यस्ता छन्, आज विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलरको मूल्य बढेको छ भने युरोको मुल्य घटेको छ ।
आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ ०४ पैसा र बिक्रीदर एक सय ३८ रुपियाँ ६४ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ५४ पैसा र बिक्रीदर ८६ रुपियाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५रुपियाँ ९२ पैसा र बिक्रीदर ९६ रुपियाँ ३३ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपियाँ ७७ पैसा र बिक्रीदर एक सय ०२ रुपियाँ २१ पैसा रहेको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपियाँ ०४ पैसा र बिक्रीदर एक सय ४४ रुपियाँ ३६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७० रुपियाँ १५ पैसा र बिक्रीदर एक सय ७० रुपियाँ ८९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रुपियाँ १९ पैसा र बिक्रीदर एक सय ५२ रुपियाँ ८५ पैसा कायम गरिएको छ ।
यसको साथै, जापानी येन १० को खरिददर आठ रुपियाँ ८२ पैसा र बिक्री दर आठ रुपियाँ ८ रुपैयाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ९४ पैसा र बिक्रीदर १९ रुपियाँ ०२ पैसा, थाई भाट एकको खरिददर चार रुपियाँ ०६ पैसा र बिक्रीदर चार रुपियाँ ०८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ६१ पैसा र बिक्रीदर नौ रुपियाँ ६५ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपियाँ ७२ पैसा र बिक्रीदर १७ रुपियाँ ८० पैसा रहेको छ ।
त्यसैगरि, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ८० पैसा र बिक्रीदर ३६ रुपियाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ८६ पैसा र बिक्रीदर ३८ रुपियाँ ०३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ५८ पैसा र बिक्रीदर ३७ रुपियाँ ७५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ०६ पैसा र बिक्रीदर ३१ रुपियाँ २० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ५३ पैसा र बिक्रीदर १२ रुपियाँ ५८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ २७ पैसा र बिक्री दर १९ रुपियाँ ३५ पैसा तोकिएको छ ।
यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपियाँ ८३ पैसा र बिक्रीदर चार सय ४९ रुपियाँ ७८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपियाँ २६ पैसा र बिक्रीदर तीन सय ६७ रुपियाँ ८५ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५८ रुपियाँ ६३ पैसा र बिक्रीदर तीन सय ६० रुपियाँ १९ पैसा तोकिएको छ ।
जंगली जनावरको आक्रमणबाट महिलाको मृत्यु भएपछि वनमा क्यामरा जडान
बाँके । बाँकेको राप्तिसोनारी गाउँपालिका भगवती सामुदायिक वनमा जंगली जनावरको आक्रमणमा परी एक महिलाको ज्यान गएपछि उक्त वन क्षेत्रमा क्यामरा जडान गरिएको छ ।
बुधवार राप्तीसोनारी गाउँपालिका ८ की ६७ वर्षीय चेती बुढाको ज्यान गएपछि सब डिभिजन वन कार्यालय बाँकेको पहलमा क्यामरा जडान गरिएको हो । सब डिभिजन वन कार्यालय बाँकेका प्रमुख मनोज शर्माका अनुसार सामुदायिक बन क्षेत्रमा बाघ र चितुवा जस्ता हिंस्रक जनावरको आगमन बढेको र मानवीय आक्रमण हुन थालेपछि त्यसको तथ्य पत्ता लगाउन क्यामरा जडान सुरु गरिएको हो ।
