स्पेनिस ला–लिगामा रियलको सहज जित
काठमाडौं । केलियन एमबाप्पेको दुई गोलको मद्दतमा रियल मड्रिडले स्पेनिस ला–लिगामा सहज जित हासिल गरेको छ । आइतबार राती भएको खेलमा रियलले १० खेलाडीमा सीमित लास पाल्मासलाई ४–१ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन एमबाप्पे बाहेक ब्राहिम डियाज र रोड्रिगोले गोल गरे ।
खेलको ३३औं मिनेटमा डियाजले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । त्यसको ३ मिनेट पछि एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरे । रोड्रिगोले ५७औं मिनेटमा अर्को गोल थपे ।
जितसँगै २० खेलमा ४६ अंक जोडेको रियल शीर्ष स्थानमा उक्लिएको छ । समान खेलमा ४४ अंक जोडेको एट्लेटिको दोस्रो स्थानमा छ । समान खेलमा ३९ अंकका साथ बार्सीलोना तेस्रो स्थानमा छ ।
खो खो विश्व कपमा नेपाली पुरुष टोली बन्यो उपविजेता
काठमाडौं । खो खो विश्व कपमा नेपाली पुरुष टोली उपविजेता बनेको छ । दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा आइतबार आयोजक भारतसँग ५४–३६ ले पराजित हुँदै नेपाल उपविजेता बनेको हो ।
नेपालले सेमिफाइनलमा शनिवार इरानलाई ७२–२० ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको हो । शुक्रवार भएको सेमिफाइनलमा बंगालादेशलाई ६७– १८ ले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो ।
समूह चरणमा नेपाल भारतसँग नै पराजित भएको थियो । नेपाल समूह उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको थियो । समूह ‘ए’मा नेपालले ४ खेलबाट ६ अंक जोडेको थियो ।
नेपाल भारतसँगको आफ्नो खेलमा ४१–३७ पराजित भएको थियो । त्यसपछि नेपालले ब्राजिललाई १३४– ८ र पेरुलाई ८०–३४ लाई र भुटानलाई ९८–८ ले हराएको थियो । यसैगरी महिला नेपाली टोली पनि उपविजेता बनेको छ ।
मुगुका चार वटै स्थानिय पालिकामा पाठेघर मुखको क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गरिँदै
मुगु । पाठेघर मुखको क्यान्सरविरुद्धको खोप (एचपीभी) अभियान यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म मुगुका चार वटै स्थानीय पालिकामा सञ्चालन गरिने भएको छ ।
अभियान जिल्लाका चारै स्थानीय तह रहेका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ६ देखि १० सम्मका अध्यायनरत छात्रा ३ हजार ८ सय ८५ जनालाई लक्षित गरी एचपिभी खोप सञ्चालन हुने जिल्ला अस्पताल मुगुका स्वास्थ्य सेवा व्यवस्थापक तथा कार्यालय प्रमुख डाक्टर निर्मल नगरकोटीले जानकारी दिए ।
डाक्टर नगरकोटीका अनुसार ‘गम्भीर प्रकृतिको एलर्जी, गर्भवती महिलाको लागि यो भ्याक्सिन दिन नमिल्ने केन्द्रबाट निर्देशिका जारी भएको छ र यही निर्देशिका बाहिर गएर खोप लगाउन नमिल्ने र कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिरका १० देखि १४ वर्षका बालिकाहरूलाई विद्यालयमा रहेको खोप केन्द्रमा एचपिभी पाठेघर मुखको क्यान्सर विरुद्धको खोप लगाइने छ ।
मुगुका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जिल्ला स्थित सबै सञ्चारकर्मीहरू लगायत सरोकारवाला पक्षलाई यस अभियानमा सहकार्य गर्न र व्यापक प्रचार प्रसार गर्न आग्रह गरेका छन् । एचपीभी खोप अभियान २०८१ अन्तर्गत मुगुमा पहिलो पटक सञ्चालन गर्न लागिएको हो । अभियानले बालिकाहरूको स्वास्थ्य सुधार गर्दै पाठेघर मुखको क्यान्सरको जोखिम न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ । खोप केन्द्रमा भिडभाड हुने अवस्थालाई मध्य नजर राख्दै अपागंता ,असहायहरूलाई प्राथमिकता दिँदै गोपनियताको ख्याल राख्दै सञ्चालन गर्न र गराउनको लागी स्वास्थ्य कार्यालयलाई निर्देशन समेत गरेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय मुगुको यो अभियान सफल पार्नका लागि विद्यालय, अभिभावक र सरोकारवालाहरूलाई सक्रियताका साथ सहभागी हुन जिल्ला अस्पताल मुगुका अस्पताल विकास समितिका अध्यक्ष गजेन्द्र बहादुर मल्लले अपिल समेत गरे ।
सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
निर्धारित विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८८ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ०३ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ६८ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ६८ रुपैयाँ ९८ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८६ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ९१ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपियाँ ९६ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ८५ पैसा र बिक्रीदर आठ रुपैयाँ ८९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०९ पैसा , युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८२ पैसा कायम भएको छ ।
राजर्षि जनक विश्वविद्यालयका विद्यार्थीहरुले गरे देउवा र निधिको पुत्ला दहन
जनकपुर । राजर्षि जनक विश्वविद्यालय केन्द्रीय क्याम्पस जनकपुरधामका विद्यार्थीहरूले पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाको पुत्ला दहन गरेका छन् ।
नेपाली काँग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघले आयोजन गर्न लागेको जय नेपाल कप क्रिकेट प्रतियोगितामा राजर्षि जनक विश्वविद्यालय टिमको नाम समावेश गरेपनि अन्तिम समयमा हटाएको भन्दै आइतवार जनकपुरधामको रामानन्द चोकमा विद्यार्थीहरूले पूर्वप्रधानमन्त्री देउवा र काँग्रेस नेता विमलेन्द्र निधिको पुत्ला दहन गरेका हुन् ।
अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य श्याम साहको नेतृत्वमा विद्यार्थीहरूले नेवि संघ विरुद्ध नाराबाजी गर्दै नेता देउवा र निधिको पुत्ला दहन गरेका छन् ।
आयोजकले सुरुमा राजर्षि जनक विश्वविद्यालयलाई समेत सहभागी गराउने जनाए पनि पछिल्लो समयमा नाम हटाएपछि विद्यार्थीहरू आन्दोलित भएको विद्यार्थी नेता श्याम साहले बताए ।
शनिवार बिहान सम्म खेल तालिकामा राजर्षि जनक विश्वविद्यालयको नाम समावेश रहेपनि अन्तिम समयमा नाम हटाएको आरोप उनीहरूले लगाएका छन् । नेपाल विद्यार्थी संघकै आग्रहमा राजर्षि जनक विश्वविद्यालयले प्रशिक्षक नियुक्त गर्नुका साथै खेल सामग्री समेत खरिद गरेर टोली पठाउने अन्तिम तयारीमा रहेको अवस्थामा खेल तालिकाबाट नाम हटाएपछि नेविसंघविरुद्ध आन्दोलन गर्नु परेको विद्यार्थी नेता साहले बताए ।
सोमवार देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुने प्रतियोगितामा तीन देशका ८ विश्वविद्यालयका टोली सहभागी रहेका छन् ।
नेतृत्व चयनको तयारीमा अखिल क्रान्तिकारी, अध्यक्षमा महतोको दाबेदारी
काठमाडौँ । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्वका लागि निर्वाचन हुने भएको छ । यही माघ १२ गते सातै प्रदेश र क्याम्पसहरूबाट एकसाथ मतदानमार्फत नयाँ नेतृत्व चयन गर्न लागिएको छ ।
