कुलमानलाई पदबाट हटाउने निर्णयप्रति रविको साङ्केतिक विरोध
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णयप्रति साङ्केतिक विरोध गरेका छन् । मन्त्रीपरिषद्को बैठकबाट उक्त निर्णय भएपछि सोमवार राति फेसबुक लाइभमा आएर उनले साङ्केतिक विरोध गरेका हुन् ।
लामिछानेले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै क्याप्सनमा ‘कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छ्न् !’ भनेका छन । जहाँ उनले बलिरहेको बत्ति निभाएर मैन बत्ति बालेका छन् । लामिछानेले कुनै भिडियोमा कुनै प्रतिक्रिया भनेका दिएका छैनन् ।
सोमवार साँझ बसेको मन्त्रीपरिषद् बैठकले कार्यकारी निर्देशक घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयको प्रतिपक्ष दलका शीर्ष नेताबाट विरोध भएको छ । कुलमानलाई पदबाट हटाउने सरकारको निर्णयको सत्तारूढ दलबाटै पनि विरोध सुरु भएको छ ।
क्यानडालाई अमेरिकामा विलय गराउने अभिव्यक्तिविरुद्ध प्रदर्शन
एजेन्सी । अमेरिका र क्यानडाबीच सम्बन्ध चिसिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति र अभिव्यक्तिले दुई देशबीचको सम्बन्ध थप चिसिएको हो । ट्रम्पले करमा वृद्धि गरेको र क्यानडालाई ५१ औं राज्य बनाउने धम्कीपूर्ण अभिव्यक्ति दिएपछि क्यानेडियनहरु थप रुष्ट बनेका छन् ।
ट्रम्पकै विवादस्पथ अभिव्यक्तिलाई लिएर शनिबार टोरन्टोको नाथन फिलिप्स स्क्वायरमा क्यानाडाका पक्षमा जुलुश निकालेका थिए । ‘एल्बोज अप, क्यानडा !’ नाम दिइएको प्रदर्शनमा क्यानेडियालीहरूलाई राष्ट्रिय सार्वभौमिकता र मर्यादाको रक्षा गर्न एकजुट हुन र क्यानडाबाट आयात गरिएका सामानहरूमा अमेरिकी कर लगाउने र क्यानडाको सार्वभौमिकतालाई खतरामा पार्ने ट्रम्पको टिप्पणीको विरोध गरिएको थियो ।
‘म एक गर्विलो क्यानेडियन हुँ र म विश्वास गर्छु कि हामीले हाम्रो देश, जीवनशैली, संसदीय प्रणाली, कानुनी प्रणाली, द्विभाषिकता, हाम्रा आदिवासी जनताको लागि बहुसांस्कृतिकताको लागि उभिनुपर्छ। र यो संयुक्त राज्य अमेरिकाबाट र त्यहाँको प्रशासनबाट खतरामा छ । विलयको खतराविरुद्ध उत्रिनुपर्छ,’ प्रदर्शनकारी डग बेनेटले भने ।
ट्रम्पले क्यानडालाई अमेरिकाको ५१ औं राज्य भन्दै होच्याउने किसिमका अभिव्यक्ति दिंदै आइरहेका छन् । यसअघि ट्रम्पले क्यानडाली तत्कालीन प्रधानमन्त्री जस्टिन ट्रुडोलाई अमेरिकामा गाभिन आग्रह पनि गरेका थिए ।
लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा चम्लागाई निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपांग संघको अध्यक्षमा माधव प्रसाद चम्लागाईं निर्वाचित भएका छन् । गत शुक्रबार लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशन सुरु भएको थियो भने शनिबार मतदान भएको थियो । मतगणनाको अन्तिम परिणाम अनुसार चम्लागाईंले कुल खसेको ४७० मतमा ३५१ मत प्राप्त गरेका हुन् ।
अर्का अध्यक्ष पदका उम्मेदवार विकास थापाले ८८ मत प्राप्त गर्दा अध्यक्ष पदमै उम्मेदवारी दिएकी खड्काले १३ मत प्राप्त गरेकी छन् ।
