पूर्वी नेपालमा रहेका कुलमान घिसिङ भन्छन् : चुनावी सहकार्य तत्काल सम्भव छैन
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टी स्वतन्त्र रूपमा अघि बढिरहेको बताएका छन् । पूर्वी नेपाल भ्रमणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष घिसिङले देशका विभिन्न ठाउँमा पार्टीले आफ्नै हिसाबले गतिविधि विस्तार गरिरहेको जानकारी दिए ।
उनले भने, ‘देशका विभिन्न ठाउँमा उज्यालो नेपाल पार्टी स्वतन्त्र हिसाबले अगाडि बढिरहेको छ । हामी स्वतन्त्र हिसाबले अगाडि बढेका छौं । अब उज्यालो नेपाल पार्टी आफ्नो हिसाबले एकमत भएर निरन्तर अगाडि बढ्नेछ । सहकार्य भनेको अहिलेको लागि सम्भव छैन । अब कुनैपनि बेलामा राजनीतिक पार्टीबीच सहकार्य हुनसक्छ ।’
अध्यक्ष घिसिङले आफ्नो पार्टी अन्य दललाई आलोचना गरेर अघि बढ्ने पक्षमा नरहेको स्पष्ट पारे । ‘हामी कसैलाई गाली गर्ने र कुनै पार्टीलाई तल राखेर माथि आउने पार्टी होइनौं । हामी समान अस्तित्वमा उभिनुपर्छ भन्ने मान्यताका साथ अघि बढेका छौं,’ उनले भने ।
उनले पार्टीलाई संगठनात्मक रूपमा सुदृढ बनाउँदै जनतामाझ आफ्ना एजेन्डा स्थापित गर्ने अभियान जारी रहने पनि बताए । पूर्वी नेपालको भ्रमणमा रहेका घिसिङ झापाको काँकडभिट्टा, विर्तामोड, दमक हँदै सुनसरी आउने कार्यक्रम छ ।
देउवाको आशीर्वाद पाएको दावी गरेका महरले भने : डडेलधुराको माटो चिनेको छु, विजयी हुन्छु
काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधिसभा सदस्य डडेलधुरका उम्मेदवार नैनसिंह महरले जनताको घरदैलो अभियानलाई तीव्रता दिएका छन्। महरले जनताको घरदैलोमा पुगेर जनमनका कुरा सुनिरहेका छन्। उनले तडकभडक नभइ संस्कारयुक्त चुनावी प्रचार अभियान थालेका छन्।
उनले टोलटोल र जनताको घरमा जाने, आफ्ना धारणा राख्ने र जनताका कुरा सुन्ने गरेका छन्।
होटल होटलमा महरको चुनावी जमघटलाई कटौती गर्दै उनले जनतासँगै समय व्यथित गरिरहेको बताए । महर विद्यार्थी राजनीतिबाट खारिएर आएका बौद्धिक छवी बनाउन सफल नेता हुन्।
यसपटक पूर्वप्रधानमन्त्री एवं कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवाको उत्तराधिकारी बनेर उनी डडेलधुरा पुगेका छन्। महरलाई देउवाको विरासत जोगाउने चुनौति छ।
महर डडेलधुरामा कांग्रेस एकतावद्ध रहेकाले जित सुनिश्चित रहेको बताउँछन्। ‘अग्रज नेताहरूको हात समातेर म डडेलधुराका गाउँबस्तीमा तातेताते गरिरहेको छु। युवाहरूको जोशलाई पनि म हातेमालो गरेर अगाडि बढेको छु। मेरा श्रद्वये नेता शेरबहादुर देउवाको मलाई आशीर्वाद छ। कांग्रेस डडेलधुरा सभापति भीमबहादुर साउद, आदरणीय नेताहरू गोविन्द बोहरा, रघुवर भट्टलगायत थुप्रै नेताहरूले मलाई जिल्लामा डो¥याइरहनु भएको छ। जनताको सुझाव, प्रतिक्रिया र साथ पनि मैले राम्रो पाइरहेको छु,’ उनले भने।
‘म युवा जोश र समृद्ध चेतना भएको व्यक्ति हुँ। यही माटो र जनताको आशिरवादका कारण म नेविसंघ अध्यक्ष हुँदै मुलधारको राजनीति गरिरहेको छु। म आफ्नो विचार प्रस्ट राख्न सक्ने क्षमता राख्छु। मैले डडेलधुराको माटो चिनेको छु। यहाँका जनताका समस्या अवगत छन्। सदनमा ती समस्यालाई बुलन्द रुपमा उठाएर समाधानका लागि मैले नेतृत्व लिन सक्छु,’ उनले भने।
