कांग्रेसको कोशी भेला विराटनगरमा सुरु, डा.शेखर कोइराला अनुपस्थित
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश स्तरीय पहिलो सम्मेलन आज (शनिवार) विराटनगरमा सुरु भएकोछ । भेलाको उद्घाटन सभापति शेर बहादुर देउवाले गरेकाछन् । उद्घाटनका लागि देउवा शुक्रवार साँझ नै विराटनगर उत्रिसकेका छन् ।
भेलाको उद्घाटन बिहान ११ बजे विराटनगरस्थित मनासलु पार्टी प्यालेसमा सुरु भएको हो । भेलामा सहभागीहरू विराटनगर आइसकेका छन् । देउवाले उद्घाटन गर्ने कार्यक्रममा पार्टीका केन्द्रीय पदाधिकारीहरू विराटनगर पुगिसकेका छन् ।
विधानसम्मत प्रत्येक वर्ष सम्मेलन गर्नुपर्ने भएपनि पार्टीले पहिलो पटक सम्मेलन गर्न लागेको हो । सम्मेलनका लागि १४ वटै जिल्लाबाट प्रतिनिधिहरू सहभागी हुने जनाइएको छ ।
भेलामा प्रदेशभरका महासमिति सदस्य २८६ जना, महाधिवेशन प्रतिनिधि ३९२ जना, प्रदेश अधिवेशन प्रतिनिधि ८९६ जना, पार्टी प्रदेश कमिटीका १२१ जना कार्य समिति, १४ वटै जिल्ला सभापति, २८ जना क्षेत्रीय सभापति, प्रदेश सभापति ५६ जना र भातृ तथा शुभेच्छुक संघ-संस्थाका प्रतिनिधि सहभागी हुनेछन् ।
भेलालाई उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, लगायतले सम्बोधन गर्ने तयारी छ । संस्थापनइतर पक्षका नेता डा.शेखर कोइरालाले भने आफ्नै प्रदेशको सम्मेलनमा सहभागि नहुने जनाएका छन् ।
कोइराला शनिवार चितवन जाँदैछन् । चितवनमा हुने दुईवटा शोकसभामा उनी सहभागी हुने उनको सचिवालयले जनाएको छ । वरीयता विवाद भएपछि कोइराला सम्मेलनमा सहभागी नहुने भएका्े उनीनिकट स्रोतले जानकारी दिएको छ ।
नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले आफ्नै प्रदेशको सम्मेलन बहिष्कार गर्ने भएका छन् । स्रोतका अनुसार, वरीयता विवाद भएपछि शेखर विराटनगरमा हुने सम्मेलनमा सहभागी नहुने भएका हुन् । उनले सभापति देउवापछिको वरीयतामा दाबी गरिरहेका छन् तर दोस्रो वरीयतामा उपसभापति खड्का छन् ।
मंसिर १८ गते डा.कोइरालाले विराटनगरमा पालिका सभापतिहरूको भेला आयोजना गरेका थिए । भेलामा १ सय १३ जना पालिका सभापति सहभागी भएको कोइराला पक्षले जनाएको छ ।
शारीरिक सुगठन प्रतियोगितामा रजत पदक विजेताहरूलाई काठमाडौँ महानगरपालिकाको नगद सहित सम्मान
काठमाडौँ । हिजो शुक्रवार काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले, १५ औँ वल्र्ड बडिबिल्डिङ् एण्ड फिजिक च्याच्पियनसिप २०२४ का रजत पदक विजेता खेलाडीहरूलाई नगद १ लाख रुपैयाँसहित सम्मान गरेको छ । गएको कार्तिक २० गतेदेखि २५ गतेसम्म वल्र्ड बडिबिल्डिङ् एण्ड फिजिक स्पोर्टस् फेडेरेसनले माल्दिभ्समा आयोजना गरेको खेलका पदक विजेतालाई सामाजिक विकास विभागले आयोजना गरेको कार्यक्रममा सम्मान गरिएको हो ।
प्रतियोगितामा ६० किलो तौल समूहतर्फ रुजेश शाही, मास्टर्स ४० देखि ४० वर्ष उमेर समूहतर्फ प्रज्वलमान शाक्य, महिला ५५ किलो तौल समूहतर्फ रजनी श्रेष्ठ, पिस स्वीमस्वीट १६५ सेन्टिमिटर महिलातर्फ सनम मुलगुठीले रजत पदक प्राप्त गरेकी थिइन् ।
सम्मान अवसरमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, प्रवक्ता नविन मानन्धर, सामाजिक समितिका पदाधिकारी, कार्यपालिका सदस्यहरूको उपस्थित थियो ।
