नेपाली क्रिकेट टोलीको वरीयता खस्कियो, दीपेन्द्र झरे तेस्रोमा
काठमाडौं । हङकङमा यसै साता सम्पन्न चारदेशीय टी–२०आई शृंखलाको फाइनलमा कुवेतसँग पराजित भएपछि नेपाली क्रिकेट टोलीको वरीयता खस्किएको छ ।
नेपाली टोली १ स्थान तल झर्दै १८औं स्थानमा खस्किएको हो । नेपाल आफूभन्दा तल्लो वरीयतामा रहेको कुवेतसँग ३ रनले पराजित हुँदै उपाधिबाट बञ्चित भएको थियो ।
त्यस्तै अलराउण्डर दिपेन्द्रसिंह ऐरी पनि आईसीसी टी–२०आई अलराउण्डर वरीयतामा दोस्रोबाट तेस्रोमा झरेका छन् ।
हङकङ शृंखलामा राम्रो प्रदर्शन गर्दै उनी शीर्षमा पुग्ने धेरैको अपेक्षाविपरीत उनको वरीयता खस्किएको हो । उनी अब तेस्रोमा इंग्ल्याण्डका लियाम लिभिङस्टोनसँग समान २०९ रेटिङका साथ छन् ।
दीपेन्द्र खस्किंदा अस्ट्रेलियाका मार्कस स्टोइनिस दोस्रोमा उक्लिएका छन् भने भारतका हार्दिक पाण्ड्या शीर्षमा यथावत् छन् ।
दीपेन्द्रको रेटिङ २३३ बाट २०९ मा झरेको हो । शीर्षका पाणड्याको २५२ तथा दोस्रोका स्टोइनिसको २१० रेटिङ छ ।
रियललाई हराउँदै आर्सनल सेमिफाइनलमा
काठमाडौं । युरोपियन च्यामपियन्स लिग फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । समीकरण पूरा भएसँगै आर्सनल युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्दा रियल म्याड्रिड बाहिरिएको छ । रियल म्याड्रिडसँग बुधबार २–१ ले पराजित गर्दै समग्रमा ५–१ को अग्रतासहित आर्सनल अन्तिम चारमा पुगेको हो ।
पहिलो लेगमा आर्सनल ३–० ले विजयी भएको थियो । बोकायो साकाले ६५ औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाए । तर त्यसको दुई मिनेटपछि नै भिनिसियस जुनियरले बराबरी गोल फर्काए ।
इन्ज्युरी समयमा मार्टिनेलीले गोल गरेपछि आर्सनलले दोस्रो लेगमा पनि दोस्रो लेगमा जित निकाल्यो । योसँगै १५ पटकको च्याम्पियन रियल च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको छ ।
अर्को खेलबाट इन्टर मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखसँग बुधवार २–२ को बराबरी खेलेपछि समग्रमा ४–३ को अग्रतासहित इन्टर अन्तिम चारमा पुगेको हो । पिएसजी र बार्सिलोना यसअघि नै सेमिफाइनल पुगिसकेका छन् ।
आईपीएलमा राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति भएको खेलमा सुपर ओभरमा राजस्थान रोयल्सलाई हराउँदै दिल्ली क्यापिटल शीर्ष स्थानमा उक्लिएको छ ।
दिल्लीले बुधबार आईपीएलको यो सिजनको सनसनीपूर्ण यात्रालाई निरन्तरता दिएको हो । १८९ रनको लक्ष्य पछ्याएको राजस्थानले ४ विकेटको क्षतिमा १८८ रन जोडेपछि खेल सुपर ओभरमा पुगेको थियो ।
सुपर ओभरमा सुरुमा ब्याटिङ गरेको राजस्थानले ५ बलमा नै दुई विकेट गुमाएर ११ रन मात्र जोड्न सक्यो । मिचेल स्टार्कले पहिलो बल डट फ्याकेपछि राजस्थानका सिम्रन हटमायरले दोस्रो बलमा चौका प्रहार गरे। तेस्रो बलमा उनले १ रन जोडेका थिए ।
त्यसपछि रियान परागले नोबलमा चौका प्रहार गरे। त्यसपछिको बलमा पराग रन आउट भए । अर्को बलमा यशस्वी जयसवाल दोस्रो रन लिने प्रयासमा आउट हुँदा सुपर ओभरमा राजस्थानले मात्र १२ रनको लक्ष्य दिएको थियो ।
