केजी ५०० ग्राम लागूऔषध चरेश बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस पोखरियाबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा लुकाइछिपाई राखिएको अवस्थामा अवैध लागूऔषध चरेश बरामद गरेको हो ।
खानेतेलको ग्यालेनभित्र चरेस भरेर बाँसको झ्याँगमा लुकाएर राखिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेक्वा, पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहले जानकारी दिए ।
उनका अनुसार ग्यालेन काटेर हेर्दा त्यसभित्रबाट प्लाष्टिकको प्याकेट बनाएर राखिएको २४ किलो ५०० ग्राम चरेश बरामद भएको हो।
सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र सिंह थापाको नेतृत्वमा खटिएको टोलीले बुधबार राती करिब ११ बजे लागूऔषध चरेश बरामद गरेको र बरामद गरिएको चरेशलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको पर्सा सशस्त्र प्रहरीले जनाएको छ ।
कम्बोडिया पुगे सी चिनफिङ, विमानस्थलमा भव्य स्वागत
एजेन्सी । चिनियाँ राष्ट्रध्यक्ष सी चिनफिङ कम्बोडियाको नोम पेन्ह पुगेका छन् । नौ वर्षको अन्तरालमा सीको दोस्रो कम्बोडिया भ्रमण हो।
कम्बोडियाका राजा नोरोदोम सिहामोनीको निमन्त्रणामा राजकीय भ्रमण गर्न विशेष विमानबाट सी नोम पेन्ह पुगेका हुन् ।
भ्रमणका क्रममा सीले क्रमशः राजा नोरोडोम सिहामोनी र रानी आमा नोरोडोम मोनिनाथ सिहानोकलाई भेट्ने कार्यक्रम तय भएको छ ।
सो क्रममा उनले कम्बोडियाली पिपुल्स पार्टीका अध्यक्ष र सिनेटका अध्यक्ष सामदेच टेको हुन सेनसँग भेट्ने र प्रधानमन्त्री हुन मानेटसँग वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
राजा नोरोदोम सिहामोनीले विमानस्थलमा सी चिनफिङको भव्य स्वागत समारोहको आयोजना गरेका थिए । सी चिनफिङ विमानस्थलबाट आफ्नो होटलतर्फ जाँदा चीन र कम्बोडियाका राष्ट्रिय झण्डा फहराइरहेका थिए।
कम्बोडिया सीको पाँच दिने दक्षिणपूर्व एसियाली भ्रमणको तेस्रो तथा अन्तिम चरण हो। सोमवार र मंगलबार भियतनामको राजकीय भ्रमणबाट सुरु उनको यात्रा सुरु भएको थियो । मंगलबारदेखि बिहीबारसम्म उनी मलेसियाको राजकीय भ्रमणमा थिए ।(सीसीटीभीप्लस)
पाकिस्तानमा भीषण असिना वर्षा, सयौं गाडी र घरमा क्षति
इस्लामाबाद । बुधबार साँझ पाकिस्तानमा असिनासहितको भारी वर्षा भएको छ । भारी वर्षा र असिनापानीले पाकिस्तानको राजधानी इस्लामाबाद र अफगानिस्तानको सीमावर्ती खैबर पख्तुनख्वा प्रान्तका धेरै भागमा विनाश मच्चाएको छ ।
इस्लामाबादमा भएको भीषण असिना वर्षाले सयौं गाडी, घर र अन्य सम्पत्तिमा व्यापक क्षति पु¥याएको छ ।
सडकहरूमा पानी जमेको, गाडीका सिसा फुटेका र सोलार प्यानलहरू नष्ट भएको दृश्य सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
मौसम विभागका अनुसार यो असिना वर्षा मौसमी प्रणालीको कारण हो, जसको सूचना पहिले नै दिइएको थियो । नागरिकहरू भने पूर्वसूचनाको प्रभावकारी प्रवाह नभएकोमा गुनासो गरिरहेका छन् ।
४ निर्माण कम्पनी परे कालो सूचीमा (विवरणसहित)
काठमाडौँ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले चारवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ ।
कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार चारवटा निर्माण कम्पनीलाई काली सूचीमा राखिएको जनाएको हो ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ ।
ती निर्माण कम्पनीलाई एक वर्षसम्म कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।
यी हुन् कालोसूचीमा परेका चार कम्पनीहरू :