महानगरपालिकाले खेल क्षेत्रको प्रवर्धन र खेलाडीहरूको आत्मबल बढाउन राष्ट्रिय अन्तरराष्ट्रिय प्रतियोगिताका विजेताहरूलाई नगदसहित सम्मान गर्ने गरेको छ । यस्तै खेलप्रेमीहरूलाई प्रतियोगिता हेर्ने वातावरणका लागि सार्वजनिक स्थलहरूमा एलइडी स्क्रिन राखेर प्रत्यक्ष प्रसारण गर्ने गरेको छ ।
काँग्रेस बिपीको विचारमा हिँडेको छ : गृहमन्त्री लेखक
धरान । गृहमन्त्री रमेश लेखकले नेपाली काँग्रेस बिपीको विचारमा आधारित रहेको बताएका छन् । शुक्रवार धरानमा लेखक तथा साहित्यकार गिरीराज आचार्यद्वारा लिखित ‘बिपीका साहित्य विचारहरू’ नामक पुस्तक विमोचन कार्यक्रममा उनले काँग्रेस बिपीको विचारमा हिँडेको बताएका हुन् ।
गृहमन्त्री लेखकले काँग्रेस बलियो भए लोकतन्त्रलाई बलियो हुने दाबी गरे । ‘काँग्रेस आज सबैभन्दा ठूलो राजनीति दल हो । विगतको निर्वाचन होस् वा अहिलेको उपनिर्वाचनको सन्दर्भमा होस् । जनताको माया र स्नेहले काँग्रेस पहिलो दलका रूपमा स्थापित भएको छ । जनताको माया र स्नेह काँग्रेसले हमेसा बचाइराख्नुपर्छ’ उनले भने ।
यस्तै काँग्रेस र एमाले मिलेर राजनीति समीकरण बनेको भन्दै यसको लक्ष्य भ्रष्टाचार नियन्त्रण, विकास र समृद्धि रहेको बताए । ‘त्यस समीकरणको धरातलमा उभिएर संघ र प्रदेशमा सरकार गठन भएका छन् । यो समीकरण केही मान्छेलाई मन्त्री बनाउन बनेको होइन,’ उनले भने, ‘यो स्थायित्वका लागि बनेको हो । यसले भ्रष्टाचार नियन्त्रण, विकास र समृद्धिका लागि काम गरिरहेको छ । देशमा दिगोशान्ति, सुशासन, विकास र समृद्धिका लागि यो समीकरण बनेको हो ।’
‘आज मदन भण्डारी राजमार्गको काम अगाडि बढेको छ । किमाथांकाको काम अगाडि बढेको छैन । यसलाई सरकारले उच्च प्राथमिकता राखेको छ । धरानको विकास गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भने ।
कार्यक्रम पत्रकारलाई सम्मान गरिएकोमा धन्यवाद दिँदै गृहमन्त्री लेखकले पत्रकारलाई सम्मान र पुरस्कार गर्न जरुरी रहेको बताए । ‘प्रेस लोकतन्त्रको पहरेदार हो । हामीले संविधानमा पूर्ण स्वतन्त्रताको व्यवस्था गरेका छौँ । हामी सबैले प्रेस स्वतन्त्रता पूर्णरूपमा सम्मान गर्नुपर्छ,‘गृहमन्त्री लेखकले भने, ‘प्रेसको अधिकार हनन गर्नुहुँदैन । सरकारले प्रेस स्वतन्त्रताको ग्यारेन्टीको वातावरण बनाउँछ ।’
दशौँ राष्ट्रिय खेलकुद चैत २३ देखि
काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुद २०८१ साल चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा शुक्रवार बसेको ११८ औँ बोर्ड बैठकले उक्त निर्णय गरेको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिए ।
यसअघि राखेपले दशौँ राष्ट्रिय खेलकुद गत मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमै गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको थियो । गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदको समापनका दिन २०७९ साल कात्तिक २ गते बसेको राखेपको ११५ औँ बोर्ड बैठकले उक्त मितिमा दशौँ राष्ट्रिय खेलकुद कर्णालीमा गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको थियो ।
