वर्षासँगै देशभरका सडकमा पहिरो र बाढीको जोखिम, विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । लगातारको वर्षापछि देशका विभिन्न स्थानमा पहिरो तथा नदी कटानका कारण सडक यातायात प्रभावित भएको छ।
काभ्रे, सिन्धुपाल्चोक, इलाम, रसुवा, रुकुम पश्चिम र लमजुङका विभिन्न सडकखण्डमा पहिरो खसेपछि कतिपय स्थानमा यातायात पूर्ण रूपमा रोकिएको प्रहरीले जनाएको छ।
प्रहरी प्रधान कार्यालयले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै वर्षाका कारण विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात अवरुद्ध भएको जानकारी दिएको हो।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित पिन्थली, नार्के क्षेत्रमा बिपी राजमार्गमा बिहान करिब ४ बजे माथिबाट लेदोसहित पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ।
बिपी राजमार्गकै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली खण्डमा भने बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै रातको समयमा सवारी आवागमनमा रोक लगाइएको छ। उक्त खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी सञ्चालन गर्न नदिइने र बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म यातायात सञ्चालन हुने व्यवस्था गरिएको छ।
मकवानपुरतर्फको कान्ति लोकपथमा पनि वर्षाका कारण रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकखण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द रहने प्रहरीले जनाएको छ।
इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा सडकमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले यात्रुलाई सम्भव भएसम्म वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ।सिन्धुपाल्चोकमा पनि वर्षाले सडक यातायातमा ठूलो असर पारेको छ। अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। भोटेकोशी–२ कोदारीस्थित इकु क्षेत्रमा पहिरो खस्दा यातायात प्रभावित भएको छ भने सोही वडाको लिपिङमा सडक भासिएपछि अरनिको राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।
यसैगरी, आज बिहान करिब ५ बजे चौतारा साँगाचोकगढी नगरपालिका–९ डुम्रेमा पहिरो खसेपछि अरनिको राजमार्गको अर्को खण्डसमेत पूर्ण रूपमा बन्द भएको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडक कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी कच्ची सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ स्थित रिजेगार्ड खोला नजिक भेरीकरिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा पहिरो खसेपछि यातायात रोकिएको छ।
लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभन्ज्याङ आसपास मध्यपहाडी लोकमार्गमा गएराति पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ। प्रहरीले उक्त क्षेत्रमा यात्रा गर्नेहरूलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ।
प्रहरीका अनुसार अवरुद्ध सडकखण्डमा पहिरो तथा लेदो हटाएर यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। लगातारको वर्षाका कारण थप पहिरो, बाढी तथा सडक कटानको जोखिम रहेकाले यात्राका क्रममा आवश्यक सतर्कता अपनाउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।
अमेरिकाले सर्त पूरा गरेपछि मात्र हर्मुज जलमार्ग खुल्ने इरानको अडान
काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी)ले हर्मुज जलमार्गमा अमेरिकाले इरानका सर्तहरू पूर्ण रूपमा स्वीकार गरेपछि मात्र पुनः सञ्चालनमा आउने जनाएको छ ।
यद्यपि, इरान र ओमानले उक्त महत्वपूर्ण समुद्री मार्गका लागि नयाँ ढुवानी प्रोटोकलमा सहमति नजिक पुगेको बताएका छन् । अल जजिराका अनुसार आईआरजीसीका प्रवक्ता सरदार मोहिबीले जलमार्ग पुनः खोल्ने विषय ओमानसँग जारी वार्ताभन्दा अलग रहेको र त्यसका लागि विशेष संयन्त्र तथा सर्तहरू आवश्यक पर्ने बताए ।
उनका अनुसार अमेरिकाले इरानका सर्तहरू पूर्ण रूपमा स्वीकार गर्नुपर्ने र क्षेत्रीय वार्तामा हस्तक्षेप बन्द गर्नुपर्नेछ । यसअघि इरानी अधिकारीहरूले ओमानसँग हर्मुज जलमार्ग मार्फत हुने समुद्री यातायातका लागि नयाँ व्यवस्थाबारे छलफल गरेका थिए ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले नयाँ ढुवानी व्यवस्थासम्बन्धी सहमति हुन धेरै नजिक पुगेको बताए । तर उनले जलमार्ग पुनः सञ्चालनका लागि अमेरिकाबाट इरानलाई क्षतिपूर्ति लगायतका थप सर्तहरू पनि पूरा हुनुपर्ने स्पष्ट पारे ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाघेर जोलघादरले अमेरिकाले इरानविरुद्धका धम्की रोक्नुपर्ने, इरान तथा उसका क्षेत्रीय सहयोगीमाथिका सैन्य गतिविधि अन्त्य गर्नुपर्ने, नाकाबन्दीमा संलग्न नौसैनिक तथा हवाई शक्ति फिर्ता गर्नुपर्ने, द्वन्द्वका कारण भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने तथा प्रतिबन्ध हटाएर इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने सर्तहरू अघि सारेका छन् ।
यसैबीच इरानी राष्ट्रपति मसौद पेजेशकियनले वर्तमान अवस्था सम्झौता गर्नका लागि सबैभन्दा उपयुक्त समय भएको बताएका छन् । सामाजिक सञ्जाल एक्समार्फत उनले शान्तिको मार्गमा अघि बढ्दा पनि इरानले आफ्ना राष्ट्रिय अधिकारमा कुनै सम्झौता नगर्ने उल्लेख गरेका छन् । उनले सरकारको मुख्य भरोसा स्वदेशी क्षमता र जनतामाथि रहेको भन्दै नागरिकप्रति सहानुभूतिपूर्ण व्यवहार आवश्यक रहेको बताए ।
राष्ट्रपति पेजेशकियनले यसअघि इजरायल र अमेरिकाले इरानका आन्तरिक चुनौतीहरूको फाइदा उठाउँदै फारसी खाडीका मुलुकहरूलाई तेहरानविरुद्ध उभ्याउने प्रयास गरिरहेको आरोप पनि लगाएका थिए ।
पश्चिम एसियामा जारी तनावका बीच हर्मुज जलडमरूमध्यमार्फत हुने व्यावसायिक समुद्री यातायात पुनः सञ्चालन गर्ने विषय अझै प्रमुख विवादको विषय बनेको छ । विश्वको ठूलो परिमाणमा तेल तथा ग्यास ढुवानी हुने यस जलमार्गको अवस्थालाई अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियालिरहेको छ । एएनआई
अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीका पिताको निधन
काठमाडौं । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीका पिता जर्ज मेस्सीको ६८ वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टिनी सञ्चारमाध्यम ला नासियोन का अनुसार उनी रोजारियोस्थित एक क्लिनिकमा उपचाररत थिए ।
जर्ज मेस्सीको निधनपछि अर्जेन्टिना फुटबल एशोसियसन (एएफए) ले सामाजिक सञ्जाल एक्समार्फत शोक व्यक्त गर्दै मेस्सी र उनको परिवारप्रति समवेदना प्रकट गरेको छ । एएफएले कठिन घडीमा आफूहरू मेस्सी परिवारको साथमा रहेको जनाएको छ ।