स्थानीयले सामुदायिक बन क्षेत्रमा बाघ आक्रमण बढेको गुनासो गरेपछि क्यामरा जडान गरिएको र बाघसँग सचेत हुनुपर्ने बताए । उनले भने,‘बाघ नियन्त्रण गर्ने भन्ने कुरा हँदैन् । यसका लागि आफैँ सजग बन्ने हो । हामीले जनचेतनाका कार्यक्रमहरू अघि सारेका छौँ ।’
बुधवार सोही वडामा रहेको उक्त सामुदायिक बनमा दाउरा काट्न गएकी चेतीलाई बाघ वा चितुवा मध्य कुनै एक वन्यजन्तुले आक्रमण गरी मारेको आशँका गरिएको थियो ।
भगवती सामुदायिक वनका अध्यक्ष टिकाराम वलीले उनलाई हिंस्रक जंगली जनावरकै आक्रमण भएको अनुमान गरे । वलीका अनुसार जंगलमा बाघ नदेखिएको तर बँदेल, चित्तल, जरायोहरू भने देखिने गरेको थियो ।
उनले भने,‘स्थानीय बासीहरू निकुञ्जमा भएका जनावरहरूले दुःख दिने गरेको गुनासो आइरहेको थियो । जनावरहरू निकुञ्जमा मात्र बस्छन भन्ने छैन् , हाम्रो बनमा पनि आएको हुनसक्छ । बाघ वा चितुवाले उहाँलाई आक्रमण गरेको हुनसक्छ ।’
यसअघि पनि गाउँलेका १० वटाजति बाख्रा मारेको र मानवीय क्षति नभएको उनले बताए । उनले वन क्षेत्रमा हाल क्यामरा जडान गरिएको जानकारी दिए । ‘बन क्षेत्रमा बाघ त देखिएको थाहा भएन तर निकुञ्जमा बाघको सङ्ख्या बढेको पाइन्छ,’ उनले भने । महेन्द्रराजमार्ग देखि एक किलोमिटर पूर्वी भागमा लतारिएको अवस्थामा मृतक चेतीको शव भेटिएको थियो । उक्त बन नजिकै बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र पर्दछ ।
घटना स्थलमा बाँके राष्ट्रिय निकुञ्ज, निकुञ्ज सुरक्षामा तैनाथ नेपाली सेना, सब डिभिजन वन कार्यालय बाँके, इलाका प्रहरी कोहलपुर बाँके र स्थानीयहरूको सामूहिक उपस्थितिमा घट्नाको अध्ययन गर्ने र मुचुल्का तयार गर्ने काम गरिएको छ । साथै फरेन्सिक जाँचको तयारी पनि भइरहेको छ ।
अब बन्ने कांग्रेस सरकारले मल कारखाना स्थापना गर्छ : नेता निधि
रौतहट । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले अब बन्ने शेर बहादुर देउवा नेतृत्वको सरकारले मल कारखाना स्थापना गर्ने बताएका छन् । बाराको कलैयामा बिहीबार प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस विषयमा आफूलाई पनि चिन्ता रहेको उल्लेख गरे ।
मल पनि दुई÷तीन प्रकारको भएको भन्दै उनले रसायनिक वा अर्गानिक मलको उद्योग स्थापना गर्ने विषयमा पटक पटक बहस भएको तर स्थापना नहुँदा आफू पनि चिन्तित भएको बताए । अब बन्ने कांग्रेस नेतृत्वको सरकारले ध्यान दिने उनले जिकिर गरे।
पूर्वउप–प्रधानमन्त्री तथा गृहमन्त्री एवमं नेपाली काँग्रेसका पूर्वकेन्द्रिय, उप–सभापति समेत रहेका निधिले निजगढ काठमान्डौ द्रुतमार्ग (फास्टट्यक) र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल एक अर्कामा परिपूरक रहेकाले दुबै बन्नु पर्नेमा जोड दिए ।अन्तर्राष्ट्रिय मापदण्डको नियम अनुसार नै दुबै बनेको उनले दाबी गरेका छन ।
उनले मधेश प्रदेश कृषि उत्पादनका लागि उवरभूमी भएकाले यहाँका किसानको समस्या बुझेर सामधान गरि उत्पादनमा वृद्धि गर्नुपर्ने आवश्यकता रहेको औँल्याए ।
विकसित देशहरूमा विवाहको उमेर १८ वर्ष कायम गरिएको छ : सभापति सुवेदी
काठमाडौँ । कानून, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले संसद बोलाउन चटारो परिरहेको सन्दर्भमा सरकारले हतार हतार अध्यादेश ल्याउनु उपयुक्त नभएको बताएकी छन् । कुराकानीका क्रममा उनले पक्ष र विपक्ष रहेका दलहरूले संसद बोलाउन दबाब दिइरहेको सन्दर्भमा सरकारले अध्यादेश ल्याएको भन्दै यसले सरकारको नियत ठिक नभएको संकेत गरिन् ।
