चारदेशीय टी–२० आई सिरिजअन्तर्गत आज नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत आज नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ।
बिहीबार हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा हुने यो खेल नेपाली समयानुसार बिहान ६ः४५ बजे सुरु हुनेछ।
यो चारदेशीय टी–२० आई सिरिजको तेस्रो खेल हो। पहिलो खेलमा बुधबार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो भने बुधबार कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो।
यस्तै, सिरिजको दोस्रो खेलमा बुधबार नै कुवेतले घरेलु टोली हङकङलाई चार विकेटले हराएको थियो । आजको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन्।
यस्तै, आज नै हङकङ र कतार प्रतिस्पर्धा गर्नेछन्। यो खेल नेपाली समयानुसार बिहान ११ः१५ बजे सुरु हुनेछ। दुवै टोली पहिलो जितको खोजीमा हुनेछन्।
चार देशीय टी–२० खेल्न हङकङ जाने नेपाली क्रिकेट टोलीको बिदाई
काठमाडौं । हङकङ–चाइनाको आयोजनामा हुने चार देशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार राष्ट्रिय टिमको बिदाइ गरेको हो । नेपालले हङकङमा हुने चार देशीय टी–२०–क्रिकेट प्रतियोगिताका लागि शनिबार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको थियो ।
छनोट भएका खेलाडीमा आसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहव आलम र रिजन ढकाल छन् ।
बसिरले २ र नन्दनले ३ वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् । प्रतियोगितामा नेपालले बुधबार कतार, बिहीबार कुवेत र आउँदो शनिबार हङकङसँग खेल्दैछ ।
आईपीएलमा पञ्जाबमाथि राजस्थानको शानदार जित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा खराब सुरुवात गरेको राजस्थान रोयल्सले राम्रो कमब्याक गर्दै लगातार दोस्रो जित हात पारेको छ । शनिबार भएको खेलमा राजस्थानले पञ्जाब किङ्सलाई ५० रनले हराएको हो ।
राजस्थानले दिएको २०६ रनको लक्ष्य पछ्याएको पञ्जाब २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १५५ रनमा सीमित भयो। पञ्जाबका लागि निहाल बाधेराले ४१ बलमा ६२ तथा ग्लेन म्याक्सवेलले २१ बलमा ३० रन जोडे ।
४३ रन बनाउँदा चार विकेट गुमाएको सो टोलीका लागि बाधेरा र म्याक्सवेलले पाँचौँ विकेटका लागि ८८ रनको साझेदारी गरेका थिए । पञ्जाबले ८ बलको अन्तरमा पाँच रन जोडेर यी दुईका साथ सुर्यांस सेड्गेलाई पनि गुमाएको थियो ।
राजस्थानका जाफ्रा आर्चरले चार ओभरमा २५ रन खर्चेर तीन विकेट लिए । उनी खेलको म्यान अफ द म्याच भए । यसैगरी सन्दीप शर्माले चार ओभरमा २१ रन खर्चेर दुई तथा महशे थक्सेनाले चार ओभरमा २६ रन खर्चेर दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले चार विकेटको क्षतिमा २०५ रन जोडेको हो ।
हारपछि पन्जाब ४ अंकसहित तेस्रो स्थानमा छ भने राजस्थान ४ अङ्क साथ सातौँ स्थानमा छ ।
पोखरामा प्रथम एलिट भलिबल कप हुँदै
काठमाडौं । एलिट भलिबल एकेडेमी पोखराको आयोजनामा प्रथम एलिट भलिबल कप हुने भएको छ । शनिवार पत्रकार सम्मेलन गर्दै यही चैत २९ देखि वैशाख १ गतेसम्म हुने प्रतियोगितामा पुरुष तथा महिला दुवैतर्फका इभेन्ट सञ्चालन हुने आयोजक टिमले जानकारी दिएको छ ।
प्रतियोगितामा पुरुषतर्फ पहिलो स्थान हासिल गर्ने टोलीले रु एक लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो स्थान प्राप्त गर्ने टोलीले रु ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।
यसैगरी महिलातर्फ पहिलो स्थान प्राप्त गर्ने टोलीले रु ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो स्थान प्राप्त गर्ने टोलीलाई रु २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
