मुकुम्लुङ आन्दोलनले लियो उग्र रूप : एउटा हैन सयौ गोलि थाप्न तयार छौ
धरान । ताप्लेजुङ मुकुम्लुङ आन्दोलनको घटनाले थप उग्र रूप लिदै गएको छ । शनिवार मुकुम्लुङ आन्दोलनका समूहलाई सशस्त्र प्रहरी द्वारा गोलि प्रहार भएपछि आन्दोलनले अर्को गति लिने संकेत गरेको हो ।
आइतवार धरानमा पनि उत्त घटनाको विरोध भएको छ । धरानको भानुचौकमा घटनाको विरुद्धमा मुकुम्लुङ संरक्षण संघर्ष समिति लगायतले विरोध जनाउदै मेचीराजमार्ग र तमोर करिडोर अनिश्चितकालिन यातायात बन्द को आह्वान समेत गरेका छन ।
सरकार थप दमनकारी शैलीमा उत्रिए त्यसको प्रतिवाद गर्ने जसपा नेपाल धरान नगर अध्यक्ष ताजुब लिम्बुले बताएका छन । हिजोका साशकहरुलाई जसरी प्रतिवाद गरेका थियौ त्यसरीनै आजको राज्य सरकारको दमनकारी गतिविधिलाई प्रतिवाद गर्ने आट राखेका छौ उनले भने । सर्वसाधरणलाई गोलि प्रहार गर्नको लागि लोकतन्त्र गणतन्त्र व्यवस्था हामिले ल्याएको हो भन्दै अहिलेको व्यवस्था माथि उनले प्रश्न समेत गरेका छन । वर्तमान सरकार सर्वसाधारण जनताको लागि आतंकित बन्दै गएको जत्ति राज्य दमनकारी बन्दै जान्छ त्यत्ती सरकार को आयु कम हुने चेतावनी समेत उनले दिएका छन ।
विरोध सभामा बोल्दै जेन्टल लावति लिम्बुले जबसम्म केवलकार निर्माण खारेज हुदैन तबसम्म बन्द आह्वान सँगै आन्दोलन नरोक्ने चेतावनी दिएका छन । वर्तमान सरकारले जुन केवलकार निर्माण गर्ने निर्णय गरेको थियो त्यसैको दोष आज आफै प्रधानमन्त्री केपी शर्मा ओलीलाई परेको थलो परेर बस्नुपर्ने अवस्था आएको समेत उनले बताएका छन । जो जसले मुकुम्लुङको आस्था माथि प्रहार गर्ने दुस्साहस गर्छ ति ब्यत्तिलाइ मुकुम्लुङमा आस्था राख्ने व्यत्तिहरूले मात्र हैन मुकुम्लुङ आफैले पनि द्वन्द्व दिनेछ । मुकुम्लुङ संरक्षणको शान्तिपूर्ण आन्दोलनलाई राज्यले हिंसात्मक बनाउने प्रयत्न गरेको हो अब ईट जवाफ ईटले नै दिनेछौ उनले भने ।
जनता समाजवादी पार्टी धरान उपमहानगर सहसचिव रन्जित राईले मुकुम्लुङ आन्दोलन लाई बेवास्ता गरेर राज्यले बेलैमा ध्यान नदिए फेरि पनि टिकापुर घटना दोहोरीन सक्ने उनले चेतावनी दिए । यसको क्षति सरकारले ब्यहोर्नु पर्ने उनले बताए । राज्यले पटक पटक हाम्रो आस्थाहरू माथि प्रहार गर्दै आएको छ । चरम दमन शोषन गरेको छ अब भने चुप नबस्ने मुकुम्लुङ संरक्षणको लागि राज्यको गोलि थापन परे तयार रहेको सनेत उनले बताए ।
मुकुम्लुङमा केवलकार बनाउने नाममा राज्यले नितिग भ्रष्टाचार गरेको पहिचानवादी नेता सिताराम राईले आरोप लगाएका छन । स्थानीयको असन्तुष्ट विरोध हुदा हुदै राज्यले दमनकारी शैलीमा केबलकार निर्माण कार्य अगाडी बढाएको यसैको विरोधमा यही माघ १५ मङ्गलवार देखि पूर्व मेचि हाईवे,टम्मर करिडोर तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकाहरू मा बन्द घोषणा भएको राईले बताए । सशस्त्र प्रहरी को गोलि लागेर घाइते भएका याम बहादुर लिम्बु,सगुन लावती,धर्मेन पालुङ्वा उनिहरूलाई उपचारको लागि काठमाडौँ लगिएको उनले जानकारी गराए ।
ति घाईतेहरूको उपचार क्षतिपूर्ति ब्यहोर्नुपर्ने, पाथीभरा क्षेत्र विकास समिति खारेज गर्ने, केवलकार निर्माण का मुख्य व्यक्ति चन्द्र ढकालको ग्लोबल आईएमइ बैँकमा रहेको सबै शाखाका खाता बन्द गर्नु पर्ने,सिडिओ प्रशासनले माफी मागि कडा कार्यवाही हुनु पर्ने, उनिहरूको माग रहेको छ ।
भिडियो हेर्नको लागि लिङ्कमा क्लिक गर्नुहोस्:
<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/EzW4ZNJWVjU?si=fIWhu9XrTB8zBymV" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>
