मङ्गलबार, ०२ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01KZD15G6ESDX7QC9A6X30GZZY.jpeg

प्रतिनिधिसभाको आजको बैठकमा चार विधेयक पेस हुने

काठमाडौं। सङ्घीय संसद् प्रतिनिधिसभाको दोस्रो अधिवेशनअन्तर्गत शुक्रबार बस्ने बैठकमा विभिन्न चार विधेयक प्रस्तुत गरिने भएको छ।

संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीअनुसार दिउँसो १ बजे बस्ने बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्नेछन् । 

यस्तै, प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाका शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राखी विधेयक पेस गर्ने कार्यसूची रहेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावसहित विधेयक पेस गर्ने कार्यसूची रहेको छ । 

त्यसैगरी, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव तथा विधेयक पेस गर्ने कार्यसूचीमा उल्लेख छ।

यस्तै, परराष्ट्र मन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राखी विधेयक पेस गर्नेछन् । 

प्रकाशित मितिः शुक्रबार, २२ साउन २०८३
https://jawaaf.com/storage/01KZAZG1EAM4SMG0SNVHSXQQJR.jpeg

हिरोसिमामा आणविक बम आक्रमणको ८१औँ वर्षगाँठ : आणविक हतियारमुक्त विश्वको आह्वान

काठमाडौं । जापानले बिहीबार हिरोसिमामा भएको आणविक बम आक्रमणको ८१औँ वर्षगाँठ मनाएको छ । सन् १९४५ को दोस्रो विश्वयुद्धका क्रममा भएको उक्त विनाशकारी घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित कार्यक्रममा आणविक हतियारमुक्त विश्व निर्माणको आह्वान गरिएको छ ।

जापानी सार्वजनिक प्रसारक एनएचकेका अनुसार हिरोसिमास्थित पिस मेमोरियल पार्कमा आयोजित वार्षिक स्मृति समारोहमा प्रधानमन्त्री ताकाइची सानेसहित १२३ देश तथा क्षेत्रका प्रतिनिधिहरू सहभागी भएका थिए । कार्यक्रममा आणविक आक्रमणमा मृत्यु भएका व्यक्तिहरूलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

समारोहका क्रममा हिरोसिमा आणविक बम पीडितहरूको अद्यावधिक नामावली स्मारकमा राखिएको थियो । उक्त सूचीमा पछिल्लो एक वर्षमा निधन भएका जीवित पीडित (हिबाकुसा) सहित कुल ३ लाख ५३ हजार ६३९ जनाको नाम समावेश गरिएको छ ।

सन् १९४५ अगस्ट ६ मा बिहान ८ बजेर १५ मिनेटमा अमेरिकाले हिरोसिमामा ‘लिटिल ब्वाई’ नामक युरेनियम आधारित आणविक बम खसालेको थियो । उक्त आक्रमणले सहरलाई पूर्ण रूपमा ध्वस्त बनाएको थियो । विस्फोट, तापीय प्रभाव र विकिरणका कारण सन् १९४५ को अन्त्यसम्म करिब १ लाख ४० हजार मानिसको मृत्यु भएको अनुमान गरिएको छ ।

हिरोसिमा आक्रमणको तीन दिनपछि अगस्ट ९ मा अमेरिकाले नागासाकीमा दोस्रो आणविक बम ‘फ्याट म्यान’ खसालेको थियो । त्यसपछि जापानले अगस्ट १५, १९४५ मा आत्मसमर्पण घोषणा गरेसँगै दोस्रो विश्वयुद्ध अन्त्य भएको थियो ।

आणविक बमबाट बाँचेका पीडितहरूलाई जापानमा ‘हिबाकुसा’ भनिन्छ । उनीहरूले दशकौँदेखि आणविक हतियार उन्मूलनका लागि अभियान चलाउँदै आएका छन् । तर विकिरणका कारण धेरै पीडितले जीवनभर क्यान्सर तथा अन्य स्वास्थ्य समस्यासँग जुध्नुपरेको एनएचकेले जनाएको छ ।

जापानमा अझै करिब ९१ हजार हिबाकुसा जीवित रहेको र उनीहरूको औसत उमेर ८६ वर्ष रहेको जनाइएको छ । पछिल्लो समय विश्वव्यापी सुरक्षा चुनौती बढ्दै गएको भन्दै आणविक जोखिमप्रति चिन्ता थपिएको छ ।

