साफ यु १९ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित
काठमाडौं । साफ यु १९ च्याम्पियनसिपको सेमिफाइनल पुगिसकेको दुई टोलीबिचको प्रतिस्पर्धामा नेपाल भारतसँग ४–० गोल अन्तरले पराजित भएको छ ।
समूह चरणको अन्तिम खेलमा जित निकालेको भारत समूह विजेता बन्न सफल भएको हो । पराजित भएसँगै नेपाल उप विजेता बनेको छ ।
भारतको अरुणान्चलस्थित गोल्डेन जुबिली रंगशालामा खेलको २८ औं मिनेटमा रोहेन सिंहले गोल गरे । यो गोल भएको एक मिनेट बित्न नपाउँदै ओमाङ्ग डोडुमले गोल गर्दा भारतले २–० को अग्रता बनायो ।
पहिलो हाफमा २–० ले पछि परेको नेपाल दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन । भारतले एकपक्षीय दबाब बनायो। ७६ औं मिनेटमा रोहेनले व्यक्तिगत दोस्रो गोल गरे ।
भारत यतिमा मात्र रोकिएन । ८४ औं मिनेटमा ड्यानी मिटेले अर्को एक गोल थपे। यो सँगै नेपालले भारतसँग फराकिलो अन्तरको हार बेहोरेको छ ।
भारतले यसअघि श्रीलंकालाई ८–० ले हराएको थियो । आयोजक ६ अंक सहित समूह विजेता बन्न सफल रहयो । नेपालले यसअघि श्रीलंकालाई ५–० ले हराएको थियो। ३ अंक सहित नेपाल समूहको दोस्रोमा छ ।
अब सेमिफाइनलमा शुक्रवार भारतले समुह ‘ए’ को उपविजेता माल्दिभ्ससँग र नेपालले समुह ‘ए’ को विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
विश्वकप छनोटमा नेपाल र हङकङ भिड्दै
काठमाडौं । आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज हङकङसँग समूह चरणको तेस्रो खेल खेल्दैछ । टेर्डथाई क्रिकेट मैदान, बैंककमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो १२ः३० बजे सुरु हुनेछ ।
दुवै टोलीका लागि यो खेल निर्णायक बन्ने संकेत देखिएको छ । नेपालले यो खेल जितेमा सुपर ३ चरणमा स्थान सुरक्षित गर्नेछ । हार भएमा भने नेपालका लागि विश्वकप छनोटको यात्रा लगभग समाप्त हुने सम्भावना छ । त्यसैले नेपाली टोलीका लागि यो ‘डु–ओर–डाइ’ स्थिति भएको छ ।
नेपाल र हङकङबीचको प्रतिस्पर्धा अघिल्लो केही वर्षयता निकै प्रतिस्पर्धात्मक रहँदै आएको छ । हालसम्म भएको ९ भेटमा नेपालले ५ खेल जितेको छ भने ४ खेलमा हङकङ विजयी भएको छ ।
दुवै टोलीबीचको अन्तिम प्रतिस्पर्धा यसै वर्ष युगान्डामा भएको चारदेशीय सिरिजमा भएको थियो । उक्त सिरिजको पहिलो खेलमा नेपाल हङकङसँग २ विकेटले पराजित भएको थियो । तर, दोस्रो खेलमा नेपालले ६ विकेटको सानदार जित निकाल्दै राम्रो पुनरागमन गरेको थियो ।
नेपालले अहिले समूह ‘बी’ को अंक तालिकामा शीर्ष स्थानमा कब्जा जमाएको छ । पहिलो खेलमा हङकङसँग भिडन्त वर्षाले प्रभावित हुँदा दुवै टोलीले अंक बाँडेका थिए । दोस्रो खेलमा नेपालले कमजोर प्रतिद्वन्द्वी बहराइनलाई ९ विकेटले पराजित गरेको थियो ।
हङकङले दुवै खेलमा वर्षाको कारण अंक बाँडेको छ । त्यसैले हङकङ पनि जितको खोजीमा रहनेछ, विशेषगरी नेपालसँगको जितले ऊ पनि सुपर ३ प्रवेशको सम्भावना बलियो बनाउनेछ ।
नेपालका लागि कप्तान इन्दु बर्मा, कविता कुँवर, पूजा महतो, रुबिना क्षेत्रीजस्ता खेलाडीको प्रदर्शन निर्णायक हुने अपेक्षा गरिएको छ । अघिल्लो खेलमा ब्याटिङमा उत्कृष्ट देखिएको नेपाली टोलीले आज पनि सोही लय निरन्तरता दिन सकेमा हङकङमाथि नियन्त्रण राख्न सक्नेछ ।