यस प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई विशेष पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा एक टिममा सातौं, आठौं, नवौं र अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका बढीमा दुई जना खेलाडी समावेश गर्न पाइनेछ । पुरुषतर्फ दर्ता शुल्क ६ हजार ५ सय र महिलातर्फ ३ हजार ५ सय तोकिएको छ ।
प्रतियोगिताबाट बचत भएको रकमबाट सम्भावना बोकेका दुई महिला खेलाडीको कक्षा ११ र १२ को पठनपाठनको खर्च उपलब्ध गराइने प्रतियोगिताका संयोजक मलिन रोकाले बताए I
आईपीएलमा हैदरावाद ८० रनले पराजित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)का दुई अस्थिर टोलीबीच भएको खेलमा कलकता नाइट राइडर्सले फराकिलो अन्तरले सन राइसजर्स हैदरवादलाई हराएको छ ।
मुम्बई इइिडयन्ससँगको पछिल्लो खेलमा ब्याटिङ कमजोर भएपछि आलोचित बनेको कलकताले बिहीबार भएको खेलमा शानदार कमब्याक गर्दै हैदरावादलाई ८० रनले हराएको हो । २८६ रन प्रहार गर्दै आईपीएल २०२५ मा सनसनीपूर्ण सुरुवात गरेको हैदरावाद भने लगातार तेस्रो खेलमा पराजित भएको छ ।
चार दिन अघि मुम्बईसँग ११६ रनमा समेटिएको कलकताले हैदरावादसँगको खेलमा ६ विकेटको क्षतिमा २०० रन जोडेको थियो । कलकताका लागि उपकप्तान बैंकटेस ऐयारले २९ बलमा ६० रन जोडे। रिकु सिंह अविजित रहँदै १७ बलमा ३२ रन प्रहार गर्न सफल भए ।
यी दुई जमेपछि कलकताले अन्तिम ५ ओभरमा ७८ रन प्रहार गरेको थियो । यसअघि कप्तान अजान्का रहजने र अंगरिस रघुवंशीले तेस्रो विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए । रहानेले ३८ तथा रघुवंशीले ५० रन जोडे ।
आईपीएलमा आरसिबीविरुद्ध गुजरात आठ विकेटले विजयी
काठमाडौं । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत पहिलो खेलमा पराजयको सामना गरेको गुजरात टाइटानले त्यसपछि लगातार दोस्रो जित हात पारेको छ ।
बुधबार राति भएको खेलमा सनसनीपूर्ण सुरुवात गरेको रोयल च्यालेन्जर बंग्लोरुलाई गुजरातले ८ विकेटले हराएको हो । १७० रनको लक्ष्य पाएको गुजरातले १३ बल बाँकी रहँदा २ विकेटको क्षतिमा १७० बनाउँदै लक्ष्य पूरा गर्यो ।
गुजरातका लागि जोस बटलरले अविजित रहँदै ३९ बलमा ७३ रन जोडे । उनको पारीमा ५ चौका र ६ छक्का थियो । सेरफान रुदरफोर्डले अविजित १८ बलमा ३० रन जोडे । साइ सुदर्शन अर्धशतक बनाउन एक रनले चुके । उनले ३६ बलमा ७ चोका र एक छक्काको मद्दतमा ४९ रन जोडे । बंग्लोरुका लागि भुवनेश्वर कुमारले चार ओभरमा २३ रन खर्चेर एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंग्लोरुले ८ विकेटको क्षतिमा १६९ रन जोडेको हो । बंग्लोरुले ६.२ ओभरमा ४२ रनमा चौथो विकेट गुमाइसकेको थियो । बंग्लोरुलाई सस्तोमा समेट्ने क्रममा सिराजले चार ओभरमा १९ रन खर्चेर तीन विकेट लिए ।
मध्य क्रममा बंग्लोरुलाई खुलेर खेल्न रोकेका साइ किशोरले चार ओभरमा २२ रन खर्चेर दुई विकेट लिए । प्रसिद्ध कृष्णले ४ ओभरमा दुई रन खर्चेर एक विकेट लिए । बंग्लोरुका लागि पाँचौँ क्रममा ब्याटिङ गरेका लियाम लिभिङ स्टोनले ५४, छैटौँ क्रममा जितेस शर्माले ३३ तथा आठौँ क्रममा टिम डेभिडले १८ बलमा ३२ रन जोडे । सिराज खेलको प्लेयर अफ द म्याच घोषित भए ।
बंग्लोरु यो हारपछि चार अंकसहित तालिकाको तेस्रो स्थानमा पुगेको छ । गुजरात समान अंकका साथ चौथो स्थानमा छ ।
आईपीएलमा लखनउविरुद्ध पञ्जाबको सानदार जित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सले अपराजित यात्रा कायम राखेको छ । मंगलबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई आठ विकेटले हराउँदै पञ्जाबले अपराजित यात्रा कायम राखेको हो ।
