ब्रड पीकमा फेला परेका आरोहीको शव जापानी क्याम्पबाट हेलिकोप्टरबाट ल्याउने प्रयास
काठमाडौं । ब्रड पीकमा परिचालित स्थल उद्धार टोली करिब ५,७०० मिटरको उचाइमा प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)रहेको स्थानमा पुगेको छ ।
पाकिस्तानको अल्पाइन क्लबका अनुसार उद्धार टोलीले सोही स्थानमा थप तीन वटा शव पनि फेला पारेको छ, तर तिनको पहिचान अझै पुष्टि हुन बाँकी छ।
काठमाडौंबाट पाकिस्तान प्रशासित गिलगिट–बाल्टिस्तानको स्कर्दु पुगेका वरिष्ठ नेपाली पर्वतारोही मिङ्मा डेभिड शेर्पाले सामाजिक सञ्जालमार्फत अत्यन्त कठिन परिस्थितिमा शव उद्धार अभियान सञ्चालन भइरहेको र सम्पूर्ण टोलीको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिइएको बताएका छन्।
उनले लेखेका छन्, ‘स्थल टोलीबाट प्राप्त जानकारीअनुसार हाल रहेको स्थानबाट शवलाई क्याम्प–१ सम्म ल्याउने योजना छ। त्यसपछि भोलि जापानी क्याम्पसम्म ल्याइनेछ। यदि मौसम र हिमालको अवस्था अनुकूल रह्यो भने जापानी क्याम्पबाट हेलिकोप्टर प्रयोग गर्ने सम्भावना छ। यस अभियानको मुख्य उद्देश्य दिवंगत साथीहरूको शव सुरक्षित रूपमा उद्धार गरी सम्मानपूर्वक आफ्ना परिवारसम्म पुर्याउनु हो। उद्धार अभियानमा संलग्न सम्पूर्ण टोलीको सुरक्षा हाम्रो सबैभन्दा ठूलो प्राथमिकता हो। प्रत्येक निर्णय टोलीको सुरक्षालाई केन्द्रमा राखेर गरिएको छ।’
उद्धार अभियानको पहिलो चरणमा उद्धारकर्मीहरूले माथिल्लो भागबाट अत्यन्तै भीरालो र प्राविधिक रूपमा कठिन भूभाग हुँदै शवलाई बोकेर क्याम्प–१ सम्म ल्याउनेछन्।
हालको अवस्थामा जोखिमपूर्ण भू–भाग र थप हिमपहिरो आउने सम्भावनाका कारण उच्च उचाइबाट हेलिकोप्टरमार्फत प्रत्यक्ष उद्धार गर्ने विकल्प अस्वीकार गरिएको छ। उद्धार टोलीका अनुसार मौसम अनुकूल रहेमा सोमबारसम्म शवलाई जापानी क्याम्पमा पु¥याइनेछ।
यदि मौसम स्थिर रह्यो र पुनः हिमपहिरो नआयो भने पाकिस्तानी सेनाको उड्डयन शाखाका हेलिकोप्टरहरू जापानी क्याम्पमा तयारी अवस्थामा रहनेछन्। ती हेलिकोप्टरमार्फत दिवंगत पर्वतारोहीहरूका शव र उद्धार टोलीलाई सुरक्षित रूपमा तल उपत्यकातर्फ ल्याइने योजना छ।
नेपाली मूलका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ को ब्रड पीकमा आएको हिमपहिरोमा परी दुःखद निधन भएको निम्सदाइ फाउन्डेसनले शनिबार पुष्टि गरेको थियो।
फाउन्डेसनले आफ्नो आधिकारिक फेसबुक वक्तव्यमा सोही हिमपहिरोमा परेका अन्य अभियान सदस्यहरूको पनि निधन भएको पुष्टि गरेको छ।
वक्तव्यमा भनिएको छ,‘हामी अत्यन्त दुःख र गहिरो पीडाका साथ पुष्टि गर्छौं कि निर्मल ‘निम्सदाइ’ पुर्जा ब्रड पीकमा आएको हिमपहिरोमा परी दुःखद रूपमा निधन भएको छ। साथै, अभियानका अन्य सदस्यहरू पनि यस दुर्घटनाबाट बाँच्न नसकेको पुष्टि भएको छ।’
आधिकारिक विवरण तथा डन पत्रिकाका अनुसार दुर्घटना बिहीबार दिउँसो करिब ६,६०० मिटरको उचाइमा भएको थियो।
