सरकारले अध्यादेश ल्याएर कालोबजारी गर्ने छुट दियो : अध्यक्ष सिंह
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिहंले सरकारले अध्यादेश ल्याएर कालोबजारी गर्ने छुट दिएको आरोप लगाएका छन् । बुधवार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सिमेन्ट उत्पादन तथा बजार मूल्य सम्बन्धमा भएको छलफलमा उनले सरकारले अत्यन्तै सिमेन्टको मूल्य वृद्धि गरेकोमा आपत्ति जनाउँदै त्यहीमाथि अध्यादेश ल्याएर कालोबजारी गर्ने छुट दिएको आरोप लगाएका हुन् ।
उनले भने,‘राज्यले उद्योगको संरक्षण गर्नुपर्छ यो कुरामा हाम्रो सहमति छ । उद्योगीहरूले आफूले उत्पादन गरेको उत्पादन मूल्यको निश्चित प्रतिशत नाफा लिन्छ , अहिले त भन्न मिलेर कालोबजारी , हिजोसम्म भन्थ्यौँ हामीले कालोबजारी अहिले त सरकारले विधेयक लिएर आएर कालोबजारी गर्ने छुट दिएको छ । आज अत्यन्तै सिमेन्टको मूल्य वृद्धि भयो तर उत्पादन कटौती गरेर । अहिले सिमेन्ट प्राप्त गर्ने अवस्था पनि रहेन् । हामीले दोब्बर वृद्धि खेपेका नै छौँ ।’
त्यस्तै उनले उद्योग मन्त्रीको सचिवालयबाट र मन्त्रालयबाट पेसागत संगठन गर्ने काम भएको भन्दै आक्रोश पोखे ।
उनले भने,‘उद्योग मन्त्रीको सचिवालयबाट मन्त्रालयबाट यो किसिमको पेसागत संगठन गर्ने । २४ हजार निर्माण व्यवसायीको छाता संगठन निर्माण व्यवसायी महासंघलाई एकातिर राखेर पेसागत संगठन गर्ने एमाले, कांग्रेस, माओवादी राप्रपाको संगठनलाई चाँही बोलाएर छलफल गराएर महासंघले २७ गते गरेको भेलाको म्यानडेडको विपरित छ यो ।’
त्यस्तै सांसद अमरेश कुमार सिंहले सरकारले जनतालाई मारमा पारेर राजस्व उठाउन खोजेको बताए ।
उनले भने, ‘मन्त्री क्वाटर बनाउको लागि भ्रष्टाचार गर्नको लागि भ्याट बढाउन मूल्य बढाएको छ । सरकारले जनतालाई मारमा पारेर राजस्व उठाउन खोजेको छ।’
महिला यु–१९ विश्वकप : नेपाल अष्ट्रेलियासँग पराजित भएसँगै विश्वकपबाट बाहिरियो
काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताबाट नेपाल बाहिरिएको छ । बुधवार भएको समूहचरणको अन्तिम खेलमा उपाधि दाबेदार अष्ट्रेलियासँग ८३ रनको फराकिलो हार व्यहोर्दै नेपालले विश्वकप यात्रा टुङ्ग्याएको हो ।
मलेसियाको बाङ्गीस्थित यूकेएल क्रिकेट ओभलमा बुधवार भएको खेलमा नेपाल अष्ट्रेलियासँग ८३ रनले पराजित भएको हो । यससँगै नेपालको प्रतियोगितामा यात्रा समाप्त भएको छ । समूह चरणमा नेपालले एउटा खेल पनि जित्न सकेन । अष्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा ५६ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि कप्तान पूजा महतोले १८ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । अष्ट्रेलियाका लागि हसरत गिल र जुलियट मोर्टनले २–२ विकेट लिइन् । यसअघि अष्ट्रेलियाले पूरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा १३९ रन बनाएको थियो । अष्ट्रेलियाका लागि काइमोही ब्रेले ४५ रन बनाइन् । एलेनोर लारोसाले ३० रन बनाइन् ।