अमेरिका र रुसबीचको नयाँ स्टार्ट सन्धि फेब्रुअरीमा समाप्त हुनु तथा आणविक हतियार अप्रसार सन्धिको समीक्षा सम्मेलनले अन्तिम दस्तावेज पारित गर्न नसक्नुले पनि जोखिम बढाएको एनएचकेले उल्लेख गरेको छ । हिरोसिमाले ८१औँ वर्षगाँठको अवसरमा पुनः अन्तर्राष्ट्रिय समुदायलाई आणविक हतियारको पूर्ण उन्मूलन र दीर्घकालीन विश्व शान्तिका लागि पहल गर्न आग्रह गरेको छ । एएनआई

प्रकाशित मितिः बिहिबार, २१ साउन २०८३
https://jawaaf.com/storage/01KZAHPNJ2AATK45C3T3TYK9DX.jpeg

बंगलादेश फर्किने घोषणा गर्दै शेख हसिनाले भनिन ‘जेल, गिरफ्तारी वा मृत्युको डर छैन’

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्किने घोषणा गरेकी छन् । भारतको नयाँदिल्लीबाट बुधबार आयोजित आफ्नो पहिलो भर्चुअल पत्रकार सम्मेलनमा उनले गिरफ्तारी, कारावास वा ज्यानको जोखिम जस्ता कुनै पनि परिणाम भोग्न तयार रहेको बताएकी हुन् ।

गत वर्ष बंगलादेशमा व्यापक आन्दोलनपछि सत्ता गुमाएर भारतमा बस्दै आएकी हसिनाले आफू देश र जनताबाट टाढा बस्न नसक्ने बताइन् । ‘मेरो प्रिय देशवासीहरू कठिन अवस्थामा छन् । उनीहरू दुःख पाइरहेका बेला म विदेशमा बसिरहन सक्दिनँ । म डिसेम्बरमा स्वदेश फर्किन चाहन्छु,‘ उनले भनिन् ।

स्वदेश फर्किएपछि आफूलाई जेल हाल्न, पक्राउ गर्न वा राजनीतिक उद्देश्यले प्रेरित मुद्दा लगाउन सकिने सम्भावना रहेको स्वीकार गर्दै हसिनाले त्यस्ता जोखिमले आफ्नो निर्णय नबदल्ने स्पष्ट पारिन् । ‘उनीहरूले मलाई मार्न सक्छन, जेल पठाउन सक्छन् वा झुटा राजनीतिक मुद्दा लगाउन सक्छन् । तर डरले जनताप्रतिको मेरो कर्तव्य निर्धारण गर्न सक्दैन,‘ उनले भनिन् ।

आफ्नो राजनीतिक जीवनका कठिन अनुभव स्मरण गर्दै हसिनाले सन् १९७१ मा आमासँगै बन्दी जीवन बिताएको, छोरा साजिब वाजेद जोय जेलमै जन्मिएको तथा सन् १९७५ मा परिवारका अधिकांश सदस्य गुमाएको उल्लेख गरिन् । त्यसपछि आफूले छ वर्ष निर्वासनमा बिताएको भन्दै उनले वर्तमान निर्णय ती अनुभवबाट नै प्रेरित भएको बताइन् ।

हसिनाले बंगलादेश फर्किने उद्देश्य जनताको साथमा उभिने र उनीहरूको जीवनस्तर सुधार्न योगदान पु¥याउने रहेको दाबी गरिन् । साथै उनले आफ्नो पार्टी अवामी लिगमाथि लगाइएको प्रतिबन्ध तत्काल हटाउन, पार्टीका पक्राउ परेका नेताहरूलाई रिहा गर्न तथा सदस्यहरूमाथिका सबै मुद्दा फिर्ता लिन सरकारसँग माग गरिन् ।

यसैबीच भारत सरकारले उक्त पत्रकार सम्मेलनसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले सम्मेलनमा व्यक्त गरिएका विचारलाई भारत सरकारले समर्थन नगर्ने बताएका छन् । भारतले शेख हसिनालाई शरण दिए पनि भारतीय भूमिबाट अर्को सार्वभौम राष्ट्रविरुद्ध राजनीतिक गतिविधि सञ्चालन गर्न नदिने नीति अवलम्बन गरेको मन्त्रालयले जनाएको छ ।