उनले भनिन्, ‘सरकारले संसदबाट नै ल्याउन सक्ने कुरालाई अध्यादेशमार्फत ल्याउनु जायज होइन् । संसद बोलाउनका लागि पक्ष र विपक्षमा रहेका दलहरूले दबाब दिइरहेको समयमा संसद आब्हान गर्नुको साटो अध्यादेश ल्याउने कुरा त्यति उपयुक्त होइन् । सरकारले अध्यादेश ल्याउनै पाउदैँन् भन्ने कुरा त होइन, विगतमा पनि ल्याएको नै हो । अति आवश्यक अवस्थामा अर्थात् जुनबेला संसद नै चल्न नसक्ने, चलाउन नसक्ने अवस्थामा अध्यादेश ल्याउन सकिन्छ । त्यसको अभ्यास पनि भइरहेको छ । तर संसद बोलाउन चटारो परिरहेको सन्दर्भमा हतार हतार अध्यादेश ल्याएको हुनाले सरकारको मनसाय के हो भन्ने प्रश्न उठेको छ ।’
बाहिर उठेको आवाज र सरकारले जुन गतिविधिमार्फत हतार गरेर अध्यादेश ल्याएको छ यसले विवाद र आशंका पैदा गरेको पनि उनको भनाइ छ ।
उनले भनिन्, ‘जुन तरिकाले चारपाँच वटा अध्यादेशहरू आएका छन् । आएका विषयहरूमा जुन बहसहरू पनि चलीरहेका छन्, यसलाई हेर्दा कतै न कतै सरकारको नियत सही छैन् कि भन्ने लाग्छ । घटनाक्रम र आएका विषयहरूले देखाएको छ र अध्यादेशका कारण विवादको अवस्था पनि सिर्जना भएको छ । बाहिर उठेको आवाज र सरकारले जुन गतिविधिमार्फत हतार गरेर जुन परिवेशमा अध्यादेश ल्याएको छ । त्यसमा कतै तालमेल नमिलेको भन्ने खालको आशँका उठेको छ ।’
उनका अनुसार समयको हिसाबले सरकार अलिकति चापमा परेपनि नियम अनुसार यतिबेला प्रि बजेटमाथि छलफल गर्नुपर्ने उनले औंल्याइन् ।
सुवेदी नेतृत्वको समितिले विवाहको उमेर १८ वर्ष हुनुपर्ने प्रतिवेदन तयार गरेको भन्ने सन्दर्भमा उनले विवाहको उमेर २० वर्ष हो तर नागरिकता प्राप्त गर्ने उमेर १६ वर्ष भएको हुँदा सबै अधिकारहरू दिने उमेर १८ वर्ष राख्ने कि भन्ने विषय उठेको बनाइन् । उनले समितिले बिहेको उमेर १८ हुनैपर्छ भनेर निर्णय नगरेको तर एक पटक पुनर्विचार गर्नुपर्छ भनेर छलफल मात्र गरेको बताइन् ।
उनले भनिन्, ‘विवाहको उमेर २० वर्ष हुनुपर्ने भन्ने छ । नागरिकता प्राप्त गर्ने उमेर १६ वर्ष भन्ने छ । र मताधिकारसहितको सबै अधिकारहरू दिने भनेको १८ वर्षको हुने भएकाले विवाहको उमेर पनि १८ वर्ष राख्नुपर्ने सुझाव आएको हो । तर २० वर्षमा विवाहको उमेर राख्ने त सामाजिक प्रचलन नै छ । प्रचलन हेर्दाखेरी चाही विवाहको २० वर्षको उमेरको कार्यान्वयनमा चुनौतीहरू आएको छ । समितिले बिहेको उमेर १८ हुनैपर्छ भनेर निर्णय गरेको छैन् । सुझाव आएको मात्रै हो । यसलाई एक पटक पुनर्विचार गर्नुपर्ने स्थिति आएको छ भनेर उपसमितिको प्रतिवेदनमा आएको हो । तर बिहेको उमेरको कुरा समितिले निर्णय गरेर संसदमा पेस गर्दैछौँ ।’
विवाहको उमेरलाई २० वर्ष गराउँदा पनि प्रशस्त बहसहरू भएको, विवाहसँग सम्बन्धित अन्तर्राष्ट्रिय कानूनहरू अर्थात् विकसित देशहरूमा पनि उमेर १८ वर्षको नै रहेको हुनाले छलफलको विषय बनेको उनको भनाइ छ ।