महरले आफूलाई देउवाले आफ्नो उत्तराधिकारीको रुपमा पठाएको बताएका छन्। ‘विश्वास गरेर श्रद्धय नेता शेरबहादुर देउवाले युवा अनुहारका रुपमा मलाई पठाउनु भएको छ। आफ्ना बाँकि रहेका योजना र सपना पूरा गर्न उहाँले डडेलधुरा पठाउनु भएको हो। उहाँका सपना पूरा गर्न म सधैँ प्रतिवद्ध रहने छु,’ उनले भने।
समृद्ध डडेलधुराको सपना साकार पार्न सधैँ अग्रमोर्चामा रहेर काम गर्ने महरले जनतामाझ बाचा गरिरहेका छन्। ‘श्रद्वेय नेता शेरबहादुर देउवाको शीर उचो हुनेगरी काम गर्नेछु। डडेलधुरा देव भूमि हो। यस पावन भूमिले भीमदत्त पन्त, द्वारिकादेवी ठकुरानी, एनडी प्रकाश चटौत, शेरबहादुर देउवा जस्ता सपुत जन्माएको छ। नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँहरूको अतुलनीय योगदान छ। जुन हामी सबैका लागि गौरवको विषय हो। उहाँहरूका सपना पूरा गर्ने पार्टी कांग्रेस मात्र हो। त्यसैले मलाई विजयी गराउन म जनतासँग आग्रह गर्दछु,’ उनले भने।
जनताको पार्टी भएकाले कांग्रेसले मात्रै जनभावना अनुसार काम गर्ने महरले बताएका छन्। ‘आकासे दलको भर छैन। खहरे जस्तै आएका राजनीतिक दल कतिखेर विलिन हुन्छन्, थाहा हुँदैन। त्यसैले राष्ट्रिय अन्तर्राष्ट्रिय विस्वास जितेको प्रत्येक राजनीतिक परिवर्तनको नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेसलाई विजयी गराउनु नै अहिलेको आवस्यकता हो,’ उनले भने।
अहिले देश असहज परिस्थितिमा रहेकाले यसको सही निकास दिन सक्ने पार्टी पनि नेपाली कांग्रेस भएको महरले बताएका छन्। ‘राणा शासनको अन्त्य कांग्रेस नेतृत्वमै भयो। राजतन्त्रको अन्त्य कांग्रेसले नै ग¥यो। सशस्त्र द्वन्द्वमा रहेको माओवादीलाई शान्ति प्रक्रियाको मूल धारमा ल्याउने काम कांग्रेस नेतृत्वमै भयो। संविधान कांग्रेस नेतृत्वकै सरकारले जारी ग¥यो। त्यसैले मुलुक अप्ठ्यारोमा पर्दा सधैँ अभिभावकीय निर्वाह गर्ने पार्टी कांग्रेस हो। यस पटक पनि मुलुक असहज परिस्थितिमा रहेकाले राजनीतिक निकासका लागि कांग्रेसको जित आवस्यक छ,’ उनले भने।
पहाडकी रानीका रुपमा रहेको डडेलधुराको विकासका लागि कांग्रेसले थुप्रै काम गरेको र आगामी दिनमा पनि बाँकि रहेका कामलाई पूरा गर्ने उनले बताए। ‘हामीले डडेलधुरा सदरमुकामलाई पहाडकी रानी भन्छौं। यसको विकास गर्नुपर्ने छ। यसको सुन्दरतामा थप इट्टा थप्दै पर्यटकको आगमनलाई पढाउनुपर्ने छ। अजयमेरु कोटलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने छ। भागेश्वर धामको धार्मिक संरक्षण तथा प्रवद्र्धन गर्नुपर्ने छ,’ उनले भने। डडेलधुरा ३४ वर्षदेखि देउवा चुनाव जित्दै आएको क्षेत्र हो।