तर ढाकाले भने हसिनालाई भारतबाट राजनीतिक अभिव्यक्ति दिन अनुमति दिइएको विषयमा असन्तुष्टि जनाएको छ । कूटनीतिक स्रोतहरूका अनुसार यस घटनाले भारत–बंगलादेश सम्बन्धमा थप तनाव उत्पन्न गर्न सक्ने आशंका गरिएको छ ।

बंगलादेशमा सन् २०२४ मा व्यापक आन्दोलनपछि हसिनाको सरकार पतन भएको थियो । त्यसपछि नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो ।

फेब्रुअरी २०२६ मा सम्पन्न संसदीय निर्वाचनमा बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) विजयी भएको थियो भने अवामी लिगलाई निर्वाचनमा सहभागी हुन प्रतिबन्ध लगाइएको थियो । वर्तमान सरकारले हसिनाले लगाउँदै आएका राजनीतिक प्रतिशोधका आरोपहरू निरन्तर अस्वीकार गर्दै आएको छ ।

यसैबीच भारतले आगामी सेप्टेम्बरमा आयोजना हुने ब्रिक्स शिखर सम्मेलनमा बंगलादेशका प्रधानमन्त्री तारिक रहमानलाई निमन्त्रणा गरिएको पुष्टि गरेको छ । भारतका अनुसार रहमानलाई बिमस्टेक अध्यक्षको हैसियतमा ब्रिक्स आउटरीच सत्रमा सहभागी हुन निमन्त्रणा गरिएको हो ।

प्रकाशित मितिः बिहिबार, २१ साउन २०८३
https://jawaaf.com/storage/01KZAF662JK0YDBWQS7TM9N6TM.jpg

काठमाडौंमा होटेल–रेष्टुरेन्टलाई प्रशासनको कडा निर्देशन : धुम्रपान क्षेत्र कानुनअनुसार व्यवस्थित गर्न आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाभित्र सञ्चालित होटेल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन दिएको छ । 

बुधबार सूचना जारी गर्दै प्रशासनले जिल्लाभित्र सञ्चालित होटेल तथा रेष्टुरेन्टहरूलाई धुम्रपानसम्बन्धी कानुनी व्यवस्था कडाइका साथ पालना गर्न निर्देशन दिएको हो ।

प्रशासनले सूर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ अनुसार धुम्रपान गर्न मिल्ने र नमिल्ने स्थान स्पष्ट रूपमा छुट्याउन तथा धुम्रपानका लागि छुट्याइएको स्थान चारैतिरबाट बन्द हुने र त्यसको धुवाँ अन्य व्यक्तिमा नपुग्ने गरी व्यवस्थापन गर्न सबै होटल तथा रेष्टुरेन्ट सञ्चालकलाई निर्देशन दिएको हो ।

कार्यालयले तोकिएका निकायसँग समन्वय गरी नियमित अनुगमन गरिने जनाएको छ । अनुगमनका क्रममा कानुन विपरीत धुम्रपानको व्यवस्था गरिएको वा ऐनको पालना नगरेको पाइएमा सूर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ को दफा १७ बमोजिम अधिकतम कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

प्रकाशित मितिः बिहिबार, २१ साउन २०८३
https://jawaaf.com/storage/01KZ8J040HR352X2ARXJ75E2DB.jpg

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नियुक्त गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

साथै सरकारले सुनसरी र सिरहामा गोली लागेर मृत्यु भएकाका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय समेत गरेको छ । 

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु 

१.तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने ।

२.लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्ति गर्ने ।

३. नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश, २०५४ खारेज गर्ने र नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने।

४.पशु बधशाला र मासु जाँच ऐन, २०५५ चरणबद्ध रुपमा नेपाल राज्यभर लागू गर्ने।

५.बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ सङ्घीय संसदसमक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने।

६.विश्वविद्यालय अनुदान आयोगमा रिक्त रहेको अध्यक्ष पदमा प्राध्यापक डाक्टर खड्ग बहादुर केसी र सचिव पदमा प्राध्यापक डाक्टर रोजिश श्रेष्ठलाई नियुक्ति गर्ने।

७. सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेहरुलाई क्षतिपूर्ति, राहत, उपचारको व्यवस्था गर्ने ।

