एनपीएल विजेतालाई एक करोड दश लाख पुरस्कार
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपीएलको )पुरस्कार घोषणा गरेको छ । आज मंगलबार विज्ञप्ति जारी गर्दै क्यानले जारी क्रिकेट प्रतियोगितामा विजेता हुने खेलाडीहरूको लागि पुरस्कार घोषणा गरेको हो ।
प्रथम हुने टोलीलाई एक करोड दश लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै द्वितीय पुरस्कार एकाउन्न लाख ,तृतीय पुरस्कार पच्चिस लाख, चौथो पुरस्कार पन्ध्र लाख रुपैयाँ रहेको छ ।
बागमती प्रदेश लिग फुटबल प्रतियोगिता हुने
हेटौँडा । दोस्रो संस्करण बागमती प्रदेश लिग फुटबल प्रतियोगिता–२०८१ पौष १० गतेबाट हेटौँडामा हुने भएको छ । आज मंगलबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि बागमती प्रदेश फुटबल संघले लिगको टाईसिट सार्वजनिक गरिएको हो ।
हेटौँडाको क्याम्पा– पिप्ले रङ्गशालामा हुने प्रतियोगितामा बागमतीका ११ जिल्लाका लिग च्याम्पियनहरूले सहभागिता जनाउँदै छन्। लिगमा नकआउट अवधारणामा हुने प्रतियोगिताको फाइनलिस्ट दुईवटा टिमले एन्फाले आयोजना गर्ने राष्ट्रिय फुटबल लिगमा सहभागिता जनाउनेछन् ।
प्रतियोगितामा बिजेता तथा उपविजेताले नगद २ लाख र एक लाख शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । लिगमा मकवानपुरबाट पदमपोखरी युवा क्लब, बिएफसी चितवन, धुनिवेशी युथ समाज धादिङ, बट्टर युथ क्लब नुवाकोट, चित्लाङ फुटबल क्लब काठमाडौं, थिमी युथ क्लब भक्तपुर, माउन्ट एभरेस्ट एफसी काभ्रे, चौतारा स्पोर्टिङ सिन्धुपाल्चोक, टाइगर टिम दोलखा, ब्लु अल्पाइन सिन्धुली र ललितपुरको क्लबहरु सहभागी हुनेछन् ।
उपत्यकामा खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गछौँ : मन्त्री यादव
काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने योजना बनाएर अगाडि बढेको बताएका छन् । मंगलबार निरीक्षणको क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपत्यकामा खानेपानीको अभाव हुन नदिनको लागि ठाउँ–ठाउँमा अवलोकन गरिराखेको बताए ।
उनले भने,‘उपत्यकामा खानेपानीको अभाव हुन नदिनको लागि हामीले ठाउँ–ठाउँमा अवलोकन गरिराखेको छौँ । अहिले नयाँ टेक्नोलोजीको प्रावधानको विषयमा पनि हामीले अनुगमन गरिराखेको छौँ । आउने दिनमा उपत्यकामा कुनै पनि किसिमको खानेपानीको समस्या नहोस् भनेर दीर्घकालीन रूपमा योजना बनाएर अगाडि बढेका छौँ ।’
उनले १२ महिना नै पानी उपलब्ध गराउन नयाँ उपायको योजना सुन्दरी जलमा थपिरहेको भन्दै निर्माण पश्चात् काठमाडौँमा २४ घण्टा नै पानी आउने सपना पूरा हुने बताए ।
उनले भने,‘हामीले २४ औँ घण्टा १२ महिना नै पानी दिन नयाँ ट्रिट्मेन्ट योजना हामीले सुन्दरी जलमा थपिरहेको छौँ । त्यो निर्माण भइसकेपछि काठमाडौँमा २४ घण्टा नै पानी आउने सपना पूरा हुन्छ ।’
दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य दुई सय रुपैयाँले बढेर तोलामा एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सुनको भाउ तोलामा एक लाख ५१ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज पनि चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य हिजो जस्तै तोलाको एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
महिला एसिया कप : आज नेपाल भारतसँग भिड्दै
काठमाडौं ।एसीसी यु–१९ महिला एसिया कप क्रिकेटमा आज नेपाल भारतसँग भिड्दै छ। खेल मलेसियाको बायुमास ओभलमा नेपाली समय अनुसार मध्याह्न पौने १२ बजे सुरु हुनेछ ।
हिजो भएको समूह ‘बी’को खेलमा नेपालले टेस्ट मान्यता प्राप्त पाकिस्तानलाई ६ विकेटले हराएर सुपर ४ मा स्थान बनाएको थियो । प्रतियोगितामा एशियाका ६ टोली सहभागी छन् । जसमा समूह ‘ए’ मा बंगलादेश, मलेसिया र श्रीलंका छन् भने समूह ‘बी’ मा नेपालस हित भारत र पाकिस्तान छन् । आजको खेलपछि नेपालले सुपर ४ मा समूह ‘ए’को शीर्ष दुई टोलीसँग खेल्नेछ ।
तीनवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दै छ । मंगलबार अर्थ समितिको बैठक बिहान ११ बजे संघीय संसद सचिवालय सिंहदरबारमा बस्दै छ ।समितिको बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक माथि संशोधनकर्ता सँग छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै,विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान साढे ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने छ I बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा विज्ञसँग छलफल गर्ने कार्यसूचि छ ।
त्यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो साढे १२ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरुका सम्बन्धमा छलफल हुने छ ।
विदेशी मुद्राको विनिमय दर : डलर र रियाल बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार,आज अमेरिकन डलरको मूल्य बढेको देखिन्छ। अमेरिकी डलर, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, क्यानेडियन डलर, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम कुवेती दिनार, साउथ कोरियन वन, स्विडिस क्रोनरलगायतको मूल्य बढेको छ भने युरोपियन युरोको भने भाउ घटेको छ।
अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ नौ पैसा निर्धारण भएको छ।
यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ १६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ८६ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ५३ पैसा तोकिएको छ।
त्यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ आठ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ १४ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ३६ पैसा र बिक्रीदर एक सय रुपैयाँ ८० पैसा निर्धारण भएकोे छ।
यता जापानी येन १० को खरिददर आठ रुपैयाँ ८१ पैसा र बिक्रीदर आठ रुपैयाँ ८५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ सात पैसा र बिक्रीदर ३६ रुपैयाँ २२ पैसा, कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा कायम गरिएको छ।
थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३७ रुपैयाँ पाँच पैसा, साउथ कोरियन वन एक सयकोे खरिदर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १२ रुपैयाँ ४१ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ छ पैसा र बिक्रीदर १९ रुपैयाँ १४ पैसा तोकिएको छ।
नायब सुब्बा यादव र साह अख्तियारको नियन्त्रणमा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासबाट खटिएको टोलीले जिल्ला प्रशासन कार्यालय महोत्तरीको मुद्दा फाँटमा कार्यरत नायब सुव्बाद्वय अशोक कुमार यादव र दिनेश प्रसाद साहलाई नियन्त्रणमा लिएको छ ।
प्रवक्ता नरहरि घिमिरेले विज्ञप्ति जारी गर्दै नायब सुब्बा यादवले सवारी ज्यान कसुर मुद्दामा मृतक (पीडित पक्ष) ले पाउनुपर्ने कृया खर्च तथा क्षतिपूर्ति वापतको रकम उपलब्ध गराउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
यादवलाई सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस वापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको छ ।
सेवाग्राहीसँग घुस माग गरी लिएको पुष्टि भएसँगै यादव र साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.२०,०००्र– (बिस हजार रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिबाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोप–पत्र दायर गरिएको छ ।
क्रिकेट खेलाडीहरुलाई लन्डनमा अवार्ड