१. नागार्जुन नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हरिसिद्धि, काठमाडौँ
२. कैलाश गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, कालिकाटार, मकवानपुर
३. नेपाल वन निगम लिमिटेड, केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौँ
४. वनगाड कुपिण्डे नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सल्यान ।
वीरगन्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवद्वारा अपिल
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले वीरगन्जमा शान्ति र सद्भाव कायम राख्न आम नागरिकमा अपिल गरेका छन् ।
पछिल्लो केही दिन यतादेखि वीरगन्जमा दुई समुदायबिच द्वन्द्व भइरेकाले उनले सामाजिक सञ्जालमार्फत शान्ति र सद्भाव कायम राख्न सबै समुदाय एवं नागरिकहरूमा अपिल गरेका हुन् ।
ऐतिहासिक क्रान्तिको शहर वीरगन्जको मौलिक पहिचान धार्मिक स्थलहरू, विशिष्ट तरिकाले मनाइने पर्व–यात्राहरू र सामाजिक सांस्कृतिक सामञ्जस्यले पनि भएको र नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धार्मिक–सांस्कृतिक आस्थाको स्वतन्त्रता दिएको उनले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् ।
यसैगरी मन्त्री यादवले वीरगन्ज क्षेत्रमा एक अर्का समुदायको पर्व–यात्रामा मिलिजुली मनाउने, सहयोग तथा सद्भाव राख्ने गौरवशाली परम्परा रहि आएको तथा यहाँका बासिन्दाहरूको सुझबुझ र समझदारीले गर्दा देखा पर्ने पारस्परिक तनाव वा असमझदारीलाई आपसी संवादको माध्यमबाट समाधान गर्ने गरिएको विगत रहेको बताए ।
वीरगन्ज सबैको साझा फुलवारी भएको र यहाँ शान्ति, सद्भाव एवं मेल–मिलाप कायम राख्नु सबैको साझा जिम्मेदारी भएको बताए ।
हाल केही दिनदेखि वीरगन्जमा शान्ति सद्भावमा खलल पु¥याउने, उत्तेजना फैलाउने अभिव्यक्ति दिने, सार्वजनिक वा निजी सम्पत्ति माथि तोडफोड गर्ने, आगो लगाउने, वा अभद्रता गर्ने जो कोहीलाई दण्डित गर्न स्थानीय प्रशासनले कानून बमोजिम काम गरिरहनुपर्ने एवं आफ्नो प्यारो शहरमा तनाव टुसाएको समयदेखि नै आफू व्यक्तिगत रूपमा पर्सा जिल्लाका प्रशासन र प्रहरीको निरन्तर सम्पर्कमा रहेको जानकारी दिए ।
‘विभिन्न समुदायका अगुवाहरूसँग समन्वय र सल्लाह गरि शान्ति स्थापित गर्ने प्रयासमा छु । वीरगन्ज क्षेत्रका सबै नागरिकहरूसँग सामाजिक सद्भाव र शान्ति कायम राख्न विनम्र अपिल गर्दछु । स्थानीय प्रशासनले दोषीको पहिचान गरि कानुनी कारबाइ अगाडी बढाउनुपर्छ । शान्ति र सद्भावका लागि गरिने प्रयत्न हो हल्ला र प्रचारबाजी भन्दा नेपथ्यबाट गम्भीर प्रयास गरिनुपर्छ भन्ने मेरो मान्यता हो । म नगरवासीलाई विश्वास दिलाउन चाहन्छु, हामी सबैको प्रयासले वीरगन्ज आफ्नो पुरानै लयमा अवश्य नै फर्किन्छ ।’ सामाजिक सञ्जालमार्फत उनले अपिल गरेका छन् ।
मौसम पूर्वानुमान : केही भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशको पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने छ ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
मेघगर्जन र चट्याङ्ग, वर्षा लगायत हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल स्वीजरल्याण्डको जेनेभाबाट विश्व आर्थिक मञ्च २०२५ का लागि विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन भएकी छन् ।
दक्षिण एसियाली मुलुकबाट ११ जना प्रतिनिधि छानिदाँ नेपालबाट उपप्रमुख डंगोल मात्र चयन भएकी हुन् ।