प्रकाशित मितिः बुधबार, २० साउन २०८३
https://jawaaf.com/storage/01KZ5K3CZ9J86C607T30439KAX.jpg

गोरखाको घ्याम्पेसालमा नयाँ सबस्टेसन सञ्चालनमा

काठमाडौं । गोरखाको भीमसेन थापा गाउँपालिकास्थित घ्याम्पेसालमा निर्माण सम्पन्न भएको ३३÷११ केभी सबस्टेसन सफलतापूर्वक चार्ज भएको छ । लामो समयदेखि स्थानीय अवरोध तथा ‘राइट अफ वे’ सम्बन्धी समस्याका कारण सञ्चालनमा आउन नसकेको उक्त सबस्टेसन सञ्चालनमा आएपछि उत्तरी गोरखाको विद्युत् आपूर्ति प्रणाली थप गुणस्तरीय, भरपर्दो र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनामार्फत उक्त सबस्टेसन निर्माण गरिएको हो । एसियाली विकास बैंक (एडीबी) र नेपाल सरकारको संयुक्त लगानीमा आयोजना सञ्चालन भएको हो ।

आयोजनाअन्तर्गत डोटी, कैलाली, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, रुपन्देही, नवलपरासी, तनहुँ, गोरखा र म्याग्दी लगायतका जिल्लामा ३३÷११ केभी सबस्टेसन, ३३ केभी प्रसारण लाइन, ११ केभी फिडर तथा ४०० भोल्टको एलटी वितरण लाइन निर्माण गर्ने कार्यक्रम रहेको छ ।

नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले लामो समयदेखि अवरुद्ध रहेको घ्याम्पेसाल सबस्टेसन सञ्चालनमा आएपछि उत्तरी गोरखाका नागरिकले ठूलो लाभ पाउने बताए ।

उनले भने,‘बिगत लामो समयदेखि स्थानीयबाट अवरुद्ध भएको यो सबस्टेसन सञ्चालनमा आएपछि उत्तरी गोरखाका ६ वटा गाउँपालिकाका करिब १५ हजार जनताले भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पाउनेछन् । साथै, निर्माणाधीन बारपाक दरौंदी हाइड्रोपावरबाट उत्पादन हुने १० मेगावाट विद्युत् समेत यही सबस्टेसनमार्फत राष्ट्रिय विद्युत् प्रणालीमा जोडिनेछ ।’

सबस्टेसन सञ्चालनमा आएपछि उत्तरी गोरखाका गाउँपालिकाहरूमा विद्युत् आपूर्तिमा देखिँदै आएको समस्या समाधान हुने र भोल्टेज सुधार हुने अपेक्षा गरिएको छ । यसअघि गोरखा बजार सबस्टेसनबाट लामो दूरीमा विद्युत् आपूर्ति हुँदा उत्तरी क्षेत्रमा लाइन अवरुद्ध हुने तथा गुणस्तरमा समस्या आउने गरेको थियो ।

भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जाराले घ्याम्पेसाल सबस्टेसन सञ्चालनले उत्तरी गोरखाका बासिन्दाको लामो समयदेखिको अपेक्षा पूरा भएको बताए ।

उनअनुसार सबस्टेसन पूर्ण क्षमतामा सञ्चालनमा आएपछि उत्तरी गोरखाका बासिन्दाले नियमित र गुणस्तरीय विद्युत् सेवा पाउनेछन् भने गोरखा बजार सबस्टेसनमा पर्ने भारसमेत कम भई लाइन अवरुद्ध हुने समस्या न्यून हुनेछ ।

घ्याम्पेसाल सबस्टेसन सञ्चालनसँगै उत्तरी गोरखामा औद्योगिक, कृषि तथा पर्यटनसम्बन्धी गतिविधि विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, यस क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित ऊर्जा राष्ट्रिय प्रणालीमा जोड्न पनि सहज हुने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मितिः मङ्गलबार, १९ साउन २०८३
https://jawaaf.com/storage/01KZ3EHSWVEKY7P3S6WXQG6EH1.jpeg

सिन्धुलीको नवलपुरघाटमा दुर्घटना : सुनकोशीमा खसेको कारका सवारको पहिचान खुल्यो

रामेछाप । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीमा खसेको कारमा सवार यात्रुहरुको पहिचान खुलेको छ ।  