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलको स्वास्थ्य अवस्थाबारे त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगन्ज पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले आज जानकारी लिएका छन् ।
प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा आवश्यक सबै प्रबन्ध गर्न अस्पतालका सम्बन्धित अधिकारी र चिकित्सकलाई आग्रह गरे ।
प्रोस्टेटसम्बन्धी समस्याका कारण केही दिन देखि राष्ट्रपति पौडेलकोे अस्पतालमा उपचार भईरहेकोछ । राष्ट्रपति पौडेलको उपचारमा संलग्न चिकित्सकहरूसँग प्रधानमन्त्री ओलीले उपचारको सम्पूर्ण विवरणबारे जानकारी लिएका थिए ।
यही मङ्सिर १९ गते सो अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेलको आधुनिक प्रविधिबाट शल्यक्रिया गरिएको थियो भने हाल उनको अवस्था सुधारोन्मुख र सामान्य रहेको अस्पतालले जनाएको छ ।
मुख्यमन्त्री कडेलले मागे दातृसंस्थाहरूको सहयोग
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले प्रदेश संरचनालाई बलियो बनाउने गरि सहयोगका कार्यक्रमहरू सञ्चालन गर्न दातृसंस्थाहरूलाई आग्रह गरेका छन् ।
कर्णाली प्रदेशको भ्रमणमा रहेकी युरोपेली युनियनको नेपालस्थित राजदूत भेरोनिक लोरेन्जासँग शुक्रवार आफनै कार्यकक्षमा भेटदै मुख्यमन्त्री कडेलले सङ्घीयताको प्रमुख आधार भनेको प्रदेश संरचना भएकोले प्रदेश संरचनालाई बलियो र गतिशील बनाउने गरि आफना कार्यक्रमहरू सञ्चालन गर्न राजदूत लोरेन्जालाई आग्रह गरेका हुन् ।
तीन तहको सरकारको संरचना भएपनि दातृ संस्थाहरूले प्रदेश सरकारसँगको समन्वयमा ध्यान नदिएको आफूले पाएको बताउँदै मुख्यमन्त्री कडेलले राजदुत लोरेन्जासँग भने, ‘तपाईहरू जस्तो सङ्घीयताको पैरबी गर्ने अन्र्तराष्टिय संस्थाले प्रदेश संरचनालाई बलियो बनाउने गरि सहकार्य बढाउने नीति बनाउनुहोस, हाम्रो पूर्ण सहयोग रहन्छ ।’
युरोपियन युनियनको कर्णालीका विभिन्न क्षेत्रहरूमा सहयोग गरिरहेकोमा प्रदेश सरकारको तर्फबाट धन्यवाद दिदै मुख्यमन्त्री कडेलले सहयोगलाई नागरिकले बढी भन्दा बढी लाभ लिनसक्ने गरि परिणाममुखी बनाउन जनप्रतिनिधिमूलक संस्थासँग समन्वय गर्न आग्रह गरे । ‘कर्णालीमा तपाईहरूले ठूलो मात्रामा सहयोग गर्नुभएको छ, हामीलाई त्यस्तो सहयोगको निरन्तर आवश्यकता पनि पर्दछ, मुख्यमन्त्री कडेलले भने, ‘हाम्रो चासो तपाईहरूले गरेको सहयोगलाई नागरिकले बढी भन्दा बढी लाभ लिन सक्नेहोस।’
युरोपियन युनियन अन्तर्गतका कतिपय विकास साझेदार संस्थाले परामर्शबिना नै केन्द्रमा बसेर कार्यक्रमहरूको बनाउने गरेकोतर्फ ध्यानाकर्षण गराउँदै मुख्यमन्त्री कडेलले नागरिकका आवश्यकतालाई ध्यानमा दिएर कार्यक्रमका प्राथमिकता तोक्न सुझावसमेत दिए ।
मुख्यमन्त्री कडेलले विगतमा अधिकारमुखी कार्यक्रमहरूमा विकास साझेदार संस्थाहरूको जोड प्राथमिकता भएपनि अव पूर्वाधार विकासमा लगानी बढाउन राजदूत लोरेन्जालाई सुझाव दिए । भेटघाट कार्यक्रममा राजदूत लोरेन्जाले युरोपेली युनियनले मुख्यमन्त्री कडेलले राख्नुभएका सुझावलाई युरोपेली युनियनले सकारात्मक लिदै आफना कार्यक्रमहरूलाई प्रदेश सरकारमार्फत अघि बढाउन जानकारी दिइन् ।
एआइ सम्बन्धी नीति ल्याउने तयारीमा सरकार