दिल्लीको सुपर ओभरको जवाफी ब्याटिङमा राजस्थानका सन्दीप शर्माले बलिङ गरे। सुपर ओभरको सुरुवात गरेका दिल्लीका लोकेश राहुलले पहिलो बलमा २, दोस्रोमा चार तथा तेस्रो बलमा १ रन जोडे। त्यसपछि ट्रिस्टीयन स्टब्सले छक्का प्रहार गर्दै जित निश्चित गरे ।
जितपछि दिल्ली १० अङ्क लिएर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। यो जितसँगै दिल्ली प्ले अफको नजिक पुगेको हो ।
विश्वकप एसिया छनोट : नेपालको लगातार तेस्रो जित
काठमाडौँ । आईसीसी यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ । बुधवार भएको तेस्रो खेलमा हङकङले नेपाललाई ११६ रनको लक्ष्य दिएको थियो । नेपालले १२.३ ओभरको खेलमा १ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो ।
नेपालका लागि ओपनर साहिल पटेल ४२, कप्तान नरेन भट्ट ३९ र निरज यादवले २३ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा सबै विकेट गुमाएर ११५ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि युवराज खत्रीले ४ र बिपिन शर्माले ३ विकेट लिए भने सन्तोष यादवले २ र अशोक धामीले १ विकेट लिए । अब नेपालले समूह चरणको अन्तिम खेलमा शनिवार अफगानिस्तानसँग खेल्ने छ ।
खुला पुरुष भलिबलको उपाधि रामेछापको गोकुलगंगालाई, महिला तर्फ ओखलढुङ्गाको मानेभञ्ज्याङ विजयी
रामेछाप । उमाकुण्ड गाउँपालिकाको प्रयोजन, ३ नं वडा कार्यालयको सहप्रायोजन तथा उमाकुण्ड गाउँपालिका खेलकुद विकास समितिको आयोजना र ३ नं वडा खेलकुद विकास समितिको व्यवस्थापनमा सञ्चालन भएको अन्तरपालिका खुला पुरुष तथा महिला भलिबल खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।
चैत २८ गतेबाट सुरु भएको खेल ५ दिनसम्म चलेको थियो । उमाकुण्ड गाउँपालिका–३ को धोबीटार खेल मैदानमा भएको पुरुष तर्फको फाइनलमा खेलमा गोकुलगंगा गाउँपालिका रामेछापले लिखुपिके गाउँपालिका गोली सोलुखुम्बुलाई हराउँदै प्रथम भएको छ ।
पुरुष तर्फको विजेता गोकुलगंगा गाउँपालिका रामेछापले उपाधिसँगै नगद १ लाख, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको लिखुपिके गाउँपालिका गोली सोलुखुम्बुले नगद ७० हजार, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
तेस्रो स्थानको लागि भएको लिखु तामाकोशी गाउँपालिका रामेछाप र खाँडादेवी गाउँपालिका रामेछाप बिच भएको प्रतिस्पर्धामा लिखु तामाकोशी गाउँपालिका रामेछापले खाँडादेवी गाउँपालिका रामेछापलाई हराएको छ । तेस्रो स्थान हासिल गर्ने लिखु तामाकोशी गाउँपालिका रामेछापले नगद ५० हजार, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
महिला तर्फ मानेभञ्ज्याङ गाउँपालिका ओखलढुंगा र दोलखाको विगु गाउँपालिका बिच भएको फाइनल खेलमा ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका विजेता प्रथम भएको छ । प्रतियोगितामा विगु गाउँपालिका दोलखा उपविजेता भएको छ ।
प्रतियोगितामा आमचोक गाउँपालिका भोजपुर र रामेछापको उमाकुण्ड गाउँपालिकाबिच भएको तेस्रो स्थानको खेलमा आमचोक गाउँपालिका भोजपुरले जित हासिल गरेको छ ।