यस्तै, फुटबल क्लब बार्सिलोनाले पनि जर्ज मेस्सीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । क्लबले जारी गरेको सन्देशमा लियोनल मेस्सीको फुटबल करियरको प्रारम्भिक र सबैभन्दा गौरवशाली समय बार्सिलोनासँग जोड्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै होर्गेको योगदानको प्रशंसा गरेको छ । क्लबले मेस्सी परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै समर्थन रहने जनाएको छ ।
जर्ज मेस्सी केवल लियोनल मेस्सीका पिता मात्र नभई उनको फुटबल यात्राका प्रमुख मार्गदर्शक पनि थिए । स्टिल कारखानामा सुपरभाइजरका रूपमा काम गरेका उनले पछि छोराको एजेन्ट तथा रणनीतिक सल्लाहकारको भूमिका निर्वाह गरेका थिए ।
लियोनल मेस्सीको प्रारम्भिक फुटबल करियरमा पनि जर्ज महत्त्वपूर्ण योगदान रहेको थियो । उनले मेस्सीलाई बाल्यकालमा अर्जेन्टिनाको क्लब न्यूइलस वल्र्ड बोइजमा खेल्न सहयोग गरेका थिए । मेस्सी १३ वर्षको हुँदा उनलाई स्पेन लगेर बार्सिलोनाको युवा एकेडेमीमा आबद्ध गराउन पनि उनका पितालेनै महत्वपूर्ण भूमिका खेलेका थिए ।
त्यतिबेला मेस्सी ग्रोथ हर्मोनको कमी सम्बन्धी समस्याबाट पीडित थिए । बार्सिलोनाले उनको उपचार खर्च व्यहोरेको थियो । नियमित उपचार र हर्मोन इन्जेक्सनपछि मेस्सीको शारीरिक विकासमा सुधार आएको थियो, जसले उनको व्यावसायिक फुटबल यात्रालाई नयाँ दिशा दिएको मानिन्छ । जर्ज मेस्सीकी पत्नी सेलिया कुच्चितिनी हुन् । उनका चार सन्तानमध्ये लियोनल मेस्सी, रोड्रिगो, माटियास र मारिया सोल रहेका छन् । एएनआई
अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै
काठमाडौं । अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज मनाइँदै छ । आज विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागेको हो ।
विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउन लागेको हो ।
सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने घोषना गरेको थियो ।
वर्षाका कारण विभिन्न राजमार्ग तथा सडकखण्ड अवरुद्ध
काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा सडक भासिँदा राजमार्ग र सडकखण्डहरू अवरुद्ध भएका छन्। प्रहरीका अनुसार शनिबार दिउँसो २ बजेसम्म विभिन्न जिल्लाका महत्वपूर्ण सडकखण्डमा यातायात प्रभावित भएको छ।
काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारीसाधनको आवागमन रोक लगाउने व्यवस्था गरिएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने यातायात सञ्चालन हुने जनाइएको छ।
त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा वर्षाका कारण रातिको समयमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक लगाइएको छ। यहाँ बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
इलामको मेची राजमार्गसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ। इलाम नगरपालिका–९, राजदुवालीमा वर्षाका कारण सडक हिलो भएर सवारीसाधन सञ्चालन गर्न नसकिने अवस्था बनेपछि सडक अवरुद्ध भएको हो। उक्त स्थानमा वैकल्पिक बाटो भने रहेको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकको अरनिको राजमार्गका विभिन्न स्थानमा पहिरो तथा सडक भासिएपछि यातायात पूर्ण रूपमा ठप्प भएको छ। भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा पहिरो खसेको, वडा नं. २ कोदारीमा इकु पहिरोबाट ढुंगा, माटो र लेदो सडकमा खसेको तथा लिपिङमा सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको हो।