यस्तै उपाध्यक्ष र महामन्त्री पदमा पनि चम्लागाई समुहकै उम्मेदवार निर्वाचित भएका छन् । उनको समुहबाट उपाध्यक्ष उम्मेदवार बनेका उदयबहादुर लिम्बुले ३३२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
यस्तै उपाध्यक्षमा नै अनिता घिमिरे गैह्रे निर्वाचित भएका छन् । उनले ३३९ मत प्राप्त गरेकी हुन् ।
यस्तै महामन्त्रीमा गणेशबहादुर खत्री र किरण पासवान निर्वाचित भएका छन् । खत्रीले ३४९ मत प्राप्त गर्दा पासवानले ३५५ मत पाएर निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित चम्लागाईं कांग्रेस महामन्त्री गगनकुमार थापा निकट हुन् । उनलाई सभापति शेरबहादुर देउवा निकट धेरै नेताहरुको पनि साथ थियो ।
मन्त्री प्रकाशमानमाथि खनिए मेयर बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई आक्रोशित गर्दै सामाजिक सञ्जालमा एक पोस्ट लेखेका छन् । यस क्रममा उनले वडाअध्यक्षहरूले कार्यपालिका बैठकको माग गरेको र त्यसको प्रतिक्रियामा बालेनले सिंहमाथि आलोचना गरेका हुन् ।
आइतबार, कांग्रेसबाट निर्वाचित वडाअध्यक्षहरूले बालेनलाई कार्यपालिका बैठकको आव्हान गर्दै निवेदन दिएका थिए । यसमा असन्तुष्ट बालेनले सिंहलाई लक्षित गर्दै आफ्नो फेसबुकमा लेखेका छन्, ‘अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयासहरू सधैँ कुरा मात्र रहे। कहिले गर्ने हो?’ उनले अगाडि थपेका छन्, ‘मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र र देश नहराउनुहोस्। गणेशमान सिंह, पी.एल. सिंह र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनुहोस्।’
उनले आफ्नो पोस्टमा आगामी दिनहरूमा नेपालका शहरी विकास योजनामा प्रमुख चुनौतीहरूको सामना गर्नुपर्ने भन्दै, सिंहको भूमिकामा कडा आलोचना गरेका छन् ।
बालेनको यस आलोचनाले काठमाडौंको शहरी विकास र सार्वजनिक कार्यहरूमा भएको प्रगति र ढिलाइको प्रश्न उठाएको छ ।
यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले चैत्र ३ गते बसेको प्रतिनिधिसभा बैठकमा यौन व्यवसाय खुलागरी पर्यटन प्रवर्धन गर्नुपर्ने भनी एक सनसनीपूर्ण अभिव्यक्ति दिए ।
उनले यसअघि प्रमुख सचेतक नहुँदै पनि यस्तै धारणा राखेर विवादित पनि भइसकेका थिए ।
उनले भनेका थिए,‘धार्मिक पर्यटकले पैसा खर्च गर्दैनन् । पैसा खर्च गर्ने भनेको मनोरञ्जन क्षेत्रमा आउने पर्यटकले नै हो, यौन व्यवसायलाई खुला गरौँ । यसबाट धेरै विदेशी पर्यटक आउँछन् । यसले मुलुकको आर्थिक समृद्धिका लागि योगदान पुग्छ ।’
घिमिरेले दिएका अभिव्यक्तिमा महिला नेतृहरूले आपत्ति जनाउदै कारबाहीको माग समेत गरे ।
यसै क्रममा नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले घिमिरेको अभिव्यक्तिले समाजलाई अराजकतातिर पुर्याउने भन्दै उक्त भनाइलाई रेकर्डबाट हटाउनका लागि रुलिङको माग नै गरिन् ।
उनले भनिन्,‘हिजो सत्ता पक्षका माननीयज्यूले यौन व्यवसायलाई कानुन बनाइ मान्यता दिएर पर्यटकलाई आकर्षण गरी अर्थोपार्जन गरौँ भन्ने कुरा दोस्रो पटक यस संसदमा उठाउनु आपत्तिजनक कुरा हो । यस्तो चिन्तनको घोर भर्त्सना गर्दछु । यस्तो विचारले अनुशासित र मर्यादित रूपमा रहेको समाजलाई अराजकतातिर पुर्याउँछ । त्यसैले यो भनाइलाई रेकर्डबाट हटाउनको लागि रुलिङको माग गर्दछु ।’