महिला तर्फको विजेता मानेभञ्ज्याङ गाउँपालिका ओखलढुङ्गाले पनि उपाधिसँगै नगद १ लाख, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता विगु गाउँपालिका दोलखाले नगद ७० हजार, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने आमचोक गाउँपालिका भोजपुरले नगद ५० हजार, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा पुरुष तर्फ लिखुपिके गाउँपालिका गोली सोलुखुम्बुका विष्णु बस्नेत उत्कृष्ट खेलाडी र रूपेश बस्नेत उत्कृष्ट सेटरमा घोषित भएका छन् । त्यस्तै गोकुलगंगा गाउँपालिका रामेछापका विवेक कार्की उत्कृष्ट ब्लकर, सुजन खड्का उत्कृष्ट स्पाइकर, आदित्य श्रेष्ठ उत्कृष्ट लिब्रो घोषित भएका छन् । उत्कृष्ट खेलाडीलाई नगद ५ हजार र बाँकी उत्कृष्ट विधाका खेलाडीहरूलाई जनही नगद ३ तीन हजार सहित ट्रफीद्वारा सम्मान गरिएको छ ।
प्रतियोगितामा महिला तर्फ मानेभञ्ज्याङ गाउँपालिका ओखलढुङ्गाकी चन्द्रकुमारी बस्नेत उत्कृष्ट खेलाडी घोषित भइन् । विगु गाउँपालिका दोलखाकी सुस्मिता नेपाली उत्कृष्ट स्पाइकर र मानेभञ्ज्याङ गाउँपालिका ओखलढुङ्गाकी मनीषा राई उत्कृष्ट सेटर, रेश्मी, राई उत्कृष्ट ब्लकर, प्रमीला आले मगर उत्कृष्ट लिब्रो घोषित भइन । उत्कृष्ट खेलाडीलाई नगद ५ पाँच हजार र बाँकी उत्कृष्ट विधाका खेलाडीहरूलाई जनही नगद ३ हजार रुपैँया सहित ट्रफीद्वारा सम्मान गरिएको छ ।
प्रतियोगितामा पुरुष तर्फ ९ टिम र महिला तर्फ ७ टिम गरी १६ टिमको सहभागिता रहेको थियो । खेलको उद्घाटन गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले गरेका थिए । विजयी खेलाडीलाई वडाध्यक्ष गुणकुमार थापाले पुरस्कार वितरण गरेका थिए ।
चारदेशीय टी–२० सिरिज : नेपाललाई हराउँदै कुवेत विजय
काठमाडौं । नेपाललाई हराउँदै कुवेतले चारदेशीय टी–२० सिरिजमा विजय हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा कुवेतले नेपालमाथि तीन रनको जित हात पारेको हो । कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १७१ रन मात्रै बनाउन सफल भएको छ ।
यसअघि मिसन रोड मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७४ रन बनाएको थियो । टी–२० मा कुवेतले पहिलोपल्ट नेपाललाई पराजित गर्न सफल भएको हो। यसअघि भएका दुवै भेटमा नेपालले कुवेतलाई ६ र ७ विकेटले पराजित गर्दै आफ्नो दबदबा कायम राखेको थियो ।
पञ्चकन्या क्रसकन्ट्री दौडमा किरण र रुबिना विजयी
नुवाकोट । दोस्रो संस्करणको ‘पञ्चकन्या जिल्लास्तरीय क्रसकन्ट्री दौडको पञ्चकन्या पालिकास्तरीय ५ किमि तर्फ किरण तामाङ र रुविना तामाङ विजयी भएका छन् ।
पञ्चकन्या जनकल्याण युवा समाजको आयोजनामा नुवाकोटको पञ्चकन्या गाउँपालिकामा शनिवार भएको प्रतियोगितामा ५ किमि पुरुषतर्फ किरणले २२ मिनेट १८ सेकेन्डमा दौड पूरा गरी उपाधि जिते । मनहरि थापा २२ मिनेट ४९ सेकेन्डबाट दोस्रा तथा दिपेश तामाङ २२ मिनेट ५१ सेकेन्डबाट तेस्रा भए ।
सोही दुरीमा महिलातर्फ रुबिनाले २८ मिनेटमा दौड जितिन् । सुप्रिता थापा २९ मिनेट २१ सेकेन्डबाट दोस्रा र विपना तामाङ ३१ मिनेट ४६ सेकेन्डबाट तेस्रा भए । दुवैतर्फ ५ किमिमा विजेता हुनेले ११ हजार, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले ४ हजार रुपैयाँ पुरस्कार पाए ।
