तीनसयमा पाइने रजिष्टर १७ हजारमा खरिद, अख्तियारमाथि नै आशंका
सिरहा । विस्तृत अनुसन्धान सकिएर भ्रष्टाचार भएको राय ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास महोत्तरीले मुख्य कार्यालय टंगालमा पठाएको एउटा मुद्दा अचानक मुलतवीमा पठाइएको छ ।
आर्थिक वर्ष २०७९–०८० मा सर्लाहीको बलरा नगरपालिकाले सहकारीको रेकर्ड राख्ने १५ थान रजिष्टर खरिद गरेको थियो । बजारमा तीन सयमा पाइने रजिष्टर प्रतिगोटा १७ हजारमा खरिद भएको र भुक्तानी दिइएको उजुरी परेपछि अख्तियार बर्दिवास कार्यालयले अनुसन्धान थालेको थियो ।
तीन सय पर्ने रजिष्टर १७ हजार का दरले खरिद भएको देखिए पछि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत उमेश महतो माथि भ्रष्टाचार गरेको अभियोजन पत्र विशेष अदालत काठमाडौंमा दर्ता हुने राय ठहरसहित बर्दिवास कार्यालयले टंगाल पठाएको थियो ।
तर बैशाखको पहिलो सातामा आरोपित प्रमुख प्रशासकीय अधिकृत (हाल सहिदनगर नगरपालिका धनुषामा कार्यरत) उमेश महतोले बलरा नगरपालिकाको राजस्व शाखामा रजिष्टर खरिदको सावाँ र व्याज समेत ३ लाख १० हजार रकम बुझाएका छन् । रकम बुझाएपछि यादवमाथि दायर गर्न ठीक्क पारिएको मुद्दा मुलतवीमा गएको छ ।
मुद्दा मुलतवीमा पार्न ठूलो रकमको लेनदेन भएको सुत्रहरूले दावी गरेका छन् । अख्तियार कार्यालय बर्दिवासबाटै प्रमुख प्रशासकीय अधिकृत महतोलाई बोलाएर रजिष्टर खरिद गर्दा भएको भुक्तानीको साँवा र व्याज रकम सरकारलाई फिर्ता गरेर भौचर बुझाउन भनियो । त्यसपछि महतोले अह्राइए बमोजिम रकम जम्मा गरेर भौचर बुझाए । बर्दिवासले मुद्दा मुलतवीमा जाने सिफारिससहित मिसिल टंगाल पठाइदिएको छ ।
मुद्दा मिलाउन अख्तियार कार्यालय बर्दिवासमा धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले भूमिका खेलेको आशंका गरिएको छ । प्रमुख जिल्ला अधिकारी कडरिया र प्रमुख प्रशासकीय अधिकृत महतो एकै नगरबासी भएको र छरछिमेकको नाताले महतोलाई बचाउन कडरियाले भूमिका खेलेको अनुमान गरिएको छ ।
यस विषयमा प्रजिअ कडरियालाई सोध्दा उनले उमेश महतोलाई नचिनेको र कसैलाई बचाउन कुनै पैरवी नगरेको बताए । उनले भने,‘अख्तियारले हामीलाई पनि बोलाउँछ । हामी आफ्नै कामले गएका हुन्छौं ।’ यस्तो आरोपमा कुनै सत्यता नभएको उनले जिकिर गरे ।
यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयका सूचना अधिकारी तुलसीराम पौडेलले भने,‘अख्तियारको सबै निर्णय केन्द्रबाटै हुन्छ । हामीले राय सुझावसहित मिसिल टंगालमा पठाउने हो । उतैबाट बुझ्नुस् । हामीलाई थाहा भएन ।’ उनले राजिष्टर खरिदमा अनुसन्धान भएको भने स्वीकार गरे ।
अख्तियार बर्दिवास कार्यालयका प्रमुख रामबहादुर कुरुमवाङ्गसँग यसबारे प्रतिक्रिया माग्दा रजिष्टर खरिदमा अनुसन्धान भएको तर निर्णय टंगालबाटै हुने बताएर उनी पन्छिए ।
यता प्रमुख प्रशासकीय अधिकृत महतोलाई प्रश्न गर्दा ‘के तपाईँले रजिष्टर खरिद वापतको रकम नेपाल सरकारलाई फिर्ता गर्नुभएको हो ?’ जवाफमा भने,‘यस विषयमा मलाई थाहा छैन ।’ तर एकैछिन पछि फोन गरेर उनले भने,‘यस विषयमा भेटेरै कुरा गर्न मिल्लदैन ? भेटेरै कुरा गरौँ ।’