८,०४७ मिटर अग्लो ब्रड पीक आरोहण गरिरहेको १० सदस्यीय टोलीसँग बिहीबार बिहान सम्पर्क विच्छेद भएको थियो। त्यसै दिन साँझ ठूलो हिमपहिरो गएको खबर सार्वजनिक भएको थियो।
यता, नेपाल सरकारले ‘ब्रोड पीक’ आरोहणका क्रममा १४ साउनमा क्याम्प–२ बाट क्याम्प–३ जाने क्रममा गएको हिम पहिरोमा परी आरोहीहरूको निधन भएकोप्रति दुःख व्यक्त गरेको छ ।
परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत उक्त दुर्घटनामा प्रख्यात आरोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित नेपाली आरोहीहरू पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा, ग्यालु शेर्पा तथा उनीरूसँगै ब्रोड पिक चढ्ने अन्तर्राष्ट्रिय आरोहण दलका सदस्यहरूको दुःखद निधनबाट पर्वतारोहण क्षेत्रलाई अपूरणीय क्षति पुगेको जनाएको छ ।
मन्त्रालयले उच्च हिमाली क्षेत्रमा कठिन खोज कार्य सञ्चालनमा संलग्न पाकिस्तानी तथा नेपाली पर्वतारोही टोलीको साहसिक कार्यको सराहना गरेको छ । दुर्घटनामा निधन भएका नेपाली आरोहीहरूमध्ये पुरबहादुर गुरुङ र ग्यालु शेर्पाको शव फेला परिसकेको छ भने बाँकी शव खोजी कार्य निरन्तर जारी रहेको मन्त्रालयले जनाएको छ ।
साथै, नेपाली आरोहीहरूको शव स्वदेश फिर्ता ल्याउन इस्लामाबादस्थित नेपाली दूतावासबाट आवश्यक सहजीकरण भइरहेको जनाएको छ ।
विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा
काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक, त्यसपछि विश्व पर्वतारोहणका कीर्तिमानी आरोही बनेका नेपाली मूलका निर्मल पुर्जा ‘निम्सदाई’को अन्तिम यात्रा पनि उनको जीवनजस्तै अप्रत्याशित बन्यो ।
पाकिस्तानको ब्रड पिक आरोहण उनको प्रारम्भिक योजना थिएन, तर एउटा गणनाले उनलाई इतिहास रच्ने सम्भावनासम्म पु¥याएको थियो । विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल बिना अक्सिजन आरोहण गर्ने कीर्तिमान बनाइसकेका निम्सदाईले ब्रड पिक सफल भएमा अर्को ऐतिहासिक उपलब्धिको नजिक पुग्ने देखेका थिए । उनको लक्ष्य थियो, विश्वका सबै १४ वटै आठ हजार मिटर भन्दा अग्ला हिमाल दुईपटक बिना अक्सिजन आरोहण गर्ने पहिलो व्यक्ति बन्ने ।
तर यही ऐतिहासिक लक्ष्य पछ्याउने क्रममा ८,०५१ मिटर अग्लो ब्रड पिकमा आएको हिमपहिरोले उनको जीवन यात्रा रोकिदियो । पाकिस्तान जानुअघि निम्सदाईको मुख्य योजना ग्यासरब्रुम–२ (जी–२) आरोहण मात्र थियो । तर अभियान सुरु गर्नुअघि उनले आफ्ना ८ हजार मिटरभन्दा अग्ला हिमालहरूको आरोहण विवरण पुनः विश्लेषण गरे । त्यसपछि उनले सम्भावना देखे– यदि ब्रड पिक पनि आरोहण गर्न सके भने अब केवल चोओयू मात्र बाँकी रहनेछ ।
उनले सामाजिक सञ्जाल एक्समा लेखेका थिए, ‘यो कहिल्यै योजनामा थिएन । सुरुमा योजना केवल जी–२ आरोहण गर्ने थियो । तर पाकिस्तान जानुअघि मैले आफ्नो ८ हजार मिटर आरोहणको हिसाब गरेँ । त्यसपछि महसुस भयो– यदि ब्रड पिक पनि पूरा गरेँ भने केवल चो ओयू बाँकी रहनेछ । त्यसपछि म इतिहासमा पहिलो व्यक्ति बन्नेछु, जसले १४ वटै आठ हजार मिटर अग्ला हिमाल दुईपटक बिना अक्सिजन आरोहण गर्नेछ ।’ उनले अवसर आफैं नचिच्याउने, बरु मौन रूपमा मेहनत गरिरहेकाहरूलाई संकेत गर्ने उल्लेख गरेका थिए ।