सिन्धुली प्रहरीका अनुसार आज बिहान करिब ११ः४५ बजे काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र.०८–००१ ख ०१४४ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट खोटाङबाट खुर्कोटतर्फ आउँदै गरेको सडक विभाग यान्त्रिक कार्यालय मुलकोट, मध्यपहाडी लोकमार्गअन्तर्गत प्रयोग हुने कारलाई ठक्कर दिएको थियो । ठक्करपछि कार करिब ५० फिट तल सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कार चालक सिन्धुपाल्चोक निवासी करिब ३९ वर्षीय दिलकुमार लामा, स्काइभेटर चालक सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ निवासी करिब २७÷२८ वर्षीय गणेश थापा तथा नाम, थर र वतन नखुलेका अन्य दुई जना बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनाग्रस्त कार सडक विभाग यान्त्रिक कार्यालय मुलकोट, मध्यपहाडी लोकमार्गसँग सम्बन्धित रहेको जनाइएको छ । यसअघि प्राप्त जानकारीअनुसार कारसँग सम्बन्धित चालक तिलकुमार लामा मध्यपहाडी लोकमार्ग निर्माण आयोजनासँग आबद्ध कन्ट्र्याक्टर रहेको बताइएको थियो । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

दुर्घटनापछि बसका चालक फिक्कल गाउँपालिका–६ निवासी २६ वर्षीय हेमबहादुर तामाङलाई नियन्त्रणमा लिई बससहित खाङसाङ प्रहरी चौकीमा राखिएको सिन्धुली प्रहरीले जनाएको छ ।

प्रहरी, सशस्त्र प्रहरी तथा अन्य उद्धार टोली घटनास्थलमा परिचालित भई सुनकोशी नदीमा बेपत्ता कार र चारै जनाको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ । घटनाबारे थप विवरण आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः सोमबार, १८ साउन २०८३
https://jawaaf.com/storage/01KZ372VCMMH5N2AP133DM1G01.jpeg

बिपी राजमार्ग : अत्यधिक सवारीचाप, खराब सडक र उर्लँदो खोलाको जोखिमपूर्ण यात्रा

रामेछाप । काठमाडौंबाट पूर्वी नेपालका विभिन्न जिल्लामा आवतजावत गर्ने प्रमुख तथा सबैभन्दा छोटो मार्गका रूपमा रहेको बिपी राजमार्गको यात्रा वर्षायाममा थप जोखिमपूर्ण बनेको छ । 

अत्यधिक सवारीचाप, तीन वर्षअघि बाढीले क्षति पुर्याएको सडकको पुनर्निर्माण अझै सम्पन्न नहुनु तथा रोशी र सहायक खोलाहरुमा आउने आकस्मिक बाढीका कारण यात्रुले दैनिक सास्ती भोग्नुपरेको छ ।

काठमाडौंबाट काभ्रे र सिन्धुली हुँदै रामेछाप, दोलखा, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, भोजपुर, संखुवासभा तथा पूर्वी तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, झापा हुँदै धनकुटा, इलाम र ताप्लेजुङसम्म पुग्ने प्रमुख मार्गका रूपमा रहेको बिपी राजमार्गको पुनर्निर्माण समयमै सम्पन्न नहुँदा यात्रु तथा सवारी चालकहरू उच्च जोखिममा यात्रा गर्न बाध्य भएका छन् ।

तीन वर्षअघि रोशी खोलामा आएको बाढीले राजमार्गको विभिन्न भाग बगाएपछि खोलाको किनार हुँदै अस्थायी सडक निर्माण गरेर सवारी सञ्चालन गरिएको छ । तर, माथिबाट निरन्तर झर्ने लेदो र हिलोका कारण यात्रा थप जोखिमपूर्ण बन्दै गएको छ ।

सवारी चालकहरूका अनुसार रोशी खोला तथा त्यसका सहायक खोलाहरूमा वर्षासँगै आउने बाढीले जुनसुकै बेला सडक बगाउने जोखिम रहन्छ । जलाधार क्षेत्रमा वर्षा सुरु हुनासाथ प्रहरीले सुरक्षाका लागि सवारी आवागमन रोक्ने गरेको छ । कतिपय दिनमा तीन–चार पटकसम्म यातायात अवरुद्ध हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र पर्ने गरेका छन् ।