यता बलरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशिल कुमार साहलाई रजिष्टर खरिद वापतको रकम राजस्व खातामा जम्मा भए नभएको बारे सोध्दा उनले भने,‘म राजस्व शाखामा कार्यरत कर्मचारीसँग सोधेर फोन गरेर जानकारी गराउँछु ।’ तर त्यसपछि उनको फोन लागेन ।
सिरहाका वयोवृद्ध वामपन्थी नेता रामजी यादव भन्छन्,‘अख्तियारले जित हुनेमा शंका भएका मुद्दाहरु पैसा तिराएर मुलतवीमा पठाउने निर्णय गर्दा भ्रष्टाचारले झन् प्रश्रय पाएको छ । अख्तियारले समाइहाले नगद फिर्ता गरिदिने नत्र पचाउने भन्दै धक फुकाएर भ्रष्टाचार गर्न थालेका छन् । स्थानीय तहमा वेथितिले सीमा पार गरेको छ,’ उनले अगाडि भने,‘अख्तियारमा पनि बेथिति देखियो । यो मुद्दा सेटिङ्गमै मुलतवी पारिएको हुनुपर्छ ।’
नेपाल आइपुगे भारतीय ऊर्जा मन्त्री मनोहरलाल खट्टर
काठमाडौं । भारतीय विद्युत् र आभास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर नेपाल आइपुगेका छन् । मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा नेपाल आएका उनलाई ऊर्जा मन्त्रालय र काठमाडौंस्थित भारतीय दूतावासका अधिकारीहरुले स्वागत गरेका थिए ।
विद्युत् मन्त्री खट्टरले भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोशी करिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२०–१३३–३३ केभी तुम्लिङटार सबस्टेसन, २२०–३३ केभी बानेश्वर सबस्टेसन र २२०–१३३–३३ केभी वसन्तपुर सबस्टेसन संयुक्त रूपमा संखुवासभा तुम्लिङटार सबस्टेसनमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
साथै उनले भारतले निर्माण गरेको अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्र अवलोकन गर्नेछन् भने दुई देशले संयुक्त रूपमा निर्माण गर्न लागेको प्रसारण लाइन निर्माण कम्पनीको सम्झौता पत्रमा हस्ताक्षर हुनेछ ।
त्यस्तै भोली बुधबार खट्टरले मुस्ताङ मुक्तिनाथ अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । भोली नै उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेट गर्नेछन् र भोली नै भारत फर्कने छन् ।
ट्रम्प नीतिको प्रभाव : अमेरिका घुम्न जानेहरुको संख्यामा उल्लेख्य गिरावट
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिका कारण विदेशी आगन्तुकहरूले संयुक्त राज्य अमेरिकाको यात्रा रद्द गर्न थालेका छन् ।
‘व्यापार युद्ध’ चर्किएसँगै विदेशी आगन्तुकहरूको मार्चमा आगमनमा लगभग १२ प्रतिशतले गिरावट आएको छ। अमेरिकी पर्यटन उद्योगले लामो समयदेखि विश्वका अन्य देशहरूसँग उल्लेखनीय व्यापार गरिरहेको थियो ।
जसले २०२४ को लागि लगभग १.३ ट्रिलियन अमेरिकी डलर राजस्व संकलन गरेको छ र लगभग १ करोड ५० लाख रोजगारी सिर्जना गरेको छ । अमेरिकी अन्तर्राष्ट्रिय व्यापार प्रशासनको तथ्याङ्क अनुसार, मध्य अमेरिकाबाट आउने आगन्तुकहरूको संख्यामा उल्लेख्य गिरावट आइसकेको छ । त्यस्तै पश्चिमी युरोपबाट आउने आगन्तुकहरूमा १७ प्रतिशतले घटेको छ। जर्मनी र स्पेनले क्रमशः २८ प्रतिशत र २५ प्रतिशतले सबैभन्दा नाटकीय गिरावट देखाएका छन्।