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले आइटी क्षेत्रलाई व्यवस्थित गर्न एआइको पोलिसी एक महिनाभित्र आउने बताएका छन् । शुक्रवार सगरमाथा इन्जिनियरिङ कलेजले आयोजना गरेको इन्जिनियरिङ एक्सपो २०२४ मा बोल्दै मन्त्री गुरुङले सरकार आइटी क्षेत्रको विकासका लागि गर्नुपर्ने सबै काम गर्न तयार रहेको बताएका हुन् ।
उनले भने, ‘आइटीको क्षेत्रमा एआइको पोलिसी एक महिनाभित्र आउँछ । तर यसको लागि लिगल के के चाहिन्छ ? कानुनी रुपमा के के गर्नुपर्छ ? मिलाउनुपर्ने कुरा के के छन् त्यो मिलाउँदै जानुपर्ने अवस्था छ । आइटीको क्षेत्रको विकासको लागि के के गर्नुपर्ने हो र सरकारको भूमिका के हो भन्नेतर्फ काम भइरहेको छ । एआएलाई कसरी प्रयोग गर्ने भन्ने सबै बारेमा जानकारी लिएर सरकार गर्नको लागि तयार छ ।’
साथै उनले आफ्नो मन्त्रालय आइटी क्षेत्रसँग बढी केन्द्रित रहेको बताए । उनले अहिलेसम्म पनि आइटीको पोलिसीमा कुनै पनि रिफाइमेन्ट नभएको बताए ।
पत्रकार महासंघमा कमल गिरी नेतृत्वको संयुक्त प्यानल भिड्ने
काठमाडौँ । पत्रकारका ६ वटा संगठनहरूले यही २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस सेन्टर, नेपालका वरिष्ठ उपाध्यक्ष कमल गिरीको नेतृत्वमा संयुक्त प्यानल खडा गरेका छन् ।
आज दिउँसो भएको मनोनयनमा अध्यक्ष पदका लागि कमल गिरीको प्रस्तावक प्रेस सेन्टर, नेपालका अध्यक्ष विष्णु सापकोटा 'जुगल' छन् भने समर्थक समाजवादी प्रेस संगठन, नेपालका अध्यक्ष विश्वमणि सुवेदी छन् ।
प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन, जनपत्रकार संगठन, प्रगतिशील पत्रकार संगठन र प्रेस मंच, नेपाल संयुक्त प्यानल बनाएर चुनावमा खडा भएका हुन् ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा हालका महासचिव रोशन पुरी, महिला उपाध्यक्षमा गंगा बराल, समावेशी उपाध्यक्ष सुवास साह, महासचिवमा लेखनाथ न्यौपाने, खुला सचिवमा उत्तर बिष्ट, मधेसी सचिवमा सिर्जन झा, महिला सचिवमा सरिता बराईली, दलित सचिवमा वसन्त विश्वकर्मा, आदिवासी-जनजाति सचिवमा भीषण राई, एसोसिएट सचिवमा, विकास कार्की, कोषाध्यक्षमा रामकृष्ण अधिकारी र लेखा समिति संयोजकमा मणि दाहाल सहित सिंगो केन्द्रीय समितिका लागि प्यानल बनेको हो ।
प्रेस युनियन र प्रेस चौतारी जस्ता संगठनले महासंघलाई निहित एवम् अमुक दलगत स्वार्थमा उपयोग गर्न खोजेपछि पेशागत सुरक्षा, अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकार हितको उद्देश्य सहित यो साझा प्यानल खडा गरिएको हो।
मंसिर २३ गते देखि मतदाता नामावली दर्ता तथा अद्यावधिक सुचारु हुने
काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु गरिएको जनाएको छ । शुक्रवार आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जारी गरेको विज्ञप्तिमा मंसिर २३ गतेदेखि सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य सुचारु गर्ने निर्णय गरिएको जनाएको हो ।
यसअघि स्थानीय तह उपनिर्वाचन, २०८१ प्रयोजनको लागि देशभरबाट नियमित रूपमा भइरहेको मतदाता नामावली दर्ता गर्ने कार्य स्थगित गरिएकोमा सो उपनिर्वाचन सम्पन्न भई परिणाम समेत प्राप्त भइसकेकाले नियमित मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु गरिएको जनाएको छ ।