म्याग्दीमा जन्मिएका निम्सदाई गोर्खा परिवारका सदस्य थिए । १८ वर्षको उमेरमा सन् २००३ मा उनी बेलायती सेनाको गोर्खा रेजिमेन्टमा भर्ती भए । त्यसपछि सन् २००९ मा बेलायतको विशेष फौज (यूके स्पेशल फोर्सेस) मा छनोट भए ।
१६ वर्षको सैन्य सेवाका क्रममा उनले अनुशासन, जोखिम व्यवस्थापन र कठिन परिस्थितिमा निर्णय गर्ने क्षमता विकास गरे । यही अनुभवले उनलाई पर्वतारोहणमा पनि सफल बनायो । उनले सन् २०१२ मा ६ हजार ११९ मिटर अग्लो लोबुचे हिमाल आरोहण गर्दै पर्वतारोहण यात्रा सुरु गरेका थिए । सन् २०१८ मा सेनाबाट अवकाश लिएपछि उनले पूर्णकालीन रूपमा पर्वतारोहणलाई आफ्नो करियर बनाए ।
६ महिना ६ दिनमा १४ हिमाल आरोहण
निम्सदाई विश्व पर्वतारोहण क्षेत्रमा सन् २०१९ मा चर्चाको शिखरमा पुगे । उनको ‘प्रोजेक्ट पोसिबल’ अन्तर्गत उनले विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल केवल ६ महिना ६ दिनमा आरोहण गरे ।
यो उपलब्धिले उनलाई विश्वकै साहसी पर्वतारोहीमध्ये एक बनायो । उनको जीवन यात्रा र अभियानमाथि आधारित नेटफ्लिक्स वृत्तचित्र ‘फोर्टिन पिक्स नथिङ इज एम्पोसिबल’ले पनि उनलाई विश्वभर चिनायो । सन् २०२३ मा नर्वेली आरोही क्रिस्टिन हरिलाले ३ महिना १ दिनमा १४ हिमाल आरोहण गर्दै उनको समय कीर्तिमान तोडे पनि निम्सदाईको उपलब्धि आधुनिक पर्वतारोहण इतिहासको महत्वपूर्ण अध्यायका रूपमा रह्यो ।
अन्तिम आरोहण र अधुरो सपना
ब्रड पिक आरोहणका क्रममा आएको हिमपहिरोपछि निम्सदाईसहित १० जना आरोही प्रभावित भएका थिए । उनको ट्र्याकिङ उपकरणमा केही समयसम्म हलचल देखिएपछि उनी जीवित रहेको आशा गरिएको थियो । तर उद्धार टोलीले करिब ४८ घण्टापछि उनको शव फेला पारेको जनाएको छ ।
उनको अन्तिम अभियान केवल एउटा हिमाल चढ्ने प्रयास थिएन । त्यो विश्व पर्वतारोहण इतिहासमा अर्को असम्भव देखिएको लक्ष्य पूरा गर्ने यात्राको हिस्सा थियो । गोर्खा सैनिकको अनुशासन, नेपाली हिमालको साहस र विश्व कीर्तिमानको भोक बोकेका निम्सदाई अन्ततः त्यही हिमालमै विलीन भए, जहाँ उनले आफ्नो जीवनको सबैभन्दा ठूलो सपना पछ्याइरहेका थिए । एएनआई
अमेरिकी भिसा पाउन नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने
काठमाडौं । अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि पर्यटक (बी–२) र व्यापारिक (बी–१) भिसामा धरौटी राख्ने व्यवस्थालाई स्थायी रूपमा लागू गर्ने निर्णय गरेको छ।
नयाँ व्यवस्थाअनुसार नेपाली आवेदकले भिसा प्राप्त गर्नुअघि १० हजारदेखि २० हजार अमेरिकी डलरसम्म (करिब १५ देखि ३० लाख रुपैयाँ) धरौटी राख्नुपर्नेछ। यसअघि परीक्षणका रूपमा लागू गरिएको व्यवस्थामा ५ हजारदेखि १५ हजार अमेरिकी डलरसम्म धरौटी तोक्ने व्यवस्था थियो।
अमेरिकी विदेश मन्त्रालयका अनुसार भिसा अस्वीकृत भएमा वा भिसाको अवधि सकिनुअघि नियमअनुसार स्वदेश फर्किएमा धरौटी रकम पूर्ण रूपमा फिर्ता गरिनेछ।