रसुवाको पासाङ ल्हामु सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध छ। उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडकमुनिबाट कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी जाने सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
यसैगरी, रुकुम पश्चिमको भेरी करिडोरअन्तर्गत आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा सडक माथिबाट ढुंगा, माटो र लेदो खसेपछि जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
सोलुखुम्बुको सल्लेरी–लुक्ला सडकखण्डअन्तर्गत खुम्बु पासाङल्हामु गाउँपालिका–१, निलदोर्जेको रमाइलोडाँडामा पहिरो खसेपछि पर्यटकीय सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
त्यस्तै, तेह्रथुमको मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ। लालीगुराँस नगरपालिका–९ काडेमा पिङवा खोलानजिक करिब ३०–३५ मिटर माथिबाट ढुंगा र माटोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
विभिन्न सडकखण्डमा पहिरो तथा बाढीको जोखिम कायम रहेकाले प्रहरीले यात्रु तथा सवारीचालकलाई आवश्यक सावधानी अपनाउन र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।
हर्मुज जलमार्ग बारे इरान–ओमान सहमतिनजिक, व्यापारिक जहाज आवागमन सहज हुने संकेत
काठमाडौं । इरान र ओमान हर्मुज जलमार्गको व्यवस्थापनसम्बन्धी सम्झौताको प्रारम्भिक रूपरेखामा सहमतिनजिक पुगेका छन् । इरानी सञ्चारमाध्यमहरूका अनुसार दुवै देशबीच समुद्री व्यापारिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्ने विषयमा महत्वपूर्ण प्रगति भएको छ ।
इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्ता हसन घाशघाभीले सरकारी समाचार संस्था आईआरएनएसँग कुरा गर्दै हर्मुज जलमार्ग मार्फत हुने जलयातायात व्यवस्थापनसम्बन्धी सम्झौताको अन्तिम मस्यौदा तयार हुने चरणमा पुगेको बताएका छन् । उनका अनुसार सम्झौताका विस्तृत विवरण चाँडै सार्वजनिक गरिनेछ ।
यसैबीच, अमेरिकी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले इरान र ओमानबीचको वार्तामा उल्लेखनीय प्रगति भएको तथा छिट्टै सम्झौता हुने अपेक्षा गरिएको जनाएको छ । ती अधिकारीका अनुसार व्यापारिक जहाजहरूको निर्बाध आवागमन पुनःस्थापना गर्ने सम्झौता भएपछि संयुक्त राज्य अमेरिकाले इरानी बन्दरगाहमाथि लगाइएको नाकाबन्दी हटाउनेछ ।
अमेरिकी समाचार वेबसाइट एक्सिओसले पनि मध्यस्थकर्तामध्ये एक देशका कूटनीतिज्ञलाई उद्धृत गर्दै इरानका वार्ताकारहरू सम्झौताका लागि इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को अन्तिम स्वीकृतिको प्रतीक्षामा रहेको जनाएको छ । ती कूटनीतिज्ञले स्वीकृति छिट्टै प्राप्त हुने अपेक्षा व्यक्त गरेका छन् ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले बुधबार पत्रकार सम्मेलनमा इरान र ओमानबीच हर्मुज जलमार्गमा सुरक्षित व्यापारिक समुद्री मार्ग स्थापना गर्ने विषयमा महत्वपूर्ण प्रगति भएको बताएका थिए । उनका अनुसार प्रस्तावित मार्गका भौगोलिक निर्देशांकबारे दुवै देशबीच समझदारी बनेको छ भने सहमतिका मुख्य बुँदाहरू समेटिएको संयुक्त वक्तव्य अन्तिम रूप दिने काम भइरहेको छ ।
गत फेब्रुअरी २८ मा इरानले हर्मुज जलडमरूमध्यमा आफ्नो नियन्त्रण कडा बनाउँदै इजरायल र संयुक्त राज्य अमेरिकासँग सम्बन्धित जहाजहरूको सुरक्षित आवागमनमा प्रतिबन्ध लगाएको थियो । उक्त कदम इरानी भूमिमाथि भएको संयुक्त आक्रमणपछि उठाइएको थियो ।