बीमाका लागि १० अर्ब रुपैंयाँ, वार्षिक बजेटको परिधिभित्र रहेर काम गर्ने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतमले सरकारले यो आर्थिक वर्षमा बीमाको लागि १० अर्ब रकम छुट्टाएको बताएकी छन् । शुक्रबार उनले नेपाल सरकारले बीमाको लागि यो आर्थिक वर्षमा १० अर्ब रुपैयाँ छुट्टाएको भन्दै वार्षिक बजेटको परिधिभित्र रहेर नै कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘मन्त्रीको जिम्मा लिएपछि तितामिठा सबै कुरा गर्नुपर्ने रहेछ । मिठा मिठा कुरा मैले सकाए, अर्को कुरा बीमाको पैसाको कुरा आउँछ । धेरै पैसा बाँकी छ । स्वास्थ्य मन्त्रालयले दिएको छैन् भन्ने कुरा आएको छ । तर सरकारले बीमालाई आर्थिक वर्षमा १० अर्ब रुपैयाँ छुट्टाएको हो । त्यो हाम्रो वार्षिक बजेट हो । वार्षिक बजेटको परिधिभित्र रहेर हामीले कार्यक्रम सञ्चालन गर्नुपर्छ । त्योभन्दा बाहिर जान मिल्दैन् ।’
यस्तै, उनले बीमा बोर्डले स्रोत सहमती र सुनिश्चित नगरी रकम खर्च गर्दै २४ अर्बको वार्षिक दायित्व हुनेगरि काम गरिरहेकाले पैसा जनताको करबाट नै आएको बताइन् ।
उनले भनिन्, ‘बीमा बोर्डले स्रोत सहमति पनि नलिई, स्रोत सुनिश्चित पनि नगरि खर्च गर्दा दायित्व यति भयो कि २४ अर्बको वार्षिक दायित्व हुनेगरि खर्च भईरहेको छ । यसमा सरकारले पैसा कहाँबाट ल्याउँछ भन्ने प्रश्न उठेको हुनसक्छ । त्यो पैसा तपाई हाम्रै हो । विपन्न मान्छेले रगत पसिना गरेर कमाएको पैसाले तिरेको करले नेपाल सरकारले त्यो सेवा दिने हो । सरकार आफैले कुनै रुखबाट त रकम ल्याउदैँन् ।’
करबाट प्राप्त पैसाको सदुपयोग कसरी गर्ने भन्ने कुरामा ध्यान दिनुपर्ने ठाँउमा नेपालीहरु सरकारले दिन्छ भनेर ढुक्का भएर बसेको पनि उनको भनाई छ ।
दार्जिलिङका नेताद्वारा भुटानका राजासमक्ष नेपालीभाषी राजबन्दीहरूलाई क्षमादान गर्न अपिल
काठमाडौँ । दार्जिलिङका एक निर्वाचित नेताले भुटानका राजा जिग्मे खेसर नाम्ग्याल वाङचुकलाई सम्बोधन गर्दै नेपालीभाषी ‘राजनीतिक बन्दी’ हरूलाई क्षमादान गर्न अपिल गरेका छन्।
वर्षौँदेखि कारागारमा रहेका ती बन्दीहरूको रिहाइका लागि पुनः माग उठाइएको हो।
गोरखाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (जीटीए) सभाका निर्वाचित सदस्य तथा इन्डियन गोर्खा जनशक्ति फ्रन्टका अध्यक्ष अजय एडवड्र्सले बुधबार सामाजिक सञ्जालमार्फत खुला पत्र सार्वजनिक गरेका हुन्। द टेलिग्राफ इन्डिया पत्रिकाका अनुसार हालै हिरासतमा श बहादुर गुरुङको मृत्यु भएको समाचारसँगै उक्त पत्र सार्वजनिक गरिएको हो।
श बहादुर गुरुङलाई भुटानमा नेपालीभाषी अल्पसंख्यक समुदायका अधिकारको माग गर्दै गरिएको प्रदर्शनमा सहभागी भएको आरोपमा सन् १९९० मा पक्राउ गरिएको थियो। सञ्चारमाध्यमका अनुसार दीर्घरोगी गुरुङको ६५ वर्षको उमेरमा सन् २०२५ डिसेम्बर १५ मा भुटानको एक जेलमा मृत्यु भएको हो।
‘हिरासतमा श बहादुर गुरुङको जस्तो मृत्यु दोहोरिनु हुँदैन। करुणा सम्भव हुँदाहुँदै कुनै पनि परिवारले आफ्नो प्रियजन गुमाउनु हुँदैन,’ एडवड्र्सले पत्रमा लेखेका छन्।