‘कानून बनाउँदै गर्दा विवाहको उमेर २० वर्ष गराउँदा पनि बहसहरू भएका थिए । सबै निकायहरूको सुझाव सल्लाह र अन्तरक्रियाबाटै २० वर्ष उमेरको कानून बनाइएको थियो । कार्यान्वयनका सन्दर्भमा आएका चुनौतीहरू, विवाहसँग सम्बन्धित अन्तर्राष्ट्रिय कानूनहरू अध्ययन गर्दा विकसित देशहरूमा विवाहको उमेर १८ वर्ष नै राखेको पनि देखिन्छ । धेरैजसो देशहरूले उमेर १८ वर्ष राखेको कानून पनि देखिन्छ,’ उनले भनिन्, ‘तर हामीले अहिले नै फेरिहाल्नु पर्छ भन्ने हिसाबले भन्दा पनि बहस चलीरहेको छ । यसलाई पुनर्विचार गर्न सकिन्छ कि सकिँदैन भन्ने कोणबाट प्रश्न उठिरहेका छन् । सकारात्मक रूपमा पनि व्यापक बहस भइरहेको छ । नकारात्मक बहसहरू पनि भइरहेका छन् ।’
कानून समितिबाट अहिलेसम्म सम्पती शुद्धिकरण विधेयक, टिआरसी विधेयक र विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समितिबाट पास गरेर संसदमा पेस भइसकेको छ भने केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक दुई-तीन वटा बैठकमा टुङ्गो लगाउने तयारी रहेको उनले जानकारी दिइन् ।
विगतको चार महिनामा समितिको तर्फबाट मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिरासतमा रहेका थुनुवाहरूको मानव अधिकारको व्यवस्थाको बारेमा अनुगमन गर्ने, निगरानी गर्ने काम गरेको उनले बताइन् । उपसमितिहरू बनाएर मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा संघले बनाएका ऐन कानूनहरूको कार्यान्वयनको अवस्था के छ र चुनौती के छन् भन्ने विषयमा पनि अन्तरक्रिया गरेको सभापति सुवेदीको भनाई छ ।
उनले समितिमा अपाङ्गता भएका व्यक्तिहरूसँग सम्बन्धित भएर आएका ऐनहरू र संशोधनका विषयहरूमा धेरै नै ध्यान दिने गरेको भन्दै टिआरसी विधेयकमा पनि अपाङ्गता भएका व्यक्तिहरूको सन्दर्भमा छुट्टै विषय समेत समावेश गरेको बताइन् ।
सभापति सुवेदीले कानून बनाउने काम संसदबाट भएपनि कार्यान्वयनको पाटो रोकिएको भन्दै अब यसलाई गम्भीरतापूर्वक आग्रह–पूर्वाग्रह नराखिकन कार्यान्वयनमा लान पनि सरकारलाई आग्रह गरेकी छन् ।
उनले भनिन्, ‘कानूनकै लागि त सफल भइसक्यौँ । तर कार्यान्वयनको सन्दर्भमा आयोगहरू निर्माण गरेर भटाभट कार्यान्वयन जाने अवस्था अवरुद्ध भएको छ । कानून कार्यान्वयनको पाटो रोकिन गएको छ, यो दुखद कुरा हो । सरकारले यसलाई कानून निर्माण गर्ने काम संसदको हो र गरिसकेको छ । सरकारले अब यसलाई गम्भीरतापूर्वक आग्रह–पूर्वाग्रह नराखिकन कार्यान्वयनमा लानुपर्छ । किनभने संक्रमणम कालिन न्यायसँग सम्बन्धित कानुनहरू द्वन्द्वलाई समाधान गर्ने कुराहरू पनि छन् । राष्ट्रको कुरा पनि जोडिएको छ । यसमा आलटाल नगरी कार्यान्वयनको प्रक्रियामा जानुपर्ने समितिको जोड छ ।’
टिआरसी विधेयकको सन्दर्भमा धेरै छलफल गरेर सबै पक्ष समेटेर बढी भन्दा बढी न्याय दिने हिसाबले पीडितमैत्री बनाएको भन्दै यसलाई कार्यान्वयन गर्नेतिर सरकार गम्भीर भएर लाग्ने हो भने अहिले आएका प्रश्नहरू हल हुदैँ जाने पनि उनको भनाई छ ।
मधेश प्रदेश सभा अगाडि मुख्यमन्त्री सिंहको पुतला दहन
जनकपुर । जनकपुरधाम स्थित मधेश प्रदेश सभा भवन अगाडि मुख्यमन्त्री सतीस कुमार सिंहको पुतला दहन गरिएको छ । बुधवार प्रदेश सभामा प्रस्तुत गरिएको कामकाजको भाषा सम्बन्धी विधेयकमा विभेद गरेको भन्दै जनकपुरधामका युवाहरूले मुख्यमन्त्री सिंहको पुतला दहन गरेका छन् ।
मगही भाषालाई उपेक्षित गरेर विधेयकमा स्थान नदिएको भन्दै युवाहरूले विरोध जनाएका छन् । चार लाख भन्दा बढी बोलिने भाषालाई विधेयकमा नराखिएकोमा उनीहरूले आक्रोश व्यक्त गरेका हुन् । मधेश प्रदेश सरकारले विधेयक नसच्याए झन बढी विरोध गर्ने र भाषा र पहिचानको लागि लडिरहने बताए ।