यी तथ्याङ्कहरूमा संयुक्त राज्य अमेरिकामा अन्तर्राष्ट्रिय पर्यटकहरूको सबैभन्दा ठूलो स्रोत क्यानडाका आगन्तुकहरू समावेश छैनन्। अमेरिकी यात्रा संघका अनुसार क्यानेडियालीहरूले वार्षिक रूपमा लगभग २ करोड भ्रमण गर्छन् । जाडोबाट बच्न फ्लोरिडा, एरिजोना र क्यालिफोर्निया जस्ता राज्यहरूमा छुट्टी मनाउन जाने र उनीहरूले २० अर्ब डलरभन्दा बढी खर्च गर्ने गरेका छन् ।
तर क्यानडाबाट संयुक्त राज्य अमेरिकाको सडक यात्रामा ३२ प्रतिशतले गिरावट आइसकेको छ । अमेरिकाबाट विमानमार्फत क्यानडा फर्कनेहरूको संख्या १३.५ प्रतिशतले घटेको छ।
ट्रम्प नीतिका कारण अमेरिकको अर्थतन्त्रमा गम्भीर असर पर्ने देखिएको छ । अमेरिकी यात्रा संघले यस वर्षभरि यस क्षेत्रले ७२ अर्ब डलर गुमाउन सक्ने चेतावनी दिएको छ।
पर्यटन अर्थशास्त्रको उद्योग अनुसन्धान फर्मले अप्रिल ३ मा जारी गरेको आफ्नो प्रतिवेदनमा २०२५ मा संयुक्त राज्य अमेरिकामा अन्तर्राष्ट्रिय आगन्तुकहरूमा ९.४ प्रतिशत गिरावट आउने प्रक्षेपण गरेको छ । (सीसीटीभीप्लस)
भान्जालाई बचाउन जाँदा मामा पनि बेपत्ता, सप्तकोशीमा खोजी तीव्र
इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोशी नदीमा नुहाउने क्रममा मामा–भान्जा बेपत्ता भएका छन् ।
सप्तकोशीमा बगेर बेपत्ता हुनेमा इटहरी उपमहानगरपालिका १६ बालग्रामका ४० वर्षीय नवराज बास्तोला र उनका १६ वर्षीय भान्जा जेनिस आचार्य रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए ।
उनीहरू सोमवार बराहक्षेत्र मन्दिर नजिकै नुहाउने क्रममा नदीको तीव्र बहावमा परेका थिए । बेपत्ता परिवारका अनुसार सुरुवातमा भान्जा जेनिसलाई नदीले बगाएको थियो । उनलाई बचाउने प्रयासमा मामा नवराज पनि नदीमा फसेर बेपत्ता भएका हुन् ।
घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले तत्कालै खोज तथा उद्धार कार्य सुरु गरेको छ । हालसम्म दुबै जना फेला नपरेको डीएसपी खतिवडाले जानकारी दिए ।
शुभकामना दिएको २४ घन्टामै पोप फ्रान्सिसको निधन
एजेन्सी । विश्वभरका क्याथोलिकहरुका आध्यात्मिक नेता पोप फ्रान्सिसको ८८ बर्षको उमेरमा निधन भएको छ । भ्याटिकनमा स्थानीय समयानुसार सोमवार बिहान ७ः३५ बजे , ८८ वर्षीय फ्रान्सिसको निधन भएको बीबीसीले जनाएको छ ।
कार्डिनल केभिन फेरेललाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार उनी मिर्गौला र श्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित थिए । लामो समय अस्पतालमा भर्ना भएर हालै घर फर्किएका थिए ।
भ्याटिकनको सेन्ट पिटर्स स्क्वाएरमा ‘ईस्टर सन्डे’का निम्ति उपस्थित भएको २४ घण्टा नबित्दै पोपको निधन भएको छ।
गत महिना पाँच सातासम्म अस्पतालमा भर्ना भएर फिर्ता भएका उनी आइतवार ह्वीलचेअरमा बसेर सेन्ट पिटर्स बसिलिकामा उपस्थित भीडलाई सम्बोधन गर्दै शुभकामना दिएका थिए ।