खेलको सुरुवाती ओभरमा नेपालकी कप्तान महतोले ३ विकेट लिएर अष्ट्रेलियालाई दबाबमा ल्याएपनि काइमोही र एलेनोरको ब्याटिङ नेपाललाई महँगो साबित भयो । नेपालका लागि पूजाले ३ विकेट लिइन् । पूजाले ४ ओभरमा रन खर्चेर ३ विकेट लिएकी हुन् । सीमाना केसीले लगातार २ विकेट लिइन् । उनले १७.१ र १७.२ ओभरमा विकेट लिइन् । रिया शर्माले १ विकेट लिइन् ।
तीन बुँदे सहमति पछि नेपाली कांग्रेसले महानगरमा लगाएको ताला आफैँ खोल्यो
पोखरा । नेपाली कांग्रेस समर्थित नगर सभासदहरूले पोखरा महानगरपालिकामा लगाएको ताला आज बिहान आफैँ खोलेका छन्। मेयर धनराज आचार्यसंग तीन बुँदे सहमति भएको भन्दै नेपाली कांग्रेस समर्थित नगर सभासदहरूले पोखरा महानगरपालिकामा लगाएको ताला आज बिहान आफैँ खोलेका हुन्।
गणपूरक सङ्ख्या पुगेर पनि मेयर धनराज आचार्यले अकस्मात् नगरसभा माघ १० गतेसम्मका लागि स्थगित गरेको भन्दै आक्रोशित उनीहरूले मेयर आचार्य सहित उपमेयर मन्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका थिए ।
सोही दिन नेकपा एमाले समर्थित नगरसभासदहरूले भने महानगरको विशेष नगरसभाले पारित गरेका एजेण्डाहरू त्यस दिनको नगरसभाको एजेन्डामा नै नपरेको भन्दै बहिष्कार गरेको पोखरा ५ का वडाध्यक्ष बिष्णु प्रसाद बरालले जानकारी दिए।
नेपाली कांग्रेस पोखरा महानगर संसदीय दलका नेता दिवास्मान प्रधानाङ्गले दिएको जानकारी अनुसार , मेयर धनराज आचार्यसंग पोखरा महानगरपालिकामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरू बिच गएको मंसिर २३ गते बसेको विशेष नगरसभा मार्फत पारित सातबुदे सहमति अक्षरशस् पालना गर्ने, सम्पूर्ण वडा कार्यालय, महाशाखा, शाखा लगाएत खर्च केन्द्रहरूका शिर्षकान्तर र रकमान्तर हुन नसकी पूर्वाधार विकास तथा अन्य कार्यहरू ठप्प हुनगएको अवस्थामा महानगरको १६ औं नगरसभा मार्फत आवश्यक निर्णय गर्ने गरी चालु नगरसभा माघ ११ गते बोलाउने सहमति भएको छ।
कांग्रेस संसदीय दलका नेता आफूहरू करारका कर्मचारीलाई माघ १ गतेदेखि करारमुक्त गर्ने र महानगरमा काजमा आएका कर्मचारीलाई उसकै दरबन्दीमा फर्काउने लगायतका निर्णयहरू कार्यान्वयन गर्नमा प्रतिबद्ध रहेको बताउछन।
यता नेकपा एमालेका तर्फबाट पोखरा ५ मा वडाध्यक्ष बनेका विष्णुप्रसाद बरालले बिगतमा आफ्नो पार्टीसँग भएको सहमति बमोजिमका एजेण्डाहरू माघ ११ गतेको नगर सभामा पेस नभए बैठक नै चलन नदिने दाबी गर्छन। वडाध्यक्ष बराल आउने नगरसभा बैठकमा आर्थिक महाशाखा गठन, बक्यौता रकम असुली सम्बन्धी कार्य योजना लगायतका प्रस्ताबहरू नआएमा बैठक नै चलन नदिने बताउछन।
वडाध्यक्ष बरालको प्रश्न छ , जनाप्रतिनिधिसँग भएको सहमति कार्यान्वयन गर्नमा नेपाली कांग्रेस सहमत हो भने महानगरका मेयर , उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा किन ताला लगाइएको हो ? उनीहरूले किन तालाबन्दी गरेर किन खोले त ?