भिसाको अवधि सकिएपछि पनि गैरकानुनी रूपमा अमेरिकामा बस्ने (ओभरस्टे) प्रवृत्ति नियन्त्रण गर्न यो व्यवस्था स्थायी बनाइएको मन्त्रालयले जनाएको छ। दक्षिण एसियाबाट नेपाल, बंगलादेश र भुटानसहित ५० देशका नागरिकमा यो नियम लागू हुनेछ।
विश्वले एक महान आरोही, साहसी र प्रेरणादायी व्यक्ति गुमायो : निम्सदाइ फाउन्डेसन
लन्डन । प्रख्यात नेपाली मूलका पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) को ब्रोड पिकमा गएको हिमपहिरोमा परी दुःखद निधन भएको निम्सदाइ फाउन्डेसनले जनाएको छ ।
फाउन्डेसनले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जारी गरेको विज्ञप्तिमा हिमपहिरोमा ज्यान गुमाउने अन्य टोली सदस्यहरूको पनि पुष्टि भएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘आज अत्यन्त गहिरो दुःख र पीडाका साथ हामी पुष्टि गर्दछौं कि निर्मल ‘निम्सदाइ’ पुर्जाको ब्रोड पिकमा आएको हिमपहिरोपछि दुःखद निधन भएको छ । साथै, अभियानमा सहभागी अन्य केही सदस्यहरू पनि जीवित नरहेको पुष्टि भएको छ ।’
विज्ञप्तिमा थप भनिएको छ, ‘आज हामी केवल निम्सलाई मात्र होइन, यस दुःखद घटनामा ज्यान गुमाउने सबैलाई सम्झिरहेका छौं, जसमा उनका विश्वासिला आरोहण साझेदार तथा गाइडहरू पुर बहादुर गुरुङ (युक्ता)र नीमा शेर्पा पनि समावेश छन् । उहाँहरूका परिवार, साथीभाइ तथा शुभचिन्तकहरूप्रति हाम्रो गहिरो समवेदना, प्रार्थना र हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछौं। यस्तो अकल्पनीय पीडालाई शब्दहरूले कम गर्न सक्दैनन्। यस कठिन घडीमा सबैले परिवारको गोपनीयताको सम्मान गरिदिनुहुन अनुरोध गर्दछौं।’
फाउन्डेसनले विश्वले पर्वतारोहण क्षेत्रका एक महान आरोही, साहसी नेता तथा लाखौं मानिसलाई प्रेरित गर्ने व्यक्तित्व गुमाएको उल्लेख गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘उनका असाधारण उपलब्धिभन्दा पनि ठूलो कुरा, उनले संसारलाई ठूलो सपना देख्न, आफ्नै क्षमतामा विश्वास गर्न र सीमितताहरू स्वीकार नगर्न सिकाए । आफ्ना कर्ममार्फत उनले लाखौं मानिसलाई आफूले सोचेभन्दा धेरै हासिल गर्न सकिन्छ भन्ने विश्वास दिलाए।’
फाउन्डेसनका अनुसार पुर्जाको दूरदृष्टि, नेतृत्व र दृढ संकल्पले धेरै संस्थालाई आजको स्थानमा पु¥याएको हो।
विज्ञप्तिमा भनिएको छ, ‘उहाँको विरासत उहाँले परिवर्तन गरेका अनगिन्ती जीवन र प्रेरित गरेका मानिसहरूको माध्यमबाट सधैं जीवित रहनेछ ।’
फाउन्डेसनले थप स्पष्ट गरेको छ, ‘सम्बन्धित सबै परिवारप्रति सम्मान प्रकट गर्दै, सम्बन्धित निकायबाट पुष्टि भएको जानकारीबाहेक हामी थप कुनै टिप्पणी गर्ने छैनौं । निम्स तथा यस दुर्घटनामा ज्यान गुमाउने सबैलाई श्रद्धाञ्जलि। तपाईंहरू कहिल्यै बिर्सिनुहुने छैन । तपाईंहरूको आत्मा, उद्देश्य र विरासतले आगामी पुस्ताहरूलाई सधैं प्रेरित गरिरहनेछ ।’