स्पेनिस ला लिगाको उपाधितर्फ नजिकिँदै बार्सिलोना
काठमाडौं । स्पेनिस ला लिगाको उपाधि नजिकिँदै गर्दा एफसी बार्सिलोना एक कदम अगाडि बढेको छ । आइतबार राति सम्पन्न ‘एल क्लासिको’मा बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियाल मड्रिडलाई ४–३ ले पराजित गर्दै शीर्ष स्थानमा रहेको आफ्नो अग्रता थप मजबुत बनाएको हो ।
यो जितसँगै बार्सिलोनाले ३५ खेलबाट ८२ अंक बनाएको छ भने दोस्रो स्थानमा रहेको रियाल मड्रिडको ७५ अंक मात्र रहेको छ । अब लिगमा तीन खेल मात्र बाँकी छन्, जसमा एक खेल जिते वा सबैमा बराबरी गरे पनि बार्सिलोना सिजनको च्याम्पियन बन्नेछ ।
बार्सिलोनाले यस सिजन खेलेका चारैवटा ’क्लासिको’मा विजय हात पार्दै अपराजित कीर्तिमान बनाएको छ । पछिल्लो जित कोपा डेल रे फाइनलमा आएको थियो ।
खेलको सुरुवातमै फ्रेन्च स्टार किलियन एमबाप्पेले ५औं र १४औं मिनेटमा गोल गर्दै रियाललाई २–० को अग्रता दिलाएका थिए। तर घरेलु मैदान मुन्टजुइक रंगशालामा बार्सिलोनाले उल्लेखनीय पुनरागमन गर्दै राफिन्हा (२ गोल), लामिन यमाल र एरिक गार्सियाको गोलमार्फत पहिलो हाफमै ४–२ को अग्रता लिएको थियो ।
७०औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गरे पनि रियालले बराबरी गर्न सकेन । एमबाप्पेले यस सिजन २७ गोल गर्दै ला लिगाको शीर्ष गोलकर्ता बनेका छन् । बार्सिलोनाका रोबर्ट लेवान्डोवस्की २५ गोलसहित दोस्रो स्थानमा छन्, यद्यपि उनी आइतबारको खेलमा सुरुवाती टोलीमा थिएनन् ।
आईपीएल : पञ्जाब र मुम्बईको निर्णायक खेल आइतबार अहमदावादमा हुने
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत पन्जाब किङ्स र मुम्बई इन्डियनको आइतबारका लागि तय भएको खेल अहमदावादमा हुने भएको छ । शीर्ष दुईमा स्थान पाउनका लागि सो खेल निर्णायक हुन सक्नेछ ।
आईपीएलको शीर्ष चार स्थानमा रहनका लागि ५ टोलीका बीचमा तीव्र प्रतिस्पर्धा भइरहेको छ । गुजरात टाइटन, मुम्बई इन्डियन, पन्जाब किङ्स, रोयल च्यालेन्जर बंगलोरु र दिल्ली क्यापिटल यो प्रतिस्पर्धामा छन् ।
त्यसपछिका दुई स्थानमा रहेका कलकता नाइडर्स र लखनउ सुपर जायन्ट्सको सम्भावना न्यून भइसकेको छ । राजस्थान, सनराइजर्स हैदरावाद र चेन्नई बाहिरिएका छन् ।
शीर्ष स्थानमा रहेको गुजरात र बंगलोरुको १६ अङ्क छ । पन्जाबको १५, मुम्बईको १४ तथा दिल्लीको १३ अङ्क छ। कलकत्ता ११ र लखनउको १० अङ्क छ। मुम्बई, कलकता, राजस्थान र चेन्नईको १२ खेल सकिएको छ भने अन्य टोलीले ११ खेल खेलेका छन्।
आईपीएलमासमेत भारत–पाकिस्तान युद्धको प्रभाव देखिएको छ । शीर्ष चारका लागि पाँच टोलीको भिडन्त निर्णायक हुँदै गर्दा बिहीबारको खेल युद्धकै कारण अवरुद्ध भएको थियो । दिल्लीविरुद्ध सुरुमा ब्याटिङ गरेको पञ्जाबले एक विकेटको क्षतिमा १२२ रन बनाएपछि खेल अवरुद्ध भएको हो ।
एमबाप्पेको दुई गोलमा रियल म्याड्रिडको रोमाञ्चक जित
काठमाडौं । किलियन एमबाप्पेले दुई गोलसहित चम्किएपछि रियल म्याड्रिडले ला लिगामा आइतबार राति सेल्टा भिगोलाई ३–२ ले पराजित गरेको छ । यस जितले रियलले शीर्ष स्थानको बार्सिलोनासँगको दूरी चार अंकमा झारेको छ, र अब ‘एल क्लासिको’लाई निर्णायक बनाएको छ ।