यता, घिमिरे आफ्नो अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भएपछि उनलाई पार्टी नेतृत्वले स्पष्टीकरण नै सोध्न बाध्य भयो । हुनत, देशको विकासका लागि कानुनी व्यवस्था गरेर यौन व्यवसाय खुला गर्नुपर्ने आवाज यसअघि पनि उठ्दै आइरहेको छ ।
प्रतिनिधि सभाकी सांसद चन्दा चौधरीले ३१ भदौको संघीय संसद्मा भनिन्, गण्डकी प्रदेशको मुख्यमन्त्री रहँदा पृथ्वीसुब्बा गुरुङले ‘रेडलाइट एरिया खोल्नुपर्छ’ भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर तत्कालिक प्रतिनिधि सभाकी सांसद चन्दा चौधरी गुरुङको राजीनामा नै माग गरेकी थिइन् ।
तर गुरुङले यौन धन्दाको व्यवस्थापन गर्न चारवटा उपाय सुझाउँदै भनेका थिए–यौन धन्दालाई पूर्ण रूपमा बन्देज गर्ने, अपराधीकरण गर्ने, नियमन गर्ने र रेडलाइट एरिया तोक्ने।’ यिनै उपायबाट विश्वमा यौन धन्दा नियन्त्रणको अभ्यास भएको उनको दाबी थियो ।
यसअघि तत्कालीन कानुनमन्त्रीसमेत रहेका शेरबहादुर तामाङले संसद्मा ‘बंगलादेशमा पढ्न गएका नेपाली छात्राहरूले यौन व्यवसाय गरेको’ भन्नेबारे अभिव्यक्ति दिँदा मन्त्री पद नै गुमाएका थिए । तर कानुनको अभावमा यौन धन्दा व्यवस्थित नभएको र पूर्ण नियन्त्रणमा समेत आउन सकेको छैन् ।
यद्यपि, यौन पेशालाई लिएर विभिन्न कोणबाट बहस भइरहेको छ । कतिपयले यस्तो पेशालाई नियन्त्रण र बन्देज गर्नुपर्ने आवाज उठाएका छन् भने कतिपयले यौन श्रमिकहरूको विषयलाई मानव अधिकारको दृष्टिकोणमा आवाज उठाइरहेका छन् ।
यौन पेशामा संलग्न यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरूको अधिकारका लागि क्रियाशील अधिकारकर्मीहरूले संविधानको धारा १८, धारा ३४ र धारा ४२ मा भएको प्रावधानहरूलाई लिएर सेक्स वर्करहरूलाई पनि सुरक्षित, स्थिर र सम्मानपूर्ण बाँच्न पाउने अधिकार हुनुपर्ने पक्षमा आवाज उठाइरहेका छन् ।
यौन श्रमिकहरूको न्यायको लागि काम गर्ने संस्था मायाको संसारकी संस्थापक सुनिता लामाले नेपालमा यौन श्रमिकहरूको अवस्था दयनीय रहेकाले उनीहरूले पनि आफ्नो योग्यता अनुसार बाँच्न पाउनुपर्ने बताइन् ।
उनले यौन श्रम र श्रमिकलाई राज्यले अपराधीकरण गरेको र त्यसलाई निरअपराधीकरण गर्नुपर्ने बताइन् । यौन व्यवसायलाई व्यवस्थित गर्नुपर्ने सांसदहरूको आवाजलाई सम्मान गनुपर्ने उनको धारणा छ ।
‘नेपाल सरकारको तथ्याङ्क यौन श्रमिक महिलाहरू ८६ हजार छ । यौन श्रम हो, व्यवसाय होइन् । नेपालमा यौन श्रमिकहरूको अवस्था दयनीय छ । माननीयज्यूहरुले उठाएको कुरा गलत भन्न मिल्लदैन । कुरा सहि हो । नेपालको कानूनले यसलाई अपराधीकरण गरिरहेको छ । यसलाई निरअपराधीकरण गर्नुपर्छ । स्वेच्छाले काम गर्ने नीति बनाउनुपर्छ । यौन श्रमिकको रूपमा काम गरिरहँदा शोषणमा पनि परेका हुन्छन् । यहाँ जति सजिलो देखिन्छ त्यति सजिलो छैन । यसलाई व्यवस्थापन गर्न पोलिसी बन्नुपर्छ,’ उनले भनिन् ।