फाउन्डेसनका अनुसार, यो दुर्घटना बिहीबार दिउँसो करिब १२ बजे भएको थियो। ८,०४७ मिटर अग्लो ब्रोड पिक आरोहण गरिरहेको १० सदस्यीय टोली करिब ६,६०० मिटर उचाइमा पुगेका बेला विशाल हिमपहिरो आएको थियो। टोलीसँग बिहीबार बिहानदेखि सम्पर्क विच्छेद भएको थियो भने सोही साँझ ठूलो हिमपहिरो आएको खबर सार्वजनिक भएको थियो। (एएनआई)
मागेरै विश्व घुम्ने योजना : ‘माग्नेको घरमा सन्यासी पाहुना’
काठमाडौं । सामान्यत विदेशी पर्यटक नेपाल आउँदा प्रशस्त खर्च गर्छन भन्ने मान्यता राखिन्छ । तर सबै विदेशी खर्च गर्न मात्र आउँदैनन् । कोही मगन्तेका रुपमा पनि सडक पेटीमा भेटिने गरेका छन् ।
हालैको एक दिन काठमाडौं न्यूरोडस्थित सडक किनारमा भने फरक दृश्य देख्न देखियो । रुसबाट आएकी ‘लिरा’ नाम बताउने एक विदेशी महिला वास्तवमै मगन्तेको रुपमा देखिइन् । मुस्कुराउँदै र बाजा(स्टिल टङ ड्रम ह्यान्डप्यान) बजाएर
सहयोग मागिरहेको दृश्यले धेरैको ध्यान तानेको छ ।
पहिलो नजरमा उनी कुनै कलाकारजस्तै देखिन्छिन् । सडक किनारमा बसेर उनले ओम लेखिएको कालो धातुको भाँडा अर्थात ह्यान्डप्यान ताल मिलाएर बजाइरहेकी हुन्छिन् । अनुहारमा सँधै चमक र मुस्कान देखिन्छ । साथमै राखिएको सानो ब्यागमा बाटो हिँड्ने मानिसहरूले आफ्नो इच्छाअनुसार रकम राखेर अघि बढिरहेका देखिन्छन् ।
नेपालमा सडक किनारमा बसेर सहयोग माग्ने दृश्य नयाँ होइन । तर कुनै विदेशी नागरिक नेपाली सडकमा यसरी बाजा बजाउँदै सहयोग मागिरहेको दृश्य भने धेरैका लागि नौलो बनेको छ ।
विदेशी देख्नेबित्तिकै उनीहरू आर्थिक रूपमा सम्पन्न हुन्छन् भन्ने आमधारणा रहेको नेपाली समाजमा यो दृश्यले फरक सन्देश दिएको छ । सबैले आर्थिक अभावका कारण मात्र माग्ने गर्दैनन्, कतिपयले आफ्नो यात्रा र जीवनशैलीकै एक भागका रूपमा पनि यस्तो अभ्यास अपनाउने गरेका हुन्छन् ।
ती महिलाले आफ्नो छेउमा सहयोग रकम राख्नका लागि एउटा झोला राखेकी छन्। साथै, एउटा प्लेकार्डमा नेपालीले सजिलै बुझ्ने भाषामा लेखिएको छ–‘म रुसबाट हुँ । पाँच वर्षदेखि विभिन्न देश घुम्दैछु । अब उज्बेकिस्तान जाँदैछु । धन्यवाद ।’ प्लेकार्डमा उनले आफ्नो इन्स्टाग्राम आइडी पनि उल्लेख गरेकी छन् ।
उनका अनुसार उनी विगत पाँच वर्षदेखि विभिन्न देश घुम्दै यात्रा गरिरहेकी छन् । नेपालपछि उनको गन्तव्य उज्बेकिस्तान हो । यात्रा गर्ने क्रममा विभिन्न देशका सडक किनारमा बसेर बाजा बजाउने र मानिसहरूले स्वेच्छाले दिएको सहयोगबाट आफ्नो यात्रा अघि बढाउने उनको उद्देश्य रहेको देखिन्छ ।
काठमाडौंको व्यस्त सडकमा मुस्कुराउँदै बाजा बजाइरहेकी ती विदेशी महिलाले धेरैको ध्यान मात्र खिचेकी छैनन्, विदेशीप्रति नेपाली समाजमा रहेको परम्परागत धारणा र सडक संस्कृतिबारे पनि नयाँ विषय बनाएकी छन् ।
गृह मन्त्री र मृतकका परिवारबीच सहमति
सिरहा । नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङले सिरहाको गोलबजारमा गोली लागेर मृत्युु भएका गणेश यादवको परिवारसँग आठबुँदे सहमति गरेको छ ।