त्यसपछि अमेरिकी सेनाले हर्मुज क्षेत्रमा व्यापारिक जहाजहरूलाई धम्की दिने इरानको क्षमता कमजोर पार्ने उद्देश्यले इरानी लक्ष्यहरूमा विभिन्न चरणमा हवाई आक्रमण गरेको जनाएको थियो । इरानले त्यसको प्रत्युत्तरस्वरूप क्षेत्रस्थित अमेरिकी सैन्य अड्डा तथा संरचनाहरूलाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण गरेको थियो ।
विश्वको सबैभन्दा महत्वपूर्ण ऊर्जा व्यापारिक मार्गमध्ये एक मानिने हर्मुज जलमार्गमा तनाव कम गर्ने दिशामा इरान–ओमानबीचको सम्भावित सम्झौतालाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेको छ । सीसीटीभी
मुगुमा स्थानीय तहका अस्पताल निर्माण सुस्त, ६ वर्ष बित्दा पनि नागरिकले पाएनन् सेवा
मुगु । दुर्गम क्षेत्रका नागरिकलाई घरदैलोमै सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले मुगुका स्थानीय तहमा निर्माण थालिएका अस्पताल भवनहरू वर्षौं बित्दासमेत सम्पन्न हुन सकेका छैनन् ।
निर्माण कार्य कछुवा गतिमा अघि बढ्दा स्थानीयवासी आधारभूत स्वास्थ्य सेवाबाट अझै वञ्चित हुनुपरेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ सालमा देशभरका स्थानीय तहमा ५, १० र १५ शैयाका आधारभूत अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने महत्वाकांक्षी योजना अघि सारेको थियो । सोही कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशका ४१ स्थानीय तहमा ४२ वटा अस्पताल निर्माणका लागि शिलान्यास गरिएको थियो ।
तर मुगु जिल्लाका सोरु, खत्याड र मुगुमकारमारोङ गाउँपालिकामा निर्माणाधीन १०–१० शय्याका अस्पताल भवन अझै पूर्णरूपमा तयार हुन सकेका छैनन् । निर्माणमा भइरहेको ढिलासुस्तीले स्थानीय नागरिक निराश बनेका छन् ।
सोरु गाउँपालिका–८ तारापानीमा निर्माणाधीन १० शय्याको अस्पतालको लागत अनुमान ११ करोड १६ लाख रुपैयाँ रहेको छ । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ‘सगुन पेरा जेभी, बुटवल’सँग ठेक्का सम्झौता गरिएको भए पनि निर्माण सुरु भएको करिब ६ वर्ष पुग्न लाग्दा पनि काम सम्पन्न भएको छैन । हालसम्म अस्पतालको भौतिक प्रगति करिब ८५ प्रतिशत पुगेको जनाइएको छ ।
निर्माण कम्पनीका प्रतिनिधि विष्णुबहादुर मल्लले २०७९ सालको बाढीपहिरो, स्वास्थ्य मन्त्रालयले बीचमै डिजाइन तथा इस्टिमेट परिवर्तन गर्नु र हिमाली क्षेत्रमा निर्माण सामग्री ढुवानीमा भएको कठिनाइका कारण काम प्रभावित भएको बताएका छन् । उनका अनुसार अहिले मार्बल बिछ्याउने तथा झ्याल–ढोकाको फिनिसिङलगायतका काम मात्र बाँकी छन् । कम्पनीले आगामी दशैंसम्म निर्माण सम्पन्न गरी स्थानीय तहलाई हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको छ ।
खत्याड गाउँपालिकामा निर्माणाधीन अस्पतालको प्रगति अझ कमजोर रहेको छ । स्थानीय तहका अनुसार त्यहाँ हालसम्म करिब ५० प्रतिशत मात्र काम सम्पन्न भएको छ । यता मुगुमकारमारोङ गाउँपालिकामा निर्माणाधीन अस्पतालको काम भने ९५ प्रतिशत पूरा भइसकेको बताइएको छ ।
मुगुका अधिकांश नागरिक सामान्य उपचारका लागि समेत घण्टौं पैदल यात्रा गरी गमगढी पुग्नुपर्ने वा महँगो खर्च गरेर सुर्खेत, नेपालगञ्ज तथा काठमाडौं जानुपर्ने बाध्यतामा छन् । समयमै उपचार नपाउँदा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था अझै विद्यमान रहेको स्थानीयहरूको गुनासो छ ।
स्थानीयवासी ताराचन्द्र चौलागाईं र मानबहादुर बुढालगायतले अस्पताल भवनको बाँकी निर्माण कार्य शीघ्र सम्पन्न गरी सेवा सञ्चालन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