पुरुष खुला १० किमिमा प्रकाश तामाङ विजयी भए । उनले ४१ मिनेट ३३ सेकेन्डमा दौड पूरा गरे । जयराम थापा ४४ मिनेट ०४ सेकेन्डबाट दोस्रा र हरिचन्द्र तामाङ ४५ मिनेट १९ सेकेन्डबाट तेस्रा भए । यस इभेन्टका विजेता प्रकाशविरुद्ध भने उजुरी परेको छ । प्रकाशले अर्कै नाममा खेलेको भनी अन्य खेलाडीले विरोध जनाएपछि उनी पुरस्कार नलिई हिँडेकाले छानबिन गरिने आयोजक युवा समाजले जनाएको छ ।
महिला १० किमिमा भने सावित्री थापा विजयी भएकी छन् । उनले १ घन्टा ५ सेकेन्डमा दौड पूरा गरिन् । मेलिना पौडेल १ घन्टा १० मिनेटबाट दोस्रो र सुशीला तामाङ १ घन्टा १३ मिनेटमा तेस्रो भइन् । १० किमिका दुवैतर्फका विजेता खेलाडीले २२ हजार, दोस्रो हुनेले १६ हजार र तेस्रो हुनेले १० हजार पुरस्कार पाए ।
विजेता खेलाडीलाई प्रमुख अतिथि सांसद तथा पूर्वमन्त्री नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हितबहादुर तामाङ, पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ, उपाध्यक्ष बिमला केसी पाठक, पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष रामबाबु पराजुलीलगायतले पुरस्कार प्रदान गरेका थिए ।
पञ्चकन्या गाउँपालिकाको कार्यालय लाकुरीभञ्ज्याङबाट सुरु भएको दौड ‘घ्याङस्वाँरा सहिद स्मारक पर्यटकीय पार्क’ पुगेर सोही रुट घलेभन्ज्याङ आएर सकिएको थियो । दौडमा पाँच दर्जनभन्दा बढीको सहभागिता थियो ।
पञ्चकन्या–४ मा निर्माण गरिएको घ्याङ्स्वाँरा सहिद स्मारक पार्कको प्रचारप्रसार तथा जनकल्याण शैक्षिक अक्षयकोष स्थापनाको सहयोगार्थ दौड प्रतियोगिता गरिएको समाजका अध्यक्ष टीकाराम तामाङले बताए । प्रतियोगितालाई पञ्चकन्या गाउँपालिकासहित विभिन्न देशमा रहेका व्यक्तिहरूले सहयोग गरेका थिए । कार्यक्रममा चर्चित कलाकारले साङ्गीतिक प्रस्तुति दिएका थिए ।
गत वर्ष फागुन ५ मा भएको पञ्चकन्या क्रसकन्ट्री दौडमा पञ्चकन्या–३ की एलिसा तामाङ र लिखु गाउँपालिका–४ का सुदीप राई च्याम्पियन बनेका थिए । महिला ११ किमि दुरी एलिसाले १ घन्टा १३ मिनेट ४१ सेकेन्ड र पुरुषतर्फ सुदीपले ४७ मिनेट १४ सेकेन्डमा दौड पूरा गर्दै उपाधि थिए ।
पञ्चकन्या पालिकास्तरीय छात्रछात्रा ५ किमि दौडमा पञ्चकन्या–१ की सविना राई र किरण तामाङले उपाधि जितेका थिए ।
२०६६ मा स्थापित पञ्चकन्या जनकल्याण युवा समाजले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, संस्कृतिलगायत क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।
यू–१९ विश्वकप एसिया छनोट : आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । आज आइतबार देखि आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट हुँदैछ । आइतबार देखि सुरु हुने खेल आगामी वैशाख ६ गतेसम्म माथिल्लो र तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछन्।
नेपालले पहिलो खेलमा आइतबार युएईसँग प्रतिस्पर्धा गर्ने छ। नेपाली टोलीमा नरेन भट्टको कप्तानीमा अभिषेक तिवारी, निरज के यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली रहेका छन्। यस्तै, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री, बिपिनप्रसाद शर्मा टोलीमा अटाएका छन् ।