यो जितसँगै पञ्जाब दुई खेलबाट चार अंक बनाउँदै शीर्ष स्थानमा पुगेको छ । पहिलो खेलमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराएको थियो । लखनउको भने यो लगातार दोस्रो हार हो । तीन खेल खेलिसकेको लखनउले दुई अंक मात्र जोडेको छ ।
भारतरत्न श्री अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको लखनउले २० ओभरमा सात विकेट गुमाउँदै १७१ रन बनाएको थियो । पञ्जाबका जितमा ओपनर प्रभसिमरन सिंह र कप्तान श्रेयस अय्यरले सानदार अर्धशतक बनाए । पञ्जाबका अर्शदीप सिंहले सर्वाधिक तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले ४३ रन खर्चिए मात्र खर्चिए । लोक्की फर्गुसन, ग्लेन म्याक्सवेल, मार्को जोन्सन र युजवेन्द्र चाहलले समान एकएक विकेट हात पारे ।
लखनउले दिएको १७२ रनको लक्ष्य पछ्याएको पञ्जाबले १६.२ ओभरमा दुई विकेट गुमाउँदै १७७ रन बनाएको हो । पञ्जाबका लागि ओपनर प्रभसिमरनले सर्वाधिक ६९ रन बनाए । ३४ बलको सामना गरेका उनले नौ चौका र तीन छक्काको मद्दतामा सानदार अर्धशतकीय इनिङ खेलेका हुन् ।कप्तान अय्यरले भने अन्तिम बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे । दुई विकेटको क्षतिमा लक्ष्य भेट्न मात्र एक रन बाँकी हुँदा स्टाइकमा गएका अय्यरले एउटा डट बल खेल्दै छक्का हिर्काएर ५२ रन बनाउँदै अर्धशतक पूरा गरेका हुन् ।
आईपीएलमा राजस्थानसँग चेन्नई ६ रनले पराजित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो खेलमा राजस्थानले चेन्नई सुपर किङ्लाई ६ रनले हराएको छ । १८३ रनको लक्ष्य पछ्याएको चेन्नाई ६ विकेट गुमाउँदै १७६ रनमा सीमित भएको हो । चेन्नईका लागि कप्तान ऋतुराज गाइक्वाडले सर्वाधिक ६३ रन जोड । ४२ बलको उनको पारीमा ७ चौका र १ छक्का समावेश थियो ।
चेन्नईविरुद्ध आक्रामक देखिएका राजस्थानका जोफ्रा आर्चरले ३ ओभरमा सुरुवातमा नै ३ ओभर बलिङ गरेर १३ रन खर्चेर १ विकेट लिए । वानिन्दु हर्साङ्गाले ४ ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए ।
यसअघि चेन्नई सुपर किङको मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले ९ विकेटको क्षतीमा १८२ रन जोडेको थियो । राजस्थानका नितिस रानाले ३६ बलमा ८१ रन जोडे । उनले १० चौका र ५ छक्का प्रहार गरे । उनी प्लेयर अफ द म्याच बने ।
कप्तान रियान परागले २८ बलमा ३७ रनको योगदान गरे । चेन्नईका खालिल अहदम, नुर अहमद र नातिसा पाथिरानाले समान दुईदुई विकेट लिए । घरेलु भूमिमा लगातार दोस्रो हारले चेन्नई सुरुवातमा नै अप्ठेरोमा परेको छ । लगातार दुई खेलमा पराजित राजस्थानले पहिलो जित दर्ता गरेको हो ।
आइतबार नै भएको पहिलो खेलमा सनराइजर्स हैदरावाद दिल्ली क्यापिटलसँग सात विकेटले पराजित भएको थियो । आईपीएल अन्तर्गत सोमबार मुम्बाई इन्डियन र कोलकात्ता नाइट राइडर्स भिड्दैछन् ।
आईपीएल : दिल्ली र हैदरावाद तथा राजस्थान र चेन्नई भिड्दै
काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार दुई खेल हुँदैछ । पहिलो खेलमा दिउँसो पौने ४ बजे दिल्ली क्यापिटल्स र सनराईजर्स हैदरावाद तथा दोस्रो खेलमा बेलुका पौने ८ बजे राजस्थान रोयल्स र चेन्नई सुपर किङ्ग्सबीच हुनेछ ।
गएराति भएको खेलमा गुजरात टाइटन्सले पहिलो जीत निकालेको छ । अहमदावादमा भएको खेलमा गुजरातले मुम्बई इण्डियन्सलाई ३६ रनले हराएको थियो । जीतका लागि एक सय ९७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा छ विकेट गुमाएर एक सय ६० रन बनायो ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो । उसका साई सुदर्शनले सर्वाधिक ६३ रनको योगदान गरे भने मुम्बईका हार्दिक पाण्ड्याले दुई विकेट लिए ।