अस्पताल निर्माणमा भएको ढिलासुस्तीप्रति जिल्ला प्रशासन कार्यालय मुगुले पनि चासो व्यक्त गरेको छ । प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले ठेकेदार कम्पनीलाई बाँकी काम तत्काल सम्पन्न गर्न निर्देशन दिइएको जानकारी दिए । स्थानीय सरकार र सम्बन्धित निकायसँग समन्वय गरी निर्माण कार्यलाई गति दिन पहल भइरहेको उनले बताए ।
स्थानीय तहमा निर्माणाधीन यी अस्पतालहरू सञ्चालनमा आए दुर्गम क्षेत्रका नागरिकले आधारभूत स्वास्थ्य सेवा आफ्नै गाउँमा पाउने अपेक्षा गरिएको छ । तर निर्माणमा भइरहेको निरन्तर ढिलाइले सरकारको स्वास्थ्य पूर्वाधार विस्तार कार्यक्रमको प्रभावकारितामाथि नै प्रश्न उठाएको छ ।
छात्रवृत्ति प्राप्त विद्यार्थीबाट पनि शुल्क असुल्दै विद्यालयहरु, उपमहानगर एक्सनमा
जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका अधिकांश विद्यालयहरुले छात्रवृत्ति प्राप्त विद्यार्थीहरुसँग पनि रकम असुल्दै आएको खुलेको छ ।
विद्यार्थीहरुले गुनासो गर्न थालेपछि जनकपुरधाम उपमहानगरपालिकाले कडाई गरेको छ ।
शुक्रबार उपमहानगरपालिकाको शिक्षा समितिले संस्थागत (निजी) विद्यालयहरुसँग छलफल गर्दै छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीबाट तोकिएको सीमाभन्दा बढी शुल्क नलिन कडा निर्देशन दिएको छ ।
छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीबाट कक्षा १ देखि ५ सम्म अधिकतम ७ हजार रुपैयाँ, कक्षा ६ देखि ८ सम्म अधिकतम ९ हजार रुपैयाँ तथा कक्षा ९ देखि १० सम्म अधिकतम १० हजार रुपैयाँसम्म मात्र शुल्क लिन पाइने समितिले जानकारी गराएको छ ।
समितिले तोकेको यो सीमाभन्दा बढी कुनै पनि शीर्षकमा शुल्क लिन नपाइने स्पष्ट गर्दै बढी शूल्क लिएको पाइए जरिवानासहित थप कारवाही गर्ने चेतावनी पनि दिइएको छ ।
साथै निर्धारित सीमाभन्दा बढी शुल्क असुल गरिसकेका विद्यालयहरूले अतिरिक्त रकम सम्बन्धित विद्यार्थीलाई अनिवार्य रूपमा फिर्ता गर्नुपर्ने निर्णयसमेत छलफलमा भएको छ ।
अध्यक्ष राईद्वारा लिपुलेकदेखि ग्यास संकट र सहकारी पीडितसम्मका विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ राईले लिपुलेक नाकाबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न, एलपी ग्यास आपूर्तिमा देखिएको समस्या समाधान गर्न, सहकारी पीडितको बचत फिर्ता गराउन, सुकुम्बासी व्यवस्थापन, जातीय विभेद अन्त्य, युवालाई रोजगारी सिर्जना तथा अनलाइन ठगी नियन्त्रणलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले प्रतिपक्षका आवाजलाई सरकारले गम्भीरतापूर्वक सुनेर कार्यान्वयन गर्नुपर्ने बताए। सरकारले प्रतिपक्षका सुझाव बेवास्ता गर्दा विगतमा धेरै समस्या समाधान हुन नसकेको उल्लेख गर्दै उनले त्यस्तो अभ्यास दोहोरिन नहुने धारणा राखे।
लिपुलेक नाकाबाट भारत–चीनबीच व्यापार सञ्चालन भइरहेको जानकारी सार्वजनिक भइरहे पनि नेपाल सरकारले यसबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक नगरेको भन्दै उनले सरकार स्पष्ट हुनुपर्ने माग गरे।
बजारमा देखिएको एलपी ग्यास अभावबारे प्रश्न उठाउँदै साम्पाङले उपभोक्ताले रकम तिरे पनि आपूर्ति किन प्रभावित भयो भन्ने विषय स्पष्ट पार्न सरकारसँग माग गरे। ग्यास आपूर्ति शृङ्खलामा आर्थिक अनियमितता वा बिचौलियाको भूमिका भए त्यसको छानबिन गरी अन्त्य गर्नुपर्ने उनको भनाइ थियो।