त्रिकोणात्मक सिरिजको लागि नेपाली टोलीको घोषणा
काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु मैदानमा खेल्ने त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको लागि टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतवार इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
टियु क्रिकेट मैदानमा बिहिवारबाट सुरु हुने त्रिकोणात्मक सिरिजमा नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डको महिला टोलीको सहभागिता रहनेछ ।
नेपालको पहिलो खेल उद्घाटनकै दिन नेदरल्याण्ड्ससँग हुनेछ । सिरिजमा सहभागी टोलीले एकअर्कासँग ३ पटक खेल्नेछन् । लिग चरणको अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।
नेपाली महिला टोली
इन्दु बर्मा(कप्तान), बिन्दु रावल, सम्झना खड्का, कविता कुवँर, ममता चौधरी, पुजा महतो, राजमती ऐरी, रुविना क्षेत्री, कविता जोशी, रोमा थापा, मनिषा उपाध्याय, अलिसा कुमारी यादव, रेवती धामी, इश्वरी बिष्ट र सिता राना मगर ।
कामना सेवा विकास बैँकले ३५ करोडको अग्राधिकार सेयर जारी गर्ने
काठमाडौँ । कामना सेवा विकास बैँक लि. ले ९ प्रतिशत लाभांश कायम गर्ने गरी अविमोच्य असञ्चित अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैँकले अंकित मूल्य एक सय रुपैयाँमा ३५ लाख कित्ता अर्थात् ३५ करोड रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ ।
अग्राधिकार शेयर परिपत्र विधिबाट निष्काशन गर्नका लागि बैँकले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।
बैँकको पूरक पूँजी बढाउने उद्देश्यले जारी गर्न लागेको वार्षिक ९% लाभांश दर भएको (असञ्चिति) अग्राधिकार शेयर अविमोच्य अवधि भएका कारण भुक्तानी अवधि तोकिएको छैन र उक्त शेयरहरू परिपत्र विधिबाट निष्काशन गरिने जनाइएको छ ।
उक्त निष्काशन सम्बन्धी सम्झौता पत्रमा बैँकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाद्वारा हस्ताक्षर गरिएको छ ।
राज्यका नीति निर्माताले कुष्ठरोगलाई विशेष महत्व दिएका छैनन्
डा.रविन्द्र बाँस्कोटा सरकारको स्वास्थ्य सेवा विभाग अन्तर्गतको कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता शाखामा कार्यरत छन् । छाला तथा यौनरोग क्षेत्रमा विशेषज्ञता हासिल गरेका उनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को कुष्ठरोग कार्यक्रमको सल्लाहकारको जिम्मेवारी सम्हालिसकेका छन् । यस पटक डा.बाँस्कोटासँग नेपालमा कुष्ठरोगको पछिल्लो अवस्था, रोकथामको उपाय र भावी योजनाबारेमा रहेर गरिएको कुराकानी ।
नेपालमा कुष्ठरोग र रोगबाट प्रभावितहरूको अवस्था के छ ? सङ्ख्या कति छ ?
नेपालको हालको अवस्था हेर्ने हो भने विगतको तुलनामा कुष्ठरोगका नयाँ विरामीहरूको सङ्ख्या बढेको छ । २४ सय ७२ जना नयाँ कुष्ठरोगका विरामीहरूलाई पत्ता लगाएर उपचारको दायरामा ल्याएको छौँ । २४ सय ७२ जनामध्ये पनि करिब ४० प्रतिशत चाही महिला हुनुहुन्छ । एकसय ३६ जना चाही बालबच्चा हुनुहुन्थ्यो । १४ वर्षभन्दा मुनिका बच्चाहरूको सङ्ख्या एक सय ३६ जना थियो । त्यस्तै सुरुको अवस्थामा अङ्गभङ्ग भएको व्यक्तिहरूको सङ्ख्या चाही एक सय ५७ जना थियो । जसमा दुईजना बालकालिकाहरूहरू सुरुको अवस्थामा नै अङ्गभङ्ग भएर आउनुभएको छ । तीनचार वर्षको तथ्याङ्कलाई हेरेर हालको अवस्थालाई मूल्याकँन गर्दा गत आर्थिक वर्षमा नम्बर बढेको देखिन्छ । नियन्त्रण गर्न अझै चुनौतीपूर्ण नै छ ।
हजुरले कुष्ठरोग विरामीको सङ्ख्या बढिरहेको भन्नुभयो । के कारणले विरामी बढिरहेका हुन् ?