विरोध प्रदर्शनमा युवाहरूले पहिचानवादी विरोधी सरकार मुर्दावाद, मुख्यमन्त्री राजीनामा दे, मुख्यमन्त्री मुर्दावाद, शिक्षामन्त्री मुर्दावादका नारा लगाएका छन् ।
‘मिस नेवाः नेपाल’ यस वर्ष पनि हुने
काठमाडौं । राजधानीमा हरेक वर्ष आयोजना हुँदै आएको नेवार समुदायका सुन्दरीहरू बिचको सौन्दर्य प्रतियोगिता मिस नेवाः नेपाल यस वर्ष पनि हुने भएको छ ।
नेप्लिज फेसन होम र फाइट फर लाइफ नेपालको आयोजनामा १८औं संस्करणको मिस नेवाः ११४५ टोखा स्थित सपन तीर्थ मन्दिरमा लाखबत्ती बालेर आरम्भ गरिएको हो । प्रतियोगितामा सामेल नेवार सुन्दरीहरूले विश्व शान्तिको कामना गर्दै लाख बत्ती बालेर प्रतियोगिताको आरम्भ गरिएको हो ।
यस वर्षको मिस नेवाः नेपालमा देशका विभिन्न जिल्लाबाट २१ नेवार युवतीहरूले सहभागिता जनाएका छन् । प्रतियोगितामा लुनिभा मानन्धर, प्रलिशा शाक्य, अल्पा महर्जन, अनुषा बज्राचार्य, अनुश्री शाक्य, दिबिना डंगोल, लुमना महर्जन, प्राश्ना श्रेष्ठ, रमुना बज्राचार्य, रिम्सा श्रेष्ठ, रितिषा बज्राचार्य, रोनीसा महर्जन, रुजी शाक्य, श्रद्धा महर्जन, श्रीया मानन्धर, सुभेक्षा श्रेष्ठ, कुन्ता श्रेष्ठ, प्रसिद्धी शाक्य, संस्कृति श्रेष्ठ र शुवास्ना श्रेष्ठ गरी २१ नेवार सुन्दरी बीच अन्तिम प्रतिस्पर्धा हुनेछ ।
नेवार समुदायको कला, संस्कृति, भाषा र संस्कार नयाँ पुस्तालाई हस्तान्तरण गर्न डेढ दशकभन्दा अघिदेखि उक्त प्रतियोगिता गरिदै आएको र यसको जगेर्ना तथा नेवार भाषा, कला, संस्कृति, व्यक्तित्व र नेतृत्व विकास, पाक कलाबारे ज्ञान दिलाउन यो प्रतियोगितालाई निरन्तरता दिँदै आएको आयोजक नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले बताउनु भयो। सहआयोजक फाइट फर लाइफ नेपालका उपाध्यक्ष दिल कुमार महर्जनले समाजकै उत्थान गर्ने कार्यक्रममा सहआयोजकको रूपमा सहभागी हुन पाउँदा गर्व लागेको बताए ।
नयाँ संस्करणको मिस नेवाः नेपालको आरम्भक भएसँगै प्रतियोगिताका सहभागी नेवार सुन्दरीहरुले खोकनाका साना भाइबहिनीहरुलाइ शैक्षिक सामाग्री वितरण पनि गरेका छन् । मिस नेवाः नेपालका प्रतियोगिताको विजेताले चम्किलो ताजका साथ पुरस्कारस्वरूप एक लाख रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछिन् भने विभिन्न उपउपाधि पनि प्रदान गरिने आयोजक संस्थाले जनाएका छन् ।
आगामी फागुनमा राजधानीमा सम्पन्न हुने प्रतियोगिता रोजिन शाक्यको कोरियोग्राफी र कार्यक्रम सञ्चालन तथा राजु नापितको नेपाल भाषा प्रशिक्षणमा सम्पन्न हुनेछ । कार्यक्रम मिस नेवा ः नेपाल ११४१ कृषा महर्जनको प्रमूख संयोजन, मिस नेवाः नेपाल ११४३ सकिना महर्जनको सह संयोजन र मिस नेवाः नेपाल ११४३ सोसियल वेलफेयर एम्बेस्ड चिफ तिमिला महर्जनको व्यवस्थापनमा सम्पन्न हुनेछ ।
सरकारप्रति हाम्रो कुनै अभिरुचि छैन : प्रचण्ड
सुर्खेत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा जाने बारे आफ्नो पार्टीको कुनै रुचि नभएको बताएका छन् । सुर्खेत विमानस्थलमा पत्रकारहरू सँग कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
नीतिगत रूपमा हेर्दा यो सरकारको आयु लामो नभए पनि आफूहरूले सरकार बदल्न खोजेको भन्ने बुझाइ चाहिँ सही नभएको उनले स्पष्ट गरे ।