विहीबार मध्यराति मृतका घर औरही गाउँपालिका वडा नं. २ तुलसीयाही पुग्नु भएका गृह मन्त्री गुरुङ र पीडित परिवारबीच घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने, क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, मृतकका परिवारका सदस्यलाई निःशुल्क शिक्षाको सुनिश्चितता गर्नुपर्नेलगायत मागमा सहमति भएको गृह मन्त्री गुरुङले उल्लेख गरे ।
सरकारको तर्फबाट गृहमन्त्री सुधन गुरुङ र मृतकका तर्फबाट उनका बुबा रामवृक्ष यादवले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
सुनसरीको देवानगञ्जमा भएको घटनाको विरोधमा गोलबजारमा प्रदर्शन गरिरहेका बेला साउन १४ गते प्रहरीको गोली लागेर गणेश यादवको मृत्यु भएको हो ।
यसैबीच जिल्ला प्रशासन कार्यालय सिरहाले लहान नगरपालिका र गोलबजार नगरपालिका आसपासका क्षेत्रमा लगाउँदै आएको कफ्र्यू आदेश मध्ये लहानको जनजीवन सामान्य बन्दै गएपछि लहान नगरपालिका क्षेत्रभित्रमा लगाइएको कफ्र्यू हटाएको छ ।
लहान नगर क्षेत्रभित्र लगाइएको कफ्र्यु हटाएपछि आसपासका क्षेत्रहरुमा मानिसहरुको चहल पहल बढेको छ भने चारपांग्रे र दुई पांग्रे यातायातका साधनहरु पनि चल्न थालेको छ । तर गोलबजार क्षेत्रभित्र सुरक्षास्थिति सामान्य नभइसकेकोले उक्त स्थानमा कफ्र्यू आदेश यथावत रहेको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ । थप हिंसा बढ्न नदिन गोलबजार क्षेभित्र सुरक्षाकर्मीहरुको वाक्लो उपस्थिति रहेको छ । मानिसहरुको चहल पहल हुन भने सकेको छैन । बजार पसल बन्द छ ।
गणेश यादवका परिवार र सरकारबीच सातबुँदे सहमति
सिरहा । सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवका परिवार र सरकारबीच आठबुँदे सहमति भएको छ।
शुक्रबार गृह मन्त्रालय र मृतकका अभिभावकबीच भएको सहमतिअनुसार सरकारले गणेश यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
सहमतिपत्रमा साउन १४ गते गोलबजार क्षेत्रमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानूनबमोजिम कारबाही प्रक्रिया तत्काल अघि बढाइने उल्लेख छ।
त्यस्तै मृतकका परिवारका एक योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिको प्रतिवेदनका सुझाव तथा सिफारिसहरू कानूनबमोजिम कार्यान्वयन गर्ने तथा मृतकको सम्झनामा गाउँपालिकाको उपयुक्त स्थानमा स्थानीय सरकारसँग समन्वय गरी स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ।
सहमतिअनुसार मृतक गणेश यादवको अन्त्येष्टि आज १६ गते बिहान १० बजे गरिनेछ।
त्यसैगरी मृतककी आमा र बहिनीको निःशुल्क शिक्षाको व्यवस्था तथा मृतकका बुबा–आमाको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था नेपाल सरकारले मिलाउने प्रतिबद्धता पनि सहमतिपत्रमा उल्लेख गरिएको छ।
सहमतिपत्रमा मृतकका बुबा रामवृक्ष यादव र गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका छन्।
गणेश यादवको अन्त्येष्टि आज गरिँदै