नेपालमा सन् २०१० मा कुष्ठ रोग उन्मूलन भयो भनेर घोषणा गरियो । तर उन्मूलनलाई कसरी परिभाषित गरियो भने प्रति १० हजार जनसङ्ख्यामा एक भन्दा कम कुष्ठरोग भएका विरामीहरूको सङ्ख्यालाई निवारणको अवस्था भनेर व्याख्या गरियो । त्यसो भएपछि पोलिसी मेकर अथवा नीति निर्माण तहमा त्यसको के बुझाई गयो भने निवारणको अर्थ अब देशमा कुष्ठरोगका विरामीहरू नै छैनन् भन्ने भयो । देशले यसलाई प्राथमिकतामा पार्न नपर्ने हो कि भन्ने सोचको विकास भयो । यसका लागि आवश्यक कार्यक्रमहरू र बजेट अब नचाहिने हो कि भनेर कम प्राथमिकतामा राखियो । त्यस कारणले सक्रिय रूपमा गर्नुपर्ने कार्यविधिहरू र क्रियाकलापहरू थिए, त्यो गर्न सकिन् । बजेट कम भयो । अनुसन्धान कम हुँदै गयो । संघ संस्थाहरूको क्रियाकलापमा कमी आयो । जसका कारण हामीले प्रभावकारी नियन्त्रण गर्न सकेनौँ र फलस्वरूप यो रोगको सङ्ख्या बढ्दै गएको छ ।
कुष्ठरोग खासमा के कारणले लाग्ने गर्दछ ?
कुष्ठरोग माइक्रोब्याक्टेरिया लेप्रे नामक सूक्ष्म कीटाणुले गर्दा लाग्ने रोग हो । मानव सभ्यताको सबैभन्दा पुरानो विराम कुष्ठरोग नै हो । विभिन्न पुराण वा धर्मग्रन्थहरूमा पनि कुष्ठरोगका बारेमा व्याख्या गरेको पाइन्छ । यस हिसाबले यो रोग वा विराम प्राचीन हो । यो प्राचीन रोग अहिलेसम्म आइपुग्दा उन्मूलन भइसक्नुपर्ने हो । तर पनि विविध कारणले उन्मूलन भइसकेको छैन् । कीटाणुले गर्दा लाग्ने र कम सर्ने रोग हो । एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ तर छोइहाल्दैमा सँगै बस्दैमा सरिहाल्ने रोग होइन् । लामो समयसम्म सँगै बस्दा श्वासप्रश्वासको माध्यमबाट सर्न सक्छ ।
यसको रोकथामका उपायहरू चाही के–के हुन सक्छन् ?
यसबाट जोगिने एउटै उपाय भनेको नै कसैलाई कुष्ठरोग लागेको छ भने समयमा नै उपचारको दायरामा ल्याउने नै हो । उपचार गरेपछि अरूलाई सर्न पाउँदैन् । यसको प्रभावकारी उपचार पनि छ र उपचार भइसकेपछि पूर्ण रूपमा ठिक हुन्छ । त्यसको मुख्य भनेकै समाजमा लुकेर रहेका कोहीपनि कुष्ठरोग प्रभावित व्यक्तिहरूलाई पत्ता लगाएर उपचारको दायरामा ल्याउनैपर्छ । उपचार गरिसकेपछि न्यूनीकरण हुँदैजान्छ । सरिहाल्ने रोग होइन । त्यसैले घर–परिवारमा टाढै बस्नुपर्ने, छुट्टै बस्नुपर्ने अथवा यसका लागि अलग्गै औषधी या आहार गर्नुपर्ने भन्ने चाही केहीपनि छैन् । सामान्य मानिसले गर्ने सामान्य क्रियाकलाप सबैजनाले गर्न सकिन्छ । र आफ्नो घरमा कसैलाई कुष्ठरोग लागेको शँका छ भने नजिकको अस्पतालमा गएर डाक्टरलाई देखाएर उपचार गर्नु नै रोकथामको उपाय हो ।
कुष्ठरोगका सुरुका लक्ष्मणहरू कस्ता हुन्छ ? के यो रोग उमेर विशेष हुन्छ ?
कुष्ठरोगको कीटाणुले कुनै उमेर हेर्दैन् । रोग जसलाई पनि लाग्नसक्छ । यसका लक्षणहरू हुन्छन् । जुन सुरुमा नै थाहा पाउन सक्छौँ । ति लक्षणहरू भनेको कुष्ठ रोगले छाला र स्नायुमा असर गर्छ । यसको कीटाणुले सुरुमा गएर छाला र स्नायुमा आफ्नो प्रभाव देखाउँछ, छालामा दागहरू देखा पर्छन् । दागहरू कस्तो हुन्छ भने नचिलाउने, नदुख्ने, स्पर्श कम हुने, तातो–चिसो थाहा नपाउने खालको दागहरू शरीरमा छन् भने कुष्ठ रोग हो की भनेर शँका गर्नुपर्ने हुन्छ । दोस्रो कुरा भनेको कुष्ठरोगको कीटाणुले गर्दा कानको लोतीहरू बाक्लो हुने, नाकको हड्डी सानो हुदैँ जाने हुन्छ भने धेरै ढिला भयो भने अंगभंग नै हुने हुन्छ । यस्ता स्नायुले गर्दा हात, खुट्टाको मांसपेशीहरू कमजोर हुन्छ र अन्तिममा औलाहरू पनि झर्न सक्छ ।
स्नायु, छाला बाहेक आँखामा पनि असर गर्नसक्छ । दृष्टिविहीन हुनेसम्मको अवस्थामा पनि पुर्याउनसक्छ । त्यसकारण सुरुमै लक्षण देखाउने भनेको छाला र स्नायुमा हो । त्यस्तो शङ्कास्पद लक्षणहरू देखिने बित्तिकै स्वास्थ्य उपचारमा जानुपर्छ ।
सरकारले पनि ‘कुष्ठरोग मुक्त समाज’ घोषणा गरिसकेको छ तर अझै पनि पूराना पुस्ताका केही मानिसहरू कुष्ठरोगलाई श्रापका रुपमा नै हेर्ने गरेको पाइन्छ नि ?यसलाई कसरी हेरिरहनु भएको छ ?