जीटीए सभाका सदस्य एडवड्र्सले आफूले ‘भारतीय गोर्खाको हैसियतमा अत्यन्त सम्मान, गहिरो चिन्तन र विनम्रताका साथ’यो पत्र लेखेको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘भुटान विश्वभर करुणा र नैतिक नेतृत्वका लागि सम्मानित देश हो। यही भावनाका साथ म हिंसाका कारण होइन, असहमतिको अभिव्यक्तिका कारण दशकौँदेखि कारागारमा रहेका नेपालीभाषी राजनीतिक बन्दीहरूप्रति दया देखाउन विनम्र अपिल गर्दछु।’
एडवड्र्सले आफ्नो खुला पत्रसँगै एउटा समाचार प्रतिवेदन पनि साझा गरेका छन्, जसअनुसार गुरुङले आफ्नो जीवनका अन्तिम ३५ वर्ष राबुना सैनिक कारागारमा बिताएका थिए।
प्रतिवेदनहरूका अनुसार भुटानको राजधानी थिम्फु नजिकका राबुना र चेमगाङ कारागारमा हाल कम्तीमा ३६ जना राजनीतिक बन्दी रहेका छन्।
‘महाराजाधिराज, सजाय माफी दिने वा घटाउने संवैधानिक अधिकार केवल तपाईंमा निहित छ। यस्तो दयाको प्रयोगले न्याय कमजोर हुँदैन, बरु भुटानको अन्तरआत्मालाई सुदृढ बनाउँछ र ढिलाइ भइसकेको मेलमिलाप तथा उपचारको ढोका खोल्छ,’ एडवड्र्सले पत्रमा उल्लेख गरेका छन्।
सन् १९९० को दशकमा भुटान सरकारले १९५८ अघि नै देशमा बसोबास गरेको प्रमाण पेश गर्नुपर्ने कडा नागरिकता कानुन लागू गरेपछि ‘ल्होत्साम्पा’ भनेर चिनिने ९० हजारभन्दा बढी नेपालीभाषी समुदायका मानिसहरू भुटान छाड्न बाध्य भएका थिए।
ती शरणार्थीहरूलाई सुरुमा नेपालमा बसोबास गराइयो र पछि अन्तरराष्ट्रिय हस्तक्षेपपछि पश्चिमी मुलुकहरूमा पुनस्र्थापना गरियो। सोही अवधिमा भुटान सरकारले ‘एक राष्ट्र, एक जनता’ नीति लागू गरेको थियो।
भुटानमा राजनीतिक बन्दीहरूको रिहाइका लागि लामो समयदेखि अभियान चलाउँदै आएको मानव अधिकारवादी संस्था, ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटान, ले एडवड्र्सको पहललाई स्वागत गरेको छ। जीसीआरपीपीबीका संस्थापक तथा अन्तरराष्ट्रिय संयोजक राम कार्कीले छिमेकी क्षेत्रका एक प्रभावशाली भारतीय राजनीतिक नेताबाट यस्तो वक्तव्य आउनु विशेष महत्त्वपूर्ण भएको बताए। उनले भारतीय मूलधारका सञ्चारमाध्यममार्फत यस्तो समर्थन व्यापक रूपमा फैलिनुले भुटानलाई यस विषयमा कदम चाल्न दबाब पर्ने समेत उल्लेख गरे।
एलपी ग्यास अभावको हल्ला निराधारः चण्डीका भट्ट
काठमाडौं । एलपी ग्यास अभावको हल्ला निराधार भएको नेपाल आयल निगमका प्रबन्ध निर्देशक चण्डीका प्रसाद भट्टले बताएका छन् ।
पछिल्लो समय बजारमा एलपी ग्यास अभाव भएको भन्दै फैलिएको हल्लामा विश्वास नगर्न भन्दै उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन् । उनले आपूर्ति सहज र पर्याप्त रहेको स्पष्ट पारेका छन् । दैनिक उपभोगका लागि आवश्यक एलपी ग्यास नियमित रूपमा नेपाल भित्रिरहेको उनले बताएका छन् ।
उनकाअनुसार नेपालमा प्रतिदिन करिब ९० बुलेट, अर्थात करिब १ लाख १४ हजार सिलिण्डर एलपी ग्यास आवश्यक पर्छ । तर पछिल्ला तीन दिनमा भारतीय आयल कर्पोरेशन (आइओसी) बाट सोभन्दा बढी मात्रामा ग्यास लोडिङ भएको छ ।
‘लोडिङ विवरणअनुसार शनिबार ११८ बुलेट (करिब १ लाख ४९ हजार ५ सय सिलिण्डर), सोमबार ११५ बुलेट (करिब १ लाख ४५ हजार ७ सय सिलिण्डर) र मंगलबार १३२ बुलेट (करिब १ लाख ६७ हजार ३ सय सिलिण्डर) एलपी ग्यास लोड गरिएको छ,‘ तीमध्ये केही बुलेटहरू बाटोमै रहेका छन् भने थप बुलेटहरू नेपाल प्रवेश गर्ने क्रममा रहेका छन् । तसर्थ, आदारणीय उपभोक्ताज्युहरुलाइ अनावश्यक रुपमा ग्यास स्टक नगरिदीनुहुन अनुरोध छ ।’