केन्द्रीय कमिटी अध्यक्षको तयारीमा रहेका संजय कुमार महतोले युग सुहाउँदो शैक्षिक प्रणालीको विकासका लागि उम्मेदवारीको तयारी गरिरहेको जानकारी दिए । ‘म संगठनको तल्लो इकाइ हुँदै केन्द्रीय सचिव भइसकेको छु । अब अध्यक्षको तयारीमा छु । मेरो सक्रियता, निरन्तरता र जिल्ला एवम् क्याम्पस इकाइका साथीहरूको माया पाइरहेकाले चुनाव जित्छु भन्नेमा विश्वस्त छु,उनले अगाडि भने,‘हामी विद्यार्थी आन्दोलनको तौर तरिका नै बदल्नुपर्छ भन्नेमा छौं । युग सुहाउँदो, रोजगारमूलक, प्रयोगात्मक शिक्षालाई अबको विद्यार्थी आन्दोलनको मूल एजेन्डा बनाउनुपर्छ भन्नेमा छौं ।’
नेता महतोले विद्यार्थी आन्दोलनको मोडालिटी नै परिवर्तन गर्नुपर्ने औंल्याउँदै नेपालका सबै विश्वविद्यालयहरूको पाठ्यक्रम परिवर्तन गर्नुपर्ने बताए । उनले आफू अध्यक्षका लागि तयारी गरिरहेपनि शीर्ष नेताहरू र साथीहरूको सल्लाह अनुसार अध्यक्षमा तयारी गरेको जानकारी दिए । असोज १० गते माओवादी अध्यक्ष पुष्पकमल दाहालले महाधिवेशन उद्घाटन गरेकाको महाधिवेशनमा उमेरहदका कारण निर्वाचन प्रक्रिया भाँडिएको थियो ।
अखिल (क्रान्तिकारी)को प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानका अनुसार, उमेर हद लगाउने पक्षमा ९०० र खुला राख्ने पक्षमा ८७९ मत प्राप्त भएको छ । मतदानको अन्तिम नतिजाअनुसार अब क्रान्तिकारीमा ३२ वर्ष उमेर हद लाग्ने भएको हो ।
प्रमुख निर्वाचन अधिकृत प्रधानका अनुसार, अब ३२ वर्ष मुनि बाट नेतृत्व चयन गर्न अखिल क्रान्तिकारीमा आगामी माघ १२ गते निर्वाचन हुने कार्यक्रम तय गरिएको छ । क्रान्तिकारीको अध्यक्ष बन्न एक दर्जनभन्दा बढी आंकाक्षी देखिएका छन् ।
नेपाल परिवार दलका पर्सा अध्यक्षसहितका नेताहरू जसपामा प्रवेश
पर्सा । नेपाल परिवारदलका पर्सा जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य पल्टन प्रसाद कुर्मीसहित एकसय जना जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई जसपाका उप–महासचिव समेत रहेका संघीय खानेपानीमन्त्री प्रदीप यादवले पर्सामा आयोजित एक कार्यक्रममा भव्य स्वागत गरेको मन्त्री यादवका स्वकीय अधिकृत हरिन्द्र साहले जानकारी दिए ।
नेपाल परिवार दलबाट जसपा प्रवेश गर्ने अन्य नेताहरुमा जिल्ला सचिव सन्तोष पटेल, जिल्ला सहसचिव अमरेश्वर पटेल, वरिष्ठ सल्लाहकार सत्रुधन दुबे तथा राष्ट्रिय सल्लाहकार शिवनाथ राउत रहेका छन् ।
पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री यादवले आफू नागरिकको सेवाका लागि सधै तम्तयार रहेको र आफ्नो उदेश्य देश विकास तथा नागरिकको हित हुने काममा खटिने बताए । उनले भने,‘म नागरिकको सेवामा खटिएको सेवक हुँ, देशको विकास र नागरिकको सेवा गर्नु मेरो पहिलो लक्ष्य हो ।’
जनता समाजवादी पार्टी मधेसका नागरिकको हकहितमा समर्पित रहेकाले आफुहरूले पुरानो पाटी नेपाल परिवारदल छोडेर जसपा प्रवेश गरेको बताएका थिए । पछिल्लो समय उप–महासचिव एवम् मन्त्री यादवको सक्रियतामा मधेसमा जसपा प्रवेश गर्नेको सङ्ख्या बढ्दै गइरहेको छ ।
वैदेशिक रोजगारी : व्यक्तिगत माध्यमबाट जानेको सङ्ख्या बढ्यो
काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या घटेको छ । वैदेशिक रोजगार विभागका पुसमा २६ हजार ७१९ युवाले मात्र वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । गत वर्षको पुसमा यो सङ्ख्या ६५ हजार ८१३ थियो ।
गत आवको सोही अवधिको र चालु आवका अघिल्ला पाँच महिनाका तुलनामा श्रम स्वीकृति लिनेको सङ्ख्या घटेको देखिएको हो । त्यसमध्ये व्यक्तिगत रूपमा विदेशीनेको सङ्ख्या भने बढेको देखिएको छ ।