रोशीका सहायक खोलाहरूमा आउने बाढीले विशेषगरी दुईपाङ्ग्रे सवारीसाधन बगाउने घटना पटक–पटक दोहोरिने गरेको स्थानीयले बताएका छन् । यसले यात्रुको सुरक्षाप्रति थप चिन्ता बढाएको छ ।

यस वर्ष वर्षायामअघि नयाँ ट्र्याकबाट सवारी सञ्चालन गर्ने योजना भए पनि केही स्थानबाहेक अधिकांश क्षेत्रमा अझै अस्थायी सडककै भरमा यातायात सञ्चालन भइरहेको छ । समयमै पुनर्निर्माण सम्पन्न हुन नसक्दा बिपी राजमार्ग प्रयोग गर्ने हजारौं यात्रुको यात्रा अझै जोखिमपूर्ण बनेको छ ।

प्रकाशित मितिः सोमबार, १८ साउन २०८३
https://jawaaf.com/storage/01KZ2WSD9D28WY4R70TABJ1P7X.jpeg

भारतको बिहारमा यात्रुवाहक रेलमा आगलागी

काठमाडौं । भारतको बिहार राज्यस्थित सहरसा जिल्लामा सोमबार बिहान यात्रुवाहक रेलको इन्जिन र त्यससँग जोडिएको एक डब्बामा आगलागी भएको छ । आगलागीपछि यात्रुहरूलाई तत्काल सुरक्षित रूपमा बाहिर निकालिएको र कुनै मानवीय क्षति नभएको अधिकारीहरूले बताएका छन् ।

समस्तीपुर–सहरसा यात्रुवाहक रेल (नम्बर ६३३४४) को इन्जिनमा सिमरी बख्तियारपुर रेल स्टेशनमा बिहान करिब ३ः४० बजे आगलागी भएको हो । सहरसा अग्नि नियन्त्रण कार्यालयका सहायक अग्नि अधिकृत निरञ्जन कुमारका अनुसार रेलको इन्जिनमा आगो लागेको सूचना प्राप्त हुनासाथ फोम टेन्डर र पानी टेन्डरसहितको टोली घटनास्थल पठाइएको थियो ।

आगलागी अहिले नियन्त्रणमा आइसकेको छ । ‘रेल इन्जिनमा आगो लागेको जानकारी प्राप्त भएपछि तत्काल उद्धार टोली परिचालन गरिएको थियो। आगो नियन्त्रणमा आइसकेको छ र हालसम्म मानवीय क्षतिको कुनै जानकारी प्राप्त भएको छैन,‘ उनले भने ।

घटनाका एक यात्रुले बिहान करिब ३ः४० बजे रेलमा आगलागी भएको र त्यसका कारण यात्रुहरूले ठूलो सास्ती व्यहोर्नुपरेको बताए । आगलागीपछि यात्रुहरू अलपत्र परेका छन् भने रेल सेवासमेत प्रभावित भएको छ ।

आगलागीको कारण भने अझै खुल्न सकेको छैन । घटनाबारे सम्बन्धित निकायले अनुसन्धान सुरु गरेको जनाएको छ । यसअघि गत मे महिनामा पनि बिहारको मधुबनी रेलवे स्टेशनमा उभिएको जयनगर–उधना अन्त्योदय एक्सप्रेसका खाली डब्बाहरूमा आगलागी भएको थियो। प्लेटफर्ममा शन्टिङ भइरहेको बेला लागेको आगोले एक डब्बा पूर्ण रूपमा जलेर नष्ट भएको थियो । एएनआई

प्रकाशित मितिः सोमबार, १८ साउन २०८३
https://jawaaf.com/storage/01KZ2VPMMK3K1XBPBD8P1DMVWD.jpg

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्य बढाएको हो । 

निगमले पेट्रोल प्रतिलिटर ३ रुपैयाँ, डिजेल÷मट्टितेल ५ रुपियाँ र हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँले बढाएको हो । यसैगरी ,अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १३१ ले बढेको छ । 

इण्डियन आयल कर्पोरेसनले ३१ जुलाई, २०२६ मा पठाएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा २० रुपियाँ १९ पैसा, डिजेलमा ३९ रुपियाँ ६७ पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुपियाँ ६ पैसा बढेर आएको छ ।

प्रकाशित मितिः सोमबार, १८ साउन २०८३