सहमति कार्यान्वयन सम्बन्धमा नगरसभामा नै छलफल गर्न सक्ने अवस्थामा नेपाली कांग्रेसले महानगरका मेयर , उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेर महाभुल गरेको वडाध्यक्ष बरालको टिप्पणी रहेको छ।
सहिद दिवस तीन दिन मनाउने बागमती प्रदेश सरकारको निर्णय
हेटौँडा । बागमती प्रदेश सरकारले सहिद दिवस २०८१ विविध कार्यक्रमको आयोजना गरी तीन दिन मनाउने भएको छ । यही माघ १४, १५ र १६ गते सहिद दिवस तीन दिन प्रदेशस्तरमा मनाउने निर्णय गरिएको हो ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा भएको सरोकारवालाहरूको भेलाले सहिद दिवस विशेष कार्यक्रमहरू आयोजना गरी भव्यताका साथ मनाउने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।
सहिद दिवसको अवसरमा माघ १४ गते स्वास्थ्य मन्त्रालयले प्रदेशको १३ वटै जिल्लामा स्वास्थ्यसम्बन्धी शिविर सञ्चालन गर्ने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए । सहिद दिवस मनाउन प्रदेश सरकारमा प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।
सहिद दिवसका अवसरमा प्रदेशभरका सम्पूर्ण विद्यालयमा नियमित शैक्षिक क्रियाकलापका अतिरिक्त सहिदको विषयसँग सम्बन्धित निबन्ध प्रतियोगिता सञ्चालन गर्ने र माघ १६ गते बिहान ७ः३० बजे हेटौँडा ११ स्थित सहिद स्मारकमा मूल समारोह कार्यक्रम सञ्चालन गरिने उनले बताए ।
यसअघि सहिद स्मारक प्रवेशद्वारमा भेला भई प्रभातफेरी गर्ने गरी कार्यक्रम तय गरिएको छ ।
कार्यक्रममा प्रदेश प्रमुखलाई प्रमुख अतिथिको रूपमा, मुख्यमन्त्री, पूर्व मुख्यमन्त्री एवम् सहिद स्मारक विकास समितिका अध्यक्ष र सभामुखलाई विशेष अतिथिको रूपमा आमन्त्रण गरिने छ ।
सहिद दिवस, २०८१ को अवसरमा माघ १४, १५ र १६ गते प्रदेश मन्त्रालय÷कार्यालयहरू र सार्वजनिक स्थानको विशेष सरसफाइ गरिने र नगर क्षेत्र सरसफाइ कार्यको जिम्मेवारी हेटौँडा उपमहानगरपालिकालाई दिइएको छ । यस्तै, माघ १६ गते साँझ प्रदेशस्थित सबै मन्त्रालय÷कार्यालयहरू÷सार्वजनिक एवम् सामुदायिक सङ्घसंस्था, शैक्षिक प्रतिष्ठान तथा निकायले दीपावली गर्ने र सो कार्यका लागि प्रदेशवासीलाई समेत अनुरोध गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।
सहिद दिवसमा प्रदेशभर सबै सार्वजनिक निकायमा सम्बन्धित निकायले राष्ट्रिय झण्डा फहराउने, हेटौँडास्थित बुद्ध चोक र बसपार्कलगायतका तीन वटा सार्वजनिक स्थलमा राष्ट्रिय झण्डा राख्ने र सबै प्रदेश मन्त्रालय÷निकायहरूले आफ्नो वेबसाइटको होमपेजमा सहिद दिवस, २०८१ लेखिएको व्यानर राख्ने भेलाले निर्णय गरेको छ । १६ गतेको मूल कार्यक्रममा प्रभातफेरी तथा मञ्च व्यवस्थापनको जिम्मेवारी स्मारक विकास समितिले गर्ने भएको छ ।
रवि लामिछाने आज जिल्ला अदालत रूपन्देहीमा उपस्थित हुदैँ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जिल्ला अदालत रूपन्देहीमा उपस्थित हुदैँछन् । उनीमाथि बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराध प्रकरणमा १० करोड ९९ लाख बिगोसहितको मुद्दा दायर भएको थियो । सोही मुद्दाको प्रतिवादका लागि लामिछाने भैरहवा गएका हुन् ।
रवि बुधवार अदालत उपस्थित भएपछि बयान तथा थुनछेक बहस हुनसक्नेछ । यसका लागी उनी आफ्ना तर्फबाट सकेसम्म कम वकिल राखेर एक दुई दिनमै बहस सिध्याउने योजनामा छन् ।
कास्की प्रहरी हिरासतमै रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ गते बुटवल लगेर बयान गराइएको थियो ।
आगामी चुनाव देउवाको नेतृत्वमा सम्पन्न हुन्छ : मन्त्री सिंह
बागलुङ । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले लोकतन्त्रलाई प्रहार गर्न चाहने तत्वहरू नेपाली कांग्रेसलाई कमजोर बनाउने प्रयासमा रहेको बताएका छन् मंगलबार नेपाली कांग्रेस बागलुङ्ले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने बताएका हुन् ।