साथै कुनै व्यक्ति पेशा, व्यवसाय वा अन्य कुनै कारणले आफ्नो स्थायी ठेगाना भन्दा फरक अर्को कुनै जिल्लामा बसोबास गरिरहेको भएपनि निजले मतदाता नामावलीमा आफ्नो नाम दर्ताका लागि आवश्यक प्रमाणसहित आयोगको वेबसाइटमा रहेको प्रि-रजिस्ट्रेसन प्रणाली (https;|/applyvr.election.gov.np) मार्फत आवेदन गरेमा त्यस्तो व्यक्तिको नाम निजको स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्लाबाट समेत मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
मतदाता नामावलीमा नाम दर्ता गर्नको लागि नेपाली नागरिकताको प्रमाणपत्र आवश्यक पर्नुका साथै नागरिकतामा उल्लिखित ठेगानाभन्दा फरक ठेगानामा मतदाता नामावली दर्ता गर्नको लागि नागरिकता, बसाइँसराइ वा विवाह दर्ताको प्रमाणपत्र समेत आयोगको उल्लिखित प्रणालीमा प्रविष्ट गर्नुपर्ने जनाएको छ ।
त्यसैगरी कुनै मतदाताले आफ्नो मतदाता नामावलीमा कुनै त्रुटि रहेको भए सच्याउने, दोहोरो नाम भएको भए दोहोरो हटाउने, मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्ने लगायतका मतदाता नामावली अद्यावधिक सम्बन्धी कार्य गर्नका लागि आयोगको उल्लिखित प्रणालीमा गई आवेदन गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ ।
चीनसँग ऋणसम्बन्धी कुनै सम्झौता भएन्, देउवा प्रधानमन्त्री निश्चित’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा चीन सरकारसँग ऋणसम्बन्धी कुनै सम्झौता नभएको बताएका छन् । बिहीबार चार दिने औपचारिक चीन भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफ दिँदै चीन भ्रमपूर्ण नै कुनै पनि ऋण नलिने भनिसकेको र ऋणको बारेमा चीन भ्रमणमा कुनै सम्झौता नभएको स्पष्ट पारेका हुन् ।
उनले भने, ‘अस्ति नै देखि मैँले हामी कुनै ऋण लिन जाँदै छैनौँ, ऋण लिनेबारे कुनै कुरा पनि चलेन, मैले यहाँ बोलेकै थिएँ । छलफल पनि भएन । हामीले यस पटक बिआरआई अन्तर्गत विभिन्न परियोजनाहरूको कुरा गरेका छौँ । हरेक परियोजनाअन्तर्गत छुट्टै छलफल, छुट्टै एग्रिमेण्टहरु गर्छौँ र त्यसको कार्यान्वयन कसरी गर्ने भन्ने सन्दर्भमा कुरा पनि गरेका छौँ ।’
उनले भ्रमणमा बीआरआई अन्तर्गत गरिएका सम्झौताअनुसार नेपालले पाउने सबै रकम अनुदान भएको बताए । चीन भ्रमणको क्रममा नेपाल–चीन मित्रलाई प्रगाढ बनाउने कुरा भएको बताए ।
‘मित्रता अरू कसैका विरूद्ध नभई हाम्रै पक्षमा मात्र हो भन्ने कुरा पनि भयो । मित्रतालाई अगाडि बढाउने र त्यसले सकेसम्म ज्यादा लाभ नेपाललाई पु¥याउने भन्ने कुरा भयो,’ प्रधानमन्त्री ओलीले भने ।
साथै उनले सरकारको नेतृत्व अब १८ महिना गरेपछि आफूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने बताए । उनले देउवाले डेढ वर्ष सरकारको नेतृत्वसँगै निर्वाचन गराउने र चुनावमा बहुमत ल्याउन सबै राजनीतिक दलहरूले प्रयास गर्ने बताए ।
‘अब म प्रधानमन्त्री १८ महिना जति छु, त्यसपछि शेरबहादुर देउवाज्यूलाई हस्तान्तरण गर्छु । उहाँले डेढ वर्ष चलाउनुहुन्छ, चुनाव गराउनुहुन्छ । हाम्रो चुनावसम्मको एग्रिमेन्ट छ । चुनावपछि अब हामी हरेकले बहुमत ल्याउने कोशिस गरौंला । बहुमत आउँछ भन्ने विश्वास छ । आएन भने अरू तरिकाहरू होला,’ उनले भने ।


