व्यक्तिगत तथा अन्य माध्यमबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको हो । व्यक्तिगत रूपमा जानेको सङ्ख्या विगत ५ वर्षयता ६ प्रतिशतबाट बढेर २७ पुगेको तथ्यांकले देखाएको छ ।
विभागले सार्वजनिक गरेको गत वर्षको तथ्यांक अनुसार संस्थागत रूपमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ६ प्रतिशतले घटेको छ । पछिल्लो अवधिमा मेनपावरमार्फत १३ लाख २ हजार ९१४ विदेश गएका थिए भने व्यक्तिगत रूपमा जानेको सङ्ख्या २ लाख ५ हजार ९४५ रहेको छ ।
चेपाङ दम्पतीले पहिलो पटक पाए आफ्नै पक्की घर
मकवानपुर ।मकवानपुरको राक्सिराङमा एक वृद्ध चेपाङ दम्पतीले पहिलो पटक आफ्नै पक्की घर पाएका छन् ।९२ वर्षीय जयराम र ८० वर्षीया लक्ष्मी चेपाङले नयाँ घर पाएका हुन् ।नयाँ घर पाउँदा उनीहरूले खुसी व्यक्त गरेका छन् । ‘किम दोती आसतेआया (घर पाउँदा खुसी लाग्यो),’ जयरामले चेपाङ भाषामा भने । उनकी श्रीमती लक्ष्मीले पनि मर्ने बेलामा नयाँ घर पाएको भन्दै खुसी व्यक्त गरिन् ।
मकवानपुरको राक्सिराङ गाउँपालिका–५ साचक टोलमा अभियन्ता रेखा लोप्चन तामाङको अगुवाइमा निर्माण गरिएको उक्त नवनिर्मित घर पूर्वसहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शनिवार चेपाङ दम्पतीलाई डो¥याउँदै घरभित्र प्रवेश गराइएकी छिन् ।
३ लाख ७ हजार रुपैयाँमा निर्माण गरिएको यो घरमा दुई वटा पलङसहितको कोठा, सोलार बत्ती, पिउने पानीको धारा र पक्की शौचालय छन् । अभियन्ता लोप्चन तामाङले उनीहरूलाई थप खर्चका लागि २ लाख ४२ हजार रुपैयाँ सहयोग गरेकी छिन् ।
मनहरी बजारबाट दुई घण्टाको दूरीमा रहेको यो बस्तीमा सरकारी जनता आवास कार्यक्रमअन्तर्गत घरहरू बन्दै छन् । तर जग्गाको स्वामित्व नभएका कारण यी दम्पती त्यस कार्यक्रमबाट वञ्चित थिए ।
जयरामको पहिलो विवाह सन्तान नहुँदा विच्छेद भएको थियो । ५१ वर्षको उमेरमा लक्ष्मीसँग दोस्रो विवाह गरेका उनको यस पटक पनि सन्तान भएन । हाल उनीहरूको रेखदेख भतिजा कोकिल चेपाङले गर्दै आएका छन् । दम्पती वृद्ध भत्ताबाट जीवन निर्वाह गर्दै आएका छन् ।
नेपालमा चेपाङ समुदायको जनसङ्ख्या ८४,३६४ रहेको छ । सबैभन्दा बढी चितवनमा ३५,६३७, त्यसपछि मकवानपुरमा २३,६५०, धादिङमा १७,१६० र गोरखामा ४,२६८ जना बसोबास गर्छन् ।
पूर्वमन्त्री झाँक्रीका अनुसार जनता आवास कार्यक्रमको कार्यविधि चेपाङ, राउटे, वनकरिया जस्ता सीमान्तकृत र लोपोन्मुख समुदायका लागि प्रभावकारी छैन र यसमा संशोधन आवश्यक छ ।
सन्दीप लामिछानेले लेखे भावुक स्टाटस
काठमाडौं । नेपाली किक्रेटर सन्दीप लामिछानेको फेसबुक पोष्टले यतिबेला आम खेलप्रेमीबिचमा कौतूहलता ल्याएको छ । मध्यराति आफ्नो आधिकारिक फेसबुक पेजमा एक पोस्ट लेख्दै उनले सबैप्रति धन्यवाद व्यक्त गरेका छन् ।
लामिछानेले गएराति सामाजिक सञ्जालमा भावुक स्टाटस लेखेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पीनर लामिछानेले गएराति ११ बजे सामाजिक सञ्जालमा गरेको पोस्टले यतिबेला धेरैको ध्यान तानेको छ ।
लामिछानेले लेखेका छन्, ‘यी सबै कुराको लागि सबैजनालाई धन्यवाद । यो देश र यहाँका क्रिकेट समर्थकहरूले सधैँ मेरो समर्थन गर्दै मेरो यात्रामा निरन्तर साथ दिनुभएको छ । तपाईँहरूको यो माया र हौसला मेरा लागि सबथोक हो । जसले सधैँभरि मेरो हृदयमा विशेष स्थान बनाइरहनेछ ।’
अंग्रेजी भाषामा सामाजिक सञ्जालमा गरिएको पोस्टमा उनले नेपालका आफ्ना समर्थकहरूप्रति कृतज्ञता प्रकट गरेका छन् । कतिपयले यसलाई सन्दीपले खेलबाट सन्यास लिन लागेको अडकलबाजी पनि लगाएका छन् ।



