विगतमा जनताको गुमेको अधिकार नेपाली कांग्रेसले पुनःस्थापित गरेको भन्दै अहिले प्राप्त अधिकारको रक्षाका लागि सुदृढ र एकतावद्द कांग्रेस आवश्यक रहेकोमा उपप्रधानमन्त्री सिंहले जोड दिए ।
त्यस्तै, उनले अहिले कांग्रेस र एमालेबीचको सहकार्य स्थिर सरकार होस् भन्ने नागरिकको चाहना र समयको मागअनुसार नै भएको पनि प्रष्ट पारे । सरकार ७ बुँदे सहमतिकै भावनाअनुसार अघि बढिरहेको भन्दै उनले सहमति अनुसार नै कांग्रेस– एमालेबिच सत्ता सहयात्रा अघि बढ्ने दाबी गरे ।
उनले भने, ‘गत चुनावपछि बनेका सरकारहरू लामो समय टिकेनन् । स्थिर सरकार बनोस् भन्ने चाहना अनुरूप नै वर्तमान सरकार बनेको हो । ७ बुँदे सहमतिअनुसार सरकार अघि बढ्छ । सहमतिअनुसार नै कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा चुनाव हुन्छ ।’
उनले कांग्रेसको स्वभाव सबैलाई मिलाएर अघि बढ्ने रहेको भन्दै पार्टीभित्र पनि सबै पक्षलाई नेतृत्वमा रहने गरि मिलाएर अघि बढ्नुपर्ने बताए ।
यु–१९ महिला टी–२० विश्वकपमा आज नेपालले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै
काठमाडौँ । आईसीसी यु–१९ महिला टी–२० विश्वकपमा आज नेपालले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । माघ ५ र ७ गते दुई खेल खेलेको नेपालले बुधवार समूह चरणको अन्तिम खेल अस्ट्रेलियासँग खेल्न लागेको हो ।
पहिलो खेलमा पाँच विकेटले बंगलादेशसँग पराजित भएको नेपाल दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो । समूह चरणको अन्तिम खेलमा जित निकाल्ने लक्ष्यमा नेपाल रहेको छ ।
मलेसियामा जारी प्रतियोगिताको यो खेल दिउँसो १२ः१५ बजे सुरु हुन्छ । विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन् । अस्ट्रेलिया दुई जितसहित चारअंकका साथ समूहको शीर्ष स्थानमा छ ।बंगलादेश र स्कटल्याण्ड समान दुई अंक सहित दोस्रो र तेस्रो स्थानमा छन् भने अंकबिहीन नेपाल अन्तिममा छ ।
विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलङ्का र वेस्ट इण्डिज छन् भने समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन्। समूह ‘सी’ मा न्यूजील्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन् ।
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आव्हान गर्न सिफारिस
पोखरा । गण्डकी प्रदेशको मन्त्री परिषद् बैठकले आगामी माघ २१ गतेका लागि प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षक्षतामा आज बसेको प्रदेश मन्त्री परिषद् बैठकले प्रदेश प्रमुख समक्ष आगामी माघ २१ गतेका लागि प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गर्न सिफारिश गर्ने निर्णय गरेको हो ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले अब प्रदेश मन्त्री परिषद्को सिफारिस वमोजिम आगामी माघ २१ गतेका लागि गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गर्नेछन ।
प्रदेश सभाका विषयगत समितिमा २ वटा विधेयक विचाराधीन रहे पनि यसबिचमा सरकारले थप विधेयक दर्ता गराएको छैन । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हिउँदे अधिवेशनमा कम्तीमा पनि १० वटा विधेयक पारित गर्ने गरी सरकारले तयारी गरेको सार्वजनिक लेखा समितिको बैठकमा केही अघि जानकारी गराएका थिए ।
एकल अधिकारका सूची र केही साझा अधिकार सूचीमा रहेका विषयमा समेत विधेयक बनाएर सदनमा लैजाने तयारीमा सरकार छ ।
विदेश जाने खुसियाली साट्न गोरखकाली हिडेका आमाछोरा मोटरसाइकल दुर्घटनामा अस्ताए
पोखरा । तनहुँको ऋषिङ गाउपालिका वडा नम्बर ६ चालिसे स्थायी घर भएका १९ वर्षीय सन्दिप आलेले तनहुँ सदरमुकाम दमौलीस्थति बाराही कलेजबाट १२ कक्षा पास गरेर विदेश जाने तयारी गरिरहेका थिए ।