यो सरकार बन्नेबेला देखि नै आफ्नो पार्टीले भन्दै आएजस्तो सरकार भ्रष्टाचारीलाई बचाउने र बिचौलियालाई पोस्ने काममा लिप्त रहेको उल्लेख गर्दै उनले यति हुँदा पनि आफूहरू सरकार ढाल्ने प्रक्रियामा नरहेको प्रस्ट पारे ।
देशको राजनीति सहज नदेखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको क्रियाकलापका कारण एमालेभित्र पनि निकै उकुसमुकुस रहेको बताए ।
सरकारले गलत तरिकाले अध्यादेश ल्याएर शासन गर्न खोजिएको भन्दै उनले विरोध जनाए । संसदमा प्रवेश गरिसकेका र समितिमा छलफल भइरहेको विधेयकलाई प्रक्रियागत ढंगले फिर्ता लिनुका सट्टा संवैधानिक तथा लोकतान्त्रिक विधिलाई मिचेर मन्त्रीपरिषद्बाट नमिल्ने काम गरी दुस्साहस भएको भन्दै अध्यक्ष प्रचण्डले विरोध गरे ।
सरकारले संसद अधिवेशन आह्वान गर्नुको सट्टा अध्यादेशमा बल गरेपछि विपक्षी दलहरूले विशेष अधिवेशनको माग गर्ने तयारी गरेपछि सरकारले बाध्य भएर संसद आह्वान गरेको बताए । अब विपक्षी दलहरूले संसदमा जनताका एजेन्डा प्रभावकारी रूपमा र आवश्यक कानुन निर्माणमा जोड दिने जानकारी पनि अध्यक्ष प्रचण्डले गराए ।
यसैबिच अध्यक्ष प्रचण्डले सुर्खेत भेरीगंगाको छिन्चुमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै देशव्यापी पार्टीको पक्षमा जनलहर सिर्जना भएकाले मेहनतका साथ लाग्न निर्देशन दिए । अब पार्टी निरन्तर अभियानमा लाग्ने केन्द्रीय समिति बैठकले निर्णय गरेको जानकारी दिंदै उनले फागुनदेखि सिरु जनतासँग माओवादी अभियानलाई प्रभावकारी बनाउन कार्यकर्तालाई निर्देशन दिए ।
त्यस्तै अध्यक्ष प्रचण्डले बर्दियाको बबई पुल क्षेत्रका जनतासित भेटघाट गर्दै मध्यवर्ती क्षेत्रका जनताको समस्या समाधानका लागि संसदमा आवाज उठाउने र आवश्यक कानुन परिमार्जन गरेर जानुपर्ने बताए ।
सुप्रिम सहकारी ठगीमा रवि लामिछानेमाथि आजदेखि थुनछेक बहस
काठमाडौँ । रूपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन सम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि आजदेखि थुनछेक बहस हुँदैछ ।
सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिन उनी हिजो अदालतमा उपस्थित भएका थिए । हिजो रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलास लामिछानेको बयान सकिएको थियो ।
इजलासले बिहिवार बिहान १० बजे अदालतमा उपस्थित हुने सर्तमा हाजिरी जमानीमा पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा छाडेको थियो । लामिछाने आज थुनछेक बहसका लागि अदालतमा उपस्थित हुनेछन् ।
कास्की प्रहरी हिरासतमै रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ गते बुटवल लगेर बयान गराइएको थियो ।
सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत बैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाई भने पूरक उजुरीमा राखिएको हो ।
प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिएपछि उनी माथि उजुरी गरेको हो ।
आज तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं । आज संघीय संसद अन्तर्गतका तीनवटा समितिको बैठक बस्दैछ । जसमध्ये उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको ५० औं बैठक बिहान साढे ११ बजे बस्दैछ । बैठकमा नेपाल मेडिकल व्यवसायी संघ र नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूसँग छलफल हुदैछ ।