हामीले जुन शिक्षा अथवा जुन चेतना समुदाय स्तरसम्म पुर्याउनुपर्ने थियो त्यसमा चुकेका छौ । तपाईले भनेजस्तै अझै पनि कुष्ठरोग लागेका व्यक्तिहरूलाई समाजमा घरबाट बाहिर निकाल्ने, हेला गर्ने, भेदभाव गर्ने घटनाहरू विगतका वर्षहरूमा देख्न र सुन्दै आएका हौँ । यसलाई कम गर्ने भनेको शिक्षाबाट नै हो । यसका लागि जनचेतनामूलक कार्यहरू र विद्यालयस्तरमा शिक्षा दिने र कुष्ठरोग कुनै श्रापको कारणले लाग्ने रोग होइन है भन्ने चेतना फैलाउनु जरुरी छ । यो कीटाणुको कारणले भएको हो, यसलाई उपचार गरेपछि निको हुन्छ, एक व्यक्तिबाट अर्को व्यक्तिमा छिटै सर्दैन्,डराउनुपर्ने रोग होइन भन्ने सन्देश प्रवाह गर्नुपर्छ । यसको औषधी छ भन्ने सूचनाहरू जनसमुदायसम्म पुर्याउनुपर्छ ।
कुष्ठरोगसम्बन्धी चेतनामूलक कार्यक्रमलाई अझ बढी प्राथमिकताकासाथ सञ्चालन गर्ने सरकारी नीति जुन छ, यसको कार्यान्वयन कत्तिको भइरहेको छ ?
नीति नै प्रभावकारी नभएको होइन, नीति प्रभावकारी छ र नीति अनुसार थुप्रै क्रियाकलापहरू भएको पनि छ । उदाहरणका लागि प्रत्येक वर्ष जनवरीको अन्तिम आइतवार यस वर्ष भने जनवरी २६ को दिनमा विश्व कुष्ठरोग दिवस भनेर मनाउने गर्दछौ । त्यही अनुसार यस वर्ष पनि विश्वभर यो दिवस मनाउँदैछौ । दिवस मनाउनु भनेको पनि एउटा चेतना जगाउनु हो र यो सम्बन्धमा रहेका नकारात्मक भावनाहरूलाई हटाएर सकारात्मक कुराहरू जनस्तरसम्म पुर्याउने एउटा उद्देश्य पनि हो । यस हिसाबले कार्यक्रमहरू भएका छन् । तर पहिलाको जस्तो भने भएका छैनन् । किनभने सरकारले यसलाई प्राथमिकतामा राख्नुपर्ने ठाउँमा, सरकारका चुनौतीहरू अरूपनि धेरै भएका कारणले गर्दा यसलाई सरकारको प्राथमिकतामा कम परेको भने महसुस भएको छ ।
यसको न्यूनीकरणको लागि सरकारले चाही के कस्तो पहलकदमीहरू लिइरहेको छ?
सरकारले गरेका धेरै कार्यक्रमहरू मध्ये एउटा जनचेतना वृद्धि गर्ने कार्यक्रम हो । तर कुष्ठरोगलाई न्यूनीकरण गर्ने सरकारका धेरै कार्यक्रमहरू छन् । उदाहरणका लागि हामी सक्रिय रूपमा घर घरमा गएर शङ्कास्पद बिरामीहरूको खोजी गरी पत्ता लगाएर उहाँहरूलाई उपचारको दायरामा ल्याउने गरेका छौँ । यसको लागि तालिम प्राप्त स्वास्थ्यकर्मीहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू परिचालन गर्ने गरेका छौँ । जोखिममा रहेका जिल्लाहरूका पालिका, वडाहरूको घर घरमा गएर शङ्कास्पद लक्षणहरू छन् कि भनेर पहिचान गर्ने गरेका छौँ ।
दोस्रो भनेको कुष्ठरोग छिटै नसरेपनि धेरैजसो के पाइएको छ भने रोग लागेको व्यक्ति हुनुहुन्छ भने उहाँको परिवारमा, छिमेकमा अरूपनि हुन सक्नुहुन्छ, सरेको हुनसक्छ भनेर उहाँको सम्पर्कमा आउनु भएका छरछिमेक र परिवारका अन्य सदस्यहरूको पनि छाला जाँच गर्ने, कुनै लक्षणहरू छन् कि भनेर समयमा नै जाँच गर्ने जस्ता कार्यक्रम पनि सरकारले आफ्नो नीतिमा राखेको छ । र त्यो विद्यमान छ । अर्को भनेको कुष्ठरोगीलाई खुवाइने एउटा औषधि उपलब्ध छ त्यो खुवाएपछि कुष्ठरोग प्रभावित व्यक्तिका छरछिमेक तथा आफन्त उहाँको सम्पर्कमा आउने व्यक्तिलाई खुवाइयो भने त्यो सम्पर्कमा परेका व्यक्तिहरूलाई रोग लाग्ने खतरा ६० प्रतिशतले कम हुन्छ भन्ने कुरा तथ्यांशले देखाएको छ । नेपालका केही जिल्लाहरूमा कुष्ठरोग नियन्त्रण (पेप प्लस प्लस) भन्ने कार्यक्रम लिएर गएका छौ । सोही अनुसार समुदायका व्यक्तिहरूलाई औषधि पनि खुवाएका छौ । यी विविध कार्यक्रमहरू नेपाल सरकारले अहिले आफ्नो नीतिमा राखेर अगाडि बढाइरहेको छ ।
सरकारले नीतिमा त धेरै कार्यक्रमहरू राखेको छ तर कार्यान्वयनमा भने फितलो भइरहको छ ,खास के कारणले हो ?