सोही क्रममा उनले ४० वर्षीय आमा मधुमाया आलेसँग मिलेर व्यास नगरपालिका वडा नम्बर ५ पाटनस्थित सेती हाइड्रो जाने पुल नजिकै बाटो माथि सेतीमादी रिभर कटेज चलाउँदै आएका थिए । उनलाई विदेश जान अफर लेटर पनि आयो ।
त्यही खुसियालीमा १९ वर्षीय सन्दिपले आमा मधुमाया आलेलाई आज बिहानै ग.प्र.००३–००१ प ०३१० न.को मोटरसाइकलमा राखेर गोरखा कालिका मन्दिर दर्शन गर्न जाँदै थिए । तर दैबको लिला ! कालिका मन्दिर नपुग्दै बीच बाटोमै उनिहरू अस्ताउन पुगेका छन् ।
उनीहरु चढेको मोटरसाइकल तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ तल्लो छिर्कनस्थित पृथ्वीराजमार्गमा पुग्दा बाक्लो हुस्सुका कारण चालक रहेका सन्दिपले मोटरसाइकलको नियन्त्रण गुमाउँदा सडकको कलभर्टमा ठोक्किन पुग्यो र सात÷आठ मिटर मुनि खाल्डोमा बज्रीन पुग्यो र आमा – छोरा दुबैले यस संसार छाडेर बिदा भए । दैवले प्रहार गरेको बज्रकाकारण विदेश जाने सन्दीपको सपनामा कुठाराघात भयो । एक मात्र सन्तान रहेका सन्दीप र उनकी आमा मधुमायाको मृत्युले आले परिवार शोक विव्हल बनेको छ ।
यस्ता छन्, आज विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार, आज अमेरिकी डलर, युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, जापानी येन, चिनियाँ युआन, कतारी रियाल, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य बढेको छ ।
आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ २३ पैसा र बिक्रीदर एक सय ३८ रुपियाँ ८३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपियाँ ९४ पैसा र बिक्रीदर ८६ रुपियाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपियाँ ७१ पैसा र बिक्रीदर ९५ रुपियाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपियाँ ६१ पैसा र बिक्रीदर एक सय ०२ रुपियाँ ०५ पैसा रहेको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपियाँ ०६ पैसा र बिक्रीदर एक सय ४३ रुपियाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ६९ रुपियाँ १५ पैसा र बिक्रीदर एक सय ६९ रुपियाँ ८९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपियाँ ७० पैसा र बिक्रीदर एक सय ५२ रुपियाँ ३६ पैसा कायम गरिएको छ ।
यसको साथै, जापानी येन १० को खरिददर आठ रुपियाँ ८६ पैसा र बिक्री दर आठ रुपियाँ ९० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ९८ पैसा र बिक्रीदर १९ रुपियाँ ०६ पैसा, थाई भाट एकको खरिददर चार रुपियाँ ०५ पैसा र बिक्रीदर चार रुपियाँ ०७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ५८ पैसा र बिक्रीदर नौ रुपियाँ ६२ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपियाँ ७५ पैसा र बिक्रीदर १७ रुपियाँ ८३ पैसा रहेको छ ।
त्यसैगरि, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ८४ पैसा र बिक्रीदर ३७ रुपियाँ, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ९१ पैसा र बिक्रीदर ३८ रुपियाँ ०८ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ६३ पैसा र बिक्रीदर ३७ रुपियाँ ८० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ ८९ पैसा र बिक्रीदर ३१ रुपियाँ ०२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ४६ पैसा र बिक्रीदर १२ रुपियाँ ५२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ १७ पैसा र बिक्री दर १९ रुपियाँ २६ पैसा तोकिएको छ ।
यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपियाँ १३ पैसा र बिक्रीदर चार सय ५० रुपियाँ ०७ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपियाँ ७३ पैसा र बिक्रीदर तीन सय ६८ रुपियाँ ३२ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५९ रुपियाँ १६ पैसा र बिक्रीदर तीन सय ६० रुपियाँ ७१ पैसा तोकिएको छ ।






