सान्तियागो बर्नाबेउमा भएको खेलमा घरेलु टोलीले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो । खेलको ३३औं मिनेटमा सर्ट कर्नरपछि प्राप्त बललाई युवा मिडफिल्डर अरडा गुलरले डिफ्लेक्सनमा गोल पोस्टको कुनामा पठाउँदै खाता खोले । त्यसको ६ मिनेटपछि, काउन्टर अट्याकको उत्कृष्ट समापनमा एमबाप्पेले गोलरक्षक गुआइतालाई छलाउँदै दोस्रो गोल थपे ।
दोस्रो हाफको सुरुवातमै एमबाप्पेले गुलरको थ्रु पासमा दौडिँदै बाँया खुट्टाबाट पोस्टको कुनामा गोल गर्दै आफ्नो व्यक्तिगत दोहोरो गोल पुरा गरे ।
तर पाहुना टोली सेल्टा भिगो पछाडि हटेन । खेल सकिन २० मिनेट बाँकी रहँदा जाभी रोड्रिग्वेजले गोल गर्दै अन्तर घटाए । ७६औं मिनेटमा स्वेडबर्गको गोलले खेललाई ३–२ मा ल्यायो । त्यसपछि पनि सेल्टाले बराबरीको प्रयास जारी राख्यो, तर गोलरक्षक कोट्र्वाले अन्तिम क्षणमा उत्कृष्ट बचाउ गर्दै रियलको अग्रता जोगाए ।
आईपीएलमा लखनउविरुद्ध पञ्जाबको सानदार जित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतवारको दोस्रो खेलमा पञ्जाब किंग्सले सानदार जित निकालेको छ ।
लखनउ सुपर जायन्ट्सविरुद्ध ३७ रनको जित निकालेको हो । ब्याटिङमा प्रभसिमरन सिंह र बलिङमा आर्शदीप सिंह चम्किँदा यो जितसँगै पञ्जाब १५ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
प्रभसिमरन सिंहले ४८ बलमा ९१ रन जोड्दा पञ्जाबले पाँच विकेटको क्षतिका २३६ रन बनाएको थियो । जवाफमा लखनउ सात विकेटको क्षतिमा १९९ रनमा सीमित भयो । लखनउलाई जस्तैमा समेट्न आर्शदीप सिंहले चार ओभर बलिङ गर्दा मात्र १६ रन दिएर महत्त्वपूर्ण तीन विकेट हात पारे ।
जवाफी ब्याटिङकाक्रममा २७ रनमा नै तीन विकेट गुमाएको लखनउका लागि आयुस बडानीले सर्वाधिक ७४ रन जोडे । ४० बलको सामना गरेका उनले समान पाँचपाँच चौका र छक्का प्रहार गरे। अब्दुल समादले २४ बलमा ४५ रन जोडे ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबका लागि कप्तान श्रेयास ऐयारले २५ बलमा ४५ तथा शशांक सिंहले अविजित रहँदै १५ बलमा ३३ रन जोडे । पन्जाब १५ अंकसहित दोस्रो स्थानमा छ । लखनउ भने १० अंकसहित सातौं स्थानमा छ ।
आइतवार नै भएको पहिलो खेलमा भने कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई एक रनले पराजित गरेको थियो ।
लायन्स कप भलिबलमा एपिएफलाई हराउँदै पुलिस फाइनलमा
पोखरा । पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान पक्का गरेको हो ।
दोेस्रो सेमिफाइनलमा पुलिसले एपिएफलाई पहिलो सेट २५–१७, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१५ को सोझो सेटमा पराजित गर्न सफल रह्यो । पुलिसले अब उपाधिका लागि इरानी टोलीसँग खेल्नेछ ।
यसअघि भएको पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै इरानी टोलीले फाइनलमा स्थान बनाइसकेको छ । पहिलो सेट २०–२५ ले गुमाएको इरानी टोलीले दोस्रो, तेस्रो र चौथो सेटमा जित निकाल्दै फाइनलमा पुगेको हो । इरानी टोलीले दोस्रो सेट २५–२०, तेस्रो सेट २८–२६ र चौथो सेट २६–२४ को पुनरागमन जित दर्ता ग¥यो । चौथो सेटमा १८–२१ को अवस्थालाई उल्टाउँदै इरानी टोलीले २६–२४ को जित निकाल्न सफल रहेको थियो ।