ठोस एउटा मात्र पोइन्ट भन्दाखेरी चाही कुष्ठरोग एउटा आफैँ जटिल किसिमको रोग हो । अरू जस्तो सामान्य किसिमको रोग अथवा रुघाखोकी जस्तो होइन् । रुघाखोकी सात दिन औषधी खुवाए निको हुँदै जान्छ यो त्यस्तो होइन् । यो रोग परापूर्वकालदेखि नै चलिआएको किन हो भने पनि त्यति सजिलै निवारण नभएरै हो । रोग आफैँ जटिल किसिमको हो । यो रोग शरीरमा छिरिसकेपछि शरीरका मेकानिजमहरू परिवर्तन गर्छ । कुष्ठरोगको नेचर अलिकति कम्प्लेक्स छ । तर हाम्रो सक्रियता, घरघरमा गएर रोग पत्ता लगाउने कार्यक्रम नीतिमै छ, त्यो कार्यक्रम ७५३ वटै स्थानीय तहमा पुग्न सकेको छैन् । एकबर्ष पुग्ने अर्को बर्ष नपुग्ने समस्याहरू छन् । धेरै नै ग्यापहरू छन् । सन् २०१० मा नेपाललाई कुष्ठरोग निवारण मुलुकका रूपमा घोषणा गरेर सुरु गरेको जुन कार्यक्रम थियो त्यो अनुसार घट्दै जानुपर्ने हो । अहिले २०३० सम्ममा शून्यमा पुर्याउने लक्ष्य छ तर त्यस अनुसारको ग्राफ्क्स घटिरहेको छैन । त्यसैले अलिक सक्रिय रूपमा हामीले कार्यक्रमहरू अगाडि बढाउनैपर्ने छ । जसलाई सम्बोधन गर्न आवश्यक छ ।
सरकार अथवा राजनीतिक फेरबदलले कार्यक्रम तथा नीतिको कार्यान्वयनमा प्रभाव पारेको छ कि ?
यस्ता कार्यक्रमहरूलाई सरकार अथवा राजनीतिक फेरबदलले त्यति प्रभाव पार्दैन् । तर ति बाहेकका अरू प्राकृतिक चूनौतिहरू छन् । जसमा बाढी गयो, कोरोना आयो, अरू डिजास्टरहरू आए,त्यसो हुँदाखेरी सरकारको प्राथमिकता र सरकारका कार्यक्रमहरू कुष्ठरोग भन्दा नि प्राकृतिक विपत्तितिर फोकस हुने भए । कुष्ठरोगका रेगुलर कार्यक्रम हुन्छन् ति सरकारको प्राथमिकतामा परेनन् । प्राकृतिक विपत्ति लगायत अरू चूनौतिहरू छन् ।
विश्व कुष्ठरोग दिवस कहिलेदेखि र कसरी मनाउन सुरु गरिएको हो ?
माघको १३ गते ७२ औँ कुष्ठरोग दिवस मनाइरहेका छौँ । यसको अर्थ विगत ७२ वर्षदेखि विश्वभरी कुष्ठरोग दिवस मनाईँदै आइराखिएको छ । यसले कुष्ठरोग सम्बन्धी जुन नकारात्मक भावनाहरू छन् त्यसलाई हटाउँदै जाने, जनमानसमा यसको सही सन्देश पुर्याउने उद्देश्यले विश्वभर नै दिवस मनाइँदै आएको हो । सोही अनुसार नेपालमा पनि भव्य रूपमा दिवस मनाउँदैछ ।
यस वर्षको योजनामा के छ ?
हालसम्मको निर्णय अनुसार केन्द्रीय स्तरमा केही कार्यक्रमहरू छन् । प्रदेश स्तरमा पनि कुष्ठरोग दिवस मनाउनुपर्ने कार्यक्रम छ । र पालिका स्तरमा पनि यो दिवस मनाउने योजना छ । दिवस मनाउनका लागि सरकारले नेतृत्व लिएतापनि अन्य विभिन्न पार्टनरहरू र कुष्ठरोग प्रभावित व्यक्तिहरूले आइएनजीओ सहयोगमा कार्यक्रमहरू राखेका छन् । माघको १३ गते बिहान प्रभातफेरी गर्ने र त्यसपछि प्यानल डिस्कसन गर्ने कार्यक्रम छन् ।
दिवसको सन्दर्भमा के भन्न चाहनुहुन्छ ?