उनले विभिन्न मन्त्रालयमा बुझाइएका विकास आयोजनाका प्रस्ताव शीघ्र कार्यान्वयनमा लैजान आग्रह गर्दै सडक, सिंचाइ, खानेपानीलगायतका पूर्वाधार निर्माणमा सरकारले परिणाममुखी काम गर्नुपर्ने बताए।
सहकारी ठगीका पीडितले अझै बचत फिर्ता नपाएको उल्लेख गर्दै उनले ठगीमा संलग्न व्यक्तिको सम्पत्तिबाट रकम असुल गरी पीडितलाई तत्काल फिर्ता गर्न सरकारसँग माग गरे। धरानस्थित बझा बचत तथा ऋण सहकारीका पीडितलाई पनि न्याय दिलाउनुपर्ने उनले बताए।
सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान गरी धनपुर्जा वितरण प्रक्रिया अघि बढाउनुपर्ने, जनकपुरस्थित जानकी मन्दिर परिसरमा आफ्ना कार्यकर्तामाथि भएको कुटपिट घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने र ‘हिन्दू सम्राट सेना’ लगायत सेना नाम प्रयोग गर्ने समूहबारे सरकारले छानबिन गर्नुपर्ने उनको माग थियो।
साम्पाङले जातीय छुवाछूत र विभेद अझै कायम रहेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरे। युवामा बढ्दो निराशा र आत्मदाहका घटनाले रोजगारी र उत्पादनमूलक अवसर सिर्जना गर्न सरकार असफल भएको संकेत गरेको भन्दै उनले औद्योगिकीकरण र श्रममा आधारित रोजगारी विस्तार गर्नुपर्ने बताए।
भारतीय भूतपूर्व सैनिकका सेवा–सुविधा, हाइटेन्सन विद्युत् लाइनका कारण हुने दुर्घटना, सुनसरीका डुबान समस्या, रामधुनी–६४ बिघामा भूमाफियाको गतिविधि, सर्दू जलाधार विवाद, अदालतका फैसला कार्यान्वयनमा ढिलाइ तथा अनलाइन नेटवर्किङ व्यवसायका नाममा भइरहेको ठगी नियन्त्रण गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए।
विदेशस्थित नेपाली दूतावासहरूले प्रवासी नेपालीका समस्या प्रभावकारी रूपमा सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै उनले सबै पक्षले इमान्दारीपूर्वक काम गरेर देश निर्माणमा जुट्नुपर्ने धारणा राखे।
विपद्का बेला सांसदहरूले पनि प्रत्यक्ष योगदान गर्नुपर्ने प्रस्ताव राख्दै साम्पाङले २७५ जना सांसदले आफ्नो सुविधाबाट जनही ५० हजार रुपैयाँ योगदान गरी करिब १ करोड ३७ लाख रुपैयाँको राहत कोष स्थापना गर्न सुझाव दिए। उनले उक्त कोष विपद् प्रभावित नागरिकको राहत तथा उद्धारमा उपयोग गर्न सकिने बताए।
तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति
काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार राति सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) तातोपानीका विभिन्न संरचनामा क्षति पुगेको छ।
सशस्त्र प्रहरीका अनुसार शुक्रबार राति करिब १ः१५ बजे बीओपीको उत्तर–पश्चिमतर्फ रहेको करिब २०० देखि ३०० मिटर अग्लो डाँडाबाट सुख्खा पहिरो खसेर ढुङ्गा उछिट्टिँदा प्रहरी संरचनामा क्षति पुगेको हो। घटनामा कुनै मानवीय क्षति भने भएको छैन।
पहिरोका कारण पहिलो लाइन ब्यारेकको एउटा झ्यालको सिसा फुटेको छ भने दोस्रो लाइन ब्यारेकको भित्तामा प्वाल पर्नुका साथै जस्ताको छानामा छ वटा प्वाल परेको छ।
यस्तै, एउटा ड्युटी पोस्ट पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने अर्को ड्युटी पोस्टमा आंशिक क्षति पुगेको छ। सशस्त्र प्रहरी निरीक्षकको बाथरुमको भित्तामा पनि प्वाल परेको छ। हिमाली ज्याकेट, राष्ट्रिय झण्डा राखिएको पोल, जिन्सी स्टोर भवन तथा मुख्य प्रवेशद्वारअगाडिको सिँढीमा समेत क्षति पुगेको सशस्त्र प्रहरीले जनाएको छ।
घटनापछि क्षतिको विवरण संकलन तथा आवश्यक सुरक्षा व्यवस्थापनको काम भइरहेको जनाइएको छ।