घरेलु मैदानमा जित्ने राम्रो मौका छ : कप्तान नरेन भट्ट
काठमाडौं । माथिल्लो र तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा चैत ३१ गते (आइतबार) देखि हुने आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट प्रतियोगितामा नेपालले आफ्नो तयारी राम्रो रहेको बताएको छ ।
शनिबार विश्वकप एसिया छनोट कप्तानको भेटघाट पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान नरेन भट्टले यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटमा आफ्नो टोली क्वालिफायरसम्मै पुग्ने बताएका हुन् ।
उनले भने, ‘हाम्रो टिममा राम्रो ब्यालेन्स छ । त्यस्तो समस्या छैन । सबै लेजेण्ड खेलाडि हुनुहुन्छ । कोचले पनि हामीलाई राम्रो तयारीका साथ अगाडि बढाउनु भएको छ । आफ्नै मैदानमा भैइरहेको छ त्यस कारण जित्ने राम्रो मौका छ हाम्रो । हामी क्वालिफायर गर्छौ भन्ने आशाका साथ मैदानमा उत्रिने छौं’
यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट प्रतियोगिता यही चैत ३१ देखि वैशाख ६ गतेसम्म खेलहरू माथिल्लो र तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् । प्रतियोगितामा आयोजक घरेलु टोली नेपालसहित यूएई, ओमान, अफगानिस्तान र हङकङ सहभागी हुनेछन् । घरेलु टोली नेपालले पहिलो खेलमा चैत ३१ गते यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।
क्यानले नरेन भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिसकेको छ । भट्टको कप्तानी रहेको टोलीमा अभिषेक तिवारी, नीरज के यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली रहेका छन् । साथै सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री, बिपीनप्रसाद शर्मा टोलीमा छन् । प्रतियोगिताका सबै खेल बिहान साढे ९ बजे सुरु हुनेछन् ।
कुवेत विरुद्ध नेपाल ६ विकेटले विजयी
काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको छ ।
बिहीबार हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा भएको सिरिजको पहिलो खेलमा कुवेतले नेपाललाई १८६ रनको लक्ष्य दिएको थियो । नेपाललले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।
कुवेतविरुद्ध नेपालका ओपनर आसिफ शेखले पनि अर्धशतक पूरा गरेका थिए आसिफले ३४ बलमा अर्धशतक पूरा गरे । अर्धशतक पूरा गरेलगत्तै ५३ रन बनाएर आउट भए । यसअघि ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका थिए ।
कुशलले २६ बलमा पाँच चौका र चार छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् भने आशिफ शेखले ३४ बलमा चार चौका र दुई छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।
नेपालका लागि सोमपाल कामीले तीन विकेट, नन्दन यादवले दुई विकेट, ललित राजवंशी र कुशल भुर्तेलले एकएक विकेट हात पारे।
यस्तै, आज नै हङकङ र कतार प्रतिस्पर्धा गर्नेछन् । यो खेल नेपाली समयानुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् ।