नेपालभरका सबै स्वास्थ्य संस्थाबाट कुष्ठरोगको औषधि निःशुल्क उपलब्ध छ । कुष्ठरोग जाँच गरेको र उपचार गरेको कुनैपनि शुल्क लाग्दैन । छालामा चिलाउने, रातो फुस्रे दागहरू देखापर्यो अथवा कुनै लक्षणहरू देखापरे वा आफूलाई कुष्ठरोग लागेको हो कि भन्ने शँका लाग्यो भने नजिकको स्वास्थ्य संस्थामा गएर परामर्श लिएर कुष्ठरोग लागेको रहेछ भने उपचारको पद्धतिमा आइदिनको लागि अनुरोध गर्न चाहन्छौँ ।
भिडियो हेर्नको लागि लिङ्कमा क्लिक गर्नुहोस् :
<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/7zWvtuWA0ow?si=W0VoynSRgYuKWwVp" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>
‘हामीले क्रान्तिका कुरा गर्यौँ तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौँ’
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राजनीतिक दलका नेताहरू सामाजिक रूपान्तरणमा असफल हुँदा हुलाक सेवा परिवर्तन नभएको बताएका छन् ।आइतवार काठमाडौँ आयोजित हुलाक सेवाको पुनर्सरचना अनुसार ‘एक स्थानीय तह एक हुलाक कार्यालय’स्थापना घोषणा कार्यक्रममा बोल्दै उनले नेपालमा राजनीतिक परिवर्तन भएको ३४ वर्ष पूरा हुँदा पनि हुलाक सेवा परिवर्तन नभएको भन्दै क्रान्ति गर्ने कुरामा राजनीतिक दलका नेताहरू सफल भए पनि सामाजिक रूपान्तरण गर्ने कुरामा असफल भएको बताएका हुन् ।
उनले भने,‘सैद्धान्तिक कुरा गर्नुपर्दा नेपालमा राजनीतिक परिवर्तन भएको ३४ वर्ष भयो । तर ३४ वर्षसम्म पनि किन परिवर्तन नभएको हुलाक सेवा त्यसको एउटा रहस्य छ । क्रान्ति गर्ने कुरामा त राजनीतिक दलका नेताहरू सफल भए तर रूपान्तरण गर्ने कुरामा असफल छन् । सामाजिक रूपान्तरण गर्ने कुरामा ध्यान दिइएन । हाम्रो क्रान्तिको चरित्र बुझेन भन्छु म त ।’
उनले पुराना नीति र ऐनहरूको कारण वर्तमानका काम कारबाहीहरू प्रभावकारी हुन नसकेको भन्दै एक वर्षभित्र सबै पुराना ऐन र नीतिहरू परिवर्तन गर्ने जानकारी दिए ।
उनले भने,‘यो वर्षभित्र सबै पुराना नीतिहरूलाई परिवर्तन गर्ने,पुराना ऐनहरुलाई र नियमहरूलाई परिवर्तन गर्ने काम गरेर नयाँ व्यवस्था लोकतान्त्रिक गणतन्त्रले जे भनेको छ वा संविधानले जे भनेको छ त्यही अनुसार काम गर्नेछौँ ।’
पहिलो पटक देशको समस्या कहाँ छ भन्ने कुराको पत्ता लगाएर सेवा दिने ठाउँमा पुगेको उनको भनाई छ ।
धनुषाधाममा लौरो प्रहार गरि महिलाको हत्या, श्रीमान पक्राउ
धनुषा । धनुषाधाम नगरपालिकामा एक महिलाको हत्या भएको छ । धनुषाधाम नगरपालिका वडा नं ५ पर्वताका देवलाल ठाकुरको श्रीमती जनकपुरधाम उपमहानगरपालिकाको महुवा कपिलेश्वर माइती भएकी अन्दाजी २९ वर्षीय सँगीता ठाकुरको हत्या भएको छ ।
प्रारम्भिक अनुसन्धानका अनुसार महिलाको श्रीमान देवलाल ठाकुरसंग राति करिब २ः३० बजे संगीताको झगडा हुँदा देवलालले टाउकोमा लौरो प्रहार गरि हत्या गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ ।
देवलालको मानसिक अवस्था सामान्य नरहेको स्थानीयहरूको भनाइ छ ।
देवलाललाई धनुषाधाम प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ भने शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधामा पठाइएको इलाका प्रहरी कार्यालय धनुषाधामले जानकारी दिएको छ ।
धर्मभक्त माथेमाको आँट युवाहरुले सिक्नुपर्ने पाठ हो : सुनिता ढंगोल
काठमाडौँ । सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गर्नुभएको स्थान काठमाडौँको सिफल उकालोमा स्मृति सभा सम्पन्न भएको छ । सहिद सप्ताह आयोजक समितिको आयोजनामा प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको दिन र स्थानमा स्मृति सभा गरिएको हो ।
आज आइतवार सभा गरिएको स्थानभन्दा करिब पाँच मिटर पूर्वमा २०५३ सालमा माथेमाको अर्धकदको सालिक स्थापना गरिएको थियो । सडक विस्तारका क्रममा शालिक भत्काउनुपर्ने भएपछि सालिकलाई साबिकभन्दा पश्चिमतर्फ सारिएको थियो ।