उनले यौन पेशा रहरले नभइ बाध्यात्मक परिस्थितिले अवलम्बन गरेको भन्दै यौन श्रमिकहरूको हकका लागि वैधानिक भन्दा पनि नीति बनाउनुपर्ने बताइन् ।
यस्तै, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकारका पक्षमा वकालत गर्दै आएका अधिवक्ता सुजन पन्तले यौन श्रमिकको अधिकार सुनिश्चित गर्नुपर्ने अवस्थामा राजनीतिकीकरण गरिनु दुर्भाग्यपूर्ण भएको बताए ।
‘यहाँ एउटा वर्ग छ, जो चाहीँ पिडामा छ । जसको अधिकार चाहीँ राज्यले सुनिश्चित गर्नुपर्ने अवस्थामा यसलाई राजनीतिक गरेर खाने विषय बनाउनु अत्यन्तै दुर्भाग्यपूर्ण छ,’ उनले भने ।
‘राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रमार्फत नेपाल सरकारले तथ्याङ निकाल्छ । जसअनुसार करिब एक लाख यौन श्रमिक रहेका छन् । उनीहरू समस्या विकराल छ यसलाई व्यवस्थापन गनुपर्ने समयमा संसदमा उठ्यो । अव पोजिटिभ आउला भनेको दबाइयो ।’ उनले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले यौन पेशालाई मर्यादित काम भनेर परिभाषित गरको पनि बताए ।
यता, प्रहरीले यौन धन्दामा संलग्नलाई पक्राउ गरेर प्रायः मानव बेचबिखनविरुद्धको अपराधअन्तर्गत मुद्दा चलाउने गरेकाले मानव अधिकार हनन् भएको अधिकारकर्मीहरूको भनाइ छ । मुलुकी संहितामा पनि स्पष्ट व्यवस्था र परिभाषा नभएकाले अपराध अन्तर्गत मुद्दा चलाइने गरेको छ । यौन धन्दाका विषयमा स्पष्ट कानून अभाव छ ।
कानुन व्यवसायी पन्तले नेपालमा यौन व्यवसाय बारे कानुनी मौनता रहेको, यौन व्यवसाय वैध छ कि अवैध छ भन्ने बारे आ–आफ्नै धारणा रहेको बताए । कानूनमा स्पष्टता नहुँदा नेपालमा यौन व्यवसाय वैधानिक हो कि भनेर अनुमान पनि लगाउन सकिने उनको जिकिर छ ।
असिना पानीबाट भएको क्षतिको विवरण संकलन
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वाड नं ३ ले असिना पानीबाट भएको क्षती विवरण संकलन गर्न थालेको छ । शनिवार बिहान करिब २ बजेतिर आएको असिना पानीले चन्द्रपुर नगरपालिका वाड नम्बर ३ का कृषकले लगाएको मकै र केरा खेतीमा बढी क्षती गरेको हो । वार्ड कार्यलयले एक सूचना जारी गरि असिनापानी हावाहुरीबाट अन्न, तरकारी तथा फलफूल बालीमा क्षति पुगेकाले विवरणसहित निवेदन दिन आग्रह गरेको छ ।
असिना पानीबाट घरगोठमा पुगेको क्षति विवरण पनि दिन सकिने वार्ड अध्यक्ष बोधराज देवकोटा (रबि)ले बताए । असिना पानीबाट आफ्नो वाडमा बढी क्षती गरेको उनले दाबी गरेका छन् ।
उनका अनुसार असिना पानीबाट मर्कामा परेका कृषकलाई राहतका लागि पहल गर्ने उनले बताए । वृन्दावन नगरपालिका–१ बलेरीका किसान प्रेमलाल पटेल १० कठ्ठा, रविन्द्र पटेलले १५ कठ्ठा, हेमन राउतले १५ कठ्ठा मकै तथा १५ कठ्ठा गहुँबालीमा पनि क्षति पुगेको छ । कृषि ज्ञान केन्द्र गौरले असिना पानीबाट भएको क्षती विवरण संकलन भइरहेको जनाएको छ ।
काठमाडौँ महानगरपालिका कार्यपालिका बैठक बोलाउन वडा अध्यक्षहरूको माग
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई गरिएको कारबाही प्रक्रियाको मागसहित तत्कालै कार्यपालिका बैठक बोलाउन नेपाली कांग्रेसबाट निर्वाचित १८ जना वडाअध्यक्षसहित बहुमत कार्यपालिका सदस्यहरूले माग गरेका छन् ।