पोप फ्रान्सिस अर्जेन्टिनाका एक जेसुइट पादरी थिए, जो २०१३ मा रोमन क्याथोलिक चर्चका २६६ औं पोप बनेका थिए । उनी पोप बेनेडिक्ट सोह्रौंको उत्तराधिकारी निर्वाचित भएका थिए । (बीबीसी)
भारतीय विद्युत् मन्त्री नेपाल आउँदै, अरुण–३ को अवलोकन गर्ने
काठमाडौँ। भारतीय विद्युत् र आभास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपाल आउने भएका छन् । मन्त्री खट्टर अरुण–३ जलविद्युत आयोजनाको अवलोकनको लागि मंगलबार (बैशाख ९ गते) नेपाल आउन लागेका हुन् ।
भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेवीएन)को स्वामित्वमा रहेको एसजेवीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी (एसएपीडीसी)ले निर्माण गरिरहेको उक्त आयोजनाको निरीक्षणको लागि मन्त्री खट्टर आउन लागेको बताइएको छ ।
आयोजनाको अवलोकन गरी खट्टर बुधबार स्वदेश फर्किने छन् । साथै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का पनि अरुण–३ को अवलोकन गर्न पुग्ने बताइएको छ । उक्त कार्यक्रममा एसजेवीएनका अध्यक्ष राज कुमार चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत (सीईओ) प्रशान्त शर्माको पनि सहभागिता हुनेछ ।
विशेष गरी ऊर्जा मन्त्री दीपक खड्काको निमन्त्रणामा खट्टर नेपाल आउन लागेका हुन् । खट्टरले मन्त्री खड्कासँग अन्य जलविद्युत् आयोजनामा भारतीय लगानी साथै नयाँ आयोजनाका विषयमा छलफल गर्ने कार्य तालिका छ ।
यस्तै, उनले ९ गते नै अरुण–३ जलविद्युत आयोजनाको बाँध तथा पावर हाउस क्षेत्रको निरीक्षण गरी काठमाडौँ फर्किने छन् । सोही दिन ऊर्जामन्त्री खड्कासँगै भारतका विद्युत् मन्त्री खट्टरले विभिन्न ठाउँका सवस्टेशन संयुक्त रूपमा उद्घाटन गर्ने छन् ।
यसैगरी दुई देशले संयुक्त लगानीमा निर्माण गर्न लागेको प्रसारण लाइनको सम्झौतापत्रमा हस्ताक्षर गरेर निर्माणको प्रक्रिया अगाडि बढाइने बताइएको छ । वैशाख १० गते मन्त्री खट्टरले मुस्ताङको मुक्तिनाथको दर्शन गरी नेपाली मन्त्री तथा प्रधानमन्त्रीलाई भेटेर भारत फर्किने एसजेवीएनले जानकारी दिएको छ ।
एसजेवीएनले संखुवासभामा नौ सय मेगावाट क्षमताको अरुण तेस्रोको काम अहिले तीव्र गतिमा भइरहेको छ । अरुण तेस्रो आयोजनाको अधिकांश संरचनाको काम अन्तिम चरणमा पुगी सकेको छ । कम्पनीले सो आयोजनाको काम छिटो सक्ने लक्ष्यका साथ गरिरहेको छ । यस्तै, एसजेवीएनको सहायक एसएपीडीसीले ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु, मुख्यमन्त्रीद्धारा दुःख व्यक्त
इटहरी । पाथीभरा दर्शनका लागि तीर्थयात्री जाँदै गरेको जीपमा करेन्ट लागेर आगलागी हुँदा चालक सहित ४ जनाको ज्यान गएको छ । फुङलिङ नगरपालिका १० शेवारो चौकमा मे १ च ३०११ नंवरको गुडिरहेको जीपमा विजुलिको तार खसेर करेन्ट लागी ४ जनाको ज्यान गएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता भिमबहादुर दाहालका अनुसार दुर्घटनामा जिप चालक फुङलिङ घर भएका गाडी चालक दुर्गा भट्टराई, ललितपुर घर भएकी आध्या आचार्य, झापा भद्रपुरका विनोद पौडेल र सरिता पौडेलको ज्यान गएको हो ।