यसरी सार्ने क्रममा पुरानो कालो रङ्गको अर्ध कदको प्रस्तर शालिकको सट्टा नयाँ सेतो रङ्गको ढलोटको सालिक बनाइएको थियो । यस स्थानलाई सुधार गर्दै महानगरले २०७६ सालमा पूर्णकदको सालिकसहित पूर्वाधार विकास गरेको छ । यही स्थानमा स्मृति सभा गरिएको हो ।
सहिदको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै काठमाडौँ महानगरका उपप्रमुख सुनिता डंगोलले, जनमानसमा सहिदको योगदान पु¥याउन काम गरिएको बताइन् । माथेमाले प्रजातन्त्र प्राप्तिका लागि खेल्नु भएको भूमिका र सामाजिक रूपान्तरणमा पु¥याउनु भएको योगदानको चर्चा गर्दै डंगोलले भनिन् ‘माथेमामा राजनीतिक चेतना थियो । उहाँ शारीरिक सुगठन (व्यायाम) का प्रवर्धक हुनुहुन्थ्यो । राजालाई व्यायाम सिकाउने शिक्षक भएर पनि निरङ्कुश शासन विरुद्ध सङ्घर्ष गर्ने उहाँको आँट युवाहरूले सिक्नुपर्ने पाठ हो । स्मरण गर्नुपर्ने इतिहास हो । शासकसँगको सम्बन्धका कारण व्यक्तिगत रूपमा उहाँलाई सुख सुविधा सबै प्राप्त हुन सक्थ्यो । त्यो सुख सयल त्यागेर नागरिक स्वतन्त्रताका लागि ज्यान दिन तयार हुनुभयो । उहाँको बलिदानीका कारण आज हामी मनमा लागेका कुरा यहाँ उभिएर बोलिरहेका छौँ ।’
सभामा वडा नं. ७ का अध्यक्ष बिमल होडाले, असल शासन र विधिको शासनको संस्थागत विकासले मात्र सहिदहरूको सपना पूरा हुने बताए । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा भने, ‘विद्यालयस्तरमा सहिदका आदर्श बुझाउन सके नेपालमा मानव अधिकार र नागरिक स्वतन्त्रता कसरी प्राप्त भयो, जान्न पाउँथे । यसले नागरिकहरूमा अहिले देखिएको नकारात्मक दृष्टिकोण कम गराउन मड्दत हुने थियो ।’
माथेमालाई झुन्ड्याउने क्रममा रुखको हाँगो भाँचिएको थियो
माथेमा काजी परिवारका थिए । उनलाई नपुग्दो केही थिएन । उनी दरबार भित्रैको पहुँचवाला थिए । उनले आफ्नो सम्पन्नताभन्दा नागरिकको स्वतन्त्रता र समृद्धिलाई महत्व दिए । शारीरिक सुगठन प्रतियोगितामा बंगाल च्याम्पियन हुनु भएका माथेमा राज त्रिभुवनका व्यायाम शिक्षक थिए । राजासँगको यो सम्बन्धका कारण वि. सं. १९९४ मा उहाँले राजालाई समेत प्रजा परिषदको सदस्य बनाएका थिए ।
वि. सं. १९९३ जेठ २० गते माथेमाकी फुपूको घर जोरगणेश ओमबहाल टोलमा धर्मभक्त माथेमा, टंकप्रसाद आचार्य, रामहरि शर्मा, दशरथ चन्द, र जीवराज शर्माले प्रजातन्त्र प्राप्तिको संयुक्त प्रतिबद्धताका साथ प्रजा परिषद् गठन गरेका थिए ।
वि. सं. १९९७ साल माघ १३ गते, काठमाडौँको सिफलमा रहेको बकाइनोको रुखमा झुन्ड्याएर उनलाई प्राणदण्ड दिइएको थियो । उनी बलियो भएकोले झुन्ड्याउने क्रममा रुखको हाँगो भाँचिएको थियो । तीन पटकसम्म प्रयास गरेपछि मात्र उनलाई सहादत प्राप्त भएको थियो । त्यस बेला उनी ३१ वर्षको मात्र थिए ।
वि. सं. १९६६ साल आश्विन ९ गते काठमाडौँको ओमबहाल, नवहिलमा जन्मिएका माथेमालाई तत्कालीन शाशकहरूको विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोपमा १९९७ कार्तिक २ गते पक्राउ गरिएको थियो ।
तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरले वि. सं. १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई ज्यानदण्ड दिने निर्णय गरेका थिए । निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु मचलीमा झुण्ड्याएर, सात दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुण्ड्याएर र ९ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा गोली हानी ज्यानदण्ड दिइएको थियो ।
माथेमाकी बहिनी मेनका देवीको विवाह शुक्रराज शास्त्रीसँग भएको थियो । प्रजा परिषदका गतिविधि सञ्चालन गर्ने क्रममा शास्त्रीसँग माथेमाको भेट भएको थियो । धर्मभक्तले प्रतिबन्धित समयमा राणाहरूको स्वीकृति नलिइ घरको छिँडीमा विद्यालय खोलेका थिए । फुपूको घरमा युवाहरूलाई व्यायाम सिकाउने ठाउँ बनाएका थिए ।