आइतवार काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई काठमाडौँ महानगरपालिकाका १८ जना वडाअध्यक्ष सहित नेपाली काँग्रेसबाट कार्यपालिका सदस्य भएका सदस्यहरूले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई गरिएको कारबाहीको प्रक्रियाको माग गर्दै वडा–१७ का वडाअध्यक्ष एवं प्रवक्ता नविन मानन्धरले ज्ञापन पत्र बुझाएका हुन् ।
‘आज प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई गरिएको कारबाही प्रक्रियाको माग सहित तत्कालै कार्यपालिका बैठक बोलाउन वडाअध्यक्ष एवं कार्यपालिका सदस्यहरूले माग गरेका छौ,’ काठमाडौँ महानगरपालिका वडा–८ का वडाअध्यक्ष आशामान सँगतले बताए ।
उनले, कामपा वडा नम्बर १२ का वडाअध्यक्षको अध्यक्षतामा कार्यपालिका बैठक तत्काल बोलाउन माग गरेको र तत्कालै प्रशासकीय अधिकृतलाई गरिएको कार्यवाही प्रक्रियाको माग सार्वजनिक गर्न हस्ताक्षरसहित पठाइएको बताए ।
सिरहामा दलितमाथि ज्यादती : गाउँपालिका अध्यक्षसहित तीन जनाविरुद्ध जातीय छुवाछुतमा जाहेरी दर्ता
सिरहा । सिरहाको औरहीमा महायज्ञका नाममा दलितमाथि ज्यादती घटनामा पीडित परिवारले प्रहरीमा जाहेरी दर्ता गराएका छन् । शनिवार दलितका अगुवासहित पुगेर पीडित परिवारले जिल्ला प्रहरी कार्यालय, सिरहामा जाहेरी दर्ता गराएका हुन् ।
औरही गाउँपालिका–५ का दलित समुदायका पीडित दीपक मल्लिकले दिएको जातीय भेदभाव तथा छुवाछुत सम्बन्धि कसुरको जाहेरीमा गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबालाई प्रतिवादी बनाइएको छ ।
औरहीका स्थानीयसमेत रहेका राष्ट्रिय दलित आयोगका पूर्वसदस्य कबुली पासवानका अनुसार जाहेरीमा प्रतिवादीहरूले पीडित परिवारमाथि जातीय छुवाछूत गरेको, घर तोडफोड गरी विस्थापन गरेको भन्दै कानुन बमोजिम कारबाही हुनुपर्ने र पीडितलाई क्षतिपूर्ति दिइनुपर्ने माग गरिएको छ ।
पीडित परिवारको जाहेरी प्राप्त भएको र यससँगै कानुनी कारबाही प्रक्रिया अगाडि बढेको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए । जातीय छुवाछुत सम्बन्धी कसुरमा ३ महिनादेखि ३ वर्षसम्म र ५० हजारदेखि २ लाखसम्म जरिवानाको कानुनी व्यवस्था छ ।
आउँदो चैत १७ गतेदेखि आयोजना हुने भनिएको महायज्ञका नाममा फागुन १० मा अछुत भन्दै महायज्ञस्थलमा रहेको मल्लिकको घर गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबाले डोजर लगाएर भत्काइदिएका थिए ।
यस घटनामा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई शुक्रवार साँझ मात्रै प्रहरीले पक्राउ गरेको थियो । बजरंगी बाबा भने अझै फरार छन् । उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।
आज केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ङसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ । हाल कोशी तथा मधेश प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
यस्तै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको विभागले जनाएको छ।