आगोले जलेर सविना आचार्य गम्भीर घाइते भएको र उनका छोरा अभियव सामान्य घाइते भएका छन् । ज्यान गुमाउने आध्या सविनाकै छोरी हुन् भने विनोद र सरिता श्रीमान श्रीमति(अभियवका मावली हजुरवुवा हजुरआमा) हुन् ।
यसैबीच कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सो घटनाप्रति दुःख व्यक्त गरेका छन् । घटनामा घाइते भएकाहरूको थप उपचारको लागि काठमाडौं लैजाने प्रयत्न भइरहेको बताउँदै घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुईंटेलले जनाएका छन् ।
यसैगरी धनकुटामा ईभी गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत धनकुटाको पाख्रीबास नगरपालिका–५ देवीथानमा इटहरीतर्फ आउँदै गरेको गाडी दुर्घटना हुँदा एकको अवस्था गम्भीर रहेको ट्राफिक कन्ट्रोल इटहरीले जानकारी दिएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरू रिहा
काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरू रिहा भएका छन् ।
आइतवार सिंहदरबारमा प्रदर्शन गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । अध्यक्ष लिङदेनसहित बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही, कैलाश कटुवाललगायत पक्राउ परेका थिए ।
निषेधित क्षेत्र तोड्दै गिरफ्तारी दिने राप्रपाको कार्यक्रम थियो । प्रदर्शनका क्रममा पक्राउ परेका लिङदेनसहितका नेताहरू करिब ४ घण्टापछि रिहाइ भएका हुन् ।
अध्यक्ष लिङदेनसहित वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानेन्द्र शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका अध्यक्ष अमर आर्य पक्राउ परेका थिए ।
अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा
काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र दुई जना सांसदलाई सिंहदरबारभित्र बाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतवार अध्यक्ष लिङदेनसहितका सांसदहरूले सिंहदरबारभित्रै विरोध जनाएका थिए । सोही क्रममा अध्यक्ष लिङदेनसँगै सांसदहरू बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
अध्यक्षसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको लिङ्देनका स्वकीय सचिव चन्द्र कठायतले पुष्टि गरे ।
वर्तमान व्यवस्थाविरुद्ध बिजुलीबजार पुलमा प्रदर्शन गरिरहेका नेताहरू सिंहदरबार छिरेका थिए ।
साथै तीनकुने घटनामा न्यायिक छानबिन आयोग बनाउनुपर्ने, पक्राउ परेका नेताहरूलाई छाड्नुपर्नेलगायत उनीहरूको माग छ ।
रहस्यमय घट्नाको सफल अनुसन्धान गरेका प्रहरी निरीक्षक कुँवर सर्वोत्कृष्ट
इटहरी । गत चैत २५ गते सुनसरीको धरानस्थित पाँचकन्या सामुदायिक वनमा अर्धनग्न अवस्थामा एक अपरिचित महिलाको शव फेला पर्यो । अनकन्टार जंगलभित्र झोलाको फित्ता घाँटीमा बाँधी रुखको फेदको हाँगामा बाँधिएको शङ्कास्पद अवस्थामा भेटिएको शवको अनुसन्धान गर्न प्रहरीलाई उत्तिकै चुनौती थियो ।