डंगोल, यसअघि विश्व आर्थिक मञ्चको ग्लोबल सेपर्स काठमाडौं हवको सदस्य थिइन् । विभिन्न ५० देशबाट प्रतिनिधित्व रहेको यस समूहमा ७ क्षेत्रमध्ये सरकारको प्रतिनिधित्व गर्दै उपप्रमुख डंगोल चयन भएकी छन् । यस समूहमा ४० वर्षभन्दा कम उमेर भएका विश्वका ११६ जना युवा नेतृत्व छन् ।
फोरमले उपप्रमुखको सङ्क्षिप्त परिचय उल्लेख गर्दै आफ्नो वेबसाइटमा लेखेको छ, ‘उहाँ युवाहरूलाई प्रेरणा प्रदान गर्ने र सांस्कृतिक पहिचानलाई आधुनिकतासँग जोड्ने राजनीतिज्ञ हुनुहुन्छ ।’
चयन भएपछिको सङ्क्षिप्त प्रतिक्रियामा उपप्रमुख डंगोलले थप जिम्मेवारी महसुस भएको बताइन् । उनले भनिन्, ‘विश्व स्तरीय मञ्चमा प्रतिनिधित्व गर्न पाउनुले थप जिम्मेवारी महसुस भएको छ । राजनीतिक क्षेत्रबाट विशिष्ट पद ग्रहण गरिसक्नुभएका व्यक्तित्वहरूसँगको सहकार्यबाट युवाहरूलाई नेतृत्वका लागि प्रोत्साहित हुने काम गरिनेछन् ।’
फोरमको युवा नेतृत्व समूहमा शैक्षिक क्षेत्रबाट १० जना, आर्ट, कल्चर एण्ड रिपोर्टस्बाट ८ जना, व्यापारिक क्षेत्रबाट ४९ जना, नागरिक समाजबाट ११ जना, मिडियाबाट ५ जना, सरकारबाट १९ जना, सामाजिक उद्यमशीलता क्षेत्रबाट १३ जना चयन भएका छन् ।
सरकार, व्यवसाय, नागरिक समाज, शिक्षा, मिडिया र कला क्षेत्रका नेतृत्वलाई एकै ठाउँमा ल्याएर आफूले नेतृत्व गरेको क्षेत्रसँगै समुदाय र बाहिरका क्षेत्रहरूको दिगो र सकारात्मक प्रभाव सिर्जना गर्नु नेतृत्व चयनको उद्देश्य हो ।
विश्वव्यापी समस्याको सुधार र व्यवहारिक समाधान गर्न प्रतिबद्ध युवा नेताको सहभागिता यसको शक्ति भएको फोरम अफ योङ ग्लोबल लिडर्स फाउन्डेसनका अध्यक्ष निकोल स्वाबको भनाइ छ ।
स्वाबका अनुसार यसले विश्वव्यापी सञ्जाल निर्माण, सामूहिक कार्य र नविनताका लागि कृतिम बौद्धिकता (एआई) सहितका प्रविधिको प्रयोग गरेर नयाँ दृष्टिकोण सिर्जना गर्नेछ । यसबाट परिवर्तनको अपेक्षा गरिएको छ । युवा नेताहरूले परिवर्तन अँगाल्न सक्नेछन् । प्रगतिलाई तीव्र बनाउन काम गर्नेछन् र अरूलाई प्रेरित गर्नेछन् ।
सन् २००४ मा स्थापना भएदेखि, युवा ग्लोबल लिडर्स फोरममा १२० भन्दा बढी देशका १ हजार ४ सय भन्दा बढी सदस्यहरू छन् ।
वीरगञ्जमा समाचार सङ्कलन गर्ने क्रममा तीन पत्रकार घाइते
रौतहट । पर्सा प्रहरी कार्यालय नजिकमा भएको प्रदर्शनको समाचार सङ्कलन गर्ने क्रममा तीन जना पत्रकार घाइते भएका छन ।
हिन्दुवादीहरूले गरेको प्रदर्शनको समाचार सङ्कलन गरिरहेका पत्रकार एभी न्युज टिभीका अर्जुन गुप्ता, मध्य नेपाल सन्देशका अनिल ओझा र चन्द्रसूर्य वाणीका धिरेन्द्र तिवारी घाइते भएका हुन् ।
गुप्ताको टाउको फुटेको छ भने ओझा र तिवारीको खुट्टामा गम्भीर चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि धर्नामा बसेका हिन्दुवादीहरूलाई हटाउने क्रममा प्रहरीले लाठीचार्ज गर्दा पत्रकारहरू घाइते भएका छन् । घाइते तीन जना पत्रकारको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले धार्मिक सद्भाव बिगार्ने कार्यमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको थियो । उनीहरूको बिना सर्त रिहाइको माग गर्दै प्रदर्शन भएपछी प्रहरीले हटाउने क्रममा लाठीचार्ज गरेको जनाएको छ ।
यता नेपाल पत्रकार महासङ्घ पर्साले समाचार सङ्कलन गर्ने क्रममा आक्रमण गरी पत्रकारहरूलाई घाइते बनाउने दोषीहरूलाई कारबाहीको माग गरेको छ ।
आजको मौसम : चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा मूख्यतया स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
त्यसकारण कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।