गुजरातले दोस्रो खेलमा पहिलो जीत निकालेको हो भने मुम्बईको यो लगातार दोस्रो हार हो ।
तिलोत्तमा गोल्डकपमा अर्मान्डको ह्याट्रिक, चर्च ब्वाइज फाइनलमा
बुटवल । अर्मान्ड बेएडुमको ह्याट्रिकसँगै चर्च ब्वाइज युनाइटेड क्लब २३औं तिलोत्तमा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा चर्च ब्वाइजले लिगको प्रतिद्वन्दी मच्छिन्द्र फुटबल क्लबलाई ४–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।
चर्च ब्वाइजको जितमा अर्मान्डले ह्याट्रिक गरे । यस्तै, कप्तान अबायोमी फाकुल्नेले एक गोल थपे । मच्छिन्द्रका एलेक्स विलियम्सले सान्त्वना गोल फर्काए । यो गोल केपी ओली कपको उपाधिमा ह्याट्रिक गरेको मच्छिन्द्रलाई जितका लागि पर्याप्त भएन ।
डिफेन्डर प्रवेश कटुवालले दिएको क्रसलाई अर्मान्डले हेडर गर्दै गोल गरेका हुन् । त्यसको १० मिनेटपछि मच्छिन्द्रका कप्तान करिम ओमोलाजाले अर्मान्डलाई डिबक्समा रोक्ने प्रयास गर्दा लडाउन पुगे । त्यसैमा प्राप्त पेनाल्टीलाई अर्मान्डले नै गोलमा गर्दै अग्रता दोब्बर बनाए ।
उनले ४४औं मिनेटमा ह्याट्रिक पूरा गरे । राज भुषालले उपलब्ध गराइदिएको बललाई मच्छिन्द्रका गोलकिपर टोपे रानामगरलाई बिट गर्दै गोल गरे । जारी प्रतियोगितामा यो दोस्रो ह्याट्रिक हो । यसअघि संकटा क्लबका सृजनराज गौतमले जर्जियन फुटबल क्लब कालिम्पोङविरुद्ध पहिलो ह्याट्रिक गरेका थिए ।
चर्चले ६०औं मिनेटमा फाकुल्नेले गोल गर्दै अग्रता ४–० मा पु¥याए । राजले कर्नरमार्फत दिएको बललाई उनले भलीमार्फत गोल गरे । मच्छिन्द्रले निर्धारित खेल सकिन तीन मिनेट बाँकी रहँदा एक गोल फर्काएको थियो । एलेक्सले मैदानको मध्यभागतर्फबाट आएको बललाई चर्च ब्वाइजका डिफेन्डरद्वय बिकु राई तथा चेतन चौधरी र गोलकिपर विवश चौधरीलाई बिट गर्दै गोल गरेका हुन् ।
खेलको ‘प्लेयर अफ द म्याच’ फाकुल्ने भए र ११ हजार १११ रुपैयाँ प्राप्त गरे । दोस्रो क्वार्टरफाइनलमा चर्च ब्वाइजले टाइब्रेकरमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ४–३ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको थियो ।
मच्छिन्द्रले भने एडोर्न गडवाल स्पोर्टिङ क्लब, देहरादुनमाथि १–० कठिन जित निकाल्दै चर्च ब्वाइजसँगको भेट पक्का गरेको थियो । योसँगै चर्च ब्वाइजले कम्तीमा ६ लाख, ६६ हजार, ६६६ रुपैयाँ पक्का गरेको छ । अब चर्च ब्वाइजले उपाधि भिड्न्तमा एपिएफलाई चुनौती प्रस्तुत गर्नेछ । एपिएफले संकटा क्लबलाई १–० ले हराउँदै यसअघि नै फाइनलको यात्रा तय गरिसकेको छ ।
बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमुर्ति इण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक, प्रदेश खेलकुद परिषद् लुम्बिनी मुख्य सहयोगी संस्था रहेको प्रतियोगिताको २३औं संस्करणको विजेताले नगद १२ लाख १२ हजार २२२ रुपैयाँ प्राप्त गर्नेछन् ।
उपविजेता टिमले ६ लाख, ६६ हजार, ६६६ रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षकलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाइकल उपहार तथा प्रत्येक दिनको ‘म्यान अफ दी म्याच’ लाई नगद ११ हजार १११ रुपैयाँबाट पुरस्कृत गरिने छ ।
यो संस्करणमा आयोजक करेन्ट रुपन्देही–११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा दुई विदेशी टिमहरु एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरि आठ टिमको प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता चैत १६ गतेसम्म सञ्चालन हुनेछ ।