यस्तै, उनले निर्वाचन अवधिभर पनि हालकै परिमाणमा ग्यास आपूर्ति जारी रहने स्पष्ट पारिएका छन् ।
ओखलढुंगामा एमाले उम्मेदवार अस्मितालाई समर्थन गर्दै सिताराम गुरुङले पार्टी छाडे
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सिताराम गुरुङले ओखलढुंगामा नेकपा एमालेका उम्मेदवार अस्मिता थापालाई समर्थन जनाउँदै केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका छन् ।
नेकपाबाट ओखलढुंगाको उम्मेदवार बनाइएका अम्बिरबाबु गुरुङलाई सहयोग गर्न नसक्ने भन्दै उनले पार्टी छाडेको घोषणा गरेका हुन् । रुम्जाटार गाविसका पूर्वअध्यक्ष समेत रहेका गुरुङ अम्बिरबाबु समूहसँग कुरा नमिलेर नेकपामा प्रवेश गरेका थिए ।
उनले संकटको घडीमा ओखलढुंगा जिल्ला र मुलुकलाई अघि बढाउन एमाले आवश्यक रहेको भन्दै एमालेमा समाहित भएर आजबाटै क्रियाशील भएको घोषणा समेत गरेका छन् । सितारामले एमाले उम्मेदवार अस्मिता थापालाई जिताउन आफू क्रियाशील हुने घोषणा वक्तव्यमा गरेका छन् ।
संखुवासभामा एमाले उम्मेदवार डा. अर्जुन कार्कीको चुनावी अभियान तीव्र
संखुवासभा । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) तर्फबाट संखुवासभाका उम्मेदवार पूर्वराजदूत डा. अर्जुन कार्कीले मतदाता तथा कार्यकर्तासँगको भेटघाटलाई तीव्रता दिएका छन् ।
हालै चैनपुरमा आयोजित भेटघाट कार्यक्रममा उनले जिल्लाको शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन र पूर्वाधार विकासका लागि स्पष्ट खाका तयार गरेको बताउँदै विगतमा आफूले निर्वाह गरेका जिम्मेवारी र उपलब्धिबारे मतदातालाई जानकारी गराएका थिए ।
एमाले चैनपुर नगर कमिटीको निर्वाचन केन्द्रित विस्तारित बैठकबाट ५०१ सदस्यीय चुनाव परिचालन कमिटी गठन गरिएको जानकारी दिँदै डा. कार्कीले जिल्लामा एमालेले आफ्नो विरासत कायम राख्ने गरी तयारी भइरहेको बताए ।
‘समुन्नत संखुवासभा, समृद्ध नेपाल’ नारासहित प्रतिबद्धता पत्र सार्वजनिक गर्दै उनले संखुवासभाकै माटोमा जन्मिएर हुर्किएको नाताले आफ्नै गाउँठाउँको विकास गर्ने दृढ संकल्पका साथ प्रत्यक्ष राजनीतिमा प्रवेश गरेको उल्लेख गरे ।
संखुवासभावासीको विकास र रुपान्तरणको आकांक्षालाई संघीय संसदमा घन्काउने तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय तहमा रहेको आफ्नो सम्पर्क र संजाल जिल्लाको विकासमा परिचालन गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
संखुवासभामै जन्मेका डा. कार्की नेपाल सरकारका तर्फबाट अमेरिका तथा ल्याटिन अमेरिका क्षेत्रका विभिन्न देशमा राजदूतका रूपमा सेवा गर्दै राष्ट्रिय हित प्रवर्द्धनमा योगदान दिएका छन् । साथै राष्ट्रिय विकास परिषद्को सदस्यका रूपमा दीर्घकालीन विकास नीति निर्माणमा समेत संलग्न रहँदै आएका छन् ।
महिलाको सशक्तिकरण आर्थिक सबलीकरण बिना सम्भव छैन : मन्त्री श्रेष्ठ