आज राती, कोशी, मधेश र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने विभागले जनाएको छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी र मधेश प्रदेशका केही स्थानहरू र बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
‘जनताले डा.सिके राउत र रेशम चौधरी जस्तो उदारवादी नेता खोजेका छन्’
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले जनताका दबिएका आवाजहरू, कमैयाका मुक्तिहरू र वर्गीय संघर्षको आवाज बोल्नुपर्ने समय आएको बताएका छन् ।
शनिवार केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले सदियौँदेखि आगनमा टेक्न दिइदैन, एउटा मान्छेलाई देवता छुन दिइदैन्, पधेरोको पानी निकालेर पिउन दिइँदैन् त्यसैले वर्गीय संघर्षको आवाज बोल्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘जनताले छल चाहेका छैनन् । जनताले हातेमालो चाहेका छन् । ति जनताले कप्टी नेता खोजेका छैनन्, ति जनताले डा.सिके राउत र रेशम चौधरी जस्तो उदारवादी नेता खोजेका छन् । डा.सिके राउत र मैँले हात रहँदा दुईवटै पार्टीको संरक्षक बनाउने भन्नुभयो । म न त संरक्षक चाहन्छु न त अध्यक्ष नै । म यतिमात्रै चाहन्छु कि दबिएका आवाजहरू, कमैया मुक्ति चाहन्छु । सदियौँदेखि आगनमा टेक्न, देवता छुन र पधेरोको पानी निकालेर पिउन दिइँदैन् त्यो वर्गीय संघर्षको आवाज रेशम चौधरीले बोल्ने की नबोल्ने ? त्यो बोल्नका लागि एउटा मात्र फोरम भएर हुँदैन रहेछ । देशमा आवाज सुनाउनका निम्ति राजनीतिक फोरम चाहिदोरहेछ ।’
साथै उनले सुँगुरको मासु खानको लागि खस, आर्य र थारूको वर्गीय विभाजन हुनु हुँदैन साथै देशको संविधानले अधिकार प्राप्तिका लागि पनि खस, आर्य र थारूको अधिकार फरक फरक हुन नहुने बताए । उनले चुनावमा जिते नजिते पनि आफ्नो प्रतिबद्धता थारू समुदायसँग रहेको बताए ।
उनले भने, ‘म चुनावमा जितौंला, नजितौंला तर मेरो प्रतिबद्धता थारू समुदायसँग छ । यात्रामा साथी गुमाउन चाहँदैनौँ । यात्रामा हातेमालो गर्न चाहन्छौँ । मान्छेले धेरै कुरा गर्छन् । सुँगुरको मासु खानको लागि खस, आर्य र थारूको वर्गीय विभाजन हुनु हुँदैन । संविधानमा प्रत्येकको अधिकार प्राप्तिका लागि पनि खस, आर्य र थारूको अधिकार फरक फरक हुनुहुँदैन ।’
यसैगरी जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले कञ्चनपुर जिल्लामा विस्थापित थारुहरू, कमैयाहरू जुन बसिरहेका छन् उनीहरूको जग्गा उपलब्ध गराउन आफू सधैं तत्पर रहने बताए । उनले थारू र कमैयाहरूको समस्या समाधान गर्न एक्लै नसकिने र यसमा मिलेरै जानुपर्ने बताए ।
उनले भने, ‘हामी सबैजना मिलेर गयौं भने थारु र कमैयाहरूको समस्या समाधान गर्न सक्छौँ । आफ्ना मागहरू पूरा गर्न सक्छौँ । कञ्चनपुर जिल्लामा विस्थापित थारूहरू, कमैयाहरू जुन बसिरहेका छन् उनीहरूको जग्गा उपलब्ध गराउन म सधैँ तत्पर छु ।’
बैठकमा सिके राउतले नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नागरिक उन्मुक्तिबिच पार्टी एकताको अन्तिम तयारी भएको छ । तराई मधेसको सबैभन्दा ठुलो दल बनाउने दुई पार्टी एकताको लागि सहमत भएका हुन् ।