‘यो तुच्छ नश्वर सरीरको आहुति मातृभूमिको बलिवेदीमा चढाउन पाएकोमा मेरो जन्म सार्थक भएको ठान्छु । प्राणदण्ड पाउनु अहोभाग्य’ माथेमाले भनेका थिए । त्यस्तै उनले भनेका थिए–‘देश र जनताको भलाईको निमित्त आफ्नो ज्यान अर्पण गर्दैछु । प्रजातन्त्र ल्याउने कार्यको निम्ति तपाईँहरू सदैव कटिबद्ध हुनुहुनेछ ।’
सभापति कप : आज एनआरटी र फ्रेन्ड्स भिड्दै
काठमाडौं । नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगितामा आज क्वाटर फाइनलको अन्तिम खेल हुँदै छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे हुने खेलमा न्यूरोड टिम एनआरटी र फ्रेन्ड्स क्लब आमने सामने हुने छन् । आजको खेलसँगै सेमिफाइनल समीकरण पनि पूरा हुने छ ।
अहिलेसम्म सेमिफाइनलमा सङ्कटा र मच्छिन्द्र खेल्ने पक्का भइसकेको छ । यस्तै, आयोजक नेपाल लोकतान्त्रिक खेलकुद बागमती प्रदेश (आयोजक)को टोलीले पनि सेमिफाइनलमा स्थान बनाएको छ ।
आयोजकको टोलीले विभागीय क्लब नेपाल पुलिसमाथि २–१ गोलको पुनरागमन जित दर्ता गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । आज खेल्ने एनआरटी र फ्रेन्ड्सबीचको विजेताले मङ्गलवार फाइनल प्रवेशका लागि आयोजक टिमसँग खेल्ने छ ।
सोमबार भोलि भने फाइनल प्रवेशका लागि सङ्कटा र मच्छिन्द्र आमने सामने हुने छन् । सर्वाधिक पुरस्कार राशिको नेपाली काँग्रेसका सभापतिको नाममा सञ्चालित नकआउट प्रतियोगिताको विजेताले नगद २६ लाख रुपैयाँ पाउने छ ।
यसैगरी उप विजेता टोलीले १३ लाखमा चित्त बुझाउने छ । प्रतियोगितामा प्रत्येक खेल खेल्ने टोलीले नगद ५० हजार पाइरहेका छन् भने प्लेयर अफ दी म्याचले १५ हजार पाएका छन् । लामो समयदेखि रङ्गशालामा शीर्ष क्लबका खेलहरू नभइरहेका बेला सभापति कप आयोजना हुनुलाई खेलाडी एवं खेल समर्थकमा भने उत्साह थपिएको छ ।
प्रतियोगिताका हेर्नका लागि १ सय र ३ सय रुपैयाँको टिकट तोकिएको छ ।
सडक बिस्तारको क्रममा डोजर चलाइयो, आजपाको आपत्ति
रौतहट । रौतहटको बौद्धिमाई नगरपालिका वडा नं.८ र ९ सरमुजवामा सडक बिस्तारको क्रममा डोजर चलाइएको छ । बौद्धिमाई नगरपालिकाका नगर प्रमुख प्रदिप यादवको अगुवाइमा सडक क्षेत्रभित्र पर्ने संरचना हटाएको हो ।
सडक क्षेत्रमा रहेका केहिको घरगोठ तथा परालको थुप्रो नगरपालिकाले हटाएको छ तर स्थानीयहरुले भने नगरपालिकाले जबर्जस्ती गरेको आरोप लगाएको छन् । नगर प्रमुख यादवका अनुसार सडक बिस्तारका लागी स्थानीयलाई जानकारी दिएर नै संरचना हटाएको बताए । पटक पटक सूचना दिदा समेत बेवास्ता गरेपछि बाध्य भएर डोजर चलाइएको उनको दाबी छ ।
यस बिषयमा पछिल्लो एक महिनादेखी विवाद हुदै आएको थियो । सरमुजवा घटनाको विरोध गर्दै आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गरेका छन । उनले सो घटनामा संलग्न प्रहरीलाई कारवाही गर्न माग गरेका छन् । एकातिर भोग चलनको आधारमा जनतालाई लालपुर्जा दिनका लागि भूमी आयोग गठन गर्ने अर्कोतर्फ जनताको उठीवास नै लगाईदिने काम दोहोरो चरित्रको भएको टिप्पणी साहले गरेका हुन् ।
आइबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर, युरो, युके, अष्ट्रेलियन डलर, क्यानेडियन, सिङ्गापुर डलरको मुल्य स्थिर रहेको छ ।
निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ २४ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ३६ पैसा र बिक्रीदर एक सय ४४ रुपियाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७० रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ६८ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ ०४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपियाँ १७ पैसा र बिक्रीदर एक सय दुई रुपियाँ ६१ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ८३ पैसा र बिक्रीदर आठ रुपैयाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ र बिक्रीदर १९ रुपैयाँ ०८ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३८ रुपैया ७२ पैसा कायम भएको छ ।
युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा तोकिएको छ ।
