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले महिलाको वास्तविक सशक्तिकरण आर्थिक सबलीकरण बिना सम्भव नहुने बताएकी छन् ।
मिथिला आर्ट ट्रेनिङ कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले समाजमा महिला सशक्तिकरणका नारा व्यापक रूपमा सुनिँदै आएको उल्लेख गर्दै त्यसलाई व्यवहारमा उतार्न आर्थिक आत्मनिर्भरताको आवश्यकता रहेको बताइन् ।
उनले भनिन्, ‘अहिले जताततै महिला सशक्तिकरणका नारा सुनिन्छन् । तर जबसम्म महिलालाई आर्थिक रूपमा सबल बनाउन सकिँदैन, तबसम्म गरिएका नारा र प्रयासहरूको खास अर्थ हुँदैन ।’
मन्त्री श्रेष्ठले नेपाललाई निर्वाचनमय देशको रूपमा चित्रण गर्दै जनसंख्याको ५१ प्रतिशत महिला भएपनि मतदानमा उनीहरूको सहभागिता सन्तोषजनक नरहेको बताइन् । उनले देशभर महिलाको मतदान दर २५ देखि २८ प्रतिशतसम्म सीमित रहेको छ भने मधेस प्रदेशमा यो आँकडा अझै कम रहेको बताइन् ।
उनले भनिन्, ‘निर्वाचनमय देश बनेको छ । नेपालमा ५१ प्रतिशत महिला हुनुहुन्छ । तर जब भोट खस्छ तपाईंको २५ देखि २८ प्रतिशतसम्म जान्छ तर मधेसमा त्यो आंकलन अझ कम छ । सबै दिदीबहिनीहरुले निर्वाचनमा सहभागी भएर आफ्नो मताधिकारको प्रयोग गर्नुपर्छ ।’ कार्यक्रममा उनले सबै दिदीबहिनीलाई निर्वाचनमा सक्रिय रूपमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरिन् ।
राष्ट्रिय मुद्दा र एजेण्डामा दृढतापूर्वक उभिने छु : ईश्वर पोखरेल
काठमाडौं । नेकपा एमालेका नेता एवम काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले राष्ट्रिय मुद्दा र एजेण्डामा दृढतापूर्वक उभिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रमा बोल्दै उनले कोही मानिस अनियमितता र भ्रष्टाचारमा संलग्न हुन्छ भने त्यो एमाले हुन नसक्ने भन्दै दोषी देखिए दण्डको भागेदार हुनुपर्ने धारणा राखे ।
उनले भने,‘कोही मानिस अनियमितता र भ्रष्टाचारमा संलग्न हुन्छ भने त्यो एमाले हुन सक्दैन् । कोही संलग्न देखियो भने त्यो एमाले होइन् । त्यो कानुनी दायरामा आउनुपर्छ र दण्डका भागेदार हुने छन् । यो एमालेको प्रतिवद्धता हो । राष्ट्रिय मुद्दा र एजेण्डामा दृढतापूर्वक उभिने छु ।’
त्यस्तै उनले आफूबाट कुनैपनि कानुन विपरितका र अनियमितताका कुरा नहुने बताउँदै त्यस्तो भयो भने जस्तो सजाय पनि स्वीकार रहेको बताए ।
‘म कुनै पनि कानुन विपरितका, अनियमितताका कुरा म बाट हुने छैन् । त्यस्तो भयो भने तपाईहरुले दिएको जस्तो सजाय पनि स्वीकार्य छ,’उनले भने ।
पोखरेलले उम्मेदवार बनाउने कुरा रहर र लहरले नहुने बताउँदै भने,‘तपाई कतिपटक उम्मेदवार बन्ने जिज्ञासा आउन सक्छ । म भन्छु उम्मेदवार बनाउने कुरा रहर र लहरले हुँदैन् । कसैलाई रहर लाग्यो कसैलाई लहर चल्यो त्यही आधारमा उम्मेदवार बन्ने कुरा हुँदैन् । त्यो एउटा विधि र प्रक्रियाबाट हुन्छ ।’
उनले अहिले जातिय सद्भाव खलबल्याउने प्रयास भइरहेको बताउँदै त्यसको विपक्षमा एमाले खडा हुने बताए ।
१ अर्बभन्दा बढी योजना सम्पन्नको दाबी गर्दै जसपा उम्मेदवार नगेन्द्र पारघरी लिम्बुको २६ बुँदे प्रतिबद्धता सार्वजनिक