यसैगरी कानून, न्याय तथा मानव अधिकार समितिको बैठक पनि आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित दफाहरूमा छलफल हुदैछ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ । बैठकमा “सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८०’’ माथि दफावार छलफल हुनेछ ।
यस्ता छन्, आज विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार, आज अमेरिकी डलरको मूल्य घटेको छ भने युरोको स्थिर रहेको छ । युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलरको मूल्य बढेको छ । यस्तै, जापानी येन, चिनियाँ युआन, कतारी रियाल, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य आज स्थिर छ ।
आज अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपियाँ ८२ पैसा र बिक्रीदर एक सय ३८ रुपियाँ ४२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ६८ पैसा र बिक्रीदर ८७ रुपियाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६रुपियाँ २५ पैसा र बिक्रीदर ९६ रुपियाँ ६७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपियाँ ६१ पैसा र बिक्रीदर एक सय ०२ रुपियाँ ३३ पैसा रहेको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपियाँ ९६पैसा र बिक्रीदर एक सय ४४ रुपियाँ ५९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७० रुपियाँ ३४ पैसा र बिक्रीदर एक सय ७१ रुपियाँ ०८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रुपियाँ ४१ पैसा र बिक्रीदर एक सय ५३ रुपियाँ ०७ पैसा कायम गरिएको छ ।
यसको साथै, जापानी येन १० को खरिददर आठ रुपियाँ ८५ पैसा र बिक्री दर आठ रुपियाँ ८ रुपैयाँ ८८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ९६ पैसा र बिक्रीदर १९ रुपियाँ ०५ पैसा, थाई भाट एकको खरिददर चार रुपियाँ ०८ पैसा र बिक्रीदर चार रुपियाँ ०९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ६२ पैसा र बिक्रीदर नौ रुपियाँ ६६ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपियाँ ७० पैसा र बिक्रीदर १७ रुपियाँ ७७ पैसा रहेको छ ।
त्यसैगरि, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ७४ पैसा र बिक्रीदर ३६ रुपियाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ८० पैसा र बिक्रीदर ३७ रुपियाँ ९६ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ५२ पैसा र बिक्रीदर ३७ रुपियाँ ६९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ०७ पैसा र बिक्रीदर ३१ रुपियाँ २० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ५५ पैसा र बिक्रीदर १२ रुपियाँ ६१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ २९ पैसा र बिक्री दर १९ रुपियाँ ३८ पैसा तोकिएको छ ।
यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपियाँ १२ पैसा र बिक्रीदर चार सय ४९ रुपियाँ ०७ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६५ रुपियाँ ६२ पैसा र बिक्रीदर तीन सय ६७ रुपियाँ २२ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५८ रुपियाँ ०६ पैसा र बिक्रीदर तीन सय ५९ रुपियाँ ६२ पैसा तोकिएको छ ।






