लन्डन । लन्डनस्थित नेपाली व्यवसायीद्वारा सञ्चालित कम्पनी ‘माया सपोर्टेड लिभिङ लिमिटेडले क्रिकेट खेलाडीहरुलाई अवार्ड प्रदान गरेको छ । जस अनुसार वेष्ट फिल्डर अफ द सिजन अवार्ड विशाल बन्जाडे, वेष्ट बलर अफ द सिजन चन्दन रावल, वेष्ट ब्याट्सम्यान अफ द सिजन प्रकाश विष्ट, आउटस्ट्याण्डिङ अफ द सिजन सचिन शर्मा र ट्यालेन्ट अफ द सिजन अवार्ड नवीन तामाङले प्राप्त गरे । ‘सरप्राइज अफ द इयर’ अवार्ड आशिष कुर्मीले पाए ।
प्रमुख अतिथि रोयल बरो अफ ग्रीनवीचका मेयर काउन्सिलर जीत रानाभाटले अवार्ड प्रदान गरेका थिए । सो अवसरमा माया सपोर्टेड लिभिङमा पाँच वर्ष काम गरिसकेका कर्मचारीहरुलाई पनि विशेष सम्मान गरिएको थियो।
माया सपोर्टेड लिभिङका प्रवन्ध निर्देशक राज पाण्डेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहयोगी, प्रायोजक, अतिथि लगायत सबैप्रति आभार व्यक्त गरे । उनले ट्रफी डिजाइनमा सहयोग गरेका माया ब्राण्ड एम्बेसडर तथा कर्णाली याक्सका कोचप्रति पनि कृतज्ञता व्यक्त गरे ।
माया क्रिकेट अवार्डका लागि नेपाल फुड्स, नेपाली बियर, एचटिआर केयर एण्ड रिक्रुटमेन्ट, ह्याम्सटेड इयर क्लिनिक, क्याटलिष्ट आइटी र किया ओभल स्टेडियमले प्रायोजन गरेका हुन्।
फेब्रुअरी २०१९, २१ तारिखदेखि सेवा दिन थालेको माया सपोर्टेड लिभिङका अहिले १० वटा शाखा छन् । मायाले लर्निङ डिसेबलिटी, अटिजम, मेन्टल हेल्थ (डिमेन्सिया) जस्ता बिरामीलाई ब्रिटिश सरकारको मापदण्ड अनुसार विशेष केयर सेवा प्रदान गर्छ । तस्विरहरुः कुशल श्रेष्ठ
कर्णालीलाई हराएको सुदूरपश्चिमले क्वालिफायर खेल्ने
काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)को प्लेअफ समिकरण पूरा भएको हो । सोमबार एनपिएलको लिग चरणको खेलको समाप्ती सँगै प्लेअफ समिकरण पूरा भएको छ । लिगको अन्तिम खेलमा सोमबार सुदूरपश्चिमले कर्णाली याक्सलाई हराएपछि प्लेअफको समिकरण तय भएको हो ।
कर्णाली याक्सविरुद्ध ६ विकेटको जित निकाल्दै सुदूरपश्चिम रोयाल्सले शीर्ष स्थानमा पुगेको छ । जितससँगै सुदूरपश्चिमले सात खेलमा १२ अंकका साथ शिर्ष स्थानमा रहेको छ ।
यस्तै चितवन राइनोज र कर्णाली याक्सले एलिमिनेटर खेल्ने भएका छन् । लिग चरणको खेलपछि सुदूरपश्चिम ७ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा रह्यो । समान खेलबाट १० अंक जोडेर जनकपुर दोस्रो भयो । सुदूरसँग पराजित भएपनि कर्णाली चौथो हुँदै प्लेअफ पुगेको हो । चितवनले यसअघि नै ७ खेलबाट ८ अंक जोडेर प्लेअफ पुगिसकेको छ ।
लिग चरणको शीर्ष स्थानमा रहेर सुदूरपश्चिम रोयल्स, दोस्रो स्थानमा रहेर जनकपुर बोल्ट्स, तेस्रो स्थानमा रहेर चितवन राइनोज तथा चौथो स्थानमा रहेर कर्णाली याक्स प्लेअफमा छनोट भए ।
एनपिएलको प्लेअफको पहिलो खेलमा बुधबार बिहान ९ बजे हुने इलिमिनेटर खेलमा तेस्रो स्थानको चितवन तथा चौथो स्थानको कर्णालीबीच खेल हुनेछ । यस खेलको विजेता टोलीले फइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा प्रवेश पाउँने छ । पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिने छन् ।
बुधवार दिउँसो १ बजे प्लेअफको दोस्रो खेल हुनेछ । प्लेअफको दोस्रो खेलमा पहिलो क्वालिफायर खेल हुनेछ । पहिलो क्वालिफायर खेलमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिम र दोस्रो स्थानको जनकपुर बोल्ट्सबीच खेल हुनेछ ।
पहिलो क्वालिफायर खेलको विजेता टोलीले फाइनलमा स्थान पक्का गर्नेछन् । पहिलो क्वालिफायरमा पराजित हुने टोलीले फाइनलमा स्थान बनाउँने अर्को मौका पाउँने छ । पहिलो क्वालिफायरको पराजित टोली तथा इलिमिनेटर खेलको विजेता टोलीबीच दोस्रो क्वालिफायर खेल हुनेछ ।
दोस्रो क्वालिफायर खेलको विजेता टोलीले फाइनलमा स्थान बनाउँनेछ । पहिलो संस्करणको एनपिएलको फाइनल खेल आगामी शनिवार मध्यान्ह १२ बजे हुनेछ ।