विभागका अनुसार आज दिउँसो देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । अपाह्नपछि काठमाडौंमा पनि वर्षाको सम्भावना रहेको जनाएको छ ।
आज दिउँसो, देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मूख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
देशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राती, कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मूख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
यस्तै, मेघगर्जन र चट्याङ्ग, वर्षालगायत हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन विभागले अनुरोध गरेको छ।
युद्धग्रस्त सुडान थप संकटमा, सुडान सेना र अर्धसैनिकबिच वार्ता अनिश्चित
एजेन्सी । युद्धग्रस्त सुडानमा बिग्रँदै गएको मानवीय अवस्थाको बारेमा चिन्ता बढ्दै गएको छ। सुडान सेना र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेस (आरएसएफ) बीच वार्ता गर्न अनिच्छुक रहेकाले समस्या जटिल बन्दै गएको हो ।
सुडान सेना र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेस (आरएसएफ) बीच सन् २०२३ अप्रिलमा सुरु भएको युद्धले सुडान टुक्रिएको छ र अनिकालको सङ्घारमा पुगेको हो ।
दुई वर्षअघि राजधानी खार्तुममा भएको द्वन्द्वपछि देशका अन्य क्षेत्रहरू थप विनाशकारी द्वन्द्वमा फसेको छ। द्वन्द्वमा कम्तिमा २९,७०० जनाको मृत्यु भएको छ र लगभग १ करोड ३० लाख मानिसहरू विस्थापित भएका छन् । संयुक्त राष्ट्र संघले ‘औद्योगिक अनुपातको मानवीय संकट’ भनेर व्याख्या गरेको छ ।
मार्चको अन्त्यतिर, सुडानी सेनाले संकट सुरु भएदेखि नै अर्धसैनिक समूहको नियन्त्रणमा रहेको खार्तुम अन्तर्राष्ट्रिय विमानस्थल, साथै दक्षिणी खार्तुममा रहेको पछिल्लो प्रमुख गढको मुख्य शिविरको नियन्त्रण लिएको घोषणा गरेको छ ।
संयुक्त राष्ट्रसंघको तथ्याङ्क अनुसार, जारी द्वन्द्वले सुडानी जनसङ्ख्यालाई अभूतपूर्व मानवीय संकटमा डुबाएको छ । लगभग ३ करोड मानिसहरूलाई तत्काल सहयोगको आवश्यकता औंल्याइएको छ ।
जारी लडाईंले देशको पूर्वाधारमा ठूलो क्षति पुर्याइसकेको छ । धेरै क्षेत्रहरूमा, बिजुली, पानी आपूर्ति, ग्यास र सञ्चार जस्ता आवश्यक सेवाहरू अवरुद्ध भएका छन् । खाद्यान्न, औषधि र इन्धनको अभावले संकटलाई अझ जटिल बनाएको छ।
विगत दुई वर्षमा, धेरै विद्युत् केन्द्रहरू, सबस्टेशनहरू, र प्रसारण नेटवर्कहरू नष्ट भएका छन्, जसले सुडानको विद्युत् उत्पादन र वितरण प्रणालीलाई गम्भीर असर पारेको छ।
यसका साथै, द्वन्द्व सुरु भएदेखि नै सुडानको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्रलाई बारम्बार लक्षित गर्दा बन्द गर्न बाध्य पारिएको छ । जसले गर्दा इन्धन आपूर्तिमा ठूलो खाडल सिर्जना भएको छ। धेरै क्षेत्रहरूले पेट्रोल र डिजेलको गम्भीर अभावको सामना गरिरहेका छन् । जसले गर्दा दैनिक जीवन र आर्थिक गतिविधिहरू दुवैमा बाधा पुगेको छ।
निरन्तर बिजुली अभावका साथै, सुडानका धेरै क्षेत्रहरूले गम्भीर पिउने पानीको संकटको सामना गरिरहेका छन्। धेरै शहरहरूमा पानी आपूर्ति स्टेशनहरू र पाइपलाइनहरू नष्ट भएका छन्, र मर्मतसम्भार आपूर्ति र कर्मचारीहरूको गम्भीर अभाव छ।
यसबाहेक, देशका धेरै भागहरूमा ढल प्रशोधन प्रणाली गम्भीर रूपमा क्षतिग्रस्त भएको छ । जसले गर्दा पानीका स्रोतहरू दूषित भएका छन्, । यसले हैजा, मलेरिया र झाडापखाला जस्ता संक्रामक रोगहरूको व्यापक बृद्धि भएको छ । (सीसीटीभीप्लस)