तर, प्रहरीले आफ्नो संयन्त्रलाई परिचालन गरेर चैत २८ गते मृतकको पहिचान गर्न पुग्यो । शव पहिचानकै क्रममा धनकुटाको महालक्ष्मी नगरपालिका–२ घरभइ इटहरी–२ बस्दै आएकी चुनकुमारी दाहाल बुढाथोकीको शव रहेको पुष्टि भयो । शवको पुष्टि भएपछि प्रहरीलाई चुनुकुमारीको वारेमा अनुसन्धान गर्न सहज भयो ।
अनुसन्धानका क्रममा प्रहरी के निष्कर्षमा पुग्यो भने, ‘श्रीमान्–श्रीमती बिच मनमुटाउ, श्रीमान् वैदेशिक रोजगारको सिलसिलामा कोरियामा रहँदा श्रीमती अर्कैसँग लागेको शङ्का र सम्बन्धविच्छेद माग्दा नमानेपछि हत्या’ भएको भन्नेमा पुग्यो ।
जसअनुसार प्रहरीले कोरियामा रहेका मृतकका श्रीमान सहितलाई झिकाएर अनुसन्धान सुरु गरिसकेको छ । जसअनुसार हत्याको संलग्नमा ६ जनालाई प्रहरीले गत बिहीबार नै सार्वजनिक गरेको छ ।
सार्वजनिक हुनेमा श्रीमान प्रेमबहादुर बुढाथोकी, मोरङ पथरी शनिश्चरे नगरपालिका ३ संगम चोक बस्ने वर्ष २९ को ढकेन्द्र बुढाथोकी, निजको श्रीमती वर्ष २५ की सृष्टि बुढाथोकी, पाँचथर मिक्लाजुङ गाउँपालिका ७ लुमाङदिङ घर भई मोरङ उर्लाबारी नगरपालिका ५ फागुटोल बस्ने वर्ष ३६ को योगेन्द्र गौतम, वर्ष २८ की डेनु गौतम, मोरङ पथरी शनिश्चरे नगरपालिका वडा न.३ बस्ने वर्ष ४० को केशवराज दाहाल रहेका छन् ।
घटनामा संलग्न रहेका भारतीय नागरिक आसाम खकन वस्ती बस्ने वर्ष ३५ को राजु थापा मगर भने फरार रहेको प्रहरीलेको भनाई रहेको छ ।
प्रहरीका अनुसार यस रहस्यमय घटनाको अनुसन्धान गर्नका लागि मुख्य भूमिकामा थिए इलाका प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी निरीक्षक दिवस कुँवर । २०७१ सालबाट प्रहरी सेवामा छिरेका दिवस २०७७ सालमा प्रहरी निरीक्षकमा नाम निकाल्न सफल भएका थिए ।
उनै कुँवरलाई यस रहस्यमय घटनाको अनुसन्धानमा मुख्य भूमिका खेलेको कुँवरलाई नै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले २०८१ चैत्र महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित समेत गरेको छ ।
विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी निरीक्षक कुँवरले चैत २५ गते सुनसरीको धरान–६ स्थित वनमा शङ्कास्पद मृत्यु भएकी धनकुटा महालक्ष्मी नगरपालिका–१ की ३४ वर्षीय चुन कुमारी दाहाल बुढाथोकीको अनुसन्धानको क्रममा हत्यामा संलग्नलाई पक्राउ गरेका कुँवरलाई चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भीमबहादुर दहालले जानकारी दिए ।
कोशी प्रदेश प्रहरी कार्यालयले प्रत्येक महिना दुई उत्कृष्ट प्रहरी घोषित गर्दै आएको छ र प्रहरी कर्मचारीको मनोबल बृद्धि गर्नलाई बृद्धि बनाउनका लागि अर्का प्रहरी, प्रहरी चौकी अमाहीवरयातीमा कार्यरत प्रहरी सहायक निरीक्षक नवराज कार्की पनि कुँवरसंगै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
उनले पनि मोरङको जहदा गाउँपालिका ७ का २७ वर्षीय उमेश कामतको घरबाट १०८८ किलोग्राम गाँजा बरामद गरी निजलाई पक्राउ गरेको भन्दै चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको दाहालले जनाएका छन् ।