सिरहा । सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको अन्त्येष्टि आज गरिने भएको छ। सुनसरीको घटनालाई लिएर गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका यादवका परिवार र सरकारबीच आठबुँदे सहमति भएपछि अन्त्येष्टिको तयारी अघि बढाइएको हो।
सहमतिअनुसार सरकारले गणेश यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाउने, परिवारलाई १) लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने तथा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।
त्यस्तै मृतकका परिवारका एक योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, गणेश यादवको नाममा स्मृति पार्क निर्माण गर्ने, मृतककी बहिनीको निःशुल्क शिक्षा तथा बुबा–आमाको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाउने सहमति पनि भएको छ।
गृहमन्त्री सुदन गुरुङले पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको शव परिवारलाई बुझाएर आज अन्त्येष्टि गरिने जानकारी दिएका छन्।
यसअघि परिवारले आफ्ना माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिएको थियो। सरकार र परिवारबीच सहमति भएपछि अन्त्येष्टिको प्रक्रिया अघि बढाइएको हो।
देवानगञ्ज घटनापछि सरकार–पीडित परिवारबीच ६ बुँदे सम्झौता
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा श्रावण १० गते भएको घटनामा ज्यान गुमाएका परिवार र सरकारबिच ६ बुँदे सहमति भएको छ ।
घटनामा ज्यान गुमाएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताका परिवार र गृह मन्त्रालयबिच ६ बुँदे सम्झौता भएको हो ।
सम्झौताअनुसार गृह मन्त्रालयले पीडित परिवारका प्रमुख मागहरूलाई यथाशीघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल सरकारले मृतकद्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने र प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।
घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीउपर प्रचलित कानुन बमोजिम तत्काल कानुनी कारबाही अगाडि बढाउने दुई पक्षबिच सहमति भएको छ ।
घटनाको अध्ययनका लागि गठित छानबिन समितिको प्रतिवेदनका सुझाव तथा सिफारिसहरू कानूनबमोजिम कार्यान्वयन गर्ने तथा मृतकद्वयको स्मृतिमा स्थानीय सरकारसँग समन्वय गरी गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ ।
जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग
जनकपुर । हिन्दू सम्राट सेनाको आह्वानमा जनकपुरधामको बजार बन्द गरिएको छ ।
जनकपुरधामका हिन्दू युवाहरूले जनकपुर बजार बन्द गराएका छन् । उनीहरुले प्रत्येक मुख्य चोकमा टायर बालेर प्रदर्शन गरेका छन् भने सुनसरी घटनाको विरोध गर्दै गृहमन्त्रीको राजीनामा पनि माग गरेका छन्।
उनीहरुले हिन्दु राष्ट्र कायम गर हिन्दु मार्न पाइँदैन, मुस्लिम आयोग खारेज गर लगायतका नारा लगाउँदै जनकपुर बजार बन्द गराउँदै हिँडेका छन्।
जनकपुरधामको सम्पूर्ण बजार अहिले ठप्प बनेको छ । प्रत्येक चोकमा ठूलो संख्यमा प्रहरी प्रशासन तथा सेना परिचालन गराइएको छ । बजार बन्दले सर्वसाधारणको दैनिक जीवनयापन प्रभावित बनेको छ।