तेस्रो स्थानका लागि र फाइनल खेल सोमबार हुनेछ । पुलिस र इरानी टोलीबिचको फाइनल खेल दिउँसो ४ बजेबाट सुरु हुनेछ । यस्तै तेस्रो स्थानका लागि आर्मी र एपिएफबिचको खेल दिउँसो १ बजे सुरु हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४४४ र उपविजेताले २ लाख ४४ हजार ४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । तेस्रो हुने टोलीले १ लाख ४४ हजार ४४४ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४४४ र विधागततर्फ उत्कृष्ट हुनेलाई समान ८ हजार ४४४ रुपैयाँ प्रदान गरिनेछ ।
करातेका पदक विजेता राई सम्मानित
अमेरिकामा भएको हिराल्डो सोतोकान सोबुकान अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपका रजत पदक विजेता सन्तोष राई सम्मानित भएका छन् ।
च्याम्पियन मार्सल आट्र्स क्लब युएसए अमेरिकाले युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिकासँगको सहकार्यमा न्यूयोर्कमा आयोजिक एक कार्यक्रमका बीच सन्तोषलाई सम्मान गरेको हो ।
विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै देशको नाम अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराएको भन्दै दुई संस्थाको संयोजनमा उनलाई सम्मान गरिएको हो । उनी चार हजार चार सय अमेरिकी डलरसहित सम्मानपत्रद्वारा सम्मानित भएका हुन् ।
सन्तोषलाई च्याम्पियन मार्सल आट्र्स एकेडेमी र डियन्जङ पुनले समान एक हजार, युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिकाले एक हजार पाँच सय, रुद्र राईले ९ सय अमेरिकी डलर प्रदान गरेका थिए ।
खेलाडीले प्रदर्शन गरेको समर्पण, अनुशासन र कडा परिश्रमले गर्दा उत्सव मनाउने अवसर मिलेको उक्त कार्यक्रममा वक्ताहरूले धारणा राखेका थिए । विदेशी भूमिमा मार्सल आट्र्सको माध्यमबाट नेपाली समुदायको लागि प्रेरणाको श्रोतको रूपमा कराते खेलाडी सन्तोषले योगदान गरेको सम्मान गर्ने संस्था र व्यक्तिहरूको भनाइ थियो ।
च्याम्पियन मार्सल आटर््स क्लब युएसएका अध्यक्ष सुनिल लामाले उक्त सम्मान कार्यक्रमको अध्यक्षता गरेका थिए । लामा नेपालका पूर्वखेलाडी र च्याम्पियन मार्सल आटर््स क्लबका प्रशिक्षक हुन् । लामाले विशेष गरी डायस्पोरा समुदायभित्र खेलाडीले उत्कृष्ट नतिजा दिइरहेको बताए ।
युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरीका (यायोख्खा) को केन्द्रिय महासचिव मुक्ति राइ र निवर्तमान न्यूयार्क च्याप्टर अध्यक्ष ममता राइको पहलमा नेपालका लागि पदक विजेता सन्तोषको सम्मान कार्यक्रम आयोजना गरिएको हो ।
सन्तोषले न्युयोर्कस्थित कोरोनामा सम्पन्न च्याम्पियनसिपमा सन्तोषले सिनियर एकल कातातर्पm रजत पदक जितेका थिए । फाइनलमा अमेरिकाका कर्नाडोसँग पराजित भएपछि सन्तोष यसपल्ट पनि रजक पदकमा नै सीमित भए । यस वर्ष उनको यो पहिलो पदक पनि हो ।
गत वर्ष पनि सन्तोषले इङ्ल्यान्डमा सम्पन्न इङ्ल्यान्ड कराते फेडेरेसन ओपन कराते सिरिजमा रजत जितेका थिए । यस वर्षको सुरुआतमा पनि सन्तोषले आफ्नो पहिलो अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा पनि पदक जिते ।
राष्ट्रिय हक्कीमा कोसी र गण्डकी विजयी
काठमाडौं । कोसी र गण्डकी प्रदेशले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगितामा पहिलो जित निकालेको छ ।
नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा बिहीबार पुरुषतर्पm कोसीले र महिलामा गण्डकीले जित निकालेका हुन् ।