धरान । जनता समाजवादी पार्टी (जसपा) सुनसरी निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार नगेन्द्र पारघरी लिम्बुले आफ्नो २६ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।
आइतवार धरानस्थित जसपा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता तथा सञ्चारकर्मीहरूको उपस्थितिमा लिम्बुले प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो ।
प्रतिबद्धतामा लिम्बुले प्रदेश नं. १ कै शिक्षा तथा सूचना केन्द्रका रूपमा धरानलाई विकास गर्ने, श्रम बैंक स्थापना गरी दक्ष श्रमशक्तिको लगत तयार गर्दै रोजगारी सिर्जना गर्ने, प्रस्तावित धरान–लेवती सुरुङ मार्ग सम्पन्न गरी धरानलाई व्यापारिक केन्द्रका रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाउनुभयो। साथै गोर्खा भूतपूर्व सैनिकहरूको नागरिकता बिना सर्त कायम गर्न कानुनी व्यवस्था गर्ने, धरान–१६ स्थित रंगशालालाई राष्ट्रिय स्तरको रंगशालाका रूपमा विकास गर्ने योजना अघि सार्नुभयो ।
त्यसैगरी धरान–११ देखि धरान–२० भन्ज्याङसम्म तथा धरान–१७ बाट बराहक्षेत्र–३ नडाहासम्मको बजेट पार्टीकै पहलमा विनियोजन भएको उल्लेख गर्दै, अव धरान–१९ हरियालीदेखि रामधुनी–६ बकलौरी सम्मको सडक मार्ग स्तरोन्नति गरी सुरक्षित र सहज यातायात सुनिश्चित गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।
उम्मेदवार लिम्बुले आर्थिक उन्नति, शिक्षा, स्वास्थ्य, रोजगारी तथा भौतिक पूर्वाधार विकासलाई समेटेर तयार गरिएको २६ बुँदे प्रतिबद्धता व्यवहारिक र कार्यान्वयनयोग्य रहेको दाबी गर्नुभयो।
अन्त्यमा बोल्दै लिम्बुले सुनसरी–१ अन्तर्गत धरान, बराहक्षेत्र र रामधुनी क्षेत्रमा निवर्तमान माननीय तथा पार्टीका श्रद्धेय अध्यक्ष अशोककुमार राईको विशेष पहलमा रु. १ अर्ब १९ करोड ६ लाख ३३ हजार बराबरका विकास योजनाहरू सम्पन्न हुने चरणमा रहेको जानकारी दिनुभयो। अन्तरिम सरकार गठनपछि करिब रु. १६ करोड बराबरको बजेट अस्थायी रूपमा रोकिएको उल्लेख गर्दै निर्वाचनपछि ती योजनालाई पुनः गति दिन र थप बजेट निकासा गराउन सक्रिय पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा सुनसरी निर्वाचन क्षेत्र नं. १ निर्वाचन परिचालन समितिका संयोजक भीम राईले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक समावेशी राज्य व्यवस्था पार्टीको मुख्य एजेन्डा रहेको बताउनुभयो। उहाँले प्रतिनिधिसभा र राष्ट्रिय सभालाई पूर्ण समानुपातिक बनाउने तथा नेपाली विशेषताको समाजवाद स्थापना गर्ने पार्टीको लक्ष्य रहेको स्पष्ट पार्नुभयो।
राईले संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख तथा विज्ञहरूको सहभागितामा मन्त्रीपरिषद् गठन भए मात्र दिगो राजनीतिक स्थिरता सम्भव हुने उल्लेख गर्दै सुनसरी–१ का मतदातालाई क्षेत्रगत विकाससँगै जनचाहना अनुसारको राज्य व्यवस्था प्राप्तिका लागि जसपा उम्मेदवार नगेन्द्र पारघरी लिम्बुलाई चुनाव चिन्ह ‘जाँतो’ मा मतदान गर्न अपिल गर्नुभयो ।