पुरुषमा गण्डकी प्रदेशमाथि ५–३ गोलअन्तरको जित दर्ता गर्यो । कोसीको जितमा लक्ष्मण समारियाले ह्याट्रिक गर्दा आर्यन चौधरी र सुदीप चौधरीले समान एक गोल गरे ।
मधेसका रूपेशकुमार राईले दुई र अजयकुमार साहले एक गोल फर्काए । लक्ष्मण प्लेअर अफ दी म्याच पनि भए र उनले दुई हजार नगद पुरस्कार पाए ।
खेलमा अग्रता लिए पनि जोगाउन नसक्दा मधेसले हार सामना गरेको हो ।
समूह ‘ए’ को कोसीले पहिलो खेलमा जित निकाल्दै तीन अंक बटुल्यो । चार टोली रहेको यस समूहमा त्रिभुवन आर्मीले पनि एक जित निकालेको थियो ।
पुरुषतर्पm लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा भैरहेको छ । समूह ‘ए’ मा आर्मी र गण्डकीसँगै मधेश र कोसी प्रदेश छन् ।
आर्मीले पहिलो खेलमा गण्डकी प्रदेशमाथि ३–० गोलको जित निकाल्दै सुखद सुरुआत गरेको थियो ।
समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, एपिएफ र बागमती छन् । एपिएफ हक्कीमा नयाँ टिम हो ।
एपिएफले आफ्नो डेब्यु खेलमा बागमती प्रदेशसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्यो ।
बिहीबार महिलातर्पm भएको खेलमा गण्डकीले बागमतीलाई २–१ गोलले हराउँदै सुखद सुरुआत गर्यो । गण्डकीका मायौरी राई र गीता पुनमगरले समान एक गोल गरे ।
मायौरी प्लेअर अफ दी म्याच भइन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र बोर्ड सदस्य प्रकाश कुसारीले महिलातर्पm प्रतियोगिताको उद्घाटन गरेका थिए ।
महिलामा भने नेपाल आर्मी, गण्डकी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेश मात्र सहभागी छन् ।
यस प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा हुँदै छ । राउन्ड रोबिन लिगपछि शीर्ष दुई स्थानमा रहने टिमबीच उपाधि भिडन्त हुनेछ ।
आईपीएलमा दिल्लीविरुद्ध कोलकाताको रोमाञ्चक जित
काठमाडौं । सुनिल नारायणको प्रभावशाली प्रदर्शनसहित कोलकाता नाइट राइडर्सले मंगलबार राति भएको आईपीएल खेलमा दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २०४ रन बनाएको थियो ।
रहमुल्ला गुरवाज (१२ बलमा २६), सुनिल नारायण (१६ बलमा २७) र अजिन्का रहाने (१४ बलमा २६) को विस्फोटक सुरुवातपछि अंगरिस रघुवंशीले ४४ र रिकु सिंहले ३६ रनको योगदान दिए ।
दिल्लीका लागि मिचेल स्टार्कले ३ विकेट, अक्षर पटेल र विपराज निगमले दुई–दुई विकेट लिए । पटेल सबैभन्दा किफायती बलर रहे – ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।
२०५ रनको लक्ष्य पछ्याएको दिल्लीले सुरुवात राम्रो गरे पनि अन्तिम चरणमा विकेट गुमाउँदै ९ विकेटको क्षतिमा १९० रनमै सीमित रह्यो । फाफ डु प्लेसिसले ४५ बलमा ६२ र अक्षर पटेलले २३ बलमा ४३ रन बनाएका थि ए। उनीहरूबीच ७६ रनको साझेदारी भएपछि दिल्ली जित नजिक पुगेको थियो, तर नारायणले पटेललाई आउट गरेपछि खेल कोलकातातर्फ फर्किएको हो ।
नारायणले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए भने वरुण चक्रवर्तीले २ विकेट लिए। अन्तिम १७ बलमा कोलकाताले ५ विकेट लिँदै दिल्लीको जितको सम्भावना टार्न सफल भयो ।
यो जितसँगै कोलकाताले १० खेलमा ९ अङ्क जोडेको छ र अंक तालिकामा सातौँ स्थानमा रहेको छ । दिल्ली १२ अङ्कसहित चौथो स्थानमा छ ।